नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~Kedar Sunuwar 'Sanket'

स्थानः पिपलबोट चौतारा

पात्रहरू:
जङ्गबहादुर- रिटाएर्ड मेजर,
नवध्वज- पढेलेखेका युवक,
कान्तिराम- शिक्षक अधबैंशे,
सरिता- गाँउकै एक पढेलेखेकी युवती,
शान्ति- जङ्गबहादुरको नातिनी

दृश्य एक

(सबै पिपल बोटको चौतारा वरिपरि कावा खाँदै बसेका छन्, यही चौतारा हो जहाँ यो गाँउका बुढापाकादेखि लिएर नानी केटाकेटीसम्म रम्ने ठाउँ । अनि, भरिया दाजुभाइका तोक्मासँगै झर्ने निधारका पसिनाका ढिक्का र महाजनसम्मले भुँडी बिसाउने एउटा साझा बिसौनी ।)

जङ्गबहादुर- (सेतै फुलेको जुँगा मुठार्दै) ए ! टोलका केटा हो के को आवाज हो, त्यो पल्लो गाँउतिर हँ?

नवध्वज- (टाउकोको टोपी मिलाउँदै) के भन्ने काका आवाज पनि त्यही चिरपरिचित गोली र बारुदको त होला नी । हिजो राती यही बाटो हुँदै लस्करै निधारमा रातो फेटा र काधँमा बन्दुक बोकेर तल्लो गाँउ पसेका थिए आज जम्काभेट भए जस्तो छ ।

जङ्गबहादुर- (गलफनलाई काधँतिर फाल्दै) ए ! तेसो भए फेरि जम्काभेट भएछ क्यारे कति जनाले फेरि ज्यान गुमाउने भए रेडियोमा समाचार सुना है बाबु भरै ।

कान्तिराम- (चौताराको एउटा ढुङ्गामा बस्दै) रेडियोमा पनि एकैखालका समाचार हुने भा पो, कसैले तीन मरे दश भन्छन् । कस्को कुरा सुन्ने कस्को नसुन्ने । कति मरे, कति अपहरणमा परे, कत्तिको ईज्जत लुटे, यस्को लेखाजोखा अब के होला र मेजर काका ? (हातले निधारमा परेको घाम छेक्दै)

जङ्गबहादुर- (हातमा बेतको लौरौ खेलाउँदै) म त झन् के भन्नु र बाबु हो, तिमीहरू नै हौ यो गाँउका टाठाबाठा, गर्लान् नी केही, अब नयाँ सरकार बने पछि ।

सरिता- मेजर काका, नवध्वज दाइ (हस्याङ् र फस्याङ् गर्दै सरिता चौतारामा अइपुग्छिन्, अतालिएको स्वरमा) लौन, मेरो भाइ बसन्तलाई मुख छोपेका एकहुल आएर तान्दै लगे । आजै उनीहरूसँग नगए गोली हान्ने रे । आमा भने रुँदै बसेकी छिन् घरमा । लौन के गर्ने अब ?

नवध्वज- (चौताराबाट झर्दै, हतारिदैं) ल, लिन जान पर्छ, नत्र बेपत्ता पार्छन् तिनीहरूले ।

कान्तिराम- (चस्मा मिलाउँदै) एकछिन्, नवधोज भाइ, (बसेको ठाँउबाट उठ्दै) आवेगमा आएर तुरुन्तै हामी जान उचित हुँदैन । हामी गयौं भने त हामीलाई पनि उतै राख्छन् । मलाई त अस्ती तिनीहरू मानेडाँडाबाट झरेको थाहा पाए पछि गोठमा गएर लुके, घरमा गएर मेरो नाम सोधेका थिए रे, आमाले गोठमा गएको छ बाबु हो भनेपछि अर्कोचोटि आउँदा जनमुक्ति सेनामा नगए ‘गोठमा हुन्छ की कोठामा’ भन्दै गएकाछन् भनेपछि आज हामी गएर हुनेकुरा केही छैन ।

(सरितामा मौनताले छाउँछ, केही बोल्दिनन् उनी)

जङ्गबहादुर- (घुँडामा हात राख्दै) हो, बाबु हो त्यो त ठीकै हो । आज नजाऊ तिमीहरू बरू यो सरितालाई सम्झाऊ कति रून्छे यो पनि, हुन पनि अस्ति भर्खरै दाइ राजलाई लगेर बेपत्ता पारे । न सेनामा खटाए, न मारे, अब बसन्त भने कहाँ छ के गर्दै छ ? खैः मैले त यो समयको माग बुज्नै सकिनँ । सधैँ मारकाटका कुरा मात्र, मान्छे मारेर के पाउलान् यिनीहरूले ? ठूलाठालु मान्छे कहिल्यै मर्दैनन्, उही गरीब, शोषित, पीडित, दलित र अनपढका छोराछोरी त हुन् मर्ने ।
नेपत्थ्यमा- (एक्कासि माथिल्लो गाँउतिर गोली पड्केको आवाज आउँछ ।सबै चौताराबाट जराक जूरुक उठ्छन्, गाँउलाई लाँकुरी डाँडाले छेकेको छ तेतै हेर्छन् सबैले)

कान्तिराम- (रिसाएको भावमा) हरे ! यो गोली र बारुद पनि कति पड्काएको होलान् ? नानी केटाकटीहरू तर्सन्छन्, सबैको मन भयभित हुन्छ, किसानहरू काम छोडेर लाखा-पाखा लाग्छन्, स-साना नानीहरू स्कूल जान नै मान्दैनन् डरले । जनताले स्वतन्त्रसँग बाँच्न त पाउनुपर्छ ।

सरिता- (आँखाको आँशु पुछ्दै रुन्चे स्वरमा) म गए है तपाईहरू बस्दै गर्नुस् । घरमा आमा एक्लै रूँदै छिन् ।

(घरतिर लाग्छिन् । सबै उतैतिर हेर्छन्, एकार्कामा मुखामुख मात्र गर्छन् ।)

जङ्गबहादुर- (पलेटीमा शान्ति राख्दै) ठीक भन्यौ कान्तिराम, मेरो सानी नातिनी शान्ति त गोली पड्केको सुन्ने बित्तिक्कै बाख्राको खोरतिर लुक्न जान्छे । तर, नाती बिकुल भने जता बन्दुक पड्कन्छ उतै दौडन्छ । मिलिटेरीले लगाएको लुगा खुबै मन पर्छ रे, उस्कै बाउको थोत्रे लुगाहरू ठुलै भएपनि लगाएर हिँड्छ । बहिनीलाई भने गाली गरी बस्छ बजिया ।

(नातिनी शान्तिलाई सुम्सुम्याउँदै)

नवध्वज- (चौताराको पिपलबोटलाई एक हातले अडेस लगाउँदै) साँच्ची शान्तीको बाबा कता छन् आजभोली ह ? यसपालीको दशैमात आउलान्नी हैन मेजर काका ?

जङ्गबहादुर- (टोपी मिलानउदै) उही रोल्पा रूकुमतिरै हो नी, कहाँ होस र अन्त त ? जता ततै आˆनै मान्छे हुनुपर्छ आजकाल, नत्र जता जता जंगलका मान्छेहरू छन् तेतै पठाउँछन् ।

शान्ति- (हजुरबाबाको नजिक जाँदै) बाबा आउने बेला भयो हैनत हजुरबुबा ? बाबा आउँदा त कत्ति धेरै नाना र मिठाई दिएर आउनुहुन्छ है । बाबाले त मलाई कस्तो माया गर्नुहुन्छ आमा र दाइले त सधैँ गाली गर्नु्हुन्छ ।

जङ्गबहादुर- (आकाशको कालो बादल हेर्दै) हो नानी तिमीलाई धेरै नाना लिएर आउनेछन् । तिम्रो दाइ बिकुल पनि आर्मीमा जाने रे, बाबा जस्तो पुलिसमा नजाने रे बिकुल दादाले पनि भोलि पर्सी मिठाई (बीचैमा कुरा काट्दै)

कान्तिराम- (अलिक नजिक जाँदै) हैन काका पनि भर्ती मात्र पठाउने कुरा गर्नु हुन्छ, यी स-साना नानीहरूलाई । काकाको समयमापो ठीकै थियो आजभोलीत पुलिस आर्मीले पनि कहाँको राम्रो काम गरेका छन् र । गाँउका सोझा साझा चेलीबेटी देख्न नहुने बिहे गर्छु भन्दै अलपत्र पार्ने, केटाहरू देख्नेबित्तिक्कै मावोबादी कित गुण्डा भनेर हातखुट्टा भाँचि दिने । सबैलाई एउटै दृष्टीकोणले हेर्न त भएन नी, सबै छाडा भएका छन् यो देशमा आज शान्ति भने कतै छैन ।

(सबै मौन हुन्छन् एकछिन)

नवध्वज- (यताउता घुम्दै) ठीक त ठीकै भन्यौ तिमीले पनि, हाम्रो देशमा एउटा बिहानिको खाँचो छ । जुन बिहानीको मिर्मिरेले सधै सबैलाई छावस्, सबै रमिन सकुन, बाँच्न सकुन्, सबैले समान हक र अधिकार प्रयोग गर्न सकुन् । शिक्षाको ज्योतीले सबैलाई चुमुन्, आखिर यिनै त हुन जनताका आधारभूत आवश्यकताहरू भनेको ।

सरिता- (बाटैबाट आउँदा आउँदै) त्यो बिहानी आउन त अवस्य आउँछ जुन सुकै आजका विकास त मुलुकमा क्रान्ति आएर नै देशमा विकास भएको इतिहास पढ्न पाईन्छ । बुढो रूख ढलेपछि फेरि नयाँ रूख उम्रन्छन् । फेरि त्यो रूखको पनि त पालो आउँछ, चर्खा न हो यो जीवन र समय भनेको । कसैले प्रभुत्व जमाएर कालन्तरसम्म बाँच्न नखोजे पनि हुन्छ, स्वभिमानी भएर जिउन पाउँनु आजको आवस्यकता हो । कि कसोत मेजर बाजे ?

(सबैले ताली लगाउँछन्)

जङ्गबहादुर- (भावुक बन्दै) मनासिवै कुरा गर्र्यौ सरिता तिमीले । २००७ सालमा भएको क्रान्तीमा मैले आफै राम्ररी भोगे र देखेके छु। त्यसपछिको २०१७, २०४६ सालको परिवर्तन । तर यी सबै परिवर्तनले खै के ल्यायो हाम्रो गाँउमा ? न उज्यालोको लागी बिजुली, न शिक्षाको लागी स्कुल, न शुद्वपानीको ब्यबस्था बेक्कार हुन यी सब कुराहरू, अब राजा हटाउनेरे राजा हटे पनि देशमा हुनेकुरा भने केहिपनि हैन, म मरेर गए पनि देख्नेछौ तिमीहरूले ।
जङ्गबहादुर अलिक खच्किएका छन् । उमेर र अस्वस्थताका कारण, सबै रेडियोको वरिपरि झुम्मिएर समाचार सुनिरहेका हुन्छन्, संबिधानसभा चुनावको अन्तिम गणना अनुसार क्रमशः नेकपा माओवादी, काँग्रेस, नेकपा एमालेलगायतका पार्टीहरू अग्रस्थानमा आउँछन्)

सरिता- (हँसिलो अनुहारमा) अब त देशमा शान्ति छाउने भयो, मेरो दाइ पनि त घर फर्कनुहुन्छ होला, एक महिना मात्र छ तिहार आउन पनि, हैन त नवध्वज दाइ ?

(बीचैमा कान्तिराम बोल्छन्)

कान्तिराम- खै ! सरिता बहिनी फर्किलान् नि अब त, एउटा कालो संघारलाई छिचोलेर विजयी भएका छन्, यो विजय गराउनमा उनीहरूकै ठूलो हात छ ।

नवध्वज- (बसेको ठाँउबाट उठ्दै) कुन जिल्लामा, चुनाउको दौडानमा को को मरे, अत्तो पत्तो नै छैन । सेनाका कति मरे, जनसेनाका कति मरे, कति विधवा भए, कति टुहुरो भए, कति कोठरीमा छन्, खोज्लान् नी राष्ट्रले अब ।

(एकहुल ढाक्रेका हुलहरू तामाङ सेलोको भाकामा गीत गाउँदै ओह्रालो झर्छन् ।)

उभोँ त शैलुङ लेकैमा, चौरीले खाने खस्रुको पात
हामी त दुःखिया यो ज्यानले, कहिले पो फेर्ने सुखको सास)

(चौतारामा बसेका सबैजनाको आँखा तेतैतिर पछ्याउँछन्)

सरिता- (पछ्यौरीको सप्को काँधमा मिलाउँदै) अब पनि कुर्सीमा पुग्नेले फर्किएर पहिलेको जस्तो हेरेनन् भने नेताहरूका पाइलाले फेरि-फेरि हाम्रा गाँउमा टेक्न पाउने छैनन् । ढाक्रे दाइहरूका गीत जस्तै हामीलाई सुखको शान्तिको सास फेर्न आवश्यक छ, शिक्षा, बिजुली शुद्व पानी, र स्वास्थ्य शाखाको खाँचो छ ।

कान्तिराम- (औला ठड्याउँदै,) अब हेर्नुस् मेजर बा, देशको कानुन अब जनताका हातले लेख्न पाउने छन् । कसैले पनि ठूलोसानो, जात र लिंगका कुरा गर्न पाउने छैनन् । स्वायत्त प्रदेश बनेपछि एउटै नेपाली भएर आफ्नो पौरखमा रमाएर बस्न पाउने छन् ।

जङ्गबहादुर- (शिर निहुराउँदै) साह्रै राम्रो हुने भए छ देशमा अब, बाबु हो मलाई त यो सासले उधोँ खिचेर ल्यायो, सास फेर्न पनि गाह्रो भएर आयो । टाउको पनि घुमाउँदै छ । म चैँ घरतिर झरेँ बाबु हो । ल, शान्ति आ नानी जाम घरमा तेरी आमा फेरि गन्गन् गर्छे, तेरो बाबा पनि नआएको एसपालिको छुट्टीमा । चिट्ठी पत्र पनि छैन, चिन्तामा छे ।

शान्ति- हजुरबा, मेरो बाबाले मलाई मिठाई नल्याएको पनि धेरै भैसक्यो । (निन्याउरो मुखलाउदै)

नवध्वज- तिमीलाई म किनेर दिउँला नी भोलि, ल शान्ति ।
(फकाउँदै) तिमी त ठूलो भएपछि म जस्तै मास्टर बन्ने है ?

सरिता- शान्तिलाई सुमसुम्याउँदै) म पनि किनेर दिन्छु है तिमीलाई । तिमी यो चौतारामा आएनौ भने त हामी सबैलाई नरमाईलो हुन्छ ।

कान्तिराम- साँच्चै, यो चौतारामा हामीहरू एकदिन भेट भएन भने मलाई त खाना नै रूच्दैन भनेको ।

सरिता- ए ! तेसो भएर पो होला, मेरो घरको बिल्लीले सधैँ मुख मिठ्याउँदै आउँछे तपाईंको घरबाट । (सबै गलल हाँस्छन् ।)

शान्ति- (खुशी हुँदै) आजभोलि त बन्दुक पनि डम् डम् गर्दैन, म बाख्राको खोरमा नपसेको पनि कत्तिका दिन भैसक्यो, कस्तो मज्जा लागेको छ, तर मलाई दादाले प्याट्ट प्याट्ट हिर्काई बस्नुहुन्छ अनि टूहुरी टूहुरी भनेर जिस्काइबस्नु हुन्छ, टुहुरी भनेको के हो हजुरबुबा ?

जङ्गबहादुर- (खोक्छन् मात्र बोल्दैनन् एकछिन शून्यता छाउँछ चौतारामा, मानौं एउटा युग ढल्दै छ आज।) सबैले मेजर बाजेलाई सुमसुम्याउँछन् ।

कान्तिराम- टुहुरी भनेको केही पनि होइन शान्ति, म तिमीलाई भोलि पर्सी भन्छु । बरु अब तिमी डराएर बाख्राको खोरमा कहिल्यै पनि पस्नु पर्दैन । अब तिम्रो पाठशाला पनि चाँडै खुल्छ त्यसपछि त तिमी रमाई हाल्छ्यौ नी हैन त ?
खोकीको आवाज….

शान्ति- आहा ! कति मज्जा, तर मैले त राष्ट्रिय गान पनि बिर्सी सकेँ कत्तिको बर्ष भयो स्कूल नगएको, अनी नी अंकल हाम्रो घरमा झुन्ड्याएको राजा रानीको फोटो किन निकालेको ?

नवध्वज- (आश्चर्य मान्दै) तिमी त सानै छ्यौ भनेको त कसरी आज तिमीले यत्तिका कुराहरू ठूला मान्छेले जस्तै गर्दै छ्यौ हँ ?

सरिता- ओहो शान्ति ! अब ती तस्वीरहरू झुन्ड्याउन हुँदैन । झुन्ड्यायो भने त फेरि बन्दुक पड्काउँछन् । तिमी ठूलो भएर धेरै पढेपछि आफैले बुझ्नेछ्यौ, तेसैले भोलिबाटै कान्तिराम अंकलसँग स्कूल जाने है ।

नेपत्थ्यमा- शान्ति, ए ! शान्ति, घर आइज छिटो ।(घरैबाट शान्तिकी आमा बोलाउँछिन् ।)

शान्ति- (हजुरबुबाको छेवैमा गएर) घर जाऊँ हजुरबाबा घर जाऊँ, रात परिसक्यो । बाबाले मिठाई ल्याउनुभयो होला, म त गए । घरतिर लाग्छिन् । बाबा, बाबा …!

जङ्गबहादुर- (झिनो स्वरमा ) शान्ति शान्ति… (बीचैमा वाक्य रोकिन्छ ।)

नेपत्थ्यमा- (एउटा आवाज आकाशमा यसरी मडारिन्छ) अब मेजर बाजे यो चौतारामा शितल खान कहिल्यै नआउने भए । न शान्तिका बाबाले मिठाई बोकेर दशैंमा शान्ति र शान्तिकी आमालाई भेट्ने छन्, न त उनीहरूले देशमा आउन लागेका शान्ति देख्न पाए । सरिता, अब तिमी तिहारको बाटो हेरेर तिम्रो दाइ राज र बसन्तलाई नपर्ख, उनीहरू त यो देशको लागि शहीद भए, शहीद !!

सबैमा निस्तब्धता छाउँछ ।

(लाँकुरी डाँडाबाट एकहुल राँके जुलुश निक्लन्छ)

गणतन्त्र- जिन्दावाद, जिन्दावाद !

सामन्तवाद- मुर्दावाद मुर्दावाद !(केही क्षण नारा घन्किदै गर्छ)

लोकत्रन्त्र- जिन्दावाद, जिन्दावाद !

पर्दा बिस्तारै बन्द हुन्छ ।

समाप्त

(स्रोत : Sahityasangalo.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *