कविता–संग्रह : यो झापा हो !

yo jhapa ho - Lila Udasiयो झापा हो !
प्रकाशकःहिमा रेग्मी खनाल
संस्करणः पहिलो, २०६६
आवरणः कलाकेन्द्र, काठमाडौं
कम्प्यूटरः सुशान्त खनाल

विषय-सूची

• कभर पृष्ठ
• यो पनि एउटा रहर
• यो झापा हो
• आदोलन
• माइत र घर
• सबैलाई झुन्ड्याउन सक्छौ ?
• साँच्चै बिसे नगर्ची बौलाएछ !
• डढेलो
• समय
• भूतपूर्व साथी
• नयाँ बर्षसँग
• श्रीमान्… प्रसाद
• आँखा
• वर्तमान
• मलामी जनसँग
• बन्दुक नताक !
• आतङ्कवाद
• घाउ दुखेको छ
• मेरो सहर
• मृत्यु
• अहिलेसम्म उ फर्केन
• घाउ
• अलिकति लाज मान !
• मेरो आँसुले कुरै बुझ्दैन
• ढलेको रूख र मेरो स्मृति
• छिमेकी
• टुक्राहरू
• जुहीरत्न कवि लीला उदासीको कविता – सङालो

यो पनि एउटा रहर

”यसपल्ट पनि बाली लागेन”– छापिए पछि लेखेका कविताहरू यसरी सङ्ग्रहका रूपमा निकाल्ने रहर नै भयो यो । यस रहरलाई यसरी अहिले नै ल्याउने कार्य कति उचित हो र हैन अब पाठकहरूका हातमा सुम्पेको छु । कवितालाई मैले कसरी मानेको छु वा कविता बारे मेरो के धारणा रहेको छ ? – भन्ने प्रश्नमा म जान चाहेको छैन । मैले अगाडिका सङ्ग्रहहरूमा नै भनी सकेको छु । त्यो भन्दा पनि मलाई लागेको छ– मेरा कविताले नै कविता बारे मेरो धारणा बताइ रहेछन् ।

“यो झापा हो” मैले लेखेका कवितामा अलिक लामो कविता भएको छ । मैले झापा पसेदेखिनै देखेका, भोगेका, नजिकबाट नियालि रहेका केही कुराहरू यस कवितामा उतार्ने जमर्को गरेको छु । मलाई लाग्छ, झापा जति देखिन्छ, वास्तवमा झापा त्यो भन्दा धेरै छ । त्यसैले पनि झापाका बरेमा कविता लेख्दा एउटा कवितामा सकिँदैन । फेरि मलाई लागेको छ – मैले नदेखेका कुरा पनि झापामा धेरै छन् । मैले आफै भोगेको परिवेशका केही कुराहरू मात्र खोतल्ने प्रयास गरेको छु ।

यी कवितामा मैले जे भन्नुपर्ने भनिसकेको छु । अब त मसँग पाठक र समीक्षकका कुरा सुन्ने जिज्ञासा र कौतूहल मात्र बाँकी रहेको छ । चूडामणि रेग्मी, जो मेरा गुरु हुनुहुन्छ, मेरो साहित्यिक गतिका सारथि पनि हुनुहुन्छ । यो पुस्तक उहाँको प्रेरणा, हौसलाबाट मात्र यसरी सम्भव भएको छ । यस पुस्तकको भूमिका लेखेर यस पुस्तकको महत्व समेत उहाँले बढाई दिनुभएको छ । म उहाँ प्रति आभार व्यक्त गर्छु । यो पुस्तक प्रकाशनका लागि उत्साहित रहेर प्रकाशनको व्यवस्थापन गर्ने मेरी बुहारी हीमाको उत्साह कान्छो छोरा सुशान्तको रहर र लगनशीलका समेतबाट मात्र यो पुस्तक प्रकाशन सम्भव भएको छ । यो जस्तो भएपनि अब पाठकका हातमा छाडेकोछु ।

लीला उदासी
२०६६ बैशाख
चारपाने –१, झापा

यो झापा हो

यो झापा हो हजुर !
यसलाई झलक्क हेर्दा जस्तो देख्नुहुन्छ
यसको परिचय नै त्यति हो
तर यसको इतिहास भने अलिक भिन्न छ
त्यसै भएर त हजुर !
भद्रपुर र शनिश्चरेको मन आज सारै खिन्न छ ।
हजुर !
शनिश्चरेमा हप्तामा ३ दिन हाट लाग्थ्यो
सुर्ती र पटुवाको गाँठको चाङ लाग्थ्यो
ख्याल रमाइलो हुन्थ्यो र !
शनिश्चरेमा धान नाचेको रमिता हेर्न
लुगा मात्रै कहाँ हो र हजुर !
पहाडका मान्छे त साँच्चै शनिश्चरे आउँथे,
मुख पनि फेर्न
र जिलेबी किनेर खुपुखुपु खान्थे ।
शनिश्चरेमा होटेलहरूको भीडभाड थियो
पारस टाकिजमा सधैँ हाउस फुल
बडेमाका ट्वाँ गर्ने मिलहरू हेरेर
पहिलोपल्ट आउनेहरू आफै ट्वाँ पर्थे
पहाडमा पुगेर उनका गफ सुनेपछि –
अल्लारेहरू भागेर पनि झर्थे
त्यस वेला शनिश्चरेमा के थिएन र ?
कलेज थियो हजुर !
अदालत थियो
साहित्य र संस्कृतिको केन्द्र थियो
तराई र पहाडको सङ्गम मात्रै हैन
शनिश्चरे त झापाको राजधानीजस्तो पो थियो त !

घैलाडुब्बामा कुन्नि ! कहिले घैलाहरू डुबाएको थियो
त्यो त थाहा छैन हजुर !
यसलाई नयाँ हाट भन्थे मान्छेहरू !
वर्षामा त विरिङजस्तै पारेर पानीले डुबाउँथ्यो
हिउँदमा धानले घैलाडुब्बै डुबाउँथ्यो
धान बोकेका गाडाका ताँतीले छक्क पार्थ्यो
र कति धान फल्दै रहेछ त्यतातिर ? – भन्दै
जिभ्रो निकाल्थे – गारामनी, चन्द्रगढी र भद्रपुरकाहरू ।
आकर्षक थिए सम्पनी गाडाहरू
झलक्क हेर्दा कुनै गतिलै कम्पनीका जस्ता लाग्थे
रमाइलो थियो घैलाडुब्बा–
गोकुल जोशी बाटो खन्थे, कविता लेख्थे
देवीप्रसाद – स्कूलका स्कूल जस्ता थिए
गंगाप्रसाद, मदन र हरिध्वजहरू
हंसनारायण र मन्त्रीहरूलाई झकझक्याउँथे
दाताराम, कामेश्वरहरू पनि घैलाडुव्बा गोड्थे
कहाँ यति चाँडै बूढो होला जस्तो थियो र घैलाडुव्बा ?
अलिकपछि त रामनाथ , खड्ग ओली र
लव ओलीहरू पनि देखिन्थे
निःशुल्क हाइ स्कूल चलेको भनेर मुलुकभरिका
मान्छे कुरा गर्थे धैलाडुव्बाको ।

गौरादह, गौरीगञ्ज र दमकसँग
अहिलेजस्तो चमक नै थिएन
माईपश्चिम झापा भए पनि
उसको हिमखिम र प्रीती उतै थियो
चन्द्रगढीभन्दा विराटनगर धरान पो सरेक थियो
जिल्लाको हेलाँ क्षेत्र भन्ने फरेप थियो ।
सन्तवीर, नारायण ढकाल र धनबहादुरहरू
दमकका निर्माता हौं भन्थे
नरबहादुर र रेवन्तबहादुरहरू बहादुरै लाग्थे
बिचरा कृष्णबहादुर भट्टीमा पनि किताब पढ्थे
लेख्थे पनि र थन्क्याउथे
भद्रपुरतिर आउँदा नयाँ किताब किनेर मदाडी लैजान्थे
‘काजी साहेब’ रमाइलै थिए ।
भर्खर– भर्खर स्कूलको ब्याड राखिँदैथ्यो
धान साह्रै फल्थ्यो
तैपनि अनिकाल लागि रहन्थ्यो
अहिलेको राजमार्गका ठाउँमा त,
आटब्बेको जङ्गल थियो
कतिपल्ट त बाघले दनक दिन्थ्यो
अभाव थियो, शिक्षा र चेतना थिएन
तैपनि रामरउस र रमाइलो
कता – कताबाट छिरेर आउँथ्यो
त्यस बखतमा माईपश्चिम
कौमार्य भङ्ग नभएकी युवती नै थियो ।
आकर्षित थियो ।

हजुर ! मान्छे त झापामा पहिलेदेखि नै थिए
सिर्जनाको धागो कात्नेहरू थिए
समाज निर्माणको बाटो समात्नेहरू थिए
शासकहरू, शासितहरू – सबै थिए
क्रान्ति गर्नेहरू थिए / क्रान्ति दबाउनेहरू थिए
भैरवप्रसाद – धर्मप्रसाद जस्ता प्रसादै प्रसाद थिए
महानन्द / श्यामकृष्ण र वसन्तहरू पनि थिए
केटो थियो / युवक थियो
बूढा, बूढा पनि उनीसँगै हिँड्थे
कम्युनिस्टहरूको जन्मभूमिजस्तै थियो
खमारमै पनि भिड्थे
त्यसो त छुट्टै शासन थियो
छुट्टै सरकार थियो
गभर्नर, प्रहरी, अदालत आफ्नै थियो
आइ जी, न्यायाधीश र मन्त्रीहरू थिए
नरेन्द्रनाथ त अझै छन्
के – के भयो अहिले पनि भन्दैछन् !
महानन्दहरू / खालिङहरू / गङ्गाधरहरू
जाँगरै– जाँगरका घर थिए
खोतल्दै जाँदा अहिले पनि भेटिन्छ हजुर
खोतल्ने ?
झापा अनौठो र आफ्नै प्रकारको थियो
हो, झापाले धेरैलाई धेरै दियो
झापामा के भएन र ?

भद्रपुरको त के कुरा गर्नू हजुर !
मेचीको राजधानी मात्र हैन
क्रान्तिको सञ्चालन केन्द्र नै थियो
ठूला – वडाहरू भद्रपुरमै बस्थे
सिलिगुडी / विराटनगर / काठमाडौं जता पनि
भद्रपुरबाटै जानुपर्थ्यो –
गलगलियाबाट रेल चढेर ।
वर्षामा नाउ चल्थ्यो मेचीमा
हिउँदमा पानी हराँउथ्यो
चामल त यतिबिघ्न जान्थ्यो – भारततिर
नेपालभरिको धान चामल यतै आउँछ ?
– भनेर गलगलियामा मान्छे सोध्दथे ।
धूलो र हिलोले छोपिए पनि
गाडै – गाडाको जुलुसले
भद्रपुर रन्केको थियो / दन्केको थियो
त्यति बेला के थिएन र ?
भद्रपुरसँग
सहरभरि अग्ला – अग्ला चिम्नी भएका
मिलहरू थिए
ट्वाँ गरेर बिहान – बेलुकै कराउँथे
मुलुकभरिका साहित्यकार आउथे
गोष्ठी गर्थे
भद्रपुर घुमेर मक्ख पर्थे
हिउँद लाग्न पाउँदैनथ्यो
पहाडतिरका यतै झर्थे
गङगाधर, लोकराज , रामेश्वरहरू
बत्ती बाल्दै हुन्थे
मोरास, चूडामणि, हृषीकेशहरू तेल थप्थे ।

तुल्सीराम कुँवरहरू पनि उपन्यास
लेख्न झापा आउँथे
द्रोणाचार्यहरू, वासुदेवहरू “पञ्चामृत” बनाउँथे
सरस्वती, कुमारीहरू बन्द झापाको
खापा खोल्थे
चिन्नै पर्दैनथ्यो
कति आत्मीय थिए मान्छेहरू !
जो पनि जोसँग बोल्थे
भद्रपुर – रमाइलो थियो ।
अहिले त
दाँत फुक्लिएकी
चाउरी परेकी
अनुहार बिग्रिएकी
आइमाईजस्तै भएकी छे – भद्रपुर
कसैले पत्याउँदैन
अधिराज्यको नगरपालिकामा यहाँ सस्तो जमिन छ
घडेरी सस्तो छ
हजार बेहुली एकैचोटि अन्भाएको घर भएको छ –भद्रपुर
कति उजाड र उराठ छ !
तर पहिले –
साँच्चैकी कुमारी थिई – भद्रपुर
कति राम्री बान्की परेकी
हेरिरहूँजस्ती
मायालाग्दी
वैस छचल्केकी
तर भद्रपुरको यस्तो दिन धेरै रहेन
जब यहाँ मेची पुल भएन
बिचरी भद्रपुरसँग केही रहेन
कोही रहेन
दिन बितेपछि भद्रपुरमा केही भएन ।

झापामा मान्छेहरू आए
लेकबाट आए
बेसीबाट आए
कोसीबाट आए
रोसीबाट आए
झापामा मान्छे, अनेकतिरबाट आए
जो आए
धेरैले –झापा खाए
धेरै रमाए
उनै जमे, जमाए
धेरै आउनेले आफ्नो भविष्य बनाए
धेरैले झापाको माटोमा उभिएर –
आफ्नो भाग्य कन्याए
झापामा आफूलाई बनाए ।

मान्छे धेरै भएपछि
औलो पनि अल्पमतमा पर्दै गयो
हार्दै गयो
हरायो
अनि त मान्छे
छाती फुकाएर झापा आउन थाले
बस्न थाले
पहिलाकालाई सेप पार्न थाले
पुरानाहरू मुर्झाउँदै गए
नयाँहरू फक्रिँदै गए
कालु, चालु, पुवालुहरू
रित्तिदैं गए
बहादुर, नाथ, प्रसाद र कुमारहरू
चुलिँदै गए
झापाले आफूलाई फेर्न थाल्यो
फेर्दै गयो – फेर्दै गयो
अनि त झापा, यस्तो भयो ।

हजुर !
झापामा धेरै कथा छोपिएका छन्
प्रसाद, नाथहरू नउधिन्नू–भन्छन्
उधिन्यो भने – आँखा राता पार्छन्
हैन भन्छन्
केही छैनन् भन्छन्
केही हैन भन्छन्
यो कथाजस्तो मात्रै हो
कथा हैन भन्छन्
उनै अड्डा हुन्छन्, अदालत हुन्छन्
प्रशासन हुन्छन्, शासन हुन्छन्
सुनौं-सुनौ लाग्ने भाषण हुन्छन्
कासन हुन्छन्
अनि कसरी उधिन्नू ? – झापाको कथा
कसरी कहनू ? – निर्वासितहरूको व्यथा ?
तैपनि छोपिएको मात्रै हो

उधिन्न सक्यो भने भेटिन्छ
नछोपिएको भए पो भेटिँदैनथ्यो !
पक्कै छोपिएको छ
त्यसैले भेटिन्छ
हिजोका मान्छेका
कथा भेटिन्छ
व्यथा भेटिन्छ
खोतल्यो भने
हिजोको झापा भेटिन्छ
हो, झापा पस्ने खापा भेटिन्छ ।

हजुर ! झापा अलिक विचित्रको छ
यहाँ भूगोल छ
इतिहास छ
भूगोल छोपिएको छ
थिचिएको छ
सिमाना छ, भारतसँग जोडिएको छ
भारत बढ्दै जान्छ
झापा खुम्चँदै जान्छ
महेशपुर, मेची, बाहुनडाँगी, काकरभिट्टा
रातभरि यता भए पनि बिहानै उता परिसक्छ
जङ्गे पिलर साँचो बोल्दा बोल्दै थाक्छ
सिमाना अतिक्रमणले झापाका मान्छेको मन पाक्छ
यहाँका मान्छेले बुझ्न सकेको छैन
किन झापाको माटो बेला – कुबेला भारततिर पर्छ ?

इतिहास त्यस्तै छ हजुर !
लेखिएकै छैन
वरू मेटिँदै छ
अहिले त
विश्वनाथ धिमिरे नचिन्ने क्राङ्ग्रेसी वग्रेल्ती छन् झापामा
सी के प्रसाई पहिल्यै बिर्सिएका हुन्
उनले बनाएका काङ्ग्रेसले नै
उनको काङ्ग्रेस टक्टक्याएका हुन्
नव काङ्ग्रेसले उनको
बाली पनि आली पनि पड्काएका हुन्
मदन खपाङ्गी चिन्दैनन्
वलबहादुर र पुहाँतु राजवंशी जान्दैनन्- कामरेडहरू
अहिलेका कम्युनिस्टहरू झापामा अलमल्ल पर्छन्
पुण्य शर्माहरू हराइ रहेछन्
अहिलेका कामरेडहरूले त
त्यो पनि सूचना हराएका छन्
आश्चर्य छ, झापामा
किन कामरेडहरूले यस्तो मन पराएका छन् ?
कामरेडहरू, इतिहास मेट्दै छन् मेटिरहेका छन् ।

थाहा छैन,
औलो त कसले भगायो झापामा ?
तर
अदिवासी पनि औलोपछि लागेर भागे
उनीहरू मुर्झाउँदै गए, हराउँदै गए
पछि आएकाहरू चम्किदै गए
बम्किदै गए
उनीहरू झापाका बाली थिए
अहिले बिउ सिलाखोज्नु पर्छ
अरूहरू – पहिला बिउ थिए
अहिले बाली नै बाली लटरम्म देख्नुपर्छ
यस्तै हो झापा
जो आए – जेसुकै पाए
पापा पाए
चाचा पाए
वरदान पाए
मान पाए
सम्मान पाए
हो
आउनेले नै झापा खाए !

सुन्नुहुन्छ ? एकपल्ट
एकाबिहानै सदरमुकामबाट
हाकिम र उनका मद्दतीहरू
दसैं खर्च खोज्न हिँडेछन्
देउनियाँको घारीमा पसेर बसेछन्
डुकीको दही र चिउरा तोडेछन्
र अन्तिम गाँसमा
दुइटा कौडा मिसाएछन्
र जेमदग्नि भएर मुचुल्का उठाएछन्
पुर्जी पनि ठिक्क पारे
देउनियाँलाई अझै छक्क पारे
दलाली चल्दै गयो
हाकिम झन् बल्दै गयो
देउनियाँ गल्दै गयो
दिउँसै रात भयो
उत्पात भयो
अन्तमा त्यस बर्ष उनको
दसैं मात्रै आएन, एकैचोटि
तिहार आयो
झापामै विहार आयो
माघे सङ्क्रान्ती, चैते दसैं पनि आयो
राम्रो हावा, पानी, मल र बिउ मिलेजस्तै भएर
उनको दसैं
त्यसवर्ष छताछुल्ल फल्यो
उनको बत्ती झलमलाएर बल्यो
त्यस वर्ष – यसरी
उनको दसैं खर्च फल्यो ।

त्यस्तै छ, अर्को कथा
सुन्नुहुन्छ ?
अलिक ठूलै देउनियाँलाई
पचास रुपैयाँ लुटेको भनेर
अदालतमा मुद्दा परेछ
देउनियाँ छक्क परे
तैपनि प्रतिउत्तर गरे
लुटेको देख्ने साक्षी बने
कारिन्दा पनि गए र भने
‘देउनियाँ ! पचास हजार जरिवाना हुने भो’ !
देउनियाँले जिब्रो लामो पारे
र गुहार मागे
जरिवाना माफ गर्न भने
कारिन्दाले भने –
जरिवाना त माफ हुन्छ, त्यति नै नजराना भए !
र त्यो लिएर कारिन्दा गए
अनि अर्को दिन
वादीले तारेख छोडेको
ढिसमिस फैसला भएको
नेपाली कागजको दुई पेज फैसला
करिन्दाले दिए,
देउनियाँले लिए
देउनियाँ, करिन्दा र बादी पनि
तिनै जना मख्ख परे
अझ देउनियाँ त
अड्डामा पनि आफ्नो हात पुगेको सम्झेर
ढुक्क, निदाए – त्यस रात ।

अनि एक दिन –
एकजना अर्द्ध बाजेले
साँझ–साँझ परेको बेलामा
देउनियाँलाई – उनकै घरछेउ
बाँसघारीनजिक बोलाएर –
अँध्यारो मुख पारेर
अनुहार सप्पै खुम्च्याएर
दिक्क मान्दै
साउती स्वरमा
खुसुक्क भने –
देउनियाँ ! खबर राम्रो छैन
अड्डाबाट फर्केपछि
कसै गरेर चैन भएन
एउटा डाका मुद्दा लागेछ
दुस्मनले गर्नु गरेछ !
देउनियाँको सातो हरायो !
उनको रक्त सञ्चार झन्डै बन्द भयो
अन्धकारमा पनि, आँधी पनि, व्याधि पनि
वज्र पनि – एकैचोटि
देउनियाँमा खनियो !
देउनियाँ बोल्न सकेनन्
सोच्न सकेनन्
देउनियाँ ढुङ्गो भए
उनको धरती भासियो !
आकाश खस्यो !
खुइय… गरे देउनियाँले र भने –
‘कस्तो राहु, मेरो टाउकोमा बस्यो ?’
अर्द्ध बाजेले सान्त्वना दिँदै भने –
‘म पनि छु
मलाई पनि त्यस्तै भएको छ
परेपछि नभोगी हुँदैन
जुक्तिले काम लिनुपर्छ
आज धर गएर सुत्नू
बिहान सबेरै, बाटो लाग्नुपर्छ
यता त बस्नै भएन
दुस्मनले पक्राउँछन्
पारि गएर केही दिन बसौं
र उतै मतो गरौं !’
भोलिपल्ट बिहानै –
भाले बास्नेबित्तिकै
एउटा पोको बोकेको देउनियाँलाई
पछि लाएर अर्द्ध बाजेले गाउँ छाडे
सिमाना नाघे,
गलगलियामा बसेर रेल पर्खे
सम्झाए बाजेले- ‘छोरालाई पर्छ त्यस्तो
हरेस खानुहुँदैन !
कसैलाई यो कुरा कहनै हुँदैन
मनमै राखौं !
गोप्य रूपमा सबै काम गरौं !’
वरा ! देउनियाँ
‘हुन्छ’ – भन्न मात्र सक्थे
त्यसै गरे
बिचराले रूनसम्म पनि पाएनन् ।
नक्सलबाडीमा एउटा सानो भाडामा लिएको कोठा
एउटा स्टोभ, अलिकति दाल, चामल, तेल नुन, चिनी
बाजेले देउनियाँलाई जोडिदिए
एउटा झल्ला र तन्ना ओछ्याएर
त्यही दिन काट्तै गर्न भनेर -बाजे बिदा भए
हप्ता – दश दिनमा आउँदै – जाँदै गरे
यसरी नै दिन बित्दै गए
देउनियाँले बाजेलाई गतिलै अवतार ठाने
र एक दिन भने
सधै यसरी भएन बाजे !
एउटा लिखत पनि बनाउनुपर्योत
हिसाब पनि गर्नुपर्योय
अलिक भुईं बेचेर
तपाईको ऋण तिर्छु – दशा लागेर यस्तो भयो !
तपाई नभैदिएको भए त
म बितिसक्थें
बाजेले भने
चिन्ता नगर्नू
खर्च अझै धेरे लाग्छ
म जुटाइदिन्छु
हिसाब पनि राखी दिन्छु
यहाँF पनि खर्च दिन्छु
यसरी देउनियाँको बसोबास नक्सलबाडीमा हुँदै गयो
बाजेले देउनियाँको स्याहार गर्दै गए
उता संम्झनाको लागि भनेर लेखिएको लेखोटमा
बाजेले लेखत पासमा नालेस गरे
देउनियाँको बाह| बिघा जमिन बाजेका नाममा सर्यो
अनि एक दिन बाजेले देउनियाँलाई नक्सलबाडीमा भेटे
महाभारत युद्ध जितिएको बताए
खर्च धेरै लागे पनि डाका मुद्दाको मिसिल सबै कागजात सहित
खोलामा बगाएको बताए
देउनियालाई नक्सलबाडीबाट गरामनीमा भित्र्याए
जमिन गए पनि पूर्ववत् भएकोमा ,देउनिया पनि रमाए
खुलेर बाजेको गुणगान गाए !
देउनियाँलाई के थाहा ?
न डाका मुद्दा थियो, न मिसिल थियो ,
न कुनै कागज खोलामा बग्यो !
उदार भए बाजे र अलिकति त्यही जमिन
देउनियाँलाई मोहीमा दिए
आजकाल पो फेरि देउनियाका छोराको बाजेसँग
त्यही जमिनका बारेमा मोही मुद्दा चल्दैछ
तैपनि अझै बाजेको बत्ती बल्दै
यस्ता बत्ती बाल्ने बाजे कति हो कति छन ?
झापामा –
खापाबाट हेर्दा झापामा यस्ता बाजे धेरै भेटिन्छन् ।
झापामा देउनियाँ र बाजेका अनेक रूप देखिन्छन् ।
झापामा एउटा कारागार छ
त्यसमा गतिलै पर्खालको बार छ,

त्यसभित्र अनेक कारोबार छ
एक दिन
कारागारको ढोका खुल्यो
छानिएका पाँच जना थुनिएकाहरू निकालिए
रसियन जिपमा राखेर हिँडाए
शनिश्चरे हुँदै इलाम लागेको जिप
सुखानीबाट फर्कियो
थुनिएकाहरू लास बनेका थिए
उनका शरीरभरि बन्दुकको गोलीका चोटहरू थिए
ती वीरहरूको रगतले सुखानी रातै भयो !
झापा रातै भयो !
नेपाल रातै भयो !
ती वीरहरूको सहादातले इतिहास तातो भयो
अनि त स्वाभिमान र स्वाधीनता हिमालजस्तै अग्लो भयो
दुस्मनहरू माटोमा मिले
शहीदहरू जनताको शिरको ताज बने
ती वीर पुरुषहरू
रामनाथ, नेत्र, विरेन, कृष्ण र नारायण त थिए ।

झापा किन रातो देखिन्छ ? – थाहा छ हजुर ?
झापामा रातो रङ लगाएको छ
मेटिँदैन
वरू, अझै चम्कन्छ
पहिला त अलि-अलि रङ छर्केको थियो
पछि त रङ पुरा दर्केको थियो
हुलका हुल कुची बोकेर रङ पोत्नेहरू दल्दै रहे
गल्नेहरू जाँदै गए
नयाँ जोसहरू आउँदै गए
एकपल्ट रङ दल्न को आएन र ?
रामवावुदेखि – वसन्तकुमारसम्म
गणेशवहादुरदेखि – सीतारामसम्म
राधाकृष्णदेखि – राधाकृष्णसम्म
थुप्रैले तालिम पाए
अहिले त अरू – अरू घर पनि चलाएका छन्
पुहातु, मदन खपाङ्गी, बलबहादुर, केर्कुहरूले
द्रोणाचार्यसँग थुप्रै – थुप्रै कुचीकारहरूले
झापा सजाएका छन्
इतिहास फलाएका छन्
अझै पनि छन्- गोपालकृष्ण, टीकाप्रसाद र भ्रमणसिंहहरू
अझै पनि छन्- सी.पी., के.पी. र नन्दकुमारहरू
केश पकाएका छन्
कहिले-कहिले त- मन पनि बहकाएका छन्
तपाईको कौतुहल अझै मेटिएन ?
प्रश्न छ– यतिविघ्न किन रातो छ त?
रातो भएको छ
अनि रातो छ
रगत पोखिएको छ
रगत पोखेर झापा सिंगार्नेहरूको जुलुस छ
अनि झापा रातो छ
रामनाथ, नेत्र, विरेन, कृष्ण र नारायणहरूले
झापा रङ्गाएर मुलुक हल्लाए
राम प्रधान, चन्द्ग डाँगीहरू
अमर, छविल र खोकाहरू
पछिल्लोपल्टका
डि.कौडिन्य, छवि र शङ्करहरू- उनका अरू साथीहरू
चतुरमान, मिश्री धिमाल र सुरेशहरू
घना र सम्झनाहरू
यी सबैको रगत पोखिएको छ झापामा
अनि झापा रातो छ !
राम थापा र लक्ष्मी पाण्डेहरू भनिरहेछन्
झापा अझै तातो छ !
सुरज विश्वास र राजन गिरीहरू भनिरहेछन् –
झापा रातो छ, झन् राम्रो छ !
झापासँग एउटा सुन्दर सपना छ
एउटा पोको छ
त्यहाँ- शुभ्र, शान्त, समृद्ध, स्निग्ध र समता मूलक नेपालको
तस्विर छ
त्यसैले हजुर ! झापा रातो छ !
यससँग मुलुक सजाउने सुन्दर सपना छ !

————————————————————————————–

आदोलन

१.
अब त, तिम्रो मन थर्कनुपर्ने
तिम्रो रहर चर्कनुपर्ने
तिमी जता जाँदै छौ
त्यहाँबाट फर्कनुपर्ने
हैन, तिमी अझै बलियो ठान्छौ आफैलाई भने
अब त तिम्रो सम्पूर्णता
कालो इतिहासमा पोखिनुपर्ने ।

२.
सडकमा धेरै मान्छे आएका छन्
नारा घन्काउँदै आएका छन्
मसाल बोकेर आएका छन्
तिमीले नारा रोक्न खोज्यौ भने
मसाल फुक्न खोज्यौ भने
तिमी निभ्छौ- मसाल अझै बल्छ
मसाल बल्दै जान्छ ।

३.
मुठी कसेका हातहरुमा
सम्पूर्णताका साथ आएका छन्
मान्छेले भविष्य खोजेका छन्
सन्ततिको हँसिलो अनुहार खोजेका छन्
साँच्चै भनौं- सुन्न सक्छौ ?
मान्छेले तिम्रो निर्वासन खोजेका छन् ।

४.
मान्छेहरु आए
गाउँ-गाउँबाट आए
टोल-टोलबाट आए
मान्छेहरु स्वतन्त्रता खोज्दै आए
निरङ्कुशतामा तारो हान्न आए
निरङ्कुशता ढाल्न आए
मान्छेहरु चट्टान बनेर आए
सावधान ! नेताहरु ! खुट्टाै नकमाउनू !
मान्छेहरु बलिदान हुन आए
रगत दिन आए
मान्छेहरु, मान्छेको इतिहास निर्माण गर्न आए ।

५.
हिजो राती अँध्यारो थियो
समय तिमीलाई अनुकूल थियो
अहिले त मध्याह्न भएको छ
घाम लागेको छ
तिमीले केही चाकरहरु पठाएर
घाम छेक्न खोज्छौ !
अहिले दिउँसोको बाह्र बजेको छ
तिमी दिउँसो पनि रात खोज्छौ
अनि त तिम्रो पनि बाह्र बजेको छ
यति बेलै तिम्रो घडी बिग्रेको छ
अब सधैं तिम्रो बाह्र बज्छ ।

२०६२ चैत्र

————————————————————————————–

माइत र घर

१.
ऊ बनकी चरीजस्तै थिई
भुर्र उडेर रूख–रूख चाहार्थी
घरकी बहार थिई
किशोरी बितेर युवती हुँदै थिई
विचरी ! नारी पनि नबन्दै विवाहित भई
र पतिका घरमा समाहित भई ।

२.
साँच्चै, जहाँF ऊ जन्मी र हुर्की
त्यस घरका उन्नतिमा ऊ फुर्की
मझेरीमा, दलिनमा र भित्तामा
ढोकामा, झ्यालमा र शिशाहरूमा
सिकुवामा, पेटीमा र आँगनमा
मिसिई, पिसिई र भुलिई
तर क्षणभरमै विवाहपछि
त्यो घर, उसको घर भएन
त्यस घरमा पूर्ववत् उसको कुनै हक रहेन
त्यस्तै भयो जस्तो अरू विवाहित नारीको हुन्छ
हिजोको घर अब माइत भयो
त्यहाँ फगत माया हुन्छ
विचरीको अरू त्यहाँ के हुन्छ र ?

३.
तवसम्मको घरलाई माइत भनेर
पालेको गाई वस्तुजस्तै
पन्छी र सागपातजस्तै
बेचेपछि या बेच्न हिँडाएपछि
सिर्जना भएको विह्वलतामा
अलिकति भलमात्र थपिएको त हो
त्यो भलले अलिकति मल मात्र पाएको हो
माया, स्नेह र ममताको बल देखिएको मात्र हो
तर अविवाहित छोरीको जस्तो कहाँ माइत हुन्छ र ?
मझेरी, दलिन र भित्ताहरूलाई कहाँ छुन्छ र ?
वामे सरेको, तोते बोलेको, नाङ्गै-भुतुङ्गै हिँडेको
नाचेको, कम्मर भाँचेको
अनन्त इच्छा बोकेर सङ्लो जिन्दगी बाँचेको
फगत अब त सम्झनाहरू मात्र सम्झना हुन्छन्
अब त औपचारिकता पूरा गरेर
साइत हेरेर मात्र माइत जानुहुन्छ भन्छन्
साँच्चै आइमाईको माइत
जसरी निर्माण भएको हुन्छ सम्झँदा त
नरम-नरम मन भएकाहरूलाई त सम्झन पनि कठोर हुन्छ ।

४.
ऊ पनि विवाहित भई
पतिका घरमा समाहित भई
घर नपस्तै
पतिको गाउँको माटो ढोगी, हावालाई माया गरी
क्षितिज र आकाश हेरी
घर पसेपछि
पुर्खाको नासो स्याहार्छु भनेर कसम खाई
दलिनसँग, मझेरीसँग, भित्तासँग
छतसँग ,परिवारका पथसँग, माया लगाई
र नआँटेका ठाउँमा माइतीको माया खुस्काएर
घरको माया सिउरी
र ऊ
त्यस गाउँको, त्यस ठाउँको शरण परी
र भनी
यो गाउँ मेरो गाउँ हो, माटो मेरो हो
यो आकाश मेरो आकाश हो
यो क्षितिज मेरो क्षितिज हो
यो घर मेरो घर हो
र फेरि भनी –
जन्मन त म पहिल्यै जन्मिसकें
म मर्ने यहीँको माटोमा हो
मेरो शवयात्राको यही बाटो हो
मेरो लास जलाउने माटो र पखाल्ने पानी यहीँको हो
मेरो चित्ताको धुवाँ उड्ने यही आकाश हो
अलिकति माटो समाती र शिरमा चढाई
ऊ, यसरी त्यस घरकी भई ।

५.
अनेक उकालीहरू, ओरालीहरू आए
भुँवरी र हुरीहरू आए
एकाध खुसीहरू पनि आए
तर धेरै रोडा र पत्थरहरू आए
आफन्तहरू गए, पराइ भए
आकाश खसेका क्षणहरू पनि आए
तर घरलाई कुरूप हुन दिनु भएन
खुसीहरू च्यात्नु भएन
उसले आकाश उठाई
कुरूपतामा सुन्दरता रोपेर मन सजाई
गाउँलेहरूले खल्लो नमानून् भनेर
मधुर आवाजका बाजा बजाई
गाउँलेको खाँचो टार्न कतिपल्ट आफ्नै मन पनि भजाई
यसरी ऊ गाउँकी भई
क्षितिजकी भई,
गाँउलेहरूको रहर भई
उसका खुसीहरू थाती रहे
तर गाउँका खुसीहरू फक्रिरहे
सबैको खुसीलाई आफ्नो खुसी ठानी
के फरक पर्यो र ? जुन माटोमा जन्मे पनि
उसले त्यो माटोलाई नैं
सर्वस्व मानी ।

६.
यसरी निर्माण भएकी, ऊ एउटा इतिहास हो
अन्धकारमा गाउँलेहरूकी ऊ राँको हो
न गाउँमा पर्ने पराईको चोट सहन सक्छे
न त स्वाभिमान र राष्ट्रियताको विरुद्धमा उम्रने बोट सहन सक्छे
आफ्नै मात्र भूमिका लागि
बलिदान हुन सक्छे
ऊ गभीर छे
अहिले त
जसले जे भनून्
ऊ, इतिहास भएर पनि त्यस देशको सम्पत्ति हुन सक्छे।

७.
एउटा लामो कालखण्डसम्म
मान्छेहरूले उसको तपस्या हेरिसके
उसको मन – मस्तिष्क र सोच देखिसके
अनि त गाउँलेहरूले मन – मनमा उसको नाम रोपिसके
विश्वासले लपक्क वेरेर उसलाई आफ्नो मनमा सारिसके
तर केही दुष्टहरू त तुच्छ हुदाँ रहेछन्
आरिस र डाहले आफैँ जल्दा रहेछन्
अनि त तिनले एउटी वृद्ध महिलालाई भने
तिमी घरकी हैनौ, माइतकी हौ
तिमी गाउँकी हैनौ परदेशकी हौ
तिमी देशकी हैनौ विदेशकी हौ ।

८.
तर मेरो मनमा एउटा प्रश्न उठिरहेछ
महिलाहरूलाई वृद्ध अवस्थामा पनि यसरी डाम्न रहर गर्नेहरू
कुन तत्वले निर्मित हुन्छन् कुन्नि !
र उसको मस्तिष्कमा के भरिएको हुन्छ
हो, कसैले सक्छौ भने
दुवैको मन र मस्तिष्क जोख
कसका छातीमा देशको धेरै माया छ ?
कसका मुटुमा माटोको कति स्नेह छ ?
र उनको त त्यागको उदाहरण
देशलाई माया गर्ने पुस्ताले आफूभित्र साँच
र उनलाई माइतीकी भन्नेहरू !
कृपया बृध्दा – अवस्थामा माइत बस्ने रहरलाई
तिमी मनबाट भाँच ।

————————————————————————————–

सबैलाई झुन्ड्याउन सक्छौ ?

१.
अन्तमा
सद्दामले जित्यो
उनीहरूले हारे
अपराधीहरू , कायरहरू– यसरी नै हार्छन्
सद्दाम अमर भयो
उनको कयरताले सद्दामलाई कहिल्यै नमर्ने बनायो ।


कायरहरूले सद्दामको नाममा एउटा मान्छे झुन्ड्याए
सद्दाम झुन्डिन सकेन
मान्छे झुन्डियो
मान्छेलाई फाँसी दिनेहरूको अपराध
सद्दामको भन्दा ठूलो भयो
हत्याराहरू मानवताका हत्यारा भए
हत्याराहरू सभ्यताका हत्यारा भए ।


अपराधीहरूका लामा, काला हात
कठोर र कालो मन
सभ्यताविरोधी ध्वंसप्रिय मस्तिष्क
सिर्जना छिया – छिया पार्ने चाहना
उनको यसै संयोजनले
उनले
सद्दामका नाममा मान्छे तारो हाने
सभ्यतालाई झुन्डयाए ।


तर सभ्यता यसरी मर्दैन – अपराधीहरूको इच्छामा
मान्छेको अस्तित्व पनि मर्दैन –अपराधीहरूको इच्छामा
अपराधीको इच्छामा साच्चै मान्छे मर्ने भए
उहिल्यै संसार, संसार रहने थिएन
सद्दामलाई झुन्ड्याउन रहर गर्नेहरूले बुझेनन् कठै !
सद्दाम भित्रपनि मान्छेथियो
अनि त सद्दाम झुन्डिन सकेन ।


सद्दाम झुन्डियो भन्ने भ्रम बोकेकाहरुले
युद्ध हारेका छन्
उनैको मस्तिष्क फाँसीमा चढेको छ
अपाहिज बनेको छ
हत्याराहरू,
मान्छेका आँखामा घृणित बनेका छन्,
तिरस्कृत भएका छन् ।


ए अमेरिकाका नायक !
तिमीले बुझिदिए उचित हुन्छ
तिमी थोरै इराकी कठपुतलीहरूको मतले
तिमीले अर्को इराकी नायकलाई झुन्ड्यायौ
तर
संसारका सारै धेरै मान्छेको मनले तिमीलाई फाँसी दिएको छ
यतिबिध्न मनहरूले फाँसी दिएपछि
तिमी पनि फाँसी चढ्नुपर्ने
तर तिमी आजीवन कारागारमा बस ।


र अन्तमा
सद्दाम मरेन
उ फेरि जन्मेको छ
साहसी बनेर जन्मेको छ
न्यायप्रेमी मान्छेहरूका मनमा सद्दाम जन्मेको छ
हो, मेरो पनि मनभित्र र आस्था भित्र
सद्दाम जन्मेको छ
ए अमेरिकाली दाइ
के तिमी म र मजस्ता सबैलाई झुन्ड्याउन सक्छौ ?

————————————————————————————–

साँच्चै बिसे नगर्ची बौलाएछ !

बिसे नगर्ची बौलाएछ !
एउटा कविले देखेछ
र राम्रो कविता लेखेछ
अढाइसय वर्षपछि पनि बौलाएछ !
पहिला–ओइलाएछ
अनि बिसे नगर्ची बौलाएछ !
धन्य ! बिसे मरेनछ– मात्र बौलाएछ
मर्नुभन्दा बौलाउनु राम्रो
अनि त बिसे फगत बौलाएछ
धन्य ! बिसे मात्र बौलाएछ
बिसे मरेनछ ।

बिसेकी स्वास्नी मारिदिएछन्
बिसेकी छोरीको बलात्कार गरेछन्
घर जलाइदिएछन्
बिसेकै पनि त हात – खुट्टा भाँचिदिएछन्
कठोर स्मृति बिसेलाई साँचिदिएछन्
सकेनछ बिसेले सम्झन/बुझ्न/मन थमाउन
अनि त बिसे बौलाएछ !
मालिक म बौलाएँ ।– भनेर कराएछ !
कविले सुनेछ
अनि, बिसे राम्रो कविता भएछ
तर, बिसे साँच्चै बौलाएछ !
बिसे को हो?
बिसे के गर्दथ्यो?
मान्छेहरु बौलाउँछन्
कति ओइलाउँछन्, कति लोलाउँछन्
त्यस्तै एउटा थपियो होला !
बिसे बौलायो त के भयो?
–यस्ता प्रश्न पनि छन्
बिसेको बौलट्ठीमा रङ्ग भर्दै छन्
तर, बिसे बौलायो !
ऊ आफैले भन्यो– हजुर म बौलाएँ ।

गोरखाको बिसे
झापामा स्वास्नी पाल्दै थियो
दार्चुलामा झुप्रो ध्वाँउदै थियो
कहिले दाङमा– कहिले ताप्लेजुङमा
छोरीलाई जनवनमा पठाउँथ्यो
बिसे धनकुटाका ब्याँसी र रोल्पाका लेकमा थियो
बिसे तराई, पहाड र हिमाली भेकमा थियो
जुनसुकै छेकमा बिसे टुँडिखेलको छेउमा थियो
आफन्त र परिचितहरुको भेउमा थियो
भोकै पेट पनि अलिकति हाँसो सिउरेर
बिसे हिँड्दै थियो
माया लाग्दै भए पनि बिसे सारसँउदो थियो
सकेन, बिसेले स्वास्नी मारेको घटनालाई थाम्न
अलिकति बरु आफै खुस्कियो
छोरीको बलात्कार भएपछि झन् भक्कानियो
घर पनि जलाइदिएपछि बिसेले नबौलाई धरै पाएन
बिसेको केही रहेन, बिसेको कोही रहेन
अनि त बिसे बौलायो !
हो ! बिसे नगर्ची बौलायो ।

बिसे बौलाउन त बौलायो
बिसेले डढेलो सल्कायो
बिसे जहाँ पनि पुगेको छ
गाउँमा, घर–घरमा बिसे बौलाएको छ
बजारमा, कोठा–कोठामा बिसे बौलाएको छ
तराईमा, पहाडमा सर्बत्र बिसे बौलाएको छ
मुलुकभरि बिसे नगर्ची बौलाएको छ
अनि त कविहरुका कवितामा पनि बिसे बौलाएको छ
अरुहरुका मस्तिष्कमा पनि बिसे बौलाएको छ
बिसे त सर्वत्र भएर बौलाएको छ
बहिरा हजुरहरूले
अझै सुन्ने गरी भन्नुपर्छ कि कविज्यू !
बिसे नगर्ची विक्षिप्त भएर बौलाएको छ,
साँच्चै बिसे नगर्ची बौलाएको छ।

(श्रवण मुकारुङको १९ असार २०६२ मा नेपालमा छापिएको बिसे नगर्चीको बयान नामक कविता पढेपछि)

————————————————————————————–

डढेलो

मानिसहरू डढेलोको समाचार सुन्न बसेका थिए
डढेलो आफैतिर आयो र थाहा भयो
डढेलोले त पोल्दो रहेछ ―डढेलो बोल्दो रहेछ
डढेलोले मान्छेका मनभित्र र मस्तिष्कभित्र
डाह छोडदो रहेछ
डढेलोले मान्छेका मनभरि हुने गरी
यातना र पीडा जोड्दो रहेछ।

सधैँ – सधैँ पत्याउनै सकिने पनि हुन्छ
कहिले – कहीँ पत्याउनै नसकिने पनि हुन्छ
यसपल्ट मान्छेहरूले पत्याउनै सकेनन्
जसले सुने, दरबारमा जे भएको थियो
एकले अर्कालाइ व्यक्त्याउनैं सकेनन्।

सत्य छोपिएको छ
उसका वक्ष र मस्तिष्कमा असत्य रोपिएको छ
सत्य पर – पर भाग्दै छ
असत्य पलपलमा जाग्दैछ
लाग्छ अब सत्य कालकोठरीमा कैद छ
असत्य प्रश्नै गर्न नहुने गरी वैध छ !

कविका कविताहरूमा
निर्धनहरूका स्वच्छ मनमा
मुजुर र डाँफेहरू नाच्ने वनमा
असत्य रोप्न सकिँदैन
काला कर्तुतहरूमा
काला धनहरूमा
कपट मनहरूमा
सत्य खोज्दा भेटिँदैन
सुरक्षित भनिएको भित्रको भित्र आज जे भयो
आँखा खोलेर देखिँदैन
आँखा चिम्लनुपर्छ, सम्झनुपर्छ
कसैको रगत र अरूको कपट
झल्याक्क – झुलुक हुन सक्छ
अरू धेरै त के आस गरौं र ?
यति भन्दा पनि यहाँ पल्याक – पुलुक हुन सक्छ
डढेलो भनेकै यस्तै हो !
यसले छोपेपछि हिजो रोपेको कहाँ भेटिन्छ र ?
२०५८ जेठ

————————————————————————————–

समय

१.
समयका बारेमा
अहिले एउटा प्रश्न उठेको छ
समयलाई पहिचान गर्न कठिन महसुस भएको छ
मैले सम्झन त सकेको छैन
मैले बाँचेको युग कस्तो हो ?
बर्बर हो कि सभ्य हो ?
युग आदिम हो कि, आधुनिक हो ?
यो प्रश्न गर्न, मलाइ रहर लागेको छ
प्रश्न जिम्मेवारहरुसँग छ
प्रश्न अगुवाहरुलाई छ
न्यायमूर्तिहरुसँग छ
संसारभरिका शासकहरूसँग छ
प्रश्न समय आफैसँग पनि छ
आफ्नै अपराधलाई सेतोले छोप्ने शासकहरूसँग छ
युग आदिम हो कि आधुनिक ?
समय बर्बर हो कि ? सहज ?
जान्ने, जोसुकैसँग यो प्रश्न छ।


बर्बरलाई सहज बताउने
आदिमलाई आधुनिक बताउने
विवेकलाई कैद गरेर
शक्तिलाई छाडा छोड्ने
त्यस्तैको स्तुति गरेर
सभ्यता भाँड्ने
आवरणभित्रका खुनी र बलात्कारीको पूजा गर्ने
वर्तमानले पाएको जिम्मा यस्तै हो ?
वर्तमान भनेको कठपुतलीको मन भएको समय हो ?
कि चेतना घोडा बनेर सवारी चलाउनुपर्ने समय हो ?
भन – जसले भने पनि हुन्छ
तर – पत्याउने गरी भन
यो कस्तो समय हो ?
जान्दछौ भने – तिमी यसको जवाफ भन ।


मैले हत्यारा र बलात्कारका अपराधी देखेको छु
भेटेको छु, उनको बयान सुनेको छु
मलाई बिचरा लाग्ने गरी –
मेरो सहानुभूति उनले तानेका छन्
हो, जस्तै लाग्ने गरी उनले ढाँटेका छन्
उनका खुनै – खुनका हातहरू देखाएका छन्
र कति सफा छन् ? भनेका छन्
तिम्रा हातमा रगत छ
– भन्न वकिल पनि हच्किएका छन्
थाहा छ, समयलाई मुठीमा कैद गर्न रहर गर्नेहरु
नदी त हिमालतिर बगेको छ –भन्न लगाउनेहरु
ती हत्यारा, बलात्कारीभन्दा कुशल छन्
सिप र साधनले
अस्त्र, शस्त्र र वस्त्रले पनि सुसज्जित छन्
थाहा छ –
डरले पनि भरले पनि र रहरले पनि
हो भन्नेहरुको जुलुस हुन्छ
तर जुलुसमै भएकाहरुको पनि त मन छ भने
कठपुतलीकै भए पनि
मनको कुनै कुनामा छुन्छ
सबै मेटियोस् – मरोस् !
तर सत्य त कसरी मेटिन्छ ? र मर्छ ?


बर्बरताले आजित भएपछि
मनहरूले प्रश्न उठाएका छन्
मनहरू, डामिएका छन्
घाइते छन् मनहरू
क्षत – विक्षत भएका छन्
रक्ताम्य भएका छन् –
तिमी, जो समय प्रदूषणको कारण छौं
र तिमी, जो समय प्रदूषकहरुको साथमा छौं
मान्छेहरूलाई – ढाँट्न सक्छौ
आँखालाई ढाँट्न सक्दैनौ
समय सधैँ आफ्नै हुन्छ कि ?–भन्ने भ्रममा परेर
आफैलाई ढाँटेका छौं
ढल्दै गरेको टाकुरामा पुगेका छौं
टाकुरो ढलिसकेपछि – तिमी कहाँ हुन्छौ ?
भन्न सक्छौ ?
सक्छौ भने – भन त
तिमी बर्बर हौ कि ? समय ?

————————————————————————————–

भूतपूर्व साथी

हामी
एकपटक- सँगै हिँड्थ्यौं
अभावका क्षणहरू धित मरून्जेल खप्थ्यौं
भोक बाँड्थ्यौं
एउटाको शोक मेट्न अर्को हत्ते गर्थ्यौं
मरिमेटेर एउटाको काम अर्कोले फत्ते गर्थ्यौं
एउटाको ओठमा अर्कोको खुसी साट्थ्यौं
एउटाले खाएको सुनेर पनि
अर्कोको पेट भर्थ्यौं
र, मान्छेहरूले हामीलाई साथी भन्न थाले
एकलाई अर्कोको पूरक गन्न थाले
हामी पनि खुसी भयौं
हामी अभाव र सङ्कटग्रस्त क्षणहरूमा थियौं
हामी साँच्चै साथी-साथी थियौँ ।
समय,
हाम्रा हातबाट चिप्लँदै गयो
समय हाम्रा साथबाट पनि चिप्लँदै गयो
समय सर्वत्रबाट चिप्लँदै गयो
आँधी-बेहरीबाट चिप्लँदै गयो
आँधी-बेहरी आयो ! भूकम्प गयो !
समय छिप्पियो-कठोर भयो
हाम्रा परिवेशहरू फेरिए
हाम्रा क्षितिजहरू कहिले बन्द भए, घेरिए
हाम्रा क्षितिजहरू कहिले खुला भए
हामी बन्दभित्र पनि बन्द हुँदै गयौं
हामी नजिक-टाढा, नजिक-टाढा हुँदै रह्यौं ।
तर, आज
हामी भोक बाँड्दैनौं
सँगै हिँड्दैनौं
अभावका क्षणहरू सँगै खप्दैनौं
एउटाको शोक मेट्न अर्काले हत्ते गर्दैनौं
एउटाको काम पनि अर्काले फत्ते गर्दैनौं
न ओठको खुसी साट्छौं
न एउटाले हात पारेको करोडौबाट
अर्काको छाक टार्छौं
मान्छेहरूले पनि हामीलाई साथी भन्दैनन्
एकलाई अर्काको पूरक गन्दैनन् ।
र एक दिन
एउटा चोकमा
ऊ भाषण गर्दै रहेछ
छेउको पसलमा म उधारो रासन माग्दै थिएँ
पसलेले जमानत खोजे जस्तै
आँखा पारेर सोध्यो–
ऊ तपाईको साथी हो अरे !
मैले पसलेलाई भनें– ऊ ठूलो नेता हो
उसको बेइज्जत नगर !
पसलेले जिद्दी छोडेन र भन्यो–
सबैले भन्छन्– ऊ तपाईको साथी हो अरे !
मैले अनुनय-विनय गरेँ र भनेँ–
साथी त थियो
तर, अहिले त भूतपूर्व भयो ।
हत् ! साथी पनि कतै भूतपूर्व हुन्छ र ?
हुँदैन !
साथीलाई त विचारले छेक्तैन
सम्पत्तिले झन् रोक्दैन !
ऊ ठूलो भयो / भाषण गर्दै छ
तपाई उसको अगाडि गएर ताली मार्नुहोस्
उसको भाषण फलेपछि
तपाईंले बाली पाउनुहुनेछ
उसका असल-असल बानी अरूलाई भन्नुहोस्
उसको कमिसन तपाईंको हिस्सामा गन्नुहोस्
तपाईंहरूको मित्रता झन् झाँगिने छ
साथीसँग तपाईंको नाम
स्वागतद्वारमा टाँगिनेछ !
भयो, कहिलेसम्म किन्नुहुन्छ उधारो रासन ?
तपाईंको स्वागत गर्न पर्खिरहेछ साथीको भाषण
सोच्नुहोस् र भुल नगर्नुहोस्-
ऊसँगै अरू पनि त्यसो भन्दै गए
म निरिह बनेर सुन्दै गएँ ।
तर हो,
ऊ हिजो मेरो साथी थियो
आज ऊ भाषण गर्दै छ !
म उधारो रासन खोज्दै छु
पसले उधारो नदिन टार्दै छ
मलाई सर्मिन्दा पार्दै छ
आज त उसको बाटो उता छ
मेरो त जिन्दगीको राँटो यता छ
उसका आँखा कमजोर बनेका छन्
मलाई हेर्न रुचाउँदैनन्
मेरा हातहरू गरूङ्गा हुँदै छन्
लत्रिएका छन्- उठ्दैनन्
ऊ मेरो भूतपूर्व साथी हो
विचरा ! पसलेको रासन डुब्न सक्छ
अनि त ऊ मलाई भाषणतिर पठाउँछ
तर हो, ऊ मेरो साथी थियो
अहिले भूतपूर्व भएको छ
अनि म भन्छु–
‘पसले दाइ ! मलाइ रासन नदिनू
र, मात्र आज म उसलाई सम्झिरहन पाउँछु
नत्र त, पकाउने, खाने, भाँडा माझ्ने लन्ठामा
भुसुक्कै म उसलाई बिर्सन सक्छु
ऊ मेरो भूतपूर्व साथी हो
तर मेरो स्मृति भने वर्तमान हो । ’

————————————————————————————–

नयाँ बर्षसँग

ऊ, फेरि आइपुगेछ
टुप्लुक्कै – आइपुगेछ
जसरी आउँथ्यो – पहिला
त्यसरी – नै आएछ
ऊ– आइपुगेछ ।
सोचेको थियो
यसपल्ट त–
अलिक भिन्न अनुहार लिएर आउला
प्रसाधन भरेको मुस्कान भिरेर आउला
लागेको थियो-
ऊ– यसपल्ट त
हौसला र उत्साह पनि लिएर आउला
जोस र जाँगर लिएर आउला
जिजीविषा लिएर आउला
नवयौवना भएर आउला
सिँगारिएर नव दुलही भएर आउला
घरभित्र बत्ती बाल्ने गरी आउला
उज्यालोको मुस्लो लिएर आउला ।
यसपल्ट पनि वैशाख आएको छ
छानामा आएको छ, आँगनमा आएको छ
कोठा-कोठामा आएको छ
वैशाख छताछुल्ल भएर आएको छ
तर, यसपल्ट पनि
मान्छेको मनमा वैशाख छिरेको छैन
हावा, सिर्जना बनेर फिर्नुपर्ने !
यसपल्ट पनि हावा-त्यसरी फिरेको छैन
यसपल्ट त
‘नयाँ वैशाख आउँछ’– ठानेको
वैशाख चैत बनेर आएको छ
पुरानै वैशाख आएको छ
कहाँ छ सिर्जना, उत्साह र जाँगर ?
छाम्दा पनि नभेटिने, हेर्दा पनि नदेखिने भएर
नयाँ, नयाँ भनेर–पुरानै वैशाख आएको छ ।

वैशाख त धेरैपल्ट आइसक्यो
तर नयाँ वर्ष भएर वैशाख आएन
वैशाख आएर पनि आएजस्तै भएन
यस मुलुकमा नेताले बुझ्दै वुझिदिएनन्
मान्छेका मनमा वैशाख आएन ।

आदरणीय नेताहरू !
‘कृपया वैशाखमा अलिकति रङ्ग भर
बेइमान हुने क्रम भङ्ग गर
वैशाख सजाउ
आफैँभित्र इमान जगाउ
नबिगार मुलुक, बरु सक्छौ भने सजाउ
इमानका घण्टहरू बजाउ
मनभित्र, मस्तिष्कभित्र मायाको स्रोत बनाउ
भोलिका मान्छेले पाउने मायाको सागर बनाउ ।’

पुरानै अनुहार भएको ए ! नयाँ वर्ष !
दिक्क लाग्ने गरी
उसरी नै किन आउँछौं ?
सदबुद्धिका पोकाहरू बोकेर आऊ
इमान र सिर्जनाका पुन्तरो बोकेर आऊ
नेताहरूलाई पुग्ने गरी यस्तै यस्ता
खजाना बोकेर आऊ
देश बनाउने जाँगर र विवेक
नेताहरूलाई दिने घोषणा गरेर आऊ
बेइमानीहरूलाई निमोठ्ने गरी आऊ
नयाँ वर्षलाई स्वागत छ
मनले, हृदयले र मस्तिष्कले स्वागत छ
कृपया– यसपल्ट तिमी
कम्तीमा
जनतालाई मालिक बनाउने गरी आऊ
वैशाख ! नयाँ वर्ष !
यसपल्ट यति त दिने गरी आऊ !
२०६४ बैशाख १

————————————————————————————–

श्रीमान्… प्रसाद

१.
एकपटक– यस्तो समय थियो
उहाँ श्रोताहरूका माझमा बस्नुहुन्थ्यो
गम्भीर जस्तै देखिएर भाषण सुन्नुहुन्थ्यो,
अन्त्यमा
प्रश्नको अलिक गतिलै झटारोले
मञ्चमा बसेकाहरूलाई प्रहार गर्नुहुन्थ्यो
उनीहरू अक्क – न – बक्क पर्थे
ओठ – मुख सुकेका जस्ता देखिन्थे
प्रश्नको तातोले डामिएका/क्षत –विक्षत भएका
उनीहरूको धोती–
यताबाट पनि उताबाट पनि खुस्कन्थ्यो
तैपनि ‘हामी नाङ्गा भएनौं’- भनेर उनले भनेपछि
कार्यक्रम सकिन्थ्यो
अनि – उहाँ
श्रोताहरूको भिड लिएर- अलिकपर
नाङ्गाहरूलाई अझै नङ्ग्याउनुहुन्थ्यो
र धेरै तालीको बाली समेटेर
सबैसँग बिदा हुनुहुन्थ्यो
फुर्सत मिलाएर- सुटुक्क
नाङ्गाहरूका वस्त्र बुझाइदिनुहुन्थ्यो
मान्छेहरूले यसरी नै उहाँलाई नायक बनाए
र नेता भन्न थाले ।

२.
अहिले उहाँ– श्रोताहरूका माझमा बस्नुहुन्न
मञ्चमा बस्नुहुन्छ
भाषण सुन्नुहुन्न – सुनाउनुहुन्छ
उहाँको प्रवचनको विषय सधैँ ‘निर्वस्त्र ‘ बारे हुन्छ
र उहाँ भन्नुहुन्छ–
‘नाङ्गो अनुभूत हुनु भ्रम हो
सन्सारमा नाङ्गो कोही हुँदैन । केही हुँदैन
जो पनि नाङ्गै जन्मन्छ
एउटा पहिरन पनि छाडेर मान्छे मर्छ
त्यसैले नाङ्गो हुनु भनेको त
किशोर र युवाहरूलाई लाग्ने भ्रमको रोग हो
मैले त त्यस्तो रोग, अलिक चाँडै काटेँ
बल्ल दर्शनलाई पूर्ण रूपमा बुझें
-यसरी मैले दर्शनको अर्थ प्राप्त गरें ।’
श्रोताहरूको छटपटी बढ्दै जान्छ
केही बाङ्गा – टिङ्गा र सिधा प्रश्नहरूको झटारो
श्रोताले मञ्चमा फ्याँकेपछि
उहाँमा तातो खनिन्छ
आँखाभरि रातो भरिन्छ
उहाँ तिनै प्रश्नहरूले श्रोतालाई प्रहार गर्नुहुन्छ
र भन्नुहुन्छ–
‘यस्तो अराजक प्रश्नहरूको म जबाफ दिन्न
मैले दर्शनको अर्थ प्राप्त गरेको छु
मलाई कसैले नङ्ग्याउन सक्दैन
बरु म नङ्ग्याउन सक्छु
किन भने म नेता हुँ ।’

३.
यसरी
इतिहास र वर्तमान मिसिएको उहाँका अनुहारमा देखिन्छ
र अकुत आर्जनको भव्य रेखा माझ निधारमा भेटिन्छ
पाचन शक्तिको कुरा चल्यो भने– प्रतियोगितामा भाग लिन
उहाँ फाराम भर्दै हिँड्नुहुन्छ
कुकुर पाल्नुहुन्छ–
त्यसको घ्राण शक्ति स्वात्तै उहाँमा सरेको छ
एक माइल टाढैबाट
समर्थक र विरोधी चिन्नुहुन्छ
फोनमा खोज्नेलाई–
आफैँ उहाँको दाजु, भाइ वा छोरो बोलेको भन्नुहुन्छ
चन्दा उठाउनुहुन्छ
हिसाब खोज्ने अराजकलाई ठेगान लगाउनुहुन्छ
उहाँ– बनिसकेको नेता हो
त्यसैले आफैँ आफ्नो परिचय यसरी दिनुहुन्छ –
‘म पहिला
दर्शक दीर्घामा बसेर मञ्चकालाई थर्काउँथे
अहिले मञ्चमा बसेर
दर्शक दीर्घाका श्रोता थर्काउँछु
म स्थापित छु–
नेता हुँ !
कमाइ ढाँटतिन– वरु भन्दिन
मेरो नाम श्रीमान् …. प्रसाद हो ।’

२०६०।०१।१६

————————————————————————————–

आँखा

एक हुल मान्छे –
यता–उता घुम्दै थिए
गम्भीर थिए –
क्षितिजपारि आँखाहरू छर्दै थिए
भन्दै थिए – ” हामी आफ्नो उद्देश्यको खोजीमा छौ । ”
अर्को हुल मान्छेहरूले उनलाई सोधे
” के आँखा फल्छ र ? ”
किन यसरी आँखाहरू रोपेको ?
के हेर्ने रहर गर्छन् ती आँखाहरूले ? ”
र के पाउँछन् ती आँखाहरूले ? ”
उनीहरूले भने –
” हामी त एउटा घाम हेर्न रहर गर्छौ
जो पानी परेपछि लागेको हुन्छ
मधुरो हुन्छ – न्यानो हुन्छ
र मायालु हुन्छ । ”
अनि – सोध्नेहरूले आफै सोधे
” के मान्छेले पानी पार्न सक्छ ? घाम लगाउन सक्छ ?
प्रकृतिलाई इसारामा चलाउन सक्छ ? ”
आममान्छे भन्दै थिए –
” प्रकृति आफै मान्छेका लागि हुन्छ
धैर्य गर्नु पर्छ
पानी पर्छ
घाम लाग्छ
त्यो न्यानो र मायालु हुन्छ
पानी परे पछि लागेको घामले
शीतका थोपाहरूसँग लगाएको प्रीत
त्यही पल हो आँखाहरूले ठान्ने जित ।

त्यसैले त
मान्छेहरू आँखा रोपि रहेछन्
आँखाहरूले परसम्म हेर्न सक्छन्
आँखाहरूले भविष्य देख्न सक्छन्
आँखाहरूले लाम लागेर अनिष्ट रोक्न सक्छन्
आँखाहरूले निर्माण गर्न सक्छन्
आँखा आफैँ सिर्जना हुन्
सिर्जनाको मुहान हुन्
त्यसैले त सावधान !
कसैले कसैको आँखा नफोर ।

————————————————————————————–

वर्तमान


कौतूहल, रोमाञ्च र अन्यौल
एकै ठाउँ मिसिएपछि – जस्तो हुन्छ
त्यस्तै र अलिक भिन्नै – भिन्नै जस्तो
अझै अनौठो र पहिल्याउनैं नसकिने
अनुमान गर्न नसक्ने र केही भन्नै नसक्ने
मजबुत – भएको छ – वर्तमान ।


अलिक धेरै बेइमानहरू लाम लागेका छन्
इमानदार भन्ने सूचना पाटी सबैले टाँगेका छन्
एउटा भन्नु अर्को गर्नु
ठूला बेइमानहरूको शरण पर्नु
नियमित कार्यतालिका बनेको छ, अगुवाहरूको
त्यसैले त
अरू टाट हुर्दै जाँदा उनको महल बन्दै गरेको हुन्छ
त्यो महल बन्दा झुपडीको बस्ती नै जलेको हुन्छ
वर्तमानको तस्विर मिल्यो कि मिलेन हजुर !
तर साँच्चै यस्तै भैरहेछ !


एकथरी छन् –
जो युद्धमा पनि बुद्ध खोज्छन्
अर्को थरी छन्
बुद्ध पनि शुद्ध खोज्छन्
र अर्को थरी छन्
युद्ध, बुद्ध र शुद्ध सबैको कमिसन खोज्छन् ।

————————————————————————————–

मलामी जनसँग

जो, मेरो मृत्युको समाचार सुनेर आउनुभएको छ
मलाई माया गर्नुहुन्छ
सहानुभूति राख्नुहुन्छ
र त मेरो मृत्युमा मलामी हुनुभएको छ
सबैलाई मेरो अन्तिम नमस्कार छ-
जो आउन चाहेर पनि
आउन सक्नुभएको छैन
उहाँहरूलाई पनि नमस्कार छ
सबैलाई मेरो अन्तिम सलाम छ ।

आदरणीय मलामी जनहरू !
यस्तै रह्यो जिन्दगानी
केही गरौंला भन्ने थियो
गर्न पनि सकिएन
अलिक बाँचौंला भन्ने थियो
बाँच्नै पनि सकिएन,
जसरी बाँचियो
बाँचेकै पनि केही अर्थ रहेन
जिन्दगी- जिन्दगी जस्तै भएन
मृत्यु त वरण गरियो
त्यसलाई गरूङ्गो बनाउन पनि सकिएन
आफ्नू र अरू कसैको लागि पनि
जिन्दगी बाँच्नै सकिएन
जिन्दगी-जिन्दगी जस्तै भएन ।

अब त शव भैसकेको छु म
आगोबाहेक अरू केहीले छुँदैन
शवलाई माया गरेर पनि केही हुँदैन
नरूनुहोस्, मलामीज्यूहरू !
मैले तपाईंले माया गर्ने कामै गरेको छैन
निरर्थक जस्तै रह्यो जीवन
स्मृतिलाई अटल बनाउनै सकिएन ।

केवल, एउटा यात्रा पुरा भयो
जो जन्मबाट सुरु भएको थियो
कहिले रोटी खोज्दै
कहिले गोटी खोज्दै/ भौतारिंदै
विपनामा लड्दै, सपनामा उड्दै
कावा खाँदै / हावामा बहँदै
जिन्दगी, त्यसरी बगेको थियो
कहिले विना भर, कहिले विना डर
सधैँ अभरै –अभर
उडेको चङ्गा जस्तै थियो
तर धागोसम्म थिएन
अनि त भन्छु–
जिन्दगी जिन्दगी जस्तै भएन
तैपनि पूरा भयो
अब त धूवाँ हुँदै छ
जिन्दगी साँच्चै धुवाँ भएर बादलतिर जाँदै छ ।
र बादलमा मिल्दै छ ।

कहिले चोक-चोकमा
कहिले भोकको झोँकमा
सधैँ शोकमा
विना थोक, खुद्रा– खुद्रामा
तपाइहरूले भेट्ने गरेको ‘म’
अब पूर्ववत् नभेटिने भएको छु
तपाईहरू, फर्केर घर जानुहुन्छ
म अन्तै लाग्ने भएको छु –
यसरी यात्रा पुरा हुँदै छ – मेरो
म धुवाँ भएर आकाशमा बिलाउँदै छु
यसरी- आज म अन्तिम सलाम गर्दै छु
तपाईको स्मृतिबाट ‘म’ बिदा हुँदै छु
सलाम ! म बिलाउँदै छु ।
के भन्ने ? जिन्दगीलाई खोइ ?
अलिक जान्नेले जे भने पनि हुने रहेछ !
नजान्नेले, भएको पनि भन्न नहुने रहेछ !
जिन्दगी सरल हुन्छ कि ? भनेको त
झन्– झन् सङ्कटतिर जाँदो रहेछ
यस्तै अनुभूत भयो – भोगियो
थाङथिलो थियो जिन्दगी
कष्ट र सङ्कटहरू बग्रेल्ती भोगियो
यसरी नै आज…
आफ्नै जिन्दगी अतीत भयो ।

आदरणीय, मलामी जनहरू !
मैले त सानो तस्विर पनि छाड्न सकिन
तपाईहरूलाई केही दिन सकिन
तस्विर मैले बनाउनै सकिन
माफ गर्नुहोला !
पर्सि हैन, भोलि बिहानै
तपाइले सम्झन लायकै म रहिन
त्यसैले-
मेरा सन्तानले झोसेको आगोले डढ्नुपूर्व
म त आत्मग्लानिले डढेको छु
भित्र-भित्रै म बलेको छु
म मुर्दा हुनुपूर्व नै जलिसकेको छु
यो त मात्रै औपचारिकता हो
अस्ति नै म खरानी भएको छु ।
इच्छा त अनन्त थिए
असीम थिए
आकाङ्क्षाहरू लटरम्म थिए
तर ती त – मात्र थिए
इच्छा र आकाङ्क्षाहरू
हावा खुस्केको बेलुनजस्तै भए
ती पराजित थिए / निर्वासित भए
अब त यी सबै हेर्न सकिने र देखिने
ऐना फुटेर झर्यािम्मै भएको छ
लेख्न सक्ने कलमको मसी सकिएको छ
निब भाँचिएको छ
मृत्युसँग मेरो अङ्कमाल भएको छ ।
अन्त्यको सीमा नाघेर पनि
म अतिक्रमण गरिरहेछु
मान्छेको स्वभाव
मृत्युपछि पनि बताइरहेछु
जवर्जस्ती गरिरहेछु
गनथन भनिरहेछु
मेरा प्रियजनहरू !
म अब इतिहास भएको छु
केवल स्मृतिको ।
र अझै अन्त्यमा–
एउटा दुस्साहस गरेको छु
अलिकति अनुनय / अलिकति विनय
केभन्दा तपाईको मन पग्लन्छ ?
ती सबै लय – मेरो बह
मैले गर्न नसकेका कामहरूमध्ये
केही बेर्नाहरू रोप्नु थियो / हुर्काउनु थियो
मैले सकिन
मेरो नाममा केही दया गर्न सक्नुहुन्छ भने
हरेक गाउँ र हरेक सहरमा–
कृपया, एउटासम्म भए पनि
इमानका बेर्ना रोपिदिनुहुन्छ कि ?
हुर्काइदिनुहुन्छ कि ?
मेरा प्रिय मलामी जनहरू !
म जन्मेको, मरेको गाउँ र सहरलाई
एउटा पनि इमानका बिरुवा छैनन् भन्ने
बात लाग्नबाट बचाइदिनुहुन्छ कि ?
र अन्त्यमा- अन्तिम सलाम !

————————————————————————————–

बन्दुक नताक !

बचेराहरू त
प्वाँख नलागेसम्म मात्र गुँड तताउँछन्
प्वाँख पलाएपछि त बाटो तताउँछन्
भुर्र उडेर हावामा बिलाउँछन्
चारो खोज्छन् र ओत खोज्छन्
तैपनि – माउलाई त डरै छ
सिकारीहरू !
हाम्रा बचेरोहरूलाई जाल नफ्याँक
खबरदार ! हाम्रा बचेराहरूलाई बन्दुक नताक ।

————————————————————————————–

आतङ्कवाद

एउटा समाचार छ –
घरबार छाडेर लाखौँ –लाख मान्छेहरू
अर्को मुलुकको शरणका लागि
सिमानामा एकत्रित भैरहेछन्
र युद्ध आफूतिर नआओस् भनेर
हत्केलाले छेक्दै
युद्धको आतंङ्कले लखेटेका मान्छेहरू
सिमानामा भोक र रोगले मर्दै छन् ।

अर्को समाचार छ –
अफगानी आकाशबाटै – बम चिप्लिएछ !
हुलका हुल गृहस्थीहरूका टाउकोमा बजारिएछ !
स्कूलबाट फर्कदै गरेका नानीहरूको
हात, खुट्टा र छाती कता छरियो कुन्नि ?
टाउकोमात्र स्कूल ब्यागको छेवैमा रहेछ !
अमेरिकाले खसालेको बम अलिक नमिलेर
केही गृहस्थीहरूको अवसान भएछ
नवजात शिशुहरू / सुत्केरीहरू
सालनालसहित दिवङ्गत भएछन् !
अहिले अफगानिस्तानमा युद्ध चल्दै छ
त्यहाँका नवजात शिशु, सुत्केरी आमा र
स्कूले नानीहरू आतङ्कवादी भएका छन्
किन भने उनको देशमा बिन लादेन बसेको छ
अनि त अमेरिका नानी र सुत्केरीहरूको शिकार गर्दैछ
” कि आतङ्कका पक्षमा लाग
कि आतङ्कका विपक्षमा लाग
तटस्थ पनि नबस ”
विश्वको शक्तिशाली राष्ट्रको शक्तिशाली व्यक्ति
वुस महोदयको आदेश यस्तो रहेको छ
त्यसैले अब, फैसला गर्ने वेला भएको छ
मैले आफूलाई आतङ्कका विरुद्धमा उभ्याएको छु
र म त भन्छु
संसारभरिका मान्छेहरू !
अझ इमान मरेको छैन, विवेक मरेको छैन
मान्छेभित्रको मान्छे मरेको छैन भने
नवजात शिशुहरूको पक्षमा लाग
सालनाल फ्याँक्न नपाएका
सुत्केरीहरूको पक्षमा लाग
युद्ध छल्न – हत्केलामा जीवन लिएर
सिमानामा मर्दै गरेका मान्छेहरू पक्षमा लाग
संसारभरिका मान्छेहरू, आतङ्कका विपक्षमा लाग ।

एउटा मुलुकमा –
उसलाई अपराधी भनेर शङ्का गरेको छ
अनगन्ती निरिहहरूले
मृत्युदण्ड भोगिरहेछन्
जो बाँचेका छन्
युद्धको पीडाले रोइरहेछन्
कति त रूनै नपाई
हत्केलाबाट जीवन धोइरहेछन्
युद्धको लप्कामा लपेटिएर कोक होलो गरिरहेछन्
युद्ध छल्न भागेकाहरू सिमानामा
पसारा परेर – छटपटाएका छन् ।

मान्छेहरू !
उनको मुलुकको धर्ती र आकाश
युद्धपोत र जहाजहरूले भरिएको छ
बमवाडीका आवाजहरूले मान्छेका कान फुटाइरहेछ
मान्छे मर्नु त खेलाँची भएको छ
त्यस मुलुकका नानीहरू, सुत्केरीहरू
नव विवाहित जोडीहरू, बृध्द– बृध्दाहरू
रोगी र विरामीहरू आतङकित हुँदैनन् भने
संसारमा आतङ्क हुदैन
र संसारमा आतङ्कवाद पनि हुदैन
र वुस महोदय ! हैन भने त
संसारमा अरू कोही आतङ्कवादी हुँदैन ।

————————————————————————————–

घाउ दुखेको छ

साथी ! मेरो घाउ दुखेको छ
तिमी भन्छौ – घाउ कहाँ छ ? कहाँ दुखेको छ ?
घाउ छातीमा छ । मुटुमा छ । मस्तिष्कमा छ
जत्र – तत्र छ । सर्वत्र छ । देशभरि छ
चहर्यानइ रहेछ – पोलिरहेछ ।
घाउ छ, तर किन थाहा छैन ?
घाउ छ, तर किन डाह छैन ?
सुनेको थिएँ – एउटाको घाउले – अर्कालाइ पनि पोल्छ
सुनेको थिएँ – घाउको डाह आँखामा पनि बोल्छ
तर, मान्छेका मनहरू किन यतिविघ्न कठोर भए ?
मुटु र मस्तिष्क किन यतिविघ्न जटिल र क्रूर भए ?
मान्छेका मनभित्रको नरम किन निख्रेर गयो ?
किन मान्छे यसरी समवेदनाविहीन भएर गयो ?

प्रश्नहरूले झन डाह थपेका छन्,
घाउ दुखेको छ, चहर्यााएको छ, पोलेको छ,
र अर्को प्रश्न उठेको छ
घाउ त दुख्छ, पोल्छ, डाह दिन्छ
तर के डाक्टरहरूलाई घाउ दुख्छ यो थाहा हुँदैन ?

————————————————————————————–

मेरो सहर

आँखामा, मुहारमा
बेफुर्सद र व्यस्तता टाँगेर हिँडेका
हार्दिकता समवेदना निर्यात गरिसकेका
सिर्जनात्मक सोच र चिन्तनबाट टाढा
कसैले किन्न खोज्यो भने –
आफैँ अगाडि बिक्री भैसकेको पनि हेक्का नराख्ने अनि,
बिहानै, मध्याह्नमा र अपराह्नमा
पटक – पटक आफैँले आफ्नो व्यापार थापिरहने
घर – घरै, द्वार –द्वारै
बेइमानीको खेती हुर्काइरहने
यस्ता मान्छे भएको ठाउँ कसले जान्दैन र ?

एक थरी बिहानै आउँछन्
र साँझ परेपछि जान्छन्
एक थरी साँझ परेपछि आउँछन्
र बिहानै जान्छन्
अर्का थरी बेला –कुबेला – आउँछन् जान्छन्
यसरी मान्छेहरू – यहाँ आउँछन् / यसरी यहाँबाट मान्छेहरू जान्छन्
यसलाई न माया दिन्छन् / न आफ्नो ठान्छन्
मान्छेहरू –यसलाई
केवल भोग गर्छन् / उपयोग गर्छन्
र संभोग गर्छन्
एउटाको घर पारि छ
त्यहाँ अझै उसको वारि छ
यता टेकेको
यो माटो देखेको – भर्खरै हो त के भो ?
ऊ यतैको नागरिक छ
चुनावमा जागरूक छ ।
अर्कालाई – माझी त भन्नु हुँदैन
तर, खोला र पानी खुप फाप्छ
माछा मार्दा, बाछा पनि पर्छन् उसका जालमा
भन्दैछ – ” जे पनि आउँदो रहेछ छालमा ”
हो – उसको त
खप्परभरि हुने गरी छप्परबाट पनि खसेको छ
एउटै काण्डमा ठूलो बम्पर परेको छ
ऊ यति चाँडै – मेरो सहरको होनाहार भएको छ ।
जमिनदारहरू पनि सुकुम्वासी भएका छन् यहाँ
सुकुम्वासीहरू करोडपति छन्
नाम भन्न असजिलो लाग्ने बाबुको घर
सार्वजनिक पैनीमाथि परेको
सम्मानित माउको थर
दुई अर्थमा परेको
सस्तो हिन्दी सिनेमाजस्तो साँच्चै भएको छ
जसले जति पकाए पनि
मेरो सहर काँचै रहेको छ ।

————————————————————————————–

मृत्यु


मलाई मृत्युले लखेटिरहेछ
म जता जाँदैछु – उसले छेकारो मारिरहेछ
म भागेको छुइन, अब जम्काभेट हुन सक्छ
उसले मलाई हराउन सक्छ
मेरो पराजय हुन्छ
र मृत्युले मलाई अङ्कमाल गर्नेछ
यसरी म मृत्यु पर्खिरहेछु
किन भने – मैले नपर्खे पनि
उ आउने निश्चित छ
मृत्यु आउँछ र लान्छ ।


त्यसो त – आयो
कतिपल्ट मृत्यु आयो
फर्केर गयो / हेरेर मात्र गयो
दया गरेजस्तै गरेर गयो
मृत्यु छेउमै पनि आयो – तर गयो ।
सधैँ ऊ यसरी जाँदैन
उसलाई एक्लै हिँड्न मन लाग्दैन
मलाई पनि लान्छ
आफ्नै भनेर लान्छ
मृत्युले मलाई लिएरै जान्छ
ऊ मृत्यु हो
ऊ अलमलिँदैन
ऊ रित्तो हात फर्कदैन ।


ऊ आउनु अगाडि नै
भ्याउनु पर्ने अलिक काम बाँकी छ
त्यसैले म छटपट गर्दै छु
अलिकति – आर्जन गरेर, छरिदिन पाए
खाली – खाली ठाउँहरूमा अलिक भरिदिन पाए
भोलिको मान्छेलाई – काम लाग्थ्यो कि ?
तर गाहारो रहेछ – इमान आर्जन गर्न
खडेरी लागेको छ
अब अनिकाल पनि लाग्छ कि ?
त्यसैले बीउ बचाएर अलिकति इमान रोप्न पाए
भोलिलाई बीउ मासिने थिएन कि ?
त्यसैले – मृत्यु आउनुपूर्व नै
केही गर्नु छ – गर्न सक्नु छ / इमानको बीउ रोप्नु छ ।

————————————————————————————–

अहिलेसम्म उ फर्केन

कौतूहलपूर्ण र गम्भीर अनुहार
साथीहरूसँग धेरै मिल्ने
निर्धा र निमुखासँग गल्ने
यस्तो हुलिया भएको मेरो एउटा साथी
– अठ्ठाइस सालमा हिँडेको थियो
अँहँ ! ऊ अहिलेसम्म फर्केन ।

सँगै हिँडेकाहरू अरू त फर्के
कोही शहीदको नाम लिएर फर्के
कोही शहीदको दाम लिएर फर्के
कोही शहीद हुन हिँडेकाहरू शहीद बनाउने भएर फर्के
कोही सिंहदरबारमा फर्के
कोही दरबारै लिएर फर्के
तरबारै लिएर पनि फर्के
नाड्गै पनि दुर्गा अधिकारी र भीष्म धिमालहरू फर्के
तर त्यो साथी अझै फर्केन ।
उसको नाम
दुस्मनका काला किताबहरूमा
ठूलो अक्षरले लेखिएको थियो
हिँडेको बेलामा
उसका मुहारभरि
धपक्क बलेको रातो रड्ग देखिएको थियो
भद्रपुर, गारामनी र प्रवासमा
जताततै उसको माया पोतिएको थियो
ऊ खुसी थियो
नाच्दै, उफ्रँदै, मुक्तिको गीत गाउँदै हिँडेको थियो ।
तैपनि
ऊ हाँस्दै –हाँस्दै जाँदै थियो
यस्तैमा उ हरायो
कुन्नि ! मेरो साथी के भयो ?
अहिलेसम्म फर्केको छैन
ऊ अठ्ठाइस सालमा हिँडेको थियो
आजि,
सँगै हिँडेकाहरू कोही सिंहदरबारमा छन्
कोही वल्खूमा छन्
कोही मल्खूमा पल्केका छन्
कोही दुस्मनको खोपीमा सल्केका छन्
कोही आफै दरबारमा कैद छन्
अकूत आर्जनको थुप्रोमा बसेर
दुश्मनहरूको मतोमा पसेर
दर्शनमा अझै उनै वैध छन्
आफ्नै दरबारमा व्यस्त छन्
कठै ! विचरालाई कहाँ फुर्सद छ र ?
पुण्य शर्मा फर्के– नफर्केको उनलाई थाहा छ र ?
तर हो
अठ्ठाइस सालमा झापाबाट हिँडेको ऊ
दरबारमा हैन झुपडीमा पनि फर्केन
सँगै हिँडेका महलका नेताहरूको कुनै दाम भएर पनि फर्केन
दुस्मनहरूको तथानामसम्म भएर
फर्केन
बाबु–आमाको राम भएर पनि फर्केन
कुन्नि सँगै हिँडेकाहरू
अहिलेका नेताहरूलाई थाहा छ कि छैन ?
अहिलेसम्म
ऊ फर्केन ।

————————————————————————————–

घाउ

हामीसँग
पुरानो धाउ छ, बल्झिएको छ
तर दुख्नु कतै अल्झिएको छ
सँधै धाउ – सँधै दुख्नु
यस्तै भै, रहेछ –
यस्तो लाग्छ
धाउ – हाम्रा छातीमा छ, पलाएको छ
बिहानै – बिदा गर्यो
दिउँसो टुप्लुक्क आइपुग्छ !

अलिकति लाज मान !

एउटा फोटो छापिएको रहेछ – अखबारमा
पाँच वर्षकी नानीको
ऊ एउटा दाम्लोले बाँधिएकी छ
ऊ दृष्टिहीन छ – बेसहारा छ
निर्धन बाबु –आमाले उसलाई हेर्न नभ्याएर
दिनभरि – बाँधेर छाड्छन्, साँझमा आएर खोल्छन्
ऊ संसार बुझ्न सक्दिन, हेर्न सक्दिन, देख्न सक्दिन
कठै ! विचरी ! मनीषा –
रूंदा पनि अर्थ खुल्ने गरी रून सक्दिन ।
चार वर्षसम्म दृष्टि शक्ति रहेकी
संसार हेर्न र बुझ्न थालेकी
गोरखामा जन्मिएकी मनीषामा
अर्को उपेन्द्र देवकोटाको संभावना जन्मँदै थियो
कति क्रान्तिकारी चमकले भरिएका थिए उसका आँखाहरू
दोस्रो बाबुराम भट्टराईको संभावना फक्रँर्दै थियो
र अरू पनि को – को जन्मेका छन्
ठूला – ठूला मान्छेहरू गोरखामा ? – मलाई थाहा छैन
उनले त दृष्टिहीन मनीषाका लागि केही गर्न सकेनन्
तर गोरखामा मनीषाहरूलाई
दाम्लोले बाँध्न निषेध गर्ने योजना भरिएको थियो
उसका आँखाका चमकहरूमा ।
तर,
निमोनियाको दवाई नभेटेर – उसले दुवै आँखा गुमाई
निर्धन आमा –बाबुका कारण दाम्लोले बाँधिएकी छ ऊ,
गोरुजस्तै भई, भैँसीजस्तै भई
अझ उनीहरूको जस्तो कराउँदा
एकमुठी घाँस पनि नपाउने भई
सभ्य मान्छेहरूका लागि एउटा प्रश्न बनेको छ
र, त्यो प्रश्न यस्तो छ
साँच्चै सभ्य मान्छेहरू ! एकैछिन् आफूलाई रूपान्तर गर
त्यस नानीमा आफूलाई सार र प्रवेश गर
तिमी आफैँ दाम्लोले बाँधिएको ठान
आफैलाई दृष्टिहीन मान
सभ्य मान्छे !
तिमीले अन्धा र असहायहरूका लागि संस्था खोलेर
डलरको खोले खाएका छौं भने
कृपया, मनीषालाई सम्झेर अलिकति लाज मान ।

( २०५९–१२¬–९ मा कान्तिपुरमा छापिएको एउटा समाचार र फोटोमा आधारित )

————————————————————————————–

मेरो आँसुले कुरै बुझ्दैन

म अलिक भावुक छु ।
हुन्छु
मेरो आँसुमा कुन्नि ! के तत्त्वको कमी छ –
पन्यालो छ, आँखामा आइहाल्छ
मेरी पत्नी भन्छिन् – हत् ! लोग्नेमान्छेले रुनु हुन्छ ?
सानो छोराले के भन्ला ?
अनि, म आँसु पुछ्छु र – सम्झन्छु
हो त, लोग्नेमान्छेले रूनु हुन्न ।

सम्झन्छु,
धित मरून्जेल रुन पाए
म अलिक हलौं हुनेथिएँ
अनि म पनि -भन्नेथिएँ
सहनुपर्छ, धैर्य गर्नुपर्छ, रुनु हुन्न !
तर धित मरून्जेल रूनै पाएको छैन
अनि म भावुक हुन्छु, आँसु आँखामा आउँछ
आँसु पुछ्छु र फेरि सम्झन्छु
हो त, लोग्नेमान्छेले रुनु हुन्न ।
यस्तो लाग्छ –
रुनु पनि नहुने यो क्षण
मान्छेको जीवनमा घुमी –फिरी घरीघरी
किन आउँछ ?
आँखामा आँसु किन आउँछ ?
आँसु किन पन्यालो हुन्छ ?
हैन, मलाई नरोइ शान्ति हुँदैन
तर म आफूभन्दा निरिहहरूको माझमा बसेको छु
आँसु पनि नआई छाड्दैन
रुन पनि पाइँदैन
आँखाबाट आँसु पुछेर सम्झन्छु
म त लोग्ने मान्छे हुँ
मैले रुनु हुँदैन
तर मेरो आँसुले कुरै बुझ्दैन ।

————————————————————————————–

ढलेको रूख र मेरो स्मृति

१.
शताब्दीदेखि उभिएको एउटा रुख
गर्ल्याम्म ढल्यो ! ¬
गुँडहरू भत्किए
चराचुरुङ्गीहरू—छरपस्ट भए
शीतल ताप्नेहरु
थकाइ मार्नेहरु ,
चकित भए—निन्याउरो मन पारेर झोक्राए
रुख, अव इतिहास भयो ।

२,
रुख भनेको
जराहरू स्वतन्त्र भएर फैलिनु हो
हाँगाहरू फाटेर अस्तित्व ताक्नु हो
पातहरू, मुनाहरू बग्रेल्ती हुनु हो
रुख भनेको गुँडहरू हुनु हो
चराचुरुङ्गीको बास / निवास हुनु हो
रुख भनेको सियाँलको केन्द्र हुनु हो
थकाइ मेट्नेहरुको नियमितता हुनु हो
रुख भनेको अनेक हो, अनेकको आस्था र विश्वास हो
तर त्यो रुख त्यस्तो थिएन ।

३,
शदियौ वर्षदेखि उभिएको रुख ढल्यो
हाँगा, जरा र मुनाहरु अस्तित्वहीन भए
त्यहाँका चरा, वचेरा र सियाँल ताप्नेहरु स्तब्ध भए
ठप्प भए
समयको गतिमा आफै प्रश्न उठ्यो
उनले चिच्याए र भने–
“हाँगा, जरा र मुनाहरुको छुट्टै अस्तित्व हुन्छ कि ?
हामी भ्रममात्र बोकेर हिडेका छौ ?
हो हामी – त्यस रुखका हाँगा हौ / जरा हौ / पात र मुना हौ
त्यस रुखका गुँड हौ / चरा – चुरुङ्गी हौ
रुख त ढलिसक्यो
तर हामी ढलेको रुखको जरा र हाँगा भएर
बाँच्ने बाध्यतामा छौ
बाध्यता भनेकै शायद यस्तै हुन्छ
संसार भनेकै शायद यस्तै हुन्छ
ढलेको रुखको हाँगा र जरालाई बाँच्न असम्भव हुन्छ
तर हाँगामा जरा रोपेर / जरामा मुना पलाउने शक्ति रोपेर
यस असम्भवलाई सम्भव बनाउने
केवल हामीसँग बाध्यता छ ” ।
अरूले तिनको विलापलाई मात्र कल्पना भने –
र हो पनि
क्रम भनिएको समयको बगरमा उभिएर
ढलेको रुखको अतीत स्मृतिमा तानेर
हामी उजाड रुखको पीडाबाट मुक्त भएका छौ
अलिकति भएपनि स्वच्छन्द हाँसो हास्न पाएका छौ।
२०६५ आषाढ

————————————————————————————–

छिमेकी

१.
पुर्खाले आर्जेको
भोगचलन गरिरहेको
हड्डी घोटेर छर्कँदै – जोगाएको
लालपुर्जा भएको
सिमानाको जमिन,
सीमास्तम्भ,
हराउँदै आएका छन्
र यो निरन्तर छ
उहिल्यैदेखि
अहिलेसम्म
चलिरहेछ / चलिरहेछ ।
त्यसो त उ ठूलो छ
शक्तिशाली छ
उ आफूलाई “सभ्य पनि छु “– भन्छ
तर हाम्रो मन मान्दैन
भन्नुहोस् त !
छिमेकीको सिरिखुरी पार्नेलाई
सभ्य भन्छन् र ?


चिमोट्न र चिथोर्न
कति सकसकाएका उसका हात र मनहरू
अतिक्रमण गर्न उस्तै छन्
उसका लागि दिन र रातहरू
भन ए ! छिमेकी
तिमीले हाम्रो भूमि चोरेको दृश्य
के त्यहाँ गाडिएका रुख पातले पनि देखेनन् ?
सत्य कुरा त्यहाँको आकाश र जुन – ताराहरूले देखेनन् ?


कहिले लाल किल्लाबाट
माइक जोडेर उ कराउँछ –
“छिमेकीका लागि हामी असल छौ” –भनेर
कहिले नक्कली मन भएका सदभाव मण्डल काठमाडौं आएर बताउँछ
“हामी तपाईँहरूको उन्नति चाहन्छौं ” –भनेर
तर पशुपति र मानेभञ्याङका घाइते मनहरूलाई सोध
काकरभिट्टाको मेची पुल हेर
महेशपुर र पाठामारीमा हामीलाई भेट
सुस्ता, कालापानी र टिङ्करमा गएर
तिमी आफै
तिम्रा ताण्डव नाचहरूको ऐनामा तिम्रो अनुहार हेर
के तिमीलाई कुरूप छु जस्तै लाग्दैन ?
सुनेको त छु र होला पनि
–कुरूपहरूलाई
कुरूपै राम्रो लाग्छ रे
शायद त्यसैले तिमीलाई
अर्काको भूगोल मिच्न
रहर लाग्छ
आफ्नो अनुहार
कुरूप बनाउन रहर लाग्छ
ए ! भारतीय दाइ भन त् ! हैन भने
किन तिमीलाई हाम्रो जमिन मिच्न औधी रहर लाग्छ ?
किन यो निरन्तर छ ?

————————————————————————————–

टुक्राहरू

१.
लड्डू बाँड्न
छट्टूहरूको भिड लागेको छ
मान्छेहरू–
मुख मिठ्याइ रहेछन्

२.
ऊ भन्छ
यो सबै तपाईहरूको हो
अनि सबैभन्दा मीठो छानेर
क्वाप्प खान्छ

३.
मुलुक छ
आगो बलेको छ
निभाउन जिम्मा पाएकाहरू
मट्टीतेल पोखेर निभाउँदै छन् ।

४.
एक हुल वेइमानहरूका विरुद्ध
केही इमान्दारहरू जुटे
बाँडी खानु परेपछि
उनीहरू पनि फुटे ।

५.
बाहुनडाँगीका किसानहरू
हात्तीको हुल गाउँमा पसेपछि
पूजा गर्न थाल्छन्
र भन्छन्– ‘सरकारको बुद्धि पलाओस् !’

६.
मैले एउटा समाचार सुनेको छु
म वृद्धावस्थातर्फ धकेलिएको छु
म खुसी छु, म रमाएको छु
मलाइ लागेको छ, – समाचार स्वतन्त्र रहोस् !

७.
अलिकति स्वभावमा परिवर्तन गर्नुपर्छ कि ?
आफैँलाई लागेको छ
सरल भएर
दुरुपयोग पनि भएको महसुस भएको छ ।

८.
आत्मपीडाहरू सञ्चय भएका छन्
लाग्छ- यिनै सम्पत्ति हुन्
तैपनि पीडा थपेर स्वाद लिनेहरूको ताँती छ ।

९.
बचपन पनि यस्तै थियो
बीचमा पनि फरक रहेन
अहिले पनि अभाव छ
त्योभन्दा पनि सताउनेहरूको मेला छ ।

१०.
कसैले त बुझिदिए पनि हुन्थ्यो
पहिलेदेखि मनले यसै भन्थ्यो
तर, आफ्नै मन, आफैँलाई बिचरा ! भएको छ ।

११.
मलाई, एउटा सुन्दर तस्विर बनाउने रहर छ
तस्विरलाई सुन्दर र स्वस्थ राख्ने मन पनि छ
त्यो तस्विर मान्छेको हुनेछ
उसको छलकपट विहीन र कोमल मन पनि हुनेछ ।

१२.
अरू त सबै यस्तै भए, आए
अब उसको पालो आएको छ
उ कस्तो होला ?
-अहिले त फगत कौतूहल र जिज्ञासा मात्र छ ।

१३.
अहिले समयको टाट पल्टेको छ
अनुकूलता आउन सक्दैन, ढाट लागेको छ
ढाट लगाउनेहरू– यथावत् राख्न खोज्दै छन्
ढाट भाँच्चिएर उनीहरू पो बिलाउँछन् कि ?

१४.
उनीहरू वेश्या पनि हैनन्
उ त ग्राहकहरूका सामु समर्पित हुन्छे
तर उनीहरूसँग दाँजिनुपर्योम भने
विचरी ! वेश्या पनि लज्जित हुन्छे ।

१५.
कसरी, मन लाग्दो हो ?
कसरी, मस्तिष्क तयार हुँदो हो ?
सम्पत्ति र शक्ति नै हात पर्ने भए पनि
त्यत्रो रक्तपात त बीभत्स हो ।

१६.
ऊ सँग अकूत सम्पत्ति छ
आफन्तहरू पनि सम्भ्रान्त छन्
ऊ मर्दा रुनलाई
आँसु पनि विदेशबाट ल्याएर राखेका छन्

१७.
उसलाई कसैले महान् भने
कसैले वाल्मीकि भने
उसको आफ्नै मनले भने
‘रत्नाकर’सम्म भन्न सकेन ।

१८.
उसले देश पनि छाड्यो
धर्म पनि छाड्यो
तैपनि लाठो हात परेपछि
उसैले मुलुक फाँड्यो ।

१९.
पत्याउनै नसकिने उसका कुरा सुन्दा-सुन्दा
उसको कुटिल अनुहार हेर्दा-हेर्दा
अब त – उसले जे ठानोस् आफूलाई
ऊ हाम्रा मनभित्रको गतिलो कार्टुन भएको छ ।

२०.
धेरै मान्छेहरू दुई थरमा बाँडिदा रहेछन्
ताक पर्दा तिवारी बन्दा रहेछन्
अरू बेला गोतामे भन्दा रहेछन्
अरूको त के कुरा गर्नू हजूर !
खाँटी कामरेडहरू पनि
महिनामै सयको तीन रुपैयाँ ब्याज खाँदा रहेछन्

२१.
अहिले आन्दोलन चल्दैछ
बत्ति बल्न खोज्दैछ, बल्दैछ
दुवैको भेट भएपछि त
निरङ्कुशता र अन्धकार एकसाथ ढल्नेछ ।

————————————————————————————–

जुहीरत्न कवि लीला उदासीको कविता – सङालो

कवि लीला उदासी खनाल (२००६) को जन्मथलो प्रसिद्ध साहित्यकारहरू थुप्रै भएको इलाम जिल्ला हो भने कर्मथलो वाम चेतना जागेको प्रसिद्ध जिल्ला झापा हो । म २०२१ देखि नै लीला उदासीलाई जान्दछु । अर्थात् ४ दशकभन्दा धेरै समयदेखि उदासी मेरा चिनारू हुन् । मेची महाविद्यालयका तिख्खर छात्रका रूपमा, वाम चेतनाको बिकुल फुक्ने ´पञ्चामृत´का एक सम्स्थापक सदस्यका रूपमा, झापाका समय–समयका आन्दोलकका रूपमा, पत्रकारका रूपमा, समाजसेवीका रूपमा, अधिवक्ताका रूपमा र कवि निबन्धकारका रूपमा । उनी कस्ता हुन्, मैले लेखेको छु –
जहाँ लौहव्यक्तित्व राधा र चन्द्र
कवि द्रोण–लीला जहाँ वीर–धीर
पढेथे तिही थिन् यिनी ज्योतिजस्ती
सवैमा परेथ्यो कुतन्त्रे कुदृष्टि
लाली– श्लोक १३
यक्षको पोखरा प्रवास
( लघुकाव्यसङ्ग्रह )२०५४

वास्तवमा, लालीकी लीला र लीला उदासीका लीला मेरा कवित्वपूर्ण हृदयमा भावना जगाउने विद्यार्थी हुन् भने उद्बोधक व्यक्तित्व पनि हुन् । उनी र द्रोणाचार्य साथी थिए । पत्रकारिता गर्थे सँगै भने सँगै कविता पनि लेख्थे । ´पञ्चामृत´का लीलासँग उनको अविस्मरणीय नाम गाँसिएको छ, झापामा । उनका प्रिय साथी साम्सद भए, छिटै अकालमा रोगग्रस्त भई बिते पनि झापाली पथच्युत, पदच्युत, आस्थाच्युतहरूका नाममा नाम नगाँसी बिते । साथी द्रोणविहीन लीला उदासी एक्लो भएर वामपन्थी आन्दोलनमा, पार्टीभन्दा परै रहेर पनि आजसम्म डेग नछाडी झापामा क्रियाशील रहेका छन् ।

आज त्यसै नरमाइलो अनुभव भएको दिन छ । नेपालमा कतिपय वाममार्गी वाममार्गबाट विचलन हुन थालेको अनुभूति भएको समयमा लीला उदासीका कविता पढ्दै छु । यी कविता पढ्दा हाम्रो सीमा मिचिएको कुराको विरोध गरेर नथाक्ने लीला उदासी मेरा मस्तिष्कमा बस्छन् । कुनै बेला लेनिनलाई क्रेनमा झुन्डयाएको दृश्यले चिरिएको म आफ्नै आँखा – अगाडि कैयौँ वामपन्थीहरूको विचलन पाउदा ४० वर्षभन्दा बढी वाम–चेतनाले डोर्या एका लीला उदासीलाई छाम्छु, अँह ! लाग्दैन आस्थामा दृढ यो कवि पनि अब आएर चिप्लिन्छ, भनेर । उनको ढल्न लागेको रूख कविता पढ्छु – त्यहाँ उनी भन्छन् –
ए मूर्ख मान्छेहरू !
यो रूख लड्न आँटेको छ
यसमा नचढ
यो रूख अब लड्छ !

म घोत्लिन्छु– यहाँ लडिरहने ढलिरहने रूखमा धेरै कालिदासहरू चढिरहेछन् – तल ओर्लन नसकेर आफू बसेकै हाँगा काटेर । यस्तै भावनाको कविता हाम्रा अर्का कवि पुण्यप्रसाद खरेलले पनि रचेका छन्, जसले विपथगामीहरूको विपथलाई इङ्गित गर्छ ।
कवि उदासीको आज भालेलाई बास्न निषेध छ (२०४८) यसपल्ट पनि बाली लागेन (२०५७) यो झापा हो (२०६६) मा गरी ८२ जति कविता प्रकाशित देखिन्छन् । पञ्चामृत (२०२५) सङसँगै जसो प्रकाशित युगज्ञान साप्ताहिक (२०२६) जुही त्रैमासिक (२०३८) र यथार्थ कुरा पाक्षिक (२०५२) का स्तम्भ लेखक जुहीद्वारा २०५९ मा जुहीनवरत्नमध्ये १ जुही– रत्नका रूपमा सम्मानित प्रतिभा कवि लीला उदासीका यी कविताले अब गहन समीक्षा पाउने ममा आशा पनि पलायो । उनीजस्ता प्रतिभालाई तल पारेर माथि चढनेहरू भएको सम्झेर मन भने खिन्न भयो ।

हुनत श्यामप्रसाद, जनकप्रसाद हुमागाई, कपिल लामिछाने, घनेन्द्र शर्मा, हीरा आकाश, सरोज ओली, डा हृषीकेश उपाध्याय, होम सुवेदी, विजय खरेल आदि कवि लेखकहरूबाट विभिन्न पत्र पत्रिकामा लीला उदासीको साहित्यिक योगदानको चर्चा भएकै हो । त्रि वि वि स्नातकोत्तर तहको शोधपत्रमा पनि उदासीको व्यक्तित्व र कृतित्वको मूल्याङ्कन भएको हो र पनि अब गहन समालोचना होला भन्ने आशा नपलाइछाडेन ।

यी ३ कवितासङ्ग्रहबाहेक त्यो बालक कहिले जन्मन्छ ? नामको निबन्ध– सङ्ग्रह (२०६३) प्रकाशित छ भने साहित्येतर विषयको ग्रन्थ संविधान सभा र संविधान (२०६३) पनि प्रकाशित छ । यी ५ कृतिका लेखक / कवि लीला उदासीको अर्को पनि निबन्ध–सङ्ग्रह प्रकाशनोन्मुख छ । आफ्ना पुस्तक छापिदिने प्रकाशक नहुनु र आफूले पनि छाप्न नसक्नुको पीडा कवि लीला उदासीलाई अवश्य निकै होला, तर म जस्तो हितूलाई पनि बढी नै छ । कहिलेकहीँ सोच्दछु – ४ दशक नेपाली साहित्यमा वाम–चेतनाले भरिपर्ण, प्रखर रचना दिने सर्जकलाई हामीले बढी नै अनास्था गर्यौभ । जुही–रत्नले सम्मान गरेर त जुहीमात्र कृतार्थ भयो– तर लेखकले केही पाएनन् । झापाली केही पुरस्कार / सम्मानले उनको मनका घाउको सानो तिनो उपचार भने अवश्य भएको मान्नुपर्छ ।

लीला उदासी भावुक कवि हुन् । निबन्धमा पनि उनी भावुकिएका छन् भन्ने कुरा धेरै निबन्धले स्पस्ट पार्छन् । सीमा मिचिएको विरोधमा चार दशकसम्म कराएर नथाक्ने उनी जनकवि हुन् भन्दा अत्युक्ति हुन्न । झापा आन्दोलनमा कहिल्यै पछि नसर्ने योद्धा उनी अझसम्म निष्कलङ्क छन् । यसै सङ्ग्रहको छिमेकी कविताको यो अम्श हेरौ –
पुर्खाले आर्जेको
भोगचलन गरिरहेको
हड्डी घोटेर छर्कँदै – जोगाएको
लालपुर्जा भएको
सिमानाको जमिन,
सीमास्तम्भ,
हराउँदै आएका छन्
र यो निरन्तर छ
उहिल्यैदेखि
अहिलेसम्म
चलिरहेछ / चलिरहेछ ।

यसैगरी आन्दोलनका केही सहकर्मीहरूप्रतिका उनका केही व्यङ्ग्यात्मक कविता अत्यन्त सजीव र मुटु छुने छन् । माननीय, तपाईले कुर्सी देख्नुहुनेछ, सुखानीको माटो बेच्न सक्दैनौ, हराएको साथी मभित्र भेटिदैन, आदि कविता यसपल्ट पनि बाली लागेनमा झै यो संङ्ग्रहमा आन्दोलन, भूतपूर्व साथी, श्रीमान् ………प्रसाद थोरै उदाहरण हुन् ।

देशप्रति गद्दारी गर्नेप्रति कवि उदासीलाई ज्यादै घृणा छ भने समसामयिक विकृति र विसङ्गतिप्रति उनले पराकाष्ठाको आक्रोश पोखेको प्रमाण यत्रतत्र पाइन्छ । प्रतीकात्मक कविता – रचनामा उनी धेरै निपुण छन् । तीभन्दा पनि आख्यानात्मक लघु रूपका र नाटकीय ढङ्गका कवितामा भने कवि उदासी निकै झर्झराएका पाइन्छन् । ´यो झापा हो´ लघु रूपको आख्यानमय नाटकीय रूपको कवितामा यो चार दशकको अध्येताको अनुभूति अभिव्यक्तिएको छ । यो कवितामा झापाका निरिहहरूलाई जालझेल गरेर चुस्ने, कागज गराउने, मुद्दा लगाउने, घुस खाने – खुवाउने, निर्मम भ्रष्टाचारीको सजीव चित्रण छ । यस्तो चित्रण गर्नुपर्दथ्यो– एउटा नामी अधिवक्ता कवि भएर । त्यो काम अधिवक्ता लीला उदासीले गरेका छन् – यहाँ अनुभूतिमय कवि भएर । झापाका जाली–झेलीका कुरा मैले डा हृषीकेश उपाध्यायबाट पनि सुनेको छु, बिर्तामोडका निबन्धकार गोपालकुमार बस्नेतको एउटा निबन्धको पुस्तकमा पनि पढेको छु – अहिले ´यो झापा हो´ कवितामा जुन रूपले, जुन भाषामा, जुन चेतनाले झापाली शोषण, भ्रष्टाचार, अन्याय र अत्याचारको चित्रण भएको छ – त्यो विशेष छ ।

सम्क्षेपमा, बेला–बेलामा झापामा पत्रकारका रूपमा र अधिवक्ताका रूपमा लीला उदासी वरावर चर्चित भइरहँदा पत्रकार र अधिवक्ता व्यक्तित्वले कवि व्यक्तित्वलाई थिच्ने हो कि ? भन्ने भ्रम मलाइ भएको थियो, अहिले ´सुखानी´ मा बगेका वीरहरूका रगत र बलिदानलाई आफ्ना गातामा अँगालेर आएको ´यो झापा हो´ प्रकाशित हुँदा कवि लीला उदासी सशक्त कविका रूपमा जीवित रहेको बलियो अनुभव गर्दै लीला उदासी जीवित छन्, जीवित रहनेछन् भन्ने दृढ विश्वास पलाएको छ । उनको अभिव्यक्ति गुनगुनाउन मन लाग्छ–
आँखा आफै सिर्जना हुन्
सिर्जनाका मुहान हुन्
त्यसैले, सावधान !
कसैले कसैको आँखा नफोर ।
“ आँखा ”
चूडामणि रेग्मी सेवानिवृत्त सहप्राध्यापक तथा सम्पादक जुही
२०६६–०१–२१
झर्रो नेपाली घर ,लेखनाथ चोक चन्द्रगढी, झापा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता सङ्ग्रह and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *