कविता–संग्रह : बेलाबखतका मुस्कानहरु

बेलाबखतका मुस्कानहरुbela bakhat ka muskarn haru
(कविता – संग्रह)

रचनाकार- कृष्णबहादुर क्षेत्री

कृति- परिचय
बेलाबखतका मुस्कानहरु
बिधा- कविता-संग्रह
प्रकाशक – दिनेशप्रसाद मैनाली
प्रकाशन साल – वि.सं. २०५१
प्रति-१०००
छापाखाना- षडमुखा भगवती प्रिण्टिङ्ग प्रेश हाँडीगाउँ, काठमाडौं ।
ISBN No. नभएको

बेलाबखतका मुस्कानहरु
• फुर्सदले पढ
• लेकमा विहान
• प्रेमको पहिलो उच्छ्वासमा
• आत्म-कथा
• धर्तीको वरदान पाएको जीवन अभिशाप भइरहेछ
• रातको बत्तिप्रति
• दृश्य: परिवतॅनको चाहनामा
• माया र घृणा
• साकार मेरो सपना
• पखॉलभित्रको जीवन
• अनौठो नाता
• हाँस्न देऊ त्यसलाई
• मेरी धर्तीलाई
• सपनाका फूलहरु
• जीन्दगी सार्हो छ
• स्नेह रित्तेका आँखाहरु
• स्पष्टीकरण चाहियो
• बाँच्न बिर्सेर पनि सोच्नु पर्छ
• तिम्रो शुभकामना बोकेको पोष्टकार्ड
• उदास अनुहारको सम्झना आउँदा
• प्रतिश्पर्धा: एक चिन्तन
• धर्ती – प्रेम
• ती आँखाहरु खोइ ?
• मेरो जीवन
• उसले मलाई देखेन
• आफैँलाई सम्झिँदा
• सूचना नं. २७।९।०५०
• उनीहरुको मायालाई सम्झेर
• प्रतिज्ञा
• तिमी र म
• ज्वरो आएको दिन
• पल्लो घरको झ्याल
• झ्यालमा बसेकी युवती
• धेरै दिनपछि
• “कृष्णबहादुर क्षेत्री” (सेल्फ पोर्ट्रेट)
• मनका कुराहरु
• कविता यात्रामा (तीन प्रसंग)
• फेरि पनि माया
• बूढो साथी
• जीन्दगीको गाईजात्रा र काठमाडौं शहर
• बाँच्न सिक
• म किन लेख्छु ?
• …………….. मात्र तिमीलाई
• त्यो दिन र तिम्रो सम्झनामा
• सहानुभूति
• अचम्मको माया
• त्यो दिन फर्केर फेरि आएन
• मेरा सम्भावनाहरुले आत्महत्या गरे
• केही तिम्रा: केही मेरा
• कस्तो हुन्थ्यो होला !
• विगतको नाममा वर्तमान एउटा सम्झौता- पत्र
• तिमीले बिर्सेको साँच्चै हो त !
• भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु
• साथी २०५० प्रति
• यो दिल कसैको यादमा रोयो
• म फेरि जन्मेर आउँला

————————————————————————————-

फुर्सदले पढ

पढ्ने कुराहरु धेरै छन्
के पढ्ने भनेर
गलफत्ती गर्ने बेला अब छैन
हिच्किचाहटमा होइन
न मनको एक झर आवेशमा
फुर्सदने पढ
पढ्ने कुराहरु बाङ्गाटिङ्गा छन्

राम्रो- नराम्रो दुबै पढनु पर्छ
नराम्रोलाई पढेर राम्रोको मूल्य जान्नु पर्छ
हतारमा होइन
न समय चिप्लेला कि भन्ने डरमा
समयको त कहिल्यै बचत हुंदैन
नबितोस् भन्दा पनि बितिजान्छ
त्यसैले फुर्सदले पढ

पढने कुराहरु गज्याङमज्याङ लाग्लान्
टाउकोको गुदी खान आउलान्
सम्हालिएर होसियार भएर
फुर्सदले पढ
पढ्ने कुराहरु गनिनसक्नु छन्
विस्तारै पढ
धेरै बुझेर पढ
यहां बुझ्नु पर्ने कुराहरु थुप्रै छन्
तर बुझाउनु पर्ने कुराहरु केही पनि छैनन्
त्यसैले, फुर्सदले पढ
(२०४३।११।११)

————————————————————————————-

लेकमा विहान

शीतमा नुहाएर भर्खरै
घाम ताप्न लागेकी लालीगुराँस
पहाडी खोलामा निहुरेर
आफ्नो सुन्दरता हेर्न हतारिन्छे
(२०४४।८।१८)

————————————————————————————-

प्रेमको पहिलो उच्छ्वासमा

“कविता दिने हैन ?
– कविता दिइसकें मैले, आफ्नो साथीलाई ।”

सताउला भनी धेरै-धरै
केही क्षणको बिछोडने जीवनमा
दिन्छिन् उनी मधुर कल्पना
सम्झना सांच्न र बांच्न कवितामा

स्वच्छन्द कविको एउटा फुक्का सोधाइमा
सधैलाई उनीले कविता समर्पण गरेकी छिन्
हरेक समय उठ्दछ कविता बनी
गाउंदै कविता कवि संगीत भरिरहेछन्
(२०४४।७।३०)

————————————————————————————-

आत्म- कथा

जीवन-खेल मैदानको
म एउटा सहभागी
चढ्दैछ नशा ममा खेलको
विविधतामय यो जीन्दगी

कैले फुट्ला जस्तो हुन्छ टाउको
कैले चर्केला जस्तो हुन्छ छाती
देख्न्नु के छ ? रुने र हांस्नेको झगडा
लाग्न थाल्छ कलिलो मगजमा प्रश्नको तांती

दूर-यात्राबाट थुप्रै घुम्ती छोडेर
आएको थिएँ यहां सपना रोप्न
गुम्सेका हावामा सास अड्किंदो रहेछ
पाईरहेछु कहां ? आज आफ्नै विपना देख्र्न

हिंड्छु कतै पुग्ने ठाउं छैन
बस्छु रत्तिभर आराम छैन
खलबल खलबल यो विश्व खलबल
आउला के ? कुवाको जीवनमा उथलपुथल

भ्रममा बाँच्दा जीवन फंस्यो
राम्रो छ भन्ने भ्रम फेरि नलिऊं
अनमोल थियो हिजोको समय
जो बित्यो, खुशी आज कहां पाऊँ ?
(२०४३।८।१९)

————————————————————————————-

धर्तीको वरदान पाएको जीवन अभिशाप भईरहेछ

भित्र बस्छु-¬¬
ठिहिर्याउंछ आफ्नो वास्तविकता
बाहिर निस्कन्छु-
पोल्छ समयको अजेय असमानता

बिउँझेर पनि आफूलाई
मस्त निदाईरहेको अवस्थामा पाउँदा
लाग्छ –
कहिल्यै जागा नहुने
निद्रामा मस्त म महाकुम्भकर्ण बनूँ
ताकि चेतनशील हुनुको बाध्यतामा
आफ्नै आकांक्षाहरुको प्रहार सहन नपरोस्
समानताको खोजमा आफ्नो स्तर
गल्लीको भुस्याहा कुकुरको तहमा
रुपान्तरित भएको सत्यता हेर्न नपरोस्

मानवीय स्वभावको विपरित
किन-किन अचेल
मायामा पनि अर्थ खोज्न मन लाग्छ
स्वार्थ पो टांस्सिएको छ कि भनी
माया कोट्ट्याई हेर्न मन लाग्छ
कसैबाट विश्वास पाए
अनायासै नाकले अविश्वासको गन्ध खोज्न थाल्छ
सोझो बाटोको मार्ग – दर्शन पाए
अनेकौं डरलाग्दा दुश्चिन्ताले डांवाडोल भएर
पाइला जञ्जालपूर्ण बाटोमा बढ्न थाल्छ
यो चलिआएको खराब संस्कार होइन
आजको हावामा मिस्सिएको स्वार्थपरक परिवर्तनको चमत्कर हो

समयले सिर्जेको यस्तो दुर्भेद्य दुरावस्थामा
आफू चक्रव्यूहभित्र परेको भान हुन्छ
समयको जटिलतामा आज
धर्तीको वरदान पाएको जीवन
अभिशाप भईरहेछ
यस्तो नबांच्नु बांच्नु परेपछि
आफ्नै जीवन खरानीको थुप्रो लागिरहेछ
आफैंभित्र आर्यघाटको चीता गन्हाईरहेछ ।
(२०४४।९।२२)

————————————————————————————-

रातको बत्तीप्रति

रातको बत्ती ! निभ्नु हुँदैन
निरन्तर बलिरहू अँध्यारोमा
आफ्ना ज्योतिमय आँखा खोल
बस तिमी रातको पहरामा

तिमीले हेर्दा रातलाई
हामी धर्तीलाई देख्न सक्छौं
तिमी तेजिलो बनिरहे
हामी माटोलाई चुम्न सक्छौं
(२०४३।३।७)

————————————————————————————-

दृश्य: परिवर्तनको चाहनामा

देखें त्यहां एउटा लामो धर्को
बर्को ओढ्नेहरुको लर्को
मलाई लाग्यो उनीलाई नदेख्दा झर्को
मैले हेर्न चाहें दृश्य अर्को

माघको महिना मध्यतिर
तुषारोको छ चीसो ज्यास्ती
कंमाउंदै छ मुटु लग्लग् बिहानको जाडो
पर्खिरहेछु म उनीलाई मानेर यही मस्ती

बाटुलो मुख जूनको रुप
मुस्कान अदभूत लिई आएको देखिन
दिन-रात सधै मनले पुज्ने
ती बाहेक अर्की संसारमै भेटिन
(२०४४।१०।१३)

————————————————————————————-

माया र घृणा

मेरो बस्तीमा माया छ
मेरो बस्तीमा घृणा छ
यो संसार मेरो आंखाको
माया र घृणामै अडेको छ

माया मात्र पाएर
गर्नु के ?
बाँच्न घृणा पनि चाहिन्छ
माया र घृणाको सन्तुलनमा नै
जीवन- जगत् राम्ररी बुझ्न पाईन्छ
(२०४३।११।१०)

————————————————————————————-

साकार मेरो सपना

बिहान भएपछि तिमीसंग
भेटेर कुरा गरुंला भन्ने
मेरो रातभरिको सपना थियो
ऐले तिमीलाई भेट्दा
मेरा आंखाले निद्रा त्यागे
म अब मुक्त भऐं
निद्राको बोझिलो बन्धनबाट
अब म तिमीलाई नै भेटिरहेछु
आंखाभरि सौन्दर्य तिमी छौ

लाजले हो कि मायाले
वा हो हृदय जोडिएर
म आंखाले बोलिरहेछु तिमीसँग
ए हावा ! सर्सर नगर्
नछोडेस है निश्वास आँधी अब
ए दिन ! अँध्यारो नछर्
नबोलाएस् है रात अब
हृदयको चाहना मेरो
वासन्ती फूलको मुस्कान जितिरहिछिन्
तपस्यामा लीन ऋषि के भए हुन्
जगको कल्याण सारा म तिमीमै पाईरहेछु
संसारमा तिम्रो र मेरो भेट नै सृजना नौलो
तिमी र ममै विश्व विशालतम् पाईरहेछु
(२०४३।८।२६)

————————————————————————————-

पर्खालभित्रको जीवन

थुनिन को चाहन्छ र यहाँ
स्वतन्त्र भएर बाँचेको राम्रो
माटो जीवन; जीवन माटो
प्रकृतिसँग मिल्न पाएको झनै राम्रो

खोस्छौ किन ए मान्छेहरु हो!
पीडा दिएर अरुको स्वतन्त्रता
बाँच्न देऊ हामीलाई धर्तीमा मिलेर
हामी धर्तीका हौं, चाहिंदैन हामीलाई कृत्रिमता

प्रकृति माथि विजय गर्नेहरु हो !
बुझ्दैनौ किन ? तिम्रो जीतमा
मानवता यहाँ रोईरहेछ
पाई तिम्रै यातना बिलाईरहेछन् महान् आत्मा

भन्छौ भने यसलाई प्रगति खासा
छुटिरहेछ नाता जननी-माटोसँग आज
देख्दैछु म त जटिल बनेको छ जीवन खूबै
“बाँच्ने कसरी?” यही पीर सताउंदो छ रोज

ए ! बोलन बोल मानव सच्चा !
चाहिंदैन पर्खालभित्रको जीवन
चाहिन्छ त केवल सुन्दरता धर्तीको चाहिन्छ
खुम्चिंदै जाने होइन; मानवतामय चाहिन्छ सरल जीवन
(२०४३।५।२१)

————————————————————————————-

अनौठो नाता

टाढा छु सम्झिन्छन् सबैले
सम्झना गरेका छौं भन्छन्
प्रतीक्षामा बसेका छौं
कैले आउने ? भन्छन्

नजीक हुन्छु बोल्दै बोल्दैनन् क्वै खुलेर
म बन्छु अतृप्त भित्रभित्रै छट्पटिएर

टाढा हुँदा माया हुँदो रहेछ
नजीक हुँदा हेला
म त अल्झिरहेछु
हेर्दै जीवनको अनौठो मेला
(२०४३।२।३०)

————————————————————————————-

हांस्न देऊ त्यसलाई

साउनको आकाश निरन्तर
बादलको झापडले रोए झैं
आफ्नै भित्री पीरको सुईरोले घोचिएर
मुटुभरि धुरु-धुरु रुने
मरुभूमिको बालुवामा पानी
सिनित्तै बिलाए झैं
भित्रै आँसु लुकाउने
दाँत देखाएर बेला-बेलामा
हाँस्ने रोगले समाए झैं
खिस्स- खिस्स हाँस्ने त्यसलाई
हाँस्न देऊ त्यसलाई

त्यो,
पूर्वी आकाशमा बिहानै
सूर्य हाँसे झैं
आफूले देख्न्ने सबै ठाउँ हेरेर
गलल्ल हाँस्ने अभ्यास थाल्दैछ
धनाढ्यको ढुकुटीमा उपेक्षा पाएर
झुत्रेको पसीना हाँसे झैं
त्यो निसंकोचसाथ हाँस्न रुचाउँछ
हाँस्न देऊ त्यसलाई
त्यो,
आमाको काखमा निर्दोष
शिशु हाँसे झैं निश्चल
सम्पूर्ण आफैँलाई उघारेर
हाँस्ने अभ्यास गर्दैछ

हो- त्यसको स्वाँगी हाँसो
पटक्कै मन नपर्न सक्छ
छातीभरि उपेक्षा पाएर
मुटुभरि रुने त्यसलाई
दुर्भाग्यले घाँटी अँठ्याएको छ
हाँसेर त्यो चाहन्छ बाँच्नलाई
नक्कली हाँसोमै भए पनि
बाँचेको सन्तुष्टि पाउन चाहन्छ त्यो
त्यसलाई हाँस्न देउ
त्यो
उदास अनुहारभरि
सुकेका ओँठभरि
आँसु जमेका आँखाभरि
हाँश्ने चाहना गर्छ
हाँस्न देउ त्यसलाई
सान्त्वनाको दरकार छ त्यसलाई
स्वच्छ धड्कनको स्पर्श देऊ त्यसलाई

त्यो एक्लै
निर्जीव भित्ताहरुको बीचमा
किन हाँसोस् !
साथीहरुसँग हाँस्न चाहन्छ
व्यथाभरि अदृश्यरुपले डुवे पनि
टुक्राटाक्री ठट्टा सिला खोजेर
सबैलाई खिज्याउँदै
हाँस्ने कलामा पछाडि पार्दै
डाँको छोडेर १२ बजेलाई
दिवसको सलामी तोप पड्के झैं
एकैचोटि सारा खिन्नतालाई
खित्कामा बदल्न चाहन्छ
त्यो बाँच्न चाहन्छ
मान्छे भएर मान्छे जस्तै
हाँस्न देऊ त्यसलाई
त्यो, मान्छेले जस्तै हाँस्न चाहन्छ
(२०४३।११।१०)

————————————————————————————-

मेरी धर्तीलाई

आरामदायक निद्राको सपनामा पनि
मेरी धर्तीलाई म खोज्छु
अस्थिर भएर मुटुभरि ममता सल्बलाउँछ
पातलो स्मृतिमा छुन खोज्छु

कैले हुन्छ र पानीबाट टाढा माछा !
फूलबाट सौन्दर्य सुवास खासा !
धर्ती मेरी हुन् म धर्तीको
छुट्टिन सम्भव छैन, दुई हृदयको एक भाषा

हजार जन्म मिल्छ भने पनि मलाई
मेरी धर्तीको भएर म जन्मिऊँ
पिएर आँखाले दृश्य यहींको शीतल
मानब भई म बाचूँ

के छ र दिऊँ तिमीलाई धर्ती
हृदय मात्र छ मेरो मसंग
अरु जे छ अर्काको ऋणमा अडेको
भएको हृदय तिमीलाई दिएको छु, अपनाऊ खुशीसंग
(२०४३।८।९)

————————————————————————————-

सपनाका फूलहरु

१) मेरा साथीहरु खै मलाई के ठान्छन्
सधैं मसित आठौं आश्चर्य माग्छन्
सधैं मेरो दिमागमा सपनाका फूलहरु रोप्छन्
मलजल र गोडमेल गर्न भनेपछि दायाँ- बायाँ लाग्छन्

२) पाईलैपिच्छे सपना लिई
एक्लै म कति बाँचूँ !
तिमी साथ देऊ अब त
दुबै मिली खूब नाचूँ !

३) सपना देख्दा – देख्दै
विपना भईसक्यो बडेमानको रित्तो भारी
अझ किन थप्दैछौ यति धेरै उधारो सपना
यो सुस्त गतिलाई नै ठप्प रोक्ने गरी ?

४) चराहरु पींजडाभित्र सपना देख्दैनन्
सपना देख्न्न खुल्ला आकाश चाहिन्छ
चराहरु जुन बेला पनि गाउँदैनन्
गाउनलाई धर्तीको संकेत चाहिन्छ
(२०५०।९।२०)

————————————————————————————-

जीन्दगी सार्हो छ

जति बुझ्छु उति अस्पष्ट लाग्छ
मलाई मेरै जीन्दगी
अर्काको जीन्दगीलाई हेर्छु
किचिङ् – मिचिङ् के – के जस्तो लाग्छ जीन्दगी

सलाईको काँटी भए
ख्वार्र कोरेर झ्यार्र पारिदिनु हुन्थ्यो जीन्दगी
जीन्दगी त अन्तीम गाँसको
स्वाद रहेछ बिर्सन खोजे पनि नसकिने
समस्याहरुको एकतालाई चुँडाउनै नसकिने
त्यसमै आफू अल्झिंदै जानु पर्ने
जीन्दगी त सार्हो हुँदो रहेछ
गजधुम्म परेको चट्टानभन्दा सार्हो
कल्पनाको फुक्का उडानभन्दा
सयौं गुणा बढी सार्हो
जीन्दगीको यथार्थता
वीषभन्दा पचाउन गार्हो

म आफ्नै जीन्दगीको गुफाभित्र छु
बाटो ठम्याउन नसकी शून्य छामिरहेको
जीन्दगी सार्हो छ !
जीन्दगीलाई राख्ने ह्याङ्गर भए
तिर्लिङ्ग झुण्डाएर भित्तामा कोठा सजाउँथें
जीन्दगिलाई मिल्काउने परम्परा भए
कुनै विद्रोह नगरी रद्दी – टोकरीमा फ्यात्त मिल्काउँथें

तर के गर्नु !
यसो पानि छैन, उसो पनि हुँदैन
जीन्दगी सार्हो छ
साथै लिएर बाँच्न गार्हो छ
कसैलाई दिन हुने भए
हर्षपूर्वक सौगात भनेर
रात – दिन हाँड घोटिरहेका अभागीहरु
अर्काको हातमा जीन्दगी दिन्थे होलान्
आह ! कस्तो हाइसञ्चो !
हट्यो बोझिलो जीन्दगी भन्दै
हावामा आङ तानेको हाउभाउ गर्दै
सपनाको खुशीलाई खिज्याएर
आफैँभरि सरलतामा बाँच्थे होलान्
दुर्भाग्यका हातहरुलाई
परैबाट चिनेर सुटुक्क अर्कैतिर लाग्थे होलान्
(२०४३।११।१०)

————————————————————————————-

स्नेह रित्तेका आँखाहरु

नदेखाऊ, नदेखाऊ
सुख्खा निरस
स्नेह रित्तेका आँखाहरु
मलाई नदेखाऊ
डर लाग्छ –
तेश्रो विश्वयुद्ध पहिले नै त्यहीँ भेटे जस्तो
हाहाकार मच्चिन्छ कोमल मुटुभित्र
कुनै आफन्तबाट हेला पाए जस्तो
(२०४३।११।९)

————————————————————————————-

स्पष्टीकरण चाहियो

कहाँ
कसरी
कहिले
र किन
मसित तिमीले
प्रेम गर्यौ ?
स्पष्टीकरण चाहियो ।
(२०५०।९।२६)

————————————————————————————-

बाँच्न बिर्सेर पनि सोच्नुपर्छ

सधैं गरिरहेको काम पनि
गर्दा – गर्दै कहिलेकाहीँ
म भुसुक्कै बिर्सिन्छु
र त्यसै – त्यसै अलमलमा परिरहेको हुन्छु
त्यसको आरम्भ खोजिरहेको हुन्छु
लाग्छ यसरी नै-
जीन्दगी बाँच्दा-बाँच्दै एकदिन
चटक्क म बाँच्न बिर्सिनेछु
र मर्नेछु
अनि अदृश्य भएर कतै चिहानको सुनसानमा
मृत्युपछि पनि म आफ्नो जीन्दगीको आरम्भ खोजिरहेको हुनेछु
समाधान हुन नसकेका थुप्रै
समस्याहरुको बारेमा सोचिरहेको हुनेछु
सोचिरहेको हुनेछु
फगत् म सोच्न सक्छु
त्यसैले जहिले पनि जहाँ पनि सोचिरहेको हुन्छु।
(२०४५।१।९)

————————————————————————————-

तिम्रो शुभकामना बोकेको पोष्टकार्ड

तिम्रो हातको वसन्तले रचेको
सुन्दरताका सघन हरियालीहरु
तिम्रो मुटुको सास फेर्दे
पोष्टकार्डको नरम ओच्छ्यानमा
मेरो हृदयलाई सिरानी बनाई
गहिरो निद्रामा सुतिरहेछन्
म तिनलाई बारम्बार हेर्दै
आफ्नो एकान्तलाई रमाईलो पारिरहेछु
(२०४४।८।१७)

————————————————————————————-

उदास अनुहारको सम्झना आउँदा

मेरो आँखामा यस बेला
एउटा अनुहार झल्झली आईहेछ
म सम्पूर्ण आफ्नो ध्यान
त्यसैमा लगाईरहेछु
लुगामा टाँक लगाउने कामदार
एउटी युवतीको उदास अनुहार
त्यसै-त्यसै धेरै दिनदेखि सम्झिरहेछु

एकान्तको गहिरो चिन्तन हो
तिनको त्यो उदास अनुहार;
जसलाई तिनी असंख्य आँखाहरु अगाडि
देखाउँदै हिंडिरहेकी हुन्छिन्
साहसपूर्वक लाजै नमानी
त्यसैले त जस्तै ठूलो हल्लाको घेरामा पनि
तिनी एकाग्रचित्तले आफैँमा हराईरहेकी हुन्छिन्

तिनको त्यो उदास अनुहारसंगै
रहस्यमय बनिरहेका एक जोडी आँखाहरु
लाग्छ-
दिन-दिनै बोझिलो बन्दै गएको विपना
हेर्दा-हेर्दा थकित भइसकेका छन्
र थुप्रै सपनाहरुले झुक्क्याईदिँदा त्रसित छन्
त्यसैले लाग्छ तिनीहरुले अब
सपना देख्न्न छोडिसकेका छन्
र देखिन्छन् चूपचाप-चूपचाप
वर्तमान उन्न तल्लीन

अहिल्यै भन्न जाऊँ-जाऊँ लाग्छ तिनीलाई
तिनकै उदास अनुहारमा हेरेर
कि तिनको त्यो अनुहार
मुस्कान उछिन-पाछिन गर्ने पत्रहरु ओइली झरेका
गुलाफको उजाड बोट जस्तो देखिन्छ
र त्यसैले सोध्न मन लाग्छ
समयसित एउटा प्रश्न-
तिनको अनुहारमा हाँस्नु पर्ने वसन्त
तैँले किन थुनिराखेकोछस् बैँसका दिनहरुमा ?
(२०४४।७।३०)

————————————————————————————-

प्रतिश्पर्धा: एक चिन्तन

बल्दो छ उत्तेजित ज्वाला छोड्दै
समय परिवर्तनको नौलो पहिरनमा

जीत्नेको जीवन हुन्छ
हार्नेको मृत्यु यहाँ
मर्नेहरु निर्धा हुन्छन्
बाँचिरहेछन् चतुर चालका जहाँ !
(२०४३।११।९)

————————————————————————————-

धर्ती-प्रेम

तिमी मलाई
सिङ्गो आकाश दिन्छु भन्छौ
मलाई त
शून्य कुराको केही महत्त्व छैन
मलाई त
सम्पूर्ण धर्तीभन्दा बढी केही चाहिएको छैन

आकाश किन
दिन चाहन्छौ तिमी ?
मलाई हावा भएर स्वच्छन्द
फन्को मारिरहोस् भन्ने ठान्छौ तिमी ?
भो, पर्दैन
आकाश आफैँसँग राख
आफैँलाई बिझाउने स्वतन्त्रता पाएर
बाँच्नुलाई म तिरस्कार गर्छु
धर्तीलाई बिर्सेर उड्नुलाई
म औधि घृणा गर्छु

मेरो मुक्ति
मेरो माटोमा छ
मेरो शक्ति
मेरो माटोको भक्तिमा छ

म तिमीलाई भनिदिनु वेश सम्झिन्छु-
तिमीले निश्क्रिय तुल्याएर दिएको स्वतन्त्रता
मलाई माटोले दिने आत्मीयता भन्दा
अति नै तुच्छ लाग्छ
माटोको हुनुमा मलाई गर्व लाग्छ
आफैँ आफ्नो भए जस्तो लाग्छ ।
(२०४३।११।११)

————————————————————————————-

ती आँखाहरु खोई ?

मलाई ती आँखाहरु
अहिले चाहिएको छ
ती आँखाहरु खोई ?
बताऊ, ती आँखाहरु खोई ?

अत्यन्त जरुरी छाप लगाएर
म बितेका दिनसंग
आफ्ना अतीतका दिनहरुसंग
मूर्दा भएर इतिहासको चिहानमा
लम्पसार परेर सड्दै बिलाउँदै गएका
मेरा अवकाश प्राप्त रमाईला दिनहरुसँग
एउटा पत्र पठाएर
सोध्न चाहिरहेको छु-
ती आँखाहरु खोइ?
सोधपूछ गर्न लागिरहेको छु-
ती आँखाहरु खोइ?

ए ! मायाको आडमा
दयाको बोझ बोकाउनेहरु !
साँच्चिनै मायाले केही दिन सक्छौ भने
मलाई ती आँखाहरु देऊ
मलाई ती आँखाहरु मन पर्यो
असाध्यै मन पर्यो
म जत्तिकै मलाई ती आँखाहरु मन पर्यो
मिलेका ती पहिलो नजरमै
माया मेरो ती आँखाहरुमा बस्यो

ती आँखाहरु खोइ ? भनन
मैले मेरो माया त्यहाँ राखेको छु
संसारका झ्याउलाहरु त्यहाँ
सबै मैले आनन्दको पाएको छु
अब त मैले
आफैँलाई गर्ने माया पनि
ती आँखाहरुमै खोज्न थालेको छु
ए बताऊ !
ती आँखाहरु खोइ ?
मैले त्यहाँ मेरो मायालाई राखेको छु
(२०४३।११।९)

————————————————————————————-

मेरो जीवन

कैले चुटिन्छ मुसलधारे झरीमा पीरको
कैले बगाउँछ खहरे आँसुको
मेरो जीवन कस्तो ! कस्तो !
झरी सहने; गुनासो नपोख्न्ने ढुंगा जस्तो

कैले बन्छ फूल सुवासिलो
सजिन्छ हृदयको एक कुनामा कसैको
मानौं मेरो जीवन गमला हो
फूल फुलेको बेलामा आँखामा नबिझाउने दृश्य हो

मुसुक्क जून मुस्कुराउँदा मुखमा
सन्तोषमा ओँठ खोलेर हाँस्दा
कल्पना आउँछ मलाई
मेरो जीवन सधैँ यस्तै रहिरहोस्
(२०४३।५।२१)

————————————————————————————-

उसले मलाई देखेन

देखेको भए उसले मलाई
बिघ्नै सताउनेथ्यो
आँखाले बोलाउनेथ्यो
हृदयले गीत सुनाउनेथ्यो

म अकमक्क पर्नथें
हेर्या-हेर्यै उसलाई
टप्प मिलेका उसका ओँठ दुई
चट्ट खुले झैँ लाग्नेथ्यो मलाई
सल्बलाउँदै; चल्मलाउँदै
गरे झैँ लाग्नेथ्यो केही प्रश्न मलाई

ठीकै भयो
उसले मलाई देखेन
मैदानी खोला झैँ गम्भीर
अनुहारमा अनौठा भाव खेलाउन पाएन
वसन्तका मुना झैँ टुसाउँदै आएका
काला स्याना जुंगाले उसका
झुकेर माटोतिर मलाई नमस्ते गर्न पाएनन्
स्पष्ट झल्केका सुन्दर, गालाको कोठीले पनि
मलाई ‘तिमी नै हौ !’ भनेर हेर्न पाएनन्
देखेको भए
मलाई नै खोज्दै हिंडे झैँ आँखाले
टाढैबाट चिन्नेथ्यो मलाई
सरासर लम्कँदै आउनेथ्यो भेटन् भनेर मलाई
‘किन रिसायौ प्रिय ?’ भन्दै शायद
आँखामा आँखा राखेर एकटकले हेर्नेथ्यो मलाई
(२०४३।६।२२)

————————————————————————————-

आफैँलाई सम्झिँदा

अवस्था मेरो सधैँ
प्यासले छट्पटाएको
समयको विचित्र खेल
रातमा तारा नभएको आकाश जस्तो
थाहै नपाई बितेको दिनमा
पानीमा आफ्नै रुप नदेखे जस्तो
को भन्न सक्छ ? मन उडेपछि
संयमले के गर्छ मलाई
झल्याँस्स जब बिउँझन्छु आफैँमा
नाघी पर्खाल बाध्यताको बनाउँदै हिँड्छु स्नेहको आकाश
मानिस भई खुशीले बाँचूँकी भन्दै !
(२०४३।१।१)

————————————————————————————-

सूचना नं. २७।९।०५०

विगत् मा तिमीले
जुन किसिमले चूपचाप
मौन प्रेम मसित गर्यौ
र मभित्र विविध चट्याङ-चुटुङ् भर्यौ
आगत समयले
त्यही प्रेमको थुप्रै बेरुजु निकालेको छ
सबुत प्रमाण सहित फर्च्छ्यौट गर्न आउनू ।
(२०५०।९।२७)

————————————————————————————-

उनीहरुको मायालाई सम्झेर

केही गर्न नसक्नेहरु
मलाई माया गर्छन्
म उनीहरुको मायामा पग्लेको
र उनीहरुकै हुन खोज्छु
केही गरुँ भन्छु; सक्दिनँ
त्यसैले सधैँभरि भित्री मन दु:खिरहन्छ
कता-कता छट्पटी चलिरहन्छ
थाहै नपाई परेला भिजिरहन्छ
(२०४४।१२।१५)

————————————————————————————-

प्रतीज्ञा

म त निराश कलमलाई भाँची
उत्साही कलम नचाईदिन्छु मान्छेका ओँठ-ओँठमा
म त अँध्यारोलाई डढाइदिन्छु
मन-मस्तिष्कलाई ज्ञानको घाम सधैँ तपाएर
म त सुस्केरालाई आफैँभित्र पचाइदिन्छु
निधारबाट तर्तर्ती पसिना बगाएर
म त रात-दिन गाउँका झुपडिहरुमा पुगिदिन्छु
विकासको ज्योति हरेक गाउँलेका अनुहारमा टाँसिदिन्छु
म त कुरामा होइन कामको बाढीमा
समानता बनेर बगिदिन्छु
म त चीसा चूल्हाहरुमा साँझ-विहान आगो बालेर
भात पकाउँदै सुकेका पेटहरु डम्म उक्साईदिन्छु
म त ओइलाएका कलिला कोपिलाहरुलाई
स्नेहले सुम्सुम्याउँदै धर्तीमा फुल्न सिकाईदिन्छु
म त निराश कलमलाई भाँची
उत्साही कलम नचाईदिन्छु मान्छेका ओँठ-ओँठमा
(२०४३।२।१३)

————————————————————————————-

तिमी र म

मेरो दिमाग एउटा विशाल फूलबारी हो
जहाँ बार्है महिना असंख्य विविध किसिमका फूलहरु फुलिरहन्छन्
बेला-बेलामा ती अनेकौँ किसिमका फूलहरु मध्येबाट
सौन्दर्य र सुवासको सौगात तिमीलाई दिईरहेको छु
त्यही फूलबारीमा अनधिकृतरुपमा
फूलसंगै आफ्नो अस्तित्त्वको झण्डा फहराईरहेका
काँडाहरुको अप्रत्यक्ष पीडा आफैँमा आत्मसात् गर्दै
तर पनि तिमी
तिमीसंगको मेरो निस्वार्थ प्रेमलाई स्विकार्न हिच्किचाउँछौ
र मलाई सधैँ-सधैँ पराई नै सम्झिने गर्छौ
म हुनुको सीमालाई निमिट्यान्न पार्न
हर्दम षड्यन्त्र गर्ने गर्छौ
तर म आज केही गरे पनि चूप लाग्ने छैनँ
तिमी यसलाई अतिक्रमण गरेको नै किन नठान
म-तिमी र मेरो गोप्य तर नैतिक सम्बन्धलाई
सबैको सामु खुलस्त पार्दैछु –
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा
तिमी भनेको मेरो देश र
म भनेको सधैँ तिम्रै स्नेहको शीतल छहारी खोजिरहने
भावनात्मक जञ्जालमा बाँचिरहेको एउटा कवि !
(२०५०।९।२८)

————————————————————————————-

ज्वरो आएको दिन

मन नयाँ-नयाँ कुरा खोजेर
एउटा कविता लेखूँ भन्छ
आज भित्रका सारा वहहरु फोएर
हलुको भई रमाऊँ भन्छ

जाँगर सुस्ताएको छैन मेरो
कल्पना हराएको हैन मेरो
सुनदरता हेर्ने आँखाहरु पनि छन्
प्रेयसीका सुमधुर आवाज सुन्ने कानहरु पनि छन्

कवितालाई टिप्ने यी सबै
यथास्थानमा भएर पनि
किन-किन मेरो कलम
आज कविता लेख्न्न अल्छि गरिरहेछ
लाग्छ- मलाई ज्वरो नआएर
कलमलाई कठ्याङ्ग्रिने जाडोको गर्मी चढिरहेछ
(२०४४।८।१४)

————————————————————————————-

पल्लो घरको झ्याल

यो झ्याल हुनुको सार्थकता
पल्लो घरको त्यो झ्याल उघ्रनुमा छ
त्यो झ्यालको सार्थकता भने
उनीले मुसुक्क मुस्कुराएर यता हेर्नुमा छ
(२०४४।११।११)

————————————————————————————-

झ्यालमा बसेकी युवती

साँझ, विहान र दिउँसो
शहरका घरका झ्यालहरुबाट
पर्दाको आडमा लुकी-लुकी
युवतीका उदास आँखाहरुले
बाटोमा आउने-जानेलाई नियालिरहेका हुन्छन्
धप्प बलेको आफ्नो यौवन
सम्हाल्न गार्हो मानिरहेकी
झ्यालमा बसेकी युवती
आफ्नो जीवनको ‘हिरो’ खोज्दै हुन्छे
सहसा कुनै युवकले टाउको उठाएर हेरे
गालामा लालीगुराँस फुलाउँदै भित्र पस्छे
(२०४४।८।१८)

————————————————————————————-

धेरै दिनपछि

एक दिन
धेरै दिनपछि
उसलाई मैले भेटेँ
रुनु-न-हाँस्नुको अलमलमा
स्वागतार्थ ऊ उभिएको थियो
उसले हार्दिकतापूर्वक अँगाल्यो
धेरै दिनसम्म
कल्पनै-कल्पनामा भेटिएको म
उसको खुशी भएको थिएँ
मनभरिको अपूर्व हर्ष भएको थिएँ
उसको कल्पनालाई व्यर्थ तुल्याउने
वास्तवमा म विगत् को भग्नावशेष भएको थिएँ

उसले घाम सोध्यो
जून सोध्यो
फूल सोध्यो
कुनै सित पनि मेरो चिनारी थिएन
कुनैलाई पनि मैले अँगाल्न सकेको थिइनँ
यौटैलाई पनि
मेरो आफ्नै हो भनेर
भन्न सकेको थिइनँ
मूक बनेँ म
ऊबाट भाग्न थालेँ म

त्यो को ?
मसित घाम, जून र फूल सोध्ने

अझ वेगले भाग्न थालेँ म
भाग्दा-भाग्दै ठूलो पहाडबाट खसेँ
जहाँ म बिना परिश्रम नै
समयको घोडालाई
पसीनाले ननुहाईकनै पुगेको थिएँ
फूल नफुल्दै कोपिलामै पुगेको थिएँ

फेदिमा अँध्यारो थियो
आँखा उठाई हेर्दा
पहाडको टुप्पाबाट
उही घाम, जून र फूल सोध्नेले
मलाई बोलाउँदै थियो
पहाडको टाकुरामा फेरि पुग्ने
बाटो देखाउँदै थियो
मैले त्यही पहाडको टाकुरामा पुग्नु पर्ने रे
त्यहीँ घाम, जून र फूललाई एकसाथ अँगाल्न पाउने रे
उसले भन्दै थियो
‘हुन्छ आउँछु’-मैले भनेँ
पहाड चढ्न पाइला बढाएँ
यत्तिकैमा निद्राबाट बिउँझिएँ

धेरै दिनपछि
यो कस्तो सपना देखेको !
चकित-चकित भएकोछु
आत्माको पुकार सम्झेर
पहाड चढ्न उत्साहित भएको छु
(२०४९।७।१७)

————————————————————————————-

“कृष्णबहादुर क्षेत्री”
(सेल्फ पोर्ट्रेट)

आफैँलाई नसम्झेर
माया सबैसँग लाउँछन्
पाउँदा वैमनस्य तुरुन्तै
धोका भन्दै मन दु:खाउँछन्
यस्ता छन् कवी क्षेत्री
मन पाकेर फतक्क गलेपछि रुन्छन्
आँसुको श्रृंखलाबद्ध उत्तेजनामा
कलम दरो गरी समाई कविता कोर्छन्

आएसम्म खुरुखुरु हरफका हरफ कोर्छन
एकचोटि पढ्छन्
बढि भएको शब्द कोरेर गायव गर्छन्
अगाडिको पछाडि;पछाडिको अगाडि
मन नबुझेसम्म शब्द हिँडाईरहन्छन्

जीवन भोग्छन् धूवाँ आउँछ
धूवाँले ल्याउँछ आँसु
धूवाँबाट आँसु; आँसुमा कविता
कवितामै रुन्छन्; कवितामै हाँस्छन्
कुरा गर्ने कोही छैन एक्ला छन्
आधारातमा पनि कैलेकाहीँ कवितासँग बात मार्छन्

आजका कवि क्षेत्री
कवि समुदायमा ठेट्ना हुन्
कविता गर्छन् ऐले सिकारु छन्
हेर्नुछ-भोलि के गर्छन्; कस्ता कविता रच्छन् !
(२०४३।११।१०)

————————————————————————————-

मनका कुराहरु

यस्तै छ जीन्दगी
कैले यता ध्वार्र च्यातिन्छ
कैले उता धुर्र उध्रिन्छ
कैल्यै ठिकमा राख्न नसकिने भो जीन्दगी

फर्केर हेर्दा बितेको बाटोलाई
जीन्दगी उस्तै पाउँदा रुने मन हुन्छ
कति लामो बाटो
सबैमा बेफाइदा नै बेफाइदा मिलेछ

आज छ यहाँ एउटा
परित्यक्त मन आफैँबाट
के गरुँ-कसो गरुँ
जीन्दगी छुट्कारा चाहन्छ संसारबाट

कुनै विरहको गीत चढे झैँ
जीन्दगीको आँसु गाएर सकिएन
आँसुले शिथिलता दिँदै गयो
हाँसोको जोश थपिदिने कोही भएन

जीन्दगीको सार्है ठूलो भाग
थाहै नपाईकन उबडखाबडमै पछि परेछ
जीन्दगीको कहालीलाग्दो ठूलो भाग
सुटुक्क रित्तो आङ देखाउन आएछ

आफ्नै जीन्दगी
आफैँलाई पराजीत गर्न तम्सेको छ
जीन्दगीले जित्छ कि मैले जित्छु
आज आफैँसंग युद्ध छेड्नु परेको छ
आफैँबाट असन्तुष्ट आजको मान्छे म
आफैँसंग विरोधको नारा लगाउँदै बाँच्नु परेको छ
(२०४३।११।११)

————————————————————————————-

कविता-यात्रामा
(तीन प्रसंग)

१. उदासीभन्दा माथि केही कोरिँदैन
छेऊ-न-टुप्पो
अप्रसंगका कुरा भन्दा बढी केही भेटिँदैन
रात छ दिन भेटिँदैन
तड्पनको ज्वाला छ
आँखामा दन्किएको देखिँदैन
२. ऊ आउँछे; जान्छे
हेरेर मात्रै जान्छे
केही भन्दिन ऊ
मन नखोल्ने ऊ अनौठो मान्छे
३. त्यो आयो; टुक्रुक्क बस्यो
कैल्यै नभेटेको मान्छे झैँ
टोलाएर एकनासले हेरिरह्यो
मेरो अनुहारमा खै के पायो
जुरुक्क उठेर सरासर आफ्नो बाटो लाग्यो
(२०४३।११।११)

————————————————————————————-

फेरि पनि माया

हेरूँ-हेरुँ लाग्छ
कहाँ गएर हेरुँ ? साथमा तस्वीर छैन
भेटूँ-भेटूँ लाग्छ
कहाँ गएर भेटूँ ? घर थाहा छैन

लाखौँ यात्री आउने-जाने
झलक्क भएथ्यो हेराहेर बाटोमा
नबोलेरै संगसंगै हिँडेका हामी
छुट्टिएथ्यौँ रोपेर माया दुइटै मुटुमा

पर-पर हुँदा
झ्याङ्गिएछ माया
अब त सार्है बिझाउन लाग्यो
भेट नहुँदा भित्रभित्रै छट्पटी चल्न लाग्यो
(२०४३।११।११)

————————————————————————————-

बूढो साथी

पाना-पानामा डुबेर
किताबी ज्ञानले पाकेको
एउटा बूढो साथी छ मेरो
किताबका पानाहरुबाट अनुभव टिपेर
शब्दहरुको बुट्टा जड्दै
आकाश-पाताल एक गरिदिने
अनेकमा एक अनौठो साथी
आफैँ अनुभव नगरी कविता लेख्न्ने

छैन दृष्टि हृदयको टाढा पुग्ने
रित्तो कल्पनाको उडान सिवाय
दन्त्य-कथाको भावभूमि
लचकदार सोफाको आश्चर्य
हो कि; हो कि
केही छ कि; छ कि जस्ता
धमिलो छाप बोकेका
उसका कविताहरु
रंग उडेका भित्ता जस्ता
केही छ कि भन्ने हुट्हुटीमा नै
तृष्णा बोकाएर विश्राम लिन्छन्
भव्य शब्दहरुको आकाश फिँजाएर
पंक्ति-पंक्तिमा अल्मलिएर टुङ्गिन्छन्
मस्तिष्कलाई खोक्रो शान बोकाएर रोकिन्छन्

बिना सहारा एक पाइलो नसार्ने
साथ खोज्ने; तर साथ नदिने
कृतज्ञ भन्ने कि कृतघ्न
अर्काको सहयोगको मूल्य नदेख्न्ने
ओ बूढो साथी !
यथार्थतालाई टिप
जातीय भेदभाव मनबाट फाल
अहम् त्यागेर सबैसंग सहानुभूति राख
हुनुपर्छ यहाँ बाँच्नलाई हृदयको मेल
(२०४३।८।८)

————————————————————————————-

जीन्दगीको गाईजात्रा र काठमाडौं शहर

जीन्दगी महँगो भो हजूर
महँगो भो !
सासै फेर्न पनि गार्हो भो !
नेप्टी, चेप्टी, थेप्ची
PENCIL HILL आँख्लीमैयाँको
PERFUME नाकमा ठोक्किएर
बाटैभरि भाउन्न भो
लौन हजूर ! गजब भो
जताततै POLLUTION देख्न्ने आँखा नै अपहरण भो
यो बाटो नै स्वप्नमा हिँडे जस्तो भो
यो के अचम्म भो !
आहा ! काठमाण्डौं शहर त महानगर भो
जताततै हल्लै-हल्ला भो
चारैतिरबाट हेर्न आउनेहरुको ओईरो भो
काठमाडौंमा मान्छे नै मान्छेको बाढी भो
सास फेर्नै पनि निषेध भो
काठमाडौं अब त हिटलरको ग्याँस च्याम्बर भो

लौन हजूर !
हुनु-नहुनु धेरै भो
जीन्दगी थोत्रो लुगा जस्तो
बीच बाटोमा नै लीलाम भो
EVERIST AIR दुर्घटनामा
प्रियतमको मृत्यु भएको
खबर पाएर मूर्च्छित भएकी
नवविवाहित दूलहीको भर्खरै पुछिएको सिउँदो भो हजूर
सिउँदो भो

हालखबर भन्नुहुन्छ भने-
यहाँ त पानी पनि बियरभन्दा महँगो भो
हात्ती नै खल्तीमा बोकेर SHOPPING गर्न जाँदा पनि
फर्किँदा झोला रित्तो-रित्तो नै भो
साहूजीको जादू भो हजूर
जादू भो
खल्तीको हात्ती पसलमा नै गायब भो

यो के हजूर !
MIDDLE CLASS का साथीहरु बीच
नमस्कारको साटो नि:शब्द उदासीको साटासाट भो
चीया खुवाउने चाहना पनि
महँगीले गर्दा PURSE भित्रै CURFEW भो
चीया नखाईकन होटलमा बस्न लाजै भो
साट्टसुट्ट साहूजीको हाँसो भो
मान्नु हुन्छ हजूर-
सर्वसाधारणले खाने चीया
साँच्चिनै औधी महँगो भो
आफू एक्लै खान पनि लाजै भो
‘चीया नखाने, गर्मी हुन्छ।’ भन्ने
सधैँभरिको वहाना भो
चुरोटको धूवाँमा नै सक्रियताको लामो-लामो बहस भो
महाकवि हुन नपाउँदै बिलाउने
आजको कविको भविश्य भो

किन यति विघ्न SERIOUS हजूर !
हेराइ पनि एकतमासको भो
केही प्रतिक्रिया नै नहुँदा
UNCON SCIOUS को संकेत भो
मलाई त बोल्नै पनि BORE भो
आज यहीँ यसरी आफ्नो त गाईजात्रा भो
वरपर मुस्कानको झल्याकझुलुक् भो
मुस्कानमा पनि ENCONOMISE किन हजूर
कि कतै LOAD SHEDDING को भार भो

ATTENTION PLEASE
कृपया नहाँस्नु होला
आज गाईजात्रा हो।
(२०५०।४।१९)

————————————————————————————-

बाँच्न सिक

पेट डम्म पारेर
शीरलाई उच्च राखेर
हातगोडालाई सक्रिय गरेर
आफ्नो स्वाभिमानलाई जीवित राखेर
बाँच्न सिक
बाँच्नु भन्दा ठूलो केही छैन

भोकले अनिकाल ल्याउन सक्छ
मृत्युको भयावह अनुहार देखाउन सक्छ
सातोपुत्लो उड्न सक्छ
जीवन छिनभरमै धूलोमा मिल्न सक्छ
त्यसैले, पहिले बाँच
बाँच्न सिक

जीवनको गार्हो-साँघुरोमा छिरेर
सफल हुने तरीका सिक
जसरी हुन्छ बाँच्न सिक
बाँचे प्रलय ल्याउन सक्छौ
सुख-शान्ति तान्न सक्छौ
आफू सबैको बन्न सक्छौ
मरिमरि बाँच्ने काँतर
बाँची बँचाउने नै हो ठूलो जाँगर
(२०४३।११।१०)

————————————————————————————-

म किन लेख्छु?

म जीवनको असमानतालाई मेट्न लेख्छु
अरुसंग मागेर नपाईने
आफैँबाट सहानुभूति पाउन लेख्छु

मनबाट अन्यौलको कुइरो हटाउन
आँखाबाट भ्रमको कालो पत्र पन्छाउन
पुरस्कारको मोह न स्यावासीको तृष्णा
म लेख्छु केवल मान्छेको भेदभाव कुल्चन

हो, म लेख्छु
देखेर ती उदास अनुहारहरुलाई
ती विरक्तिएका आँखाहरुलाई
सुनेर ती दिर्घ चित्कारहरुलाई

यौटा जग नौलो संसारको
प्रेममय संसार बनाउन
म लेख्छु
आफ्नो हृदय तिम्रोसंग मिलाउन
(२०४३।११।१०)

————————————————————————————-

…………….. मात्र तिमीलाई

रोकेको मैले कहाँ हो र
तिमीलाई लेख्न्न कलम
ईशारा तिम्रो बुझ्दै बुझिनँ
तड्पिरहेछु नभेटेर मलम

बाटोभरि पछ्याईरहेँ
मीठो मुस्कान आएन
तिमीलाई भनी बोलाईरहेँ
कुनै जवाफ आएन

स्वागत छ
दिललाई फुकाउँदै जाऊ
तर बन्द गर्ने नसोच
मन मेरो चुम्दछ
शुभकामना दिँदै जाऊ
तर श्रृंखला नभाँच
सम्झना ताजै छ
तिमी पनि साँच्दै जाऊ
तर विरही आँसुले दिललाई नघोच

सम्झी मलाई
एकान्तमा रुने नगर
म त तिम्रो नजीकै छु
इच्छा भए भेट्ने गर

हाँसो मेरो जम्मै तिम्रा ओँठहरुमा
नाचिरहोस् आँखा जोडीमा प्रीति
दिललाई छुने मान्छेकै कोमल दिल हुन्छ
मेरो दिल रहनेछ तिम्रै निम्ति
(२०४४।६।६)

————————————————————————————-

त्यो दिन र तिम्रो सम्झनामा

कैयौँ दिनहरु आए
र नयाँ बनेर पुराना भईसके
हिजो-अस्तिका हाँसो खुशी पनि
अब त बिरानो भएर अतीतमा कता-कता हराईसके

निरन्तर आउने र जाने दिनहरुसंग
एकै पल भुलुक्क उम्ली अल्पिने हाँसोसंग
अहिले केही भन्नु छैन मलाई
ती त सबै मैले बिर्सिसकेको छु
हूलमूलमा देखिएकी कुनै युवतीको अनुहार जस्तै बिर्सिसकेको छु

केवल धेरै अगाडिको एक दिन
मसंग अझै जीवित छ
म सास फेरिरहेछु
त्यसैले त्यो पनि मभित्र बाँचिरहेछ
त्यो दिन-
सुटुक्क आफ्नो हृदयलाई तिमीले
पोष्टकार्डको रिक्त भागमा राखेर
मलाई शुभकामना दिएकी थियौ
मंगल अनि विश्वासका शब्दहरुमा
मेरो बढ्दो उत्साहलाई तिमीले
माथि-माथि उठाएकी थियौ
त्यस बर्ष –
वर्षभरि नै मैले
आफूलाई नयाँ-नयाँ काममा लगाएको थिएँ
तिम्रो हौसलामा धेरै दिन
सफलतासँग अँगालो मारेको थिएँ

म त्यस बेलासम्म कवि थिईनँ
तिमीले नै मलाई कवि बनायौ
तिमीले नै मलाई कविता कोर्ने बनायौ

तिम्रो सल्लाह मान्दै अचेल
दु:ख, पीर, बाधासंग जुधेर
म जीवनको समाधान निकाल्न खोज्दैछु
समाधान भने अझै निक्लेको छैन
त्यो दिनदेखि सम्हालेर आफैँसंग राखेको
तिम्रो त्यो पोष्टकार्डमा
एउटा चित्र पनि छ-
काँडाहरुको बीचमा गुलाफ हाँसिरहेको
तिमीलाई थाहा नहोला
म पनि अचेल त्यही स्थितिमा छु
मान्छे सधैँ एक्लो हुन्छ
भन्ने सोच्दै एक्लै-एक्लै बाँचिरहेछु
त्यो दिन र तिम्रो सम्झना अझै हराएको छैन
कहिलेकाहीँ एकान्तमा त्यसैसंग बात मार्छु
आजको दिन पनि
त्यो दिन र तिम्रै सम्झनामा बिताउँदैछु
(२०४४।८।१७)

————————————————————————————-

सहानुभूति

(क) मेरो आँसुमा रुने
ए आँखा !
मलाई तिम्रो सहानुभूति
हिउँदको घाम जस्तै प्यारो लाग्छ

(ख) मेरो चोटमा छटपटाउने
ए हृदय !
मलाई तिम्रो सहानुभूति
छातीभित्र लुकाई राखूँ जस्तो लाग्छ

(ग) मेरो कोमलतामा बिझाउने
ए काँडा !
मलाई तिम्रो सहानुभूति
रुमाल बनाएर खल्तीमा राखूँ जस्तो लाग्छ

(घ) मेरो शब्दमा हाँस्ने
ए ओँठ !
मलाई तिम्रो सहानुभूति
तीर्खा बनाएर बोक्न मन लाग्छ

(ङ) मेरो कवितामा नाच्ने
ए अनुहार !
मलाई तिम्रो सहानुभूति
जीवनभर आँखामा राखूँ जस्तो लाग्छ
(च) मेरो कानमा गुञ्जिन आउने
ए आवाज !
मलाई तिम्रो सहानुभूति
निद्राको तकियाभरि भरेर राख्न्न मन लाग्छ
(छ) मेरो हाँसोमा रिसाउने
ए खुशी !
मलाई तिम्रो सहानुभूति
आँखाको आकाशभरि बुनेर राखूँ जस्तो लाग्छ
(२०४३।७।२९)

————————————————————————————-

अचम्मको माया

लर्तरो होइन मेरो माया
बिछोडसंगै ठुस्की जाने
दिलले दिएको दिलको माया
सम्झिँदा सम्झिरहूँ लाग्ने

-भनेर तिनीले दिएको
सौगात त्यो हृदयको माया
सम्झिँदै लाग्छ समाईहालूँ
टिपेर आँखाले लुकाऊँ मुटुमा माया

यो माया
अचम्मको माया !
अरुले पाएको भन्दा बेग्लै
लाग्यो मैले पाएको माया

जप-जप सधैँ माया जप
माया भन्दा ठूलो के छ यहाँ तप
आफ्नो मायाको भेद नखोल
सुटुक्क धर्तीभरि माया रोप

माया कोमल फूल हो
काँडा नभएको तर पनि बिझाउन सक्छ
मुटु मानवता-प्रेमको थाली हो
विश्व यसैमा सुवास चले रम्छ
(२०४३।११।१०)

————————————————————————————-

त्यो दिन फर्केर फेरि आएन

अश्रुपूरित यी आँखाहरु पुछिदिने जीवनमा एउटै पनि हात भएन
त्यो दिन फर्केर फेरि आएन

तिमीलाई भेट्दा अँध्यारो जीवनमा घाम लागेको थियो
जून पनि दिउँसै आँखामा उदाएको थियो
मैले हेर्नु पर्ने हरियाली नै अब बाँकी रहेन
त्यो दिन फर्केर फेरि आएन

नभेटेको भए तिमीलाई मेरो मनको खोज रहिरहन्थ्यो
तिमीलाई कहाँ भेटूँ भइरहन्थ्यो
थाहै नदिई तिमी आयौ; फर्कियौ लगत्तै दिएर सपनाको चैन
त्यो दिन फर्केर फेरि आएन

पहिलो भेट त्यो सधैँको चाहना बनी मनमा रहिरह्यो
हजार खुशीहरु अरुका मेरा आँखामा उदासी बनी छाईरह्यो
तिम्रो एकै पलको दर्शन जीवनभरलाई सहारा भएन
त्यो दिन फर्केर फेरि आएन
(२०४४।८।२४)

————————————————————————————-

मेरो सम्भावनाहरुले आत्महत्या गरे

आफ्नो घरबाट निस्केर
गल्लीको अँध्यारोबाट जोग्गिँदै-जोग्गिँदै
जुन घुम्तीबाट मानिसहरुको भीडमा उनी देखिन्छन्
अहिले म त्यही घुम्तीको पूर्वपट्टि
सडकको पेटीमा उभिएको छु
तीखो दृष्टि लगाएर अगाडि
उनीलाई पर्खिरहेछु
मलाई विश्वास छ
उनी पक्कै पनि आउँछिन्
र त्यही घुम्तीबाट सधैँ कार्यालय धाउँछिन्

आउँछिन् ! आउँछिन् ! भन्दा-भन्दै
उनी त ए ! साँच्चिनै आइनन्
बरु आयो
मेरा सम्भावनाहरुले भर्खरै
रानीपोखरीमा डुबेर आत्महत्या गरेको खबर
घण्टाघरको बूढो स्वरमा
किन कि घण्टाघरले यसबेला
उनी देखा पर्ने समयमा पनि आधा घण्टा थपेर
बिहानको १० बजाईसकेको छ !
(२०४४।८।१४)

————————————————————————————-

केही तिम्रा: केही मेरा

ऐना हेरेर
आफ्नो बैँसालु गालामा
हातका औँलाको हलुका स्पर्श दिएर
थप्थपाउने; सुम्सुम्याउने बानी
सुन्दरताको हो बल्दो जवानी

भुक्क परेको गालामा
लाली चढेछ
मन फुलेर कल्पनाभरि ढकमक्क
मायाको वायुयानमा उडेछ

ऐनामा देख्दा आफैँलाई
शर्माएर मुस्कायौ किन ?
मुटुभरि माया सल्बलाए
दुई हत्केलामा मुख लुकायौ किन ?

आफ्नै आँखामा हराउने मन हुन्छ
ऐना हेर्दा
हिजोको दिन खोज्ने उत्साह हुन्छ
फर्की-फर्की हेरेको बटो हिँड्दा

कति नजाऊँ भन्छु
त्यो बाटो अब कैल्यै
हिँडने गोडाभन्दा हिँडाउने मन बलियो
पाईला बढ्छ त्यतैतिर पैल्यै

एउटी सुन्दरी
एउटी स्वर्गकी परी !
के भनूँ तिमीलाई बढी
सम्पूर्णमा तिमी स्नेहकी छहारी !

बसिरहेकी छौ एकान्तमा
साथी बनाई ऐनालाई
सपना तिम्रो विपना जस्तै राम्रो
रमाईरहू सपनामै सन्तुष्टि छ भने तिमीलाई

भ्रममा छौ तिमी
लाएर म कैल्यै भन्दिनँ
लाएर प्रीत मसंग
वाचा गर म कैल्यै भन्दिनँ

आँखामा कोही आएर बस्यो
आँखाको सलाम लिएर हाँस्यो
ईन्द्रेणी सपनामा वासन्ती सुवास
दिलको माया नाचेर आफ्नै आँखामा हाँस्यो
(२०४३।११।९)

————————————————————————————-

कस्तो हुन्थ्यो होला !

(पहिलो भाग)
आँसु जमेर हिउँभन्दा चिसो भएको-
मनलाई
स्नेहको न्यानो तपाएर
बाँच्ने उत्साह घरिघरि जगाईदिने
मुमाको मुखमा व्याप्त
खिन्नता मेटाउन पाए
कस्तो हुन्थ्यो होला !
छोरा बन्नुको सार्थकता पाईन्थ्यो होला
(दोश्रो भाग)
काँधमा काँध मिलाएर
सधैँ साथ दिने
अप्ठ्यारो परेको बेलामा
दरिला हातले हैँसेको बल दिने;
पूर्णिमाको जूनको निर्मलतामा
हृदयलाई राखेर
न्यानो स्वागत गर्ने;
साथीको अगाडि सम्पूर्ण
आफ्नो निम्नस्तर खोलेर
सधैँ लागिरहने किरिकिरिको
जरा उखेल्न पाए
कस्तो हुन्थ्यो होला !
एकै दिनमा हजार वर्ष
बाँचेको खुशी पाइन्थ्यो होला
(तेश्रो भाग)
मनभरि मायाको तृप्ती भरिरहने
ती राम्रो हृदय भएकी
केटीको सम्झनाले
मेरो उराठ एकान्तलाई
रमाइलो पारिरहन्छ
जीवनको जटिलतालाई
सरलतामा साटिरहन्छ
त्यसैले सोच्दछु-
तिनको मायाको साटोमा
मुटु पगालेर घुरुधुरु रुन पाए
कस्तो हुन्थ्यो होला !
त्यतिनै खेर तिनले
आफूले ओडिराखेको सेतो घरेलु पछ्यौराले
मेरो आँसु पुछिदिए
कस्तो हुन्थ्यो होला !
रुवाई बन्द भएपछि
मेरो शीरलाई काखमा राखी
आफ्ना कोमल हातहरु
सुस्तरी कपालमा चलाउँदै
मायाले सुम्सुम्याइदिए
कस्तो हुन्थ्यो होला !
मान्छेभित्र मायाले अमरत्व पाउँथ्यो होला
विश्वासको वास्तविक अनुहार देखिन्थ्यो होला
जीवनको एक्लोपन नै मेटिन्थ्यो होला

र(चौथो भाग)
छोराको भविष्यका सुन्दर सपनाहरु
सोच्दा-सोच्दा
साकार पार्ने कुनै
उपाय केही नभेटेर
आजित भएका थुप्रै बाहरुको हूलमा
मेरा बा पनि स-गर्व उभिनु भएको छ
मेरा वृद्ध बा !
आज-भोलि किन-किन निकै गम्भिर हुनु भएको छ
थुप्रै मान्छेहरुको उपस्थितिमा पनि
भारी एकान्त अनुभव गर्न थाल्नु भएको छ
डेराको कुच्रूक्क परेको कोठाको झ्यालबाट
एकतमासले बाहिर हेरेर टोलाइरहनु हुन्छ
के हेरिरहनु भएको होला भनी
आफ्ना आँखालाई म
बाको दृष्टि अल्झेको
ठाउँमा लगेर उभ्याउँछु
त्यहाँ त गगनचुम्बी घरहरु देखिन्छन्
कहालिन्छु र
आफ्नै सीमित परिवेशमा फर्किन्छु
बुबा त मलाई आफ्नो गम्भिरताको रहस्य
झ्याल बाहिरै बताएर
झ्याल माथिको भित्तामा झुण्डिरहेको
मेरो बाल्यकालको बाटुलो गोरो अनुहार भएको
तस्वीर पो हेरिरहनु भएको रहेछ
लाग्छ-
मेरो बा त्यस बेलाको मलाई हेरेर
सोचेको सपनाको निरर्थकता माथि
खिस्सि उडाईरहनु भएको छ
र केही गर्न नसक्ने आफ्नो दुर्बलतालाई सम्झेर
हाँसिरहनु भएको छ
सबै सपनाहरु मेरा बाका
पूरा गरिदिन पाए
संसारका जम्मै खुशीहरु ल्याएर
बाका गोडामा राखिदिन पाए
त्यत्ति पनि नसके
सम्मानपूर्वक आफ्नो खुट्टामा उभिएर
बाँचिदिन पाए
कस्तो हुन्थ्यो होला !
६० वर्षीय बाको बैँस फर्केर आउँथ्यो होला
थाकेका हाडहरुमा नयाँ शक्ति पलाउँथ्यो होला
उहाँ गाउँदै नाच्न थाल्नु हुन्थ्यो होला
(२०४४।९।२१)

————————————————————————————-

विगतको नाममा वर्तमान एउटा सम्झौता-पत्र

तिमीले मलाई
मैले तिमीलाई
सधैँभरिको लागि
आफ्नो बनाउन सकेनौँ त
के भयो !
यत्तिकैमा प्रेमको
शाश्वतता सकिने रहेनछ
मानवीय स्थिर प्रवृत्ति भन्छु म त
यसलाई तिमी मेरो स्वार्थीपन भन्छौ भने पनि
नामर्द र धोकेबाज ठान्छौ भने पनि
तिमीले पनि प्रेमको नौलो रंगीन संसार भेट्ने छौ
किन कि सम्भावनाहरु भनेको जीवनमा कहिल्यै मर्दैनन्
कहिल्यै सकिँदैनन्
त्यही सम्भावनाको आश्रयमा तिमी पनि बाँचिरहेकी छौ
म पनि
तिमीसंगको सुखद् सामीप्य
जुन दु:खद् रुपमा टुंगियो
त्यसैको पीडाबोधमा छट्पटाउँदा-छट्पटाउँदै
अलिकति साहस समेटेर
हार्दिक उत्साहमा उठेर
प्रेमको नयाँ क्षितिज उघारेर
एउटा छुट्टै परिपक्व अनुभूतिमा बाँच्ने सिलसिलामा लागेको छु
किन कि तिमी बाहेक पनि
तिमी नहुँदा पनि
म अरु कसैलाई आफ्नो मान्न सक्छु
अरु कसैले मलाई आफ्नो बनाउन सक्छ
किन कि म प्रेम नगरी बाँच्नै सक्दिनँ
अरु कसैलाई आफ्नो नमानी बाँच्नै सक्दिनँ
म सधैँ प्रेम गर्न सक्छु
र संसार स्वयम् नै प्रेममय छ
मात्र यति बुझ्नु परेको छ अब हामी दुबैले-
मलाई सम्झेर तिमीले विलाप गर्नु
र तिमीलाई सम्झेर मैले बिलौना गर्नु
हामी दुबैको मूर्खता हुनेछ
र मूर्खतामा सम्भावनाहरु मर्छन्
र आत्मबललाई कमजोर पार्छन्
आत्मबल कमजोर हुनु भनेको
आफूभित्रको दिव्यज्योतिलाई
आफैँ कुइरो भएर छेक्नु
र आफैँलाई हराइरहनु
अनि संसारलाई वितृष्णामा भेट्नु हो ।
(२०५०।९।२८)

————————————————————————————-

तिमीले बिर्सेको साँच्चै हो त !

त्यताको यता
यताको त्यता
धेरै दिन भो
चिठ्ठी नआएको; नपठाएको

किन-हो-किन
तिमीले नलेख्दा
तिम्रो सञ्चो-विसञ्चो पनि
थाहा पाउन सकेको छैनँ
एक शब्द- “सम्झना” मा पनि
आत्मीयता पठाउन सकेको छैनँ
यसरी नै तिमीलाई सम्झँदैमा-
धेरै रात राम्ररी निदाउन पाएको छैनँ

हाम्रो विगतमा –
तिमी र म युगल गायक थियौं
समयलाई दोहोरी बनाएर गाउँथ्यौं
कहिलेकाहीँ टाढा हुनु पर्दा
आ-आफ्ना मनका कुराहरु लेखी पठाउँथ्यौं
मनका कुराहरु लेख्ने क्रममा
एक पटक-
तिमीले आफूलाई ‘पगली’ भनेकी थियौ
मैले भने धेरै पटक
आफूलाई चिन्तित मानेको थिएँ

आज भने
अचम्म लाग्छ
हामीले आपसको चिनारीलाई; मित्रतालाई
कसरी अपरिचयमा बदल्न सक्यौँ !
मलाई आक्कल-झुक्कल
एक्लै हुँदा कहाली लाग्छ

तिमीले बिर्सेको
साँच्चै हो त !
हो भने मलाई
किन सताईरहन्छ त अतीत ?

तिमीले कहिल्यै
अतीतलाई उग्राएर हेरेकी छौ ?
छैनौ भने अब थाल
शान्त मनले
दिने छ तब शान्ति
तिमीलाई अतीतले

आफ्नो विगतलाई उग्राउँदा
मलाई सम्झन पुगौली
तर दोहोर्याई दोहोर्याईकन
सम्झना भने नगरेको राम्रो
नत्र भने स्मृतिमा तिम्रो
अजङ्गको ख्याक म भइदिन सक्छु
पिटिक्कै भाँचिन सक्ने
तिम्रो कमलो हृदयमा
नङ्ग्रा भएका औँलाले
अनेकौँ चोटि चिथोर्न सक्छु
लाखौँ घाउ लगाउन सक्छु
त्यसैले, बिन्ति छ-
मलाई सम्झने गल्ती नगर्नू
जीवनको त्यो अध्यायलाई
सक्छौ भने आफैँबाट लुकाउनू
हूरीको पत्कर
मलाई मान्नू
जो उड्दा-उड्दै तिम्रो
गालामा छुन पुगेथ्यो
अब यो संसारमा
छँदै छैन भन्ने ठान्नू
(२०४४।१०।१६)

————————————————————————————-

भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु

सरक्क मेटेर
बोझिला दिनहरुको सम्झनालाई
बिस्तारै बटुलेर
असरल्ल परेको जाँगरलाई
हठात् निकालेर
अन्धकारमा चुर्लुम्म डुबेको जीवनलाई
स्फूर्ति-गंगामा पसेर
साहसका अमिट-छापमा झरिझुट्ट सजाएर पाखुरालाई
भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु ।

बेला लामो बित्यो
अलपत्र परेर प्रवासमा
फूर्तिलो यौवन ढल्यो
पराइको खुशामद गर्दैमा
कसले सुन्यो ?
दीर्घ सुस्केरा मेरो निश्वासमा
कसले देख्यो ?
उदासी गाढा यो युवा वयमा

भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदैछु ।

त्यसै पनि थकित हातगोडा
एक्लै-एक्लै आफैँमा चिन्तित मन
त्यतै कतै रद्दि-टोकरीमा छोडेर
विदेशको भूलभूलैयामा चटक्क बिर्सेर
आफ्नै माटोलाई सिँच्न आउँदै छु
भाउजू, म तपाईंको स्नेहको छहारीमा आउँदै छु ।

प्रत्येक भेटमा-
साँझको गलित फुर्सदमा
आ-आफ्नो दु:ख बिर्सन
हामीले उग्राएका
पुराना मीठा तर छोटो सम्झनाहरु
अब त दोहोर्याउन हुन्न
त्यसमा क्रमश: तह-तह मिलाएर
मिलेर सुखका दिनहरु राख्दै जानुपर्छ
किन कि रहस्यको कुइरो हटाएर
यी दिनहरुमा एक-अर्कालाई हामीले
ज्यादै नजीकबाट चिनिसकेका छौं
परस्परको आँसुको तातोलाई पनि
मुटुको स्पन्दनले बुझिसकेका छौं
त्यसैले-
बाँड्न हाँसोका गीतहरु
ल्याउन प्रगतिका प्रभातहरु
हटाउन काला रातहरु
लेख्न्न जीवनका जीतहरु
अनि,
थप्दै आपसी मेलमिलापका कडीहरु
हाम्रो समस्त जीवनलाई नयाँ गति दिन
म हौसला लिएर आउँदै छु
संसारलाई चकित पार्न
म संघर्ष लिएर आउँदैछु
हाम्रो सफलताको शंखघोष गर्न
अटूट गतिशीलताका निम्ति उठेका
दृढ पाइला बढाउँदै
म सचेत भएर आउँदै छु
भाउजू, म तपाईंको स्नेहको छहारीमा आउँदै छु ।
(२०४५।२।५)

————————————————————————————-

साथी २०५० प्रति

तिमी जब आयौ
ममा पुन: वहार आयो
तिमीलाई साधुवाद छ
हार्दिक नमस्कार छ
शब्दै-शब्दको पुरस्कार छ
सधैँभरि न्यानो अँगालो छ
(२०५०।९।२८)

————————————————————————————-

यो दिल कसैको यादमा रोयो

कल्पनाले मलाई छोयो
यो दिल कसैको यादमा रोयो

एकलास बाटोमा बढिरहेछु
भएर एक्लै डराईरहेछु
शून्यता व्याप्त छ भयंकर
साथी, एक अकेला म रईरहेछु

छातीभित्र जलिरहेछ मुटु
सास उड्ने दिन पर्खिरहेछु
कैलेकाहीँ झझल्को बनी तिमी सुम्सुम्याईदिन्छ्यौ
आयौ कि तिमी भनी जलनमा हाँस्छु

दिलले चाहेछु क्यारे तिमीलाई मैले
खोजिरहेछु लक्ष्यविहिन भएर ऐले
तिमी आए दिलमा घर बनाउँला
नआए उजाड भई प्रेमको गीत गाईरहूँला
(२०४३।६।२४)

————————————————————————————-

म फेरि जन्मेर आउँला

मुखमा हाँसो बोकेर उज्यालो
म गाउँदै आउँला कविता खुशीको
उत्साहको कुचोले भई आशावादी
म बढारुँला कसिङ्गर बाटोको

असफलताहरु जति आउँछन् छेक्न भनी
उर्लँदो मेरो प्रगति-बाढी
म सफलता उति धेरै थपूँला
निराशाको भाव दिलमा बस्न नदिई

अन्धकार विनाशी भई सूर्य लाखौं
म ज्योति सबमा छरुँला
पर्खेर बस्नू यही फूलबारीमा
म फेरि जन्मेर आउँला
(२०४३।२।२५)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता सङ्ग्रह and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *