नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी

~मनोज घिमिरे र रजित ओझा~

एक

इडाहाओ सधैँजस्तै आज पनि चिसो थियो । आफ्ना हर्क्युलियन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँनै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर आज पनि बलेका आँखाले केही खोज्दै थिए ।
एक्कासि मेरो मोबाइल बज्यो । अनुप रै’छ । “आज कहाँ भेट्ने ?” उसले हतारिँदै सोध्यो ।
“त्यहीँ त होला नि, सधैँ भेट्ने ठाउँमा ।” “हो, त्यहीँ जाऔँ मलाई फाप्छ त्यहाँ ।” “तँलाई त जहाँ पनि फाप्छ नि !” “हा.. हा.. हा…” म एक चोटि लामो हाँसो हाँसेँ ।
“सिका न यार हामीलाई पनि ।”
“म एउटा सच्चा प्रोफेसनल, दश डलर पर आवर लाग्छ ।”
“धेरै नकरा, भो सिक्दिन त्यस्ता मुला ।”
“के मुला, यो ? स्याललाई अङ्गुर अमिलो भने जस्तो गर्छ, यही त हो नि साथी लाइफ भनेको ।” “तेरा लागि ।” “ल ल भयो, आउँदा सोनाम र विकासलाई पनि फोन गर है त । उतै भेटौँला बाई ।” आजको शुक्रबार सधैँ जस्तै हाम्रो योजना बन्यो युथक्लब जाने । यही एक रात हो हप्ताभरिमा, हामी मान्छे भएर बाँच्ने ।
वाइन, पुल, डिस्को, हप्तामा यिनै त हुन् चार पाँच घण्टा । कस्टडी (पुछ्ने काम) को काम सकेर नुहाएर म हतारहतार आफ्नो बाटो लागें । त्यहाँ पुग्दा त केटाहरू सबै आइसकेका ।
“के छ केटा हो ?” सबैले हात मिलायौँ ।
“आज कस्तो चक्लेट खाने त ?” अनुपले मलाई हाँस्दै सोध्यो ।
“हेर्दै जाओ ।” म पनि हाँस्दै अघि बढेँ ।
हातमा एकएक ग्लास वाइन लिएर हामी पुलहाउसतिर छिर्‍यौँ । पुलहाउसतिर त्यति भीड थिएन । हामी चारजना साथीहरू पुल खेल्दै थियौँ । हो, त्यत्तिखेर नै त हो नि मैले क्याथरिनलाई देखेको । टाढाबाट हेर्दा त्यति राम्री त होइन तर एक्ली केटीलाई कुनामा बसेर पिइराखेको दृष्यले मलाई आकर्षित गर्‍यो । सधैँ जस्तै, बानीले विवश म, थेगिइरहन सकिनँ । उसको नजिकै गएर बसेँ र एक पेग वाइन अर्डर गरेँ ।
“एक्लै हो ?”
मैले शुरु गरेँ तर उसले वास्ता गरिन । आफ्नै धुनमा पिइरहेकी थिई । त्यतिबेला मैले उसलाई नजिकैबाट नियाल्ने मौका पाएँ । नजिकबाट भने अली राम्री थिई । गलासम्मको खैरो कपाल, चुच्चो नाक, गोरो तर छ्याके–छ्याके परेको छाला, उमेर भने बीस–बाइसतिरकी हुनुपर्छ । तर मलाई सबैभन्दा उसको ओठले लोभ्याएको थियो । टिपिक्क परेको, रातो गुलाबको पत्र जस्तो । ह्वीस्कीको रसमा लतपतिएर कति रसिलो भएको थियो मेरो आजको चक्लेट । मैले मनमनै गमेँ– मेरो आजको समय बरबाद हुनेवाला छैन ।
“यत्रो उमेरमा पनि तिमीले आफूलाई मेन्टेन गरेकी रहिछ्यौ, तिमी निक्कै नै बैँशालु देखिन्छ्यौ ।” यो मेरो अचुक अस्त्र थियो, केटीहरूसँग कुरा शुरु गर्ने । केटीहरूलाई आफ्नो उमेरको धेरै महत्व हुन्छ ।
“तिम्रो अर्थ के हो ?”
यसपालि पनि मेरो अस्त्र खेर गएन । पाएको मौका म किन छोड्थेँ र ! “किन, तिमी सत्तरी वर्षकी होइनौ र ? भगवान्ले तिमीलाई बनाउन कम्तिमा पनि पचास वर्ष लगायो होला ।” “राम्रो पिकअप लाइन रहेछ ।” ऊ कटाक्ष गर्दै हाँसी । शायद उसलाई थाहा थियो, आफू कति राम्री छु भन्ने । “एक्लै किन ?” मैले सोधेँ । “म कहाँ एक्लै छु त ?” “कोसँग त ?” म अली सतर्क भएँ । “तिमीसँग ।” ऊ हाँसी । मोरी त म भन्दा छिटी रहिछे ।
“पुल खेल्न जाऔँ न त, मेरा साथीहरू पनि छन् ।” “को ? ती केटाहरू !” उसले फर्केर हेर्दै सोधी ।
“हो ।”
“केटाहरूसँग ?”
“हो तर मलाई गलत नबुझ । म गे होइन ।” ऊ फेरि हाँसी, मेरो चक्लेटमा वेफर थपे जस्तो थियो । “जाऔँ न त, पुल खेल्ने गरेको छैन ?”
“त्यस्तो केटाकेटीले खेल्ने गरेको ठाउँमा म जाने गरेको छैन ।” “कहाँ जान्छ्यौ त तिमी ?” “डिस्को, जाने भए डिस्को जाऔँ ।” मैले किन नमान्नु थियो र, उसलाई अघि लगाएर म पछि–पछि लागेँ । केटाहरूलाई टाढैबाट बाई । हाँस्दै थिए मोराहरू । डिस्को तातिसकेको थियो ।”सेक योर बोन–बोन” रिक्की मार्टिनको यो नम्बरसँगै तरुनाहरू मस्त भइसकेका थिए । ऊ पनि मेरो हात समातेर हत्तपत्त हामफाली हाली । राम्रो नाच्दीरहिछे मोरी, कम्मर मर्काउँदै मर्काउँदै गीतले भनेको मान्दैथिई । केहीबेर नाचेपछि हामी थाक्यौँ । उसले मलाई बारतिर तानी । मैले वाइन मागेँ, उसले ह्वीस्की । “के केटीले जस्तो वाइन खाएको ?” उसले सोधी । “मलाई ह्वीस्कीको स्वाद मन पर्दैन । वाइन खान रमाइलो, ह्वीस्की खाएपछि रमाइलो ।”
“मलाई त मन पर्छ, ह्वीस्कीको स्वाद !” उसले एक घुट्को स्वाट्ट पारी । उसको रातो ओठ ह्वीस्कीमा लतपतिएर अझ रसिलो भएको थियो ।
“सानोमा चक्लेट धेरै खान्थ्यौ हो ?” मैले सोधेँ । “किन ?”
“नखाने भएको भए तिम्रो ओठ चक्लेट जत्तिको रसिलो हुने थिएन होला ।” “नखाई थाहा पाएको ?”
“केही चिजहरूको स्वाद हेरेरै थाहा हुन्छ ।”
“तिमी धेरै गफ दिन्छौ, तर म अरु केटी जस्तो होइन । म यस्तोमा फुर्किन्न ।”
मलाई थाहा थियो यो कुनै नयाँ कुरा होइन । सबै केटीहरू आफूलाई अरुभन्दा अलग, नफुर्कने सोच्दछन् । तर यसलाई
शायद थाहा छैन, यो कुन दर्जाको शिकारीको अगाडि छे भनेर । यो शिकारी शिकार हेरेर चाल बदल्ने गर्छ ।
“तर म त साँचो बोल्दैछु ।” मैले फेरि पनि चारो फ्याँकेँ । “होइन ।” “किन ?”
“मलाई मैले पनि देखेकी छु ।”
“तर सुन्दरता त हेर्ने मान्छेको आँखामा भर पर्छ ।”
“साहित्यकारहरूको ।” “म पनि त हो नि ।” “ए !” “होइन हा हा हा…. त्यत्तिकै भनेको ।” म हाँसेँ ।
“हो, तिमी सधैँ गफ दिन्छौ ।”
“अघि मात्र हो ।” “साँच्चै ?” “मलाई कन्फर्म हुन देऊ न त ।” “के ?” “चक्लेट हो कि होइन भनेर ।” ऊ मुस्कुराई, मैले स्वीकृति पाएँ । आहा ! कति मिठो चक्लेट ! अझ भनौँ क्याड्बरी र ह्वीस्कीको स्वाद मिसाएको ।
धेरैबेर अलमलियो चक्लेटमा, पछि हेर्दा पो मेरा साथीहरू पनि आइसकेका । नाच्दैछन् मोराहरू, एक्लै ! गरी नखाने भए यिनीहरूले ।
दुवैले धेरै पिइसकेका थियौँ । उसलाई त लागीसकेको जस्तो थियो । तर मलाई अहिलेसम्म उसको नाम पनि थाहा थिएन । यहाँ नामको खासै महत्व हुँदैन । आवश्यकताको मात्र हुन्छ ।
“तिम्रो नाम के हो ?” “किन ?” उसले जोशिँदै भनी ।
“कुन फ्याक्ट्रीको चक्लेट रहेछ भनेर ।” “हा हा हा…” ऊ फेरि हाँसी स्वच्छन्द भएर, लाडिएको स्वरमा, लठ्ठिएको पनि हुन सक्छ । “क्याथरिन ।” “म रोशन ।” उसले खासै वास्ता गरिन । नेपाली फ्याक्ट्री मन नपरेको पनि हुन सक्छ ।
“म फिप्टिन्थ डाउनहल इन्डमा बस्छु ।” “नजिकै रहेछ त कोठा ।” यसपालि भने उसले वास्ता गरी ।
“नजिकै पनि, राम्रो पनि छ । मैले इन्टेरियर डिजाइन गरेको छु कोठामा, हेर्न जाने हो ?” “तिमी असाध्यै छिटो रहेछौ ।” “हो, मलाई स्पीड मन पर्छ ।” “अनि गफ दिन ?” “तिमी किन त्यस्तो भन्छ्यौ ?” “शायद तिम्रो नियत मैले बुझेको भएर ।” “तिम्रो पनि, किन तिमीलाई चक्लेट मन परेन र ?” “ठीकै, तर मलाई बेग्लै स्वाद मन पर्छ ।” “बनाउन सिकाउँदैनौ त ?” “मेरो ब्वाइफ्रेन्डसँग सिक ।” “मैले भनिसकेँ त, म गे होइन भनेर ।”
“मेरो ब्वाइफ्रेन्ड पनि, मैले खाऊ भनेको होइन, सिक मात्र भनेको ।”
ऊ सरासर अगाडि लागी । म पछिपछि उसको कारमा गएर बसेँ । यो हप्ताको शुक्रबार पनि अजिङ्गरलाई दैवले आहारा
पुर्‍याइदिए जस्तो छ ।
“हेर मेरो डिजाइन ।” कोठामा पुगेर मैले भनेँ ।
“गफाडी ! मलाई डिजाइनमा कुनै रुचि छैन ।” उसले मुस्कुराउँदै भनी ।
“मलाई पनि, बियर खाने हो ?” फ्रिज खोल्दै मैले प्रश्न गरेँ । “ह्वीस्की छैन ?” ऊ खाटमा पल्टिइसकेकी थिई ।
“छैन ।” “त्यसो भए चक्लेट नै खाऊँ ।” ऊ मुस्कुराई ।
यस्तो कुरामा म धैरै नै आज्ञाकारी छु । आज इडाहाओको जाडो धेरै नै मथ्थर भएको छ ।

आज पनि एलार्म त्यही समयमा बज्यो । यो चिसोमा कसरी उठ्ने होला ? मान्छे बानी पर्छ भन्छन्, बिहान उठ्ने मामलामा भने म कहिल्यै बानी परूँला जस्तो छैन । सधैँ यस्तै भावना आउँछ । आत्मबल बलियो बनाउँदै मैले कोल्टे फेर्दै हात अघि बढाएँ । एलार्म बन्द गर्दाको छेवैको स्पर्शले म झसङ्ग भएँ । हिजो त क्याथरिन पनि पो आएकी थिई त ।
मैले टाउको उठाएर उसलाई फेरि हेरेँ । निन्द्रामा मस्त छे ऊ । निदाउँदा झनै राम्री । पहिलो चोटी देखेभन्दा धेरै नै राम्री भइसकेकी थिई त्यो । मलाई अक्सर यस्तै हुने गर्छ । साँच्चै नै सुन्दरता हेर्ने मान्छेको आँखामा हुने गर्छ । नत्र ऊ त हिजोको जस्ती नै हो, अहिले किन यति राम्री त ? आहा ! झन त्यो ओठ । मलाई केटीहरूको सबैभन्दा मन पर्ने अङ्ग ओठ, कति मिलाएर बनाएको ! अलिकति फरक परे पनि नहुने जस्तो । भगवान्को समय जति सबै केटी बनाउँदा खर्च भएपछि अरु पशु कताबाट राम्रा हुन्थे त ?
”गुड मर्निङ्ग ।” उसले मेरो तन्द्रा भङ्ग गरी ।
“गुड मर्निङ्ग ।” मैले पनि उत्तर फर्काएँ । मोरीलाई फेरि चक्लेट खानुपर्‍यो । तर हिजोको जस्तो स्वाद छैन यसमा । “तिमी कहाँबाट आएको हो ?” बल्ल चासो लागेछ मेरो बारेमा । “नेपाल” “ए ! नेपाल ?” उसलाई थाहा रहेछ, नत्र सगरमाथाको र गौतम बुद्धको नामले आफूलाई चिनाउँदा चिनाउँदा दिक्क भइसकेको थिएँ । “म त्यहाँ जान चाहन्छु, राम्रो छ रे होइन ?”
“केलाई राम्रो भन्ने ? मलाई त यहाँनै राम्रो लागेर आएको ।” “हैन, प्रकृति, जङ्गल, ल्यान्डस्केप, ट्रेकिङ्ग गर्न धेरै रमाइलो छ भन्छन् त ।” “तिमीहरूलाई पैसा तिरीतिरी दुःख पाउन किन मन लागेको ?”
“कस्तो दुःख ?”
“त्यो पहाडको उकालो–ओरालो मरी–मरी हिँड्नु सुख हो त ?” “सुखभन्दा पनि रमाइलो हो । एड्भेन्चर । ए साँची, तिम्रै देशमा होइन, माउण्ट एभरेष्ट भनेको ? तिमी चढेका छौ ?” मैले सहन सकिनँ । हाँसो छुटिहाल्यो । काठमाडौँमै जन्मेर भ्याली बाहिर त दुई तीनपटक मात्र निस्केको मान्छेलाई ऊ सगरमाथाको कुरा गर्दैछे ।
“छैन, मलाई त्यो चढ्न मनै लाग्दैन ।” मैले पनि दिएँ दनक । “ए ! अनि तिमी स्टुडेन्ट होइन ? के पढ्दैछौ ?” “इडाहाओ स्टेट युनिभर्सिटीमा इन्भाइरोमेन्टल इन्जिनियरिङ !” “बोरिङ रहेछ ।” “किन ?” “के रमाइलो हुन्छ त त्यस्तो पढाइ ?” “पढाइ र दबाई कहिल्यै रमाइला हुँदैनन् ।” मैले ट्रेडिसनल एन्सर फर्काएँ । “तिमी घर जाने बेलामा मलाई खबर गर है, छुट्टी मिले म पनि जान्छु ।” “मोबाइल नम्बर छोड्ने बहाना खोजेको ?” मैले उसलाई जिस्क्याएँ ।
“तिमी आफूमा अली ओभरकन्फिडेन्ट छौ ।” “रोशन एउटा एडिक्सन हो ।” ऊ हाँसी, चित्त बुझेर वा नबुझी मैले छुट्याउन सकिनँ ।
“होइन मलाई साँच्चै नेपाल घुम्न जान मन छ । तिमी फर्किंदा भन है ।” मेरो मोबाइलमा आफ्नो नम्बर सेभ गरिदिँदै उसले भनी ।
“किन फर्किने ? म त यतै हो अब ।” “घर नफर्किने ? किन ?”
“मलाई यहीँ मन पर्छ । तिमीलाई नेपाल मन पर्छ भनेको होइन ? तिमी जाउ न त ।”
“जान्छु, तिमी नभए पनि जान्छु । तर फर्किहाल्छु । अनि तिम्रो स्टुडेन्ट भिसा भनेको होइन त ! कसरी बस्छौ ?” “तिमीसँग बिहे गरेर ।” “मेरो ब्वाईफ्रेन्ड छ ।” उसले मुस्कुराउँदै भनी । “ग्रिनकार्ड पाएपछि डिभोर्स गरौँला नि त ।”
“कत्ति बाठो, मलाई हतार छ, म लागेँ ।” “फेरि भेटौँला ।” “मलाई लाग्दैन, मेरो ब्वाइफ्रेन्ड अर्को हप्ता फर्किदै छ ।” “अनि फेरि कहिले जान्छ ?” मैले सोधेँ ।
ऊ हाँसी अनि ढोका ढ्याम्म पारेर कारमा हुइँकिई । स्पीड उसलाई पनि मन पर्छ क्यारे ।

 

दुई
काम सकेर म न्यानो लुगामा गम्म परेर बाटातिर लम्किएँ । अहो कस्तो चिसो, मुटु छेड्ला जस्तो । हिउँका स–साना कण कसैले छरेजस्तो ! वातावरण धुम्म परेको थियो, धेरै टाढासम्म नदेखिने । मात्र गाडीका हेडलाइटहरू चम्कँदै थिए । पहेँलो शितल प्रकाश फयाँक्दै चमकचमक । पहिला–पहिला त रमाइलो लाग्थ्यो तर अहिले कमन भएको छ । कमनभन्दा नयाँ किन मन पर्ने होला मानिसलाई ? चिसोले कठयाङ्ग्रिन खोजेका मेरा हातलाई पन्जाको सान्त्वना दिँदै मैले हातलाई स्टेयरिङ्गतिर बढाएँ । आज गाडी स्पीडमा कुदाइरहेको छु म । हतार छ मलाई, अरु साथीहरू आइसके होलान् । आज त जाडो छ, जे पर्ला–पर्ला भोड्का खान्छु आज त ।
“हे ड्युड्स ।” मैले सबैलाई अभिवादन गरेँ । अनुमान गरेजस्तै सबै साथीहरू आइसकेका रहेछन् ।
“हामी एउटा प्लान बनाउँदैछौँ, आशा छ तैँले साथ दिन्छस् ।”
“रोशन प्लानहरूमा प्रोब्लम होइन, रोशन प्रोब्लमहरूमा सोल्युसन हो । कस्तो प्लान हो ?” “भोलि बिदा, सल्ट लेकसिटी घुम्न जाने प्लान हो ।”
“धत्, यस्तो योजनामा मैले किन साथ नदिनु त, भ्रमण त मेरो रुचिभित्रको कुरा हो ।” “मैले पनि त्यही भनेको ।” अनुपले फेरि भन्यो ।
“अनि के भो त ?” “यिनीहरू नजाने अरे ।” अनुपले प्रमोद र विकासलाई देखायो ।
“किन ?” “सल्ट लेकसिटीमा हिउँ पर्छ भनेको छ यार ।” प्रकाशले स्पष्टीकरण दियो । “सगरमाथाको छोरा भएर हिउँ देखी डराउने ? हिउँ खेल्ने ठाउँमा हिउँ नपरेर के पर्छ त ?” “भो भो नकरा, जे होस् हामी चाहिँ नजाने ।”
अपठ्यारोमा फलेको फर्सी ! मैले मनमनै सोचेँ । खानाका साथसाथै हामीले धेरै वादविवाद पनि गर्‍यौँ । कोही हार्नेवाला थिएन । यति बेलाको खुन नै त्यस्तै हुन्छ, उम्लिहाल्ने ! जसले जे भने पनि नमान्ने । अन्त्यमा मन लाग्ने जति जाने मन नलाग्ने चाहिंँ नजाने भयौँ । म र अनुपसहित छजना जानेमा पर्‍यौँ । अरु तीनजना जुली, ब्रान्डी र थोमस । स्थानीय, दलित र महिला कोटामा परेका ! “तिमीलाई हिउँमा डर लाग्दैन ?” जाने बेलामा ब्रान्डी सोध्दै थिई । “माउण्ट एभरेष्टको नाम सुनेकी छ्यौ ?” “किताबमा पढेको छु ।”
“म त्यसमा चढेको छु । यो जाबो त केही पनि होइन । तिमी पनि नडराऊ, म हुन्छु नि तिम्रो ख्याल गर्ने ।” मैले पनि लाइदेँ गफ ।
“धन्यवाद ।” ऊ मुसुक्क हाँस्दै आफ्नो बाटो लागी । “मेरो भोलिको जागिर ।” एपार्टमेन्ट फर्किदै गर्दा मैले अनुपलाई भनेँ । “हो ? त्यसो भए म जुलीलाई ट्राई गरौँ त ?” “यो हब्सीलाई के गर्छस् नि ?” मेरो ईशारा थोमसतिर थियो ।
“त्यो फिस्टी जुलीले यो राक्षसभन्दा त मलाई नै मन पराउली नि ।” “केटीहरूलाई टि.भी.को स्क्रीन हैन, रिमोटसँग मतलब हुन्छ । तँलाई गाह्रो छ ।”
“नकरा ।” उसलाई शायद मेरा कुरा रमाइला लागेनन् । साँच्चै थोमस अजङ्गको थियो, ठूला हातखुट्टा, चौडा छाती– हुनुपर्ने सबै ठाउँमा मांशपेशी मिलेको, लट्टा परेको कपाल अनि असाध्यै कालो ज्यान, शायदै भगवान्ले यति कोइला हाल्लान् अब बनाउने जीउहरूमा । अँध्यारोमा आँखा र दाँत मात्र देखिन्थ्यो । सँगैमा जुली भने फिस्टी थिई । सेतो छाला, कैलो कपाल, खैरो आँखाले भने स्वभाविक आर्कषण दिएका थिए । ब्रान्डी भने पाक्कपुक्क परेकी थिई, धेरै मोटी त होइन तर ठूलो चेहेडा गरेकी ।
“म पनि सुनौँ न गफ ।” थोमसले नेपाली नबोल्न आग्रह गर्‍यो । अजङ्गको भए पनि साह्रै मिजासिलो छ मोरो ।
“म ब्रान्डीको बारेमा कुरा गर्दै थिएँ, मलाई त्यो असाध्यै मन पर्छ ।”
“ए हो ? तर मलाई त जुली मन पर्छ । भोलि म उसलाई डिनर अफर गर्छु । मान्ली नि हगि ?” “मानिहाल्छे नि ! तँ जस्तो बिल्ट अप, बलियो मान्छे त जसले पनि मन पराउँछ नि । भोलि भन् फरक जाँदैन ।” अनुपले मेरो पाखुरामा मुक्का बजाउन थालेपछि मैले कुरा अन्यत्र मोडेँ ।
“साँच्ची आज तेरो गाडी के भएको ?” “ग्यारेजमा छोडेको छ, थोरै प्रोब्लम आयो ।” “जुलीले लिफ्ट देली भनेर त होइन ?” ऊ लजायो । म भने थोमस उत्रेपछि अनुपबाट कसरी बच्ने भन्ने सोच्दै थिएँ । थोमसलाई छोडेर हामी अनुपको एपार्टमेन्ट अगाडि आइपुग्यौँ । उत्रिँदै गर्दा उसले दृढताका साथ भन्यो ।
“तँ हेर्दै जा, भोलि जुली मसँगै हुन्छे ।” मैले मुस्कुराउँदै गाडी आफ्नो एपार्टमेन्टतिर फर्काएँ ।

आज भने मलाई एलार्मको पहिलो घण्टी पनि प्यारो लाग्यो । मैल उठ्नलाई समय खेर फालिनँ । तर यो जाडोमा नुहाउने कसरी ? मैले पछिल्लो पटक आफूले कहिले नुहाएको हो भनेर सम्झना गर्न खोजेँ । अनि काखीतिर नाक डोर्‍याएँ… आ… संसार त्यही कुरामा विश्वास गर्छ जुन उसले देख्ने गर्छ । शायद ब्रान्डी पनि ! बडी स्प्रेको सकेसम्मको मद्दत लिएर सबैभन्दा सफा लुगा लगाइसकेपछि म ब्रान्डीको एपार्टमेन्टतिर लागेँ । हुन त अनुपको एपार्टमेन्ट नजिकै पर्ने हो तर गाडीको अघिल्लो सिटमा त मैले ब्रान्डीलाई राख्नुपर्ने थियो । ब्रान्डी पनि ठीक परिसकेकी रहिछे ।
“माउण्ट एभरेष्ट चढ्नलाई हिँडेको हो ?” मैले उसको लवाई नियाल्दै प्रश्न गरेँ । उसको लवाई त्यस्तै थियो । शेर्पा दाइले लगाउने बख्खु जस्तै । एक त भुक्की त्यसमाथि त्यस्तो ड्रेसअप ! भकुण्डो देखिएकी थिई । एक लात हान्यो भने सिधै सल्ट लेकसिटी नै पुग्ली जस्तो ।
“तिमी चढेको ठाउँ होइन ? नेपाल घुम्न जाँदा म पनि जानेछु त्यहाँ ।” “जालिस मोरी सगरमाथा” मैले मनमनै भनेँ । “तिमीले किन त्यस्तो भनेको ?” उसले शायद मैले जिस्क्याएको बुझिन । “तिम्रो कपडा देखेर । ओभर कसियस भयौ कि जस्तो लाग्यो ।” “होइन, म जाडो सहन सक्दिन त्यसैले, गर्मी भए फुकालौँला न ।”
हामी गफ गर्दै अनुपकोमा पुगिसकेका थियौँ । मैले गाडी रोकेँ । अचम्म ! अरु पनि आएछन् । जुली र थोमस सँगै थिए अनुप भने अलग्गै बसिरहेको थियो । आज चाँडो भएँ भनेको त्यो पनि ! “किन केटा हो, मुड चेन्ज्ड ?”
“आज मौसम बिग्रिदैन रे त्यति ।” प्रमोदले प्रष्ट्यायो । मलाई थाहा छ यो प्रमोदको गफ हो । उसको भाउ खोज्ने बानी छ, अरुलाई पनि यसैले भड्काएको हो हिजो । भाउ नपाएपछि आयो लुरुलुरु ।
ब्रान्डीले गाडी चलाउँछु भनी, जुली थोमस र प्रमोद अर्को गाडीमा गएपछि अनुप भने हाम्रो गाडीमा आएर बस्नै पर्‍यो । “जुली खोइ त ?” म अनुपलाई नजिस्क्याइरहन सकिन । “थोमससँगै गई ।” म सहन नसकेर जोडले हाँसे । अनुपको अनुहार हेर्न मन लागेन, पक्कै त्यो रातो होला रिस र लाजले ।
“के भयो र ?” मेरो ठूलो हाँसोले शायद ब्रान्डीको ध्यान मतिर खिच्यो । “केही होइन, राम्रो ड्राइभरले गफमा ध्यान दिँदैन ।” मैले उसको ध्यानलाई सडकमै फर्काउने प्रयास गरेँ । “प्रमोद पुल्चोकभन्दा थोरै पनि सुध्रेको छैन है ? अहिले पनि सानो–सानो कुरामा भाउ खोज्छ ।”
साँच्चैनै अनुपको कुरा ठीक थियो । सानो कुरालाई पनि निकै जटिल रूपले हेर्ने हुनाले ऊ मेरो खासै नजिक थिएन पुल्चोकमा, यहाँ आएपछि त नेपालभित्रको जो भेटे पनि साथी जस्ता लाग्छ । झन ऊ त चार वर्ष सँगे बिताएको मान्छे थियो । प्रमोदको बारेको गफले मलाई एक छिन भए पनि पुल्चोक क्याम्पस फर्कायो ।

आई...,पुल्चोक क्याम्पस
२०६१

गेटबाट हतार हतार गर्दै ओरालो झरेँ चुनावमा उठ्न खोज्नेहरू दुईचार जनासँग मन नलागी नलागी हात मिलाउँदै तल होस्टेलको गेटसम्म झरिसकेको थिएँ
र्स्पोट्स विक आउन आँटेर होला पुल्चोकेहरूमा जोश जाँगर थियो, ग्राउण्ड खचाखच थियो होस्टेल छिरेँ, सधैँ जस्तै आज पनि निषेधाज्ञाले भरिएको बोर्ड पढेँ झ्यालब।ट गर्ल्स होस्टेलका केटीहरूलाई शिशा टल्काउन नपाउने, हिटर बाल्न नपाउने आदिआदि २०३सिअगाडि फुटबलका बुटहरू गन्हाउने मोजाहरू छरपष्ट थिए प्यासेज सिङ्गो बाग्मती बोकिरहेको थियो तीन वर्षदेखि यस्तै हे मुलाहरू, आज मस्त म्यारिज खेलौँला भनेको केटाहरूको टप हान्ने विचार आएछ ढोका घरक्क खोल्दा केटाहरू
रिपोर्ट बनाइरहेको देखेपछि मैले जिस्क्याएँ
नकरा ! हिजो पनि केटाहरूले रातभरि कम्प्युटर छोडेनन् स्ट्रक्चरको एसाइनमेन्ट बुझाउनु पर्दैन ?” मेरो ध्यान भनें उसका बोलीमाभन्दा टेबलका सि.डी.मा थियो नयाँ हो ?” सि.डी. उठाउँदै मैले प्रश्न गरेँ मैले तेरो लागि कपी गरी दिएको छु तर प्लिज यार आज नभन् अरु कुनै दिन हिजै दिक्क भइसकेँ हेर्दा हेर्दा ” “ठीक दामनमा हिउँ परेछ, आशिष होस्टेलबाट थुप्रै होलान् भनेर सर्च गर्न आएको मैले हिटर बालेर त्यसमा चुरोट सल्काएँ
रमाइलो हुन्थ्यो यार यो एसाइनमेन्ट चाहिं कहिले गर्ने नि ? ”उसले मेरो हातको चुरोट खोस्दै प्रश्न सोध्यो सार्न पाइहालिन्छ नि, बिल्डिङ्ग टेक्नोलोजीको क्लास लास्ट बेन्च केका लागि ?” मैले उपाय झिकेँ को को जाने लिष्ट बनाऊँ अनि त्यसपछि गाडी खोज्न पाटन जाउँला ” “ …अनि २०४ बाट प्रमोद शिवे ” “प्रमोद जान्छ ?” मैले शङ्का गरेँ
किन नि ?”
गएर सोध , रुघा लागेको दिदीकोमा जानु यस्तैयस्तै बहाना बनाउला त्यसले हामी गयौँ प्रमोद, दामन जाने हो ?”
के गर्न ?”
दामन के गर्न जानु ? हिउँ खेल्न नि ” “मलाई अलीअली रुघा लागेको , ज्वरो आउला जस्तो भएको यार प्रकाशले पुलुक्क मतिर हेर्यो मैले हाँसो थाम्न सकिन ठीकै ज्वरो अली निको भए भोलि बिहान सोच्दा पनि हुन्छ मैले उसलाई हरियो झण्डा देखाएँ कुनै नयाँ कुरा थिएन, बिहान हामीसँगै थियो

“निदाइस कि क्या हो ?” अनुपले मेरो टाउकोमा प्याट्ट हिर्काएपछि म पुल्चोकबाट यु.एस.ए. फर्कें । “किन ? तँ निदाउन सकेको छैनस् है ? केही छैन साथी अझै पूरै दिन बाँकी छ ।” “भो नकरा !”
मेरो उद्देश्य उसको मोराल बुष्टअप गर्नु थियो । तर ऊ चिढिएको थियो । मैले बढी बोल्नु उचित ठानिनँ । मैले यसो छेउमा बसेकी ब्रान्डीलाई हेरेँ । के हेर्नु ? मुस्लिम केटी जस्तो, आँखा र नाक मात्र देखिएको छ । लुगा पनि कस्तो लगाएको, हिन्दी फिल्ममा त हिउँमै पनि स्कर्टमा नाच्छन् त हौ हिरोइनहरू, यो चाहिँ कस्ती । वरिपरि कुनै गर्मी ठाउँ भए बरू त्यहाँ टुर जानु हुन्थ्यो ।
“शुरु गर न त तेरा स्टेप्सहरू, कि मैले डिर्स्टब गरेँ ?” अनुप सेलाइसकेछ क्यार । “अनि सिकौँला भन्दोहोस् ।” मैले हाँस्दै उत्तर फर्काएँ ।
“भो भो तँ मुला पनि गफ दिने त होस् नि, गर्ने भए मेरो अगाडि गरेर देखा न ।” ल यसले त मलाई च्यालेन्ज पो गर्‍यो बा !

“बाजी ठोक्छस् ? म यसलाई तेरै अगाडि किस गरेर देखाइदिन्छु ।” “ल त सय सय डलर ।” हामीले डन गरेर हात ठोक्कायौँ ।
मैले आफ्नो शिकार यसपालि पृथक ढङ्गले गर्ने विचार गरेँ । ब्रान्डीको मुखभन्दा विपरीत मुण्टो फर्काएर म बाहिर हेर्न
थालेँ चुपचाप ।
“किन यत्रोबेरसम्म चुप ?” मानौँ ब्रान्डी मैले नै अराएका शब्दहरू बोल्दै थिई यसपटक ।
“केही होइन विगतलाई सम्झेको ।” मैले उत्तर फर्काएँ । “तिमीलाई पहिलो पटक यति चुपचाप देखेको ।” शायद ऊ मलाई बोल्न आग्रह गर्दै थिई । “मान्छे बाहिरबाट जे देखिन्छ भित्रबाट त्यही नै हुनुपर्छ भन्ने जरुरी छैन नि । वास्तवमा म एकदम गम्भीर मान्छे हुँ ।” ऊ एकोहोरो गाडी हाँकिरहेकी थिई । शायद मेरो कुरा पत्यार लागेन । मैले साँचो बोल्नु नबोल्नु उस्तै हो । कसैले पत्याई
न दिँदैनन् । “गाडीभरि त सजिलै बसे पनि हुन्छ नि,ज्याकेट खोलेर ।” आखिर मलाई पनि त मोटिभेसन फ्याक्टर चाहियो गफ फुराउनलाई ।
“हो है ।” उसले ज्याकेट खोलेर पछाडि फ्याँकी, अनुप भने ध्यान दिएर मेरो गफ सुन्दै थियो । बिचरा ! उसलाई के थाहा
यो भनेको स्वतस्फूर्त फुर्ने कुरा हो, रट्ने कुरा होइन भनेर ।
“तिम्रो किन कोही ब्वाइफ्रेन्ड छैन ?” मैले एक्कासि सोधेँ । “थियो स्कुलमा ।” उसले पुलुक्क मतिर हेरी । “अनि अहिले ?” “ब्रेकअप भइसक्यो ।” “किन ?” “उसले मभन्दा सुन्दर कोही भेट्यो शायद ।” उसले गेयर चेन्ज गर्दै जवाफ दिई ।
“तेरो गफले आज हाम्रो एक्सिडेन्ट हुने भयो । यसको ध्यान पक्कै पनि अब रोडमा छैन ।” अनुपले मेरो कानैमा साउती गर्‍यो । तर ब्रान्डी भने हाम्रो साउतीसँग अनिभज्ञ थिई । शायद ऊ पनि अतितमा नै पौडँदै थिई । मलाई शङ्का त लागेको थियो, ब्रान्डी भावुक प्रकारकी केटी हो भन्ने बल्ल आज कन्फर्म भयो ।
“मलाई यु.एस.ए.को सुन्दरताको ब्याख्या नै मन पर्दैन ।” म फेरि आफ्नै टपिक्समा फर्कें ।
“जस्तै ?”
“जस्तै अधिकांश मानिसहरूको दिमागमा राम्री भन्ने बित्तिकै दुब्ली, खिरिली, चिक बोन देखिने गाला, ब्युटी बोन देखिने कुम आउँछ ।” “अनि तिम्रो ?”
“मलाई त पाक्कपुक्क परेको मन पर्छ, ठूलो जिउ, ठुल्ठूला पुठ्ठा, ठुल्ठूला…”
“के तिम्रो इशारा मतर्फ हो ?” उसले मेरो वाक्य पूरा हुन दिइन । बाजीको कुरा थाहा पाई कि क्या हो ? “किन तिमीलाई आफू नराम्री छु जस्तो लाग्छ र ?” “नराम्री नै त होइन तर राम्री पनि छैन म ।” “तिम्रो घरको ऐना बिग्रे जस्तो छ ।” उसले जवाफ फर्काइन । शायद म धेरै नै गफ दिइरहेको छु । म भावुकतासँग सम्वन्धित अर्को विषय खोज्न वाध्य भएँ ।
आहा ! मैले भेटेँ र यसमा त सत्यता पनि छ ।
“कहिलेकाहीँ यो बिरानो देशमा मलाई मेरो घर परिवारको धेरै याद आउँछ ।”
उसले अचम्म मानेर मतिर हेरी । ऊभन्दा अचम्म झन अनुप हुँदै हाला । तर के गर्नु फुर्न थालेपछि म आफ्नै वशमा हुन्न ।
“तिम्रो परिवारमा को को हुनुहुन्छ ?”
नेपालमा भए यो प्रश्न अचम्मको हुन्थ्यो । एउटैे क्लासमा भएर पनि हामीलाई एक अर्काको परिवारको बारेमा केही थाहा थिएन ।
“म बुवासँग छु, हामी दुई जना ।” अब भने ऊ फटाफट जवाफ दिँदै थिई । “अनि आमा ?” “वहाँले मेरो बुवालाई धेरै अगाडि छोड्नुभएको ।” उसले सहजै जवाफ फर्काई । मलाई सरी भन्न मन लाग्यो तर यहाँ त्यति वास्ता हुँदैन । “तिम्रो नि ?” ऊ मप्रति पनि चासो देखाउँदै थिई । सफल हुँदैछु म ।
“मेरो त भरिभराउ छ । बुवा, आमा र एउटा भाइ । आइ रियल्ली मिस देम हियर ।” “किन छोडेर आएको त ?” “शायद तिमीसँग भेट हुन ।” मैले अब कुराकानीलाई हलुका बनाउने निर्णय गरेँ । “गफाडी ।” “तिमीलाई अचम्म लाग्यो है मेरा कुराहरू सुनेर ।” “साँच्चै तिमी बाहिरबाट त्यस्तो देखिदैनौँ ।” “यो मेरो सफलता हो ।”
“तिम्रा कुराहरू साँच्चै रमाइला हुन्छन, मलाई तिम्रो कुरा गर्ने शैली एकदम मन पर्छ ।”
“अनि मलाई तिमी ।” म बिस्तारै उसको सिटतिर लम्किएँ । उसले गाडी घ्याच्च रोकी । उसको सासको गति बढेको मैले आभाष पाएँ । उसले बिस्तारै आँखा चिम्लिई सर्मपित भएर । तर अनुपको आँखा शायद च्यातिँदैछन होला । तर म यसलाई ट्रेलर मात्र देखाउँछु । पूरै फिल्म त मात्र मेरो लागि हुनेछ । म झ्वाट्ट आफ्नो सिटमा सरेँ । ब्रान्डी फेरि गाडी कुदाउन ब्यस्त भई । शायद उसले बल्ल अनुप पछाडि छ भन्ने चाल पाई । अनुप चाहिँ बाजी हारेको पैसा गन्दै होला ।
हामी बेलैमा सल्ट लेकसिटी पुग्यौँ । प्रमोदले भने जस्तो एकदम धेरै हिउँ परेको त होइन तर इडाहाओको भन्दा धेरै हो । गाडी पार्क गरेर हामी घुम्न निस्कियौँ । अरु जोशिँदै अघि–अघि थिए । ब्रान्डी र म भने पछि–पछि । आज म यसलाई दिनभर छोड्ने छैन । अनुप अगाडि नै थियो । शायद उसले मबाट थियरी पार्ट सिकिसके जस्तो छ । मे बि…हि इज ट्राइङ्ग फर प्राक्टिकल नाउ !
सेन्ट्रल सल्ट लेकसिटी हाम्रो ब्रेकफाष्टको लागि पर्फेक्ट स्पट थियो । सस्तो र इन्डियन होटल धेरै भएको ठाउँ ।
ब्रेकफाष्टमा मैले त एक थाल भात नै बजाइदिएँ । हामी नेपालीलाइ भातभन्दा प्यारो केही हुँदैन । मैले मस्तसँगले माछाभार्त खाएको ब्रान्डी चाहिँ अचम्म मानेर हेर्दै थिई ।
बजार भने असाध्यै रमाइलो रहेछ । पुरातनकाल र आधुनिकता अँगालो मारेर एक आपसमा अभिवादन गर्नमा ब्यस्त जस्तो । चाक्ला बाटाहरू, बडेमानका एकै किसिमका घरहरू तर सजावटका प्रकारहरू भिन्दै मानौँ म सय वर्षपछिको भक्तपुरमा छिरेको थिएँ । वास्तवमा आज मलाई नेपाल अनौठो किसिमले घरीघरी याद आउँदै थियो ।
साह्रै रमाइलो भयो दिनभर । राति फर्किने बेलामा भने फेरि विवाद चर्कियो– त्यहीँ बस्ने कि फर्किने भनेर । मन त मेरो पनि बस्ने नै थियो तर ब्रान्डी फर्कन आतुर थिई, मैले पनि फर्किने नै भनेँ । अनुपलाई अर्को गाडीमा बसाएर ब्रान्डी र म मात्र मेरो गाडीमा फर्कियौँ । बाटोमै मलाई सि.भी. मा अर्को चक्लेट थप्नु पनि त थियो ।

तीन

“त्यसो भए मानव समवेदना केही होइन त ?” मैले ब्रान्डीलाई प्रश्न गरेँ ।
मलाई गम्भीर विषयमा कुरा गर्नलाई ब्रान्डी मन मिल्ने साथी भएकी छे आजकल । उसलाई जीवनसाथी बनाउने मेरो धोको थिएन, न उसको नै तर हामी राम्रा साथी भने भएका थियौँ । उसले शायद पहिलो पटक मभित्र पनि गम्भीर मान्छे छ भन्ने पत्ता लगाई । आजको कुरा भने सद्दाम हुसेनको मृत्युदण्डको कुरालाई लिएर थियो ।
“त्यो हाम्रो देशको हितमा थियो । देश भनेकै मान्छेहरूको झुण्ड हो नि… होइन र ?”
“मलाई बुश पटक्कै मन पर्दैन । ऊ एउटा तानाशाह हो ।” “तर मलाई त मन पर्छ, किनकि उसको तानाशाही हाम्रै सुरक्षाका लागि हो ।” उसले सहज ढङ्गबाट जवाफ फर्काई । “तिमी त्यसलाई विश्व समुदायसँग किन दाँज्दिनौ ?”
“किनकि अमेरिका एउटा आइडल हो । विश्वका प्रत्येक मान्छे या त आफ्नो देशलाई अमेरिका बनाउन चाहन्छन् या त आफ्नो देशलाई माया मारेर अमेरिका आउन चाहन्छन् ।” मैले आफ्नो धरातल दाँजेँ । म पक्कै दोस्रो वर्गमा थिएँ । के मभित्रको नेपाली मरिसकेको छ त ? शायद, वा शायद म यसलाई मार्ने प्रयत्न गर्दैछु ।
“दशैँ आइसकेछ यार । हामी नमनाउने दशैँ ?”
अनुपको प्रश्नले मेरो तन्द्रा भङ्ग गर्‍यो । हिजो आमालाई फोन गर्दा जमरा राख्ने दिन पर्सि भन्दै हुनुहुन्थ्यो । तिमीहरूको के योजना छ भनेर सोध्दै हुनुहुन्थ्यो । कुनै योजना नै बनेको थिएन– मैले पनि त्यही भनेँ । हो त्यही क्षण थियो मलाई पहिलो पटक विदेश बसाई नरमाइलो लागेको । साथीसँगी, ती होटलका पार्टीहरू, दाजुभाइहरूसँगै अँगालो मारेर हिँडेको, सडक बीचमा, लर्बराउँदै, एक अर्कालाई थेग्दै । मैले भगवान्सँग प्रार्थना गरेँ– हे भगवान् पन्ध्र दिनलाई भए पनि मलाई टु वे टिकट मिलाइ देऊ ।
“हामी भरे भेला हौँ न त मेरो कोठामा, के गर्ने त्यहीँ छिनोफानो गरौँला ।” मैले जवाफ फर्काएँ । “केही सिरियस कुरा हो ?” ब्रान्डीले हाम्रो गफमा चासो देखाई । “खासै होइन । हामीहरूको फेस्टिबल सिजन आउँदैछ क्या ।”
“ल है त भरे तेरो कोठामा ।” अनुप अरुलाई पनि निम्ता पुर्‍याउन त्यहाँबाट हिँड्यो । ब्रान्डी र म पनि एकछिनपछि छुट्टियौँ ।
“खसी त काट्नैपर्छ केटा हो जसरी भए पनि, खसी नकाटेको दशैँ पनि के दशैँ ।” अनुपले जोशिँदै भन्यो ।
“अनि खसी खोज्न कहाँ जाने नि ? यहाँ त भेडा मात्र भेटिन्छ ।” प्रमोद अली दुरदर्शी थियो ।
“म बाहेक यहाँ भएका जसलाई काटे पनि भइगो नि ।”
सबैजनाले मलाई घुरेर हेरे । शायद मेरो यो ठट्टा कसैलाई पनि मन परेन । “हाम्रो लागि मात्रै भए पनि अर्डर गरेर ल्याउनु पर्छ ।”
“हो हो, नेपालबाटै प्लेन चार्टर गरेर मगाऊँ न खसी । अनि जीवन भर काम गर्दै ऋण तिर्दै, ऋण तिर्दै काम गर्दै ।”
सबैको हाँसोको फोहोरा छुट्यो । तर अनुप पनि चाँडै कहाँ हार्थ्यो र !
“जेसुकै गरेर होस् खसी नै काट्नुपर्छ । तिमीहरू कोही मान्दैनौ भने म एक्लै खोज्छु ।”
अनुपको जोशले अरु सबै सेलाए । हामीले दशैँ समारोह समिति पनि बनायौँ । संयोजक अनुपको जोश–जाँगरलाई ध्यानमा राखेर अनुपलाई नै बनाउने निर्णय भयो ।
हेर्दाहेर्दै दशैँको तयारीले चिसो इडाहाओ तताउँदै लग्यो । हामी आफ्नै किसिमले परदेशको न्यास्रो मेटाउने कोशिसमा थियौँ । मासुका कतिवटा परिकार बनाउने, सलाद के को ? यस्तै यस्तै । यसले एक किसिमले हामीलाई ब्यस्त बनाएको थियो ।
नयाँ देशमा नयाँ दशैँ नयाँ किसिमले मनाउनेमा हामी रोमाञ्चित थियौँ ।
“तिमीहरू आजकल धेरै नै बिजी छौ ।” एक दिन अचानक ब्रान्डीले मलाई भनी ।
“यो दशैँ हो, पन्ध्र दिनको । एक दिने क्रिस्मस कहाँ हो र ?” मैले जिस्कँदैं भनेँ । आखिर यसलाई पनि थाहा होस् न हामीले देश बिर्सेका छैनौँ भनेर ।
“अनि के हुन्छ त त्यसमा ?” उसले चासो देखाई ।
“सबै परिवार भेला हुने, रमाइलो गर्ने ।”
“तिमीहरू सबै परिवार एकै ठाउमा बस्छौँ भनेको होइन । अनि सधैँ नै भेला भइहालिन्छ नि ।”
“यो चाडमा त गाउँभरीका मान्छे गाउँभरी मध्ये सबैभन्दा बुढो को छ त्यसकोमा आशीर्वाद थाप्न जान्छन् ।” लाइदेँ मैले पनि गफ । आखिर यसले नेपाल गएर दशैँको टिका थापेको हेर्ने होइन क्यारे ।
“हो र ? त्यसैले त यति लामो हुँदो रहेछ यो चाड ।” बिचरी बुझे जस्तो गर्दै थिई । “हामी यो चाडमा पिङ पनि खेल्छौं ।” मलाई आज उसलाई किन हो मजाले भन्न मन लागिरहेको थियो हाम्रो बारेमा । “पिङ ?” ऊ एक छिन अकमकिई । बिचरीलाई के थाहा र ?
“ठूलो केबल हुन्छ, माथि दुईतिर सपोर्ट दिएको हुन्छ । हिन्ज सर्पोट जसले मोमेन्ट र रिएक्सन दुवै रेजिष्ट गर्दैन । र त्यसको म्याक्सिमम स्यागिङ्ग पोइन्टमा बाँसको उभिनलाई स्पेस बनाएको हुन्छ त्यसमा उभिने अनि मच्चिने ।” जीवनमा कुनै पनि नेपालीले पिङको मैले दिए जस्तो परिभाषा दिने छैन होला शायद ।
“रमाइलो हुन्छ होला है ?” उसले अचम्म मान्दै सोधी । “हुन्छ त । एकदम रमाइलो हुन्छ ।”
आज हाम्रो दशैँ संयोजन समितिको बैठक हुनाले धेरै गफ गर्न पाइएन । नत्र ब्रान्डीलाई आजै नेपालको लागि टिकट बुक गर्ने बनाइदिन्थेँ म ।
“खसी त पाइयो तर एउटा दुःखको खबर छ ।” अनुपले मलिन स्वरमा भन्यो । खसी पाइएकोमा खुशी हुन पाइएन । “किन ?” सबैले एकै स्वरमा सोधे । “यहाँ काट्न पाइँदैन रे, लाइसेन्स चाहिन्छ रे त्यसका लागि ।” उसले खुलस्त पार्‍यो । “के भयो त, नजिकै कुनै कसाहीकोमा लगेर काटौँला नि त ।” प्रमादले सधैँ जस्तै आफूलाई मात्र मन पर्ने सुझाव दियो । “मासु खान त सधैँ खाएकै छ नि, रमाइलो गर्न पो त ! जसरी भए पनि आफैँनै काट्नुपर्छ ।” अनुप फेरि जोशियो । जोश र इच्छाशीलतामा अनुपलाई अरुले भेट्टाउन गाह्रै पर्छ ।
“कसरी त ?” सबैको एउटै प्रश्न थियो ।
“एक छिन है, म एउटा फोन गर्छु ।” म फोन गर्नलाई भित्र छिरेँ ।
म फोन गरेर बाहिर निस्किँदा सबै आशे नजरले मलाई हेरिरहेका थिए ।
“कसलाई फोन गरेको ?” समूहमध्येकै कसैले मलाई सोध्यो ।
“मेरो एक जना दाइलाई, ऊ वकिल छ, क्यालिफोर्नियामा बस्छ ।” “के भन्नुभयो त तेरो दाइले ?” “लाइसेन्स नभइकन काटे बढीमा सय डलर फाइन र केही घण्टाको डिटेन्सन मात्रै हुन्छ रे ।” “त्यसो भए ?” अनुप मतिर हेरेर काट्ने स्वीकृति माग्दै थियो शायद । “आ…काट्दिऊँ । त्यति त मिलेर तिर्न सकिन्छ नि ।” मैले पनि स्वीकृति दिएँ ।
“यो त्यति हलुका लिने कुरा होइन साथी हो । पछि पुलिस रिपोर्ट बन्न सक्छ, गाह्रो पर्न सक्छ ।” सधैँ जस्तै प्रमोद थियो नि अपोज गर्नलाई त ।
“केही पनि हुँदैन । यहाँ कार ओभरस्पीड कुदायो समात्छ । बाटोमा सुत्यो समात्छ । अनि हाम्रो ओभरटाइम काम थाहा पायो समात्छ । रिस्क केमा छैन ? दशैँको लागि यत्ति रिस्क त लिन पर्छ ।” यसपालि मेरो दबावले काम गर्‍यो । सबैले मौन स्वीकृति दिए । मेरो एपार्टमेन्टमा भनेकाले केही परे बचौँला भन्दा हुन् मोराहरू । अन्त्यमा सप्तमीमा खसी ल्याउने र अष्टमीको दिन खसी काट्ने योजनाका साथ हामी छुट्टियौँ ।

सप्तमीको दिन खसी लिन जानेमा अनुप र म पर्‍यौँ । ल्याएर कारबाट निकालेका मात्र के थियौं, ठयाक्क अगाडि मेस्सी, छेवैको एपार्टमेन्टमा बस्ने मेक्सिकन केटी ।
“के ल्याएको यो रोशन ?” म अक्मकाएँ । आखिर जीवनमा पहिलो चोटी म रहरको लागि कानुन तोड्दै थिएँ ।
“यो रोशनको पेट हो, प्राइभेट पेट ।” धन्न अनुपले सम्हाल्यो ।
“के हो त यो ?” उसको चित्त अझै बुझेको थिएन ।
“यो कुकुर हो, नेपाली कुकुर । राम्रो छ हैन ?”
“ए…राम्रो छ ।” खसीको नाकमा किस गरेर मेस्सी आफ्नो बाटो लागी । धन्न अमेरिकाको खसीको नाकमा सिँगान हुँदैन रहेछ । खसी र कुकुर पनि नछुट्याउने कस्ती मोरी ।

अष्टमीको दिन मानौँ हामी कुनै युद्धमा थियौँ । एउटा मिसनमा । लिफ्ट गेटमा प्रमोद र प्रभात, एपार्टमेन्ट गेटमा सन्जीव र राजीव । अनुपले कताकताबाट खुकुरी पनि ल्याएछ । मार हान्न पनि ऊ नै तम्सियो । तीन पटकमा चर्लप्पै । भुत्ल्याउने, काट्ने बनाउने सबै गरियो । अनि स्वाद वर्णनै गर्न नसकिने, आखिर जीतको पनि त स्वाद थपिएको थियो त्यसमा । हामीसँग लाइसेन्स भएको भए के यो यति मिठो हुन्थ्यो ? मलाई त्यसपछि धन्न अपठ्यारो परेन, किनकि मेस्सीले त्यसपछि मेरो पेटको बारेमा कहिल्यै सोधिन ।
चार
आज विजयादशमी, मैले कामबाट छुट्टी लिएको थिएँ । आखिर मुख्य चाडको मुख्य दिन हो यो, मैले सबै कुरा बताएपछि मेरो बोसले नाक खुम्च्याउँदै खुम्च्याउँदै भए पनि छुट्टी दियो । पूरै दिनको रोमाञ्चक योजना बनिसकेको थियो । बिहानै उठेर मैले धेरै दिनपछि नुहाएको थिएँ । तयार भइसक्न नभ्याउँदै अनुप आइपुग्यो ।
“तिमीलाई पनि शुभ विजयादशमी ।” मेरो अभिवादनको उसले हाँस्दै जवाफ फर्कायो ।
“साँच्चै के हो आजको योजना ?”
“दशैँको दिनमा के हुनु अरु, भेला हुने, टिका लगाउने, रमाइलो गर्ने ।” “मात्र !” “कस्तो मात्र ? यही त हो नि मुख्य । अनि बेलुका नेपाली समूहले एउटा प्रोग्राम गरेको छ, त्यसमा पनि जाने हो ।” “अनि अरु खोई त ?” “आउँदै होलान् ।”
एक एक गर्दै सबै आउँदै गए । योजना अनुसार हामी सबैले ढाका टोपी लाएका थियौँ । रङ्गीचङ्गी लुगा देख्दा सानोमा घरमा घुर्क्याएर किन्न लाएका लुगाहरूको झझल्को आउँथ्यो । यहाँको व्यस्ततामा केटाहरू पहिलोचोटि खुशी मुडमा देखिएका थिए ।
“ल अब सबैले आफ्नो आफ्नो उमेर नढाँटीकन भन । म चाहिँ ३८ साल असारको ।” मैले सबैतिर फर्केर भनेँ ।
“किन ?” सबैको मुखमा यही प्रश्न थियो ।
“दशैँमा ठूलाले सानालाई आशिर्वाद दिने हो, अब को ठूलो, को सानो त थाहा हुनु पर्‍यो नि ।”
“हो हो” सबैले आफ्नो आफ्नो उमेर भन्दै गए । कतिलाई ढाँटेको आरोप पनि लाग्यो । तर ती पनि कम त कहाँ थिए र ! कोठामा गएर नागरिकता देखाउने धम्की दिँदै थिए । प्रमोद सबैभन्दा जेठो र रमेश सबैभन्दा कान्छो भए । रङ्गाएको अक्षता तयार थियो । जमराको जोहो गर्न सकिएन । सबैले पालैपालो गर्दै टिका थाप्दै गए । आशिर्वादको कुरै नगरौं, टन्न पैसा कमाएस्, राम्री केटी घुमाएस् यस्तै यस्तै । मेरोमा अर्को पनि थपिया टन्न चक्लेट खाएस् । जेठोबाट कान्छोतर्फ बढ्दै जाँदा टिका लाइदिने हातहरू पनि बढ्दै गए । रमशको अनुहार त हेर्नलायक थियो । दायाँ चल्नीदेखि बायाँ चल्नीसम्म वारपार । टिका लाएर खानपिन गरेपछि हामीले घुम्न जाने योजना बनायौँ । ढाका टोपीहरू तयार थिए । हाम्रो अगाडि देखिको योजना थियो, ढाकाटोपी लगाएर घुम्न निस्किने । मलाई आज आफैँमा विश्वास थिएन– म यो सबै गर्दैछु भनेर । नेपाल बसुन्जेल ढाकाटोपी लाइयो लाइएन तर यहाँ आएपछि मन लाग्यो । यस्तैमा मलाई एउटा घटनाको याद आउँछ । युनिभर्सिटीमा एउटा इन्डियन केटा छ राहुल । उसले एक दिन विवाद निकाल्यो, नेपालको बारेमा ।
मलाई नेपाल भारतकै प्रदेश जस्तो लाग्छ उस्तै मान्छे, उही भाषा सबै उस्तै ।” “मान्छे ठीकै तर भाषा कसरी उही भयो ?” मैले प्रश्न गरेँ । “हिन्दी नै होइन तिमीहरूको भाषा ?”
होइन हाम्रो भाषा नेपाली हो अरु पनि धेरै जातीय भाषाहरू छन् ।”
हो र, मैले तिमीहरूको धेरै राष्ट्रिय नेताहरूले हिन्दीमै भाषण गरेको सुनेको छु ।” उसले च्याप्पै मेरो जिब्रो समात्यो । “मैले पनि तिमीहरूका नेताले अङ्ग्रेजीमा भाषण गरेको सुनेको छु नि त, के भारत यु.एस. को प्रान्त हो त ?” “अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा हो नि !”
हो, त्यसैले भाषा आफ्नो मात्र आउनुपर्छ भन्ने छैन तिमीहरूलाई नेपाली आउँदैन, यदि हामीलाई हिन्दी आउँछ भने हामी झन ज्ञाता भयौँ नि, तिमीहरूका नेता नेपालीमा भाषण गर्न सक्छन् ?”
त्यसपालि पनि मैले जितेरै छाडेँ केटाकेटी नै सही तर यस्तै तर्कहरूले भए पनि मलाई जित्नै मन लागेको थियो

हामी सबै समूहमै घुम्न निस्कियौँ । दुई चार जनाले टिका पनि पुछेर निस्केछन, पाखे देखिन्छ भन्ने डरले होला । यस्तो रमाइलो समयमा रमाइलो गर्ने रहर थियो त्यसैले कसैले विवाद गर्ने सुर गरेन । हामी जहाँजहाँ हिँड्यौँ, हामीनै त्यहाँको आर्कषणको केन्द्र भयौँ । ढाकाटोपी र निधारमा रङ्गाएको चामल, छक्क परे देख्ने कुइरेहरू । कफिसपमा कफी खाइरहेको बेला एउटा अधबैँशेले त आएरै सोध्यो ।
“के गरेको यो तिमीहरूले ? नयाँ फेशन हो ?” “हैन परम्परा हो ।” मैले उत्तर दिएँ । “कुन देशबाट आएका हौ तिमीहरू ?” “नेपाल ।” मलाई थाहा थियो उसलाई थाहा छैन तर मलाई नेपाल चिनाउन गौतम बुद्ध र सगरमाथा सधैँ सहयोगी हुन्छन् । “अनि यिनीहरू चैँ नेपाली होइनन् ?” उसले हाम्रो बथानका टिका पुछ्ने बकुल्लाहरू देखाउँदै भन्यो । म चुप लागेँ, अरु पनि चुप नै थिए तर उसले के बुझ्यो कुन्नि ऊ आफ्नो बाटो लाग्यो । म मनमनै खुच्चिङ्ग भन्दै थिएँ । थाहा छैन उनीहरूलाई पीडाबोध भयो कि भएन ।

योजना अनुसार नै हामी साँझको पार्टीमा पनि गयौँ । विश्वासै नलाग्ने, यति सानो इडाहाओमा पनि यत्तिका नेपाली छन् । त्यत्रो ठूलो हल पनि खचाखच भरिएको थियो ।
त्यति धेरै परिचित त थिएनन् तर भएजतिसँग हेलो गर्दै अघि बढ्यौँ । मञ्च सजाइएको थियो, शायद सांस्कृतिक कार्यक्रमको लागि होला ।
केही छिनमैं कार्यक्रम शुरू भयो । अमेरिका नेपाल सम्पर्क मञ्चको कार्यक्रम रहेछ । शुरूमा केही मन्तव्य, संस्थाको परिचय, आर्थिक विवरण इत्यादि । त्यसमा केही रस थिएन हाम्रो लागि । प्रथम चरणको अन्त्यमा नेपालका द्वन्द्वपीडित बालबालिकाको सहयोगको लागि आह्वान भयो । यो चाहिँ मलाई मन पर्‍यो । हाम्रो सानो सहयोगले कसैको भविष्य सुधारिन्छ भने त्यो त पक्कै पनि स्वागतयोग्य कुरा हो ।
केही समयमा दोस्रो चरण पनि शुरु भयो सांस्कृतिक कार्यक्रमको । कार्यक्रमको पहिलो नाचले मानौँ मेरो आँखालाई कैद गर्‍यो । मलाई ”माथि माथि सैलुङ्गेमा” यत्ति राम्रो कहिल्यै लागेको थिएन । समय मानौँ त्यो केटीलाई देखेर रोकियो । बाटुलो अनुहार, लामो कपाल, तिखारेर टपक्क पारे जस्तो नाक । कोही कसरी यत्ति राम्रो हुन सक्छ ? म बिस्तारै फ्ल्यास ब्याकमा गएँ । शायद उद्घोषकले रक्षा भनेको थियो नाम । रक्षा पोखरेल ।
प्रोग्राम सिद्धिउञ्जेलसम्ममा केटाहरूले धेरै खोजबिन गरिसकेछन् उसको बारेमा । डि.भी.परेर दुई वर्षअघि यहाँ आएकी । इडाहाओ स्टेट युनिभर्सिटीमा डान्स टिचर, अनि अविवाहित । मलाई भने पहिलो र आखिरी जानकारी मन पर्‍यो ।
“हाई, तिम्रो नाच राम्रो थियो ।” मैले उसलाई खोजेरै छाडेँ । “थ्याङ्क्स ।” तर उसले मलाई त्यति वास्ता गरिन । मतिर नफर्किकनै जवाफ दिई । “कम्प्लिमेन्टको यत्ति र्‍युड एन्सर ?”
यसपालि ऊ मतिर फर्केर मुस्काई । मेरो मनमा अघिदेखि एउटै प्रश्न घुमिरहेको थियो, कोही कसरी यत्ति राम्रो हुन सक्छ ? “के तिमी मलाई नाच्न सिकाउँछौ ?” मलाई थाहा छैन मैले किन यस्तो भनेँ । मलाई नाच्ने रहर पक्कै पनि छैन । उसले मलाई नियालेर हेरी ।
“सरी, म कसैलाई पनि पर्सनल्ली सिकाउँदिन ।” उसले अघिको मुस्कान यथावत् राख्दै भनी । “पर्सनल्ली सिकाउँदिनको मतलब, समूहमा चाहिँ सिकाउँछौ ?” “म इडाहाओ स्टेट युनिभर्सिटीमा डान्स पढाउँछु ।”
“ए, कति भयो त्यहाँ पढाउन थालेको ?” “एक वर्ष जति भयो ।”
“म पनि यहाँ आएको एक वर्ष नै भयो, डान्सको लागि आइट्वाइन्टी माग्नुपर्ने, इन्भाइरोमेन्टल इन्जिनियरिङको लागि मागियो । गल्ति गरियो ।” मैले उसको मुहार पढ्न खोज्दै उसलाई जिस्क्याएँ ।
“बि.ई. फ्रम पुल्चोक ?” ऊ ममाथि इन्ट्रेस्ट देखाउँदै थिई । मैले टाउको हल्लाएँ । “मेरा साथीहरू आए, सरी म जान्छु है…भेटौँला नि कुनै दिन ।”
धत्तेरी यति नै बेला आउनुपर्ने तिनीहरूलाई पनि । म पनि मन नलागी नलागी फर्कें, मलाई त्यस दिन घर फोन गर्नु पनि त थियो ।
“हेल्लो”
“आमा के छ हालखबर ।”
“ए बाबु, ठीकै छ त । तेरो नि ?” आमाको बोलीमा मलिनता थियो । मैले हामी दुई बीचको दूरी फोनबाट नै घटाउनु थियो ।
“आमा मैले त टिका लाउन पो फोन गरेको त ।” “ल त ल बाबु, ऊ बुबा यता आउनुस् त छोरालाई टिका लगाउन ।” आमा शायद रुँदै मेरो फोटो खोज्दै हुनुहुन्थ्यो । “तेरो पढाइ कस्तो चल्दै छ त ?” बुवाले सोध्नुभयो । शायद फोटोमा टिका लाइसक्नुभयो होला । “राम्रै छ बुवा ।” “ल ल राम्ररी पढ्नू ।” यत्तिकैमा भाइले फोन खोस्यो । “दादा के छ तेरो हालखबर ?” ऊ चिच्यायो । “बिस्तारै बोल न, सुन्छु त । ठीकै छ तेरो सुना न ।” “यहाँ तँसँग बिहे गर्ने केटीहरूको लाइन छ ।” “विचार गर्दै गरूँ त म छोरा ?” आमा फेरि बोल्नुभयो । यत्ति चाँडो कति हतार आमालाई पनि । “यस्तो कुरामा पनि के आमालाई दुःख दिनु, म आफैं खोजिहाल्छु नि ।” मैले हाँस्दै भने । “ल हेर ल्याइसकिस् कि क्या हो ? गाईखाने चाहिँ नले है ।” “ल्याएको त होइन ।” मैले हाँस्दै भनेँ । “ल ल ल्याउँछस् भने पनि राम्री नेपाली नै खोज्नु ।”
आमाले फोन राखिदिनुभयो । मलाई झलक्क रक्षा नाच्दै गरेको सम्झना आयो । उसका पैंताला हरिया घाँसका पातबाट शित टिप्दै बुरुक्क बुरुक्क उफ्रेको । के थाहा आमालाई वहाँको चिताएको पुगोस् भन्ने आशिष लाग्यो भने म यतै बिहे गरेर बस्छु भन्ने । दुःख लाग्ला… तर लाग्दैन होला आखिर बुवाआमालाई पनि त म यहाँ तानिहाल्छु नि ।

पाँच

ईडाहाओ
हिनापछि
म साँच्चै नैं मेरो परिभाषा भन्दा भिन्न हुँदैं गइरहेको थिएँ । मानौँ जीवन पूर्णतातिर डोरिइरहेको थियो । सानो देशको सानो राजधानीबाट सर्वशक्तिमान राष्ट्रमा पनि अहिलेसम्म आफूलाई उभ्याएको थिएँ । काम सानो नै तर कामको कदर हुने ठाउँमा थिएँ । मैले धेरैलाई यहाँको ट्रान्जिसन फेजमा टुटेको देखेको छु तर मलाई सफल मान्नु पर्छ ।
चक्लेटको खोजीमा भौतारिरहने चकोहोलिक मन अब नेपाली फ्याक्ट्रीमा गएर स्थीर भएको छ । खोज टुङ्गिएको छ । मैले रक्षा पाएको छु, मेरी मन मिल्ने जीवनसाथी । रक्षा र म आजकल सँगै बस्छौँ एउटै एपार्टमेन्टमा । पहिला मैले रक्षालाई राम्री युवतीको रूपमा हेरेँ अथवा यो देशमा स्थापित हुने एउटा बाटोको रूपमा हेरेँ, थाहा छैन । तर आजकल म ऊसँग घुलमिल भएको छु र म र ऊबीच सोचाईमा समानता पाउँछु । काम गर्न नडराउने, अर्काको कदर गर्ने, हामी एक अर्काको कुरा नभनीकन बुझ्दछौँ । साथीहरू गर्छन् मेरो परिवर्तनको कुरा । हुन पनि म आजकल कम समय दिन्छु साथीहरूलाई । विकेन्डहरूमा नशाले मात्तिँदैँ नयाँनयाँ शिकार खोज्ने मेरा आँखा रक्षाका गहिरा आँखामा डुब्न थालेका छन् । तपस्या गरेको साधुले ज्ञान पाए जस्तो, मृगतृष्णामा पानी खोज्दै गरेको मृगले पानी पाएजस्तो । म बिस्तारै अतितमा डुब्दछु जतिखेर म ऊसँग सम्बन्ध बढाउन उद्दत थिएँ ।

इडाहाओ स्टेट युनिभर्सिटी
४:०० बजे

आज सुराकीले गलत खबर दिएछ रक्षा एघारै बजे क्लास सिध्याएर गेटमा आउने कुरा थियो तर चार बज्दा पनि किन किन गेट छोड्न मेरो मन मानिरहेको थिएन तर मेरो पर्खाई खेरै गएको चाहिँ होइन रहेछ बाहिर निस्कँदै थिई मेरो मनमा एक किसिमको डर खुशी मिसिएको रोमाञ्च पैदा भइरहेका थियो । “हाई, मलाई चिन्यौ ?”
दशैँको पार्टीमा भेटेको होइन ?” उसले केही सोचेजस्तो गरेर जवाफ फर्काई यस्तै हो, केटीहरू धेरै स्वाङ पार्छन् बाजी ठोक्छु, उसले सोचेजस्तो गरेकी मात्र हो
कहाँबाट आएको ?” शायद मसँग प्रश्नको अभाव भएछ, त्यहीँ पढाउने मान्छेलाई कहाँबाट आएको भनेर सोध्दै थिएँ
यो मैले सोध्नु पर्ने, यहीँ पढाउँछु ।”
सरी, मलाई अरु प्रश्न नै फुरेन तिमीलाई नै कुरेर बसेको ।” “किन ?”
कफी खाने साथी नपाएर ।” “हैन मलाई एकदम हतार छ, अर्को ठाउँ जानु छ, सरी ।” “ठीकै तर एघार बजेदेखि कुरेर बसेको थिएँ ।” उसले पुलुक्क मतिर हेरी शायद उसले त्यस्तो एक्सपेक्ट गरेकी थिइन तर त्यस्तै छु अनएक्सपेक्टेड ! “के तिमीलाई अचम्म लाग्यो देखेर ?” आश्चर्यचकित भएर अझै मलाई नै हेरिरहेकी थिई
तर मेरो लागि किन यो सबै ?” उसले सोधी । “ तिमी ब्ल्याक कफी खाने कि मिल्क ?” मैले प्रश्न टार्न खोजेँ
यो मेरो प्रश्नको उत्तर होइन ।” धन्न उसलाई बोर भने गरिरहेको थिइन उसको अनुहारमा हलुका फैलिएको मुस्कान मिस वर्ल्डको शिरमा राखिएको ताज जस्तो थियो
एउटा केटी देखेँ विजुलीको गतिमा मनमा छाप छोड्ने, नचिने पनि आफ्नै जस्ती, वर्षौंदेखि भेटे जस्ती, त्यतिखेरदेखि समय रोकिएको ।” “तिमी कवि हो ?” “बनाई त्यसैले ।”
मलाई यो सबै किन भनेको को हो त्यो ?” केटीहरू साँच्चै नै प्रशंसाका भोका हुन्छन् जानीजानी बुझ पचाउँछन्
तिमीलाई के लाग्छ ? यो केटी तिम्री नै हुने चान्स कत्ति छ ?” “भेरी फन्नी !”
आई एम सिरियस ।”
यो अति केटाकेटीपन भयो तिम्रो मेरो यो दोस्रो भेट हो ।” “मन सधैँ केटाकेटी नै हुन्छ ।” “तिमीले मलाइ कत्ति नै चिनेको छौ र ?” उसले गम्भीर हुँदै सोधी । “चिन्नलाई एक अर्कालाई समय दिनुपर्छ ।” “विचार गरौँला अहिलेलाई मलाई साँच्चै हतार ।”
सेल नम्बर पाउन सकिन्छ ?”
अर्को चोटी, गेटमा चार बजे मात्रै निक्लिन्छु सधैँ एघार हाइन ।”
उसको मुस्कानले कफीसपमा बसन्त ऋतु बोलाएर गयो वेटरले बल्ल दुईवटा कफी ल्यायो हरे मेरा फ्याँकिएका डलर ! केटीहरू साँच्चै नै भाउ खोज्छन् तर उसले अर्कोचोटिको निम्ता दिई मन फुरुङ्ग थियो

एक्कासि बजेको डोरबेलले म झस्किएँ । ओहो ! निक्कै समय पो गइसकेछ । शायद रक्षा होला ।
“ओहो अझै तिमी यत्तिकै, सञ्चो भएन कि क्या हो ?” “होइन, अतित सम्झेर बसेको, खोई कहाँ कहाँ पुगियो ।” “अनि आज आशिष आउने भनेको होइन ? म त तिमी पिकअप गर्न गयौ होला पो भन्दै थिएँ ।” धत्तेरीका ! म पनि कति हुस्सु, यस्तो कुरा पनि बिर्सिएछ ।
“मैले सम्झिनु पर्ने, तिमीले सम्झायौ । थ्याङ्क्स ।” म हतार–हतार तैयार भएर उसलाई पिकअप गर्न निस्किएँ । आशिष, पुल्चोक क्याम्पसको मेरो सबैभन्दा मिल्ने साथी । गम्भीर मिजाजको ऊ सम्बन्धलाई धेरै महत्व दिन्थ्यो । बानीहरू पटक्कै मेल नखाए पनि हामी एक अर्काको धेरै नजिकै थियौँ । विदेश जान खासै चासो नदेखाउने ऊ यहाँ किन आयो थाहा छैन । जागिर छोड्नु परेको कुरा त उसले मलाई मेलमा लेखेको थियो, त्यसपछि नै होला शायद उसले यता आउने बारेमा सोधखोज गरेको । मैले पनि आइट्वाइन्टी पठाउनदेखि लिएर अरु धेरै कुरामा सहयोग गरिदिएको थिएँ । हिजै मात्र त हो ऊ आइपुगेको, जे होस् ऊसँग भेट्न म आतुर थिएँ ।

“ओहो ! के छ यार ?”
उसलाई देख्ने बित्तिकै म उसलाई अँगालो मार्न पुगेँ । ऊ भने मलाई साथ मात्र दिई रहेको थियो । यहाँ दुईवटा केटाहरू अँगालो मार्ने बित्तिकै धेरै कुरा बुझिदिन्छन् ! तर हामीलाई मतलब थिएन ।
“टन्न मोटाइछस्, विदेशको पोश लागे जस्तो छ ।” उसले बल्ल मुख खोल्यो । “हो र ? होला पनि, यहाँको फुड हेबिटले गर्दा मोटाइहालिन्छ । तर तँ त झन दुब्लाए जस्तो लाग्यो ।” “होला ।”
कोठा फर्कदै गर्दा अधैर्य हुँदैं मैले उसलाई भनें– मैले तँलाई यहाँ एक्सपेक्ट नै गरेको थिइँन । मलाई त आईट्वाइन्टी पठाउन्जेलसम्म तँ यहाँ आउन सिरियस छस् जस्तो लागेको थिएन ।” “मलाई पनि नेपालबाट हिँड्दा तँलाई यहाँ, यसरी, यस अवस्थामा भेटौँला जस्तो लागेको थिएन ।”
यो यसको बोल्ने तरिका हो । मलाई थाहा छ उसले रक्षा र मेरो सम्बन्धको बारेमा कुरा गर्दैछ । मैले त भनेको थिएन, शायद केटाहरूले सुनाउन भ्याइसकेछन् ।
“कुन अवस्थाको कुरा गरेको तैँले ?” मैले जानीजानी बुझ पचाएँ । “तँ जस्तो मान्छे, यस्तो फ्रीडम भएको देशमा आएर एउटै केटीमा सीमित भएको अवस्था ।” “सम्हालिएर है साथी, अब भाउजू भने बेस । यो समरमा हामी कोर्टम्यारिज गर्दै छौँ ।” मलाई आशिषले रक्षाका लागि गरेको सम्बोधन मन परेन । आखिर ऊ केटीभन्दा धेरै थिई मेरा लागि ।
“सरी यार । तँलाई बुझ्नमा गल्ति भएछ । के गर्छस् त ! पुल्चोकमा चार वर्षमा तैँले छोडेको छापनै त्यस्तै छ । यदि तँ सिरियस छस् भने मभन्दा खुशी यो संसारमा अरु कोही हुने छैन ।” “ड्याम सिरियस म्यान !” मैले गाडीको गियर बढाउँदैं जवाफ दिएँ ।
“नमस्ते भाउजू ।” एर्पाटमेन्टमा भने उसको सम्बोधनले मलाई चित्त बुझ्यो । “नमस्ते, तर अझै तीन महिना बाँकी छ ।” रक्षालाई भने चित्त नबुझे जस्तो छ । “बल्ल थाहा पाएँ, अब मलाई तेरो परिवर्तन माथि कुनै शङ्का छैन । ऊ भाउजू, साँच्ची तपाइँहरू कतिजना दिदीबहिनी ?” “छ्या, के जिस्काएको तपाइँले पनि ।” रक्षा लाडिँदै बोली ।
“त्यसो भए आजको योजना के त ?” म आशिषतिर फर्कदै भनेँ । “खै म त यहाँको नयाँ मान्छे, त्यहाँ माथि पाहुना । के भन्ने र !” “यहाँ पनि त्यो शेर्पिनी दिदीको पसल भए क्या राम्रो हुन्थ्यो है ?” मैले अतित कोट्याएँ ।
“छैन र ? यो राम्रो ब्यापार हुन सक्छ । भाउजूलाई काउन्टरमा तँ र म किचनमा, के छ बिचार ?” हामी दुवैजना हाँस्यौँ । रक्षा भने साहुनी बनाएकोमा हो कि भाउजू भनेकोमा हो आशिषलाई घुरीघुरी हेर्दै थिई ।
“ल तपाइँहरू गफ गर्दै गर्नुस्, म चाहिँ लागें किचनमा ।”
“आज पनि किचनमा, बाहिरबाटै ल्याउँ न ।” “पर्दैन । त्योभन्दा मै मिठो बनाइदिन्छु ।” “हो, हो मलाई पनि घरकै मिठो लाग्छ ।” आशिषले सही थाप्या । “ए साँच्चै आकृतीको के छ हालखबर ?” रक्षा किचनतिर लागिसकेपछि मैले आशिषलाई सोधेँ । “ठीकै छ ।”
“अनि अघि पनि तैँले कुरा टारिस । मलाई तेरो सोचमा कसरी परिवर्तन आयो जान्न मन छ ।” “किन म यहाँ आएको तँलाई मन परेन र ?”
“फेरि टार्न नखोज न, म सिरियस छु ।”
“समय !” “साढे सात ।” “हा हा…हैन मैले तेरो प्रश्नको उत्तर दिएको ।” म चुप लागेँ मनमा धेरै किसिमका कुरा खेलाउँदै । आशिषले मैले बुझ्न खोजेको कुरा फेरि टार्‍यो । “अनि अरु साथीहरूको के छ त ?” मैले प्रसङ्ग बदलेँ ।
“यो त मैले तँलाई सोध्नुपर्ने । म त यहाँ छु, नेपालमा को होला बिचार गर् त ।” “पूरै सुनसान नै हो त ?” “होलान् नि कोही त ! तर हाम्रो समूहका चाहिँ छैनन् ।” अतित, वर्तमान र भविष्य सबैका कुरा भए । वाइनसँग रक्षाले बनाएको मिठो सलाद र पिज्जा पनि खाइयो ।
“मलाई ड्रप गर्छस् कि म हिँड्दै जौँ ?” हिँड्ने बेलामा आशिषले घुर्क्यायो ।
“कसरी गर्दिन भनौँ र ?”
“अमेरिकाको पहिलो आउटिङ घरेलु रह्यो ।” “चार महिनाअघिसम्म भए त्यो पक्कै बेग्लै हुन्थ्यो, चक्लेट सर्चमा ।” “हो त्यो त । तर मलाई खुशी लागेको छ । तँ पनि त खुशी नै होलास् ।” “घरेलुपनमा बेग्लै आनन्द हुन्छ । यो कुरा मैले तँलाई भनिरहनु पर्दैन ।” हामी धेरैबेर गाडीमा चुप लागेर बस्यौँ । “मलाई थाहा छ, तेरो चित्त बुझेको छैन ।” मौनता आशिषले नै तोड्यो ।
“के कुरामा ?” “तँलाई म यहाँ आउनुको पूरै कथा थाहा छैन ।” “तैँले भन्न चाहिनस्, कसरी थाहा पाउने त मैले ?” “तँलाई मात्र होइन म पूरा दुनियाँलाई थाहा दिन चाहन्छु तर तँ त्यसको पहिलो हकदार हो भन्ने मेरो चाहना हो ।” आशिषले झोलाबाट निकालेर डायरी तेर्स्यायो । त्यसपछि हामी दुईले छुट्टिनुअघि बाईबाहेक केही पनि भनेनौँ । मलाई भने
कोठा फर्केर त्यो डायरी पढ्न नै हतार थियो ।

आशिषको डायरी


काठमाडौँमा चिसो सिरेटो छिन थालिसकेका थियो । जाडो बैँशालु हुँदैगएको थियो, हलक्क बढेकी नवयौवना जस्ती । सूर्यको पारिलो किरण आज पनि हिजो जस्तै प्रकाशसँगै नयाँपन छकदै थियो । अनि यस्तो सिरेटे मौसममा पनि पुल्चोक क्याम्पसको स्ववियु क्याफे छेऊको भिरालो चौरी तिनै किरणहरूको स्पर्शले न्यानिदै नाँच्न आँटे जस्तो लाग्दथ्यो । सँगै छेऊको क्याफेमा पाक्दै गरेको चाउचाऊले खाजा समय अझै पनि नसिद्घिएको प्रष्ट पार्दै थियो ।
“केदार दाइ, आठवटा चिया, त्यसमध्ये दुईवटा चाहिँ लेमन है !”
मैले चिया मागेपश्चात् हामी त्यही भिरालो चौरीमा बस्यौँ । चाथो वर्ष दोस्रो खण्डको परीक्षाफल आज प्रकाशित हुनै आँटेको थियो । सात खण्डका रिजल्ट खेपिसकेका अनुभवी मुटु भएका विधार्थी र अन्तिम खण्डमा त्यति गाह्रा विषयहरू नभएकाले होला वातावरण रिजल्टमय थिएन अथवा भनौंँ तनाव कसैको अनुहारमा थिएन । तर पनि त रिजल्ट आखिरमा रिजल्ट नै हो, दुई चारजनाको अनुहारमा अधैर्यता स्पष्ट देख्न सकिन्थ्यो ।
“तिमी पास हुने मान्छे, कति आत्तिएको ?” अघिदेखि रोशन, प्रदिपको अनुहार हेरिरहेको रहेछ क्यारे ! उसले प्रदिपमाथि व्यङ्ग्य गर्‍यो । “के आत्तिनु ? बरु अब आधा घण्टा मात्र रह्यो वर्तमान स्टुडेन्टबाट बेरोजगार इन्जिनियर हुनलाई भन्ने पीर चाहिँ
परिरहेको छ ।” उसले आफ्नो अधैर्यता लुकायो । म भने उसका शब्दहरूले दुई महिनाअघि गएको दशैँमा छिरेँ । कसैको छोरो, कसैको भतिजो र अझ दुई महिना पछिको इन्जिनियर म ! हजारौँ आशावादी आँखाहरू अडिएका छन् ममा ! जे होस् बेरोजगार शब्दले चसक्क घोच्यो ।
“म त जबसबतिर लाग्दिन, अब आज रिजल्ट आउँछ, त्यसपछि त बाहिर ट्राई गर्न थालिहाल्ने हो । फेरि अहिले त टोफेल डेट कन्फर्म गर्नै गाह्रो !” अनुप बोल्दै थियो ।
“भिसा रिजेक्ट हुँदैछ अरे नि त अहिले त !”
समूहमध्येकै एउटाको चिन्ता थियो त्यो । अनुप उसलाई सम्झाउँदै थियो । मैले भने त्यो चिन्तालाई एउटा कानले सुनेर अर्को कानले उडाउने निर्णय गरेँ । (देश बिर्सिनेहरूको गफ मलाई खासै रमाइलो लाग्दैन) मेरो लागि त्यो नजाने गाउँको बाटो थियो र नजाने गाउँको बाटो नसोध्नु भन्छन् बुढापाकाले ! फरेन कन्ट्रीमा स्टुडेन्ट भिसामा ट्राई गर्ने अनि पछि उतैको पि.आर. भएर बस्ने कन्सेप्टले आई.ओ.ई. मा जरो गाडे पनि म त्यो कुराबाट खासै आकर्षित भएको थिइँन । कोही यसलाई देशप्रेम भन्थे भने कोही केटाकेटीपन ! तर मलाई भने अचम्म लाग्दथ्यो इन्जिनियरहरू किन यति मोहित छन् बुश बाको गाउँमा ! चिसो सिरेटो मेरो स्वीटर चिरेर छिर्न खोजिरहेको थियो तर स्वीटर भने कर्तव्यपरायण भएर मलाई जोगाइरहेको थियो । ताप र मौसम बीचको लडाइँमा सूर्य भगवान् पराजित हुने बेला भइसकेको रहेछ । त्यसमाथि त्यो सिरेटोको उपस्थितिले मौसमलाई सजिलो भएको थियो । धन्न मसँग स्ववियु क्याफेको चिया थियो । त्यसैले त होला, भनिन्छ नि– “मान्छेले प्रकृतिलाई जित्न सक्छ ।” “आज रिजल्टको दिन पनि ! मौसमले पनि च्यालेन्ज गर्ला जस्तो छ ।”
बारम्बार च्यालेन्ज गरिरहन्छ यो मौसमले पनि ! बल्ल प्रकाशको ध्यान मौसमतिर गएछ । प्रकाशले मलाई पाटनढोकाको लागि निमन्त्रणा दिएको थियो । साँच्चै नै शोलु शेर्पा जाडोमा त स्वर्ग नै हुन्छ । मेरो मनमा सधैँ हाँसिरहने शेर्पिनी दिदी पनि आइन् । तर मलाई आज यो झुण्डबाट अलग्गिनै पर्ने थियो । आज मेरो समय मेरो नभएर अरु कसैको थियो ।
“आज आशिषलाई तँ जहाँ जा भन्, ऊ जाँदैन ।”
रोशनले मलाई नजानिँदो पाराले जिस्क्याएपछि म खिस्स हाँसे । “हुनेवाला भाउजूसँग डेटिङ्ग बाहेक अरु त के नै होला र !” भनिन्छ– “मौनम स्वीकृति लक्षणम्” त्यसैले होला मैले पनि उत्तर दिन जरुरी ठानिन ।
“तैँले टोफेल डेट कसरी रजिस्टर गराएको रे ?”
अनुप अझै टोफेल डेटमै थियो । त्यसबाट उँभो नलाग्ने भयो यो । कुराहरू अझ बढ्दै होस्टलको इन्टरनेटमा कलेज खोज्नेसम्म पुगेपछि मैले धैर्यता त्यागेर चियाको सुर्को तान्दै आँखा बाटोतिर डोर्‍याएँ । बेलीबटन जिन्समा एउटा पुतली उडिरहेकी थिई । मलाई अनुहार अपरिचित नै हो जस्तो लाग्यो । गर्ल्स होस्टेलको हो कि टिचर्स र्क्वाटरको हो छुट्याउन गाह्रो भयो ।
“रोशन, बजारमा नयाँ चामल आएछ कि क्या हो ?”
रोशनले पनि बुशबाको गाऊँबाट, त्यहाँका युनिभर्सिटीका गफहरूबाट अनि स्टुडेन्टको गफहरूबाट थोरै समय निकालेर आँखा शितल पार्न भ्यायो ।
“अगाडिबाट भन्दा पछाडि बाटै राम्री छे ।” मैले जानकारी तेर्स्याएँ ।
“सब जिन्सको कमाल हो । एउटा कुरा थाहा छ ?” “अहँ ।” म अब रोशनदर्शन सुन्न तयार थिएँ । “जिन्स बनाएको नै हामी जस्ताले चामलको भाऊ नघटाऔँ भनेर त हो नि ।” “अरु के के गर्छन् त चामलको भाऊ नघटोस् भनेर ?” म अझ उत्सुक थिएँ । “आकृतीलाई भन्दिन्छु, अनि सब चामलहरू थाहा हन्छ ।” आकृतीको नाम आउनासाथ म सतर्क भइहालेँ । “नडरा नडरा, भनिदिन्न, तर चामल नयाँ त होइन नि ! सेकेन्ड इयरको हो, यसपालिको मिस भ्यालेन्टाइन ! रोशन अब क्याम्पस आउँदैन बिचराको जोवन खेर जाने भयो नि त । रोशनले आफ्नो जानकारीको पोको खोल्यो ।
“मैले नयाँ हो कि पुरानो मात्रै सोधेको, पूरै बायोग्राफी होइन नि त ।” मैले चाहिँ वास्ता नगरेजस्तो गरेँ ।
रोशन फेरि अमेरिकाकै गफमा फर्कियो । म भने आकाश नियाल्न थालेँ । नीलो आकाशमा दुई सेता बादलका झुप्पाहरू एक आपसमा जोडिएर क्यान्भासमा कुनै नयाँ किसिमको चित्र बनाउन प्रयासरत थिए ।
“रिजल्ट आयो केटा हो ।” सूचनाले मेरो तन्द्रा भङ्ग गर्‍यो ।
“दुईजना मात्रै फेल भए, अरु सबै पास, यहाँ भएका सबैजना पास । इन्जिनियर भएकोमा बधाइ छ है सबैलाई ।”
एकछिन समय बधाई आदानप्रदानमै बित्यो । डिपार्टमेन्टबाट मार्कसिट लिइसकेपछि म त्यो झुण्डबाट च्यातिने कुरा अरुलाई सुनाएँ । हुन त शोलु शेर्पाको तुम्बाको अफर त्याग्न त गाह्रै कुरा हो । तै पनि आकृतीसँगको डेटिङ्गको लागि … ठीक छ, केटाहरूलाई फेरि अरु कुनै दिन पनि त मौसमले च्यालेन्ज गर्ला नि त ! “कत्ति भाऊ खाएको यो आशिषले ? पैसा म हाल्छु भन्दा पनि ! होस्टेलमा सुतौँला, भोलि त फ्रेश भइहालिन्छ नि !” प्रकाश अझै पनि मलाई अनुरोध गर्दैथियो । “होइन अरु कुनै दिन बरु, आज इर्म्पोटेन्ट छ क्या !”
“छोडिदेऊ,आज बाटोमा कर्फ्यु नै लागे पनि आशिष बानेश्वर पुग्छ ।” रोशनलाई अझै मलाई जिस्क्याउन पुगेको थिएन । “ल त त्यसो भए ।” प्रकाशले अन्त्यमा स्वीकृति जनायो । म त्यसपछि त्यहाँबाट छुट्टिएर हतारहतार बानेश्वरको लागि पाइला बढाएँ ।


सन्ध्या साँच्चै नै दुलही बनेर आउँछिन् बानेश्वरमा । बाटाका ट्राफिक लाइटहरू बाटो काटिरहेका युवतीहरूलाई आँखा झिम्क्याउँदै जिस्क्याउँछन् बानेश्वरमा । सन्ध्याको आगमनसँगै भुटेका मकै, चनामटर बेच्नेहरूको व्यस्तताको सीमा रहन्न । अनि स्ट्रीट मार्केट र त्यसको वरिपरिको भीड, समग्रमा नेत्र विचरणका लागि पर्फेक्ट स्पट बानेश्वर । चोकैको द बेकरी क्याफेमा बोलाएकी थिई आकृतीले ।
मैले घडी हेरेँ । केही नै नपाउने भएपछि किन घुमिरहन्छ यो घडी ? कसैसँग मतलव नगरी घडी आफ्नै गतिमा दौडिँदै थियो, छ बजेको जानकारी दिँदै थियो । केही छैन, ढिलो आउनु आकृतीको पुरानो बानी हो । नोबल कलेजका एक जोडी बाइकमा टाँस्सिएर हुइँकिदै थिए । हावासम्म छिर्ने ठाउँ छोडिदिए पनि त हुन्थ्यो नि । मेरो विगतलाई त्यसले याद दिलायो । छ वर्ष भएछ आकृती र मेरो भेट भएको । अनि चार वर्ष सम्बन्धले औपचारिकता पाएको । मलाई अझै याद छ, प्लस टुका ती अन्तिम दिनहरू, पर्पोज गर्दा म लजाएको अनि आकृतीले “नलजाइकन भने हुन्छ” भनेको । त्यसपछि हाम्रा कलेजहरू अलग्गिए पनि हामी अलग्गिएनौ ।
मैले फेरि घडी हेरेँ । घडी छ बजेर पन्ध्र मिनट देखाउँदै थियो । भन्न त छ नै भनेको हो, नेपाली टाइम होइन जस्तो छ ।
तर केही छैन, त्यस्तै समयका लागि त हो नि चुरोट बनेको ! चुरोटको धुवाँ गोलाकार आकृती बनाउँदै आकाश छुन उड्यो । तर जति त्यो आकाशिँदै थियो, त्यति नै पातलिँदै पनि थियो । आकाशसम्म नपुग्ला त्यो ।
ठुटो तल फ्याँकेर मुखमा सोलो छिराएँ । पर बल्ल आकृती देखा परी । गुलाबी रङ्गको कुर्तासुरुवाल उसलाई असाध्यै सुहाएको थियो । मलाई लाग्यो आजको साँझ नै गुलाबी छ, मलाई छोई हिँड्रन् सिरेटोका झोक्काहरू पनि गुलाबी छन् अनि े आज बानेश्वरनै गुलाबी छ । रेशमी लामो कपाल मिलाऊँदा मिलाऊँदा अभ्यस्त भइसकेका उसका हातहरू, मैले उसबाट नजर हटाउन सकिन । नजिकै आइसकेपछि मात्र मेरो तन्द्रा भङ्ग भयो ।
“सरी आइ एम लेट ।”
“केही छैन, मैले चाहिँ लेट नहुनु पर्ने थियो म चाँडै आइपुगी हालेँ ।”
मैले जिस्क्याएँ । रिसाउँदा उसको गाला टमाटर जस्दै रातो हुन्छ । मलाई एकदम मन पर्छ त्यतिबेलाको गालाको कलर, हेलम्बुको स्याऊ जस्तै ।
हामी द बेकरी क्याफेभित्र छिर्‍यौँ । एउटा कुनामा गुलाबी प्रकाश चम्किरहेको थियो, आकृतीको कुर्तासुरुवाल जस्तै । हामी त्यहीँ बस्यौँ ।
“फेरि चुरोट खायौँ होइन ? जति भने पनि लाग्दैन ।”
सोलोल काम गरेन कि क्या हो ? मैले मनमनै सोचेँ । “घटाउँदै छु, एकै चोटी छाड्न त कहाँ सकिन्छ र !”
“नो एक्सक्युज दिस टाइम, प्रमिस मि, आजदेखि छाड्छु भनेर, नत्र म भोलिदेखि भेट्न आउँदिन । सौता नै भइसक्यो चुरोट पनि !” केटीहरूको यही बानी राम्रो हुँदैन । सानो सानो कुरामा पनि प्रमिस मी, प्रमिस मी । हामी प्रमिस गर्नलाई मात्र डेटिङ्गमा आएजस्तो । तर यसपालि मलाई पछिल्लो वाक्यले विशेष ध्यानार्कषण गर्‍यो । “सौता नै भइसक्यो चुरोट पनि !” मन फुरुङ्ग भएर आयो ।
“ल बाबा, प्रमिस, आजदेखि चुरोट छोडिदिएँ मैले । तर प्लीज त्यो लाष्ट लाइन एकचोटी रिपिट गरिदेऊ न ।” ऊ हाँसी, कफी राखिदिएर वेटर फर्किसकेको थियो ।
एक छिन हामी दुवै मौन रह्यौँ, मानौ हामी दुई एकअर्काको ढुकढुकी सुन्न चाहन्छौँ त्यही मौनता बीचमा । अन्त्यमा उसैले मौनता तोडी ।
“आज रिजल्ट भनेको होइन ?” “हो, रिजल्ट त आइसक्यो, ८३% आयो ।”
“बाप रे ! ट्रिट हुँदैन त ?” “के को ?”
“रिजल्टको नि, अरु के को ?” “बेरोजगारको पनि ट्रिट हुन्छ र आजकल ?” “कस्तो पेसिमिस्टिक !” “मैले तिमीलाई ट्रिट दिनलाई पनि रिजल्ट कुर्नुपर्छ र भनेर भन्न मात्र खोजेको ।” मैले आफूमाथिको पेसिमिस्टिकको दाग मेटाउने प्रयास गरें ।
“इन्जिनियरहरू पनि बेरोजगार हुन्छन् र ?” “इन्जिनियर चाहिँ भर्खरै भइयो, बेरोजगार चाहिँ दुई, तीन महिनापछि थाहा हुन्छ ।” “आफू त इन्जिनियरको गर्लफ्रेन्ड भनेर ढुक्क भएको त ।”
म हाँसे, अनि मात्र उसका अबोध प्रश्नहरूमा ताल्चा लाग्यो । मैले एकचोटि फेरि उसलाई नियालेँ । ऊ अबोध छे, निश्छल छे, त्यसैले त ऊ राम्री छे ।
“तर तिमी एक्स्ट्रा छौ, मलाई थाहा छ तिमी चाँडै जब भेट्टाउनेछौ, त्यसै मैले तिमीलाई मन पराएको हो र !”

उसका यस्ता शब्दहरू मेरो कानमा मधुरो सङ्गीत बनी बज्दथे नजिकै कानैमा कसैले भायोलिन बजाए जस्तो । ऊ एकछिन त्यंहीँ राखेको म्यागजिनमैं अलमलिई । त्यतिखेर मैले उसलाई एकपटक फेरि नियाल्ने मौका पाएँ । उसको सुवासले वातावरणलाई नै बसन्ती बनाइरहेको थियो । फूलहरू हावामा तैरिरहेजस्तो लाग्दथ्यो । जे होस्, मैले शोलु शेर्पा मिस गरेको थिइन । ऊसका अभ्यस्त हातहरू फेरि रेशमी कपालमा पगिसकेका थिए । लामो समयपछि मैले मौनता तोडेँ ।
“तिमी पत्रिका पढ्दैछौ, कपाल चाहिँ म सुमसुम्याइदिन्छु ।” ऊ लजाई, मलाई लाग्यो समय अनुकुल छ प्रशंसाका लागि ।
“गुलाबी कलर तिमीमा एकदम खुल्दो रहेछ ।” “हो र !” ऊ फेरि लजाई ।
“हुन त तिमीमा के नराम्रो देखिन्छ होला र !” “चेपारे !” मैले घडी हेरेँ । घण्टा काँटा र मिनट काँटा एकआपसमा प्रेमालाप गर्दै साढे छ बजेको समय देखाइराखेका थिए । “साँच्ची, आज मैले संज्ञालाई भेटेको थिएँ । तिमीलाई सोध्दै थिई ।” आकृतीले भनी । “पहिले जतिकै राम्री छे त्यो अझै पनि ?” मैले एकछिन जिस्क्याउने बिचार गरेँ । उसले उत्तर फर्काइन । गाला पनि रातो हुन थालिसकेको थियो । “संज्ञाको गालाको डिम्पल त प्रिती जिन्टाको भन्दा राम्रो छ है ?”
(आगोमा घिउ थप्नु मेरो सानैदेखिको बानी हो । ) “हुन्छ प्रिती जिन्टाको जस्तो, चाउरी परीसकी !”
अब भने मैले हाँसो थाम्न सकिन । एक पटक जोडले हाँसे । अली धरै नै हाँसे जस्तो छ । वरिपरिका सबै मलाई नै हेरिरहेका थिए ।
“प्लीज…. हाँस्ने भन्दैमा भूइँचालो नै ल्याउनुपर्छ त ?”
उसका गाला सम्पूर्ण रूपमा रातो भइसकेको थियो, मेरो फेवरेट कलर ! “ओहो ! सात बज्न पो आँटेछ ।”
भिलेन घडी, मेरो वशमा भएको भए कि दुनियाँभरका घडीबाट काँटा झिकिदिन्थेँ, कि सबैलाई आर्यघाटको आगोमा झोसिदिन्थेँ ।
“एकछिन बस्न मिल्दैन ?”
“कहाँ, भाइलाई ढाँटेर हिँडेको । नोट लिन जानु छ, चाँडै आइहाल्छु, एकछिन रुङ्दै गर है त घर भनेर । उसको पनि कता जानु छ रे क्या ।” “साला !”
“किन गाली गरेको मेरो भाइलाई ?” “तिम्रो भाइ मेरो साला भएन त ?”
ऊ लजाई मेरा वाक्यहरूमा स्वीकारोक्ति दिँदै । हामी छुट्टियौँ, नचाही नचाही । बाहिर निस्कने बित्तिकै मैले एकपटक आकाश हेरें । चन्द्रमा बादलबाट धर्तिलाई चियाउँदै थियो । मेरो चन्द्रमा भने बाटोपारि अस्ताउँदै थियो ।


जाडो याम उत्कर्षमा छ अहिले काठमाडौँमा । चराहरू साइबेरियाबाट नेपालको उडानमा छन । आकाशभरि उडानमा ब्यस्त चराहरू देखिन्छन् । पौराणिक कालमा यसैलाई होला गगन विहार भन्ने । होस्टलका केटाहरूले पौष १५ सम्ममा होस्टल छोडिदिनका लागि अल्टिमेटम पाएछन् । केटाहरू पनि व्यस्त छन् अहिले होस्टलबाट वास्तविक दुनियाँमा डेरा सर्नलाई, साइबेरियन चराहरू जस्तै । झोलाझाम्टा सहित केटाहरू पनि ट्याक्सीबाट डेरासम्मको गुडानमा व्यस्त छन् । हाम्रो ब्याचका धेरै केटाहरू बानेश्वर सरेछन् । उनीहरूको बानेश्वर मोह मैले बुझ्न सकिन । (शायद मिनभवनको क्याम्पसमय वातावरण अनि केही केटाहरूको एम.बि.एस.पनि पढदै गर्ने सोच) । हुन त मलाई पनि बानेश्वरको कणकणसँग माया छ ।
अब हाम्रो अड्डा पनि सर्‍यो । पुल्चोक क्याम्पसको स्ववियु क्याफेबाट मिनभवन क्याम्पस छेवैको नेपाल टपमा । समय उही, साँझको छ बजे ।
मिनभवन कमर्श क्याम्पस कारण अकारण भीड भई नै रहन्छ प्रायशः । क्याम्पस बाहिर जस्तै भींड कक्षाभित्र हुन्छ कि हुँदैन होला ? म त्यो बाटो हिँड्दा सोच्ने गर्छु । मेरो छेऊबाट दुईवटा बि.बि.ए.को ड्रेस लगाएका केटाहरू हाँस्दै कटे । मेरो स्मृतिमा पुल्चोक क्याम्पसका होहल्ला सहितका दिनहरू ताजा भए । किन हो कुन्नि, उनीहरूको हाँसोप्रति इर्ष्या जाग्यो । रिजल्ट आएको एक महिना बितिसक्दा पनि हामीमध्ये धेरै बेरोजगारै थियौँ । बेरोजगारी बिस्तारै बिस्तारै बिझाउन थालेको थियो, कुनै खिल बसेको काँडा जस्तै । पहिलापहिला यही कुरालाई हाँसोमा उडाए पनि बिस्तारै बिस्तारै बेरोजगार हुनुको मर्म थाहा हुन थालेको थियो । नेपाल टपमा समूह भेला भख्खर भख्खर शुरु हुन थालको थियो । “प्रदिपले जागिर पायो नि, थाहा पाइस् ?”
रोशनले सबैभन्दा पहिले मलाई नै होला सूचना सम्प्रेषण गरेको, म ज्वरो आएर दुई दिन कोठामै थलिएकाले होला ।
“कस्तो छ त जागिर ?” “जागिर कस्तो हुन्छ ? जागिर जस्तो नै छ ।” “के हो त्यो भनेको, केमा भनेर पो सोधेको त मैले !”
“कन्ट्रयाक्टरको हो, बि क्लास कन्ट्रयाक्टरको, उसैको टाढाको मामाको हो अरे ।” “स्यालरी सुनाएन त्यसले ?”
“आफ्नै मान्छेकोमा काम शुरु गरेको कत्तिनै स्यालरी हुन्छ र ? काम सिक्दैछ भनौँ ।” “छँदै छैन त स्यालरी ? भोल्युन्टियर नै हो कि क्या हो ?”
“छ छन त, छ हजार छ अरे, खासै काम त थिएन तर दिदीले भनेर मात्रै भनेर सुनाइरहन्छन् अरे उसको टाढाका मामाले !” “रैछ त !” हुन त मैले नहाँस्नु पर्ने हो, उसको छ हजारको व्यथामा । तै पनि म हाँसे । “आफ्नो मान्छेकोमा काम गर्न गाह्रो हुँदो रहेछ भन्दै थियो ।”
“हामीलाई जिस्क्याएको हो कि क्या हो त्यसले ? बेरोजगारको अगाडि आएर जागिर मन परेन, चित्त बुझेन भन्ने, तिर्खा लागेको मनिसलाई पानी देखाएर होइन मट्टितेल हो भन्ने ।” म फेरि हाँसे ।
“के टेन्सन लिएको, तैँले पनि पाइहाल्छस् नि जागिर ।” “कहाँबाट ?”
“धैर्य गर, प्रतिक्षाको फल मिठो हुन्छ क्या !”
“त्यही त गरिराखेको छ अहिलेसम्म । भनेपछि नेपाल टपमा प्रदिप नदेखिने भयो अब ।”
“बिचरा, साढे आठ बजेसम्म त साइटमा नै बस्नु पर्छ । रातिराति नेपाल टप खोलेर बसे मात्रै हो, प्रदिप अब देखिनलाई त !” बिस्तारै बिस्तारै नेपाल टप घुइँचिदै थियो । साँझको अँध्यारो अलिअलि गर्दै काठमाडौँलाई बेर्दै थियो । ललितपुरमा बलेका बत्तीहरू कुनै धनी आइमाईको गलाको नेकलेस जस्तै देखिइरहेका थिए । मरिचले चियालाई पिरो र अझ तातो बनाएको थियो ।
मैले त्यही चिया एक सुरूप तानेँ ।
प्रकाशले फेरि प्रसङ्गलाई जागिरमै डोर्‍यायो । हुन त यो समयमा हामीलाई प्रसङ्गको अभाव पनि थियो । “नयाँ भ्याकेन्सी खुलेको थाहा छ ?” “भ्याकेन्सी स्पेशलिष्टकै मुखबाट सुनौँ न !” मैले भनेँ ।
“टन्डन स्टील्स एन्ड स्ट्रक्चर्समा मागेको छ अरे, भर्खर निस्केका फ्रेशर्सलाई प्रायोरिटी दिने अरे ।” “केमा निकालेको ?” “आजको हिमालयन टाइम्समा छ ।” बाटामै बसेको हाम्रो घुइँचो चिरेर एउटी ठिटी शंखमूलतिरको ओरालो झरी । “त्यता चाहिँ भ्याकेन्सी छ छैन सोध्नुपर्ला जस्तो छ ।” मैले भनेँ ।
नजिकैबाट ओरालो लागेकी त्यो ठिटीले प्रकाशको ध्यान भ्याकेन्सीबाट अन्यत्र लान विवश गराई ।
“मिनभवन पढ्ने केटी हो, त्यसैको त हो नि अस्ति एउटा केटासँग बाटोमै मिडनाइट हट आइराखेको !” रोशनले आफूले देखेको जानेको कुरा सबै सुनाएर प्रष्ट्यायो ।
“बाबा ! डाटा कलेक्सन चाहिँ एकदम हयुज छ केटाको । भनेपछि हामीले त्यहाँ पनि नो भ्याकेन्सी छ भनेर बुझ्नु पर्‍यो होइन त ?” “भ्याकेन्सी खोज्ने होइन, क्रिएट गर्ने हो ।”
रोशनले केटाहरूको हाँसोको बीचमा आधा जलेको चुरोट मतिर तेर्स्यायो ।
“थ्याङ्क्स, तर मैले छोडिदिइसकेँ ।” “भाउजूको डिमाण्डमा ?”
“सानो कुरा पाउनु हुँदैन है, तँलाई ? आफू भने सबै कुरा भन्यो, भोलिपल्ट त्यही कुरामा जिस्क्याउँछ ।” ऊ हाँस्यो, मैले
पोखेको पीडामा ।
“तैँले जागिर खान मन नगरेको हो ?” “मन नगरेकै हो । काठमाडौँ बाहिर जाने हो भने त बुवाले मिलाइदिन सक्नुहुन्छ । तर अब जि.आर.ई. नजिकिँदै छ ।
आई निड टाइम फर इट ।” “मलाई भनेर भनिदिन सक्छस्, कतैतिर ?” “तेरो लागि एक ठाउँमा हुनसक्छ, एक दुई दिन पर्खिनुर्पछ तर । अरु केटाहरूलाई नभन् है त ।” “भोलि सुन्धारा जानुपर्छ है त हुलाकमा ।” हामी दुईजनाको गफमा प्रकाशले अतिक्रमण गर्‍यो ।
“किन ?”
“टन्डनमा हाल्ने होइन त ?”
“हाल्ने हो । अब भ्याकेन्सी खुलेको ठाउँमा एप्लिकेसन, सि.भी. हाल्ने बाहेक अरु के नै काम छ र ? दिउँसो सुत्ने समय बरु हिंडेरै बिताऊँ । आज राति एप्लिकेसन र सि.भी बनाउनुपर्ला ।” आजको चियाको र चुरोटको सेसन सिद्घिइसकेको थियो शायद । मैले कप हेरेँ, कप हाम्रो वर्तमान जस्तै रित्तिएको थियो ।

भोलिपल्ट सुन्धाराको घुइँचोमा प्रकाश र म पनि थपिएका थियौँ । हुलाक यो वर्षको डि.भी.ले गर्दा होला शायद झनै घुइँचोमय देखिएको थियो । पर एउटा पुल्चोक क्याम्पसको भाइ देखियो ।
“ओ हो आशिष दाइ सञ्चै ?” आफू लुकौँ भनेर छेकिइन आँटेको देखिहाल्यो ! यतिखेर बाटोमा जुनियरहरू नभेटिए पनि हुन्थ्यो जस्तो लाग्छ । “सञ्चै छ भाइ, के छ त तिम्रो हालखबर ।” मैले कनिकुथी जवाफ फर्काएँ । “ठीकै छ दाइ, अनि तपाइँ कहाँ हो त अहिले ?”
यही नै कारण हो म ऊदेखि लुक्न खोजेको, जुनियरहरूलाई सधैँ नै सिनियरहरूको जागिरको चासो हुन्छ । शायद उनीहरू हाम्रो वर्तमानमा आफ्नो भविष्यको परावर्तन खोज्छन् ।
“कहीँ होइन भाइ, यसो भ्याकेन्सी भएका ठाउँहरूमा एप्लिकेसन मात्रै हाल्दैछु अहिले त !”
“कत्तिको आउँछ त दाइ अपर्चुनिटी ?” ऊ मलाई नजानिँदो पाराले घोच्दै थियो, तिखो काँडाले । तर म भने हाँस्न विवश थिएँ । सबै थाहा हुन्छ एक वर्ष कुर मात्रै, भन्न मन लागेको थियो तर मैले आफ्ना शब्दहरू बदलें ।
“आउन त आउँछ भाइ, तर कुनैमा मन मिल्दैन, कुनैमा ठाउँ मिल्दैन, अनि धेरै जसोमा स्यालरी मिल्दैन ।” “ल त दाइ लागेँ त म, डि.भी. भर्न आएको ।”
बाहिर निस्केपछि मैले मर्माहत मलाई नै एक पटक नियाँले । अनि प्रताप मल्लको रानीपोखरीलाई नियाँले । रानीपोखरी मेरो आँशुलाई सानो मानी हाँसिरहेको थियो । के थाहा र रानीपोखरीलाई ! बानेश्वरमा ऊभन्दा ठूलो आँशुपोखरी बन्दैछ भन्ने ।
“बानेश्वर जाने दाइ ?” माइक्रोको फुच्चेले हामीलाई भित्र बस्न आग्रह गर्दै भन्यो । जानैपर्‍यो नि, अन्त खान दिने ठाउँ पनि त छैन ।

बिहान काठमाडौँमा कुखुराहरू बास्दैनन् । एलार्मको भरमा बिउँझिनुपर्छ । कृत्रिमता भरिएको काठमाडौँका कृत्रिम कुखुराहरू ! बिहान सुतिरहेको बेलामा बज्ने (प्रमुख रूपमा एक्जामको बेलामा) घडीको एलार्म र जत्तिनै इर्म्पोटेन्ट भए पनि बिहानका फोन कल्सदेखि मलाई रिस उठछ । कमसेकम निन्द्राको स्वतन्त्रता भने सबैलाई हुनुपर्छ । तर पनि सोचे जस्तो हुन्न जीवन, रोजे जस्तो हुन्न जीवन, फेरि त्यसमाथि सुत्नलाई औषधि चाहिनुभन्दा उठ्नलाई एलार्म चाहिनु नै बेस । आज बिहानै फोनको घण्टी बज्यो ।
“आशिष, तेरो फोन !” आमाले मलाई बिउँझाएपछि त झन उठ्नु अनिवार्य नै भयो । अल्छी लागीलागी म ओर्लें तलतिर । टि टेबलमा राखिएको चियामा हात गयो फोनभन्दा अगाडि !
“हेल्लो !” “किन स्वीच अफ तेरो मोबाइल ?” प्रकाशको आवाज ठम्याउँन मलाई त्यति गाह्रो भएन ।
“यस्तै हो म त, सुत्नलाई डिस्टर्ब हुन्छ भनेर स्वीच अफ गरेर सुत्ने हो । उठेपछि मात्र हुन्छ मोबाइल अन ।” “नौदेखि नौसम्म, भन् न त !” “त्यस्तै त्यस्तै हो ।” मेरा आँखाहरू अझै पनि बिहान भइसक्यो भनेर मान्न तयार भइसकेका थिएनन् । म आँखा मिच्दैमिच्दै हाँसे ।
“टन्डनले त हामी सबैलाई बोलाएछ नि, हामी कसैलाई पनि छोडेनछ इन्टरभिउमा !” बल्ल मेरा आँखाहरू च्यात्तिए । “इन्टरभिउ कहिले ?”
“भोलि सोमबार होइन ? भोलि बेलुका तीन बजेपछि छ । हामी सवैको एउटै सेसनमा छ । आज नेपाल टप आइज न, सबै थाहा भइहाल्छ नि ।” “म आज त नेपाल टप आऊन भ्याउँदिन होला, भोलि नै भेटौंला ।”
“आकृतीलाई टाइम दिएको होला, कहाँबाट आउँथिस् त नेपाल टपमा, बरु हामी नै द बेकरी क्याफे आउनुपर्ला, ल त मैले फोन राखिदिएँ ।” यसलाई भनिन्छ सच्चा साथी शायद, नभनीकनै डेटिङ्गका प्लानहरू पनि पत्ता लाइदिन्छन् ।
सधैँझैँ आकृती आज पनि समयमा आइन । आज आकृतीलाई पर्खिन गाह्रो भयो । पर्खाइ चुरोट बेगर निरस, लामो र पट्यारलाग्दो हुँदोरहेछ । मैले दश मिनटभित्र तीन चोटी घडीमा आँखा पुर्‍याइसकेको थिएँ । तर घडीका काँटाहरू भने आलस्यमय ढङ्गबाट सरिरहेका थिए । म बाटोमै आँखा गुडाउन थालेँ । आजकल जाडो लागेकाले नेत्र विचरण पनि त रमाइलो हुँदैन । पूरा ढाकेको कपडामा बानेश्वरमा चामलहरू….पक्कै पनि मरो आँखाले खोजेको त्यस्तो थिएन । अन्ततोगत्वा पर मेरो आँखाले भ्याउने सिमानाभित्र आकृती देखा परी । अनि नजिकै आएर उही पुरानो रिपिटेड लाइन ।
“सरी आइ एम लेट” मलाई डिसाइड गर्न गाह्रो हुनेछ यदि आकृतीले मलाई आई लभ यु धेरै भनी वा “सरी आइ एम लेट” भनी सोधियो भने ! हामी भित्र छिर्‍यौँ ।
“ ५:१५ मै आउने हो भने इन्डियन ५ भनेको भए भई हाल्थ्यो नि ।” म हाँसे । “भेरी फन्नी !” उसले हाँस्ने कारण भेटिन । “आफैँ ढिलो आउने, आफैँ रिसाउने !” मलाई त्यो रातो गालामा अझै रङ्ग थप्न मन थियो ।
“अब यत्तिकैमा रिसाएको हुन्छ ?”
“मैले संज्ञालाई रिसाएको अहिलेसम्म देखेको छैन ।” “ए ! त्यो तिम्री प्रिती जिन्टा । अहिले त चाउरिएर चुसेको आँप जस्तै भइसकी ।” खाँदाखाँदैको पेष्ट्री रोकेर भए पनि ऊ हाँस्न थाली ।
“कसले चुसेछ ?” म पनि हाँसेँ ।
“मालदह आँपको त कोयो पनि मीठै हुन्छ नि !” मेरो हाँसो झन् बढ्दै गयो ।
छेवैको अधवैंशे मान्छेलाई हाम्रो हाँसो पचेन जस्तो छ । मलाई खाउला जस्तै गरेर हेरिरहेको थियो । मलाई लाग्यो म बेकरी क्याफेको कस्टोमर नभएर बेकरीको कुनै आइटम हुँ ।
“चुसेको आँपको कुरा छोड, तिमीलाई बेकरी क्याफेको अमरिश पुरी देखाउँछु ।” मैले उसले थाहा नपाउने गरी औँला ऊतिर र्तेस्याएँ । आकृती फेरि हाँस्न थाली तर हामी यसपाली छेवैको टेबलको कम्फर्टसँग भने सतर्क थियौँ ।
“साँच्ची, थुप्रै भयो तिमीले मलाई मुभीको लागि अफर नगरेको ।” “बेरोजगारलाई जिस्क्याएको ?”
“तिमी जहिल्यै यस्ता कुरा गरेर टार्छौ । तिमीले खोज्न मन नगरेर मात्रै हो जागिर नपाएको, तिम्रो आदर्श आउँछ जहिल्यै तिम्रो अगाडि ।” “तिमी नै खोजिदेऊ न त ।”
“प्लीज, तिमीले यस्तो कुरा गरेको पटक्कै सहाउँदैन । साँच्चि, नयाँ खबर के छ जागिर सम्बन्धमा ?” “एक ठाउँमा बोलाउन त बोलाएको छ, हेरौँ ।” “पाउँछौ तिमीले ।” “तिम्रो मुखमा दूधभात जाओस् ।” “केही ननभेज भनेको भए पनि त हुन्थ्यो नि !” “पहिला हुन त देऊ, त्यसपछि त योर विस इज कमाण्ड फर मी ।” हामी बेकरी क्याफेबाट निस्कियौँ । मैले एकचोटि फर्केर हेरेँ । बेकरी क्याफ हामीलाई हात हल्लाएर विदा गर्दै थियो ।
अमरिश पुरी आफ्नो बर्गरमा मस्त थियो । द बेकरी क्याफेबाट चाँडै निस्किए पनि आज हामी बानेश्वरको सन्ध्यालाई धित मरुञ्जेल जिउन चाहन्थ्यौँ । त्यसैले बानेश्वरको भीडमा लक्षहीन हामी दुक्लै हिँडिरहेका थियौँ ।
“बानेश्वरको ट्राफिक लाइट, मैले धेरै भयो याद गरेको, राम्री केटी देख्नै हुँदैन । आँखा झिम्क्याइहाल्छन् । आज पनि तिमीलाई देखेछ । ऊ ! हेर त ! शुरु भइहाल्यो ।” “जे पायो त्यही ।” “फोडीदिउँ त्यसलाई ?” “छ्या” ऊ हाँसी, एउटा सूर्यमुखी ओइलिएर लुत्रुक्क पर्ने बेलामा अर्को ढकमक्क फुलिरहेको थियो । आकाशको चन्द्रमा वादलु
घरभित्र छिर्‍यो । शायद उसले देख्न सकेन, धर्तीको चन्द्रमा निर्धक्क हाँसेको । ढकमक्क फुलेको । इर्ष्यालु चन्द्रमा ! “भोलि पनि इन्टरभिउ सिद्घिएर फर्किंदा द बेकरी क्याफेमा बसौँ न हुन्न ?” हुन्न त किन भन्थेँ र म ! “भोलि पनि ?”
“किन दिनदिनै तिमी र म भेट्नु हुँदैन ?”
“त्यस्तो त होइन । तर दिनदिनै बेलुकाबेलुका छोरी हराउन थालपछि बाले चौकीदारी गर्न थाले र चौकीदार बाको चौकीदारीमा परियो भने ? हि इज डेन्जरस ।” “अनि चौकीदारकी छोरी ?” “सी इज डेन्जरस्ली क्युट ।” ऊ हाँसी फेरि, मानौँ ऊ फेरि चन्द्रमालाई बादलु घरभित्रै छिराउन चाहन्छे । “त्यस्ता कुराहरू त चौकीदारकी छोरीको मन चोर्नुअघि नै सोच्नु पर्दथ्यो ।” “चोरै त होइन म, ब्यापारीसम्म भन्न सक्छौ । आफ्नो मन दियो अर्काको मन लियो ।” “कसको ? चौकीदारकी छोरीको ? तिमी अनि तिम्रो ब्यापार ! म भोलि पर्खिरहन्छु है त ।” “भनेपछि भोलि तिमी मभन्दा चाँडो आउने ?” मलाई एकचोटी उसको रातो गाला हेर्न मन लागेको थियो । तर अचम्म, ऊ यसपालि रिसाउँदै रिसाइन ।


पहेँलो रङ्गको डिस्टेम्बर, भुइँको कार्पेट अनि मिलाएर राखेका सोफाहरू टन्डनको वेटिङ्ग रुमलाई सम्पूर्णता दिइरहेका थिए । भित्ताको इफिल टावरको चित्रभित्र आकाशिँदै गरेको इफिल टावर अब यो चित्रभित्र बन्दी हुन्न भनेर चिच्याइरहेको भान हुन्थ्यो । आई.ओ.ई.का होहल्ला गर्ने स्टुडेन्टको समूहनै त्यहाँ भए पनि खासखुस मात्र चलिरहेको थियो । अनि टन्डनको रिसेप्सनिस्टरूपी चामल हामीलाई समय कटाउने माध्यम बनिरहेकी थिई । ऊ मिलेकै कागजहरूलाई पनि मिलाएर फाइलमा राख्ने सुरमा बिगारिरहेकी थिई ।
“आत्था !” मैले चिमोटेपछि प्रकाश झस्कियो । “कत्रो लामो लुक रिसेप्सनिस्टलाई !”
“अरुको राम्रो होस्, अरुले पनि गरी खाउन भन्ने छैन है । आफ्नो जोडी छँदैछ, अरुको के मतलव र ?”
“जागिर खाएपछि दिनभरी त्यही रिसेप्सनिस्टसँग साइड खेलेर बस्नु ।” “नखाए पनि त रिसेप्सनको नम्बर छँदैछ, घरमै बसेर ब्लफ गर्नुपर्छ ।” “ब्लफ होइन, सक्छस् भने पाँच मिनट गएर गफ गरेर देखा त ।” “त्यति पनि हिम्मत छैन जस्तो लाग्यो ?” “लौ त !” आगोमा घिउ थप्नु मेरो सानैदेखिको बानी हो ।
प्रकाश जुरुक्क उठेर रिसेप्सनिस्टतिर गयो । रिसेप्सनिस्टको ओठमा लगाएको ग्लसले ती ओठ सधैँ बोलिरहुन बनाएको थियो । उसको इयररिङ्ग झ्यालबाट छिरेको प्रकाशले चम्काइरहेको थियो । तर मुस्कुराउँदै बोल्न थालेकी ऊ र उसको इयररिङ्ग कुन ज्यादा चम्किरहेको हो, मैले छुट्ट्याउँन सकिन । “मे आई हेल्प यु ?” उसको बोली पनि मुस्कानकै लेबलको रहेछ । “हाम्रो इन्टरभिउ कतिखेर हुने होला ?”
फर्स्ट लाइन नै यस्तो र्‍युड लाइन, के गफ होला यिनीहरूको पाँच मिनटसम्म ! एउटा प्रकाशले चम्काएको इयररिङ्गमा अर्को प्रकाशको ध्यान गएन । शुरुवात यदि रोशनले गर्नुपर्ने भएको भए आई एम हन्ड्रेड पर्सेन्ट स्योर, उसको गफ इयररिङ्गबाटै शुरु हुन्थ्यो ।
मैले आफ्नो मुन्टो, आँखा, कान सबै ती दुईको सम्वादबाट घुमाएर टाढा लगेँ । दुईवटा भङ्गेरा टेलिफोनका गुजुल्टेका तारमाथि खासखुस गर्दै थिए । के गर्दै थिए स्पष्ट देखिएको थिएन । के नै गर्दै होलान् र ? कि चुपचाप बसेर तारभित्रको गफ सुनिरहेका छन्, वा कुनै शान्त स्थलमा डेटिङ्गको प्लान मिलाउँदैछन् ।
प्रकाश फर्केर आइसकेको थियो । पाँच मिनटभन्दा धेरै गफ भएछ मेरो अनुमान विपरीत ।
“रिसेप्सनिस्ट त मेरी बहिनीकी साथी पो रहिछे ।” ऊ मख्ख थियो मतिर फर्किदा, मानौँ ऊ ओलम्पिकमा गोल्ड मेडल जितेर नेपाल फर्किदै छ ।
“ए त्यत्रो डिप गफ भयो अहिल्यै ?” “अनि के त, हामी पनि त हेन्डसम नै छौँ तर राम्रो रिजल्टले धैर्यता माग्छ ।” “बधाई छ ।”
“धन्यवाद, तर जे होस् गफ गर्ने बाटो खुल्यो ।” “त्यसको लागि पनि बधाई छ ।” “एक स्टेप, एक्लोबाट दुक्लोतर्फ ।” ऊ हाँस्यो ।
प्रकाशकी बहिनीकी साथी हामीलाइ्र्र गु्रप इन्टरभिउको निमन्त्रणा दिएर आफ्नै ठाउँमा फर्किई । “आँखा आँखा बोलिरहे” यही गीतको याद आयो मलाई प्रकाशको र प्रकाशकी बहिनीकी साथीको ताल देखेर ।
“तिमी आँखाले मात्र नबोल्ने गर, तिम्रो मुख अहिले बेरोजगार भएको छ ।” प्रकाश ऊ फर्केपछि बडबडाउँदै थियो । “हामी जस्तै ?”
मैले प्रकाशको ध्यान रिसेप्सनिस्टबाट इन्टरभिउतिर तान्न खोजेँ तर उसको नागबेली चाल इन्टरभिउको लागि भित्र छिर्दा पनि प्रकाशका आँखा तान्दै थिए । हामीहरू अन्यौलमैँ भित्र छिर्‍यौँ । राउण्ड टेबल अनि कुर्सीहरू हामीलाई नै पर्खेर बसिरहेका जस्ता देखिन्थे । त्यहीँ हामीलाई बसाइयो ।
“तपाइँहरू भन्दा एक वर्ष अगाडिकाहरू पनि आउनुभएको थियो । आज बिहान ।”
सूचना सम्वाहन गर्ने मेनेजर हो शायद । सूचनाले हाम्रो मौनता तोडेन । शायद त्यसैले होला हाम्रो तनावग्रस्त अनुहार माथि उसले प्रलोभनको लाली दल्न खोज्यो ।
“हामीले फ्रेशर खोजेको हो तर ।”
मैले उसको हँसाई ध्यानले हेरेँ । उसका दुईवटा दाँतहरू खप्टिएका थिए । अनि त्यसको कन्सीक्वेन्सले बनेको अरु दुईवटा दाँतहरू बीचको खाली ठाऊँले उसको कुरूपता दर्शाउँदै थियो । समग्रमा ऊ पौराणिक धारावाहिकको खलनायक पात्र जस्तै जस्तै देखिन्थ्थो ।
“तपाइँहरू फ्रेशर पनि अनि पुल्चोकबाट पनि, त्यसैले यसलाई हामी इन्टरभिउभन्दा पनि इर्न्फमेसन शियर गर्ने प्रिइन्ट्रोडक्टरी प्रोग्राम जस्तै गरी लिऊँ ।”
इन्टरभिउ नलिने, डाइरेक्ट जब इन्ट्रोडक्सन…वाट्स गोइङ्ग अन ? …सबैजनालाई राख्ने हो कि क्या हो ? मेरो मन भने कुरा खेलाउन व्यस्त थियो । पौराणिक धारावाहिकको खलनायक पात्र बोल्दै गयो ।
“ओके ! पहिलो कुरा, कन्ट्रयाक्ट हुन्छ । यु अल हयाभ टु लिभ योर सर्टिफिकेट्स फर द होल वन इयर ।”
हामीले एकअर्कामा मुखामुख गर्‍यौँ । राता अनुहारहरू एक अर्कालाई हेर्दै थिए । बुझ्न चाहिँ बुझियो, वाई दिस वाज प्रिइन्ट्रोडक्टरी प्रोग्राम !
“स्यालरी कति हो सर ?”
एक वर्ष राखेको इन्जिनियरहरूको सर्टिफिकेटको मूल्य बुझ्न म उत्सुक थिएँ । अरु भने कोमामा गएजस्ता देखिन्थे ।
“स्यालरी त शुरुमा छ हजार ।”
मैले उसको अनुहार हेरेँ । हाम्रो बाध्यता देख्ने, पोटेन्सियल नदेख्ने धृतराष्ट्र अन्धो ! “इट्स टोटल्ली एक्सप्लोइटेशन ! होइन र !”
“फ्रेशरलाई त छ महिना हामीले स्यालरी दिने र काम सिकाउने दुवै गर्नुपर्छ, बट वि स्टील आर पेयिङ्ग सिक्स थाउजेण्ड !” ऊ छ हजारलाई यसरी स्ट्रेस दिँदै थियो मानौ त्यो छ नभई साठी हो । फ्रेशरलाई काम सिकाउनु पर्ने भए किन फ्रेशरलाई प्रायोरिटी दिने ? मैले आफ्ना शब्दहरू रोकेँ ।
“चार वर्ष हामीले इन्जिनियरिङ्गमा कसरी काम गर्ने भनेर नै पढेको हो । तपाइँहरूले छ महिना सिकाएर आकाशिने फरक त आउँदैन होला हाम्रो नोलेजमा । सर्टिफिकेट राखेर इट्स इम्पोसिबल फर अस टु वर्क एट सिक्स थाउजेण्ड ।” म यस पटक तात्तिएँ ।
“हामीसँग छन् यत्तिमै काम गर्ने इन्जिनियरहरू !” “बट सरी सर आइ कान्ट ।”
मैले आफ्नो निर्णय सुनाईसकेको थिएँ । अन्तिम पटक उसको आँखामा आँखा जुधाएँ । उसका गिद्घे दृष्टि मेरो मासु लुछ्न आँटेजस्तो देखिन्थ्यो । म खप्न नसकेर बाहिर निस्केँ । मसँग नेपाल टपको टोली बाहिर निस्किइसकेको रहेछ । कमसेकम हामीमा बेरोजगारीको खिया लागिसकेको भए पनि हामी गलिसकेका रहेनछौँ । मैले बाहिर निस्किएर क्यानभास भित्रको इफिल टावरलाई हेरें, ऊ अझै बन्दी जीवनसँग द्वन्द्वरत थियो ।
रिसेप्सनिस्ट प्रकाशलाई हेरेर हाँस्न खोज्दैथिई । तर प्रकाश भावहीन थियो मानौ ऊ लामो समयको निन्द्रापछि बिउँझिएको थियो । बाहिरबाट निस्किएर म भने छुट्टिएर आफ्नै बाटोतिर लागेँ ।

हुन त परिवर्तन बानेश्वरमा थिएन, द बेकरी क्याफेमा थिएन । तर शायद परिवर्तन ममा थियो । आज बानेश्वरको सन्ध्या पनि राम्री थिइन् । शायद दिउँसोको घामले डढायो होला । काली भइछे । आकृती आज चाँडो आइछे । ऊ अघिदेखि नै अधिर मलाई पर्खिरहेकी जस्ती देखिन्थी ।
“हाउ वाज योर इन्टरभिउ ?” कफीको अर्डरअघि नसोधोस् भन्ने प्रश्न आइसकेको थियो । मैले सुनेको नसुन्यै गरेर वेटरलाई बोलाएँ । “भाइ दुईवटा कफी ।” “भन न !” प्रश्न दोहोरियो ।
“डाँकाहरू ।”
“के भयो ?”
“स्यालरी शुरुमा छ हजार, सर्टिफिकेट एक वर्ष राख्ने अरे, कसरी काम गर्ने त्यतिमा ? म त इन्टरभिउकै बीचमा निस्किएर आएँ ।” “ठीकै गर्‍यौ ।” “तै पनि !” “हि हयाज नट रिजेक्टेड यु, यु हयाभ डम्प्ड इन्सटिसड ! डन्ट फिल टेन्स्ड यार, कहीँ न कहीँ त पाइहाल्छौ नि ।” उसले मेरो हात समाती अनि सुम्सुम्याई । तर म उसको आँखामा सहानुभूति, सान्त्वना हेर्न चाहन्नथेँ । “कहाँ ?” मैले उसको आँखामा आँखा जुधाएर प्रश्न गरेँ ।
शायद यो प्रश्नको जवाफ थिएन ऊसँग, ऊ मौन रही । समयले मौनतालाई पनि कहिलेकाहीँ भारी बनाउँदो रहेछ । उठाउन खोज्दा उठाउन नसकिने, चिर्न खोज्दा पनि चिर्न नसकिने ।
“तिमी जत्तिको क्यालीबर भएको मान्छेले त बाहिर पढ्न ट्राई गरेको भए हुने रहेछ । मेरो एक जना दाइ, इलेक्ट्रोनिक्स तिम्रै ब्याचको यु.एस. जानुभयो ।”
क्यालीबर भएको मान्छे ले त बाहिर पढ्न ट्राई गरेको भए हुन्थ्यो ! के नेपाललाई क्यालीबर भएको मान्छेको खाँचो छैन र । किन सबैभन्दा संधैँ भिन्न हुन्छन् मेरा सोचहरू ? यसपालि मलाई चसक्क बिझ्यो । म उसलाई तिमी अनि तिम्रो दाइ दुवैजना बेवकुफ हौ भन्न पनि त सक्दिनथेँ । म छेवैको चिनीभित्रको चम्चीलाई यसरी चलाउँदै थिए मानौ म सवै रिस त्यसैमा पोख्न चाहन्छु । म थोरै समयको लागि भए पनि बेरोजगारको ट्यागबाट मुक्ति चाहन्थेँ ।
“के भयो ?” “केही होइन ।” “फिलिङ्ग टेन्स्ड ?” “होइन ।” “के त त्यसो भए ?”
कसरी सुनाऊँ म उसलाई मेरो असफलताको कथा, म भित्रको व्यथा । आजको दिन मलाई आकृतीसँग पनि समय काट्न गाह्रो भयो । धेरै गफ नगरीकन हामी छुट्टियौँ । सम्भवत हामी बीचको सबैभन्दा चिसो भेट थियो त्यो । हुन त म ऊसँग कुरा लुकाउन चाहन्न, तर घिनलाग्दा घाऊहरूमा आफैंसँग पनि पर्दा राख्नुपर्ने रहेछ ।
बिहानै रोशनको फोन आयो । उसले टन्डनको बारेमा नयाँ खबर छोड्यो । त्यहाँ हामीभन्दा एक ब्याच सिनियरहरू हाम्रै कलेजकै स्टुडेन्टलाई लियो अरे ! दुई महिनाको बेरोजगारीले हामी गलिसकेका थिएनौं, तर एक वर्ष दुई महिना ? म मनमनै हाँसें, उनीहरूको वर्तमान र आफ्नो भविष्यलाई दाँजेर ।


म नउठे पनि सधैँझैँ प्रभात समयमै आयो गुलाबी किरणहरू बोकेर । झ्यालको पर्दाको च्यापबाट सधैँझै मलाई चियाउँदै पनि थियो । तर उसका यत्रा क्रियाहरूको बीचमा पनि म ओछ्यानमै निष्कृय लडिरहेँ । फोनको कर्कश ध्वनि मेरो कानसम्म आएपछि मात्र म चलमलाउन बाध्य भएँ । फोनको कर्कश ध्वनि अनि घडीको बिहानको एलार्म मैले कहिल्यै जित्न सकिन यिनीहरूसँग ।
“कोही छैन घरमा फोन उठाउने ?” मैले तन्द्रामै चिडचिडे आवाजमा कराएँ ।
नेपथ्य मौन थियो मानौ उसको लागि मेरो बोलीको कुनै महत्व छैन । नेपथ्य मात्र किन धेरैलाई मेरो बोलीको महत्व छैन । आमा, बुवा, दाजु खाना खाएर निस्किए जस्तो छ जागिरमा । म कसलाई चिच्याउँदैछु ? मैले घडी हेरेँ । घडीका काँटाहरू आफू आफूमै रिसाए जस्तो छ । एक आपसबाट छुट्टिन खोज्दै ना बजेर पन्ध्र मिनट गएको देखाउँदै थिए । चिया खाएको थाहै थियो ओछ्यानमै, सवा सातमा, त्यसपछिको दई घण्टा …फोनको घण्टीले मलाई उठ्न विवश बनायो । किन म्युट बटन हुँदैन फोनमा ?” “हेल्लो”
“आशिषजी हुनुहुन्छ होला ?” “हजुर बोल्दैछु ।” “तपाइँले दिब्या कन्सल्टेन्सीमा भएको भ्याकेन्सीको लागि एप्लिकेसन र सि.भी. छोड्नुभएको रहेछ ।” मेरो बोलीमा अचानक उमङ्ग थपियो । काला बादलहरू छेवैमा चाँदीको घेरा मैले देखेँ ।
“साढे आठ बजे बिहान हामीले तपाइँको मोबाइल नम्बर ट्राई गरेका थियौँ । तर तपाइँका मोबाइल स्वीच अफ गरिएको रहेछ ।” “म इर्म्पोटेन्ट मिटिङ्गमा थिएँ सर !”
बिहान साढे आठ बजे कस्तो इर्म्पोटेन्ट मिटिङ्ग भनी ठान्यो होला त्यसले ! वहाना पनि बनाउन नआउने कस्तो हुस्सु म ! “तपाइँले सि.भी.मा पर्सेन्टेज कति भनेर लेख्नु भएनछ नि ! फोनमा नै लिन आट्यो कि क्या हो यसले इन्टरभिउ ?
“सर, त्यो त म सबै सर्टिफिकेट र मार्कसिट इन्टरभिउमा नै लिएर आइहाल्छु नि, तर पनि सरको जानकारीको लागि हो भने मेरो पर्सेन्टेज ८३% छ ।” मैले आफ्नो बचाव गर्ने प्रयास गरेँ ।
“होइन त्यो त ठीकै छ ।” “सर, इन्टरभिउ कतिखेर होला ?” हुन त उसले पनि त्यसैका लागि फोन गरेको हो तर अब ममा धैर्यता थिएन । “इन्टरभिउ आज साँझ छ बजेर पन्ध्र मिनटमा ।”
छ बजेर पन्ध्र मिनटमा, अफिस टाइमभन्दा बाहिर …आजै ! कस्तो हतार ! अचम्म छ । “हुन्छ सर ।”
“नेपाल टप बानेश्वरमा, आउनुभन्दा अगाडि क्यालेन्डर पनि हेरेर आइज । अनि न्याकेड आइज ल ।”
नेपाल टप बानेश्वरमा, न्याकेड ! ! ! आवाज त रोशनको पो रहेछ । लफङ्गाहरू दुःखको पनि जोक बनाउँछन्, मैले भुतभुताउँदै फोन राखेँ । तर उसलाई के मतलब ! जागिरको चिन्ता छैन उसलाई । क्यालेन्डर मुर्खिसकेको मलाई आज अप्रिल फुल भएको देखाउँदै थियो । मैले फोन राखिदिएँ । आकृतीको फोन भएको भए पनि बरु म घण्टौँ गफ गरिदिन्थेँ, कुनै प्रसङ्ग बेगर पनि ।
घडीको सवा चारले घरमा आमा, बुवा अनि दाजु तिनैजनालाई बोकेर ल्यायो । म अचेल वहाँहरूको अनुहारमा मेरो लागि मात्र सहानुभूति र सान्त्वना देख्छु । यहाँसम्म कि रिजल्टपछि पढ पढ भन्ने सुझावहरू पनि रित्तिएका छन् । म अचेल त्यही भएर वहाँहरूको आँखामा आँखा जुधाउन सक्दिन । कहिलेकाहीँ दाजुको र मेरो धरातल दाँज्ने गर्छु । एस.एल.सी. मात्र हेर्ने हो भने पनि म डिस्टिङ्क्सन होल्डर अनि ऊ सेकण्ड डिभिजन तर लास्ट्ली, वाट म्याटर्स ? ऊ अहिले चौध हजारको जागिर खाँदैछ ।
म घरबाट निस्किएँ नेपाल टपको लागि । आखिर मैले दिउँसोभरी घरको चौकीदारी गरिसकेको थिएँ । पाइलाहरू त्यसै त्यसै नेपाल टपतिर लम्किए । खुट्टामा घडी बाँधिदैन, त्यसैले त होला पाँच बजे भनेको ठाउँमा पाइला सवा चारमै बढेको । अचम्म छ, नेपाल टपका कुर्सीहरू भरिन थालिसकेछन्, रोशन मलाई पाँच बजे बोलाएर के गर्दैछ यत्ति चाँडै ? ….साइको … ! मलाई बिहानको अप्रिल फुल अझै बिझिरहेको छ । रोशन हाँस्यो, मानौ मेरो अनुहार मेरो नभएर चार्ली च्याप्लिनको हो ।
“इन्टरभिउलाई पाँच बजे बोलाएको, साढे चारमै ! ठिटोलाई कस्तो हतार त !” “हाँस हाँस, अर्काको दुःखमा हाँस ।” “न्याकेड आउनु भनेको होइन ?” ऊ अझ जोडले हाँस्यो, मेरा शब्दहरू रिमोट बनी उसको भोल्युम बढाइरहे जस्तै । म मौन रहेँ यसपल्ट । “साँच्चि, खोई त तेरा सर्टिफिकेटहरू ?”
म यसपालि पनि मौन रहेँ । मेरो मौनताले उसको पनि शब्दगति राकियो । शायद उसलाई अलि बढी नै गरिरहेको अनुभव भयो । उसले गफको प्रसङ्ग मबाट बाहिर लग्यो ।
“नयाँ खबर पाइस् केही ?”
“कुनै नयाँ भ्याकेन्सी खुल्यो कि क्या हो ? भ्याकेन्सी बाहेक त अरु केही नयाँ खबर जस्तै लाग्दैन ।” “होइन, प्रकाश मुगु जाने भयो, प्रोजेक्टमा ।” “एकै दिनमा एकैजनालाई दुईपल्ट अप्रील फुल ?” “होइन, आइ एम सिरियस दिस टाइम ।” “हिजोसम्म त केही पनि कुरा थिएन त ?” “सबै कुरा भन्नुपर्छ त ?”
“तै पनि । केही भएर काम नमिल्ने भयो भने जिस्क्याउँने पनि त हामी नै हुन्छौ नि ।” “त्यो त मलाइ बिहानै थाहा भयो ।”
रोशन फेरि हाँस्न थाल्यो । उसलाई हाँस्नलाई कारण चाहिँदैन, झन यो पल्ट त मेरा शब्दहरू थिए ।
“मैले अहिलेसम्म पत्ता लगाउन नसकेको कुरा, मान्छेहरू जागिर कसरी खोज्छन् भन्ने हो । सि.भी., एप्लिकेसन त हामीले पनि धेरै ठाउँमा छोड्यौँ, तर कहिले के मिल्दैन भन्छन्, कहिले के मिल्दैन भन्छन् ।” “इट्स अल एबाउट र्सोसेज एण्ड लिङ्क्स क्या ! तेरो पर्सेन्टेजलाई ईभ्याल्युएसन क्राइटेरियामा राखेको थाहा छ ?” (रोशन अति नै यर्थाथवादी छ ।)
“दशैँमा आमा, बुवाले आशिर्वाद दिँदा सानो हुँदा डक्टर हुनु इन्जिनियर हुनु त भने, आशिर्वाद लाग्यो पनि । त्योसँगै
जागिर पनि खानु भनीदिएको भए कसको के नै जान्थ्यो र ?” हामी दुवैजना मौन रह्यौँ एकैछिन । अली अली गर्दै नेपाल टप घुइंँचिदै थियो । म भने यतिखेर अर्कै कुरा सोच्दै थिएँ । के हाम्रो ग्रुपसँगै म पनि म्युजिकल चेयर खेल्दैछु ? के अन्तिमसम्म कुर्सी नपाउने म नै हुन्छु त ! मिनभवन क्याम्पसको बाटो चैत्र महिनाको आगमनसँगै धुले भइसकेको थियो । मैले बाटोमा उडिरहेको धुलोलाई हेरें । धेरै टाढा पुगेर आकाश नै छुन्छु भन्ने सोचेको होला त्यसले ! अलि पर गएर बाटोमा नै खस्छ त्यो ।
रोशन भने आफैंभित्र हराइरहेको मलाई चुपचाप हेर्दै रहेछ । मैले ध्यान फेरि नेपाल टपतिर फर्काएँ । एक छिनमै नेपाल टप घुइंचोमय भएको थियो ।
“बधाई छ प्रकाश ।” मैले प्रकाश आउनेबित्तिकै बधाई दिएँ ।
“थ्याङ्क्स यार, कसले भन्यो ?”
“थाहा भईहाल्छ नि, कहिले जाने ? ट्रिट हुँदैन ?”
“पर्सि हिँड्नु पर्छ रे पूरै क्रीउले, ट्रिट त फर्केर मात्रै । आजलाई त चिया मात्रै गर्न सकिन्छ ।” “मैले पनि खान खोजेको त चिया नै थियो, चिसो तातोमा मात्र हो फरक परेको ।”
“चिसै हो खानुपर्ने त, मौसमको च्यालेन्जमा तर मलाई बेलुका दिदीकोमा म पर्सि हिँड्दैछु भन्न जानु छ ।”
हाम्रै कुर्सी छेवैका दुई कुर्सी (अनुप र रोशन बसेको) भने जि.आर.ई.मय भइरहेका थिए । मैले उनीहरूको वार्तामा आफ्नो कान अड्याएँ ।
“कहाँसम्म पुगिस् त तँ ?”
“ (E) सम्म ।”
“क्यालीपाइजियन, होइन र ?”
उसका औंलाहरू भने पर हिँड्दै गरेकी एउटी केटीलाई देखाउँदै थिए । रोशन हाँस्यो । उसको हाँसोमा स्वच्छन्दता छ, लापर्वाही छ । नहोस् पनि कसरी ? उसलाई बेरोजगारीको चिन्ता पनि त छैन !
“केटो जे होस्, (C)सम्म चाहिँ पुगेछ ।” अनुपले रोशनको हाँसोबाट निर्ष्कष निकाल्यो । आज घुइँचोमा एउटा बेरोजगार घटेकोमा चियापार्टी हुँदै थियो तर म भने म्युजिकल चेयरको रिजल्ट क्याल्कुलेट गर्न ब्यस्त थिएँ ।


दिमागमा शून्यता र नामको अगाडि इन्जिनियरको ट्याग…. यति सबै बोकेर एक्लो दिउँसोका प्रहरहरू कटाउन एकदमनै गाह्रो हुन्छ । वास्तवमै भन्ने हो भने रात कटाउन पनि गाह्रो हुन्छ । एस.एल.सी.मा डिस्टिक्सन, आई.एस.सी.मा सत्तरी पर्सेन्ट माथि, इन्ट्रान्समा स्कोलरसिप अनि बि.ई.मा डिस्टिङ्क्सन । यहाँसम्म मेरो जीवनमा असफलताको लागि स्थान थिएन । शायद भगवान्ले यसपालि मेरो धैर्यताको परीक्षा लिँदै थिए । तर परीक्षा पनि किन यति लामो ? फाइनल इक्जाम जस्तै ! एसेसमेन्टजस्तो छोटो पनि लिन सकिन्थ्यो नि ! झन्न मेरो हातमा रिमोट र आँखा अगाडि एक्काइस इन्चको कलर टेलेभिजन छ, समय कटाउनलाई । मेरो हातको अतिक्रमणले यो रिमोट पनि खिइएला जस्तो छ चाँडै नै, अनि विचरा टेलेभिजन ! मेरो औंला अनि उसैतिर तेर्सिएको रिमोटको बलमा पर्दा परिवर्तन गरिरहनुपर्छ अनवरत रूपमा ।
भाइब्रेटिङ्ग मोडमा राखेको मेरो मोबाइल काम्न थालिसकेको थियो मैले हेर्दा । हुन त ऊसँग अरु उपाय पनि थिएन ।
काठमाडौँमा धैरै जाडो त छैन अहिले ।
मैले स्क्रीन हेरेँ ।
“ROSHAN CALLING”
मोबाइल अझै पनि कामिरहेको थियो ।
“हेल्लो”
“आशिष म अहिले तीनकुनेमा छु । तँ एकछिन शान्तिनगर गेट अगाडि निस्की त ।” “किन नि हाम्रो घरमा आउनु हुँदैन र ! ?”
“आउनु त हुन्छ तर पनि बाहिर निस्की न, दाजुहरूले भनेको पनि मान्ने गर् न कहिलेकाहीँ । आई हयाभ सर्प्राइज फर यु ।”
(कस्तो र्सप्राइज ? मलाई बाहिर निकाल्ने प्लान होला । चाटिरहेको छ सोझो मान्छे पाएर ।) “ल त म आएँ । पर्खेर बस है त शान्तिनगर गेटमा ।”
म बाहिर निस्केँ । काठमाडौँको न्यानो घाम बिस्तारै चर्को घाममा परिर्वतन हुँदै थियो । मिनभवनमा माइक्रोहरू रत्नपार्क
पुग्ने दौडमा व्यस्त देखिन्थे । “किन हो रोशन सरलाई यस्तो हतार ?” “बिजी मान्छेको यस्तै हो ।” “छेउछाउमा कुनै चिया खाने ठाउँ छैन ?” “छ नि, नेपाल टप के हो त ?” “होइन त्यहाँ केटाहरू आउँछन् । मलाई प्राइभेसी चाहिएको ।” “तँ र म मात्रै ? केटाहरूले अर्कै बुझ्लान् नि फेरि !” म हाँसे ।
“आकृती हुँदाहुँदै ?”
“आकृतीसँग ब्रेक अपको हल्ला फिँजाइदिऊँ त ?”
“इर्म्पोटेन्ट छ क्या, सधैँ जिस्किने मान्छेले त सिरियस करा गरे पनि जिस्केकै हुन्छ, कालु र बाघको कथा जस्तै । ऊ त्यतातिर बसौँ ।” पाइलाहरू शान्तिनगर गेटतिर मोडिए । हामी साँच्चै नै आज नेपाल टप गएनौं । शान्तिनगर गेट छेऊको कुनै कुचुक्क
परेको ठाउँ थियो त्यो । रोशनले गोजीबाट एउटा सि.डी. निकालर मलाई दियो । “के हो यो ?”
“एउटा मात्र सि.डी. छ, के जस्तो लाग्यो ? दिउँसो घरमा एक्लै हुन्छु भनेको होइन ? तलाइँ दिउँसोको डोज ।” “यही हो अर्जेन्ट ?”
“किन मैले चाहिँ जिस्किन मिल्दैन ?” “त्यसो भए के हो त ?”
“अस्ति एउटा प्रोजेक्टको भ्याकेन्सीको लागि फर्म भरिनस् ? त्यसको कोइश्चन पेपरको तीनवटा सेट छ यो सि.डी.मा ।” “अझै जिस्केर पुगेन ?”
“सिरियस हो म यसपल्ट । तैँले जागिर खुवा भनेको होइन ?”
मैले चिया पसलमा यताउताका मान्छे हेरेँ । हाम्रो कुरा बुझ्ने कोही छैन जस्तो छ । तै पनि कसैले सुने भने ? चिटचिट निस्केको पसिनालाई रुमाल निकालेर पुछे ।
“लुकिङ्ग टेन्स्ड ?”
“तँसँग कोइश्चन पेपर नै भई सकेपछि किन आफूले नदिने नि इक्जाम ?”
“मैले त्यसको फर्म नै भरेको छैन, इट्स नट माई एम्बिसन । यो कुरा त तँलाई मभन्दा राम्ररी थाहा छ ।” म मौन थिएँ । मैले धैरै बेर त्यो टेबलमा भएको सि.डी.लाई नियाँल । मलाई आफूभित्रको मले त्यो नलिन भनिरहेको थियो ।
“म त्यस्तो चिटिङ्ग गर्न सक्दिन यार ।”
“किन ?” “त्यत्तिकै”
“हरिश्चन्द्र ! द्याट्स वाई आई डन्ट वान्ट टु हेल्प यु । तँ यो कलियुगमा जन्मिने मान्छे नै होइनस् । जाग, दुनियाँले तलाई कुल्चिनुभन्दा अगाडिनै जाग ।”
“ कोइश्चन पेपर कसरी पाइस् तैँले ?” “इरेलेभेन्ट टपिक्समा नजा न अब ।” “पढेरै मात्र पनि त निकाल्न सकिएला नि ।”
मेरो आवाज सानो थियो यसपल्ट, धेरै नै बल प्रयोग गरेर बोले जस्तो । मानौँ स्वर गुरुत्वार्कषण विरुद्घ कुनै गहिरो कुनाबाट निस्किरहेछ, मेरो घाँटीको साटो ।
“तँ अझै त्यहीँ अडिरहेको छस् होइन । मलाई थाहा थियो केटाकेटीलाई व्यवहारिक कुरा बुझाउन गाह्रो हुन्छ भनेर । तर मसँग एउटा इर्न्फमेसन छ, तँलाई शेयर गर्नलाई । यो कोइश्चन पेपर अरु तीन ठाउँमा लिक भइसक्यो । सो क्याल्कुलेट योर पोसिबिलिटिज ।” म मौन थिएँ । मैले जोखेँ, हजारौँ आशाहरू, हजारौँ सपनाहरू, विगतको चार महिनाको बेरोजगारी अनि अर्को पाटोमा मेरो ढिठ ।
“तैँले त्यो जागिर खाँदैनस्, अरु कसैले खान्छ । तर आई इम ड्याम स्युअर इट विल नट बि फियर टु !” रोशनले शायद मेरो मौनतामा मेरो स्वीकृति देखिरहेको थियो ।
चार महिनामा यस्ता त ठाउँहरू धेरै नै भइसकेका थिए जहाँ मैले पाउनुनैपर्ने भएर पनि पाइन होला । यदि म पनि अहिले उनीहरूलाई झुक्याउँदैछु भने के म गल्ति गर्दैछु ? “सो ?” रोशन मेरो जवाफ पर्खिरहेको थियो । “हुन्छ । म प्रिपेयर गर्छु त्यसोभए !”
“द्याट्स प्राक्टिकल तर अब यो च्याप्टर क्लोज्ड है त । मसँग पनि यसको कुरा हुँदैन है त ।” “आइ नो…. अनि थ्याङ्क्स यार ।”
(पागल साला, म पनि उसको ठाउँमा भएको भए यत्ति चाहिँ गर्न सक्दिनथेँ । तर ठीकै हो, भगवान्ले सबैलाई एकैजस्तो दिमाग दिँदैनन् ।) “एनिथिङ्ग फर यु !”
रोशन हिँडिसकेको थियो । म विस्तारै आफनो घरतिर लम्किएँ । छिटो गएर पनि त के नै गर्नु थियो र मैले । कोइश्चन पेपर मेरो हातमा परिसकेको थियो, मलाई जि.आर.ई. दिनु पनि थिएन र आमाले राति स्टार प्लसमा हेरिसकेका सिरियलहरूलाई दोहोर्‍याउनु पनि थिएन ।
घर जाने बित्तिकै कम्प्युटर खोलेर हेरेँ तीनैवटा सेटहरू एकछिन । अन्तिम पटक मैले ईथिक्सको बारेमा पनि सोचेँ, प्रताप मल्लको रानीपोखरीमा मेरो ईथिक्स डुब्दै थियो पहिलोपल्ट । त्यसपछिको उकुसमुकुस मेटाउन बाथरुम गएर मुख धोएँ । ऐना हेर्न खासै मन लागेन ।


म त्यो इक्जामको लागि पढेको घरमा कसैलाई पनि मन परेको थिएन । ६ वटा जिल्ला छानेको त्यो प्रोजेक्टले पहाडी जिल्लामा पुर्‍याउने निश्चित प्रायः थियो । आमा त मलाई सधैँ नै बच्चा नै देख्नुहुन्छ । त्यो हुन त आमाहरूको आँखाको सामूहिक दोष हो, एकता कपुरको सिरियल हेर्ने बानी जस्तै ! अनि तिँ माथि नेपालको द्वन्द्वग्रस्त, तनावग्रस्त अवस्था ! तर म अडिग थिएँ, मेरो परीक्षाको दोषलाई कामको इमान्दारिताले पखाल्ने निर्णय गरिसकेको थिएँ । हुन त घरका मान्छेको मेरो लागि अरु उपाय पनि त थिएन आखिर ।
मसँग भएका तीनवटामध्ये एउटा सेटमा अलमलिइरहेको बेला मोबाइल आफ्नो रिङ्गटोन बजाउन थाल्यो । मैले स्क्रीनमा
हेरेँ ।
“AAKRITI CALLING”
नाम मात्र पनि मेरो अनुहारमा मुस्कान ल्याउनलाई पर्याप्त थिया । “हेल्लो ।” “तिमी नबोल मसँग ।”
केटीहरू बनाई सकेपछि भगवानलाई धेरै पछुतो भयो होला रूपको अनुपातमा दिमाग किन दिइन भनेर । नत्र फोन गरेर
कसैले तिमी नबोल मसँग भन्छ ? तर मलाई उसको रिसको कारण पनि थाहा थियो । हिजो मैले उसलाई फोन गरेको थिइन ।
“सरी !” मसँग उसलाई खुशी पार्ने यो भन्दा छोटो शब्द थिएन । उसको रिस सोचेभन्दा चाँडै सेलायो, सधैँ जस्तै ।
“तिमी आज नेपाल टपबाट फुर्सद निकाल्न सक्छौ ?”
म आफूले प्रिपेयर गर्दै गरेका कोइश्चनका सेटहरू पन्छाउँदै ओछ्यानमा ढल्केँ । “तिमीले भन्ने म नआउने, कहिल्यै भएको छ यस्तो ? के छ र हाम्रो प्लान ?” “कुमारी सिनेमा, ३ देखि ६ बजेसम्म “फना !” ट्रेलरका गीत मेरै कानमा गुन्जे जस्तो लाग्यो ।
“कहाँ आउनु पर्ने हो मैले ?” “बानेश्वर चोकमा दुई बजे ।” “हुन्छ ।” मलाई फोन राख्न मन त थिएन तर आकृतीले नै फोन राखेपछि फोन झुण्ड्याएर बस्नुको कुनै औचित्य पनि त थिएन ।

बानेश्वर, दुई बजे

आकृती आज समयमै आइछे । कुरिरहेकी थिई मलाई । मेरो पर्सनल एक्सपेरियन्स, केटीहरू मुभी भन्ने वित्तिकै एकदमनै पङ्च्युअल हुन्छन् । मैले आकृतीलाई नियाँले, उसको निधारको टीकाले उसमाथि थप सौन्दर्य थप्दै थियो । कुनै अद्वितीय कलाको फिनिसिङ जस्तै ।
“भगवान्ले पूरै विन्टर भ्याकेसन खर्च गरेर बनाएको आइटम !” नजिकै गएर म बडबडाएँ । “के ?”
“तिमी !”
“छ्या !”
कुन केटीलाई मन पर्दैन होला प्रशंसा ? अझ मनबाट गरिएको प्रशंसा ।
“हामीलाई चाहिँ एसेसमेन्टको अगाडिको दिनको पढाई जस्तो, आज म्यानुफ्यार्क्चड भोलि डिस्प्याच्ड ।”
“तिमी अनि तिम्रा कुराहरू !”
“के ?”
“सुनेर पनि नसुनेजस्तो, बुझेर पनि नबुझेजस्तो ।” “ईन्जिनियरको कोडवर्ड बुझ्न त चार वर्ष पढ्नुपर्छ ।” “पढ्नु छैन मलाई, चार वर्ष पढेर पनि दुःख पाउने सब्जेक्टहरू । ट्याक्सी रोक न, ढिलो भइसक्यो ।” “अगाडिको ट्रेलर पनि मिस गर्न नहुने हो कि क्या हो ?”
बाटोमा सनन गुडिरहेको एउटा ट्याक्सी मेरो हातको प्रभावले रोकियो । गन्तब्यमा पुगेपछि प्रक्रियागत रूपमै फेरि रोकियो । मेरो हात गोजीतिर जाँदै मात्र थियो, आकृतीले रोकी ।
“भइहाल्यो, आजको फुल डे मेरो ट्रिट ।”
“किन ?”
“तिम्रो लागि सर्प्राइज छ ।” “भन न ।” “आई गट द जब ।” आकृतीको जागिर ! यो कुराको प्रसङ्ग त हाम्रो गफमा अहिलेसम्म उठेको थिएन । एकाएक ?
रोकिएको ट्याक्सीलाई हाम्रो गफको के मतलब र ? “छिटो पैसा दिनुस् न ।” ट्याक्सी ड्राइभर रुखियो ।
मैले झलक्क हाम्रो गफको हत्यारालाई हेरें । झुस्स दारी, एकदम नै रुखो, सुख्खा आँखाहरू, जीवनभरी मायाको अनुहार नदेखेजस्तो । आकृतीले आफनो पर्सबाट सय रुपैयाँ निकालेर दिई । मैले ट्याक्सी ड्राइभरको अनुहारबाट आँखा हटाएर आमासँग ढाँटेर ल्याएको हजारको नोटलाई हेरेँ । मेरो गोजीभित्र ऊ मस्त निन्द्रामा थियो । मुभीपछिनै आकृतीको तरन आदर्शको अवतार प्रकट भइसकेको थियो, यहाँ यो हुनुपर्ने, यहाँ यो नहुनुपर्ने । अनि प्रश्नको थुप्रो ! “कस्तो लाग्यो त मुभी ?”
“मलाई के थाहा, म त तिमीलाई नै हेरेर बसेँ ।” “जे पायो त्यही ।”
“साँच्चै !”
“भन न !”
“ठीकै, फर्स्ट हाफमा डायनामिक लभस्टोरी, सेकण्ड हाफमा हिन्दी मसला । त्यस्तै त हो नि हिन्दी फिल्महरू !”
“फर्स्ट हाफ राम्रो थियो ?” “अनि ?”
मलाई थाहा थियो ऊ प्रोटेस्ट गर्नेवाला छे, मैले उसको अनुहार हेर, गालाहरूमा रङ्ग चढन थालिसकेका थिए । मेरो मनपर्ने रङ्ग ।
“फस्ट हाफ त झन खत्तम थियो । केटीहरू त्यति सम्म निरिह हुँदैनन् । दुई दिनमै गाइडसँग जाने गरी, झन केटीको फेमिली, उनीहरूले पनि नरोकेको, ऊ अप्सनलेस नै छे जस्तो गरेर ।” मैले त यो फिल्म नहेरेको भए हुने रहेछ । पूरै कथा त डेटिङ्गमै सुन्न पाइने रहेछ ।
“माया अन्धो हुन्छ भन्ने थाहा छैन र तिमीलाई, तिमी पनि त अझै म जस्तै बेरोजगारसँग नै छौ नि ।” “म पनि त अप्सनलेस नै छु नि ।” ऊ हाँसी, मलाई चसक्क घोचेर । अब भने मैले नै प्रसङ्ग बदल्न चाहेँ । “केमा हो तिम्रो जागिर ?” “साँच्ची, बधाइ पनि दिएनौ है तिमीले ?” ऊ रिसाए जस्तो गरी, तर उसको गालाको कलरमा कुनै परिवर्तन थिएन । म उसको रिसलाई चिन्छु । “बधाइ छ मिस, अब भन केमा हो तिम्रो जागिर ?” “खासै त होइन, एब्रोड स्टडीको लागि डिल गर्ने कन्सल्टेन्सी हो । बानेश्वरमैं छ ।” “बाहिर पठाउनेहरूको ?” मैले नाक खुम्च्याएँ । “तिमीलाई एब्रोडको कुरा किन मन नपरेको मैले कहिल्यै बुझ्न नसक्ने भएँ ।” “सबैको चाहना एकै किसिमको हुँदैन ।”
“थाहा भयो, कसै कसैलाई सिँढी मन पर्दैन, नयाँ ढोका खोल्ने ।” “म पनि एउटा प्रोजेक्टको लागि जाँच दिंदैछु आजको तीन दिनपछि । राम्ररी नै प्रिपेयर गरेको छु पाउँछु होला ।” मैले आफूलाई पनि उसको धरातलमा उभ्याउने प्रयास गरेँ ।
“के गर्नुपर्छ त्यसमा ?”
“काम ।” “भन न !”
“खोई नेपालको कुनै कुनामा पठाउँछ होला ।” “पहाडतिर त माओवादीहरू हुन्छन् हैन र ?” “भएर के हुन्छ त ?”
“अफ्ठ्यारो हुँदैन ?”
“मलाई के मतलब र ! उनीहरू पनि त मान्छे नै हुन अनि म आर्मी पनि त होइन नि ।”
उनले कुनै प्रतिरोध गरिन् । हिँड्दाहिँड्दै हामी बानेश्वर आईपुगिसकका थियौं । बानेश्वरमा सन्ध्या छिरिसकेकी थिइन्, आकृतीको खुलेको कपालसँग प्रतिष्पर्धा गर्दै थिइन् । हामी छुट्टियौँ, हेर्दाहेर्दै ऊ बानेश्वरको सन्ध्यामा हराई । मैले पनि घरतिर पाइला बढाएँ ।


रातले आफ्नो साम्राज्य फिँजाइसकेको थियो । करिब करिब आधा काठमाडौँ निन्द्रामा थियो होला । म भोलिपल्टको अब्जेक्टिभ पेपरको रिभिजन गर्दै थिएँ । आमा भनेँ दत्तचित्त भएर आफूलाई मन परेका डेली सिरियलमध्येको कुनै एउटा हेर्दै हुनुहुन्थ्यो । “कसौटी”, “कुमकुम”, “काजल” वा अरु कुनै “K” बाट उठेको मध्ये कुनै एउटा होला ।
मेरो मोबाइलमा बजेको घण्टीले ध्यान अब्जेक्टिभ पेपरबाट मोबाइलमा लैजान बाध्य तुल्यायो । मैले मोबाइलको स्क्रीनमा
हेरेँ–
“ROSHAN CALLING”
“हेल्लो ।”
“प्रिपेयर्ड” “लगभग लगभग यार !” म आफूले प्रिपेयर गर्दै गरेका अब्जेक्टिभका सिटहरू पन्छाउँदै ओछ्यानमा ढल्किँदै भनेँ । “एउटा नराम्रो खबर छ, ती तीनवटा मध्येबाट नआउला जस्तो छ भोलि ।” “के….! किन….?” ऊ फोनमै जोडले हाँस्यो ।
“जोक गरेको यार, कस्तो डराएको ।” रोशन अनि उसलाई मात्र हाँसउठ्ने जोकहरू ।
“च्याप्टर क्लोज्ड भनेको होइन त ?” “हो हुन त, एनिवेज, बेस्ट अफ लक ।” “थ्याङ्क्स यार ।”

एकदिनपछि 

अब्जेक्टिभ पेपरको इक्जाम भयो । अहिलेसम्म भएको सबैभन्दा सजिलो इक्जाम ! इथिक्स बेचेर दिएको इक्जाम, नराम्रो त हुने कुरै थिएन । पर्सिसम्म रिजल्ट आउने कुरा थियो ।

दुई दिनपछि,
रिजल्ट आएपछि मलाई एपोइन्टमेन्ट लेटरको लागि बोलाइयो । मैले यो खुशीको कुरा घरमा, आकृतीलाई र रोशनलाई सुनाइसकेको थिएँ । आकृतीसँग ६ बजे भेट्ने कुरा भयो । आजकल ५ बजे आउँन भ्याउँदिन, जागिरे भएकी छे ऊ । मैले दार्चुला जानु पर्ने भयो । सुदूरपश्चिमको पहाडको जिल्ला, तर मलाई पहाड र तराईसँग खासै मतलब थिएन, मलाई मेरो देश मात्र चाहिएको थियो काम गर्नलाई ।
रोशन मलाई कुरेर अफिस बाहिर बसिरहेको थियो । “इन्जिनियर साप, कहाँ जाने हुनुभयो त ?” “दार्चुला ।”
“आज मौसमले च्यालेन्ज गर्ला जस्तो छ । अर्थतन्त्र कस्तो छ ?” “तँ डिमान्ड मात्र गर् क्या ।” “कहाँ गिर्छ त बिजुली आज ?” “जिरे खोर्सानी, सात बजे ।” “सात बजेसम्म म के गरेर बस्नु ?” “अनुपकोमा गएर अनुपलाई पनि लिएर आइज न ।” “बुझेंँ ।” “के ?” “द बेकरी क्याफे ?”
साँच्चै नै रोशनले मेरो सबै कुरा बुझ्छ । म हाँसे ।
“रोमियो ! जुलियट बाहेक पनि धेरै कुरा छन् यो संसारमा, ल त ठीकै छ म र अनुप उहीँ आउँला ।” अन्त्यमा भने उसले मेरै प्रस्ताव पारित गर्‍यो ।
बेकरी क्याफे

म छुट्टिएर जाँदैथिएँ त्यहाँबाट दुई चार महिनाको लागि, मेरो प्रेमको इतिहास बोकेको क्याफे, त्यहाँका कुर्सी–कुर्सी अनि टेबल–टेबल मायाको परिभाषा सिकाउँछन् मलाई । जबजब आकृती र म त्यहाँ साथ–साथ हुन्छौँ तब–तब प्रताप मल्लको रानीपोखरीको मायाको इतिहास मलाई सानो लाग्छ ।
म बाहिर बसेर पर्खिएर बसेँ आकृतीलाई । आकृती सधैँ जस्तै आज पनि दश मिनट ढिलो आई । अनि सधैँ जस्तै, “सरी आई एम लेट ।” “केही छैन, आज त म जे पनि पचाइदिन्छु ।” “कङ्ग्रेजुलेसन्स, कहाँ भयो त जानुपर्ने ?”
“दार्चुला ।” “दार्चुला, कहाँ हो त्यो भनेको ?” केटीहरूको सामान्य ज्ञान, यदि मैले लिङ्कन रोड भनेको भए उसले जि.पि.एस. जस्तै मलाई लोकेसन बताइदिन्थी ।
“महाकालीको टुप्पाको जिल्ला हो ।”
“गाह्रो हुन्छ होला है ?”
“सजिलो त के छ र संसारमा, तर मलाई थाहा छ बेरोजगारी भन्दा सजिलो हुन्छ ।”
ऊ हाँसी मेरो उत्तरबाट सन्तुष्ट भएर । उसले चक्लेट केक अर्डर गरेकी थिई । म भने उसको आँखा छल्न प्रयासरत थिएँ । आखिर मलाई जिरे खोर्सानीको लागि पेटमा ठाउँ पनि त राख्नु थियो ।
“कहिले जान्छौ त तिमी ?” “पर्सि, बिदाई गर्न आउँदैनौ तिमी ?” लामो मौनतापछि उसले उत्तर दिई । “म तिमीलाई विदा गर्न चाहन्थेँ । तर पर्सि त मेरो अफिसको तर्फबाट मलाई एउटा इर्म्पोटेन्ट सेमिनारको लागि छानिएको छ ।” “केही छैन, म के छ वर्षको फुच्चे हुँ र, बिदा गर्नलाई साथी चाहिने !”
मैले आफ्नो अनुहारमा कुनै परिवर्तन ल्याइन किनकि मैले पत्ता लगाउन सकिन म गम्भीर हुनुपर्ने हो कि खुशी हुनुपर्ने हो उसको प्रगति देखेर । रोशनको एस.एम.एस.ले मेरो तन्द्रा भङ्ग गर्‍यो । मैले टेक्स्ट म्यासेज खोलेर हेरेँ ।
“ ROMEO, DATING STILL ON ?
WAITING FOR U IN JIRE KHORSANEE”
“म तिमीलाई दार्चुला पुगेपछि फोन गर्छु त्यसो भए, रोशनले मलाई पर्खिरहेको रहेछ । त्यता पनि जानुछ । उठौँ होला हामी ?” “हुन्छ ।” मैले बिल पे गरेँ । हामी दुवै जना उठ्यौँ अनि बाटाहरू च्यातिए ।
जिरे खोर्सानी,
आज त्यति भीड थिएन त्यहाँ । अनुप र रोशन कुनाको टेबलमा बसिरहेका थिए । “ढिलै भए पनि इन्जिनियर साप आइपुग्नु भयो । म त अघि खाएको बोनलेस चिलीको पैसा पनि भाँडा माझेर चुकाउनु पर्ने भयो भन्ने सोच्दै थिएँ ।” “होइन, भाग्ने बाटो पनि छ ।” म हाँसे ।
स्न्याक्स र ह्वीस्कीका ग्लासहरू सेलेब्रेशनका लागि तैयार भइसकेका थिए । रोशन उद्घोषकको स्वरमा बोल्यो । “आजको साँझ दार्चुलाको इन्जिनियर सापको लागि ।” अङ्कितले पनि ग्लास उठायो । चियर्स शब्दसँगै तीनवटै ग्लासहरू ठोकिए मित लाउनलाई टाउको जुधाएजस्तै ।
“कहिले हिँड्ने त ?” “पर्सि ।” अनुपको प्रश्नको मैले सटिक उत्तर दिएँ ।
हामीले त्यसपछि धेरै समय मौनता र चुस्किको बीचमै बितायौँ । छवैको बाटोमा कुदिरहेका गाडीहरू पातलिँदैं रात बाक्लिँदै गएको प्रष्ट पार्दै थिए । अन्त्यमा रोशनले नै मौनता तोड्यो ।
“आज इर्म्पोटेन्ट टपिक्सहरू धेरै छन कुरा गर्नलाई ।” “अहिल्यै बोली लड्खडाउन थालिसक्यो के कुरा गर्ला रोशनले ?” अनुप हाँस्न थाल्यो । “हो र रोशनजी, सुनाउनुहोस् न त इर्म्पोटेन्ट टपिक्सहरू ।”
सधैँ जस्तै आज पनि नयाँ–नयाँ र्दशन सुन्न पाइन्छ भन्ने थाहा हुँदाहुँदै मैले उसलाई बोल्न अनुमति दिएँ । “जस्तो ह्वीस्की खाने ग्लास सधैँ ट्रान्सप्यारेन्ट किन हुन्छ ?” “ह्वीस्कीको कलर कस्तो छ पत्ता लगाउनलाई ।” अनुपले आज्ञाकारी बालक जस्तै रोशनको प्रश्नको जवाफ दियो ।
“ठीक, चतुर बालक शीघ्र पठती । मान्छेको मुटु पनि त्यस्तै ह्वीस्की हो, अनि ग्लास मान्छेको अनुहार । तिमी जे छौ अनुहारबाट त्यस्तै देखिन्छौ ।” “स्टील ग्लासेज ?” अनुपको प्रश्नसँगै रोशनका थियरीहरू शुरु भइसकेका थिए ।
“गुड कोइश्चन, केटाहरूको अनुहार ह्वीस्की खाने ग्लास, केटीहरूको अनुहार स्टील ग्लासेज ।” ऊ जोडले हाँस्यो । ऊ खुशी थियो, आइन्सटाइन पनि थियरी अफ रिलेटिभिटी प्रतिपादन गरेर त्यति खुशी थिएनन् होला । तर यो रातले रोशनबाट अझै धेरै थियरी जन्माउन बाँकी थियो ।
“वाई ?” अनुप अझै पनि उत्सुक थियो । त्यसै बीचमा हामी सबैको ग्लासमा मैले ह्वीस्कीको एक एक पेग थपेँ । “तिनीहरू देखिँदैनन तिनीहरू के हुन् वास्तवमा भनेर ।” रोशनले आफ्नो भरिएको ग्लास अनुपलाई देखायो । म हाँसे । “किन हाँसेको ? साँचो कुरामा पनि हाँस्नुपर्छ ?” मलाई वास्तवमा उसको पुल्चोक क्याम्पसको लालपरीवाला एफेयर याद आएको थियो । “त्यस्तो होइन, अँ अनि केटीहरू कस्ता हुन्छन् त ?” मैले जानीजानी कुरालाई लम्ब्याएँ ।
“केटीहरू ? केटीहरू भनेका चक्लेट हुन, सबैमा हुन त डिफरेन्ट टेस्ट त हुन्छ । तर मेन कुरा दे अल आर स्वीट ।” “महान् र्दाशनिक रोशनको द ग्रेट चक्लेट थियरी ।” म फेरि हाँसे, जोडले टेबल ठटाएर । “दार्चुलाको इन्जिनियर साप, स्टील ग्लास थियरी त तपाइँलाई पनि चाहिन्छ होला । तिनीहरू देखिँदैंनन् तिनीहरू के हुन वास्तवमा भनेर ।” हामीले अर्को एक पेग थप्यौँ हामीलाई बढी भएको थाहा हुँदाहुँदै पनि । “अनुपलाई चक्लेट थियरीमा इन्ट्रेस्ट छैन ?” मैले अनुपलाई प्रश्न गरेँ । “अब अमेरिका गएपछि बुझ्छु चक्लेटका बारेमा ।” “देशघातीहरू, देशको माया नहुनेहरू ।” म जुरुक्क उठेर कराएँ ।
“मेरो लागि त देशको माया र केटीको माया दुवै एलियन हुन् ।” अनुप बिस्तारै बोल्यो, मैले उसको आवाज सुन्नासाथ कुट्छुझैँ गरेर ।
“मलाई त पुग्यो यार, रिँगटा लाग्न थाल्यो ।”
रोशनले सभा विर्सजन गर्‍यो । मैले घडी हेरेँ । अरे ! घडीमा त एउटा मात्रै काँटा छ । होइन होइन, दश बज्न दश मिनट बाँकी रहेछ । बिल पे गरेपछि हामी तीनैजना ढुनमुनिदै बाहिर निस्कियौँ । अनुपको कोठा हामीलाई सुताउन तम्तयार भएर बसेको थियो ।
त्यसको दुई दिनपछि म पनि दार्चुलाको लागि सवैजनासँग विदा भएर महेन्द्रनगरको बसमा चढेँ । गुदपाक, घडी बेच्नेहरूलाई छोड्दै बस अघि बढयो । आकृती उसैले भनेजस्तो मलाई बिदा गर्न आइन ।

१०

दार्चुला, नेपाल यदि डाँफे बनेर पश्चिम दिशामा उडान उड्यो भने, डाफेरूपी नेपालको कल्कि । उत्तर पश्चिम कुनाको जिल्ला । स्पष्ट रूपमा भन्ने हो भने दार्चुला, नेपालीले बिर्सेको नेपाल । परिवहन मित्रराष्ट्रबाट सजिलो, सामान सबै मित्रराष्ट्रकै प्रचलनमा । राष्ट्रवादी भनाउँदाहरूलाई एउटा दरिलो प्रश्न बनेर उत्तर पश्चिम कुनामा ठडिइरहेछ ठडिइरहेछ ।
मसँग दार्चुला पुग्ने दुईवटा बाटाहरू थिए । एउटा अत्तरियाबाट डडेलधुरा अनि बैतडी त्यसपछि गोकुलेश्वर (दार्चुला) र त्यसपछिको एक दिनको पैदल यात्रा सदरमुकामको लागि । कुल मिलाएर स्वदेशी बाटो तीन दिनको । र अर्को महेन्द्रनगरबाट टनकपुर, टनकपुरबाट पिथौरागढ अनि धार्चुला त्यसपछि पुल कटेर दार्चुला । विदेशी बाटो एक दिन मात्रको ! हुन त विकास गर्ने दिमागहरू विदेशिन व्यस्त देशबाट अपेक्षा ज्यादा राख्न पनि त सकिंदैन । राजकुमार दिक्पालले जस्तै मैले पनि छोटो बाटो नै लिने निर्णय गरेँ । विदेशी बाटो ! मित्र राष्ट्रको बाटोमा पनि त नौ घण्टा लामो जिपको यात्रा थियो । त्यसमा खाँदी खाँदी राखिएका यात्रीहरू, धेरैजसो नेपालीहरू । त्यसमाथि पहाडी बाटोको प्रक्रियागत नियमितताले गर्दा भिजिरहने ती जिपका गन्हाउने झ्यालहरू । जसोतसो गरेर धार्चुलासम्म पुगियो ।
मैले घडी हेरेँ । घडी कुनै विद्यार्थी पिटी खेल्नलाई तैयार, हात माथि उभ्याएको भान पार्ने गरी तीन बजेको जानकारी दिंदै थियो झोलुङ्गे पुल कट्दा अथवा उनीहरूको शब्दमा भन्ने हो भने घाट कट्दा । सूर्यको राप गुलाबी हुँदै थियो, आकृतिको कुर्ता सुरुवाल जस्तै । अनि महाकाली नदी दार्चुला र धार्चुला दुवैलाई अँगालोमा बेरेर यात्रामा ब्यस्त थिइन् । हिँड्दाखेरी पनि हल्लिने दार्चुला र धार्चुला बीचको पुलले कृष्णको र सुदामाको कथा भन्न लागे जस्तो देखिन्थ्यो । कहाँको धार्चुलाको पहाडी भए पनि चाक्ला बाटाहरू, अनि कहाँको दार्चुलाका घोडेटा बाटाहरू । तर बीचमा मित्रताको रूपमा हल्लिरहने एउटा पुल अनि दुवैलाई समान व्यवहार गर्ने महाकाली नदी ।

तीन तल्ले घरको भुइँतल्लामा राखेको एउटा टिनको बोर्ड पढेँ मैले ।
होटल महरा, घाटबजार, दार्चुला “यहाँ चिया नास्ता, खानाको राम्रो व्यवस्था छ ।”
(बिहानदेखि खाना नखाएको, कस्तो व्यवस्था रहेछ होटल महराको, म पनि हेरौँ न त ।) “खाना खान पाइन्छ होला ?” “होटल नै त्यसैका लागि खोलेको, ए, सरलाई खाना । सर माछा मासु केही ?” गल्लामा जुँगामा ताऊ लगाएर बसेको, साहुजी नै होला मलाई त्यो प्रश्न सोध्ने । “नखाने ।” मैले उत्तर फर्काएँ ।
“अनि दूध दही ?” “दुध के को ?” “गोरुको ।”
इन्डियन डेरीको वा घरको भनेर बुझ्न खोजेको त, गोरुको पो भन्छ त । कस्ता हुन्छन् दार्चुलाका गोरुहरू ? छेवैको मान्छेले मेरो अनुहारबाट मेरो परिस्थिति बुझेछ ।
“तपाईंको घर पूर्व हो ?” “हजुर, काठमाडौँ ।” “यहाँ गाईलाई गोरु भन्छन् ।” “अनि, गोरुलाई ?” “गोरुलाई बल्लो ।” ऊ हाँस्यो । “धन्न, केटीलाई केटा भन्दैन रहेछन् । एल.डि.ओ.सरको कोठा थाहा छ तपाईंलाई ?” “नयाँ कर्मचारी हो ?” “हो, जि.वि.स. को ।” “प्रोजेक्टमा हो कि क्या हो ?” “हजुर, इन्जिनियर हो ।”
“सर नमस्कार, सानै हुनुहुँदो रहेछ । पत्याउनै गाह्रो ।”
इन्जिनियर भएपश्चात्को पहिलो नमस्कार म माथि ठोकिएको । मैले गर्वका साथ फर्काएँ । आ, काठमाडौँ भन्दा त दार्चुला नै रमाइलो । तर के म यति सानो छु र ? रोशन त भन्थ्यो कहिलेकाहीँ जिम जाने गर् भनेर ।
“यहाँबाट सिधा जानुहोस्, प्रहरी बिट आउँछ । त्यसैको छेवैमा हो ।” “अनि पि.सि.ओ. ?” मैले घर फोन पनि त गर्नु थियो ।
“त्यहीँ बाटोमै छ ।” म झोलाझाम्टा बोकेर बाटो लागेँ । दार्चुला छिर्ने बित्तिकै खाएको गोरुको दूध म कहिल्यै बिर्सने छैन । टेलीफोन बुथको लामो कुराईपछि बल्लबल्ल फोन गर्न पाइयो ।
“हेल्लो ।” “मम्मी, म पुगेँ दार्चुला ।” “सन्चै छस् तँ बाबु ?” “अँ, तपाइँहरू ?” “ठीकै छौँ हामी पनि । ठाउँ कस्तो छ ?” “एकदम रमाइलो छ । तपाईंको काख जस्तै ।” “नजा भनेको मानिनस्, अब राम्रो छ त भन्नै पर्‍यो नि ।” “होइन, साँच्चै भनेको ।” म हाँसेँ ।
“जाडो कत्तिको छ ?”
“ठीकै, सोचे जत्ति त छैन सदरमुकाममा ।” “खानपानको राम्ररी ध्यान दिनु ।” आमाहरू मुटु र आँखा दुवैका बिरामी हुन्छन् । छोरो ठूलो भएको कहिल्यै नदेख्ने ।
“दाइ अनि बाबा के गर्दै ?” मैले प्रसङ्ग बदलेँ ।
“पल्लो कोठामा, कुनै निउज च्यानलमा झुण्डिरहनु भएको होला ।” “तपाइँ पनि त स्टार प्लसको लागि झगडा गर्दै होला नि त ।” “बाबु छोरा मिलेर जहिल्यै एक्ल्याउँछन्, मलाई ।” “तपाइँ एक्लो हुनुहुन्छ र ?” “तँ त छस् नि ।” “म पनि छैन । म नेपाल आमाको काखमा छु ।” म हाँसेँ ।
“हाकिम छोरो, जे होस् कुरा गर्न जान्ने भयो ।” “ल मम्मी, मैले फोन राखिदिएँ ।” फोनको रिसिभर मेरो बालापन बेरेको काखको सुवास छरिरहेको थियो ।
एउटा धर्सो जस्तो देखिने बजार भए पनि भारतको छुवाईले बजारहरू सुविधासम्पन्न देखिन्थे । सोधखोज गर्दै एल.डि.ओ.सरको घर पुगियो ।
“सर नमस्कार ।” मैले पुग्नेबित्तिकै अभिवादन टक्रयाएँ । “मैले त हजुरलाई चिनिन नि ।”
“स्थानीय विकासको काममा इन्जिनियर आउने कुरा थियो, होइन त सर ?” मैले खल्तीबाट एपोइन्टमेन्ट लेटर झिकेर एल.डि.ओ.सरलाई देखाएँ ।
“ओहो, कत्ति योङ ! मेरो त छोराको उमेरको जस्तो । इन्जिनियरभन्दा पनि नपत्याउने !” मैले एकपल्ट आफैँलाई नियाँलेँ ।
“रेगुलर पढेको हो सर त्यही भएर होला ।”
“ल त ठीकै छ, आउनुभयो राम्रो भयो । तर यहाँ खुट्टा तान्नेहरू धेरै छन्, होश पनि पुर्‍याएर काम गर्नु होला ।” म हाँसेँ । मसँग शब्दको अभाव हुँदा धेरैजसो खिस्स हाँस्ने गर्छु । “काका, इन्जिनियर सरलाई बाङ्गाबगडमा नै होला कोठा ठीक पारेको, पुर्‍याइदिनु त ।”
एल.डि.ओ.सरको काका भनाउँदोको पछि लागेँ । बाटोमा ऊ जिल्ला विकासको पियन रहेछ भन्ने पत्ता लाग्यो । एकै ठाउँमा गुजुमुज्ज परेका घरहरूले एकता नै बल हो भन्ने सन्देश दिन आँटे जस्तो देखिन्थ्यो । बाटोमा किराना पसल भन्दा पनि धेरै सोमरस विक्री केन्द्रले सदरमुकामको रहनसहन बारेमा धेरै कुरा बोल्दै थिए । बाटोमै जिल्ला विकासको भवन देखिन्थ्यो ।
नयाँ भवन, वा पुरानै पुनर्निर्माणमा पो हो कि । बाटोबाटै देखिन्थ्यो भवन ।
“पुरानो भवन के भएको हो काका ?”
मलाई पनि सम्बन्ध गाँस्न विशेष रुचि छ । एल.डि.ओ.सरको काकालाई पनि मैले काकाकै नाता दिने विचार गरेँ । हुन त त्यसो गर्नु आफ्नो बुवाको उमेर बढाउनु हुन्थ्यो ।
“माओवादीले पड्काको ।”
काकाले भावहीन रूपमा उत्तर दिए मानौँ उनी आफ्नो कार्यालयका नभएर कुनै नचिनेको घरको पर्खाल लडेको े सुनाइरहेका छन् मलाई ।
“कहिले ?” मैले अलि हतारिएर सोधेँ ।
हुन त मेरो यो प्रतिक्रिया समयसापेक्ष थिएन । मैले यति त पचाउन सक्नुपर्ने हो, द्वन्द्वग्रस्त क्षेत्रमा कामको लागि
आएपछि । तर आफ्नै कार्यालयमा पड्काको, भावहीन रहन त काकाको जस्तै बानी पर्नुपर्छ होला ।
“माघमा, योसहित त तीनचोटी भयो सर ।”
काका हाँसे । मलाई अचम्मित देखेर खुशी भएजस्तो । उनको पहेँलो लेऊ लागेका दाँतहरू टिलिक्क टल्के घामको
प्रकाशमा । हामी कोठा पनि पुग्यौँ ।
“सरको कोठा यही हो । आराम गर्नुभए हुन्छ ।” अन्तिम वाक्य यही थियो शायद । तर मेरो आँखामा उनको पहेँलो लेऊ लागेका दाँतहरू र मेरो मानसपटलमा एक चिज मात्र घुमिरह्यो । “यो सहित त तीनचोटी भयो सर ।”

११

सननन गर्दै बगेकी महाकाली नदी रातभरी पनि सुसाइरहन्छिन् सुसाइरहन्छिन् । ती हरिया पहाडलाई जिस्क्याउँदै गीत गाइरहन्छिन् गाइरहन्छिन् । बिहानको घामको न्यानो प्रकाश एकदमनै रमाइलो हुन्छ भन्छन् दार्चुलाको । जब दुईतिरका पखेराले रोक्दारोक्दै पनि सूर्यले प्रकाशको पखेटा फिँजाउँछ त्यतिखेर दार्चुला नौनी घिऊ जस्तै पहेँलिन्छ, अनि महाकाली नदी त्यही नौनी घिऊ पग्लेर हिँडिरहेको भान हुन्छ अरे । तर म यो अनुभव गर्ने मौका कम्ति नै पाउँछु होला, किन कि बिहानलाई सधैँ हतार हुन्छ मेरो निन्द्राको तुलनामा ।
कार्यालयमा आफ्ना कर्मचारीसँग भेटघाट एल.डि.ओ.सरले नै गराइदिनु भयो मेरो । म, ओहदा अनुसारले सबैभन्दा ठूलो मान्छे आफ्नो प्रोजेक्टको । त्यसपछि फिल्ड सुपरभाइजर जोशी र एकाउण्टेन्ट भने त्यहीँका रैथाने । अनि काममा कुदिरहने सोसियल मोबिलाइजरहरू, ती गाउँमै हुनाले परिचय हुन पाएन ।
“पुराना फाइलहरू हेरौँ न काका, एकपल्ट । अनि जोशी सरलाई फिल्ड डिटेल्सका लागि मैले बोलाएको छु पनि
भनिदिनुहोला ।” कामको शुरुवात त्यसरी नै गरेंँ मैले । यो भन्दा अघि पदको रिक्तताले सबै काम फिल्ड सुपरभाइजरले नै गरिरहेकाले
मैले ऊबाट कुराहरू बुझ्नु जरुरी थियो । एकछिनपछि काका फाइल र जोशी दुवैलाई लिएर फर्के ।
“बोलाउनु भएको हो सरले ?” “हजुर, एकैछिन पर्खिनुहोस् है त ।” म फाइलहरू पल्टाउँन थालेँ । फाइलहरू साँच्चै पुरानै थिए । “जोशीजी, तीन महिनापछिको सुपरभिजन रिर्पोट छ त यो फाइलमा त । काम अगाडि नै सुपरभिजन रिर्पोट !” जोशी खिस्स हाँस्यो, मैले शब्दको अभाव हुँदा अनुहारमा ल्याउने हाँसो जस्तै । “पठाउन त महिना महिनामा नै पठाउने हो सर । बनाउने मात्रै हा अहिले त ।” “त्यो त बुझेँ । तर दार्चुलामा काम अगाडि नैे सुपरभिजन रिर्पोट बन्छ कि क्या हो ?”
जोशी अझै पनि हाँसिरहेको थियो । बढेको दाढी, चेसको बोर्ड जस्तै टाटेपाटे उसका कपाल, खुम्चिएको अनुहारले ऊ बुढो हुँदै गएको प्रष्ट देखाउँथ्यो । आँखा भने खैरो, धेरै कुटीलता लुकेको । उसको हाँसोले मलाई जिस्क्याइरहेको जस्तो लाग्यो ।
“तिमीहरू आलाकाँचालाई खेलाउँदा खेलाउँदै बुढो भएको हुँ म ।” भन्दै थियो शायद उसको हाँसोले ।
“सर त्यो बनाएन भने त तलब खान नपाइएला नि त ।” “किन ? दार्चुलामा काम गरेर तलब खान सकिँदैन र । मोनिटरिङ्ग भएको छैन अहिलेसम्म ?” मैले प्रतिप्रश्न गरेँ ।
“सदरमुकाम वरिपरि त काम हुन्छ सर । काठमाडौँबाट आएकाहरू तीन दिन हिँडने ठाउँमा त कहाँ जाने हुन् र । थोरै थोरै हिंड्ने ठाउँमा मात्र हो हेर्ने त । यो भन्दा अघिको सरले त यस्तै चलिहाल्छ भन्नुभएको थियो ।” “अबबाट यस्तो हुँदैन, काम नभइकन रिर्पोट बन्दैनन् ।” मैले कार्यालयमा आफ्नो पहिलो निर्णय सुनाएँ ।
“अनि तलब सर, तलब त रिर्पोट अनुसारले पठाउछ नि त !”
“तलब काम सिध्याउने, पूरै खाने ।” मेरो अनुहारमा विजयी मुस्कान छायो जब मैले उसको रातो अनुहार नियालेँ ।
“सदरमुकाम वरिपरि मात्र काम हुन्छ सर । माथि माथि त सरकारै अलग्गै छ ।” उसले विवशता सुनायो ।
“सरकार अर्कै भन्नाले ?”
“जनसरकारले हाम्रो प्रोजेक्ट ब्याण्ड गरेको छ । यु.एस. एड भनेर ।”
अहिलेसम्मको उसको सबैभन्दा निशानामा गएको तिर । उसको अन्तिम वाक्यले मलाई पियन काकाको “यो सहित त तीनचोटि भयो सर ।” याद दिलायो ।
मैले धेरैबेरपछि मौनता तोडेँ ।
“होइन । काम रोकेको नै भए पनि एक चोटि उनीहरूसँग नै कुरा गर्नुपर्छ ।”
“सर, उनीहरू प्रतिको विदेशी नीति नबदलिएकाले फरेन एडका प्रोग्रामहरू बन्द गरेका अरे, के काम गर्न देलान् र हामीलाई ?” जोशीलाई मेरो कुरामा पटक्कै चित्त बुझेको थिएन । यो उसको खुम्चिएको अनुहारले स्पष्ट देखाउँदै थियो । हुन त साइट नगइकन सुपरभिजन रिर्पोट बनाएर तलब खाइरहेका यिनीहरूलाई तीन दिन हिँडेर साइट जाने, काम नगइकन सामानको पनि पैसा खानुको सट्टा काम हुने अनि सामानको पैसा गाउँमा जाने कुरा त कहाँ चित्त बुझ्थ्यो त ।
“तर पनि, सात दलसँग समझदारी भइसकेको छ । कुरा गर्ने हो भने त समय त अनुकुल नै छ नि ।” मैले उसको मुखमा बुजो लगाउने प्रयास गरेँ ।
“खोइ सर, त्यो पनि उनीहरूको आधारक्षेत्र नगई थाहा हुँदैन ।” ऊ अझै पनि रोक्ने प्रयास गर्दै थियो ।
“त्यसो भए आज चिठी लेखौँ । उनीहरूको जवाफ आएपछि हामी नै जाउँला उनीहरूको आधारक्षेत्रमा उनीहरूसँग कुरा गर्नलाई ।” उसको सबै कारणहरूमा मैले ताला लगाइदिएपछि त ऊसँग मेरो प्रस्ताव स्वीकार्नु बाहेक अरु बाटाहरू बाँकी थिएनन् ।
मैले लेखेको चिठी आधारक्षेत्रकै स्थानीय बासिन्दा मार्फत् एरिया कमाण्डरकोमा पुग्ने भयो । मैले घडीमा आँखा दौडाएँ । घडीले मलाई कार्यालयको कुर्सीबाट उठ्ने अनुमति दिइसकेको थियो ।

काठमाडौँबाट धेरै टाढा आज मैले बेकरी क्याफेलाई सम्झेँ । गुलाबी सन्ध्या बोक्ने बानेश्वरलाई सम्झेँ । अनि गुलाबी कुर्ता सुरुवालकी ब्राण्ड एम्बेसडर आकृतीलाई सम्झेँ । तर थ्याङस, पि.सि.ओ. दार्चुला । मेरो दूरी घटाउने साथी ।
आकृतीको मोबाइलको घण्टीसँगै मेरो मुटु पनि गुनगुनाउन थालिसकेको थियो ।
“हेल्लो ।” “आकृतीजी सन्चै?”
“सन्चै छु आशिषजी ।” ऊ हाँसी । “पुगीसक्यौ त दार्चुला ?” “पुगियो । के गर्दैछौ ?”
“अफिसमा छु नि । कामको चापाचाप छ, धेरै बिजी छु आजकल ।” “बेकरी क्याफे पनि जान नभ्याउने गरी ?” “के छ र अब त्यहाँ ?” “हामी दुवैका यादहरू । मलाई कत्तिको मिस गर्छ्यौ ?” “तिम्रो भविष्यको लागि त हो नि हामी बीचको दूरी ।” “आत्मा र शरीर बीच पनि दूरी हुन्छ र ?” “छ्या ।” ऊ हाँसी, मलाई लाग्यो फोन आज पियानो बजाइरहेछ । “सुन न ।” उसले मेरो तन्द्रा तोडी ।
“तिमी भनी मात्र राख ।”
“म अहिले एकदम इर्म्पोटेन्ट फाइल प्रिपेयर गर्दैछु । म घर पुगेपछि तिमी मलाई कल गर न है त ।” “म्याडम, यो काठमाडौँ होइन नि त । एउटा कल गर्नलाई आधा घण्टा कुर्नुपर्छ ।” “जे पायो त्यही ।” “साँच्चै भनेको ।” “मेरो एकदम इर्म्पोटेन्ट छ क्या ।” “ल त्यसोभए मैले फोन राखेँ ।”
मैले फोन राखेँ अनि मनमनै सोचेँ “एउटा यस्तो संसार होस् । जहाँ समय रोकियोस्, अफिस नहोस्, अफिस टाइम नहोस्, दूरी नहोस्, मात्र माया गर्नेहरू हुन् । मैले घडी हेरेँ, घडी आफ्नै म्याराथनमा व्यस्त थियो । अनि उसको म्याराथन मलाई त्यस्तो संसार नभएको जानकारी दिंदै थियो ।

१२
सारा नेपाल बिस्तारै बिस्तारै तात्तिँदै थियो जनआन्दोलनको आगोमा । जनता नयाँ बिहानीको कल्पनामा बिस्तारै बिस्तारै उठ्दै थिए । आठदलको समझदारीले शाही सरकारको जरो हल्लिन थालिसकेको थियो । यता दार्चुलाको जिल्ला विकासको हाम्रो प्रोजेक्ट भने म माओवादीको आधार क्षेत्रमा उनीहरूसँग वार्ताको लागि जाने हल्लाले हल्लाएजस्तो थियो । जोशी त मसँग कुरा गरेर हार मानिसकेको थियो । म भने माओवादीहरूको चिठ्ठी कुरेर बसिरहेको थिएँ । मनमा थोरै डर पनि थियो, यदि तिनीहरूले हामी प्रोजेक्ट चलाउँन दिँदैनौँ भने भने त मेरो दार्चुला बसाई निष्कृय हुने भयो भनेर । त्यसमाथि मेरो आफ्नै फिल्ड सुपरभाइजरसँगको शितयुद्धको पहिलो चरणको जीतहारको परिणाम अड्किएको थियो माओवादीको प्रतिक्रियामा ।
मेरो कोठाको ढोका चुइयँ चुइँकियो । एकाउण्टेन्ट मेरो कोठामा अनुमति लिएर भित्र छिर्‍यो । छ्याकेछ्याके अनुहार, गालामा एउटा कालो दाग, केहीले काटेको हुनुपर्छ त्यो ।
“सर नमस्कार ।” उसले मलाई अभिवादन गर्‍यो ।
“नमस्कार, बस्नुहोस् न ।” “सर लटिनाथ जाने अरे ?” “लटिनाथ ?” यो ठाउँको नाम मैले पहिलो पटक सुनेको थिएँ । “माओवादीहरूको आधारक्षेत्र ।”
“ए ! चिठ्ठी पठाएको छु । उनीहरूले बोलाएकै छैनन्, कुरा गर्नलाई बोलाए भने त जाने हो ।”
“सरलाई पनि बेक्कारमा टाउको दुःखाउन मन लागेछ ।” ऊ हाँस्यो । मैले उसको हाँसो नियाँले, उसका दाँतहरू खैनीले सिध्याइसकेका थिए ।
“कहाँको टाउको दुःखाउनु, त्यो त मेरो काम नै हो नि । काम नगरी तलब खानु पनि त राम्रो होइन नि, कि कसो ?” मैले ऊमाथि व्यङ्ग्य गरेँ । तलबको फछर्योट गर्ने, नभएको कामको लागि रकम निकासा गर्ने मान्छे पनि त यही नै त हो । दार्चुलाको महाभारतको अर्को कौरव ।
“सर शहरको मान्छे, कहाँ थाहा हुन्छ र यहाँका मान्छेको बारेमा ।”
“मान्छे नै त हो मान्छे चिन्ने, मैले यहाँका धेरै मान्छे चिनिसकेँ । साँच्चि ! मैले त तपाइँसँग अर्को कुरा पनि गर्नुथियो ।” “के होला सर ?” उसको अनुहारमा थोरै परिवर्तन आयो । शायद ऊ मलाई सम्झाउनलाई मात्र तैयार भएर आएको थियो ।
“तपाइँले त काम नभएका ठाउँमा पनि रकम फर्छ्योट गरिदिनुभएछ नि त ।” मैले उसको कमजोर ठाउँमै प्रहार गरेँ ।
“त्यो त फिल्ड सुपरभाइजरले बिल पेश गरेपछि मेरो त के लाग्नु र सर, माथि– माथि काम गर्न गाहो छ । जहिल्यै यस्तै हो सर । काम गर्न मनै नगरेको त होइन सर ।” “तपाइँ माथि– माथि काम गर्न जाने होइन, भएको कामलाई मात्र रकम फर्छ्योट गराइदिए पनि त हुन्थ्यो नि होइन र ।” “त्यसो गर्दा त यो प्रोजेक्टका कर्मचारीले तलब खानै गाहो हुन्थ्यो ।”
मैले उसको अनुहार हेरेँ । ऊ आफू दानवीर भएर उसले हाम्रो प्रोजेक्टका कर्मचारीलाई गरेको योगदानको रामकथा सुनाउँदै थियो ।
“म वार्ता गर्न जाने भएर तपाइँहरूलाई भाग घटेको त पिर होला नि, होइन र ।” म हाँसेँ । “चिया खानुहुन्छ ?” मैले उसको तनावलाई चियाले घटाउने विचार गरेँ ।
“भइहाल्यो सर ।” एकाउण्टेन्ट बाहिर निस्कियो ।

पियन काका चियासहित भित्र छिरे । मैले विगतको दुईतीन दिनभित्रै नेपालको विकासका योजनाहरू र कार्यान्वयनका बारेमा धेरै कुरा थाहा पाइसकेको थिएँ । चियाको बाफ गिलास बाहिर मुकुट बनी विराजमान थियो । मैले एक सुर्को चिया तानेर त्यसलाई मुकुटविहीन बनाउने प्रयास गरेँ ।
“के कुरा गरे त, एकाउण्टेन्ट सरले ?” पियन काकाको सोधाइमा उत्सुकता थियो ।
“केही होइन काका, किन र ?” “तपाइँले लुकाएपछि म किन भन्ने ।” काका हाँसे । सधैँजस्तै आज पनि उनको दाँत पहेँलै थियो, सुन जस्तै ।
“भन्नु न !” मैले जिद्धी गरेँ काकालाई । बनाएको सम्बन्धनै भए पनि हामीमा धेरै प्रगाढ रूपमा बसेको थियो, दुई जनाको पदको दूरी घटाउन त्यो निकै सहायक पनि थियो ।
“तपाइँले भनाभन गर्न नहुने दुवै जनासँग भनाभन गर्नुभयो । शकुनी हुन् दुइटै, शकुनी ।”
“काका, तर महाभारत त पाण्डवले जितेका थिए नि होइन र ?”
हुन त यो युद्धमा म पनि अनैतिक ढङ्गबाट आएँ होला, तर अहिलेको यहाँको सबैभन्दा इमान्दार सिपाही म नै थिएँ भन्ने कुरा पछिल्ला दिनहरूले बताइसहेका थिए । मलाई यो युद्धमा होम्ने चाहिँ अहिले अमेरिकाको कुनै शहरको कल्पना वा कुनै नयाँ चक्लेटको खोजीमा नै त व्यस्त होला । (साँच्ची मैले दार्चुला आएर रोशनलाई फोन पनि गरेको थिइन ।) मैले घडी हेरेँ । खाजा समय भइसकेको रहेछ । मैले खाजा समयलाई पि.सी.ओ.मा नै बिताउने निर्णय गरेँ ।
पि.सी.ओ. सधैँ जस्तै भीड नै थियो दशैँका बेलाका बजारहरू जस्तै । माथि–माथिका सबै सदरमुकाम नै फोन गर्न आउनुपरेपछि त भीड नहुने कुरा पनि त भएन नि । आधा घण्टाका कुराइपछि मैले फोन गर्ने मौका पाएँ ।  “हेल्लो रोशन, के छ त हालखबर ?” “पुगेको हिरो, फोन गर्नु पर्दैन त ?” “अहिले पि.सी.ओ.भित्र बसेर म चिठ्ठी लेख्दैछु त ?” म हाँसेँ । “मेरो डेट आयो नि, एम्बेसी जानुपर्ने । आजको दश दिनपछि ।”
“ल त बेस्ट अफ लक । हुन त भाँडा माझ्नै जानेलाई त के बेस्ट अफ लक दिनु !” “काम कुनै ठूलो सानो हुँदैन, इन्जिनियर साहब ।”
“त्यो परिभाषा चाहिँ यु.एस.को लागि मात्रै हो कि नेपाललाई पनि भ्यालिड हुन्छ ?”
“नेपाल अनि नेपालको सिस्टम, दार्चुला छोड्नुअघि नै थाहा हुन्छ तँलाई । अनि काम कस्तो चल्दैछ त ?” “म दार्चुला छोड्दिन होला । रमाइलो छ । मैले सिस्टम बदल्नु पनि त छ ।” ऊ हाँस्यो, मलाई थाहा छ उसलाई आदर्श मन पर्दैन ।
“हिन्दी फिल्मको हिरो, सिस्टम बदल्ने । लगेरहो, लगेरहो ।” “थ्याङ्क्स मलाई यो अपर्च्युनिटी दिएकोमा ।” “च्याप्टर क्लोज्ड भनेको होइन र ?”
“सरी ! तिम्रा सबै चक्लेटहरूलाई सम्झेको छ भनिदिनू है त ।” “ल त राम्ररी काम गर्नू, राम्ररी खानू ।” “तिमी मेरो मम जस्तै साउण्ड गरिराखेको छौ ।” “मैले घुसको कुरा गरेको ।” ऊ हाँस्यो ।
“तिमीलाई थाहा छ म कहिल्यै त्यस्तो गर्दिन भन्ने । ल त मैले फोन राखेँ ।” “ल ल काठमाडौँमा एउटा साथी छ भन्ने नबिर्सेस् ।” “कति दिन बस्लास् र अब काठमाडौँमा ।”
“तैँले मुख खोल्दा बियरको झरी परोस् ।” रोशनको यो आशिर्वादसँगै मैले फोन राखिदिएँ । अनि एक पटक दार्चुलालाई धित मरुन्जेल हेरेँ, पि.सि.ओ.बाट बाहिर निस्केर । ती सबै मूर्खहरू हुन् जो यस्तो स्वर्ग छोडेर भौतिकताको पछि भागिरहेका छन् ।

दार्चुला जिल्ला विकास, अली अग्लो ठाउँमा भएर नै होला दिउँसोको तातो घामले तातिरहेको थियो । छेवैको महाकाली भने सुसाउँदै त्यही तात्तिएको ठाउँलाई चिस्याउन प्रयत्नरत थियो । खाजा समय लगभग लगभग सिद्धिने बेला भएको थियो म फोन गरेर पुग्दा । पियन काका हतारिंदै मतिर आए । “के भयो काका, किन यस्तो हतार तपाइँलाई ?” “सरको चिठ्ठी आएको छ, लटिनाथबाट ।” धेरै दिनदेखि पर्खिरहेको चिठ्ठी, मैले खोलेँ ।

 
आदरणीय इन्जिनियर सर
क्रान्तिकारी अभिवादन
पत्र प्राप्त भयो मेलमिलापको बेला तपाइँको तर्फबाट पनि यस्तो पत्र पाउँदा हामीलाई पनि खुशी लाग्यो शाही सरकारकै पालामा जि.वि.स.बाटै यस्तो पत्र पठाउनु भएर हामीमाथि देखाउनुभएको विश्वासले तपाइँको सत् विचार स्पष्ट देखाउँछ हामीले योजनाहरू शुरुमा रोकेका हौँ, तर मेलमिलापको मौसममा पुराना वैरभाव पुराना झिनामसिना कुराहरू बिर्सौ भन्ने हाम्रो पनि चाहना हो
तर नयाँ कार्यक्रम शुरु गर्नुभन्दा पहिले तपाइँहरूको काममा ब्यापक चुहावट भएको प्रमाण हामीसँग कार्यक्रम कालो सूचीमा परेकाले तपाइँ एकपटक हाम्रै आधार क्षेत्र आई स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ आशा बढेको कदमलाई पुरानाहरूले जस्तो पछाडि सार्नु हुनेछैन
भेटको प्रतिक्षामा
एरिया कमाण्डर
भीषण
मैले पत्र ठ्याक्कै आफूले खोजे जस्तै पाएँ । मैले यो पत्र जोशीलाई, एकाउण्टेन्टलाई र एल.डि.ओ. सरलाई पनि देखाएँ । एल.डि.ओ. सरको सुझावअनुसार भोलि बिहानै जोशी, अमर (त्यहीँको स्थानीय बासिन्दा र जिल्ला विकासको कर्मचारी) र म लटिनाथको लागि हिँड्ने निर्णय भयो ।
१३

दुईजनाभन्दा बढी एकैपटक हिड्नै नसक्ने पहरा खोपेर बनाइएको घोडेटो बाटो आफू आफैँमा प्रतिष्पर्धी बनेर हिँडिरहेको थियो । विश्वजगत्मा म पनि केही हुँ भनेर देखाइरहेको थियो । अझ म जस्तो पहाडको अनभिज्ञलाई त हरेक पखेराहरू सगरमाथा हुँदा रहेछन् भन्ने पत्ता लागेको थियो त्यो दिन । सिधै आकाश छेडुँला जस्तो गर्ने भित्ताहरू, जसलाई हेर्दा नै मेरो मुटु काम्दथ्यो, त्यस्ता भित्ताहरूमा पनि घाँसपात गरेर केही किशोरीहरू वीरताको परिचय दिँदै थिए । उनीहरूका भाका मिलेको गीतले यात्रा कठिन भए पनि रोमाञ्चक बनाइरहेको थियो । त्यो दिनको हिेँडाइले डाक्टर तारानाथ शर्माको प्रसिद्ध लेख ‘घनघस्याको उकालो काट्दा’ याद दिलाइरहेको थियो मलाई । पक्कै पनि तारानाथ शर्मा दार्चुला आएनन् होला, उनी दार्चुला आएको भए हामीले पढ्ने महेन्द्रमालाको किताबमा घनघस्याको सट्टामा दार्चुलाको अरु कुनै उकालोको नाम हुन्थ्यो होला । करिब दिनभरीको ठाडो उकालो हिँडाइपछि हामी एउटा चिया पसलमा पुग्यौँ ।
“आज यहाँभन्दा माथि गयौँ भने बास पाइँदैन ।” चट्टानी ढुङ्गालाई आफ्नो जुत्ताले कोतरेर केही कुराको आकृति बनाउँदै अमरले हामीलाई जानकारी दियो ।
“यहाँ बस्ने ठाउँ छ त ?” जोशीले अमरलाई प्रश्न गर्‍यो । “तपाइँ यहीँको फिल्ड सुपरभाइजर होइन र ?” मैले जोशीलाई व्यङ्ग्य गरेँ । “यहाँ छ छन त, म त आउँदाजाँदा यहीँ बस्ने हो ।” अमरले उत्तर फर्कायो ।
“तीनैजनालाई बस्न दिन्छन् त ?”
“यहाँका बुढाबालाई मैले चिनेको छु । दिन्छन् बुढाबाजेले ।” “को को बस्छन् यहाँ ?”
“कोही पनि छैनन्, बुढा र उनकी नातिनी मात्रै हो ।” “छोरा बुहारी ?”
“छोरो जनसेनाको लागि भनेर लिएर गएका रे ! अहिलेसम्म फर्किएको छैन । बुहारी त्यसैको एक हप्तापछि एउटा गाउँकै इन्डियन आर्मीसँग हिँडी अरे ।” मैले त्योभन्दा धेरै सोध्ने हिम्मत जुटाउन सकिन । चियापसलको माथिल्लो तल्लानै हाम्रो शयनकक्ष बन्यो त्यो रातको ।
मैले बुढाका सुख्खा आँखाहरू हेरेँ, छोरो आउने आश अझै हराएको थिएन । बाटो ताकिरहेको जस्तो देखिन्थ्यो । त्यतिखेर नातिनी तीन वर्षकी थिई रे, अहिले नौ वर्षकी भन्थे बुढाबाले । छ वर्ष भएछ छोरो नआएको ।
“नानीहरू बस्दै गर्नुहोस्, म खाना तयार गर्छु ।”
बुढाबा तल झरे । नातिनी भने अमरको छेवैमा बसिरहेकी थिई । अमर मात्र परिचित भएर होला । रातो रिबनले कपाल बाने जस्तो गरेकी (वास्तवमा रिबनले कमै मात्र कपाल समाइरहेको थियो ।) दुईवटा दाँतहरू मुसाले लगेको, नाक सिँगाने नै भए पनि टपक्क मिलेको । जे होस् केटाकेटी भनेका भगवान्का देन नै हुन् । उसलाई के मतलब र आर्थिक हिनामिनाको बारेमा । उसका आँखाहरू टुलुटुलु मलाई घुरिरहेका थिए, कुनै नचिनेको जन्तुलाई देखे जस्तो ।
“यसले त धेरैबेर पो हेरी त हाम्रो इन्जिनियर सरलाई, बिहे गर्छेस् हाम्रा इन्जिनियर सरसँग ?”
ऊ लजाई । मलाई उसको लाज देखेर हाँसो लाग्यो । वास्तवमा केटी लजाउनलाई उमेर चाहिँदो रहेनछ । उसको लजाइ र आकृतीको लजाइमा खासै फरक थिएन । “भन्दिनस् त ?” अमरले उसको उत्तर खोज्यो, म पनि उसको उत्तर सुन्न उत्सुक थिएँ । “गर्दिन । यस्तो बुढो, दाह्रीजुँगा पलाएको ।” मैले हाँसो थाम्न सकिन, हामी सबै नै हाँस्यौँ ।
“कत्तिको मान्छे आउँछन् त यहाँ बा ?”
“आउँथे नानी पहिले त, अहिले त बबाला काट्नलाई मात्र पुग्छ यो दोकानले ।” “बबाला काट्नु ?” “दुई छाक काट्नु पनि त बबाला नै त हो नि हामीलाई त ।” बुढो खिसिक्क हाँस्यो, कुनै कर्तव्य निभाएजस्तै ।
खानाको गुणस्तर सदरमुकामसँगको दूरीसँगै घट्दै गइरहेको थियो । अझ स्पष्ट रूपमा भन्ने हो भने खानाले नेपाल भारतको दूरीसँग लिनियर रिलेसन बनाए जस्तो लाग्दथ्यो । तर पनि बुढाबाको आफ्नोपन मिसिएको खाना मलाई मिठो लाग्यो । हामीले त्यो रात त्यहीँ बितायौँ । भोलि दिउँसोसम्म पुगिएला भन्ने अमरको अनुमान थियो ।
अन्त्यमा अमरले भनेजस्तै दुई दिनको हिँडाइपछि दिउँसो हामी आधारक्षेत्र लटिनाथ पुग्यौँ । हाम्रो प्रतिक्षा भइरहेका थियो त्यहाँ । क्रान्तिकारी अभिवादनका साथ कमाण्डर भीषणले स्वागत गरे । हात मिलाउने तरिका त झनै क्रान्तिकारी रहेछ, हातै चुँडाउँला जस्तो ।
“अभिवादन ।” “नमस्कार, म आशिष, आशिष शर्मा ।” “भिन्न पाएँ सोचेभन्दा, बसौँ न ।”
“किन ?”
“कलिलो हुनुहुँदो रहेछ ।”
“देखिने मात्र हो ।” म हाँसेँ, तर उनीहरू हाँसेनन् । उनीहरूलाई हाँस्नको लागि बन्देज लगाए जस्तो, गम्भीरतालाई आफ्नो कम्ब्याटसँगै ओढे जस्तो । मैले यताउता आँखा घुमाएँ । काठको घर थियो त्यो । माथिल्लो तल्ला आफैँले प्रयोग गरेको । त्यो ठाउँको लागि त्यत्तिको कार्यालय पनि भव्यनै मान्नुपर्छ ।
“श्रम शिविरमा परेकाहरूले बनाएको ।” “ए ।” मैले बुझे जस्तो गरेँ ।
“टोलीसहित आउनुभएछ नि त ।”
“ऊ त यहीँको भाइ हो, चिन्नुपर्ने हो तपाइँले ।” “चिन्छु । जोशीजीलाई पनि राम्ररी चिन्छु । कि कसो त जोशीजी ?” मैले जोशीलाई नियाँले । ऊ मौन थियो ।
“तपाइँ यही ठाउँको फिल्ड सुपरभाइजर होइन त ? आउनुभएको थियो यो गाउँमा ?” ऊ अझै पनि मौन थियो । “घर कहाँ हो तपाइँको ?” यसपालि प्रश्न मतिर तेर्सिएको थियो । जोशीले अली राहत महसुस गरे जस्तो छ । “काठमाडौँ ।” “सामन्तीहरूको गाउँ ?” “हजुर ?”
“त्यो सामन्तीहरूको गाउँ त हो नि । त्यहाँ भित्रकाले कहिल्यै सिङ्गो नेपालको चाहना जान्न खोजेका छन् र ?” “सबै मान्छे एउटै प्रकारका हुँदैनन् ।”
“जस्तै ?” “म पनि त काठमाडौँ छोडेर दार्चुलासम्म आइपुगेको छु ।” “तपाइँ पनि त जागिर, भविष्य हेरेर त हो नि । नत्र त !” “त्यत्तिको स्वार्थ त सबैमा हुन्छ ।” “हामीमा छैन ।” “गाँसबासकै गाह्रो हुने भए त के लाग्नुहुन्थ्यो होला र ?” “तपाइँको कार्यक्रमकाले तलब मात्रै खाएका छन् र ?” “म हुञ्जेल तलब मात्र खानेछन् । विकासको पैसा विकासमै खर्च हुनेछ ।” ऊ पहिलोचोटि हाँस्यो गम्भीरताको कम्ब्याट फ्याँकेर ।
“यसलाई विकास भन्नुहुन्छ तपाइँ ? तपाइँकै कार्यक्रमअन्तर्गत यहाँ तीनवटा खानेपानीका योजनाहरू आए । बाटामा कतै धाराहरू देख्नुभयो ? कि कसो त जोशीजी ?” “निषेध गर्ने पनि त तपाइँहरू नै हो नि होइन र ?” “तर पैसा त जिल्ला विकासमा आएर सिद्धिइसक्यो नि होइन र ?”
मैले जोशीलाई हेरेँ, ऊ त्यहीँ भएको सिन्काल भुइँमा कुनै चित्र बनाउनमा व्यस्त थियो । मानौँ ऊ आफूलाई जोशी
नभएर लियोनार्दो दा भिन्ची सम्झिरहेको छ । “विकासमा आएको पैसाबाट थोरै झिकेर भए पनि हामीलाई दे भन्ने पनि त तपाइँहरू नै हो नि, होइन र ?” “त्यो त क्रान्तिको लागि सहयोग हो ।”
“म मान्छु, गल्ति भएको छ । हामीबाटै भएको छ, तर अब काम नै शुरु नगर्ने भन्ने पनि त समाधान त होइन नि ।”
“जोशीजी, यदि तपाइँ अप्ठ्यारो मान्नुहुँदैन भने मलाई थोरै गफ इन्जिनियर सरसँग मात्र गर्नुछ ।” जोशी बाहिर निस्कियो । आफनो अमूर्त कलालाई भुइँमै छोडेर ।
“तपाइँहरूको समूह नै राम्रो छैन, कसरी काम गर्नुहुन्छ ?” “भन्नाले ?” मैले उत्सुकता दर्शाएँ । “योभन्दा पहिलेको इन्जिनियर र जोशीलाई हामीले कार्यबाहीको सूचीमा राखेका थियौँ, पछि इन्जिनियर हिँडिहाल्यो ।” ऊ एकछिन रोकियो ।
“अनि ।”
“दल र हामी बीचको वार्तापछि कार्यवाहीलाई हामीले रोकेका छौँ ।” “तर यो सबै तपाइँले मलाई किन सुनाउनुभएको ?” “हामीलाई मान्छे चिन्न धेरै बेर लाग्दैन ।” “हामीले प्रोजेक्ट नचलाउने त अब ?”
“तपाइँ नयाँ भएकाले हामी मौका दिन सक्छौँ तर तपाइँको समूहको जिम्मा तपाइले लिनु पर्नेछ । फेरि जुन जोगी आए पनि कान चिरेको नहोस् नि इन्जिनियर सर !” ऊ हाँस्यो ।
मैले हुँदैन भन्ने त प्रश्नै उठेन । अपेक्षा गरेभन्दा सजिलो ढङ्गबाट वार्ता भयो । अचेल नेपालका शान्ति प्रक्रियाहरू सोचेभन्दा चाँडो हुँदैछन् । मलाई युद्धक्षेत्रमा नयाँ विजयध्वजा गाडेको अनुभव भयो । तर काममा जतिजति प्रखरता हासिल गर्दै गइराखेको थिएँ मैले त्यतित्यति म अनैतिक ढङ्गबाट यो कुरुक्षेत्रमा छिरेको याद आउँथ्यो । तर केही छैन, रोशनले च्याप्टर क्लोज्ड भनेपछि च्याप्टर क्लोज्ड । बाहिर लियोनार्दो आफ्नो अर्को कलामा व्यस्त थियो ।
“कुरा सकिएको हो सर ?” “सकियो पनि, मिल्यो पनि ।” “हामी भोलि हिँड्ने त त्यसोभए !”
“तपाइ त यहीँ बसे भइहाल्यो नि, यहीँको फिल्ड सुपरभाइजर होइन त तपाइँ ?”
म हाँसेँ, यो ऊ माथिको व्यङ्ग्य मात्र हो भनेर दर्शाउनलाई, ऊ पनि खिस्स हाँस्यो, मेरो व्यङ्ग्यमा वा उसको विवशतामा, मैले छुट्याउन सकिन ।
१४
दुई महिनापछि, 
नेपालको बृहत् आन्दोलनले जनताको जीत देखाउनुको साथै नयाँ नपालको मार्गदर्शन गरिसकेको थियो । म पनि त आफ्नो अर्न्तआन्दोलनमा विजयी भएको थिएँ । काम धमाधम सञ्चालन भइरहेको थियो । काठमाडौँमा आमा एक चोटि छुट्टी लिएर घर आइज भन्दै हुनुहुन्थ्यो, ग्रह नराम्रो छ भने अरे ज्योतिषी बाजेले, ग्रहशान्ति गराउने अरे । आकृतीको प्रमोसन भएको मलाई सुनाएकी थिई उसैले । त्यसैले गर्दा अचेल झन व्यस्त हुनुपर्छ रे उसले । रोशनको लागेको भिसाले भने काठमाडौँमा बियरको बाढी गयो रे भन्ने हल्ला पुगेको थियो दार्चुलामा । तर रोशनले भने तिमी नभएर खासै रमाइलो भएन भन्दै थियो, ऊसँगको अन्तिम फोनवार्तामा । अहिले त ऊ पनि बुशबाको गाउँमा (इडाहाओ हो शायद) होला, नयाँ कुनै चक्लेटको खोजीमा ।
जि.वि.स. को काम नगरिकन खाने परिपाटीमा मैले ल्याएको त्यत्रो हेरफेरले भने जोशी अनि एकाउण्टेन्ट जस्ताको आँखाको तारो बनाएको थियो मलाई । एक हप्ताको लागि लिइएको एल.डि.ओ.को छुट्टीले निमित्त एल.डि.ओ.पनि बन्नुपरेको थियो यतिखेर मलाई । बाहिरको हल्लाले आफ्नो काममा ध्यान केन्द्रित गर्न नसकेपछि मैले पियन काकालाई बुझ्न पठाउने निर्णय गरेँ ।
“काका ।” “हजुर, सर ।” “के भएको हो बाहिर ?”
“खोई सर, आन्दोलन जस्तो छ नयाँ कुनै ।”
“बुझेर आउनु न एकपल्ट ।” पियन काका बाहिर निस्के । फर्किन पनि त्यति ज्यादा समय लागेन ।
“शाही सरकारको पालामा रित नपुगी नियुक्ति गरेका कर्मचारीका नियुक्ति खारेजी गर्नुपर्ने रे ।”
“कहाँको ।”

“सर पनि, जि.वि.स. अगाडि आएर धर्ना दिएपछि जि.वि.स.कै होला नि ।” “एक जना मात्र कुरा गर्न भित्र जानू अरे भनेर भित्र पठाइदिनू न ।”
एक छिनपछि एउटा अधबैंशे मान्छे मेरो कोठाभित्र छिर्‍यो । मोटो भुँडी, अग्लो जिउडालले उसलाई नाइके भएको सुहाएको थियो ।
“सर नमस्कार ।”
“नमस्कार, बस्नुहोस् न ।” मैले नजिकै भएको कुर्सीमा इशारा गरेँ । ऊ त्यसमा गएर बस्यो । “केको बारेमा रे तपाइँहरूको आन्दोलन ।” “शाही सरकारको पालामा रित नपुगी नियुक्ति गरेका कर्मचारीको नियुक्ति खारेजी गर्नुपर्ने भन्ने हाम्रो माग हो ।” “जि.वि.स.मै छन् त त्यस्ता कर्मचारी ?” मैले आफ्नो अनिभज्ञता दर्शाएँ ।
“नभए हाम्रो आन्दोलन केका लागि त ?” “मलाई त्यस्ता कर्मचारीको नाम भन्न सक्नुहुन्छ त ?” “हामीसँग लामै लिष्ट छ ।”
उसले कागजको टुक्रा निकालेर मलाई दियो । लिस्ट साँच्चै नै लामो थियो । मैले काम गर्दैगरेको प्रोजेक्टको दुईवटा सोसियल मोबिलाइजरहरूको पनि । मैले दुई महिनामा आफूले देखेका धेरै कुरा सपार्दै आएको थिएँ । यो नयाँ कुरा, मानौँ म मिराज पक्डिनलाई दगुरिरहेछु नजिक पुगे जस्तो लाग्छ, तर अन्त्यमा दूरी उत्तिनै, नघटेको, नकटेको । नियुक्तिको लागि म नहुञ्जेल त फिल्ड सुपरभाइजरकै जिम्मा थियो होला । पक्कै जोशीले आफ्नो मान्छे छिराए जस्तो छ ।
“एल.डि.ओ.सर नआउञ्जेल त कदम चाल्न गाह्रो हुन्छ ।” “हामी यो मागमा विचार नहुञ्जेल अनसनमा छौँ ।” “म तपाइँलाई एउटा कुराको आश्वासनसम्म दिन सक्छु ।” “कस्तो ?”
“तपाइँको काम हुनलाई दुईजनाले खारेजीमा दस्तखत गर्नुपर्छ ।”
“त्यो त मलाई थाहा छ । एउटा एल.डि.ओ.सरको, एउटा कुन कार्यक्रमको हो, त्यसैको हेड ।” “ठीक, एल.डि.ओ.सरको काम त गर्न सक्दिन तर कार्यक्रमको हेडको रूपमा भने तपाइँलाई सहयोग गर्न सक्छु ।” “कसरी ?” ऊ मेरो कुरामा उत्सुक थियो । “मेरा पनि यहाँ दुई वटा सोसियल मोबिलाइजरहरूका नाम छ ।” “तपाइँले आफ्नो कर्मचारीको साथ दिनुहुन्न भनेर मैले कसरी पत्याउने ?” “म मात्र साँचो कुराको साथ दिन्छु । तर मलाई थोरै समय चाहिन्छ ।” “किन ?”
“सोसियल मोबिलाइजरहरूको हेर्नुपर्ने क्वालिफिकेसन मात्र हो र यहाँ सर्टिफिकेटको प्रतिलिपि नभए पनि मैले उनीहरूलाई एक हप्ताको समय दिनैपर्छ ।” “म यहाँ आफ्नो मात्र होइन, समूहको प्रतिनिधित्व गरेर आएको छु । मैले उनीहरूको चित्त बुझाउन सक्नुपर्छ ।” “तपाइँले समूहलाई मेरो बाध्यता सुनाउन पनि त सक्नुहुन्छ नि त ।”

ऊ निस्किने बित्तिकै म कर्मचारीहरूको फाइलमा ती दुई सोसियल मोबिलाइजरहरूको सर्टिफिकेटहरूको फोटोकपी खोज्न व्यस्त भएँ । सोसियल मोबिलाइजरहरूको मिनिमम क्वालिफिकेसन इन्टरमेडियट हो । साँच्चै नै त्यहाँ इन्टरमेडियटको कपी थिएन ।
“काका ।” काका हतारिंदै भित्र छिरे । “किन र सर ?”
“जोशीजीलाई एकछिन भित्र पठाइदिनुहोस् न ।” काका बाहिर निस्के । प्यासेजको पल्लो कुनामा पनि उनको प्याटप्याटे चप्पलको पदचाप सुन्न पाइन्छ जि.वि.स. मा काका हिँड्दा ।
जोशी मेरो कोठामा देखा पर्‍यो ।
“जोशीजी हाम्रो सोसियल मोबिलाइजरहरूलाई चाहिने क्वालिफिकेसन कत्ति हो साँच्ची ?” मैले जानीजानी बुझ पचाएँ ।
“इन्टरमेडियट सर ।” “हाम्रा दुईजना सोसियल मोबिलाइजरको इन्टरमेडियटको क्वालिफिकेसन छैन, नभएकै हो कि, कपी नआइपुगेको हो ?” “हुनुपर्ने हो हुन त ।” उसले अनुहार रातोरातो बनाउँदै जवाफ फर्कायो । “यहाँ पनि त चाहियो नि ।” “उनीहरू त गाउँमा छन् ।”
त्यहींनै बहाना– जुन बनाउला जोशीले भनेर मैले गेस गरेको थिएँ ।
“यसो गरौँ, एक हप्ता समय दिउँ सर्टिफिकेट नभए उनीहरूको नियुक्ति खारेज हुन्छ भनेर खबर पठाइदिउँ उनीहरूलाई गाउँमा ।” ऊ मौन रहयो । उसले हुन्छसम्म भनेन । तर उसको मौनताले भने मलाई धेरै कुरा भनिरहेको थियो ।

१५
दश दिनपछि,

 
एल.डि.ओ. बिदाबाट फर्केपछि मैले त्यो कामबाट छुट्कारा पाएँ । दुवै सोसियल मोबिलाइजरका सर्टिफिकेटको प्रतिलिपि आएन । हुँदै नभएको कुराको प्रतिलिपि निकाल्नु त गाहै्र कुरा थियो । मसँग नियुक्ति खारेजीको सिफारिस बाहेक अरु उपाय थिएन ।
“काका ।” काका दौडिँदै आइपुगे मेरो कोठामा, उनको प्याटप्याटे चप्पलको आवाज मैले अगाडि नै सुनिसकेको थिएँ ।
“हजुर, सर ।” “यो चिठ्ठी एल.डि.ओ. सरको कोठामा पुर्‍याइदिनू न ।” “हुन्छ सर ।” काका बाहिर निस्के ।
एक छिन म अरु कुराहरूमै अलमलिएँ । एक छिनपछि प्याटप्याटे चप्पल फेरि बज्यो ।
“सरलाई एल.डि.ओ. सरले आफ्नै कोठामा बोलाउनुभएको छ ।”
म बाहिर निस्केँ । पहाडी जिल्ला नै भए पनि दार्चुलाको गर्मी काठमाडौँको भन्दा कडा छ । जेठ तरतरी पसिना चुहाइदिनलाई भित्रिसकेको थियो दार्चुलामा । एल.डि.ओ. सरको कोठा जि.वि.स.का अरु कोठाभन्दा व्यवस्थित थियो ।
“के हो ? तपाइँले त आफ्नै कर्मचारीको खारेजीको माग गरेर पठाउनुभएछ नि त ।” एल.डि.ओ. सर हाँस्दै हुनुहुन्थ्यो ।
“क्वालिफिकेसन नपुगेर हो सर ।” मैले आफूलाई थाहा भएको जानकारी एल.डि.ओ. सरलाई दिएँ । “त्यस्ता कर्मचारी त धेरै छन् त, दार्चुलामा ।” “रुल भनेको त रुल नै हो ।”
“आफू–आफू बीचको कुरा किन यति बढाएको तपाइँहरूले ?” “आफू–आफू बीचको कुरा भन्नाले । रुल र रेगुलेसनको कुरा त सबैमा लागु हुन्छ नि होइन र ?” “तपाइँको विरुद्धमा सिग्नेचर क्याम्पेन भयो यहाँ ।”
“के भएर ?” “तपाइँलाई थाहा छैन ?”
“तपाइँले सोसियल मोबिलाइजरहरूसँग जागिर बचाउनु छ भने तलबबाट मलाई पर्सेन्टेज चाहिन्छ भन्नुभयो अरे ।” “मैले कहिले भनेँ त्यस्तो ?”
“माफी माग्नुपर्ने रे तपाइँले । नत्र असहयोग आन्दोलन शुरु हुन्छ रे तपाइँको विरुद्धमा ।”
“मैले गल्ति गरेकै छैन, केको माफी माग्ने ?” मलाई चिच्याउन मन लाग्यो । मैले के गरिन यो कार्यक्रम चलाउनलाई, अहिले मेरो विरुद्धमा असहयोग आन्दोलन, नराम्रो मान्छेले पाएको जमातको साथ, आफ्नै मान्छेहरूको घात, शायद यही होला हाम्रो देशको रुट लेभलको राजनीति ।
“शिशाको घरमा बस्ने मान्छेले अरुको घरमा ढुङ्गा हान्नुहुँदैन नि त ।” “शिशाको घरमा बस्ने मान्छे, को सर ?” “हामीलाई पनि थाहा छ तपाइँहरूको इक्जामको बारेमा !” एल.डि.ओ. सरको यो व्यङ्ग्यको जवाफ थिएन मसँग । यसपालि म साँच्चै निरुत्तर थिएँ । मैले आफ्नो अनुहारको पसिनालाई रुमालले पुछेँ । बिस्तारै कोठाबाट म निस्किएँ, अब मैले डिसिजन लिनैपर्ने थियो । के ती सोसियल मोबिलाइजरहरूलाई मैल हटाउन मिल्छ प्रक्रिया नमिलेको भनेर ? किन मैले आफू े छिरेको बाटो बिर्सें ?

रातभरी लगाएर मैले फैसला गरिसकेको थिएँ । हातहरू नै शरीरको विरुद्ध आन्दोलनमा उत्रिएपछि शरीर कसरी चलोस् र । म स्वाभिमान बन्दकी राखेर जागिर खान सक्दिन । म दार्चुला छोड्दैछु अब, यहाँका बाटाका गुँरासको बासना बोकेर फर्किनेछु काठमाडौँमा । आफनो खल्तीको राजीनामा मैले एउटा एल.डि.ओ. सरको कोठामा र एउटा हुलाकमा खसालिदिनू भनेर काकाको हातमा पठाएँ । काकाले आँशु भरिएको आँखाले मलाई हेरे । म भने उनको छातीलाई टाउको अड्याएर बस्ने ठाउँ देखिरहेको थिएँ । मान्छेलाई आफ्नो बन्न समय लाग्दोरहेनछ, त्यस्तै बिरानो पनि । दार्चुलाबाट यही नै सिकेँ मैले ।

१६
बेकरी क्याफे,
साँझको बजे

“… त्यही भएर मैले त्यो काम छोडिदिए ।” मैले आकृतीलाई आफ्नो जागिरको बारेमा सबै सुनाएँ । रोशनको क्लोज्ड च्याप्टर बाहेक ।
आकृतीको अनुहार कालो भएको थियो मेरो कथा सुनेर, ऊ धेरैबेर मौन रही मेरो कुरा सुनेपछि । कफीको सुरूप–सुरूप बाहेक केही पनि आवाज थिएन द बेकरी क्याफमा त्यतिखेर ।
“तर तिमीले जागिर छोडेर ठीक गरेनौ ।” धेरै बेरपछि आकृतीले मौनता तोडी । ऊ मेरो जागिर छोडाइले खुशी थिइन भन्ने त उसको मौनताले नै भनिरहेको थियो, अब उसको वाक्यले पनि भन्दै थियो ।
“मसँग अरु अप्सन थियो र ?” मैले प्रतिप्रश्न गरेँ । “समय राम्रो नभएको बेला आफूभन्दा तलतिरको मान्छेको पनि चाकडी गर्न सक्नुपर्छ । तिमीले भविष्य हेरेनौ ।” सुझाव दिन थालेपछि ऊ पटक्कै राम्री देखिन्न, उसलाई सुहाउँदै सुहाउँदैन । अझ उसलाई थाहा नभएको कुरामा ।
“म नराम्रोलाई राम्रो भन्न सक्दिन देख्दादेख्दै ।” “तिमीले कहिल्यै आफूलाई गलत देखेको छौ ?”
“म गलत कहाँ थिएँ र ?”
“थाहा हुँदाहुँदै लोकलहरूसँग निहुँ खोज्नु सही हो त ?” “मलाई चिल्लो घस्न आउँदैन ।” “तिमीलाई मान्छेको मुटु रिझाउन आउँदैन, टन्डनको इन्टरभिउमा पनि तिमी झगडा गरेर बाहिर निस्केको होइन त ?” “मैले तिमीलाई घाउमा नून दल भनेर घाउ देखाएको त होइन नि ।”
“तिमी खाली आफ्नै बारेमा सोच्छौ ।”
ऊ कसरी भन्न सक्छे म आफ्नो बारेमा मात्र सोच्छु भनेर, मैले त आफ्नो भन्दा ज्यादा त उसैको बारेमा सोच्ने गरेको छु ।
“म ?” “अनि के त ?” उसको रातो अनुहारले मलाई ऊ रिसाउँदै गएको स्पष्ट देखाउँदै थियो ।
“कसरी ?” “थाहा छैन ।”
“थाहा नभएको कुराको आरोप लगाउँदै छौ ममा, मैले त म काठमाडौँ फर्केपछि तिमी खुशी होलाऊ भन्ने ठानेको थिएँ ।” “जीवन सँधै द बेकरी क्याफेमा हातमा हात राखेर त बित्दैन नि ।” “मेरो नोलेज जोशी जस्ताको हात मोल्नुपर्ने गरी सडिइसकेको छैन ।”
“जागिर अर्को पाँच महिनापछि ? घरको मेरो बिहाको कुरालाई चाहिँ तिमीले सारिदिन्छौ पाँच महिना ?”
मैले बल्ल बुझेँ ऊ रिसाउनुको कारण । ऊ भने आफ्नो रातो नाक नेप्किनले पुछ्नमा व्यस्त थिई । सुँक्क–सुँक्क आवाजले ऊ रुन आँटेको भन्ने प्रष्ट थियो ।
“के गरौँ त म ? तिमीलाई माग्न जाउँ अहिल्यै ?”
म झर्किएँ । दार्चुलाभन्दा सजिलो पनि छैन काठमाडौँमा । यसपालि मैले अली चर्को नै स्वरले बोले जस्तो छ, द बेकरी क्याफेका धेरैको ध्यान हामीतिर नै थियो ।
“तिमीलाई देखाउन तिमीमा के नै स्पेशल छ र अहिले ?”
यसपालि ऊ पनि रिसाई । उसको गालाको कलरले नै भनिरहेको थियो त्यति त । तर मलाई उसको गालाको कलरमा आज खासै चासो थिएन ।
“स्पेशल भन्नाले ?”
“घरमा ब्वाईफ्रेन्ड छ भनेपछि के गर्छ भनेर सोध्दैनन् ? म के भन्नु ?”
उसले फेरि नाक नेप्किनले पुछी । केटीहरू आफ्नो समस्यालाई जहिल्यै ठूलो देखाउँछन् । म दार्चुलामा त्यत्रो भएर फर्किएँ, कसरी फर्किएँ, दिमागको अवस्था कस्तो छ बुझ्नुको सट्टा खाली बिहाको कुरा ! घर अगाडि केटाहरूको लाइन लागे जस्तै ।
“के हो भन्ने, इन्जिनियर हो भन्ने नि ।” “बेरोजगार भन्नु कि नभन्नु ?” ऊ चिच्याई, फेरि द बेकरी क्याफेका धेरै मान्छेले हामीतिर हेरे ।
“तिमी पहिला यस्ती थिइनौ ।” “तिमी पनि त यस्ता थिएनौ नि ।” “डन्ट क्रिएट अ सिन हियर, अघिदेखि वरपरका मान्छे हामीलाई हेरिरहेका छन् ।” “म होइन, तिमी सिन क्रिएट गरिरहेका छौ । तिमीले अझै मेरो परिस्थिति बुझेनौ ।”
“किन, तिमीले मेरो बुझेकी छौ र ? मलाई आफ्नो लागि तिमीले हिम्मत जुटाइदिनु त परै जाओस्, अघिदेखि आफ्नो रोनाधोना लिएर, सिरियल बनाउन आँटे जस्तो ।” “तिमीलाई थाहा छ ? यु आर अ टोटल लुजर । आफ्नै साथी रोशनलाई हेर, ऊ कहाँ पुगिसक्यो ।” ऊ फेरि चिच्याई, मैले यताउता हेरेँ ।
“त्यो मेरो एम्बिसन थिएन ।”
“के हो त तिम्रो एम्बिसन, काठमाडौँमै हल्लिने ?” “मैले त्यस्तो भनेँ र ?” “मैले त त्यस्तै बुझेँ, केटा अहिले यु.एस.मा छ, दुईचार दिन पर्खिनुहोस् भन्न मलाई पनि त सजिलो हुन्थ्यो ।” ऊ अझै नेप्किननै चलाइरहेकी थिई । रिसको रापले नाकनै पग्ले जस्तो । “यो तिम्रो होइन, सबै तिम्रो जागिरको दोष हो । खाली नेपाल बाहिर मात्र संसार देख्छौ ।” “नेपालमै छ त संसार ?”
“आफ्नो देशमा त कहाँ संसार देख्थ्यौ त, पसिना बाहिर पठाउने दलालकोमा त हो नि तिमीले काम गर्ने ।”
“आफू पनि खानु छैन, अर्काले खाएको जागिरमा पनि दोष देख्छौ । बसेको भए भइहाल्थ्यो नि तिम्रो राम्रो संसारमा, तिमी छोडेर आयौ नि दार्चुलाको संसारलाई ।” मलाई पहिलोपल्ट धेरै अगाडिको रोशनको स्टील ग्लास थियरी याद आयो । केटीहरू देखिँदैनन्– उनीहरू के हुन् भनेर । के यही हो त आकृतीको वास्तविक रूप ? “अप्ठ्यारो नै हुन्छ भने मलाई के सोधिरहेको त ? गरे भइहाल्यो नि बाउआमाले खोज्देकैसँग ।” म आवेशमा कुर्सीबाट
उठेँ । बिल पे गरेर बाहिर निस्केँ । आकृती भित्र आँखानाक दुवै पुछ्दै थिई ।
घरमा मेरो ग्रहशान्तिको कुरा चल्दै थियो । मेरा अहिले ग्रहहरू ठीक छैनन् अरे ज्योतिष बाले भन्नुभएको, साँच्चै नै मेरा ग्रहहरू ठीक छैनन् । कहिल्यै झगडा नहुने मान्छेसँग पनि आज झगडा भयो ।
रात छिप्पिँदै थियो, निन्द्रा आज किन हो किन कोसौँ टाढा थियो । धेरैबेर पल्टिएपछि मैले आकृतीलाई कल गर्ने निर्णय गरेँ ।
“मलाई तिमीसँग बोल्नु छैन ।” “सरी !”
“तिमीले नै होइन बाउआमाले खोजेकोसँगै बिहे गर्नु भनेको ।” “सरी भनेँ त मैले ।” “तिमीलाई मेरो घरको अहिलेको सिचुएसन थाहा छैन त्यही भएर हलुका कुरा गर्‍यौ तिमीले ।” “तिमी टार्न सक्दिनौ, एक दुई महिना मलाई बिहा गर्न मन छैन भनेर ?” “गाह्रो छ, त्यही भएर त तिमीसँग कुरा गरेको ।” म उपायको खोजीमा लागेँ, भगवान् ! आमाको ग्रहशान्तिले काम गरोस्, आकृतीका आमाबुवाले त्यो केटा मन नपराउन् । बिहानै उठाइ भइरहेको छ आजकल ग्रहशान्तिको कर्मकाण्डले, सूर्य भगवान्लाई पानी चढाउनको लागि । दिउँसो काट्न झन गाह्रो भएको थियो काठमाडौँमा, हाम्रो नेपाल टपका साथीहरू तितरबितर भइसकेका थिए, समयको चपेटामा परेर । अझ नेपाल टपका मुटु रोशन र प्रकाशको अनुपस्थिति खट्किन्थ्यो काठमाडौँमा । जसोतसो गरेर दिन काटियो ।
रात फेरि कालो ओढ्ने ओढाउँदै थियो आकाशलाई, आकाशका तारा भने त्यही ओढ्नेमा जडिएका थिए वा ओढ्नेका प्वाल हुन छुट्याउन गाह्रो थियो । मैले टेलिेफोनको तार जोडेँ आफ्नो कम्प्युटरमा । हुन त नेटमा खासै काम त थिएन तर समय कटाउने मेलो । दार्चुलामा नचलाएपछि त मेरो मेल आइडी डिएक्टिभेट हुनुभन्दा अगाडि नै चलाउनु पनि त जरुरी थियो

(यत्रो दिनमा मात्र सातवटा मेल, बिर्सिन थालेछन् केटाहरूले, अनि आकृतीको पनि मेल, हिजो भर्खर त झगडा भएको ।
आज मेल ! उत्सुक बनेँ म ।
आशीष, यो मेल पढ्दा तिमीलाई अचम्म लाग्न सक्छ तर मलाई थाहा तिमीले व्यवहारिक भएर पढनेछौ
विगतको पाँच महिनामा, आफनो जागिरमा मैले मान्छेको जीवनको अर्को पाटो देखेँ बाहिर जा् ने तिर्सना देखेँ बाहिरबाट फर्केर आएका उहीँ बसेकाहरूको रहनसहन देखेँ नजिकैबाट साँचो अर्थको जीवन देखेँ
एम्बिसन हराएर भौतारिई रहेको तिमीलाई साथ दिने मैले धेरै प्रयास गरेँ तर तिमी भौतारिनुलाई, हराउनुलाई नै यात्रा ठानेर हिँडिदिन्छौ अनि आफनो ढिपीलाई, केटाकेटी् पनलाई आदर्श ठानिदिन्छौ तिम्रो मेरो बीचको सम्बन्धको शुरुवातमा मैले हामी धेरै टाढा जाउँला, हाम्रा चाहनाहरू मिल्लान् भन्ने सोचेको थिएँ तर तिम्रो मेरो चाहनाको क्षितिज फरक रहेछ तिमी सानासाना इच्छाहरूमा रमाउछौ बेकरी क्याफेमा हातमा हात मिलाएर एक अकाका आँखा जुधाएर हराउनर्मा रमाउँछौ अनि सँगै बसेर, सानो घरमा सानो कुरामा अल्झिएर खुशी हुन चाहन्छौ नराम्रो लाग्छ तै पनि लेख्दैछु, सफलताको लागि साना–साना दुईचार पाइला होइन, एउटा ठूलो फड् को मार्नुपर्छ हामी अहिलेसम्म सँगैसँगै हिँडे पनि भिन्न लक्षको लागि हिँडिरहेका रहेछौँ कुनै दोबाटोको खोजीमा तिमीमा परिवर्तनको आश नरहेपछि मैले आफूलाई नै परिवर्तन गरेकी छु
दिदीले एउटा नेपाली नै तर अस्ट्रेलियाको पि.आर. पाएको केटासँग मेरो बिहाको कुरा चलाउनुभएको रहेछ मैले उसको तिम्रो कल्पनाको संसार दाँजेर हेरेँ तिमी जतिको रोमान्टिक छैन, तर ठीक भावनामा बग्ने छैन, कुनै आदर्शलाई समाउने छैन सबैभन्दा ठूलो कुरा यथार्थमा नै रमाउने मलाई त्यही भएर उसैको संसार रमाइलो लाग्यो
मलाई थाहा तिमी मलाई स्वार्थी भन्नेछौ– यो मेल पढिसकेपछि तर छुट्टाछुट्टै चाहनाहरू लिएर दुवैजना सँगै हिँड् नु अनि दुःखी हुनुभन्दा पनि अलग–अलग नै सुखी भएर यात्रा गर्नुमानै रमाइलो हुन्छ नि जीवन होइन र ? तिम्रा नासोहरू सबै तिमीलाई फर्काउन चाहन्छु तिमीलाई एकचोटि भेटन चाहन्छु त्यहीँ, बेकरी क्याफे अगाडि । 

मैले मेललाई दोहोर्‍याएँ तेहेर्‍याएँ, केही अर्थमा परिवर्तन आउँछ, भाव बदलिन्छ कि भनी । तर मुटु भएकाले त नसोचेको कुरा, बिचरा निर्जीव कम्प्युटरले कसरी बुझोस् मेरो मनको भावनालाई । मैले मेरो मेलबक्स बन्द गरेँ । माउसलाई घोरिएर हेरेँ । धमिलो देखिइरहेको कम्प्युटरको त्यो स्क्रीन हेरेँ । रुमालले आखा पुछेर फेरि हेरेँ भावशून्य, चेतशून्य बनेर । हुन त आँशुलाई पनि थाहा थियो ऊ त्यसको कदर नभएकाको लागि खस्दैछ भनेर तर ऊ पनि त आफ्नो धर्म निभाउँदै थियो । पुछ्दापुछ्दै पनि झर्दै थियो त्यही निष्ठुरीको लागि । रात जागेरै बित्यो, नढाँटी भन्दा रोएरै बित्यो ।
बिहान सन्निएको आँखा लिएर म उठेँ, उठेँ के भनौँ, म त सुतेकै थिइन । चुपचाप चिया लिएर बसेँ किचनभित्र आमासित । मन लागेको थियो आमाको काखमा टाउको राखेर रोइदिउँ फेरि धक फुकाएर । थाहा थियो त्यो शक एब्जर्भरमा मेरो टाउको अडिएको भए सबै ठीक हुने थियो, तर म त्यो पनि त गर्न सक्दैनथेँ ।
“आशिष तँ जागिरकै कारणले गर्दा हो घोरिएको ?” “होइन ।” “के भएर त ?”
“राति कम्प्युटरमा धेरैबेर बसेँ त्यही भएर होला ।” “ढाँटेको हेर न यसले । म पत्याई नै हाल्छु जस्तो ।”
आमाको आँखा आँखा नभएर एक्सरे हो । मेरो पिरमर्का पत्ता लगाउने डायग्नोसिस गरेर । कराइमा उफ्रिरहेको तेलको आवाज मेरो कानसम्म पुग्दै थियो– एक छिनसम्म । मेरो सोच भने पुरानै यादहरूलाई उफार्दै थियो आफ्नो मनमा । मलाई एकचोटि मात्र भए पनि आकृतीको यथार्थको संसार हेर्न मन छ । उसको परिभाषाको रमाइलो विश्व हेर्न मन छ, सानै चाहना बोकेको मान्छे नै भए पनि मेरो मायाभन्दा भारी देखाइएको तराजुको अर्को पाटो हेर्न मन छ ।
दुई दिनपछि,
ठेस लागिसकेपछि सम्हालिनु शायद मानवधर्म हो । म पनि धर्म निभाउन द बेकरी क्याफे जाने भएँ । मौसम परिवर्तन हुन आँटे जस्तो थियो काठमाडौँको, झरी पर्ला जस्तो थियो । आज ऊ समयमै आइछे । भित्र छिर्न जरुरी ठानेनौँ हामीले । अब भने मेरा शब्दहरू रित्तिएका थिए । रोशन अनि उसको स्टील ग्लास थियरी साँचो थियो । मेरो प्रेमकथा यसरी नै सिद्धिनु रहेछ । किन ? कसरी ? मैले भित्तातिर टाउको फर्काएँ । आँखा भिजेको देखाएर फाइदा पनि त थिएन ढुङ्गे मुटुको अगाडि । मैले प्रताप मल्लको रानीपोखरीसँग दाँजेको द बेकरी क्याफेलाई हेरेँ । प्रताप मल्ल पनि मूर्ख लागे मलाई जसले माया नबुझ्ने जातलाई रानीपोखरी बनाए । केटीहरूले साँचो माया चिन्ने भए, गर्ने भए दुई, चारवटा राजापोखरी पनि त बन्थे होला ।
“मैले पनि तिम्रा लेटरहरू लिएर आएको छु ।”
कमसेकम एकजनाको साथ छुट्दा मेरा जीवनका बाटाहरू बदलिन खोज पनि मेरो यात्रा रोकिने छैन । म बाहिर निस्केँ । बाहिर सिमसिम पानी परिरहेको थियो, मेरो टुक्रिएको मुटु देखेर सारा आकाश रोएजस्तो । थोरै पर सात महिनादेखि छुट्टिएको साथीसँग जम्काभेट गरें । ऊ सल्कियो, चुरोट फेरि फर्कियो मेरो जिन्दगीमा । धुवाँ पातलिँदै आकाशिँदै उड्यो । मैले धुवाँ चुरोटको हो वा मेरो मुटुको मैले छुट्याउन सकिन । म घर फर्किएँ ।
अनुहारमा केही तुष बाँकी रह्यो शायद । “कति टेन्सन लिन्छ यो आशिष, कहीँ न कहीँ त पाइहाल्छस् नि जागिर ।” आमाले मेरो अनुहार नियाल्दै भन्नुभयो । “म यु.एस. पढ्नको लागि ट्राई गर्ने भएँ ।” “बल्ल बुद्धि फिरेछ, यो केटाको । कुन युनिभर्सिटी ?” “इडाहाओ, शायद । रोशनलाई आईट्वाइन्टीको लागि मेल पठाउँछु ।” म थोरै समयकै लागि भए पनि कस्तो हुँदोरहेछ त ठूलो फड्को मार्ने पाइलाहरू चलाउन चाहन्छु आकृतीकै शब्दमा ।
हेरौँ केही परिवर्तन आउँछ कि– यादहरूलाई रानीपोखरीमै डुबाएर ।

तेस्रो खण्ड

 

म अचेल बिहानै उठ्छु । ममा आएको परिवर्तनमा यो पनि पर्छ, रक्षाको देन । बाटोको पारि लाम लागेका घरहरू, चिल्ड्रेन्स पार्क देख्दा लाग्यो यिनै कुराहरू पहिला कति रमाइला लाग्दथे । त्यो उत्साह, उमङ्ग खोइ किन हराएको छ । अनि याद आयो पुल्चोक क्याम्पसमा हुँदा गरेका समय र परिवर्तनका कुरा । धेरै जस्तो हाम्रा मातेका बोलीमा यस्ता विवादहरू निक्लिने गर्दथे । अनि हामी निकाल्थ्यौँ नौलोपन र रमाइलोपनका अन्योन्याश्रित सम्बन्धहरू । एउटा सधैं भोको रहने पेटलाई खाना जति रमाइलो छ, त्यति नै रमाइलो हुन्छ सधैं भरिने पेटलाई एक दिनको भोक । सुख र खुशी जस्ता मनका अवस्थाहरूलाई समाजको आफूमाथिको दृष्टिकोणले निर्देशित गर्दछ र त्यही मान्छे समाजको नजरमा सुखी देखिन जीवनभर सङ्घर्ष गरिरहन्छ ।
किन–किन मेरो मनमा यस्ता कुराहरू आजकल खेलिरहन्छन् । अनेकौँ किनहरूले मेरो मथिङ्गल हल्लाउन थालेपछि रक्षाको काख नै मेरो लागि सहानुभूति लिएर आउँछ र म त्यसैमा संसार बिर्सेर हराउने गर्छु ।
“हाई ।” पार्किङ्गबाट कलेजतिर छिर्दै गर्दा राहुलले मलाई सम्बोधन गर्‍यो ।
“हाई, इ.आइ.ए. को एसाइन्मेन्ट गरेको हो ?” “मैले हिजै सब्मीट गरेको ।”
“मेरो त्यसमा फिनिसिङ टच दिन बाँकी छ, म एकछिन लाइब्रेरी गएर आउछु है ।” “ओके, आज त म पूरै फ्रि छु म कफिसपमै हुन्छ ।”
लाइब्रेरीमा किताबका थाकका बीचमा राहुलले भनेको फेरि सम्झिएँ । “मैले हिजै सब्मीट गरेको ।” पुल्चोकमा भएको भए लात हान्थेँ सार्न नदिई रिपोर्ट सब्मीट गर्नेलाई । म बिस्तारै फेरि एकचोटि अतीत अनि पुल्चोक क्याम्पसमा डोरिएँ ।
आई.ओ.इ., पुल्चोक क्याम्पस
२०६१

कहाँ गायब सर दुई दिनसम्म ?” आशिषले मलाई आई.ओ.को गेटमा भेट्टाउने बित्तिकै सोध्यो
दामनको हिउँ खेलाई, ज्वरो नै फुटायो नि यार दुई दिनसम्म ।” “अनि स्ट्रक्चरको एसाइनमेन्ट के गर्छस्, आज बुझाउने ?” ”तैँले सार्न दिँदैनस् र ?” “चार वर्षमा एक दुईवटा रिपोर्ट आफैँ बनाए पनि कसैले केही भन्दैन ।” उसले ममाथि व्यङ्ग्य गर्‍यो
साथी यस्ता भए दुश्मन किन चाहियो, मलाई ज्वरो आएको थाहा हुँदाहुँदै ! मेरो भन्नु केही छैन भो तेरो रिपोर्ट चाहिएन ।” “नाटक नै धेरै, ला लैजा, सोयलको जस्तो क्याफेमा गएर सारेर चिया पोखिदिइस् भने अब चाहिँ सोर्स सधैंको लागि बन्द
हुन्छ, बुझिस् ?” “थ्याङ्क्स !” यति भनेर एकान्त ठाउँको खोजीमा लागेँ रिपोर्ट सार्न

बि.एस.पी., स्ट्रक्चरको गनेचुनेका टिचरहरूमध्ये एक, सरासर हाम्रो क्लासमा छिरेपछि हाम्रो क्लास शान्त भयो । “रोशन, ०५८/बि.सि.इ./११२ को हो ? क्यान यु प्लीज गेट अप ?” जुरुक्क उठेँ
भाइले एसाइनमेन्ट राम्रो गरेछौ ।” ”थ्याङ्क यु सर ।”
अनि यो पेजको बीचमा पि.टी.ओ. चाहिँ किन नि भाइ ? पि.टी.ओ. पेजको अन्त्यमै राम्रो देखिन्छ जस्तो लाग्छ मलाई ।”
क्लासका सबैमा एकैचोटि हाँसोको फोहोरा छुट्यो बि.एस.पी.सर पनि हाँस्न थाल्नुभयो पनि आफ्नो ब्लन्डर देखी नहाँसी रहन सकिन

एक्कासि म त्यसरी हाँसेकोमा लाइब्रेरीमा मलाई सब टुलुटुलु हेरिरहेका रहेछन् । म फेरि चुपचाप एसाइनमेन्टमा व्यस्त भएँ ।

एसाइनमेन्ट सिध्याएर फर्किदा पनि राहुल कफिसपमै थियो । इन्डियन भएकाले होला ऊ साउथ एसियनहरूसँग नै ज्यादा घुलमिल हुन रुचाउँथ्यो ।
“नेपालमा त अहिले धेरै परिवर्तन भइरहेको छ है ?” गफको सिलसिला उसैले शुरु गर्‍यो । छिमेकीको नाताले होला ऊ हाम्रो देशप्रति चासो देखाइरहेको थियो ।
“हो, सचेत नेपालीका गुम्सिएका चाहनाहरू प्रस्फुटित हुँदैछन् ।”
“नेपालीहरू राजनीतिप्रति साँच्चै नै सचेत छन्, यसमा म पनि सर्मथन गर्छु, तर नेपालको राजनीति नेपालबाट मात्रै सञ्चालित छैन ।” “तेस्रो मुलुकहरूको दुर्दशा नै यही हो । बलियाले निमुखालाई अधिनम राख्न चाहन्छन् । भारतको नेपालप्रतिको व्यवहार ै सामन्ती छ ।” यसपालि मैले सिधै ऊमाथि नै आक्रमण गरेँ ।
“सबैजना आ–आफ्नो स्वार्थबाट प्रेरित हुन्छन् र हुनैपर्छ । यदि भारतले नेपालबाट अवाञ्छित फाइदा लिएको छ भने त्यो नेपालको गल्ति हो ।” “असमान शक्तिहरूको बीच समान सन्धि कहिल्यै हुन सक्दैन ।”
“हो, त्यसैले त भारतलाई दोष दिन मिल्दैन ।” वादविवादमा उसलाई नजित्ने देखिएपछि मैले कुरा बदल्ने जमर्को गरेँ । “अनि तिमीहरूको देशले त टन्न उन्नति गर्दैछ । यता आउनुको कारण ?”
“उन्नति सापेक्षिक हुन्छ, तर यहाँ आउने स्तरको मान्छेले देशमै अवसर नपाएर आएको भने हैन । म फर्किन्छु र मैले अवसर पाउँछु भन्नेमा निश्चिन्त छु ।”
“अवसर नै नपाउने त नेपालमा पनि हैन ।” अचानकै मेरो मुखबाट फुस्कियो ।
“तर मैले जति पनि नेपाली भेटेँ उनीहरूको मनस्थिति फर्किने खालको पाइन । तिम्रो बिचार के छ ?” किन हो किन मैले उसलाई आफ्नो योजना भन्न सकिन ।
“फर्कनु नफर्कनु व्यक्तिगत धारणा हो तर नफर्कनुको कारण बेकार बस्नुपर्छ हो जस्तो चाहिँ मलाई लाग्दैन ।” गफ टुङ्ग्याएर म कामतिर लागेँ । तर उसका वाक्यहरूले निकैबेर मलाई झक्झक्याइरहे ।

आजकल मैले राम्रो काम पाएको छु स्टोर किपरको । पहिला कस्टडीको काम गर्दा साह्रै दिक्क लाग्थ्यो । झल्झल्ती सम्झिन्थेँ घरमा हुँदा लुगा धुन अल्छी गरेको । ग्राहकहरूको कमी हुँदा, हो समय काट्न पट्यारलाग्दो हुन्छ तर शारीरिक श्रम कम पर्ने हुनाले राति पढ्न समय पाइन्छ । म बेलाबेलामा सोच्ने गर्छु– यो ठाउँमा आउने बित्तिकै ममा काम गर्ने जोशजाँगर कहाँबाट आयो ? शायद आवश्यकता र बाध्यता पनि । स्वतन्त्रतासँगै सहारा पनि हराउँदो रहेछ । अनिश्चितता भने कौतुहलता लिएर आउँदोरहेछ र शायद म त्यसैमा रमाई पनि रहेको छु ।

काम सकेर फर्किने बित्तिकै आशिषको फोन आयो । न्यास्रिए जस्तो छ । यहाँ आउने बित्तिकै सबैलाई यस्तै हुन्छ । बिरानो ठाउँमा, नयाँ नचिनेका अनौठा अनुहारहरू, घुमाउन लैजा भने पनि मलाई थाहा छ न्यास्रो लागेरै त्यसले मलाई बोलाएको हो ।
रक्षालाई ढिलो हुने जानकारी दिएर म उसकोतिरै लागेँ ।
“कस्तो छ त अनुभव साथी ?” मैले भेट्ने बित्तिकै उसलाई सोधेँ । “तँ आइस्, अब शायद रमाइलो होला ।” “मलाई थाहा थियो, शुरु–शुरुमा यस्तै हुन्छ ।” मैले उसलाई छेवैको रेष्टुरेन्टमा लिएर गएँ ।

“यहाँ आउने बित्तिकै जीवन जिउने तरिकामा कति फरक पर्छ हगि ?” “किन के देखिस् र त्यस्तो ?”
“हैन, यहाँका केटाहरूको गफ सुनेर, मरी–मरी काम गरेर गर्मीमा घुम्नलाई पैसा जोगाउँछन्, इन्सटलमेन्ट तिर्दै भए पनि गाडी चढ्छन् । नेपालमा त्यति पैसा भएको भए घडेरी किन्थे होला ।” आशिषले हाँस्दै भन्यो ।
“तर त्यसलाई विश्वाससँग पनि दाँज्न सकिन्छ । जब मलाई सजिलै काम गरेर जीवन गुजार्न सक्छु भन्ने विश्वास हुन्छ त्यतिखेर म भविष्यमुखी बचततिर थोरै ध्यान दिन्छु ।” “तर मलाई यसको कारण अर्कै लाग्छ ।” “के ?” मैले प्रश्न गरेँ ।
“तँ सहमत हुँदैनस् ।” ऊ मुस्कायो, थोरै ।
“भन् न त ।”
“यहाँ भावनाको जालो थोरै छ । त यहाँका साथीहरूमध्ये एउटा यस्तो साथी सम्झिन खोज जसले एसेसमेन्टमा तँलाई सार्न दिन्छ जस्तो लाग्छ ।” मैले आँखा चिम्लिन खोजेँ । तर मेरो मनमा मात्र पुल्चोके अनहारहरू कुदिरहे । “वाहियात, मास्टर्समा आएर पनि कसैले कपी गर्छ ?” मैले आफ्नो हार लुकाउन खोजेँ । आशिष भने जीतको झण्डा गाडेपछि मुस्काउँदै थियो ।
“मेरो मतलब यहाँको ह्युमन भ्यालुसँग थियो, हामी रिलेसनलाई धरै महत्व दिन्छौँ । यहाँ मान्छे मात्र आफ्नो बारेमा सोच्छन्, त्यसैले भविष्य हेर्दैनन् ।” “त्यस्तो होइन ।” मैले मात्र यत्ति भन्न सकेँ ।
“तँ यहाँका कसैलाई तिमीहरूको हजुरबुवा कतिजना दाजुभाइ भनेर सोध त !” म अलमल्ल परेँ ।
“हामी अलग–अलग थरलाई पनि एउटै गोत्रबाट दाजुभाइ भन्छौँ, गाउँभरीका बुढाबुढी हाम्रा काका काकी हुन्छन् ।
शोलुकी शेर्पिनी पनि हाम्री दिदी हुन्छिन् । यहाँ खोई त सम्बन्ध ? यहाँ मात्र कामदार छन् रोबोट, समय समात्न कुदिरहने रोबोट । आशिष चुप भयो, तर चुप हुनुअघि धेरै बोलेर मात्र चुप भयो । “आकृतीको बारेमा थाहा पाएर दुःख लाग्यो ।” अन्त्यमा मैले न मौनता तोडेँ । ै “पढिसकिस् ?” “उसले त्यस्तो गर्ली भनेर मैले चिताएको पनि थिइन ।” “मैले पनि, तर त्यसमा उसको केही दोष छैन ।” आशिष गम्भीर थियो ।
“कसको त ?” मैले उसको आँखातिर आफ्नो आँखा डोर्‍याएँ, उसका आँखाहरू सुख्खा थिए, भावहीन ।

“समाजको हेर्ने दृष्टिकोणको, ऊ त त्यतै डोरिएकी मात्र हो ।”
“तेरो पूरै कथा पढेर अलिकति दुःख लाग्यो तर यो सम्झेर खुशी लाग्यो कि यसको परिणाम सुखद रह्यो ।” “प्रथम कुरा, यो कथा अधुरो छ । दोस्रो परिणाम मेरा लागि कतै सुखद छैन ।” “होला तर विदेशको बारेमा तेरो धारणा ?”
“म विदेश जानुको सम्पूर्ण विरोधी थिइन, तर तँ लगायत मेरा झुण्डका गफमा म फर्किने गफ कहिल्यै पाउँदिनथेँ । र त्यो अल्झिने बिचारको चाहिँ म विरोधी हुँ । म फर्किन्छु, किन कि सङ्घर्षमय जीतहरू नै सुखद हुन्छन् ।” “यति सबै हुँदाहुँदै पनि !”
“हो ! यति सबै हुँदाहुँदै पनि !”
“अब तँलाई दुःख नै गर्न मन छ भने त म के भनूँ ।” “सुख त यहाँ पनि छ जस्तो लागेन मलाई ।” “किन ? काम धेरै भएर ? यदि काममा नै म रमाउँछु भने ।” “म पनि काम देखी भाग्ने मान्छे त पक्कै होइन ।” “हामी धेरै गम्भीर भयौँ, टपिक्स चेन्ज गरौँ ल ।” मैले यो युद्धलाई अल्पविराम दिने बिचार गरेँ । “केको बारेमा कुरा गरौँ त ? स्टील ग्लास थियरी, चक्लेट्स ?”
उसलाई साँच्चै मेरो स्टील ग्लास थियरी साँचो भएको थियो, त्यसैले त उसले मेरो यो थियरी बिर्सेको थिएन । तर अचेल मलाई रक्षाको अगाडि सब झुठो लाग्दथे ।
“भो, त्यो पनि कुरा नगरौँ ।” मैले हाँस्दै भनेँ ।
“किन ? रक्षा सम्झिस् र ?” “त्यस्तै त्यस्तै ।” “तैँले घरमा कुरा गरिसकिस् ?” “के ?” “रक्षाको बारेमा ।” “मुलुक मिल्छ, बिचार मिल्छ, यहाँसम्म कि जातभात पनि मिल्छ । हुन्छ भनिहाल्नुहुन्छ नि ।” “होइन खुशी हुनुहुन्थ्यो नि । छोराको बुद्धि फिरेछ भनेर ।”
“हो हुन त । तर त्यो खुशीको के कुरा जुन म देख्न पाउँदिन, मैले खुशी हुने बाउआमाको अनुहार देख्न पाए भन्थेँ– फिक्स हुने बित्तिकै ।” “तँ मेरै भाषा बोल्दैछस्, खुशी देख्ने नहुञ्जेल भएको एक्लो खुशीको पनि अर्थ हुँदैन ।” “म कसरी एक्लै भएँ र ?” “हामी अघिकै टपिक्समा फर्किसक्यौँ ।” ऊ मन्द मुस्कायो । “ओके, लेट्स कन्टिनिउ– म कसरी एक्लै भएँ त ?” यसपालि मैले पनि दबाव दिएँ । “तँ बुवाआमालाई लिएर आउलास् तर पूरै समाज त पक्कै पनि आउँदैन ।”
“समाजले सीमा पनि तोक्छ, तर मलाई स्वतन्त्रता प्यारो छ ।” “स्वतन्त्रता सहारा गुमाएपछि मात्र पाइन्छ र मान्छेले स्वतन्त्रता भन्दा सहारा खोज्छ ।” “मलाई त्यस्तो लाग्दैन ।” मैले जानीजानी यसपालि बुझ पचाएँ । “सधैँ नयाँ शिकार खोज्ने तेरो मनले अन्त्यमा रक्षा नै किन रोज्यो ?”
यसपालि उसले मेरो मुखमा बुजो लगाएरै छोड्यो । र रक्षा धेरै बाच्छे होला शायद, ठ्याक्क उसको फोन पनि आयो र हामी त्यो अघोषित युद्धमैदानबाट बाहिर निस्कियौँ ।

आज धेरैपछि मैले अनुपलाई भेटेँ । पुरानो साथीसँगको यो संसर्ग मलाई रमाइलो लागिराखेको छ ।
“धेरै पछि तँलाई यहाँ देख्दा खुशी लाग्यो यार ।” अनुपले भन्यो ।
“मलाई धेरै मिस गरिस् जस्तो छ नि ।” “साँच्चै भन्नुपर्दा हो, प्रमोदको समूहसँग अहिले म अल्पमतमा परिरहेको छु । त्यसैले होला शायद ।” “हो र ?” मैले हाँस्दै भनेँ ।
हो यार, फेरि मैले काम गरिरहेको कम्पनिले पनि निकालिदियो, धेरैजसो समय फुर्सदमै बित्छ । यहाँ त काम बिनाको समय सजाय जस्तै हुँदोरहेछ ।” “ए, किन निकालेको ?” “हल्का बिरामी परेको थिएँ, दुई दिनपछि जाँदा त अर्को मान्छे राखिसकेको । अब तेरो लागि ठाउँ खाली छैन भन्यो ।
कस्तो नरमाइलो लाग्यो ।” “केही मानेमा ठीक भए पनि मलाई पनि यो हायर एण्ड फायर सिस्टम चाहिँ मन पर्दैन ।”
“त्यही त यार बिरामी पर्न पनि नपाउनु त । अली–अली जम्मा गरको पैसा पनि सिद्धिन लाग्यो । बिजोग होला जस्तो छ ।” “म मेरोमा कुरा गर्छु नि त, हेरौँ केही हुन्छ कि ।” “ल गर् न यार, खाली समयमा दिमागमा पनि अनेकौँ कुराहरू खेलिरहँदा रहेछन् ।” “तँ निक्कै सिरियस भइछस् ।” मैले उसलाई नियाल्दै भनेँ । “बेला–बेलामा तँलाई आफ्नै कर्तव्यबाट डराएर भाग्दै हिँडे जस्तो लाग्दैन ?” “कस्तो कर्तव्य ?” “अस्ति घरमा बहिनीको बिहेको कुरा चल्दैरहेछ । परिवारको यत्रो ठूलो कुरामा म टाढा बसेर मूकदर्शक भएको छु ।” “कति चाँडो ? फुच्ची देखे जस्तो लाग्छ त । हो, यस्तो बेलामा भने साँच्चै दिक्दार लाग्छ ।” मैले हिजो आशिषसँग गरेका गफहरू झल्याँस्स सम्झेँ ।
“तँ आउछस् भनेर सोध्दै हुनुहुन्थ्यो, कसरी जानु र ? थोरै पैसा भए पनि सहयोग गर्न हुन्थ्यो, आफ्नो यो अवस्था छ ।” “यसरी नसोच न । अहिले नभए पनि पछि त पैसा पठाउन सकिहाल्छस् नि ।” “पैसा पठाएर मात्रै कर्तव्य पूरा हुन्छ त ? म त यहीँ नै भासिँदैछु । रोशन हामी साँच्चै कर्तव्यबाट भागेर हिंड्दैछौँ । मलाई फर्कने इच्छा छ तर छोराप्रतिको परिवारको अपेक्षा पूरा नहोला भन्ने डरले मेरा पाइला यतै बाँधिँंदैछन् ।” “यो तेरो गलत मानसिकता हो । फर्कनु राम्रो कुरा हो । यदि तँ फर्कन चाहन्छस् भने सानातिना इच्छाहरू मारेर पनि फर्कन सक्नुपर्छ । परिवारको सबैभन्दा ठूलो इच्छा त छोरो फर्कोस् भन्ने नै हो । त्यो नै पूरा भएपछि त अरु साना–साना कुराले के असर पार्छ र ?” ऊ अचम्म मानेर मलाई हेरिरहेको थियो । नमानोस् पनि कसरी मलाई नै मैले यस्ता कुरा गरेँ भनेर विश्वास भइरहेको थिएन ।
“तैँले यस्तो कुरा गरेको सुनेर अचम्म लाग्यो । किन फर्किनु भन्ने मान्छे होइनस् र तँ ?” “मैले तेरो कुरा गरेको, म त ग्रिनकार्ड लिएर यतै बस्ने अनि बुवाआमालाई बोलाउने हो ।” “आउनुहुन्छ त ?”
“किन आउनु हुन्न, एक्लो छोरो यतै छ किन नआउनु ?”

अनुपले टाउको हल्लायो । शायद मेरा कुरामा विश्वस्त भएर । तर कताकता मलाई नै मेरा कुरामा शङ्का लागिरहेको थियो ।
एक्कासि अघिल्लो टेबलकी केटीमा मेरो ध्यान गयो । “ओई त्यो जेनी होइन ?”
“हो त यार, आइ.एस.सी. सँगै पढेको बिर्सिस् ? तर मोटाइछे । जौँ गफ गरौँ रमाइलो हुन्छ ।” मैले किन पो नमान्नु थियो र ।
“हाई, चिन्यौ हामीलाई ?”
“अरे रोशन, अनुप तिमीहरू यहाँ, कसरी ?” एकै चोटिमा चिनी उसले । आखिर हामी पनि त क्लासका पपुलरहरूमध्ये थियौँ ।”
“यो त हामीले सोध्नुपर्ने तिमीलाई, कति भयो आएको ?” “यु.एस. आएको त भयो २ वर्ष जति, क्यालिफोर्नियामा थिएँ कलेज एफोर्ड नै गर्न सकिन । त्यसैले यता सिफ्ट गरेको ।
भयो एक महिना जति ।” “हाम्रो पनि भयो १५ महिना जति ।” “शुरुदेखि नै यतै ?”
“हो । देख्यौ त हाम्रो दूरदर्शिता ।” “त्यसमा त कुनै शङ्का छैन । अनुप चाहिँ किन चुप लागेर बसेको नि ? सँगै आएको हो ?” “हो, सँगै हो । अनि कुन कलेज ?” अनुपले बल्ल मुख खोल्यो ।
“इडाहाओ स्टेट युनिभर्सिटी ।” “ए, ल सँगै परेछ । कुन सिफ्ट ?” “इभिनिङ्ग ! दिउँसो त काम गर्नु परेन ?” “हो हो, कहाँ गर्छौ ?” “चश्मा पसलमा, हब्सीहरूले दिक्क लाउँछन्, चश्मा लाउँछन् अनि कस्तो देखियो भनेर सोध्छन् । राम्रो भन्नै पर्‍यो ।
भन्यो कि त जाउँ न घुम्न भन्छन् ।” “अनि जानु नि त । मैले हाँस्दै भनेँ ।” “हब्सीसँग त सकिँदैन बा ।” अनुप र मैले मुखामुख गर्‍यौँ । त्यसको अर्थ हामीले बुझेजस्तै त होला । “अनि कहाँ बस्छौ ?”
“अहिले धेरै छौँ, कोही साथी पाए सँगै बस्थेँ ।”
“हामी त यहाँका रैथाने भइसक्यौँ, तिमीलाई साथी खोजिदिइहाल्छौँ नि, केटासँग बस्छौ कि केटीसँग ?” मैले जिस्कँदै भनेँ ।
“केटासँग भए रेन्ट तिर्न पर्दैनथ्यो ।” ऊ हाँसी । कस्ती बोल्ड केटी ! म अनुपतिर फर्किएँ । मेरा मन बुझेर नै होला, उसले जुरुक्क उठेर भन्यो ।
“जौँ यार कामको लागि ढिलो भइसक्यो ।” जेनीबाट छुट्टिएर र अलि वर आएपछि मैले अनुपलाई भनेँ । “अनि के भयो त, बस्नु नि त सँगै ।”
“मान्छेलाई केको चिन्ता छ । केटीसँग बसेर अर्को थप्नु ?”
मेरो हँसाइले उसलाई जिस्क्याइरहेको थियो । तर ऊ भने गम्भीर देखिन्थ्यो । शायद आफ्ना समस्याको बारेमा सोच्दैछ वा जेनीले बाँच्नका लागि गरेका सम्झौताको बारेमा ।

 

“पढाइ सकेपछि तिमी के गर्ने ?” एक दिन रक्षाले एक्कासि यस्तो प्रश्न राखी । म अक्मकाएँ । मैले अहिलेसम्म यसको बारेमा सोचेकै रहेनछु ।
“पढाइ सकिन त देऊ काम त पाइहालिन्छ नि ।” यो रक्षाले खोजेको उत्तर पक्कै पनि होइन ।
“त्यही पनि केही योजनाहरू त हुन्छन् नि । मेरो काम यहाँ छ तिम्रो अन्त कतै भयो भने । फेरि यो ठाउँ सानो छ, कति नै काम हुन्छ होला । अहिलेको जस्तै काम गरेर बस्ने त पक्कै पनि होइन होला ।” “साँच्चै भन्नुपर्दा मैले यस बारेमा केही सोचेकै छैन । मैले राम्रो काम पाएँ भने त जाने हो । तिमीले पनि राम्रो काम पाइहाल्छौ नि ।”
रक्षाले पनि समर्थनमा टाउको हल्लाई । उसको काखमा मेरो टाउका थियो र ऊ मेरो कपाल मुसारिरहेकी थिई ।
“अब त समरमा हाम्रो बिहे पनि हुँदैछ । तिम्रो घरबाट केही रोकतोक त हुँदैन नि ?”
“छैन, किन हुनु र ?” मलाई थाहा थियो म झुट बोल्दैछु भन्ने । घरबाट रिजेक्ट हुने चान्स मिनिमम हुँदा पनि मैले घरमा कुरा लुकाएँ । किन त्यो मलाई नै थाहा छैन । “अब त मलाई तिमी बेगर बाँच्न सक्छु जस्तो पनि लाग्दैन ।” रक्षा आफ्नै धुनमा बोलिरहेकी थिई ।
“तिमीले कम दुःख दियौ र मलाई शुरुमा ।” “पहिला त मलाई जोकर जस्तै लाग्थ्यौ तिमी ।” “अहिले नि त ?” “अहिले पनि त्यस्तै नै लाग्छ ।” उसले हाँस्दै भनी ।
“अनि बिहेपछि बुहारी हुन त सक्छौ नि ? साडी लगाएर बस्नुपर्छ । सक्छौ ?” रक्षाको जिस्किने मुड देखेर मैले पनि उसलाई जिस्क्याउने नै बिचार गरेँ ।
“केही दिन त हो नि गरौँला न ।”
“कस्तो केही दिन ? बुवाआमासँग त सधैं बस्नुपर्छ नि ।” “सँगै बस्ने भनेको त बुबाआमा यहीँ आउनुभयो भने हो । त्यसो भयो भने त एड्जस्ट भइहाल्नुहुन्छ नि ।” “किन, हामी नेपाल जाने होइन र ?” “अहिले मार्दिन्छु अनि, कति जिस्किन सकेको ?”
हाम्रो योजना पहिल्यै बनेकाले रक्षाले यस्तो भन्नु स्वभाविक थियो तर मलाई यस्तो अनुभव किन भयो ? आफ्नै योजना सपनाहरूमा म किन झस्कन्छु ? रक्षाको काखमा सुस्ताउँदै मैले सम्झिएँ– आशिषका डायरीका पानाहरू, ऊसँगका विवादहरू । के म कर्तव्यबाट भागेकै हो त ? किन डर छ अनुपको मनमा ? अनुप बहिनीको बिहामा पुग्न नसक्नु कर्तव्यबाटै पन्छिनु हो त ? के जेनी त्यस्तो स्वतन्त्रतामा खुशी छे, वा त्यो फगत सम्झौता हो ? अनेकौँ पात्रका भोगाइले आशिषलाई समर्थन गर्दैछन् त ? एकातिर आशिष छ अर्कोतिर म । अनेकौँ भोगाइका बावजुद आशिष फर्कन चाहन्छ । किन ? के यो उसको इगो हो ? के आकृतीसँग सम्बन्ध टुटेको आवेशमा मात्र आशिष आएको हो ? म निसास्सिएर जुरुक्क उठेँ ।

त्यति नै बेर डोरबेल बज्यो । आशिष नै आएको रहेछ ।
“डिर्स्टब भयो कि क्या हो जोडीलाई ?” ऊ हाँस्दै भित्र पस्यो । “छ्या के को डिस्टर्ब नि ?” रक्षा सकपकाउँदै उठी । “अनि केछ त अहिले, न्यास्रो मेटिँदैछ ?”
“कलेज जान थालेपछि अली रिल्याक्स फिल हुन थाल्यो ।”
“यस्तै हो बिस्तारै बानी परिन्छ । अनि रमाइलो हुन्छ ।” मैले अनुभवीको नाताले जवाफ दिएँ । उसले समर्थनमा टाउको हल्लायो । रक्षा भने किचनतिर लागी । “तर यति पनि रमाइलो नगर कि तेरो कथा अपूर्ण होस् ।” उसले मतिर पुलुक्क हेरेर हाँस्यों ।
“तँ त मेरो कथाको शुभचिन्तक भएर निस्किस् यार ।” उसले हाँस्दै भन्यो ।
“म चाहन्छु तेरो कथा पूर्ण होस् । तैँले खोजेकै हिसाबमा पूर्ण होस् ।” “धन्यवाद, तर म त्यतिखेर धेरै खुशी हुनेछु जब मेरो कथाले अरु कसैलाई परिवर्तन गरोस् ।” “यसको लागि त कथा पूर्ण हुनुपर्छ पहिला ।” “ल चिया आयो है ।” रक्षा किचन बाहिर निस्की । “अनि बिहाको तयारी कस्तो छ त ?” आशिषले चिया टिप्दै कुरा मोड्यो । “के को तयारी ? साक्षी खोज्ने त हो नि तीनजना, तँ भइहालिस् । अरु दुईजना खोज्नु छ ।” “लौ लौ, जे गरे पनि मान्ने म छँदैछु ।” रक्षाले चेपारो घस्दै भनी ।
“मलाई यही अचम्म लाग्छ । के देख्नुभयो यो ल्वाँठमा ?” “के देख्नु, फसाएको नि मोहनी लगाएर ।” रक्षा जिस्किने मुडमैं थिई ।
“होइन, यहाँ पनि मोहनी लाग्दो रहेछ ?” आशिषले फेरि थप्यो ।
“हो हो, ऊ त्यहीँ पर एउटा बाबा बस्छ । जाने हो ? तँलाइँ पनि पछि काम लाग्ला नि त ।” मलाई पनि त्यो गफमा सरिक हुन मन लाग्यो ।
“हो र ? ल जौँ न त ।” आशिष जुरुक्कै उठ्यो । “किन र यति चाँडै ।” रक्षाले भनी ।
“युगल जोडीलाई कति डिस्टर्ब गर्ने ? ए रोशन, मेरो डायरी ले त ।”
मैले आशिषलाई बाटोसम्म डोर्‍याएँ ।
“म रक्षालाई एकदम माया गर्छु यार ।” मलाई आशिषलाई किन–किन यो भन्न मन लाग्यो ।
“देखिसकेँ ।”
“तँलाई के लाग्छ मैले यहाँ बिहा गर्नु ठीक हो ?”
“मलाई त राम्रो लाग्छ नि । एक दिन भए पनि खाना पकाउनु पर्दैन ।” “नजिस्की न, म सिरियस छु ।”
“म पनि, यो कुरा त तैँले आफैँ बिचार गर्ने कुरा हो । मलाई भन्दा बढी यसबारेमा तँलाई थाहा छ र तैँले नै राम्रो निर्णय लिन सक्छस् ।” “मैले तँबाट निर्णय लिन होइन, मात्र बिचार जान्न खोजेको ।”
“मेरो बिच।र त त्यही हो । माया गर्ने मान्छेहरू घरी–घरी पाई राखिँदैन साथी, प्रेमिका, बुवाआमा वा अरु कुनै साथी होस् ।” आशिष डायरीसँगै मेरा योजना सारेर गयो । सपनाबाट क्युँझाएर गयो । मलाई लाग्छ म बल्ल आशिषका कुराहरूको अर्थ बुझ्न थालेको छु ।

कोठा फर्किदा रक्षा ऐना हेर्दै कपाल बाँधिरहेकी रहिछ । मलाई ऊप्रति अपार माया उर्लेर आयो । मैले अँगालोमा बेर्दै उसलाई भनेँ– “एकादेशमा एउटा सानो गाउँ थियो, त्यस गाउँमा एउटा सानो सुखी परिवार । बाबु, आमा र दुईवटा छोरा । उनीहरू आफ्नो सानो संसारमा रमाइलो जीवन बिताइरहेका थिए । एक दिन पल्लो गाउँमा एउटा महाजन बसाइँ सरेर आयो । त्यसले पूरै गाउँं ढाक्ने गरी ठूलो महल बनायो । संगर्ममर लगाएको, चिल्लो, चम्किलो, रङ्गीन महल । सबैलाई छिरौँ–छिरौँ लाग्ने, बसौँ–बसौँ लाग्ने । महल ठूलो भएकाले महाजनलाई कामदारको खाँचो भयो, त्यसैले उसले आफ्नोमा काम गर्नेलाई महलभित्रै बस्न दिने घोषणा गर्‍यो । यस्तोमा त्यो सानो परिवार महाजनको काम गर्दै ठूलो महलमा बस्दा खुशी होलान् कि आफ्नै सानो घरमा बस्दा ?”
यसपटक भने रक्षा चूप थिई । अचानक मेरो यस प्रश्नले ऊ अवाक भएको हुन सक्छ, वा यो पनि हुन सक्छ कि ऊ, म जस्तै, उत्तर थाह भए पनि त्यसलाई भन्ने साहस गर्न सक्तिन ।




 

 

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली उपन्यास and tagged , . Bookmark the permalink.

1 Response to नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी

  1. Shailesh Bikram Paudel says:

    suberb novel….4.5 star

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.