नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~Ganesh Khadka

पात्रहरु :

१) बौद्द भिक्षु

२) युवक ( प्रभाकर )

३) युवती ( अनामिका )

४) युवक २

५) बृद्द 

६) पत्रीका व्यापारी

 

( दृष्‍य – १ )

*

स्थान: एक गुम्बा

समय : बिहान

बातावरण : ( बिहान भए पनि कालो बादल लागेकोले अँध्यारो गुम्बाको चारैतिर मानव चित्कारको कोलाहल सुनिन्छ गुम्बा परिसरको एक छेउमा एउटा वेवारिसे लाश देखिन्छ अर्को छेउमा एक युवक चुरोट तान्दै झोक्राइरहेकोछ एउटा बौद्द भिक्षु हातमा दियो बोकेर गुम्बा परिक्रमा गर्दै – मानेपेमे … मानेपेमे … अलापिरहेकोछ अचानक उसका आँखा गुम्बाको अग्र भागको एक छेउमा पुग्छन् भिक्षु आश्चर्य चकित हुन्छ । )

*

भिक्षु :- ( अत्ताल्लिएर माला जाप्दै ) ॐ मानेपेमे)… ॐ मानेपेमे… हे भगवान ! के अनर्थ देख्दैछु एकाबिहानै यि आँखाले ? मान्छेको लाश… ? हेर चुर्लुम्मै रगतमा डुबेको … ? आलै जस्तो छ । कस्तो अपसगुन ? कस्तो घोर अनर्थ …? गुम्बाभित्रै मान्छेको हत्या दिनदहाडै ? कसले मार्यो होला यसलाई …? किन मार्यो होला ? के बिगारेको थियो यसले…? जसले यो मान्छेलाई मार्यो, के फाईदा भयो होला त्यसलाई ? कस्तो नौजवान युवक, कसको छोरो होला ? स्वास्नी छोराछोरी पनि थिए कि ? तिनिहरुको कत्ती बिल्लिबाठ भयो होला ? कठै,… च्व… च्व… च्व… । शान्ती पावस् बिचराको आत्माले । ( गुम्बाभित्र अवस्थित बुद्दको मूर्तितिर फर्केर )ॐ मानेपेमे… ॐ शान्ती । हे गुरु ! हे शान्तीका अग्र दूत ! यो कस्तो घोर अनर्थ भइरहेछ तिम्रो आँगनमा । तिम्रै आँखाको अगाडि तिम्रै सन्तानहरु यसरी ढल्न थालिसके । तिमीले शान्तिको बिउ छरेको धर्तिमा हिंसाका काँडेझाडीहरु झाँगीरहेका छन् । तिमीले स्नान गरेको पवित्र नदीहरुमा निरिह र निर्दोष मान्छेहरुको रगत बग्न थालेको छ आजकल । जङ्गलका चराचुरुङ्गी र जनावरहरु पनि बसाईं सर्न थालिसके । यो धर्ती पनि पिडाले काँपिरहेकोछ,आकाश रोइरहेकोछ,छटपटाइरहेकोछ असह्य बेदनाले । यो बुढो सगरमाथा पनि धेरै माथिबाट टुलुटुलु हेर्दै आँशु पुछ्न बाहेक केही गर्न सकिरहेको छैन । हे मानवताका शिखा ! हे अहिंसाका पूजारी ! हे शान्तीका सर्वोच्च नायक ! यहाँ मानवता दुखिरहेकोछ, यहाँ शान्ती छटपटाइरहेकोछ, यहाँ अहिंसा चाहर्याइरहेकोछ । त्यसैले अब आँखा खोलिदेऊ… ( लाशतिर देखाउँदै ) यि हेर, के यो दर्दनाक स्थिती तिम्रा आँखा ले निसंकोच हेरिरहन सक्छन् ? तिमीले सिकाएको अहिंसाको पाठलाई अपमान गरेर तिम्रै काखमा यती बिघ्न निर्मम र बर्बर हिंसा भइरहेकोछ । त्यसैले म एउटा भिक्षु,तिम्रो सच्चा शिष्य यही एउटा भिक्षा मागिरहेकोछ । ब्यूँझिदेउ एक पटक,सिर्फ एकपटक र छरिदेउ एकपटक फेरी यि अज्ञानीहरुका सबै इन्द्रियमा दिब्य ज्ञानको ज्योति, पोखिदेऊ शान्तिका किरणहरु यो जगमा… ।    ( फेरी छेवैको युवकतिर लम्किंदै ) ॐ नमो बुद्दाय… ॐ शान्ती… बाबु ! तिमी को हौ ? यती धेरै अगाडिदेखी मूर्तिवत यहाँ बसिरहेका छौ, यो बेवारीसे लाशका सम्बन्धमा केही जानकारी छ तिमीलाई  ?

*

युवक : ( चुरोट तान्दै ) यही अनविज्ञता र जिज्ञासा म तपाईं समक्ष राख्न चाहन्छु । यस सम्बन्धमा तपाईं जती जानकार हुनुहुन्छ, म त्यसको एक कण जती पनि छैन । किनकी धर्तिमा उज्यालो खस्नु अगावै घटना भइसकेको हुनुपर्दछ । यसर्थमा बरु तपाईंलाई नै थाहा हुन सक्छ ।

भिक्षु : घटनाको पूर्व प्रकृति मलाई थाहा छैन । जतिबेला मैले थाहा पाएँ, त्यतिबेला मेरा यि आँखाले सिर्फ ढलेको लाश मात्र देखेको हुँ, जुन अहिले तिमीले पनि देखिरहेका छौ ।

*

युवक : घटनाको यो बिन्दुभन्दा अघिल्लो श्रीङ्खला कसरी घट्यो, त्यो त तपाईंलाई थाहा होला नि ?

भिक्षु : अँ हँ … त्यो पनि केही थाहा छैन मलाई ।

युवक : त्यसो भए आज राती तपाईं गुम्बामा बस्नुभएन ?

भिक्षु : बस्न त गुम्बामै बसेको थिएँ, केहीबेर ध्यानमा मग्न भएँ, त्यसपछी बिश्राम सँगै भुसुक्क निदाएछु, बिचमा केही थाहा भएन । बिहान उठेर हेर्दा यस्तो घोर अनर्थ देख्नुपर्‍यो ।

युवक : सम्भवत यो घटना रातको अन्तिम प्रहरमा घटेको हुनुपर्दछ र शायद यो घटना गुम्बाभित्र नभएर यतै कतै नजिकै छेउछाउमा भएको हुनुपर्दछ ।

भिक्षु : तर यो लाश ?

युवक : घाइते अवस्थामा ऊ भगवानको शरणमा छटपटाउँदै आएको हुन सक्छ र भगवानको काखमा उसले प्राण त्यागेको हुन सक्छ ।

भिक्षु : ( लामो सास तानेर ) धन्य भगवान ! बिचराको आत्माले शान्ती पाओस् । ॐ शान्ती… ॐ नमो बुद्दाय… ॐ मानेपेमे… अँ त बाबु, तिमी हेर्दा निक्कै भलाद्मी र चिन्तित मुद्रामा देखिन्छौ । को हौ तिमी, के चिन्ता छ तिमीलाई ?

युवक : म समयसँगको पौंठेजोरीमा नराम्ररी पछारिएको मान्छे हुँ । आफ्नो जिन्दगीदेखी आँफै डराएर भागेको मान्छे हुँ म । आफ्नै जीवनको अर्थ नभेटेर भौंतारीईरहेकोछु म ।

भिक्षु : के भयो तिमीलाई त्यस्तो ?

युवक : म लुटिएकोछु, म ठगिएकोछु, जिन्दगीले मलाई नराम्रो गरी धोका दिएकोछ । ( लाशतिर देखाउँदै ) मान्छे यसरी अकालमै मर्दैछन् र मारिदैछन् । म त मर्न चाहन्छु र पनि मर्न र मारिन सकिरहेको छैन । नियतिले ममाथी ठुलो अन्याय गरिरहेकोछ ।

भिक्षु : तन्नेरी छौ, वलिष्ठ छौ, जोश र जाँगर लिएर जीवनपथमा हिँड्नुको सट्टा किन हिम्मत हार्दैछौ ?

युवक : तन्नेरी र वलिष्ठ त त्यो मुर्दाको रुपमा ढलिरहेको युवक पनि थियो । हुन त त्यो बाँच्ने रहर हुँदाहुँदै मारिएको हुन सक्छ । तर मेरो संसार त्यती सुन्दर छैन । मेरो मुटु कालेजो लुटिएकोछ, मेरो सर्वश्व अपहरण भएकोछ, छियाछिया भएर मेरो मन मुटु भग्न भएकोछ । म केही भएर पनि केही हुन सकिरहेको छैन । कुनै अस्तित्व र छवी छैन मेरो । मेरो चारैतिर खाली खाली छ, खोक्रो खोक्रो छ ।

भिक्षु : परिस्थितीसँग मुकाबिला गर्ने साहस गर्नुपर्दछ तिमीले । हरेक समय सधैं एकखालको हुँदैन । हिजो, आज जस्तो थिएन र भोली, आज जस्तो पक्कै हुनेछैन । तसर्थ तिम्रो जीवन भोली फूल्न पनि त सक्छ नि ।

युवक : समयका हरेक शर्तहरुसँग सम्झौता गरिसकें मैले । समयको गर्भभित्र जती पनि प्राणीहरु छन्, हरेकले हरेकलाई मास्न खोजिरहेका छन् । मान्छेहरुभित्र मानवताको पर्खाल भात्किएको छ । प्रेमको दियी निभिसकेकोछ । यहाँका एक एक प्राणीहरु त्यसमा पनि मान्छेहरु कुटिल र घिनलाग्दो स्वार्थको दलदलमा भासिएका छन्, कहिल्यै नानीस्किने गरी । मान्छेद्वारा सताइएको मान्छे हुँ म । मेरो चारैतिर मान्छेले थापेको धोका र विश्वासघातका एम्बुसहरु छन् । जीवन मर्नु बाँच्नुको दोसाँधमा भिरको चिण्डो भएर छटपटाइरहेकोछु । जीवन र मृत्‍युमा केही भिन्नता छैन यहाँ । स्वार्थी र दमनरुपी मान्छेको समाजमा प्राणलाई खुकुरीको धारमा राखेर अनर्थ जिउनु भन्दा मृत्‍युको अर्को लोकमा शान्ती पाउने आशा गरेकोछु मैले । त्यसैले यस्तो अभागी,घिनलाग्दो,उराठ र उदास जीवनभन्दा मृत्‍यु नै बढी उत्तम ठानेकोछु मैले ।

भिक्षु : मान्छेले चाहेको बेला मर्ने र चाहेको बेला बाँच्ने गर्न सक्ने भए शायद श्रष्टाको नीती नियम र भगवानको अस्तित्व यो संसारमा रहने थिएन होला । मान्छेको आयु,जीवन र मृत्‍यु त उसले जन्मदै लिएर आएको हुन्छ । यो सब भगवानको खटन हो । मान्छेले आफ्नो कर्म अनुसारको फल पाउँछ । राम्रो काम गर्नेले राम्रै पाउँछ र नराम्रो काम गर्नेले नराम्रै । भगवानका आँखा सबैका लागि समान छन्, भगवान ले सबैलाई सही मार्ग निर्देशन गर्दछन् । बाटो छोडेर कुबाटो हिंड्न खोज्ने र हिंड्नेलाई पनि भगवान ले हरेक तरिकाले सुझाव र चेतावनी दिएका हुन्छन् । त्यो दिव्य हुन्छ, बुझ्न सक्नु पर्दछ । त्यती हुँदाहुँदै पनि कुकर्म नै गरिरहने र खराब बाटो नै हिँडिरहनेले भगवानको सजायको भागी बन्नै पर्दछ । तिमी किन आत्तिन्छौ ? भगवानमा विश्वास राख, दु:खमा आत्तिने र सुखमा मात्तिने कहिल्यै नगर । इमान्दार र बफादार बन, भगवानले तिम्रो रक्षा गर्नेछन् ।

( भिक्षु ॐ मानेपेमे … ॐ शान्ती,… ॐ नमोबुद्दाय .. भन्दै माला जप्न थाल्दछ । युवक फेरी चुरोट सल्काउँछ, र केही सोचे झैं एकोहोरिन्छ । कालो बादलको मुस्लो झन मडारिन्छ,मानौ रात जस्तै अन्धकार हुन्छ त्यहाँ । यसैबिच एक पागल चिच्याउँदै प्रवेश गर्छ । )

*

पागल : खबरदार… ! यहाँ कसैले कसैलाई मार्न पाउने छैन… । ( युवकतिर हेर्दै ) एई… तँलाई के भो ? पिर परेकोछ ? किन बोल्दैनस् ? चुरोट खाको ? खै ले मलाई पनि । किन एक्लै खान्छस् ? कती खान्छस् एक्लै ? अझै अघाइनस् ? होइन, किन बोल्दैन यो ? के तेरो पनि भाई मर्यो ? के तेरो भाईलाई पनि तिनिहरुले मारे ? के तेरी स्वास्नीलाई पनि अपहरण गरे ? के तेरी अर्धाङ्गिनीको पनि बलत्कार गरेर हत्या भयो ? के तेरी मायालु पनि तँलाई छोडेर गई मलाई जस्तै ? तेरो प्रेम खोसियो ? ( युवक अझै बोल्दैन ) होइन, किन बोल्दैनस् हँ तँ ? कि यो मान्छे होइन… ? मूर्ती पो जस्तो छ । ( गलल हाँस्छ र एक्लै फतफताइरहन्छ ) थुइक्क… म पनि कस्तो नबोल्ने मुर्ती सँग पो गफ गरिरहेको रहेछु । ए तँ राम होस् ? कृष्ण होस् ? महादेव होस् ? कि अल्लाह होस् ? कि यशुख्रिष्ट होस्… ? होइन, होइन तँ बुद्द होस् । किनभने गुम्बामा तँ बस्छस् । हे भगवान ! मलाई माफ गरिदेउ । सारा चिजहरुको हत्या भइसक्यो । खाली मेरो खोक्रो शरीर मात्र बाँकी छ । बिन्ती चढाउँछु प्रभु, ति राक्षसहरुले गर्नु गरे । ( रिसाउँदै ) ए यो त भगवान होइन जस्तो छ । ( युवक अर्को चुरोट सल्काउँछ ) फेरी चुरोट पो सल्कायो यसले त… । यसलाई पनि पक्कै ठुलै पिर परेजस्तो छ । तेरो पनि भाई,स्वास्नी मेरो जस्तै हो…? पख्, अब हामी दुबै मिलेर खोजौं । ( छेउको लाशलाई देख्छ र चिच्याउँदै )एई,… यता हेर तेरो भाई यहाँ रहेछ । आरामले सुतिरहेको रहेछ । आइज, उठाऔं र लैजाऔं । ( लाशलाई चलाउँछ,छाम्छ, सुम्सुम्याउँछ र फेरी चिच्याउँछ ) भेटें… मेरो भाई भेटें । यो तेरो भाई होइन, मेरो भाई हो बुझिस्… । ( उठाउन खोज्दै ) उठ् मेरो भाई, कहाँ गएको थिस् मलाई छोडेर ? तेरी भाउजु खोइ ? ( शरीरभरी रगत देख्छ र झन् चिच्याउँदै ) तँलाई कसले यो हालत बनायो मेरो भाई ? तँ कती दिन देखी वेवारीसे छस् हगी ?

तेरो लाशलाई उठाउने मलामी सम्म पाइनस् हगी तैंले ? कसैले वास्ता गरेन हगी तँलाई ? ( युवकतिर हेर्दै ) यो हरिलट्ठकले केही सहयोग गरेन हगी तँलाई ? के गर्थ्यो, यो आँफै मरेतुल्य छ । तर तेरो आत्माले अवश्य शान्ती पाउनेछ, किनभने तेरो प्राण बुद्दको काखमा गएकोछ । तँ धन्दा नमान भाई, म तेरो लागि मलामी खोजेर ल्याउँछु । ( युवकतिर हेर्दै ) एई,… मेरो भाईलाई छोलास् नि ? म आउन्जेल त्यहीं बस्दै गर है ! ( पागल बाहिरिन्छ )

( पागलको प्रस्थानसँगै ठुलो आँधिहुरी चल्न शुरु हुन्छ, मेघ गर्जनसहित बिजुली चम्किन्छ । कालो बादल झन् बाक्लिंदै जान्छ । नेपथ्यमा गोला बारुद र बन्दुक पड्केको आवाज कानै फुट्ला जस्तो गरी सुनिन्छ । नेपथ्यबाटै हत्या… हिंसा… अपहरण… बलात्कार… शब्द सहित गुहार… गुहार… मान्छेको चित्कार सुनिन्छ । )

*

युवक : कस्तो अभागी पुस्तामा जन्मेछु म … अनि यि जबर्जस्ती बाँचेका मान्छेहरु । ( एक्लै गुनगुनाउँदै ) बुद्दको छातीमा बारुदको गन्ध आइरहेकोछ, शान्ती र अहिंसाको मुटुमा भाला रोपीईरहेकोछ जताततै । अशान्ती,कल,झगडा,वैमनस्यता,हत्या,हिंसा,अपहरण,बलात्कार… उफ्… युगले कती नमिठोगरी ठग्यो मलाई । त्यो पागल, बिचरा… मर्नुभन्दा बहुलाउनुको नियती स्वीकारीरहेकोछ जबर्जस्ती… । ( बम र मान्छेको कोकोहोलो झन् तिब्र सुनिन्छ । ) हे भगवान ! यहाँ फेरी के अनर्थ हुन लाग्यो… ? यो पृथ्वी नै किन भासिंदैन… ?? यो सारा जगत नै किन डुब्दैन… ???

( युवक २ को प्रवेश )

*

युवक २ : ( आत्तिंदै आएर युवक १ लाई समाउँदै ) गुहार… गुहार… लौ न म त बर्बाद भएँ । ए दाई, लौ न केही त गर्नै पर्‍यो ।

युवक १ : के भयो तिमीलाई ?

युवक २ : मेरो त सर्वश्व नै भयो नि दाई । मेरो अधिकार खोसियो,मेरो खुशी लुटियो । म पढ्न चाहन्छु, मा आफ्नै खुशीले हिंडडुल गर्न चाहन्छु, आफ्नो घरमा आनन्दले निस्फिक्री बस्न र रमाउन चाहन्छु म… ।

युवक १ : तर यो सब कसरी भयो जुन ?  फलाकीरहेका छौ ।

युवक २ : घरबाहिर बन्दुक पड्काइयो, घरभित्र आगो लगाइयो,लुटिइयो,पिटीइयो,अपहरण गरियो… तर म बाँच्न चाहन्छु,भाग्न चाहन्छु… लौ न दाई केही गर्नु पर्‍यो ।

युवक १ : म केही गर्न सक्ने भए शायद, यसरी समयको कोर्रा खाइरहनु पर्ने थिएन होला । जाऊ,भगवानसँग गुनासो पोख ।

( यसैबिचमा फेरी एक बृद्दको प्रवेश हुन्छ । )

*******

बृद्द  : लौ न हजुर,… मेरो जहाज डुब्यो,मेरो उठिबास भयो । मैले आफ्ना छोराछोरी,बुहारी,स्वास्नी,खेत-बारी,घर-सम्पत्ती… केही भन्न पाइन, सबै तहसनहस भयो, सबै खरानी भयो । ( युवकतिर हेर्दै ) लौ न हजुर, अब के गर्ने होला ?

युवक १ : कतै तपाईंको पनि घरमा बन्दुक पड्काइएन ? आगो त लगाइएन ?

बृद्द  : हो हजुर, मेरो बुढेसकालको लौरो भाँचियो,ओत लाग्ने छानो भत्कियो । मार्ने नै भए मै बुढोलाई मार्नु नि बरु ! किन मेरो खाउँखाउँ-लाउँलाउँ उमेरको छोरालाई मार्नु ? सत्यानाशै भयो नि प्रभु… !

युवक : व्यथा सबैको उस्तै हो । तपाईंको,मेरो, उसको, हामी सबैको… । समयले आज सबैलाई झटारो हानिरहेको छ अन्धाधुन्ध अन्धकारमा । त्यो क्रुर समयको निर्दयी ढुंगाले हिजो मलाई लाग्यो, आज तपाईंलाई लाग्यो र भोली उसलाई लाग्नेछ , तर लाग्छ सबैलाई अवश्य ।

युवक २ : आखिर किन यस्तो भइरहेछ ? जन्मेपछी बाँच्न पाउनु मान्छेमात्रको नभएर सारा प्राणी मात्रको नैसर्गिक अधिकार होइन र ?

युवक १ : यो सबै मान्छेप्रती मान्छेको रिस र डाहको उपज हो । बाँच्न त उनिहरु पनि चाहन्छन्, जसले अरु मान्छेको बाँच्न पाउने अधिकार खोसिरहेका छन् । तर मान्छेको बिबेक शुन्य भएपछी बहुलाउँदोरहेछ ।

बृद्द : यो धर्तिमा पापी नै पापीको साम्राज्य भइसक्यो । मान्छे नै मान्छेसँग मिल्न सकेन भने त्यो भन्दा बिडम्बना के हुन सक्छ र ? अब भगवान ले फेरी एकपल्ट अवतार नलीई हुँदैन यहाँ ।

*

युवक १ : वास्तवमा अब ईतिहासको पुनरागमन जरुरी भइसकेको छ । त्यो ईतिहास, जहाँ सत्य थियो, मानवता थियो,मेलमिलाप थियो । युद्द र बिरोध त त्यतिबेला पनि हुन्थ्यो तर त्यो युद्दमा बहुजन हिताय को सिद्दान्त छर्लङ्ग थियो । त्यो युद्दमा स्वार्थ थिएन,कप्ट्याईं थिएन अनि साम्प्रदायिकता थिएन । त्यहाँ एउटा भक्ती,अमरसिंह र भलभद्र मर्दथ्यो तर सिङ्गो जात,धर्म,सँस्कृतिको लागि अनि सिङ्गो भूगोल रक्षाको लागि मर्दथ्यो । स्थायित्व,शान्ती र अमनचयनको लागि लड्दथ्यो र बलिदानी हुन्थ्यो । जुन समस्त लोक हित को पक्षमा हुन्थ्यो । त्यो युद्दमा,त्यो मृत्‍युमा अनि त्यो प्राप्तिमा सारा जगतले गर्व गर्दथ्यो र अमरताको गीत गाउँदै शिर उठाएर जिन्दाबाद भन्दथ्यो । जुन ओजिलो गीत अहिलेको पुस्ताले पनि भुल्न सकिरहेको छैन । तर आजको युद्द… लडाईं… झगडा… ! भुस्याहा कुकुरहरु कुहिएको सिनोमा अझ भनौं एउटा किरा परिसकेको हड्डीमा लुछातानी गरिरहेका छन् । छ्या… ! सम्झिदा पनि घिन लागेर आउँछ ।

युवक २ : तर यो सब कसरी र किन भइरहेछ ? यसको समाधानको कुनै उपाय छैन ?

युवक १ : यहाँ सबै स्वार्थी र मतीभ्रष्टहरु मात्र छन् । समस्या बग्रेल्ती जन्माउँछन् तर समाधान खोज्नुको सट्टा खोंचे थापेर परिस्थिती चर्काउँछन् । बिष रोपेर अमृतको आशा गर्नेहरु, कटमेरो महत्वकांक्षाको बिजारोपण गरेर लंका जित्ने सपना देख्ने ठेट्नाहरु र अण्डा नै नफुटाई अम्लेट खान खोज्ने पाखण्डीहरु जबसम्म सखाप हुँदैनन्, तबसम्म जगतले यस्तै अपसगुन व्यहोर्नु पर्नेछ शायद… ।

*

बृद्द : तपाईं जस्ता विवेकी सन्तानहरु किन अरु पनि जन्माइनन् आमाले ? तपाईंले धेरै ज्ञानका कुरा गर्नुभो, के तपाईंहरु जस्ताको प्रयासले यो समस्या किनरा नलाग्ला ?

युवक १ : लाग्न सक्छ, तर यहाँ राम्रो कुरालाई समर्थन र सहयोग कहाँ हुन्छ र ? फेरी मैले त देखेको र भोगेको कुरा राखेको मात्र हुँ । त्यसमा पनि मेरो जीवन त झन् तपाईंहरुको भन्दा जर्जर छ, म आँफै पुरै रित्तिसकेको छु । मैले के गर्न सक्छु र एक्लैले ? यो समस्याको समाधानको लागि कि त यहाँ एकपटक बुद्द नै जन्मिनु पर्दछ कि त यहाँका मान्छेहरुमा बुद्दत्व भरिनुपर्दछ । ( यत्तिकैमा केही आवाज आउँछ, सबै चुप लाग्छन् । )

दृष्‍य –

स्थान : उही

समय : त्यही

बातावरण : उस्तै

( भिक्षु आफ्नै धुनमा माला जप्दै ध्यानमग्न बृद्द युवक त्यहाँबाट अलप हुन्छन् कालो बादल झन् उग्र हुँदै मडारिंदैछ पानी अझ बढ्ला जस्तो त्यसैले युवक गुम्बाको छेवैको पाटीमा चुरोट तान्दै केही सोचिरहेको भान हुन्छ गुम्बाको वरिपरी भित्र बलिरहेका दियोहरु हावाको झोक्काले केही निभ्दैछन् भने केही निभ्न खोज्दै फेरी बल्ने कोशीस गरिरहेका छन् पहिले देखिएको युवक को लाश यथास्थानमै देखिन्छ घरी-घरी गर्जने चर्को मेघ बिजुली चम्काइले बातावरण लाई झन् भयावह बनाइरहेकोछ । )

*

युवक :- ( एक्लै गुनगुनाउँदै ) उफ्… मान्छेले मान्छेलाई मार्ने जमाना, चोर्ने जमाना, लुट्ने जमाना,घात गर्ने जमाना,अबिश्वासी जमाना… खै कस्तो जमाना हो यो ? नियतिको लट्ठी पनि कस्तो निर्दयी ? अबोध,निरिह र कमजोरहरु माथी नै बज्रिरहने निरन्तर । घडीको सुइ जस्तै अथक । मान्छेहरु बाँच्ने रहर हुँदाहुँदै पनि जबर्जस्ती मर्न विवश हुन्छन् । कोही भने मृत्‍युको ढोका सम्म पुगेर पनि फर्केर उही निरस जीवन जिउन वाध्य हुन्छन् । हरेक मान्छेलाई नियतिले ठगेपछी जीवन गलाको पासो बन्दोरहेछ । उफ्… मेरो मन किन भाँडिदैछ ? मेरो मनको मैदानमा किन मृत्‍यु र जीवनको दोहोरो भिडन्त भइरहेछ ? किन जीवन र मृत्‍यु एउटालाई रोज्ने साहस आएन ममा ? किन दिग्भ्रमित छ मेरो मन ? किन दुधको दुध पानीको पानी हुन सक्दैन म भित्रको मन ? दोधार र दोसाँधमा कतिन्जेल जिउने ? के पाउनु र गुमाउनु, सुख र दु:ख,उज्यालो र अँध्यारो हरेक जीवनको लागि श्रष्टाले सुम्पेको स्वभाविक श्रीङ्खला होइन र ? किन मेरो मन प्राप्तिलाई मात्र सर्वोपरी ठान्छ ? पिडा,बिरक्ती र दु:खाइ त जहाँ पनि ब्याप्त छन् नि । ऐश,आराम र खुशी मात्रै भयो भने पनि जिन्दगी जिउनुको के मज्जा आउला र ? त्यो युवक, जसको त्यती कलिलो किशोरावस्था छ, सर्वश्व नै लुटिंदा पनि ऊ अदम्य साहसका साथ समाधान खोज्न उत्सुक छ । त्यो बृद्द, जसको संसार चुर्लुम्मै डुबेकोछ र पनि अझै केही गर्नु पर्दछ भन्ने हिम्मत बोकेर हिंडेकोछ । आखिर त्यो पागल पनि त बहुलाउनुको नियती भोगेरै पनि बाँच्दैछ । बुद्द जन्मेको,राम जन्मेको,रावण जन्मेको अनि हिटलर जन्मेको पनि समय नै थियो । अनि यो पनि समयको एउटा पाटो रहेछ । त्यसबेला पनि मान्छे बाँचेकै थिए । श्रष्टाको बिधान अनुसरण गर्नुभन्दा अर्को बिकल्प कहाँ रहेछ र खै… ! ( लामो सास तान्छ । )

( यत्तिकैमा एक युवती चिच्याउँदै प्रवेश गर्छे । ऊ पनिले भिजेकिछे, उसको केशराशीबाट पानीका थोपा शरीरतर्फ झरिरहेका छन् । भिजेकोले गर्दा उसले लगाएको कपडा र मासुको सम्बन्ध नजिक देखिन्छ । भनौ, कपडा बहिर बाटै उसको शरीरका संबेदनशिल अङ्गहरु प्रष्टै देखिन्छन् । )

*

युवती : बचाऊ… बचाऊ… । ए, लौ न कोही छ यहाँ … ?

युवक : ( आवाज आएको ईलाकातिर हेर्दै नहेरी आफ्नै धुनमा बोल्दै ) यहाँ थुप्रै छन् । यो गुम्बा, ध्यानमग्न भिक्षु, बुद्द, एउटा वेवारीसे लाश र एउटा जिउँदो लाश पनि । त यो आवाज कुन लोक बाट ?

युवती : यही लोकबाट,यहीं बाट, तपाईंकै नजिक बाट । कस्तो निर्दयी र उदेक लाग्दो कुरा गर्दैहुनुहुन्छ तपाईं ? यो आवाज हृदयको दु:खाईबाट, आत्माको चित्कारबाट अनि यो आवाज तपाईं जस्तै मान्छेको मुटुको घाउबाट ।

युवक : के छ यो आवाजमा… ?

युवती : पश्चातापको आँधी… निरासाको भूमरी… अनि जीवनप्रतिको वितृष्णा… ।

युवक : ( आश्चर्य मान्दै युवतीतर्फ फर्केर ) कस्तो कुरा गर्दैछ्यौ तिमी ? बचाऊ,बचाऊ भन्दै जीवनप्रती गुहार पनि मागिरहेकी छ्यौ, अनि त्यही जिवनप्रती वितृष्णा पनि जाहेर गरीरहेकी छ्यौ ?

युवती : ( युवकलाई चिने झैं गरेर ) हँ,… प्रभाकर तिमी … ?

युवक : ( स्‍मृतितर्फ फर्कंदै ) यदी मेरो ठम्याई गलत नभए, ति… मी अनामिका हुनुपर्छ ।

युवती  हो,.. हो… म अनामिका नै हुँ । ( उनी युवक को सामुन्नेमा जान्छिन् । )

युवक : अनि किन आयौ त यहाँ ?

युवती : म जीवन र मृत्‍युको दोसाँधमा छटपटिदै भौंतारीईरहेकी थिएँ, शायद गलत ठाउँमा आइपुगेछु ।

युवक : त्यसो नभन अनामिका, तिमी एकदम सही ठाउँमा आएकी छ्यौ ।

युवती : तर म मर्न चाहन्छु ।

युवक : मर्न त म पनि चाहन्थें, तर अब बाँच्न चाहन्छु ।

युवती : फेरी कस्तो कुरा गर्दैछौ तिमी ? मर्नु र बाँच्नु दुई बिपरित ध्रुब हुन् । मर्न चाहन्थ्यौ र फेरी बाँच्न चाहन्छौ, के अर्थ छ यसमा ?

युवक : तिमीसँगको बिछोड पछी ममा जीवनप्रती निराशा छायो । जीवन उदास,उराठ र निराश लाग्न थाल्यो । समाजका हरेक कुरालाई म घ्रिणा गर्न थालें, र समाजले पनि मलाई घ्रिणाको पात्र बनायो । जताततै स्वार्थ, घात,हिंसा,अशान्ती … जीवन झन् भद्दा र बेकार लाग्न थाल्यो । मन बुझाउने कोही भेटिन । देशका ब्वाँसा र समाजका धमिराहरुले मलाई सुखले बाँच्न पनि दिएनन् । मेरो घर पनि खोक्रो बनाइदिए । म घर मा बस्न सकिन, भर कसैको भएन, जीवनको अर्थ नै रहेन ।

युवती : अनि, अध्ययन कहाँ पुर्यायौ ?

युवक : के अध्ययन को कुर गर्छ्यौ ? जसको जीवन नै साँचो अर्थमा जीवन रहेन भने त्यसको अन्य कुरा र प्रगतीको के … ?

युवती : ( बिचैमा ) तर आज फेरी … ?

युवक : आज तिमीलाई देखेर, तिमीसँग भेट भएर बाँच्ने रहर जागेर आयो । जिन्दगीको अर्थ भेटे जस्तो लाग्दैछ ।

युवती : तर म तिमीभन्दा परकी भइसकेकी छु । तिम्रो र मेरो सामिप्यतामा ठुलो दुरी छ अब । म तिम्रो संसारबाट अलग्गीईसकेकिछु ।

युवक : त्यसो भए तिम्रो लागि सुन्दर संसार हुँदाहुँदै किन मर्न चाहन्छ्यौ ?

युवती : अहिले मेरो कुनै संसार नै छैन । न मेरो कुनै अस्तित्व र परिचय छ । तसर्थ, म यस्तो अर्थ बिहिन जीवन जिउनु भन्दा मर्न चाहन्छु ।

युवक : ( आश्चर्य मान्दै ) अनि तिम्रो श्रीमान ? घर परिवार ?

युवती : ( रुँदै ) भो प्रभाकर ! मलाई यहाँ भन्दा बढी नकोट्याउ । ममा सामर्थ्य पनि छैन, यो भन्दा अघी बढ्ने ।

युवक : तर तिमीले भन्नै पर्छ यथार्थ कुरा ।

युवती : मलाई धेरै कर नगर प्रभाकर । यदी तिमीले मेरो वास्तविकता थाहा पायौ भने, मेरो त हालत यस्तै हो , तिमी पनि दुखी हुन सक्छौ ।

युवक : तर त्यो सब सहन सक्ने सामर्थ्य छ ममा । किनकी मैले दर्जनौं दु:खका जङ्घारहरु तरीसकेकोछु ।

********************

युवती : तिम्रो पवित्र प्रेमलाई लत्याएर म … ( भक्कानिदै ) त्यो रघुवीर को कुरामा लागें । उसले मलाई जिन्दगीका अनेकौं असम्भव सपनाहरु देखायो । नाना तरह ले फकायो । उसका हरेक चकलेटी कुराहरु साँच्चिकै जस्तो लाग्यो मलाई । उसका कुराले म दिन प्रतिदिन गल्दै गएँ । अन्तत: मैले उसँग विवाह गरेँ । उसले मलाई कहिल्यै घरमा लगेन र देखाएन पनि । ( झन् भक्कानिएर रुँदै ) एकदिन उसले मलाई एकान्त जङ्गलको बिचमा रहेको एउटा घरमा लाग्यो । त्यहाँ उसका केही साथिहरु पनि थिए । रक्सीले मातेका उनिहरु सबैले मलाई सामुहिक बलत्कार गरे । त्यसपछी बेहोस भएछु । ब्यूँझिदा अस्पातलको बेडमा थिएँ, मलाई कसले त्यहाँ लाग्यो पत्तो भएन । म त्यहाँबाट भागें । धेरै पटक मर्ने कोशीस गरें तर कसै न कसैले बँचाए । भनेको बेला बिष पनि नपाईने रहेछ । महिनौ बितिसक्यो, रघुवीर कहाँ हरायो थाहा छैन । जिन्दगीमा गरेको सानो भूलले आज म आफ्नै जीवन देखी डराउन थालेकिछु । पश्चातापको आगोले मलाई जलाइरहेकोछ । ( रुन्छे )

*

युवक : तर तिमीले मलाई गरीब भनेर छोडेकी थियौ होइन ?

युवती : मन भन्दा धन ठुलो ठानेर स्वार्थी र महत्वकांक्षी बनें म । आडम्बरको खोल ओढेको पाखण्डी समाज मेरो आदर्श बन्यो । रघुवीरसँग विवाह गरेर भौतिक रुपमा सुखी र सम्पन्न बन्ने लालसाको भूतले मलाई समात्यो । रघुवीर सुन्दर पनि थियो र सतही रुपमा मेरो निम्ती उसले निक्कै पैसा पनि खर्च गर्‍यो । तर ति उसका सारा कृयाकलाप मलाई फसाउने चाल मात्र रहेछन् । तिमी त मेरो ईश्वर रहेछौ, मैले चिन्न सकिन । ( रुन्छे )

*

युवक : अनि त्यत्ती जाबो कामको लागि रघुवीर ले तिमीलाई मबाट खोसेको रहेछ ?

युवती : उनीहरुको आपसी कुराबाट एउटा छनक पाइन्थ्यो । बलात्कारपछी उनिहरु मलाई वेश्यालयमा लगेर बेच्न चाहन्थे ।

युवक : अनि तिमीले कुनै प्रतिकार गरिनौ ?

युवती : म त बेहोस भईहालेछु । फेरी ति दानवरुपी राक्षसहरुको अगाडि म एउटी अवला नारीको के जोड ?

युवक : देश र समाजका शत्रु सबै यस्तै प्रकृतिका हुन्छन् । नारीलाई मनोरन्जनको साधन,खेलको मैदान र क्रय-विक्रयको वस्तु ठान्ने नरपिशाचहरुको आँखा फुटाइदिएर,हात-खुट्टा भाँचिदिएर भाले गधाको हुलमा छोडिदिने कानुन बन्नु पर्ने । तर नारीहरु पनि कम दोषी त कहाँ छन् र… ?

युवती : अविवेकी नारीको एउटा उदाहरण त म नै भइहालें । ( मुन्टो निहुर्याउँछे )

युवक : त्यत्तिका दिन तिमी रघुवीरसँग बस्यौ , उसको कुनियतको अलिकती पनि संकेत सम्म पाइनौ तिमीले ?

युवती : उसले मेरा हरेक इच्छा र चाहना पुरा गरिरहेको थियो । त्यस्तो कुनै कुराको शंका र हेक्का भएन मलाई । थाहा पाएकै भए पनि मैले के गर्न सक्नु र ? म त उसको पन्जामा परिसकेकी थिएँ ।

युवक : ( रिसाएर ठुलो स्वरमा ) यही त छ तिमीहरु नारी जातिको कमजोर पक्ष र बिडम्बना । अंश र वंशका नारा उचालेर पारिवारिक कलहको बिउ रोप्छौ । नारा र भाषणमा नारी स्वतन्त्रता,अधिकार र आरक्षणको राग अलाप्छौ, तर फेरी आँफै बेचबिखनको साधन बन्छौ… ? यसरी कहिल्यै पनि नारीमुक्ती हुँदैन । नारीले आफ्नो क्षेत्राधिकार आँफैं निर्धारण गर्न सक्नुपर्दछ ।

युवती : ( रुँदै ) मैले यती अक्षम्य गल्ती गरेछु । म खाग बनिसकेकिछु पश्चातापको आगोले जलेर । म आँफैले आँफैलाई माफ गर्नु योग्य ठान्दिन । त्यसैले मृत्‍यु नै मेरो मुक्ती हो ।

*

युवक : मृत्‍यु र मुक्ती तिमीहरु जस्ताले गर्ने आधुनिक प्रेम जस्तो सस्तो छैन । फेरी हरेक मृत्‍युले मुक्ती पाउँदैन पनि । लोक हितको लागि वरण गरिएको मृत्‍युमा मर्ने र बाँच्ने दुबैले मुक्ती पाउँछन्, र यो सार्थक मृत्‍यु हो मुक्तिका लागि । तर तिमी त खाली तिम्रो नितान्त व्यक्तिगत स्वार्थका लागि मृत्‍यु चाहँदैछ्यौ । छोडिदेउ यस्तो बहुलट्ठी कुरा गर्न… । जिन्दगीको कठघरामा मृत्‍युको फैसला सुन्ने बलात्‍कृत रहर बोकेर म पनि उभिएको थिएँ । समयले फाँसीको सजाय सुनाइदिएको भए शायद त्यो मृत्‍यु प्राप्त गरिसकेको हुने थिएँ होला । समयसँगै बिचार  पनि परिवर्तन हुँदोरहेछ मान्छेको । मलाई बाँच्ने रहर पलाउँदैछ तिमीलाई भेटेर / देखेर । फेरी तिमी चाँहीं किन… ?

युवती : ( प्रसङ्ग बदल्दै ) म जस्ती स्वार्थी आईमाईको नाममा किन आफ्नो जिन्दगीलाई बर्बादीको सम्झौता पत्रमा दस्तखत गर्न उद्दत भयौ तिमी ? तिमी जस्तो योग्य मान्छेले एक से एक असल युवती पाउँथ्यौ । राम्रो काम पनि पाउन सक्थ्यौ । पाउँदैनथ्यौ त ? किन नयाँ जीवनको नयाँ बाटो हिंड्न चाहेनौ तिमीले… ?

*

युवक : ( ब्यङ्ग्यात्मक हाँसो छोड्दै ) हँ,… योग्य मान्छेले आफ्नो योग्यतानुसारको काम पाउने भए किन बिद्रोहको आगो दन्किन्थ्यो यसरी ? अर्को कुरा, के तिमीले साँचो प्रेमलाई बजारमा बेच्न राखिएको शिलाजित ठानेकिछ्यौ ? जो छानी-छानी मनलागी गर्न सकियोस् । चोखो प्रेम एक जनासँग मात्र गरिन्छ अनामिका… ।

*

युवती : ( भावुक बनेर लामो सुस्केरा हाल्दै ) उफ्…. कती धेरै मायाँ गरेको रहेछौ तिमीले मलाई । कती गहिरो समर्पण भाव रहेछ तिम्रो म प्रती । कत्ती ठुलो भूल भएछ मबाट । ( रुँदै ) हे भगवान ! कत्ती पापिनी रहेछु म, अब झन् मैले मर्नै पर्छ ।

*

युवक : ( सम्झाउने कोशीस गर्दै ) बितेको समय र बगेको खोला कहिल्यै फर्केर आउँदैन र यिनीहरुसँग जिस्किने ध्रिष्टता पनि गर्नु हुँदैन । अब पश्चाताप मात्र गरेर के नै फाईदा छ र ? बरु जीवनको लागि एउटा नयाँ उत्तम बाटो रोज्नु नै श्रेयष्कर ठान्दछु म ।

युवती : म मर्न चाहने मान्छे, किन जीवनको लोभ देखाउँदैछौ तिमी ?

युवक : तिमी अघी यहाँ आउँदा जीवनकै लागि गुहार माग्दै आएकी थियौ, तर अहिले… ?

युवती : ( बिचैमा बोल्दै ) त्यतिबेला मलाई खराब आचरण भएका लफङ्गाहरुले लेखेट्दै थिए ।

युवक : ( हाँस्दै ) फेरी तिमी कस्तो बेढङ्गी कुरा गर्दैछ्यौ , मर्न चाहने मान्छे मृत्‍युसँग डराउँछ र… ? तिमीले नै भनेकी होइन ? बाँच्नु र मर्नु दुई ध्रुब हुन्, यिनीहरुको बीचमा केही समानता हुँदैन भनेर ?

युवती : हो, तर सास रहेसम्म डर भन्ने चिज रहिरहँदो रहेछ । फेरी मुक्ती, मृत्‍यु मा मात्रै देखेकी छु मैले ।

युवक : यदी तिमी साँच्चै मर्न नै चाहन्छ्यौ भने, यो डर भन्ने चिजले पनि मर्नु पर्दछ । नपत्याए हेर त, मुक्तिको लागि मृत्‍युसँग नडराउने योद्दाहरुको डर पनि युद्दको मैदानमा मरेको छैन र उनिहरुसँगै… ?

युवती : तर किन यस्तो हुन सकिरहेको छैन ममा ?

युवक : छोडिदेउ अब सारा बितेका कुरा । विगतलाई कोट्याएर किन वर्तमानलाई अंिल्याउन चाहन्छ्यौ ? किन भविष्य धमिल्याउन चाहन्छ्यौ तिमी ?

युवती : त म के गरौं ?

युवक : परिस्थितीसँग मुकाबिला गर्दै जीवन सङ्घर्षमा होमिदेउ आफुलाई ।

युवती : तिम्रो भनाइको मतलव के हो ?

युवक : मेरो मतलव फेरी अर्को जीवनको शुरुवात पनि त गर्न सक्छ्यौ नि तिमी ।

युवती : तर म त बाँच्नै चाहन्न र बाँच्नु हुँदैन पनि मैले । किनकी मेरो वर्तमान जती प्रदुषित र कलङ्कित छ, यदी म बाँचे भने मेरो भविष्य झन् बढी प्रदुषित र कलङ्कित हुनेछ ।

युवक : यसको खास कारण जान्न सक्छु म ?

युवती : तिमी समक्ष यो भन्न सक्ने आँट नै छैन मसँग ।

युवक : साहस बटुलेर भन ।

युवती : ( भन्ने साहस गर्दै ) म… म… म… । नाई… ! म भन्न सक्दिन ।

युवक : ( केही रिसाएको भावमा ) तिमीले भन्नै पर्दछ, कुरा के हो खुलस्त भन ।

युवती : नाई… ! यो कुरा, तिमी समक्ष मैले भन्दा पश्चाताप,लाज र डर ले एकैचोटी गाँज्छन् मलाई ।

युवक : हरेक सत्यको पर्दाफास एक दिन भएरै छोड्छ, चाहे त्यो जती नै तितो किन नहोस् । त्यसैले खास कुरा के हो अहिले नै भने वेश हुन्छ ।

युवती : यो सत्यको पर्दाफास हुनु अगावै मर्न चाहन्छु म ।

*

युवक : ( अलिक गर्जिएर ) मर्न त तिमीले अब यसै पनि पाउँदिनौ , किनभने तिम्रो अगाडि म उपस्थित छु । तर समय सँग जिस्किने ध्रिष्टता तिमीले गरिरहेकी छ्यौ नि, त्यो कहिल्यै सार्थक हुन सक्दैन । ( सम्झाउन खोज्दै ) किनभने समय कहिल्यै आँफैमा बेइमान हुन सक्दैन । चाहे त्यो विगत होस् वा वर्तमान या भविष्य नै किन नहोस् । उदाउँदो सूर्यको दिप्त आभा सँगै सम्भावनाको तरेलीमा रमाएको एउटा समय, र पहेंलो मन्द प्रकाशसँगै मानविय भावनामा घुर्मैलो बनेको सूर्यास्तको अर्को समय । समयको क्यानभास बिचित्रको छ । यसभित्र जती र जस्तो रङ्गको मसी पोखे पनि अन्तत: एउटा आकार निश्चित र निर्बिबाद बन्छ नै । त्यसैले तिमीले भन्न चाहेको कुरा चाँडो, अहिले नै भने बरु समय प्रतिको धर्म साबित हुनेछ ।

*

युवती : तर समय कहिलेकहीं अत्यन्तै लाजमर्दो तरिकाले आउँदोरहेछ ।

*

युवक : होइन, एकदम गलत । समयका हरेक मान्यतासँग मान्छे समाहित भएर बहन सक्नुपर्दछ । रुखको बोक्रा लगाउने पाषाण युगमा पनि मान्छेले समयप्रतिको मर्यादा धानेकै थियो । ती बेलाको समयले निर्दिष्ट गरेका आचरणहरु अनुशरण गर्नु त्यो बेलाको नैतीक शिक्षा थियो । एउटा युग मात्र एक पल्ट आउँछ । त्यो युग त्यतिबेला आफ्नै अस्तित्व बोकेर आयो, यो युग पनि अहिले आफ्नै मान्यता लिएर प्रस्तुत भएकोछ र भोलिको युग अर्कै भएर हामी सामु उपस्थित हुनेछ । तिमी समय सँग किन डराउँछ्यौ र लजाउँछ्यौ ? हरेक समस्याले जन्म लिँदा समाधानको उपाय पनि लिएर आएको हुन्छ । यदी हामी समयसँग चल्न सकेनौं भने हामीलाई समयले कोशौं टाढा हुत्याइदिनेछ । अनि जीवन झन् विषम हुन सक्छ ।

*

युवती : तर जीवन भोगाई र आदर्शमा धेरै भिन्नता छ ।

युवक : यो कुरा मैले पनि राम्ररी बुझेकोछु । किनकी जिवनबाट हारेर म पनि मृत्‍युको ढोका ढकढकाउँदै हिंडेको मान्छे हुँ । अनुभव र भोगाईमा म तिमीभन्दा माथी नै छु होला, तल होइन । तिमीलाई भेटेर मैले मृत्‍युको बाटो त्यागें भने तिमी चाँहीं किन… ?

युवती : तर म त साँच्चै मर्न चाहन्छु ।

युवक : फेरी उही कुराको पुनराब्रीत्ती भयो तिम्रो मुखबाट ।

युवती : म.. म.. म… ( उसको गला अबरुद्द हुन्छ । )

युवक : फेरी अर्को कुन रहस्यको उद्घाटन गर्न चाह्यौ ? अब यो भय,लाज र डर ले पनि मर्नु पर्दछ । छोड यो गम्भिर रहस्यको वाण… । किन एकोहोरो टार्न खोज्दैछ्यौ मलाई ?

युवती : मलाई युगले नसरापोस्… ।

युवक : युग आँफैमा निश्कलङ्क हुन्छ । त्यसैले भनिदेउ गाँठी कुरा के हो ?

युवती : मे… रो… ( फेरी रोकिन्छे )

युवक : ( रिसाएर कड्किंदै ) यो हद भयो अनामिका,… नबनाउ मलाई अब धेरै कठपुतली । तिम्रो गलामा के छ ? म निस्सासिसकें, छिटो खोलिदेउ त्यो रहस्य । चाँडो फुटाउ तिम्रो वाक्य… । नत्र भगवानले तिमीलाई फेरी सजाय गर्नेछन् ।

*

युवती : मेरो पेटमा अबैध बच्चा हुर्किरहेकोछ प्रभाकर… । ( बेस्सरी रुन्छे । )

( यत्तिकैमा ठुलो आवाजमा मेघ गर्जिन्छ, बिजुली चम्किन्छ,आँधीहुरी चल्छ । )

*

युवक : तिम्रो पेटमा बच्चा छ, अझ तिमी मर्न चाहन्छ्यौ ? आफु त मर्छ्यौ, तर पेटभित्र रहेको शिशुलाई पनि मार्न चाहन्छ्यौ  ?  के पाउँछ्यौ तिमीले यो निर्दोष भ्रुण हत्या गरेर… ?

युवती : तर म आमा बन्न चाहन्न ।

युवक : किन ?

युवती : किनकी यहाँ धेरै आमाहरुलाई ईतिहासले कलङ्कको टिका लगाइसकेकोछ । कयौं आमाहरु पश्चातापले तड्पिरहेका छन् । त्यसैले म फेरी अर्की कलङ्कित आमाको संख्या थप्न चाहन्न ।

युवक : के तथ्य छ तिमीसँग ?

युवती : तथ्य सबैको सामु छर्लङ्ग छ । ती तिमीले, मैले हामी सबले देखेका भोगेका छौं । नपत्याए हेर त,… तिनै आमाहरुले जन्माएका कपुतहरुले आमालाई धर्धरी रुवाएका ! आमाको कोखमै प्रश्न चिन्ह लगाउने कुलङघारहरुलाई जन्म दिनु भन्दा त… !

युवक : तर तिमीले यो बच्चालाई जम्न दिनै पर्दछ ।

युवती : मैले अघी नै भनिसकें नि… ।

( यसैवीचमा एउटा पत्रीका व्यापारीको प्रवेश हुन्छ )

*

पत्रीका व्यापारी : ( पानी परिरहेकोछ, प्लाष्टिकको आधा भागले टाउको र आधा भागले पत्रीका ढाकेकोछ । ख्याउटे शरीर एउटा हातमा पत्रीका हल्लाउँदै चिच्याउँदैछ ) लौ… आयो हजुर, ताजा खबर ! आज पनि राजाधनीको मुटुमै भिडन्त, तिस जनाको घटनास्थलमै मृत्‍यु, सयौं घाइते, सयौको अपहरण, मारिनेको संख्या अझै बढी भएको आशंका । लौ, पढिहाल्नुस् हजुर आजको ताजा खबर… ! ( प्रभाकर ले एउटा पत्रीका लिन्छ, पत्रीका व्यापारी एवम रितले कराउँदै अर्को दिशातर्फ मोडिन्छ । )

युवक : देख्यौ त अनामिका… ? यहाँ मृत्‍यु कत्ती सस्तो छ । अनि हेर यो पत्रीका व्यापारीलाई, कत्ती मिठो जीवन संघर्ष गरिरहेछ यसले । युवती : बाँच्न चाहने सबैले संघर्ष त गर्नै पर्दछ नि हैन र ?

युवक : यही कुराको आत्माबोध तिमीमा होस् भन्ने म चाहन्छु ।

*

( एक्कासी कालो बादल झन् मडारिएर आउँछ । आँधीहुरी सहित मुसलधारे वर्षा हुन्छ । चर्को आवाजमा मेघ गर्जिन्छ, बिजुली चम्किन्छ । नेपथ्यमा फेरी मानव पिडाको चित्कार सुनिन्छ । )

*

युवती : मलाई लाग्दैछ, यहाँ फेरी कुनै अनौठो र भयावह घटना घट्ला जस्तो छ ।

युवक : यसमा कुनै अनौठो कुरा छैन । किनकी यहाँका हरेक परिवेशको लागि हरेक खाले घटनाहरु स्वभाविक भइसकेका छन् । अनि यहाँका हरेक प्राणीहरु घटना घटाउन र घटनाबाट प्रभावित हुन अभ्यस्त भइसकेका छन् । फेरी मान्छेको जीवन घटनै घटनाको एउटा श्रीङखला त हो नि, होइन र ?

युवती : कसरी ?

*

युवक : मान्छे जन्मिन्छ त्यो पनि एउटा घटना हो । जीवनभरी अनेकौं घटनाहरु घटिरहन्छन् उसको जीवनमा । र अन्तमा उसको मृत्‍यु हुन्छ, त्यो पनि एउटा घटना नै हो । तिमी र मेरै कुरा गरौं न, हाम्रो जीवनमा कती घटनाहरु घटे होलान् । चिनजान, प्रेम, मिलन, बिछोड फेरी पुनर्मिलन… यो अन्तरालमा कती साना ठुला घटनाहरु घटे होलान् ।

*

युवती : त्यसैले त म पनि जीवनको अन्तिम घटना घटाउन चाहन्छु ।

युवक : फेरी उही अपसगुन अलाप्दैछ्यौ ?

युवती : त म के गरुँ ?

युवक : बाँकी जीवन हाँसेर बिताउने, सिर्जना र निर्माणमा खर्च गर्ने ।

युवती : तर यो एकदमै असम्भव छ ।

युवक : सम्भावनाको सानो फाँटमा प्रयासको एउटा बिरुवा रोपेर त हेर… !

युवती : फेरी यो पेटको…. ???

युवक : ( बिचैमा बोल्दै ) मैले धेरै पटक भनिसकें, जन्मन पाउनु पर्छ यसले ।

युवती : तिम्रो मतलव, म फेरी एउटा कुपुतलाई जन्म दिएर एुती कलङ्कित आमा बनूँ ।

युवक : कसलाई थाहा छ ? यो ईतिहासको सबभन्दा उत्तम युगपुरुष / नारी को रुपमा जन्मिन पनि सक्छ । बुद्दको प्रतिनिधिको रुपमा पनि त आउन सक्छ यस धर्तिमा ?

युवती : छोरा नै जन्मेला भन्ने के पक्का छ ?

युवक : के छोरीले चाँही युग नायिका बन्ने सामर्थ्य राख्दैनन् र ?

युवती : यो गर्भ अबैध हो, कसले दिन्छ यसलाई वैधानिकता ?

युवक : के म यो भार बहन गर्न सक्दिन ? के म लायक छैन र ?

युवती : यो तिमी के भन्दैछौ प्रभाकर ?

युवक : के हामी पुन: एउटै बाटो हिंड्न सक्दैनौ ? हाम्रो अधुरो प्रेमलाई मूर्त रुप दिन सक्दैनौ फेरी ?

युवती : यसको मतलव, अझै तिमी मलाई स्वीकार्ने पक्षमा छौ, प्रभाकर… ?

*

युवक : हरेक समस्याको समाधान भनेकै समझदारी हो । मान्छेले नै गर्छ भूल, तर सुध्रिनको लागि सहज बाटो पाएन भने अझ धेरै भूलहरु हुँदै जान्छन् । तिमीले मलाई छोडेर जानु एउटा सानो भूल थियो तिम्रो । तर जबर्जस्ती तिमी बलात्‍कृत भएर तिम्रो पेटमा हुर्किंदै गरेको शिशुको कुनै भूल छैन । यती सानो कुरालाई पनि हृदयंगम गर्न सकिन भने मैले के मानवताको कुरा गर्नु ? यो जटिल घडीमा हामीबिच आपसी सद्भाव रहन सकेन भने, हामी दुबैको जिन्दगी बर्बाद हुन सक्छ । मैले आफ्नो देश र समाजप्रतिको दायित्व झन्डै भूल्ने अवस्था सम्म पुग्नु तिम्रो प्रेम पिडाको कारण पनि हुन सक्छ । झगडा होइन, मिलेर समाधान खोज्नुपर्छ अब । सानातिना कुराहरुलाई पहाड बनाइनु हुँदैन । शान्तिपूर्ण आपसी समझदारी नै समाधानको उपयुक्त उपाय हो भन्ने वस्तुनिष्ठ तथ्य पेश गर्न चाहन्छु म यो अबुझ र द्वन्दग्रस्त समाजलाई । अनि यो खराब समाजको कुरुप चित्रलाई परिवर्तनको युगान्तकारी क्यानभासमा उतार्दै अग्रगमनतिर धकेल्न चाहन्छु । यो काम हामीले नै शुरु गरेर देखाइदिन सके,अरुले पनि सिक्ने थिए कि जस्तो लाग्छ मलाई… ।

*

युवती : ( आँखाबाट आँशु झार्दै ) तिमी महान छौ प्रभाकर । म छताछुल्ल भएँ तिम्रो उत्कृष्ठ मानवता देखेर । युगले तिम्रै पक्षमा सहिछाप गर्नेछ ।

*

युवक : ( भावुक हुँदै ) यो संसार थाम्ने चिज मायाँ र विश्वाश रहेछ अनामिका ! तिम्रो अभावमा मेरो जिन्दगी धेरै विषम बन्यो । उदास,उराठ र निराश मन लिएर निक्कै भौंतारिएँ म पिडाको भारी बोकेर । जीवन आँफैलाई भार हुन थालेको थियो । जिन्दगीदेखी अघाएर झन्डै-झण्डै मृत्‍युसँग सम्झौता गर्ने अठोट सम्म पुर्यायो मलाई यही मायाँले । मेरो मनभित्र एउटा नमिठो आर्तनाद भित्रभित्रै चहर्याइरहेथ्यो । तिम्रो अनुपास्थितिको जिन्दगी अभिषाप झैं लाग्दैथियो । कत्ती गहिरो प्रेम गरेको रहेछु मैले तिमीलाई । आँफै रुँदै, आँफै मन बुझाउँदै गर्दै थिएँ यो हिंसक र स्वार्थी समाजको रमिता बनेर । यहाँ, गुम्बामा आएर दुर्लभ शान्तिको खोजी गर्दै थिएँ , भिक्षुका कुराले अलिकती प्रेरणा मिल्यो बाँच्ने । प्राप्ती मात्र प्रेम होइन, भन्ठानेर जीवन संघर्ष गर्ने झिनो प्रयास हुर्काउँदै थिएँ । तिमी आयौ, मुटुमा बिझेको काँढा निस्किए झैं लाग्यो । सबैथोक पाए जस्तो अनुभव भयो । मरीसकेका रहरहरु फेरी बौरिए । बाँच्ने इच्छा प्रवल भएर आयो ममा एकाएक । समयको खेलले हामीमा सामिप्यताको ध्रुवीकरण ल्याए पनि अन्तत: मेरो पवित्र प्रेमको शक्तीका कारण तिमीलाई कसैले हर्न सकेन मबाट । अब हामीले मान्छेलाई मानवताको डुंगा खियाउने तरिका देखाउन मात्र सक्यौं भने पनि यो भूगोलमा बिद्द्यमान शत्रुताको बाढी केही हद सम्म सङ्लिन्छ कि जस्तो लाग्छ मलाई । ( छेउको उही लाश देखाउँदै ) यि हेर, यो वेवारीसे लाश… लामो समयदेखी अलपत्र छ । एउटा पागल आएको थियो, मलामी खोज्न गएको उतै हरायो । शायद ऊ पनि कसैको निशानामा पर्‍यो होला । एउटा बृद्द र एक किशोर आफ्नो अपहरित खुशी र अधिकारको रिहाई माग्दै भौँतारिदै थिए,कहाँ पुगे होलान् ? साँच्चै अनामिका, अब मानवताको लागि केही गर्ने जाँगर पलाउनै पर्दछ हामीमा । ( युवतीको हात समात्दै ) आऊ ! शान्ती,समझदारी,भाइचारा र मेलमिलापको यात्रा हामीबाटै शुरु गरौं । यही बिन्दु,प्रसङ्ग र मुद्दाबाट थालौं सानातिना कुरालाई बिर्सेंर एकार्कालाई स्वीकार्नु पर्दछ भन्ने मान्यताको श्रीङ्खला । हामी नै नमुना बनेर देखाइदिऔं, यो समाजका पथभ्रष्ट पथिकहरुलाई । आऊ ! अब हामी यो वेवारीसे लाशलाई आफ्नोपन दिएर उठाऔं । मान्छेले लगाएको मान्छेको घाउमा महलम पट्टी लगाऔं । शन्ती र सद्भावको शङ्खघोष गरौं । आपसी वैमनश्यता हाम्रा आ-आफ्ना विगत सँगै छोडिदिऔं । अब अलग बाटो होइन, एउटै बाटो हिंडौ । एक्लै होइन, सँगै हिंडौ । ” आऊ ! हामी सँगै हिँडौ ।” त्यो सुदूर,सुन्दर र उज्यालो गनतव्य छुन… ।

*

( युवक र युवती हातेमालो गर्दै लाशतर्फ लम्किन्छन् । मन्चमा एकाएक उज्यालो प्रकाश देखिन्छ । गुम्बाभित्र र वरिपरी पुन: दियोहरु बल्न थाल्दछन् । नेपथ्यबाट ॐ शान्ति… ॐ शान्ति… ॐ नमो बुद्दाय… ॐ नमो बुद्दाय… ॐ शान्ति… गुन्जिरहन्छ,निरन्तर… निरन्तर… । )

*

।। पटाक्षेप ।।  

*

[ पर्दा खस्छ ]

*


( रचनाकाल : २०६२ )

*

 

 

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *