व्यङ्ग्य निबन्ध : गए छुचा भिनाजु

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

बटारिएका बूढा- पुरस्कार नलिने । सार्वजनिक समारोहमा जाँदै नजाने । सम्मान अभिनन्दन गर्न नपाइने । मरेपछि पनि हल्लाखल्ल गरेर मेरो लासको प्रदर्शन गरौला नि ! भनेर गएछन् । छुच्चा बूढा ! न कुनै पार्टीले झण्डा ओडाउन पायो, न प्रज्ञा-प्रतिष्ठानमा प्रदर्शनी गरेर परिक्रमा गर्न पाइयो । न सरकारले सलामी दिन पायो, न कुनै मन्त्री मलामी जान पायो । अन्तिम प्रस्थानका लागि पशुपति आर्यघाट नआएर कहाँ जालान् र भनेर फूल चढाउन पर्खिनेलाई समेत जिल्याएर बूढा बल्खु किनारा हुँदै पो लागेछन्, अनन्त यात्रातिर ।धेरैलाई जिल्याएर गए हास्यव्यङ्ग्य पितामह वासुदेव लुइँटेल । त्यस्तो चिन्तित र व्यग्र मान्छे कमै हुँदाहुन् । सम्पत्तिको चिन्ता होइन, छोराछोरीको पनि होइन, न खान-लाउनको, न औषधीमूलोको, न मृत्युकै चिन्ता । एउटै चिन्ता नेपाली हास्यव्यङ्ग्य साहित्यको । हास्यव्यङ्ग्य पछि पर्ला भन्ने चिन्ता । नयाँ-नयाँ हास्यव्यङ्ग्यकारको जन्म नहोला भन्ने चिन्ता । जन्मिएकाले बीचैमा लेखन बिसाउलान् भन्ने चिन्ता । चिन्तै-चिन्ताको चेपुवामा परेर हो कि भूतका भिनाजु भइकन पनि उनको ज्यान भने स्याप्पै सुकेको ?सुकेको ज्यानभित्र फैलिएको मनको के कुरा गर्नु ! जसले लाखौं पर्ने -आज भए करोडौंको भइसक्थ्यो) घर बेचेर हास्यव्यङ्ग्य साहित्य प्रोत्साहनका लागि पुरस्कार राख्यो ।

लेखकलाई प्रोत्साहन गर्न किताब किनिदिएर सिरानमा राख्तै आगन्तुकलाई बाँड्दै गर्‍यो । घरमा आउने प्रत्येक लेखकलाई आशिर्वाद र प्रोत्साहनको न्यानो हत्केला शिरमा राखिदियो । उस्तै पर्दा औषधी किन्न राखेको पैसा पनि कसैको पुस्तक किनिदिन वा कुनै संस्था खोल्न नगदै सहयोग गर्‍यो । उदेकका नैकापे काका सार्वजनिक समारोहमा जाँदैनथे । आफैँले थपना गरेको लाखभन्दा माथिको पुरस्कार वितरण गर्ने समारोहमा पनि उनको फोटोमात्रै जान्थ्यो । कतिपय पत्रकारले उनको माला लगाएको फोटो देखेर उनको नामका अगाडि स्व पनि लेखे । उनी आफैंले आफ्नो परिचय आदि लेख्ता अन्तमा सधैं मृत्युको मिति लेख्ने ठाउँ राख्ने गर्थे । उनले जति बल गरे पनि कालले नब्बे नटेकी लान सकेन ।हास्यव्यङ्ग्यको क,ख सिक्न थाल्दादेखि सुनेको हुँ, भूतका भिनाजुलाई । यो नाम सुन्दा मलाई सधैँ कौतूहल जाग्थ्यो । भेट्न मनलागेको धेरै भएको थियो । अनुमान गर्थें, भूतको भिनाजु पक्कै बढेमाको ज्यान भएको, कालो वर्णको, कानमा लामा-लामा भुत्ला भएको, भित्र गाडिएका ठूला-ठूला खोपिल्टे आँखा भएको, बाक्लो आँखीभौँ, ठूलो ढ्याब्रे अनुहार भएको हुनुपर्छ । भूतको पनि भिजानु पो हो त !पचपन्न सालमा एक साथी लिएर गएँ, भूतका भिनाजु हेर्न । बूढा कडा मिजासका सुनेकोले साथी बन्दोबस्त गरेको थिएँ । ढुङ्गा अड्डाको साधारण पुरानो घरको एकखापे ढोका उघारेर एकतला माथि चढ्यौँ । भर्‍याङ उक्लिनासाथ सोझै अगाडिको कोठामा पस्यौं । भुइँमा चकटी ओछ्याएर पलेँटी कस्यौं । कोठामा दुईजना मान्छे थिए । एकजना सुकुटे वृद्ध र एकजना मोटे अधबैँसे । मैले अनुमान गरेको भूतको भिनाजु त्यहाँ थिएन । त्यो तनेवासे, त्यो भूतको भिनाजु, त्यो नैकापे काका, म, बाउँठे बाजे, वरबोटे बाहुन, काका कुइँकेल, बुद्धिबहादुर घर्ती, लम्फु, ताहाचलको स्याल, एकतारे सीताराम, बतासे, रामकृष्ण खत्री, टेकनाथ आदि सहस्र नामधारी वासुदेव लुइँटेल उर्फ भूतको भिनाजुचाहिँ कता गएछन् ? म छिनछिनमा ढोकातिर हेर्दै थिएँ । म सम्भिmँदै थिएँ, बूढा आउनासाथ उठेर नमस्कार गर्छु र बूढालाई प्रभावित गरिहाल्नेछु ।म धाराप्रवाह गफ गरिरहेका बूढा मान्छेको कुरा सुन्दै थिएँ । हाम्रा माझ चियाको सुन्दर शिष्टता तेर्सियो । चियाले अलमल्याएका बेला साथीले दाउ छोपेर मेरो परिचय गरायो । भूतको भिनाजु तिनै बूढा भएको थाहा पाएर म चकित भएँ । मैले कल्पना गरेको भीमकाय भूतको भिनाजु र मैले भेटेको सुकिटाट भूतको भिनाजुमा ठूलो अन्तर पर्‍यो । मैले सोचेको र सुनेको वासुदेव र भेटेको वासुदेवमा पनि उत्तिकै अन्तर । बूढा कडा छन्, ढुङ्गाजस्ता भन्ने सुनेको, आफूलाई त नौनीजस्तो पो लाग्यो । साथीले मलाई हौस्याएर बूढाका अगाडि कविता सुनाउन लगायो । मैले पसिनासरि भएर एउटा कविता सुनाएँ । ‘तिमी त गाम्नागे होइन, रामनामे पो रहेछौ । एउटै कवितामा कतिजनालाई रामनामे ओडाइदिएछौ ।’ बाका कुरा सुनेर दङ्ग पर्दै मैले पसिना पुछेँ । बाकोमा पुगेकै दिन मैले नयाँ नाम पाएँ- रामनामे । उसो त वासुदेव बाजेले अरू धेरैलाई काम, शरीर वा स्वभाव हेरेर ठ्याक्कै मिल्दाजुल्दा नाम दिएका छन् । हजुरिया जर्नेल -रोचक घिमिरे, क्यालेन्डर पौडेल -अनिल, इन्टरभ्यु प्रसाईं -नरेन्द्रराज, भँगेरी कांग्रेस -अच्युतरमण, झ्याइँकुटी -माणिकरत्न, बोक्सी -हरिकला आदि । बाजेले नयाँ नाम दिएयता मभित्र निकै उत्साह भरिएको म अनुभव गर्छु । भूतका ती अद्भुत भिनाजुलाई अन्तिम सलाम !

प्रकाशित मिति: २०६३ आश्विन ६ ०९:४५

(स्रोत: Kantipur )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.