कविता-संग्रह : निरंकुश जुँगाविरुद्ध

निरंकुश जुँगाविरुद्धNirankusa jungaviruddha
(कविता संग्रह)

विक्रम सुब्बा
२०६६
[काठमाडौं] : मुंधुम पब्लिकेसन

———————————————————————-
समर्पण !
———————————————————————-
कसले भन्छ
कविताले त्यो गर्दैन?
गर्छ…
ह्वाइटहाउसदेखि तियानमेन स्क्वायरसम्म
क्रेमलिनदेखि कान्दहारसम्म
दिल्लीदेखि सिंहदरवारसम्म
पश्चिमबंगालदेखि बल्खुसम्म
हरेक दरबारका
बदमास विरुद्ध
कविताले राजनीति गर्छ…

———————————————————————-
मन्तव्य !
———————————————————————-

कविता लेख्न थालेँ जसै
यथास्थितीहरूविरुद्ध आजिवन
आफुलाई प्रतिपक्षमा ढालेँ तसै

———————————————————————-
पीलो
युगौँदेखि उत्तानो आँ…खोलेर बसेको
कान्तिपुर
कहिल्यै नअघाउँने खञ्चुवा मुख
जसको अनुहारबाट सर्वत्र पीपैपीप खस्या’छ
किनभने पीलोझैँ पाकेर निधारमै
ढ्याक्क सिंहदरबार बस्या’छ ।
 (2007)

———————————————————————-
घडी

सोहोरेर मिस्त्रीले सारा समय
घडीमा कोचिदियो
ताहाँ उप्रान्त
पार्टपूर्जाले तोक्न थाले समय
अर्थात, सुतेकाले जाग्ने समय
जागेकाले जुलुस लगाउँने समय
र जातजातका तानाशाहलाई
घोडाबाट खसाल्ने समय
 2006

———————————————————————-
परेवा र चील

जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
खुला आकासमा‍‍‍‍‍…दिउँसै…
चीलले परेवाको सिकार गर्छ
र त्यो चील ?
…अमेरिकाको राष्ट्रिय पक्षी हो ।
 2004

———————————————————————-
छाता

सेँठसँग लिएको कालो रंगको होस्
या अमेरिकाबाट आएको छिर्बिरे
यूएनमार्फत आएको नीलो रंगको होस्
या रक्सौल हुँदै पसेको पेटारे
ओढेको दिनदेखि शिरमाथि चढ्छन् छाताहरू
र सकृय हुन्छन् उभिण्डो टाँगेर आफ्ना टाउहरू ।

ईतिहासको यो घडीमा
होसियार ! छाता ओढ्ने मानिस !!
उभिण्डो टाउके छाताले
तिमीलाई सुभिण्डो सुरक्षा देलान्?
 2006

———————————————————————-
सिमानाको नेपाली

उसकै पार्टीको सिद्धान्तजस्तो
खिया लागेको ईण्डियन ताल्चा खोल्यो
उसकै गुटको दिमागजस्तो
कलकत्तातिर निर्मित
मक्किएको पुरानो ट्यांका उघार्‍यो
उसकै अव्यवस्थित चिन्तनजस्ता
घरेलु सामानहरू उल्टायो, पल्टायो
छाम्यो, हेर्‍यो, खोज्यो
तर कतै भेटेन ।

सिरानी हालेको रामायणको चेपचापमा
नागरिकता र झै-झगडाको कागजातका पोकोमा
घरीघरी ऐनाझैँ हेर्ने गरेको गीता-ग्रन्थको खोलभित्र
दातृसँस्थाले गोष्ठीमा दिएको ब्यागभित्र
छोरी बिहे गर्न सर्त राखेपछि
ससुरालीबाट पाएको दराजको लकरभित्र
भ्रमणभत्ताले किनेको ज्याकेटको भित्री गोजीभित्र
कहीँ पनि नभेटेपछि
सुस्ताजस्तै लामो सास फेरेर ऊ सुस्तायो
र भन्यो – “कहिले हराउँछ…कहिले भेटिन्छ
यसपल्ट फेरि कुन छिमेकीले कता घुसार्यो?!”
बाजे-बराजुको पालादेखि आफ्नो भन्दै आएको
उसको वंशजको नाता लाग्ने जमीनको सिमाना
यसपल्ट फेरि हरायो
जहाँ उसका घर, गोठहरू उभिएकाछन्
त्यो जमीनका अंग प्रत्यंग अचेल
कसको विस्तारित चारकिल्लाभित्र परेका छन्?
 2004

———————————————————————-
तिहार र देश

बन्दुक धेरै भुकेकाले कागहरू
अचेल गाउँ-घरतिर आउँदैनन्
यसपाली त तस्बिरै राखेर
काग-पूजा गर्न छोरीलाई भन्नु पर्ला

धेरै भइसक्यो वस्तुभाउहरू गोठमा
असुरक्षाको नुन-पानी खाएर दुब्लाएका छन्
कोरली-बाच्छीहरू बम-गोलाले सोत्तर भएका छन्
गाईको सट्टा यसपालि
कूश राखेरै लक्ष्मी पूजा गर्न
श्रीमतीलाई भन्नु पर्ला

चाढ आइसक्यो केही ग-या छैन
ज्यान जोगाउँदै केही भ्याएको छैन…
हेडमास्टरको कुर्सीछेउमा
अपहरणको छाँयाले हात लम्काउँछ
बेरोजगार मृत्यु काम खोज्दै
मर्निङवाकमा सबेरै भेटिन्छ
चुलाहरूमा त्रासको आगोले
सेल-रोटीहरु पाक्न नसकेर धुवाँउँदैछन्
देशवासी हो ! होसियार !!
मुलुकको लम्पसार मानचित्रको शिरमा अचेल
नयाँ नयाँ शिर्षकहरू दाउ खोज्दैछन्
तिहार त गए पनि अर्को वर्ष फेरि आउला
तर एकचोटि कतै गएपछि फर्केर आउँदैन देश ।
 2004

———————————————————————-
तस्बिर

उमङ्गका थरिथरि रङ्गहरु
सुखदु:खको पसिनामा घोलेर
मायाको मुलायम कूचिले
मेरो दिमागमा उतार्‍यो तिम्रो तस्बिर

ढुकढुकीको मिसिलमा नत्थी भइसकेपछि
दसी प्रमाण भएर बस्दो रै’छ तस्बिर
रगतका अणु-अणुमा दाखिल भएपछि
ज्यान गए नमेँटिँदो रहेछ माया…
कुनैदिन चाहियो भने मसँग माँग्नु…
ओ मातृभूमि !
यो हुल्दङ्गाको शहरविच
तिम्रो तस्बिरको गुरुकापी
मेरै शरीरको फ्रेममा सुरक्षित छ…
 2006

———————————————————————-
ओक्खर

छामेर हेरेँ
तिम्रो मुटु
ओक्खर आकारको छ ।

म्वाई खाएपछि था’भो
ओखरको गुदीभन्दा’नि
स्वादिष्ट रै’छ तिम्रो माँया ।

हाड नभा’कोभए ओक्खरको
स्वाद कहाँ सुरक्षित बस्थ्यो होला?
छातीभित्र मुटु नचलेकोभए
जीवन-सङ्गीत कहाँ धड्कन्थ्यो होला?
नारी र पुरुष नभा’काभए
मायाँको गीत कसले सुरु गर्थ्यो
र कसले अन्त्य गर्थ्यो होला?
हाम्रा यी लालावाला नभा’काभए
कुन घरले मात्र हामीलाई थुन्थ्यो होला?
घरै नभए, देश नै किन चाहिन्थ्यो?
ऊफ !
यहाँ, घर हुनेको देश छैन
देश हुनेको घर छैन
तसर्थ म एत्तिबेला
ईतिहासमा नयाँ चार किल्ला गाडेर
एकैचोटी देश र घर खोज्दै आन्दोलित भएर
रगतले नयाँ मुलुकका सिमाना लेखिरहेछु ।

मैले फेरि पनि छामेर हेरेँ
तिम्रो मुटु ओक्खर आकारको छ
म्वाई खाएपछि था’भो
ओक्खरको गुदीभन्दा पनि
स्वादिलो छ आफ्नो मुलुकको माँया ।
 2006

———————————————————————-
वर्णन

सुन्दर छ जवानी चढेको तिम्रो जिउ
तिम्रो काखीका ढिस्कोमा उम्रेका सग्ला पाखुरा
सलक्क पाखुरामा फलेका हत्केला
र सलसलाउँदा औँला फलेका हत्केलाहरू
जसले बोकेका थिए – इन्क्लाबी झण्डाहरू !
हातहरुलाई लाठ्ठीले गोदेर भाँचिदिए
यत्तिबेला तिम्रा हातहरूमा
डम्म बाँधिएकाछन् प्लाष्टर–ब्यान्डेज
प्लाष्टरले बेरबार गरेपछि पनि तिम्रा हातहरु
नेपालको ईतिहासमा
राजाका शासनजति भद्दा देखिएकाछैनन् ।

हात्तीका सुँडझैँ मिलेर सर्लक्क झरेका तिम्रा खुट्टा
त्यहाँ जडित् इमान्दार तिघ्रा, घुँडा, पिँडुला र पाइताला
जो सम्पूर्ण शक्तीसहित आन्दोलनमा हिँडिरहेका थिए
खुट्टाका आँख्ला-आँख्लामा गोली हानेर भाँचे
तर अझै पनि तिम्रा खुट्टाहरु
यो मुलुकको गोठालो बिहिन सम्बिधानका
दफाहरुझैँ छियाछिया भएका छैनन् ।

दुनियाको सबैभन्दा सुन्दर चित्र भन्नु
ढकमक्क यौवन फक्रेको अनुहार हो
हेरिरहुँ… लगातार हेरिरहुँजस्ता
आँखा, नाक र गाला जडित तिम्रो वैसालु अनुहार
मसालझैँ धपक्क बलेर
नयाँ युगको नारा वातावरणमा फालिरहेथ्यो
सृष्टिको त्यो कञ्चन फूललाई
मुक्का र लात हानेर रक्त–रञ्जीत तुल्याए
नील-डाम र घाउहरू देखिन्छन् मुखैभरि
तर अझै पनि तिम्रो अनुहार,
पार्टीका बाँदरहरुले लुछेर थाङथिलो पारेको
यो मुलुकको लोकतन्त्रझैँ कुरुप देखिएको छैन ।
 2005

———————————————————————-
फोटोमा

शंकाको पखेटामा उडिरहेछन् चराहरू
अनगिन्ती प्वालझैँ देखिने
तैनाथ ताराका आँखाहरू टाँगेर
छपनीजस्तो घोप्टो आकाश
रातभर धर्तीको जासुसी गरिरहेछ
किसिम-किसिमका पराई जहाजहरु
समुद्रपारीका चस्मा र मगज ओसारिरहेछन्
जंगलले छोपिएको शीवपुरी डाँडो
आँखा चिम्लेको बहाना गर्दै
व्यारेक-बंकर मार्फत एसएलआरका प्वालबाट
मानिसका हरेक चाल नियालिरहेछ
चुच्चे फुलचोकी पर्वत
कुनै पार्टीको धुर्त सदश्यझैँ दाउ हेरिरहेछ
चन्द्रागिरीको मुस्लण्ड चुचुरो पनि
दक्षिणतिर चुपचाप बसेको
बनियाँ छिमेकीझैँ सब चाल चियाईरहेछ
पत्तो छैन कुनबेला काठमाण्डूले
मुलुकलाई कुन भीरमा खसाउँने हो
तथापी फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरंकुश काठमाण्डू !

भिमसेनको पालादेखि धरहरा
आकाश घोचेर दिनभरि घाम खाँदै
रातभरि शीत पिउँदै गुजारा चलाइरहेछ
नाङ्गो शरिरभरि स्वर्ण-भष्म घसेको स्वयम्भु
कहिल्यै नभरिने भिक्षापात्रको दुइचार मुठी शान्तिले
युग-युगदेखि दुनिया पाल्न बाध्य छ
धसिंगरे गँजडी ‘पशुपतिनाथ’लाई
मन्दिरभित्र नाङ्गै थुनेर
पित्तलको साँढे पनि नाङ्गै सेन्ट्री बसेकोछ
थोत्रो र भद्दा मुजुरा-घरभित्र
संसदमा स्वाँठहरू नाचगानमा मस्त छन्
कसैलाई पत्तो छैन कुनबेला काठमाण्डूले
मुलुकलाई कसको थाङनामा सुताउँने हो
तथापी फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरंकुश काठमाण्डू !

गाउँबाट सहर पसेका मानिसलाई काठमाण्डू
विशाल बजारमा नाफाखोरको तालिम दिन्छ
पार्टीका काखीबाट छिरेका सुकुलगुण्डालाई
हातमा मुलुकको तालाचाबी दिन्छ सिंहदरबार
सिल्लीहरूलाई विश्वविद्यालयको
दिमाग भुट्ने घाँडो प्रोफेसर बनाउँछ
कानुन मुताबिक डकैती गर्नेहरूलाई
विशिष्ट श्रेणीको आदर-पत्र दिन्छ
कतै काम नलागेर
कामाण्डुमा डम्प गरिएका बेकामे विदेशीलाई
घरज्वाइँको माला पहिर्‍याउँछ चारखाल अड्डा
पत्तो छैन कहिलेदेखि काठमाण्डूले
मुलुकको ह्याकुलाका चोक्टाहरू
कुन तन्दुर वा सेकुवा पसलमा बेच्ने हो
तथापी फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरंकुश काठमाण्डु !
 2007

———————————————————————-
नाटक

राजा र कलाकार
दुवै नाटक गर्छन्

आफ्नै बाबुको विरुद्ध
हजार गोप्य षडयन्त्र गरे पनि
राजनीतिको डबलीमा
भद्रताको नाटक खेल्छ राजा

रंगमञ्चमा एक कलाकार
कहिले ईतिहासको रंगमंचमा किर्तीपुरेहरूको
सत्र धार्नी ‘नाक-कान’ काट्ने सेनापति हुन्छ
नक्कली बडा महाराज भएर कहिले
सिरिपेच हल्लाउँदै फरमान छाँट्छ
कहिले सन्काहा क्यालीगुला भएर
रोमन सिनेटरका पत्नीहरूलाई
रक्सिका दहमा
नङ्गै पौडी खेलाएर रोमाञ्चित हुन्छ ।

इतिहासको रंगमंचमा
जब सन्काहा नायक आउँछ
निर्दोस मानिसको बेहाल-गाथा हुन्छ
असंख्य विधवा र टुहुराको भाग्य रुन्छ
अति भएपछि
लन्जाइनसको रणनीति मुताबिक
जब प्रतेक जनताका हातमा तरवार उठ्छन्
तब निरंकुश टाउको
भद्दा शरिरबाट च्वाट्टै चुँडिन्छ
गर्धनबाट छिनिसकेपछि राजाकै टाउको पनि
केटाकेटीको भोगटे-भकुण्डोजस्तो देखिन्छ
र, बिस्तारै एरिष्टोटलको ‘दुखान्त’ पर्दा खस्छ
 2006

———————————————————————-
वैशाख १, २०६२

बन्दुक पाल्नेका खतरनाक नियत जस्तै
मुलुकमा भर्खरै
चैत मसान्तको अन्तिम प्रहर ढल्यो
भद्दा बुटले चुरा-पोतेको अचार पिस्ने वर्ष ढल्यो
टुहुराका खौरिएका कपालहरूबाट चिप्लेर ढल्यो
एक उजण्ड वर्ष मानिसका रगत-मासुले अजिर्ण ढल्यो
मानिसको गिदी र आँसु मुछेर काट्टो खाँदै ढल्यो
तर ठीक यसै बखत,
एउटा नयाँ वैशाख सहस्र अग्नी पिण्डको
प्रकाण्ड अनुहार लिएर जुलुसमा सामेल भएको देख्दा
दरबारका गमलामा हाँस्दा-हाँस्दै फूलहरू पनि झसङ्ग भए
नयाँ वैशाखसँगै सडकको छातीमा के के चल्ने हो अब
नयाँ वर्ष नढल्दै क-कसको शासन ढल्ने हो अब ।

यसपालीको निरंकुश चैत मर्नै लाग्दा
टोल-टोल र गाउँ-गाउँबाट मानिसका खहरेहरू
जुलुसको सागरमा मिस्सिए
घम्साघम्सी हानाहान र ठोकाठोकको हुलदङ्गामा
बुट-लट्ठी र गोदाई खाँदै
सडकमा बेवस्त्र चैत महिना म-यो
यता घरघरमा रोगी आमाहरूले
ओछ्यानमै थप एक वर्षको चाउरी गालामा टाँगे
ठीक यसै बखत, घामको प्रतिनिधी भएर
तेजस्वी वैशाख आन्दोलनमा सामेल भएको छ
जुलुसमा हिँडदाहिँडदै अनगिन्ति युवा-युवतीहरूको
उमेरमा अग्राठ पसेर सशक्त रुपमा उत्रेकोछ
नयाँ वैशाखसँगै सडकको छातीमा के के चल्ने हो अब
नयाँ वर्ष नढल्दै क-कसको शासन ढल्ने हो अब ।
 वैशाख १, २०६२

———————————————————————-
जो’वर्गका जेब्राहरू

जो’वर्गको उत्तरतिर फैलिएको निकुञ्ज
केत्तुकीहरू फुलेका जङ्गला-पर्वत-श्रृङ्खलाभित्र
भब्य रिजोर्ट वरिपरि वन्यजन्तु चरिरहेछन्
सेता-काला, काला-सेता धर्सा पोतिएका
टाटेपाङ्ग्रे मनमोहक जेब्राहरू देखिरहेछु
दक्षिण अफ्रिकामा काला र सेता रङ्गहरू
जेब्राका जीउमा आकर्षण भएर उत्रन लागेछन्
तर सोमराजको मत फरक छ –
जेब्राका महत्वपूर्ण अङ्गहरू सेतो रङ्गले ढाकेकोछ
जस्तो कि खानीबाट सुन निकाल्न
लाइसेन्स पाउँने बृटिशहरू बढी छन्
जस्तो कि ठूला-ठूला ब्यापार व्यवसायहरूमा
कालाहरू अझै मजदुर र कारिन्दा मात्र छन् ।

म देखिरहेछु,
जोर सिङ्गे मैला गैँडाहरू थुतुनो गाडेर –
सुन निकाल्न खनिरहेझैँ मैदानमा घाँस टोकिरहेछन्
मण्डेला जेलबाट छुटे पनि काला हिप्पो पोटामस्हरू
फोहोरी आहालबाट निस्कन थालेकै छैनन्
काला-लाम्चा-थुतुना र ध्वाँसे जीउ भएका बबुनहरू
एक-अर्काको निँधार हेरेर
एक आपसलाई खिसी गर्दै हाँस्न व्यस्त छन्
यी प्रकृतिका रैथाने सन्तानहरू
वेलायतबाट आएर हुटेल खोल्ने फिरङ्गीका
भान्साघरको झ्यालबाट खानेकुरा माँगिरहेछन्
आफ्नै किपटमा विदेशीसँग बाँच्ने अधिकार माँगिरहेछन्
जस्तो कि नेपालबाट
राणा, पञ्चायत र राजतन्त्र ढले पनि
यहाँ हाकीमहरू
कोही श्री ३ को जस्तो जुँगा हल्लाउँछन्
अञ्चलाधिश जस्तै थर्काउँछन् कोही
कोही राजाको सचिवलेजस्तै हेप्छन् जनतालाई
अझै पनि हरेक सरकारी अड्डाका
तिनै हाकीमहरूसँग नेपली जनताले
अधिकार माँगेर दैनिक गुजारा गर्नु परिरहेछ
यसरी, म आफ्नो मुलुकको सम्झना गर्दै
जो’वर्गको उत्तरतिर फैलिएको निकुञ्जभित्र
बाक्लो-जङ्गला-रिजोर्टको भव्य बरण्डाबाट
चरिरहेका जेब्राहरूलाई हेरिरहेछु
दक्षिण अफ्रिकामा काला र सेता रङ्गहरू
जेब्राका जीउमा उत्रेकाछन्
तर सोमराजको मतानुसार –
जेब्राका महत्वपूर्ण अङ्गहरूमा अझै
सेतो रङ्गले बढी कब्जा जमाएको छ ।
 मार्च २००६, जोहानेसवर्ग/दक्षिण अफ्रिका

———————————————————————-
आजाद

उसको र देशको प्रेम-कहानी गहिरिंदै थियो
उसको अँगालोबाट देशलाई खोसे
फक्रने तरखरको फूल भिमानमा ढल्यो
सुनाखरीले मनग्गे सौन्दर्य र्छर्नै पाएन
उसले देशलाई अघाउँजी माया गर्नै पाएन ।

सित्तले पाटीदेखि ढुङ्ग्रे भन्ज्याङसम्म
जुलुसका पताकाझैं फर्फराउँदै
वर, पीपल, काभ्रा र असौका पातहरु भन्छन्
सुनकोशीको बगरमा फर्सिझैं फलेका ढुङ्गाहरु भन्छन्
उसको वधस्थलकिनाराका साक्षी
जामुन, थाक्कल र सखुवाका हाँगाहरु भन्छन्-
हामीले उसलाई हाम्रा सपनाहरु सुम्पेका थियौं
तर उसले यो मुलुकको अनुहारमा
हाम्रा सपनाहरुको बुट्टा भर्नै पाएन
उसले देशलाई अघाउँजी माया गर्नै पाएन ।

यहाँका अड्डाहरु
फटाहाका घोडा बाँध्ने अस्तवल भएकाछन्
लठुवा बम-गोलीहरु जनता ठटाउँने हल्दार भएकाछन्
र त उसलाई गोली ठोके
मुलुकको नौलो अनुहारको मस्यौदा कोर्ने
रङ्गहरुको ठूलो भाँडामा
ताजा र आजाद-रगत पनि थपियो
मुलुक र उसको अधुरो प्रेम-कहानी
उसकै रक्त-कणले फूलहरूमा लेखियो
तथापी, सुनाखरीले मनग्गे सौन्दर्य र्छर्नै पाएन
उसले देशलाई अघाउँजी माया गर्नै पाएन ।
 1985, मेरा दौँतेरी ऋषि देवकोटाको वधस्तलतिर पुग्दा ।

———————————————————————-
कथा

सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा –
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो’रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो’रे
र दंग परेर, राख्यो’रे शिर्षक – ‘देवता !’

कालान्तरमा त्यो नावालक ‘देवता’
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ

ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो’रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो’रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो’रे
चारजात छत्तिसै वर्णका लाखौँ मानिस काटिए
रगतको खोलामा
अनेक स्वतन्त्र राज्यका अनुहारहरू हराए
युद्धहरू जिते पछि त्यो राजा बन्यो’रे – महाराजा !

यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मनुष्यको छनकदिने एक क्रुर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो’रे शिर्षक – ‘दैँत्य !’

कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो –
परन्तुमा ‘देवता’ र ‘दैँत्य’का चित्रहरूसँगै टाँगिए’रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे’रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेन
‘शिर्षक-अपराध’मा चित्रकारलाई जेल कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो’रे
तर, ती दुई चित्रले सुनाएका कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।

त्यसपछि –
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले –
फेरि उनका छोरा-छोरीलाई सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि
अब मेरो पालो आएकोछ –
‘दैँत्य’हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तमीलाई म यो कविता सुनाउँदैछु ।
 २००५, एक पुरानो कथा/मिथमा आधारित (2005)

———————————————————————-
गणतन्त्रको खेती

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु
दिदीले छोडेर गएको मुलुकमा
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु
आन्दोलनको हलोमा जुलुसका नाराहरु नारेर
गल्ली–गल्ली, सडक र चोक जोत्दै जाँदैछन्
फालि अडकाउँने दरबारका जगहरू जोत्दै जाँदैछन्
सातसमुद्र पारी र छिमेकका फिरङ्गी-मोडलका
ग्र्याण्डडिजाइन र रोडम्यापहरू जोत्दै जाँदैछन्
जोतेको सियो र खनेको चपरीमा
आफ्नै रगतका वीउ हाल्दै जाँदैछन्
यो महान खन्–जोतबाट कोही आतङ्कित छन्
र एम्बेसीहरूका गोप्य प्राविधिक सहयोगमा
बचाउका काला बङ्कर तैयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरू
बङ्करहरू पनि जोत्दै–जोत्दै जाँदैछन्

भन्दिनु है ! पारिजात दिदीलाई भन्दिनु…
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती

———————————————————————-
व्याकरण

जताततै जातजातका जुलुस जागेर
तीरझैँ तेजिला प्रश्न तेर्स्याईरहेछन् –
हतियारकै धन्दा चलाउँनको लागि
युद्धको बजार खोल्ने व्यापारीको गतिविधी
र अमेरिकन मन्त्रीको विदेश यात्रामा के फरक छ ?
दुनियाँ लुट्ने मल्टिनेशनल कंपनीको तमसुक
र अमेरिकाको खुँखार मुनिमजस्तो लाग्ने
विश्वबैँकको व्याजदरमा के फरक छ ?
संसारभरि सुलसुलेझैँ काम गर्ने यूएनका अनुहार
र पेण्टागनका रिपोर्टहरूमा के फरक छ ?
जालोझैँ फैलिएका दातृसँस्थाका आँखा
र ह्वाइटहाउसको खुँखार नजरमा के फरक छ ?
यी प्रश्नवाचक वाक्यहरूमा
वक्य गठन र ह्रश्व-दीर्घ मिलेको छ कि छैन
हेर्नुस् त सम्पादक शर्माजी !

सामन्तहरूले जुवा खेल्ने क्लव
र कांग्रेसको बैठकमा के फरक छ ?
कांग्रेसको पुच्छरको झुप्पा
र बल्खु दरवारको जुँगामा के फरक छ ?
स्वाँठ राजकुमारहरूले जाँड खाने भट्टी
र राप्रपाको च्याँखे दाउमा के फरक छ ?
लठैत र हुल्लडबाजहरूको डाङडुङे ग्याङ
र मिलिसियाहरूको कार्यशैलीमा के फरक छ ?
सबैभन्दा फटाहा मानिसको हरकत
र जासूसहरूको गोप्य बैठकहरूमा के फरक छ ?
कुनै षडयन्त्रकारी अड्डाका अकिञ्चन योजना
र सिंहदरबारको गिदीजिब्रोमा के फरक छ ?
यी जिज्ञासाहरूमा
कला र शैली मिलेको छ कि छैन ?
हेरिदिनोस् त समालोचक त्रिपाठीजी !

जनजाति, महिला र दलितको टाउको देखाएर
क्षेत्री-बाहुनको ह्याकुला बेच्ने मासु पसल
र व्यवस्थापिकाको पटांगिनीमा के फरक छ ?
कानुनी डाकाका हातको हँसिया-हथौडा
र पाखण्डी सरकारी विभागहरुमा के फरक छ ?
खुँखार चोरहरूलाई सुरक्षा दिने किल्ला
र अदालतका पर्खालहरूमा के फरक छ ?
घुस र कमिशनका हड्डी चपाउँने बंगारा
र सरकारी कर्मचारीहरूमा के फरक छ ?
भेडाका गर्धनमा गाडिएका ब्वाँसाका दाह्रा-नंग्रा
र देशवासिले तिरेको कर खाएर
मोटाएका विधायकहरूमा के फरक छ ?
कर्णाली र लिम्बुवानको गर्धनमा हान्न
निरंकुस काठमाण्डुले उचालेको खुँडाको धार
र यो संविधानका नियतहरूमा के फरक छ ?
यी सोधनीहरुमा
व्याकरण मिलेको छ कि छैन ?
हेरिदिनोस् त भाषाविद पोखरेलजी !
 March 2007

———————————————————————-
किताब

लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
कुनै पनि नश्लका
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट हाम्रो कानसम्म विष फुक्ने छैन
गाउँ-घर-टोलको सुरक्षाको निम्ती
कुनै विदेशी राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगा थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानको ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्‍याउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे-थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान-अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र ताम्सालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छैन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?
 फागुन २०६४ February 08

———————————————————————-
जीवन !

गरिखानको लागी
नभईनहुने जमीन हो जीवन !

जति कोट्याउँन सक्यो
उती गहिरो जीवन !

झन कोट्यायो
झन गहिरो
झन झन कोट्यायो
झन झन गहिरो जीवन !
मार्ने बेलामा
मृत्युले पनि सलाम ठोक्ने जीवन !!

———————————————————————-
माया

तिमी,
कलेजोमा
यसरी जाक्कियौ
अझ भित्रहालूँ – दुख्छ !
बाहिर निकालूँ – दुख्छ !!
 2006

———————————————————————-
एक दिन

थकित बूढो घाम
गोधुली-क्षितिजतिर जब पस्छ
जिन्दगीको हाँगाबाट
मेरो उमेरको एउटा पात
अँध्यारो नदीमा खस्छ…
 2006

———————————————————————-
फुल

दुइचार माना माटो
एकदुइ मुठी मल
र मायाको घाम-पानी दिए
तिमीलाई फुलले
गमला साइजको स्वर्ग दिन्छ ।
 २००७ कार्तिक

———————————————————————-
दु:ख र म

दु:ख !
जब सबैबाट अपहेलित हुन्छ
दु:खलाई जब
संसारै विरक्तिलो नर्कझैँ लाग्छ
आत्महत्याको बाटोले उसलाई
अजिंगरलेझैँ सामुन्ने आएर लखेट्छ
तब सहारा खोज्दै आउँछ
र बस्छ मसँग एकै रात ।

दु:खी दु:खलाई म
मेरै दु:खका चुलोबाट मीठो-मसिनो खुवाउँछु
मेरै दु:खको गुन्द्रीमा
दु:खकै मेरा कम्बल ओढाएर
आँसुको घाम-पानीले
मेरै सिरानीमा
फलेर पाकेको निद्रा पिलाउँछु ।

निदाएपछि देखिने सपना त हो !
जब सपनाको बगैँचामा दु:खी दु:खले
आफ्नै लालाबाला फक्रेको देख्न थाल्छ
जब आमाका आँखाले
आँशुकै पंखमा पनि खुशीका परेला चाल्छ
तब दु:खी दु:ख पनि दङ्ग पर्छ
देखेर यो कविको रक्त-सागरमा अनायास
उमंगको छाल उर्लन्छ
दु:खी दु:ख र यो कविको छातीमा
एकैसाथ उठेका महान भक्कानोहरूभन्दा
अर्को सुन्दर कविता म कदापी लेख्न सक्दिन ।
 2006

———————————————————————-
गोरेटो

हिम्मतका सकृय पाइलाहरूले टेकेपछि
गोरेटो टुसाएर धर्तीमा लहराझैँ फैलिएछ
ईतिहासको कुनै साइतमा
छेउबाट सियोझैँ पस्यो गोरेटो
र त फले फुले फैलिए
जङ्गलको छातीमा जुन-ताराका छाँयाझैँ
जातजातका घर-बस्तीहरू फैलिए
र त सभ्यताको भन्ज्याङ-चौतारीमा
रंग-विरंगको इन्द्रेणी लर्किए

गोरेटो, कहिले उकालोलाई
लेकतिरै छोडेर घुम्दै खोला झ-यो
र पूलका बलिया हातले वारिपारीका गाउँहरू गाँस्यो
जस्तो कि शरीरमा दौडिरहने रगतले
धडकनलाई जिन्दगीको एक सृङखलामा जोडेर टाँस्यो
जस्तो कि प्रितीको तारले जोडेर
मायालुका मुटुजस्ता आँखहरूलाई गुलुपझैँ बाल्यो
जस्तो कि यमुना पारिबाट ताजमहलभित्र
मुमताजको चिहानसम्म पुग्ने मायाको साँघुझैँ
आफैँलाई टाँगेर शाहजाँले जिन्दगी गाल्यो
त्यही गोरेटो
मर्छु भन्नेलाई रुँदै मसानघाट पु–याउँछ
चढ्छु भन्नेलाई हाँस्दै सगरमाथा चढाउँछ ।
 2006

———————————————————————-
श्राप

गौँडा-गौँडामा सौन्दर्यहरु ड्युटीमा तैनाथ छन्
क्याप्सुलजस्ता जवानीका ओठ उघारेर
बाबरी फुलजस्ता गुरुङसेनी ङोलोस्योहरू
अन्नपूर्णको दाँत जडेर सप्फा हाँस्दछन्
बाटुलेचौरका सारङ्गीहरूलाई
भोकै परे पनि हिमालको यौवनसँग
दोहोरी गाएर सन्तुष्ट भएपछि मात्र निद्रा लाग्छ
कविहरू, माछापुच्छ्रेको फेदमा फलेको
स्नीग्ध वातावरणको पन्नामा
मुटुको टुप्पाले कविता लेखिरहेछन्
पाहुनालाई जेठाबुढाको भात र फापरको ढिँढोसँग
गोलभेडामा टिम्बुरको छोपजस्तै मुस्कान पस्कन्छ
माइली थकाल्नीको भान्छा घर

तालतालका बडेबडे प्यालामै पसेर
दिउँसै रमरम मातेर वतास
पर्यटकका गर्लफ्रेण्ड सुँघ्दै हिँड्छ
तपश्यामा मग्न पहाडहरूको ध्यान भंग गर्न
वादलले विजुलीसँगै ताण्डव नृत्य थालेपछि
हेर्दाहैर्दै पर्वत सृङखलाहरूमा उभिएका
जून ताराका आँखाबाट
झर्के थालमा सित्तल पञ्चामृत वर्षन्छ
यहाँ, जताततै रोमाण्टिक जोडीहरू
हेराहेर गर्छन्
के के सम्झन्छन् र फिस्स हाँस्छन्
अझ सुन्दर हुने होडबाजिमा
उपत्यकाका हरेक छन्द र अनुप्रासहरु
शालीग्राम जस्तै चिटिक्क चिल्लो भएर पेस हुन्छन्
ओ सौन्दर्यले भरिपूर्ण रसप्लाविता !
ओ पोखरा !!
तिमी देखेर मेरो पीताम्बर वैँस पनि हुरुक्कै भएकोले
म श्राप दिन्छु कि – ‘तिम्रो जवानी कहिल्यै नढलोस् !’
 2004)

———————————————————————-
बसन्त

खैँचेर ताँदो हिमालले
शिशिरका सिरेटा फटाफट प्रहार गर्‍यो
वृन्दावनका पहेँला पातहरु पटापट ढले..
बोट विरुवाहरु बेवस्त्र नाङ्गा भए
घात प्रतिघातपछि हारेका रुखका हाँगा-हाँगा…
र उमेर पुगेका यौवना विरुवाहरुलाई देखेर
पर्यावरणलाई पनि लाज लागेछ क्यारे…
मौसमको अदृश्य हातले
फागुनी पहिरन पहिर्‍याएर
फूलका सिऊरहरू शिरमाथि उमारिदियो…

रानीवनका हाँगाहाँगामा उभिएर बसन्तले
बैंशालु हात गाउँतिर हल्लाईरहेछ
तर म हैरान छु
जंगलको दशगजा नाँघेर
नजिकैको गाउँ-घर र जिन्दगीतिर फैलिनबाट
कुन वनदेउताले छेक्छ बसन्तलाई ?
 2004

———————————————————————-
शिर

अति प्रज्वलनशील
विचारहरूको प्याकेटजस्तो लागे पनि
काटिएका शिरहरू बिनागिँड दैडिरहेछन्
बुझिनसक्नुको मगज
चुपचाप कतै षडयन्त्रमा व्यस्त छ
जोर-टोडका भित्रबाट दु:खिया संसार हेर्दै
बसेकाछन् निसन्तान भाले-पोथी आँखाहरू ।

वताससँगै मिस्सिएर विरक्तलाग्दा सम्चार
फुर्लुङे-कानमा ठोक्किँदै भित्र पस्छन्
र मुटु फुटेर आमाको आँखाबाटै पहिरो झर्छन्
बहु-स्वाद फड्फडाउँने पुर्ख्यौली जिव्रो
दर्दनाक कथा वाचन गरेर थाकिसक्यो
अचेल ऊ, लाटो मृत्युको मुहानजस्तो अनुष्ठानबाट
ताजा रगतको पञ्चामृत चाट्न स्रापित छ
हाँसि नअघाउँने दन्त, ओँठ र स्वाशप्रस्वाशहरु
शिरकै भू-आकृतिमा
रैथाने आदिवासी र वातावरण हुन्
जसलाई रातभरि सकेट बमको त्रासमा कुहाएर
दिनभरि सुरक्षा-फौजको
असुरक्षित घाममा सुकाइन्छन्

शिर, सिंगो शरिरको नेता हो
जो सृष्टीमा सबैभन्दा पहिले टुसायो
र सबै मारिसकेपछि मात्र हार्नेछ यो शिर !
हाल यो शिर
हरेक युद्धभूमिदेखि विद्रोहका च्यासल चोकसम्म
देशको शिर उचो बनाउँने विशिष्ट संघर्षमा सामेल छ
जिउँदो-जाग्दो शिर मात्र सदा उचो रहन्छ
आफ्नै देशको शिरभन्दा उचो शिर
संसारमा कुनै शिर हुँदैन ।
 2004

———————————————————————-
हातहरू

जसै कुमबाट प्रथमपल्ट हातहरू पलाए
मनुष्यहरू दङ्ग परे
त्यस उप्रान्त यही हतियारले
सभ्यतालाई यो चुचुरासम्म पु-याए ।

हातहरूलेले थरि-थरिका हतियार चलाएपछि
हरप्पा, महेन्जोदाडो र सिन्धुघाटीको सभ्यता टुसाए
हो, यिनै हातले औजारहरू अर्जापेपछि
ताजमहल उभियो, मोनालिसा मुस्कुरायो
हातका औँलाहरू बिथोवन र मोजार्टका छातीमा नाचेपछि
सिम्फोनी-सागरहरू उर्लिए
मुलुकका गुन्द्रुक सुकाउँदाझैँ
बाङ्गाटिङ्गा सिमाना र इतिहासका घुम्तीतिर
हातहरूले तीर-भाला र खुँडा-खुकुरीका धारले
हावामा केही काटे
अन्तमा प्रहारगरे बैरीका गर्धनहरूमा छपाछप्
र त मुलुक आफ्नै चारकिल्लाभित्र कायम छ
र त हामी आफ्नै मुलुकका नागरिक कायम छौँ

हातहरू, जसले प्रेमपत्र लेखे…सिउँदोमा सिँदुर हाले
हातहरू, जसले कोक्रो हल्लाउँदै लोरी गाए…
आशिर्वादको टिका लगाइदिए
हातहरू, जसले सपनाको छेउछाउ फूल उमारे…बस्ति बसाए…
हातहरू, जसले पहाड-मधेशमा जात-जातका मानिस
र तिनका इन्द्रेणी-सपनाहरू जोडेर एउटा सिङ्गो देश बनाए
हो तिनै हातहरू अचेल
केटाकेटीका सपनाको सुरक्षामा व्यस्त छन् ।
 2004

———————————————————————-
मेरुदण्ड

अनेक अंगहरू जोडजाड गरेर बनेको कंकालमा
उभिएको र हिँडडुल गरिरहेछ एक ज्यान
ज्यान भन्नु आधारभूत अंगमा
मसिना प्रत्यंगहरू टाँगिने थाङ्ग्रा हो मेरुदण्ड !

जमानादेखि मेरुदण्डकै थाङ्ग्रो समाएर
सबै अङ्गहरू दशतिर लम्किरहेछन्
नत्र हातहरुले कहाँ टेक्ने र करङहरू कहाँ खडा हुने ?
छाती कहाँ फल्ने र खुट्टाहरू कहाँ उभिने?
र सबैभन्दा स्वाभिमानी शिर एक्लै कहाँ खडा हुने ?

हरेक अङ्गहरू हैसियत मुताविक
ठाउँ-ठाउँमा तैनाथ भएपछिको रुप त हो शरीर
मेरुदण्ड नभए सब गर्ल्यामगुर्लुम्म डङरङगै चक्नाचुर…!
अनि, मेरुदण्ड नभए कुनै सुन्दरीको जोवन
छाती खोलेर हाँक दिँदै उभिन सक्दैन क्यारे…
र दुनियालाई लोभ्याउँदै हिँड्डुल गर्नै सक्दैन क्यारे…
हिँड्डुल गर्न नसक्नेले कसरी हाकपारा नाच्ने?
सोरठी, घाटु र चुड्काको फन्को कसरी घुम्ने?
नाच्नै नसकेपछि कुन मारुनीले पत्याउला?
मारुनीले पुर्सुन्नेलाई नपत्याएपछि त सृष्टी रोकिन्छ
अझ दिल्लिको मेरुदण्ड हालेर सिंहदरवार कसरी उभिइला?
• 2004

———————————————————————-
खुट्टाहरू

आमाकै गर्भको सुपरमार्केटमा किनेको
साबिकका एकजोर पुराना खुट्टा बाहेक
अण्डरग्राउण्ड स्टकमा खुट्टा
दुनियाको कुनै धनी मानिससँग पनि छैन
खुट्टाहरू हिँडिरहनु…
नमरिसकेको जिउँदो प्रमाण हो
जिउँदो छौ !
र त हिँडिरहनु…लगातार हिँडिरहनु तिम्रो नृत्य हो !
हिँडिरहे मात्र, ताकेको ठाउँमा पुगिन्छ
जस्तो कि –
तेन्जिङका पाइलाले लागातार हिँडेर सगरमाथा टेकिएछ
बुद्धको एक-चित्तले मात्र भावनामय प्रञ्या देखिएछ
गान्धीको लठ्ठीले हरदम यात्रा गरेर मात्र स्वधीनता लेखिएछ
जुनकिरीजस्ता घामका वीउ छर्दै
माओजेदुङले लङमार्च गरेर नै पूर्वमा रातो सूर्य उदाएछ
असंख्य जेलयात्राले मण्डेलालाई महान उचाईमा उठाएछ ।

तसर्थ, खुट्टाहरूले
हिँड्न कदापि रोक्न नहुने रहेछ…हिँडिरहनु पर्ने रहेछ
काममा पुग्नलाई होस् या जुलुसमा सामेल हुन
मलामी जानलाई होस् या युद्ध क्षेत्रमा पुग्न
आफ्नै जिन्दगीलाई फेर्न होस् या समाजलाई बदल्न
हिँड्नु एक पूर्वशर्त रहेछ
तसर्थ हिँड्न किमार्थ नरोक्नु…
हिँडिरहनु… हिँडिरहनु… सिरिफ हिँडिरहनु…
नत्र आजसम्म हामी पुग्न नसकेको
स्वर्गभन्दा पनि सुन्दर शान्तिको कैलास पर्वतमा
देउताभन्दा महान हाम्रा केटाकेटीहरू नपुग्लान्
 2004

———————————————————————-
सम्पर्क

धेरै भयो शहरमा…
चप्पल जुत्ता पहिरेर मात्र हिँडेको
र पाइतालाको धर्तीसँग सोझो सम्पर्क टुटेको
गाडी चढेर मात्र यात्रा गरेको
र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको
पाइपबाट आएको पानी खाएको
र धाराको सङलो पानीसँग
प्यासीको सोझो सम्पर्क टुटेको
धेरै भयो शहरमा…

धेरै भयो शहरमा…
प्लाष्टिकको फुलले बैठक कोठा सजाएको
र जिउँदो फुलका धडकनसँग सोझो सम्पर्क टुटेको
नाकमा मास्क ओढेर हिँड्न थालेको
र वतासको जवानीसित प्राणको सोझो सम्पर्क टुटेको
विदेशी गीत घरघरमा घुसेर बज्न थालेको
र मारुनीसँग पुर्सुन्नेको सोझो सम्पर्क छुटेको
गितारको झ्याङझ्याङ झुङझुङमा हल्लिएको
र मादलसँग सोरठी भाकाको सोझो सम्पर्क टुटेको
काठको निर्जिव पुरानो कुर्सिमा ड्युटी बासेको
र जमिनको उर्जासँग मुलाधार चक्रको सोझो सम्पर्क टुटेको
धेरै भयो शहरमा…

धेरै भयो शहरमा…
सेमिनार-सभा र कक्टेलका हिपोक्रेट सभाहरूमा भाग लिएको
र जन्ती-मलामीका लस्करसँग सोझो सम्पर्क छुटेको
फोन र मोबाइलबाट दुनिया संजाल बढाएको
र हितैसी छातीको न्यानो अँगालोसँग सोझो सम्पर्क टुटेको
कम्पयुटर हस्ते डिजिटल विश्वासका ई-मेलहरू पठाएको
र हत्केलाहरूसँग प्रेमपत्रको सोझो सम्पर्क टुटेको
बाबुले छोरालाई र छोराले आमालाई कचहरीमा नंग्याएको
र हृदयहरू जोड्ने रक्तनसाका हार्दिक जुइनाहरू टुटेको
धेरै भयो शहरमा…

धेरै भयो शहरमा…
सिरिफ यायावरझैँ बाँचेको
जुलुसमा सँगै हिँड्ने सहकर्मीसँग पनि
मनका नाराहरू भिन्नाभिन्नै छन्
चिया पसलमा भेटिने छिमेकीको पनि
भित्री मनका तरंगहरू आ-आफ्नै छन्
भट्टीका ग्लास-फ्रेण्डहरूसँग पनि
दोस्तीका कलेजाहरू हात मिलाउँदैनन्
पार्टीमा भेट हुने दाजु-भाइका पनि
हेराहेर गर्ने आँखा पाकेर रातापिरा भएका छन्
मास्टर-बेडको कठघरामा
लोग्ने स्वास्नीको नियमित भेट त हुन्छ
तर ढुकढुकीको इजलासमा प्रितीको वहस चल्दैन
ऊफ ! यी आपसमा मन पटक्कै नमिले पनि
सँगै टाँस्सिएर बसेका घरैघरहरूको बेढंगे शहरमा
न मैत्रीका किटाणु नाशक किरण उदाउँदाछन्
न करुणाका कोपिलाहरू मुस्कुराउँदाछन्
न मुदिताको सुगन्ध वातावरणमा मिसाउँदाछन्
तथापी, धेरै भयो यो खण्डहर-शाहरमा….
यमराजको निरंकुश जुँगा विरुद्ध पनि
विक्रम सुब्बाले कविता लेखिरहेको
धेरै भयो यो शहरमा… धेरै भयो…
 फागुन २०६५ (March 08)

———————————————————————-
पाठक

म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आँखा
जहाँबाट हरदम वर्षने करूणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातिमा आमाले रोपेको
मुलुक माया गर्ने ढुकढुकीको विरुवा हुर्कन सक्दैन
शायद, ऊ नै दरिद्र नागरिक हो ।

मैले पढेको दोस्रो पाठ
लटरम्मै स्नेहील चुम्बन फल्ने
आमाका एक जोर ओँठहरू
जहाँ फलेका फल खाएपछि
करोड दु:खहरू त्यसै निस्तेज हुन्थे
लाग्छ, आमाको चुम्बन
सबैभन्दा पोषिलो आहारा हो
जसलाई अघाउँने गरी आमाले चुमेको हुन्न
शायद, ऊ नै सबेभन्दा कुपोषित बालक हो ।

मैले पढेको तेस्रो पाठ
दूधले भरिएका आमाका स्तनहरू
जसले मभित्र सिंचित गरे –
कञ्चन हिमाली जल र मधेसको तातो जाउलो
पहाडी जडीबुटीका सुगन्ध र कन्दमूलको स्वाद
आमाको दुधले लिखित नोटेशनबाट
अनि, मेची र कर्णालीका लयदार लोरीका धूनहरू
र त मेरा हरेक अंगअंग पुलकित देखिन्छन्
लाग्छ, जसको नसामा आफ्नो देशको हाव-पानी दौडँदैन
शायद, ऊ नै सबैभन्दा रोगी मानिस हो ।

चौथो पाठमा मैले
कञ्चनजङघा, सगरमाथा र माछापुछ्रेझैँ फैलिएका
आमाका हातहरू छातीमै टाँसेर पढेँ
जुन हातहरूले मलाई अँगालो हाल्दा
आफुलाई सबैभन्दा सुरक्षित पाउँथेँ
जुन हातका औँलाहरू समातेर हिँड्दा
मुलुकको महान यात्रामा हिँडेजस्तो लाग्थ्यो
आमाका भरोसायुक्त हातहरू मार्फत
मभित्र प्रवेशित उर्जाकै धूप जलाएर
मैले सबैभन्दा महान पूजा गर्न सिकेँ
लाग्छ, सबैभन्दा ठूलो देवीका रुपमा
आफ्नो मुलुकको मानचित्रलाई
छातीभित्रको मन्दिरमा जसले सजाउँन सक्दैन
शायद, ऊ नै सबैभन्दा पाखण्डी सन्तान हो ।

मुटुमा छल्किँदो रक्तिम ममता
अनि स्नेहको अन्तिम थोपा पनि यहीँ छोडेर
आज चुँडियो आमाको पवित्र रेशमी स्वास
र यत्ति बेला नेपालको लाम्चे-आकृतिजस्तै
लम्पसार आमाको पार्थिव शरीरलाई
महान सूत्रझैँ पढिरहेछु
बिजुली चम्केझैँ क्षणभरमा
टुहुरा हुँदाको विरक्तिलो ज्ञान हासिल भयो
भद्र-भलाद्मी र मलामीहरू उपस्थित
यो दीक्षान्त समारोहजस्तो मातृ-मृत्यु उत्सवमा
दुनियामा बाँच्न योग्य भएको प्रमाण-पत्र
सेतो टोपी, खौरेको शिरमा थापिरहेछु
लाग्छ मानिस टुहुरो नहुञ्जेल
समाज र देशलाई माया गर्न असमर्थ हुन्छ
शायद, रुँदै आमाको लासमा
दागबत्ति दिने क्षणबाट नगुज्रेको मानिस
हरफ-हरफमा आमा र मुलुक मिस्सिएको
एक महान गीत गाउँन पनि असमर्थ हुन्छ ।
 जेष्ठ २०६५

———————————————————————-
शान्ति-दरिद्रता !

धेरै दिनपछि चिया पसलमा
मनमिल्ने साथीहरूसँग आज भेटेँ
छुट्टिँदा उनीहरूबाट पाएको शान्ति
घरसम्म पुग्ने गाडी-भाडा तिर्दै सिद्दियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

पुस्तकालयका तृपिटक पढेँ
पन्ना-पन्नामा च्यापिएर बसेको
शान्तिलाई दिमागमा उतारेर आउँदै थिएँ
जुलुसमा लाठी चार्ज भयो गिरफ्तार भएँ
हिरासतभित्र कैद दिमागमा
शान्तिको पर्दा नै च्यातियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

गुम्बामा पसेँ
बुद्धका सुनको तेस्रो नेत्रबाट झरेको
शान्ति-भष्महरू थापेर पाकिटमा हालेँ
बाटैमा मेरो पाकिट मारियो
गुम्बासम्म जाने-आउँने बाटो-घाटो
पाकिटमार-ईटहरूले बनेको देखेर दिक्क लाग्यो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

शहीदगेटमा एक भद्र मानिस भेटेँ
उनका राष्ट्रवादी अनुभूतिहरूले दंग परेर
मुलुकको मानचित्रमा
देशप्रेमको कुचिले शान्ति पोतिरहेको थिएँ
छिमेकीले सिमानै मिचेर घर बनाएपछि
मेरो देशप्रेमी कलेजो फलामको झिरमा उनियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

मसानघाटमा
एक विदुशी चिन्तकलाई भेटेँ
‘लोभ-लालच नगर्नु !
यी सबै अनित्य हुन्’ भन्ने
उनको चिन्तन-प्रवचनले दिक्षित म
मेरो लिम्बुवानमा ताल्चै नलाई ओछ्यान पसेँ
विहान हेर्दा मुलुक अर्काको चार किल्लामा रीकोपसेछ
घरको धुरीहुँदै झुल्केको अशान्तिले
मेरो आँगन ढकमक्क ढाक्यो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

मरूभूमिको बालुवा पर्वतमा
दुइ-चार स्वर्ग घुमिसकेको कविलाई भेटेँ
उनका सुन्दर कविताहरू सुनेर मैले
दुनियाँलाई बगैँचा
र मानिसलाई रंगिन फूल देख्न थालेँ
तर एकदिन आफ्नै दाजु-भाइबाट
अंशबंडामा ठगिँदाको पीडाले म रन्थनिएँ
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

चिहानघारीको पार्कमा
बरिष्ठ गायकका राष्ट्रिय गीतहरू सुनेपछि
मेरो हरेक तन्तुतिर दगुरिरहेको रगतसँगै
देशभक्तीको लय बग्न थालेजस्तो लाग्यो
तर रगत जाँचमा क्यान्सरका सेलहरू देखिएपछि
शरिरका नशाभरि मलामीहरू हिँडिरहेजस्तो लाग्यो
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

विश्वबैंकको बैठक कक्षमा
एक प्रख्यात उद्योगपतिलाई भेटेँ
उनका औद्योगिक रणनीतिहरू सुनेर
मुलुकमा वेरोजगारी चाँडै हटला भनि ठानेँ
लगत्तै तिनले बैँकहरुलाई ठगेको प्रतिवेदन पढेँ
अर्थतन्त्रका हरिया पातजस्ता मेरा हातहरु
किरा-फटेङ्ग्राले खाएर झिक्रै पारेको देखेँ
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

पशुपतिको प्रांगणमा
एकजना पुजारीलाई भेटेँ
उनले गाएका इश्वर-लिप्त भजनहरु सुनेँ
भगवानप्रतिको उनको आस्था देखेर
देवताका इमान्दार मुनिम भेटेजस्तो लाग्यो
तर मूर्तिचोरका नायकको योजना मुताबिक
चोर्दा-चोर्दै मुर्तिसहित पक्राउ परेर
ठिंग उभिएको काँचको पर्दामा उसलाई देखेँ
मेरो मनको पुरातत्वनै भत्कियो
र फेरि म शान्तिविहिन दरिद्र भएँ ।

मन्त्रालयमै आफ्नो जरा उमारेका
एक गजलकार-नोकरशाहलाई भेटेँ
उसले शुसाशनका अंग-प्रत्यंगहरू
चिरफार गरेर रेसा-रेसा देखाइदियो
अब जनताले
सुलभ किसिमले सेवा पाउलान् भनि
ढुक्क भएर म आफ्नै सुतिखेतीमा लागेँ
तर ऊ भ्रष्ट भएको सप्रमाण रहस्य खुल्यो
शुसाशनको कुरा चोर-चंडालकै काफिया भएको देखेर
फेरि म शान्तिविहिन दरिद्र भएँ ।

हिमाल हाँसेकै छ, वतास आफ्नो यात्रामा घुमेकै छ
फुलहरू फुलेकै छन्, चराचुरुंगी र पुतली नाचेकै छन्
क्षण-क्षणमा लुटिएकोछ सिरिफ यौवन शान्तिको
जस्तो कि पार्टी कार्यालयहरूमा
दिउँसै नंग्याएर लुटिँदै छ जवानी लोकतन्त्रको
 October 2006
———————————————————————-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता सङ्ग्रह and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *