खण्ड-काव्य : आगो र पानी

~बालकृष्ण सम~

(अघिको)

अहो ! – आगाको धानी धार पाइन चढेको !

पखेटा समेटी उछिट्टिई उडेको पानीको लप्को !

ज्वालाले चाटेर जिब्रो टल्काउँदै बिलाइदिएको जलको अन्तिम बल र चीत्कार

पानीको बुनौटले घेरिएको जालभित्र माछाजस्तै फटफटाउँदै मरेको अग्निको

आर्तनाद

प्रत्यक्ष भएर पच्तैछन् ।

सुनौला आगो रुपौला पानी,

मनिक फिलुङ्गो छ हीरा हिउँ,

यिनको झगडा आजको होइन :

यिनको वैमनस्य र बाझाबाझ,

संघर्षण, लुछाचुँडी, जुद्ध, च्याताच्यात,

काटाकाट र मारामार सब

अनन्त हाँडी भुटिएर फूल उठेका जम्माजस्मै ती ताराहरू गुडिनुभन्दा

अनन्तकाल अगिदेखिको –

कोटि कोटि कोटि कोटि …

शताब्दीभन्दा अगिदेखिको हो ।

आकाश र वायुका लोहरी पिरामा

बेलिएको रोटी झैँ नेबुला

पथारिंदै गोला गोली पर्दै

सूर्य र ग्रहहरू पाके,

अनि पृथ्वी, –

आगाको भरभराउँदो एक सुन्तला भूगोलमा

बटारिएर लप्किरहेको ज्वालाज्वालाको समूह –

अहङ्कारले अन्ध भईकन भुनभुनाएको गर्जन –

आफूसका कानेखुशी, खिचाइ, न्याना आलिङ्गन –

एकछत्री आधिपत्य आत्मतृप्तिको कम्पन व्याप्त भएका थिए सबैतिर,

तर उनकै अन्तरबाट

दलित शोषित भै शेष रहेको

उम्लेको तातो पानीको बाफ –

अभिपन्ने जलसङ्घ

क्रान्तिले कालो नीलो प्याजी भै

अटेसमटेस गर्दै निसासिंदै उम्की माथिमाथि उत्र्यो ।

तलतिर आगो दन्कन लाग्यो,

त्यसको मास्तिर वरिपरि जम्मै

अन्तरिक्षमा झुण्डिरहेको समुद्र छट्कन लाग्यो ।

लाखौं गड्याङगुडुङमा थर्की

लाखौँ चट्याङचुटुङमा चर्की

पृथ्वी चोइटिंदा उप्की एक डल्लो झिल्को

बादलभन्दा पनि धेरै माथि हिमांशु

चन्द्रमा भई घुम्न थाल्यो । 

तत्वहरूको सङघर्षण नै ज्वलनको जन्मदाता हो,

अक्सिजन–कार्बन–सम्बन्धित उत्पादन

लोहिताश्व अथवा दहन हो,

अक्सिजन र हाईड्रोजनको मिलन हुनु नै जीवन हो ।

इलेक्ट्रन प्रोटनको तानातानीले

अनि गुटबन्दी लुकामारीले गर्दा

विशाल विश्व तन्की फैलेको छ ।

हिमालयमा दुईटा मात्रै क्याल्सियममा बीस, यस्ता

इलेक्ट्रनकै घटीबढीका बयान्नब्बे ढाँचाले

तत्वजगत् सिर्जेको छ,

अणुअणुमा ममता छ,

विश्वमा यान, आसन, सन्धि, विग्रह चक्कर खाइरहन्छन् :

चिसो भस्म बनाउनलाई आगो हुङ्कार झिक्छ,

तातो वाष्प बनाउनलाई पानी फुङ्कार गर्छ,

विद्युत्बाण जलधरमा घुस्छ,

पानीधार उष्ण अग्निकुण्डमा छिर्छ,

यस्तै रीतले सयौं कोटि वर्ष बितेपछि आगोले साम्य हुनै पर्‍यो ।

शिर निहुराई पृथ्वीमन्तिर लुक्नुपर्‍यो ।

मेघबाट ओर्लीकन जल

पृथ्वीको सतहमास्तिर अग्लो आसन बाँधी थपक्क बस्यो ।

तीन सय ज्वालामुखीले अझ पनि

आगो ओकल्न छोडेका छैनन्,

पोहुतु आदि सयौं गेसरले

विष छाद्न छोडेका छैनन्

तापनि अब पार्थिव सतहमा तीन चौथाई पानीको राज छ ।


 १. शत्रुले दु:ख दिएको, आपत्ति परेको ।



जब यहाँ अमृतको आंशिक विजय भयो,

बिस्तारैबिस्तारै भुवनमा

जीवनका चिह्नहरू देखिन थाले,

पानी–बिरुवा, थलथले माछा, अनि भयङ्कर भ्यागुता,

कुकुरदाँते साइनोग्यान्याथस, अनि पेलिकोसर्स

कोटिलोसर्स अनि डाइनोसर्सहरू : स्टेगोसरस,

बून्टोदसस, त्रिसर्‍याटप्स, तदन्तर –

सम्राट टाईरान्नोसरस,

(एकसमय उसले देखेजति ठाउँमा उसकै साम्राज्य थियो)

फेरि लाल्लोसारस, प्लेसियोसारस, अनि डाइनोसेरास,

(जीवनमृत्यु)

थार्कियोप्टेरिक्स, अनि हेस्पेरोनिंस,

पखेटा हुँदै नभएको पानी हाँस ।

अनि राजवंशी –

बाघ हात्ती एवं वनमान्छे ।

लाखौं वर्षको यिनको इतिहास

पानी र अग्निको इतिहास हो, –

आँखाबाट आगो बर्सेको दाह्रामा बिजुली चम्केकोलाई –

प्रत्येक औंलाका नङ्ग्रामा बलिराखेको हिंस्रक दीपलाई –

फोडिएको छातीबाट नाइयागराको छाँगा जस्तै

खसेको रगतका मोटा लस्सादार धाराले

बहँदैबहँदै

काम क्रोध लोभको आगो

निभाउन खोजेको इतिहास हो,

हाँसिरहेको हाडहरूलाई

रोइरहेका रक्तसिन्धुले

डुबाउन खोजेको इतिहास हो ।

रातभर आगोले डढेलो लगाएर कालो पारिसकेको

फलफूलका रुख फूलका लताहरूको श्मशानमा

पानीले अनेकानेक बुट्टा पारेर शीतबिन्दु चुहाउँदै श्रद्धाञ्जलि अर्पण गर्न लाग्यो,

फेरि वन हरियो भयो ।

आगाले जतिचोटी यस्तै विनाश मास्तिर गरे पनि

पानीले बीजलाई जरालाई आफ्नो काखमा

झुलाउँदै स्तनपान गराउँदै राखी हुर्कायो ।

त्यही सुगन्धित कुञ्जमा

अन्त्यमा मान्छे जन्म्यो ।

धेरै नै चिसो भैसकेको लोकमा सबभन्दा पछिबाट

जन्मेकोले मानिसले बुद्धिमा सबैलाई जित्यो,

परन्तु आगाले वडवानल भै पानीको गुदीमा बस्तै

मानिसलाई फसाइदियो,

पानी जहाँ दया भै बस्थ्यो

त्यही हृदयमा मात्सर्य बनी

आगो घुस्रन पुग्थ्यो –

जहाँ पानी प्रेम बनीकन आँखाको कोसमा नाच्थ्यो,

त्यहीं आगो क्रोध भईकन नानीवरिपरि राँकिन्थ्यो,

जहाँ ओठ मायाले भिजी चुम्बन गर्न उकासिन्थ्यो,

दाँत स्वार्थले कटकटाउँदै त्यही जिब्रो सुखा पाथ्र्यो,

पानी ‘पारदर्शक भईकन आफ्नो छाती देखा,’ भन्थ्यो,

आगो ‘आगो पारी चाट् सब सर्वभक्षी बन्’ भन्थ्यो,

कसैले पानीको कलकल सुन्यो,

कसैले आगाको दनदन,

कसैले शिवको उपासना गर्‍यो

कसैले शक्तिको उपासना,

कसैले जीवितको कुरा सुन्यो,

कसैले मृतको कुरा बुभेंm भनिठान्यो,

कसैले यस लोकलाई हेर्‍यो,

कसैले इन्द्रलोकलाई सूर्यको सभामा देख्यो,

कसैले पर, अझ पर

परलोकलाई हृदयको प्रभामा देख्यो

अग्निमा अन्न देख्ने अग्निपूजक बने ।

जलमा सप्तजिह्वा देख्ने नागपूजक बने

वास्तविक–भोगाभोक अघाइने भो,

कल्पना नित्य मीठो ठहर्‍यो ।

स्वप्नमा पनि पूर्ण नभएको आशा

परलोकको निम्ति सँगालियो,

प्रेमले पक्षपात, अपराधले भय

भयले अपराध, अपराधले भय

फुक्तैफुक्तै बाल्यो ।

लोभ बल्यो सङ्ग्रह सल्क्यो, तृष्णा ज्वाला दन्क्यो,

खोसाखोस भो, बलाबल भो,

तेरो मेरो भो, टोकाटोक भो,

प्रेम र घृणाको तानातानीमा

पानी पानी भो आगो आगो भो,

हूल हूल बेग्लाबेग्लै भो,

अनि प्रथम प्रथम युद्ध छेडियो ।

निष्ठुर मानवजातिको निम्ति

ढुङ्गा पनि कोमल ठहरियो,

अनि उसको हृदयसुहाउँदो फलामे घाउ

पृथ्वीबाट टुसायो,

काँढा जस्तै शूलीको आडमा लूट फुल्यो,

पात जस्तै भालाको आडमा अत्याचार फल्यो,

भोको क्रोधले कपाल सल्केका मानिस

सारा चिराग बनी उठे ।

घोडाहरू त्यै अग्निशिखा आफ्ना पीठमा बोकेर

उड्दै दौडे धूलो–धुँवा कोसौं पछाडि छोडेर ।

बज्र झैँ हिनहिनावट गर्ने घोडालाई ऐंडी मार्दै

अग्निमय मुस्लो त्यो मानिसको

गाउँगाउँमा नगर नगरमा

पोलिँदै भोगका साधनहरू खोस्तै

अग्न्यास्त्र जस्तै धनुष्काण खड्ग खुकुरी घुमाउँदै

नरमुण्डलाई मुठार्दै छिमल्दै

अवशेष रहेका जातिलाई

भस्मावशेष गरी पार भयो ।

आमा स्वास्नी छोरी हरिएका आबाल वृद्धवियोगीका

पति पुत्र पिता सब मारिएका विधवा वियोगिनी टुहुराका

आँसुका पिरा नुनिला खोलाले –

घाइतेका रगतका झरनाले –

मर्नेहरूका रक्त कमलले

आर्तनादलाई आद्र्र बनाई

वीरत्वमा विक्षिप्त भएका

यारिसिराइहरूको आगो

मिस्रीहरूको आगो

आर्यहरूको आगो

यस्तै चिनीहरूको आगो

भरभर भएको गोलजस्तै मङ्गोलहरूको आगो

निभाउन सेचन गर्दागर्दै यतिका वर्ष

असफलताले खेरो फाले,

तर आदिकालको परमाणु अग्नि

पानीमाथि प्रतिघात गर्ने

दाउ अभैm हेरिरहेछ ।

जल जलामय पारी प्रतिशोध गर्न अर्कै दाउ हेरिरहेछ ।

प्राचीनकालमा साम्राज्यवादले

दामल गरिएका देशहरू

मानिसका हाडले पोलिएका

ईंटका पर्खाल यथास्थिति राखी

व्यर्थै साम्राज्यवादको विरुद्ध चर्चा चलाउँछन्,

मासु खाई अघाएपछि अर्का भोक नजागुञ्जेलको

समयभित्र जल मात्र पिइकन

बाघ अहिंसा व्रत लिन्छन् ।


 २. शास्त्राभ्यास ।


त्यसरी आगो सल्केको बेला

शक्तिको खाँडो जाग्यो –

दुर्बलले आफ्नो नाडी छामी

शक्तिमानको पूजा गर्‍यो,

ईश्वर जन्म्यो,

लुटाहा विजेता शासकको प्रासादमा

स्वर्ग जन्म्यो,

विजित शासित रोगीको झुप्रामा

नरक जन्म्यो ।

वनमा आगो दन्कन थाल्यो,

मधुच्छन्दा ऋषि गाउन थाले –

‘अग्निमीडे पुरोहितं यज्ञस्य देवमृत्विजम् ।’

‘हे इन्द्र ! तिमीले शत्रुको दुर्ग नास्न सक्यौं,

अग्निले झैँ गुफाका गाईहरू खोस्न सक्यौं !’

मेघातिथि ऋषि लागे गाउन –

‘इन्द्र सोमं पिव ऋतुना’

‘मद्य वीर शूर इन्द्रको काँध

बयलको जस्तै हृष्टपुष्ट छ ।

इन्द्र र अग्नि उग्र वीर हुन् ।

‘इन्द्रले भनेका छन् स्त्रीहरू स्वाधीन नरहून् !

तसर्थ हे स्त्री ! मास्तिर होइन हिंड तलतिर हेरेर’

‘हे इन्द्र ! तिमीले वृत्तलाई फ्याँकिदियौ बाणले मारेर ।’

हिरण्यस्तूप ऋषिले गाए –

‘हे अग्नि ! आफ्नो पक्षको दुराचारीलाई पनि

घोर युद्धमा बचाएर

तिमी विपक्षी बहुसङ्ख्यक शत्रुको बध गर्छौ ।’

गौतमपुत्र नोधा ऋषि गाउँछन् –

‘हे प्रजाका रक्षक, धनका स्वामी अग्नि ।

हामी गौतमवंशी तिम्रो प्रशंसा गर्छौ ।’

सव्यऋषि स्तुति गान गर्छन् –

‘हे शत्रुलाई रुवाउने इन्द्र !

तिमीसित धेरै धन छ ।’

कस्तो पाशविक सत्य !

कस्तो जान्नु !

कस्तो वद !

कस्तो साधारणता !

कस्तो शुद्ध बालको विश्वास !–

पराशर ऋषि गाउँछन् –

‘हे अग्नि ! तिमीद्वारा सुरक्षित भएर

हाम्रा घोडाले शत्रुका घोडालाई

हाम्रा वीरले शत्रुका वीरलाई

हाम्रा नेताले शत्रुका नेतालाई

अवश्य पराजित गर्नेछन्’

कुतकुती लाउँदै अनि कुत्स ऋषि गाउँछन् –

‘हे रुद्र ! हामीमा बूढालाई नमार,

युवकलाई र बढालु बालकलाई नमार,

हाम्रा पितामातालाई नमार,

क्रोधले हाम्रा वीरलाई नमार !’

यूनानका होमर आफ्नो काव्यलाई

कस्तो चम्किलो दृश्यले सिंगार्दछन्,

असहाय पस्रेका हेक्टर भन्दछन् –

‘याकिलिज, तिम्रो आत्मा छोई, तिम्रो पाउ छोई

तिम्रा पितामाताको शिर छोई

म प्रार्थना गर्छु –

मेरो लाशलाई यूनानी कुकुरहरूले लुछ्न नपाऊन् ।’

याकिलिज स्फूर्तिले भन्दछन् –

‘नीच कुकुर ! तँ घुँडा नटेक्,

मेरो अगिल्तिर बाबुआमाको फतफत नगर्,

मेरो घृणा उकासिदिएर ।

छ्यापछ्याप पारिदिएको तेरो मासु

आफै लुछ्तै खान मलाई बाधित नपार् ।’

अनि हेक्टरको गोलीगाँठानेर

ढोडनसामा प्वाल पारी

छालाको डोरीले रथमा बाँधी

टाउको भूइँमा लत्रने गरी घिसार्दै

याकिलिजले घोडा बढाए ।

आफ्नै कपाल लुछी हेक्टरकी आमा

चिच्याउन लागिन्,

उनका पिता कराई रुन लागे,

दु:खले बटारिएको चीत्कार सबैतिरबाट

यसरी निस्क्यो मानुँ राजप्रासाद

भित्रभित्रै भुतभुते आगामा सब सल्किरहेछ ।

हृदय विदीर्ण भएकी हेकुवा

हेक्टरकी स्त्री आएर

विलाप गर्दछिन् –

‘ट्रायनिवासी साराले प्रियतम ! तिमीलाई

ईश्वरलाई झैँ पूजा गर्थे,

ऐले दैवले यस्तो पार्‍यो ।’

वाल्मीकि कवि रामायण काव्यमा

मन्दोदरीको विलाप लेख्तछन् –

‘राजा रावण मेरा पति हुन्,

दानवराज मय मेरा पिता हुन्

इन्द्रजित मेरो छोरो भन्ने

मलाई अभिमान थियो,

अहिले रामको वाणले गर्दा

मेरा राजा रावणको मुख

रगत बोसो र रथको धूलोको

हिलोमा मुछिएको छ,

टाउको फुट्नाले गिदीसित छाला

बाहिर लत्किरहेको छ ।’

भीमसेनले दु:शासनको घोक्रो निमोठी रगत पिए,

भीमको पक्षमा आत्मावादी गीता गाउने कृष्ण थिए,

‘आत्मा काटेर काटिदैन’ भन्ने सम्झिदिनासाथै

भाइलाई मारेर खोसेको रक्तरञ्जित राज्यलाई

लक्ष्मीपति रुक्मिणीपति करोडपतिको

आशीर्वाद मिलेको थियो ।

सार्गन, सार्डेनापलुस, निचो,

नेबुचद्नज्जर, यलम्बर,

बलम्ब तथा जितेदस्ति

आदि राजाका राज्यहरू सब

दरबारका पिंजरा थिए,

जहाँ फलामको च्यूरा खाई

पसीनाले तिर्खा मेट्ने मानिस

उड्ने पक्षीको स्वतन्त्रतामा थूक निल्दै

ईष्र्याले हेर्दै अन्तिम घडीको सास

उनकै पछि उडाइदिन्थे ।

शक्ति नै पूजित भाग्यविधाता

शक्ति धर्म र कर्म थियो

शक्तिहीन हुनु सहज मूर्खता

बलहीन हुनु पाप र ताप थियो,

राजसूय र अश्वमेध नरमेध

यज्ञ गरी परिपाठले खेली

कैयौं शक्तिमान् लोभीले

अर्काको स्वातन्त्र्य र शान्तिलाई

नरिवललाई चपाएजस्तै

दाँतले पिसीकन निलिदिन्थे

अत्याचारी पुरुषार्थी ठहरिन्थे ।

केवल बलवान् बन्न सके

उसका सबै स्वामी सद्गुण बन्थे,

उसका सबै हिंसा वैकुण्ठद्वार हुन्थे,

उसका अभिमान वचन प्रभुवाक्य भनिन्थे,

कल्पनावादी स्वप्नवादी

मिथ्यावादी अन्धहरू

महान् दार्शनिक कहलिन्थे,

सहृदय आनन्दी आत्मविश्वासी

स्वच्छन्द कवि पापीमा दरिन्थे,

आफैलाई कष्ट दिई दिई

मार्ने तपसी योगी गनिन्थे ।

त्यस समयमा एउटा मानिसले

नेपाल हिमालको फेदीमा

कमलपत्रको तुषारविन्दु झैँ

पवित्र भईकन जन्म लिए !

‘ज्ञानान्मुक्ति’ ‘बन्धोविपर्ययात्’

‘ईश्वरासिद्धे’ भनी कराउने

कपिलमुनिको कपिलवस्तुमा

उनकै दर्शनले जीउ हाले झैँ –

नैराश्यमा आश्वासन झैँ –

मदान्धकार संसारको पाटीमा

बिजुलीले अक्षर पङ्क्ति कोरे झैँ –

हर्षको हिलोमा समवेदनाको पद्म झैँ

गौतम बुद्ध फुले ।

हिमालयको वातावरणले

उनको रगतको आगो जति

झिकी नसानसामा केवल

पानी –

अमृत मात्रै राख्यो ।

कहिल्यै नपग्लने हिउँको टुक्रो झैँ –

एकचोटि ती सर्वार्थसिद्ध जमे ।

ती संसारका प्रथम महात्मा

आगैआगो भएको विश्व

देखी फेरि पग्लन थाले,

लोकहितार्थ ती रुन लागे,

उनका आँशु सिन्धु भै उल्र्यो,

त्यसले नेपाल, भारत, भोट, चीन, जापान,

बर्मा, लङ्कालाई ढाक्यो,

त्यो संसारभर फैलिंदै थियो,

बुद्ध धर्म सङ्घको

स्वयं मुहान सुक्यो ।


३.ऋग्वेदबाट


उता आगो उम्रन थाल्यो,

डेरियसको विजय भयो,

पेरिक्लिजको जय भयो,

हन्निबालको पराजय हुनुभन्दा अगि

सिकन्दर आजमको

आगलागी चारैतिर फैल्यो,

उनको प्रताप–आतङ्क ह्वारह्वार बल्यो,

प्रत्येक भयभीत नर अङ्गार बन्यो ।

सिकन्दरको सिरानमा इलियद हुन्थ्यो

अनि एक खड्ग,

उनकी आमाले सौतालाई आत्महत्या गर्न लगाइन्,

उनका सौतेला भाइचाहिं

ईश्वरलाई बलि दिइए,

अझ युद्धयज्ञको वेदीमा

उनको घोडाका टापमन्तिर

लाखौं मानिस बलि दिइए ।

अरस्तु उनका गुरुज्यू ।–

होता–

दार्शनिकमा श्रेष्ठ थिए ।

१०

फेरि अशोकको पालो आयो–

घरभित्र र बाहिर दुवैतिर उनले

प्रतिदिनको हत्याले भारतको,

रातो मुटु बान्कीको खेतमा

अशोक चक्रले उधिनी

कुलो काट्तै वैतरणी नदी

कलिङ्गसम्म पुर्‍याए ।

अकस्मात् इतिहास दोहोरियो–

आगोमाथि पानी पर्‍यो–

सन्तापपश्चात् पश्चात्तापले

मानवताको मूल फुट्यो,

अशोक राजा बौद्ध भए ।

परन्तु अग्निपूजक पारसी जातिमा जस्तै

ज्वालालाई पूजा गर्ने वीर किराँती जातिमा

बुद्धको रस बस्न सकेन,

पस्न सकेन–

अझ घुस्न सकेन–

थुङ्कोले आफू त्रिविक्रम बनी

पर्वतका लेक, बीच खाल्डा र बेंसी तराईमा

तीन खुट्टा राखी–

‘त्रिपादूध्र्व उदैत्पूरुष१,–

वैदिक मन्त्रका विराट् स्वयं बने ।

फेरी भारतमा यज्ञदेवता

अग्निले जागी–जागी

भोका दरिद्रका प्राण प्रियतम

घिउ अन्नहरू स्वाहा पार्‍यो ।

दक्खिनबाट उठेको उल्टो बाढीले

बुद्धको उपदेशलाई धकेली

हिमालको पर्खालमा लगेर किचिदियो,

नेपालीलाई के सिकायो ?

चिसा देवता व्योमकेश चन्द्रशेखर

हिमालको पर्खालमा लगेर किचिदियो,

नेपालीलाई के सिकायो ?

चिसा देवता व्योमकेश चन्द्रशेखर गङ्गाधर

गौरीशङ्कर गिरीशलाई

उग्र त्रिलोचन भन्न सिकायो

बीचको आँखा धपक्क बाली

कामदेवलाई भस्म बनाउने

मृत्युञ्जय हुन् भन्न सिकायो,

कैलाशपति किराँतेश्वरलाई दक्षिणेश्वर

वामदेव पशुपति शिवलाई

भीम रुद्र हर भन्न सिकायो

अमृत भै बहने त्रिशूली गङ्गालाई

अग्नि भरिएको पाशुपतास्त्र

त्रिशूलको कल्पना गरायो,

अनि पहिरो जाँदाको भयावह

रातो धूवाँ देखाई

संहार गर्ने देवता शूली

शिव नै हुन् भन्ने सिद्ध गर्‍यो ।

त्यसैले बौद्ध वृषदेवका नाति

मानदेव योद्धा बनीकन

रगतको होली खेली

युद्धमा विजयी बने ।

११

त्यसभन्दा अगि नै पृथ्वीभरमा

ज्वालामुखीको सङ्ख्याजत्ति नै

रणमण्डलले मण्डली पार्दै

बनाउँदै थियो स्वर्ण पगाल्दै

आगामा खार्दै पिट्तै काट्तै

रेट्तै बान्की बुट्टा पार्दैै रेत्ते

घोटी–घोटी टल्काउँदै

विजयीलाई राजमुकुट ।

साक्षर बोलैया जान्ने जाली

स्वार्थी घुस्याहा स्वप्नका गुमाश्ता धर्मगुरु

नकली सुन्दर मनोहर कलाले

मिथ्यालाई सजाउँदै

सङ्ग्राम ठगी हत्या अत्याचारको समर्थन

गर्दै थिए, गर्दै थिए,

यही कलाले सत्यतालाई

शुद्ध यथार्थतालाई

बङ्ग्याएर नराम्रो पार्दै

अर्थको अनर्थ गर्दै

भुलाएर फनफन घुमाउँदै

रिङटा लगाइदिँदै

दासलाई आफ्नै दासत्वमाथि

सन्तोष गर्न चित्त बुझाउन

अनुकूल शिक्षा दिँदै थिए,

दिँदै थिए,

पछि झन्झन् यी पाक्न लागे

सानु जाल महाजाल बन्यो,

सामान्य सङ्कुचित शिक्षाको परिधिमै

विश्वविद्यालय बन्यो,

धर्म र शक्तिको

सुदृढ स्तम्भ बन्यो,

बाटो हिँड्ने मानिसको

पिलपिले आशा निभ्यो,

अन्यायको राज्याभिषेक भयो,

शताब्दीदेखिन् शताब्दीसम्म

मानवता निहुरेर रुँदै हिँडिरह्यो ।

१२

ग्रीसले संसारको संस्कृतिलाई

मानसरोवर पोसेजति

एउटा अरू कुनै देशले

पोस्न सकेको छैन ।

यस प्रतिभामा पानीको भाग

अधिक मात्रामा हुँदो हो त

अन्धा होमर सिकन्दरलाई

संसारकै बुद्ध बनाउन सक्थे,

आफ्नै आँखाजस्तो अँध्यारो

कल्पनामा पैयाँ ठोक्न छोडी

मनको आँखाका खापाभित्र उघारी

वास्तविकता निहार्दा हुन् त,

उस समयका दासका परिस्थिति

अथवा आफ्नै स्थितिको कारण

ब्ल्यास्फिमीको डर छोडेर

सत्सित आलिङ्गन कसेर

होमर यदि गीत रच्ता हुन्

त यो संसार अर्कै हुन्थ्यो

एक्लो सप्फो जलविन्दु थिइन्,

जलमै मिलेर बिलाइन्,

यदि रुधिरका नाट्यकार, इस्काइलसमा

सप्फोको प्रेमरस हुँदो हो

त यो संसार अर्कै हुन्थ्यो ।

सफोक्लिज

हुनुहुनामीमा भर परीकन

आफ्नो अद्वितीय नाटकको प्रतिभा

फलितज्योतिषका समर्थनमा

खर्च नगरी इब्सेनले छोएको

मानव भावनाको मधुर तार

गुरुवर हातले याद झन्कार्दा हुन्

त यो संसार अर्कै हुन्थ्यो ।

सुकारतले ज्ञानलाई खोतल्दा

वैज्ञँनिक साधनमाथि शङ्का

गर्नु सट्टा यिनराधार आत्माको अस्तित्वलाई

नमानीकन गन्हाउने लुगा खोलामा धोई

नुहाईकन जीवनलाई सुचारु बनाउन खोजेको

भए संसार अर्कै हुन्थ्यो ।

ल्याकूनको मूर्ति, पार्थिनन–मन्दिर,

ओलिम्पिक खेल, भव्य नाचघर

प्रथम इतिहास ! वैज्ञानिक आविष्कार,

प्रथम वक्तृता, प्रथम चिकित्साज्ञान

सबै कुराको ऋणी छ संसार

ग्रीसको,

अनि उसको अनुयायी रोकोम ।

परन्तु एकातिर सुनौला सौन्दर्य

सुगन्ध छदै विकसित हुन्छ–

जीवनको झरना दूध भई फिंज फिज्छ–

प्ल्याटिनम स्वरले मोतीदाना गाई

सरसी (पोखरी) लाई सरस (कलम) ले चुम् भन्छ,

अर्कोतिर इस्पात–इस्पात जुध्छ र पो !

सुकिलो सेतो घाँटी सरसरी रेटिन्छ,

हात्तीले कुल्चिएको मस्तकबाट

आँखा बाहिर पट्की निस्कन्छ,

अङ्गभङ्ग भएकाहरूको अधमराहरूको

कोलाहल रणदुन्दुभिसित छचल्कन्छ,

सिकन्दरको जस्तै फेरी

सीजरको जयध्वनि उर्लन्छ,

रोमभरि

बत्ती बल्छ, बाजा बज्छ ।

त्यति मात्र होइन–

सीजर देवता बन्दछन्,

अनि आफ्नो पूजा चलाउँछन्, तसर्थ मारिन्छन् ।


१३

एसियामा, युरोपमा, अफ्रिकामा जताततै

उत्पात दादुरा झैं फैलिंदै थियो,

प्रलय प्रस्फुटित हुँदै थियो,

मौका–मार्नेहरूको निम्ति

जोधाहरूको निम्ति

बिहान खायो बेलुका के खाउँ

बेलुका खायो बिहान के खाउँ

भन्न नपर्नेहरूको निम्ति

त्यो सभ्यताको संस्कृतिको

समुन्नति भएको समय थियो,

तर–

एउटा स्वतन्त्र साधारण

निष्पक्ष उभिएको मानिसको निम्ति

नाल फुटेको समय थियो–

नरक उम्लेको समय थियो

कलाकारको दार्शनिक कवि पण्डित

विक्षिप्त भएको समय थियो,

देवताको कल्पना गर्ने व्यक्ति

राक्षस बनेको समय थियो,

सूर्यलोकमा लोकमा स्वर्ग चहार्ने सुदूरदर्शी

अन्धो बनेको समय थियो ।

१४

फेरि–

बुद्धजस्तै अर्का मानिस

न्याजरेथका जोजस

जेरुसलेममा देखा परे ।

कानाले ऋणी बाईसको चश्मा पाए,

अन्धाले धनी बाईसको चश्मा पाए ।

जीजसलाई सद्भाव चढ्यो–

उनमाथिको अन्धश्रद्धाले

जोडिएका कृत्रिम कथा छोडेर–

उनकै कैयौँ तरङ्गी रुपक

आलङ्कारिक अड्कलका

सुन्दर भाव छोडेर पनि

ग्यलिलीको, पोखरीबाट

फोहरा चलाई तुमुल युद्धले जर्जर भएको यस संसारलाई

भिजाउने उनको मानवताको

छायामन्तिर पीडितहरूले

मीठो निद्रा पाए–

मृत्युको डाँडापारि निराशाले आशा पाए ।

तर शक्तिधनका धनाढ्यहरूले

शक्तिमदका उपासकहरूले

हात खुट्टामा कीला ठोकी

कट्ट काठमा टाँगेर

जीजस क्राइस्टलाई मारे,

यस संसारदेखि विरक्त भई

उनको मनअनुसारको

अर्को स्वर्गीय संसारको

कल्पना गर्दै तारा पुकारी

वैरीहरूमाथि क्षेम चिताई

शहीद भएर उनी मरे ।

१५

हिरड टाइबेरियस, अगस्टस,

जम्र्यानिकस यामिंनिअस, क्लडियस !

सङ्ग्राम, सङ्ग्राम, सङ्ग्रम ! – बस् !

ज्वालामुखीको लाभा जस्तै

उछिट्टिएका हूणहरूलाई

रोक्न चीनले पर्खाल बनायो,

अनि इँटालाई बेर्ने लप्का जस्तै

हिमालयलाई प्रदक्षिणा गर्दै

ती यत्रतत्र फैलिए ।

भारतमा ब्राह्मण राजाहरूले

फेरि अश्वमेध यज्ञ चलाए,

फेरि बौद्ध र हिन्दूहरूको

टाउको फोडाफोड चल्यो–

सिद्धान्तमा रङ्गिएको गिदीले

निखारिनुपर्ने होड चल्यो ।

बुद्धधर्मको नाममा कनिष्कले

चीन आदि देशसित पनि

युद्ध गरी साम्राज्य बनाए ।

पलङमा सक्कली रूप सुत्तथ्यो,

झ्यालबाट मकुण्डो दर्शन दिन्थ्यो,

धर्मले पापको अधिकार मिल्दथ्यो,

पुण्यसित विषयभोग साट्न पाइन्थ्यो,

गरीब मर्दथ्यो,

निसाफ पर्दथ्यो,

बलियो कालै पनि सेतो ठहरिन्थ्यो ।

गुप्त सम्राट्हरूले

लुटाहा बौलाहा जोधाहा

अश्वमेध यज्ञ गरीकन

आफूलाई परमेश्वर भनाए,

फेरि मनुस्मृति पल्टाए–

‘कुलं दहति राजाग्नि:’ (मनुस्मृति)

‘राजा बालकै भए पनि

मनुष्य हुन् भनी हेप्नु हुँदैन,

राजा नररूपधारी प्रत्यक्ष देवता नै हुन् ।

आगालाई जिस्क्याएमा त्यसैलाई मात्र डढाउँछ,

तर राजालाई हेप्नेका गोधन धान्य घरबार परिवार

नरेश दग्ध गराउँछन् । (मनुस्मृति)

रोमन सम्राट निरोले ता

समस्त संसारका शासकलाई

निष्ठुरतामा हराइदिए,

उनी व्यभिचारका प्रतिमा थिए,

अनि अत्याचारका प्रतिभा थिए

रोम जल्यो,

त्यो देखेर निरोले आनन्द मानी

बाजाको तार कोट्टयाए,

त्यो कोलाहलमा झन्क्यो

क्रिश्चियन दासहरूलाई

जिउँदै सल्काएको राँकोले

निरोले आफ्नो राम्रो बगैँचा राती उज्यालो पारे,

लात्तीले स्त्रीलाई मारे,

आमाको हत्या गरे,

अनि आत्महत्या गरी मरे ।

त्यसकै अभिनय भएजस्तै

भिसुभियस ज्वालामुखीले

भसभसी पम्पी नगरका नागरिकलाई जलाई

कालो ओठ तुल्याइ मुख बाई

चुप लाग्यो ।

१६


आगो


अरूलाई सानो पारी आफू ठूलो हुन्छ,

अरूलाई निभाउन पाए मात्रै आफू बल्छ,

अरूलाई भस्म बनाउन सके मात्रै

कम्मर हल्लाउँदै हाँसी हाँसी

मसान–मुद्रा जगाउँदै नाच्छ,

आफूमा मात्रै तृप्त भईकन

त्यो बाँच्नै सक्तैन ।

शक्ति

आगोजस्तै !

शक्ति पानीमा पनि हुन्छ

पानी आगो पैदा गर्छ ।

अशक्तमा पनि शक्ति अलिकति

किन हुँदैन ?

हुन्छ ।

शक्ति मात्रामा हुन्छ :

हिउँ तातो भए पनि हुन्छ,

तातो दाउरा नाश हुँदैन,

जब त्यो तातो आगो भै सल्कन्छ

तब दाउरा खरानी हुन्छ ।

शक्ति यस्तो स्थिति हो कि त्यो–

आफ्नै रगत पिई पेट भरीकन

अस्तित्व दीप जलाई राख्छ,

जुन सूतलाई जीवन दिन्छ त्यो

त्यै सूतको जीवन लिन्छ ।

पानी !

पानी आफैंमा स्थित रहन्छ ,

अनि सबैलाई भिजाई गलाई

चिसो चिसो

साम्य बनाई सुक्न चाहन्छ ।

दुवै दुईतिर खिंच्तछन्,

त्यसैले

आगो पानी झगडा गर्छन् ।

करोडौँ मानिस बौद्ध भए

तर बौद्धत्व बुद्धसितै मर्‍यो–

श्रद्धान्ध पूजाहारीले

पूजा गर्छु भनी पुष्प थुपार्दै

जीवलाई पुरेर मारिदिन लाग्यो,

अहिंसाको प्रतिपालन गराउन

खान नदिई मारिदिन लाग्यो,

विषको औषध विष ठानेर

रहस्यमय सनातनी रङलाई

रहस्यमय बौद्धरङले ढाकिदिन थाल्यो,

१७

अनि–

पिएँ भनी पानीको सट्टा

मानिसले आगो घुट्काउन थाल्यो,

पोल्ने मदिरा धोकी घोक्रो जलायो,

अहिंसावादी धर्म घुसाउन

भाइमा छुरी छिराउन थाल्यो,

नेपाल राजकुमारी भृकुटी

चीनिया राजकुमारी वोञ्चिङ

दुवै बौद्धरानीको बीचमा

भोटका राजा स्रोङ्–चन गम्पो

विजयी योद्धा भई डटेका

बौद्धराजा ठहरिन्थे ।

बौद्ध चीन जापानहरूमा

शिकारतुल्य सङग्राम हुन्थ्यो,

नेपालमा सानातिना लडाइँ

बाह्रमासे जूवाको

खेलसमान चलिरहन्थ्यो,

अहिंसावादी वैष्णवधर्मी

भारतका क्षत्री राजपूतहरू

युद्धलाई कत्र्तव्य मान्दथे–

गीताका यी श्लोकलाई–

मूलमन्त्र सम्झन्थ्ये–

‘हे अर्जुन ! भनेजस्तै गरी

स्वर्गद्वार खुलेतुल्य

यस्तो युद्ध ता भाग्यमानी

क्षत्रीयहरूले पाउँछन् ।

मरेमा स्वर्ग जाइन्छ

जितेमा पृथ्वीको सुखभोग मिल्छ

तसर्थ उठ लड अर्जुन !’

दुवै हातमा ताजा लड्डू–

एकमा तरबार एकमा ढाल ।

१८

करोड मानिस क्रिश्चियन भए पनि

तर क्राइस्टको क्रिश्चियनपना पनि

क्राइस्टसितै मर्‍यो,

उनको प्वाल पारिएको छातीबाट

लडीबुडी गर्दै भुइँमा खसेको

फिका गुलाफी मानस जस्तो

प्रेमको पारदर्शक थोपो

उनका भक्तहरूको बीचमा

घृणाको रक्त समुद्र भयो,

हिंसा प्रतिहिंसाको तरङ्ग बढीकन

क्रूसेडको रूपमा छालले बराबर

फणा उठाउँदै डस्न थाल्यो–

घातको नाम धर्मयुद्ध भयो :

जेरुसलेमको धावा गर्दै हिंडेको युद्धयात्रा

पहिलो विक्रमीय संवत् एघार सय छप्पन्नमा,

काटिएकाहरूको रगतले गर्दा

मानिस सडकमा चिप्ली लोटे,

दोस्रो बाह्र सय चारमा ,

तेस्रो बाह्र सय छयालीसमा,

चौथो बाह्र सय उनान्साठीमा,

पाचौं बाह्र सय अठहत्तरमा

बालकहरूका कलिला खुट्टाको युद्धयात्रा :

छैटौं बाह्र सय पचासीमा,

तेह्र सय एकमा क्रिश्चियनबाट

फेरि मुसलमानले लिए,

सातौं तेह्र सय सातमा,

टेनिसको भकुण्डो हातमा साटिए झैँ

उन्नाईस सय पचहत्तरको युद्धमा

मुसल्मानहरूको हातबाट

फेरि क्रिश्चियनले लिए ।

ल्याटिन र बिज्यान्टिनको मुठीमा

क्रूसेड र जेहादको नाममा

ईश्वरका सिपाहीहरूको बीचमा

मानवताको हत्याको रूपमा

अझसम्म खोसाखोस हुँदैछ–

जेरुसेलमको

रातो हिलो ।

१९

भयानक सुविख्यात संहारकर्ता

याटिलाको नेतृत्वमा हूणले जस्तै

आतङ्क मच्चाई आँधी हल्लाई

वातावरणमा कम्प गराउँदै

चंगेज खाँको नेतृत्वमा मङ्गोलले

एशियाई काँढावाल जिब्रो बढारी

चाटेर छरछरी–छरछरी रगत झिके,

त्यही वंशज तैमूरलङ

खोच्याउँदै फारसका सम्राट् बने,

सत्तरी हजार खप्परै–खप्परको

उनले एक सूचीस्तम्भ बनाए,

बने–बनाए–

मूलतत्वले शाखातत्वहरू

बने बनाए ।

उनै मङ्गोल वंशज फेरि

भारतका मुगल बादशाह बने

ताजमहल बन्यो–

यसपाला खप्परको बदला

पसिनादान जम्मा गरीकन

सङ्गमरमरमाथि सुकाइयो,

श्रमको मीना भराइयो,

तीनै पत्थर चुली पारी

चिल्ला पोटिला गुम्बज बनाइयो,

पसिना बेच्ने कलाकारहरू

सुकेका पैसा दिएर धपाइए,

कलाको सतित्व अपहरण गरियो,

अनि ढंढोरा पिटियो,– आओ,

आँखा उठाई हेर,

बेगम मुमताजको निम्ति

बादशाह शाहजहाँको

छाती निचोरिएर चुहिएको

कत्रो कस्तो कत्तिको कलात्मक

आँसुको खँदिलो ढिको !

फरहादको शिर प्रेमले फोडियो

तर उनको रक्तविन्दु माटामा मिलेथ्यो,

मजनूको अश्रुविन्दु बालुवामा बिलाएथ्यो,

दरिद्र आँसुको स्मारक बन्दैन–

दरिद्र आँसुको मूल्य नै हुँदैन ,

हेर धनीको फेनिल आँसु–

ज्वलन्त रत्नजडित अमूल्य आँसु !

भीरबाट लोट्दै खसी खोलामा बगेकी

स्वास्नीको निम्ति दाउरेले

मैलो टोपी मुखमा कोची

रोएको झरिलो आँसु होइन,

शरताजको भरिलो आँसु !

२०

पृथ्वीको सबभन्दा अग्लो पुर्पुरो

नेपाल हिमाचलको चुचुरो

सगरमाथाको बैठकवरिपरि जम्मै

हूणले संसार डढाएझैँ

त्यही डोरेटो समाती

फेरी प्लेगले– कालो मृत्युले–

अदृष्ट अग्निले छाला खहराउँदै

एशियामा तथा यूरोपमा

करोडौं प्राणीको प्राण सुकायो ।

सामान्य मृत्युले कैयन् मानिस

साधारण चक्रमा थिचिंदै मथ,

छिटो घुमेको देशानचक्रमा

कैयन् लपेटिँदै मर्थे,

भूकम्पादि प्रकृतिचक्रमा

कैयौँ चूर्ण हुँदै मर्थे ,

वैमनस्यको चक्रव्यूहमा धूवाँ भई कैयौँ मर्थे,

जित्ने, हार्ने, बस्ने, दगुर्ने,

विचार गरी चिन्तामा डुब्ने,

चिन्ता बगाउन रक्सी पिउने

सबले साझा सत्यवादी

एउटा–

केवल एउटै मात्र

मृत्युलाई देखे ।

तर दायाँ रन्केर कुर्लन्छ–

‘मर्नै पर्छ भने बाँचुन्जेल

रातो तातो फलाम भईकन

प्रभुतासाथ नबाँच्नु किन ?’

तर बायाँ सुस्तरी बिस्तारै बोल्छ,

‘मर्नै पर्छ भने बाँचुन्जेल

मनुष्य मात्रको हितको निम्ति

जीवन अर्पण नगर्नु किन ?’

बलियाले एउटा हाँगो मुठ्यायो,

निर्धाले अर्को हाँगो,

हुने मञ्जुल ओतमा बस्यो,

नहुने रुझ्दै बाटो लाग्यो ।

अनि किसानको विद्रोह चल्यो,–

बेलायतमा जोन बालले

‘मानव मात्रको समान अधिकार

हुनुपर्छ’ भनेर कराए,

सामन्तीहरूले उनलाई

बौलाहा रोगी भनेर थुने ।

परन्तु किसानहरूका खेतमा

बारम्बार सुख्खा परे पनि

उनका मनमा विचार–विचारको झरी

कहिल्यै थामिँदै थामिएन ।

बाहिर शिशिर वसन्त आए,

ग्रीष्म शरत् हेमन्त ऋतु आए,

वर्षा पनि आयो,

तर भित्र बादल जम्मा भईकन

एकचोटी बर्सन थालेको विचार

बर्सिरह्यो, बर्सिरह्यो,

बादल फाट्यो नील नभमा भानु देखिए,

तर सिक्री छिनाली बन्धनद्वारा तोडी

मुक्त भएको गम्भीर विचारको वर्षा

छिद्रमा व्याप्त भयो ।

२१

यदि प्रत्येक मानिस राजा हुँदो हो–

अङ्खनो शासक आफैँ बन्दो हो,

जन्मनासाथ मुडिन नपरी

यदि प्रत्येकको अन्तस्करण

आङ्खनै ‘स्वतन्त्र’ गुरु बन्दो हो,

मानिसलाई पालुवा पशु बनाउने

दण्डविधान यदि हट्तो हो,

अत्याचारीहरूको भालाले

सीमा छुट्टयाउन कोरेको

देश–देशका धर्साहरू सब

जाति–रङ्गको भेदसितै

यदि मानवसङ्घले मेट्तो हो,

माटो सबकामे साझा हुँदो हो,

कुनै गोठको पाठ नरटी

यदि बालक स्वतन्त्र भईकन

सद्विद्या पढ्न पाउँदो हो

एक निर्धोमाथि अन्याय परेमा

उसको पक्षमा संसारै उठ्तो हो,

परिश्रमको प्रत्येक शाखामा

फल लाग्नालाई कतैबाट

बाधा पर्न नजाँदो हो

त मानिसलाई मानिसको नै

मार्ने मन किन उठ्तो हो ।

कुन स्वाधिन मानिस तासको खेलमा

भाइलाई मार्दो हो–

बौद्ध क्रिश्चियन हिन्दू मुसल्मान

चार रङ्गको बाजीमा

को ज्यानको बाजी राख्तो हो ।

कुन स्वतन्त्र मानिस एक भाइलाई

राक्षसी बलले उभाडेर

चक्रवर्ती बनाउनलाई

अर्को भाइको गला रेट्तो हो !

तर–

यस संसारमा सज्जनहरूले

आङ्खनै आँखा फोडेर

दौर्जन्य सही दुर्जनलाई

प्रोत्साहन दिएका छन्,

आङ्खनै अन्तस्करणको घातले

आफैँमाथि अन्याय गरी

जानी–नजानी दुर्जनलाई व्यह बनाउन

छाडा छोडिदिएका छन्,

तसर्थ सौजन्यको नाम आज दौर्जन्य हुन गएको छ,

दौर्जन्य सौजन्य गनिन्छ,

घृणा धर्म छ, हत्या पुण्य छ,

खानु पाप छ, प्रेम अपराध छ ।

हो, असत्यताले ऐश्वर्य थुपार्छ

तर सत्यताले स्वतन्त्र बनाउँछ ।

मानिस स्वाधीन बन्न सके

आजसम्ममा भ्रमले रहेको

भेदभाव टुटी

यो संसार एक हुन्थ्यो,

किन आगो पानीको झगडा चल्थ्यो,

निरन्तर शान्तिको जय हुन्थ्यो ।

२२

केही शान्ति भो !

इटली देशमा

कलाको पुनरुद्दीपन भो !

विभिन्न रङ्गी पुष्पहरूका

मह मधुकरले जम्मा पारी

चित्रलाई मधुर वचन बोलायो

अनि भाव–सङ्गीत गवाइदियो

ढुङ्गालाई छिनुले घोची रुवायो

त्यस्तै कुतकुती लगाई

अमर हाँसो हँसाइदियो,

मानिसले जगत् सृष्टि गर्‍यो,

मानिसले मानिस सृष्टि गर्‍यो,

मानिसले आफैंलाई सृष्टि गर्‍यो,

मानिसले भिन्न विश्व सृष्टि गर्‍यो,

मानिसले स्रष्टा सृष्टि गर्‍यो,

त्यसको प्रभाव सबैतिर छायो ।

तर पानीको ठूलो खँड्कुलो

आगामाथि बसालियो,

मधु उम्लिन लाग्यो कराउँदै–

कसको द्यौता राम्रो ?

तेरो द्यौताको नाक नेप्टो !

तेरो द्यौताको चुच्चो !

तेरो द्यौता ढुङ्गाको भो,

मेरो द्यौता सुनको !

तेरो द्यौता सारै ढड्डू !

तेरो सारै दिन गान्टे !

हाम्रो द्यौता निराकार छ,

हाम्रो कस्तो उदाङ्ग प्रत्यक्ष !

कसको द्यौताको घर अग्लो ?

कसको देउथान राम्रो ?

दरिद्र कलाकार गोरुतुल्य भै

रातदिन पेटको खाल्टो पुर्ने

चित्र–मूर्ति–गृहमा जोतिन्थे,

ईश्वर धनीको घरमा बस्थे,

दरिद्रहरू सब भुस्सिन्थे ।

गिर्जँ मन्दिर मस्जिदहरूमा

गजवार र ताल्चा ठोकिन्थे,

घण्टा बज्दथे, शङ्ख फुकिन्थे,

सद्दे मानिस पनि बहिरा हुन्थे,

सुनका छाना टलक्क टल्किन्थे,

कानाहरू अन्धा हुन्थे,

जब तिनमा प्रार्थना भजन गुँज्दथे

भोकाहरू छाक छोड्थे ।

जब कलाकारको आर्थिक सैद्धान्तिक

अनि नैतिक पतन हुन्थ्यो

कलाको उत्थान भयो भनी

तब भाट सबैतिर कराउँथे ।

२३

अब झन् बारुदसमेत निस्क्यो,

आगो ता आगै भइहाल्यो ।

धेरै बेर रगेड्नुपर्दथ्यो,

बिस्तारै त्यो देखा पर्दथ्यो,

अब निमेषभित्रै सल्कीकन त्यो

उन्मेषमा विस्फोट हुन थाल्यो ।

बन्दुक पड्क्यो, बढाइँ भयो,

चढाइ भयो, अनि लडाइँ भयो–

गुलाफको पनि लडाइँ भयो–

आगामाथि बसालिएको मधु

बाफ भै अकाशतिर उड्न लाग्यो,

वायुमण्डल नै लागू भयो ।

लाश हो कि ढिस्को कुल्चियो तलतिर

तर सब माथितिरै हेर्न लागे :

र्‍याफेलले स्वर्गको तस्वीर ‘दिस्प्युता’ लेखे,

प्रसिद्ध कलाकार माइकेल एन्जेलोले

उड्ने देवदुतको अतिरिक्त

ङ्खलोरेन्सको दुर्ग बनाए,

जङ्गी कालिगड भौव्यान

त्यो देखीकन मुग्ध भए ।

यूरोपका दक्ष प्रजा कलपूर्जाको

नयाँ आविष्कार गर्न लागे ,

त्यहाँका राजा विश्वसम्राट्

बन्ने सपना देख्न लागे !

एकातिर आरनको अग्नि

झन्–झन्–झन्–झन् बढ्न थाल्दछ ,

अर्कोतिर मुद्रण यन्त्रले गर्दा

मु्क्त उन्मुक्त तार्किकहरूका

विचारधारा दर्कन थाल्दछन् ।

शक्तिले वास्तविक परिस्थिति छोप्छ,

आँखामा छारो हाल्ने

मुखभरीको बुजो कोच्ने

नाकमा दुवैतिर ठेली जाक्ने

कान औँलाले थुन्ने सुधार

वृथा अलमल्याई धाक जमाउँछ

खोक्रो–तर डाँकाले परिपूर्ण–

डाँकाले परिच्छिन्न,

आमदानीको जरा सुकाई

मर्दा पर्दा खर्च दिइन्छ,

घरबारी सर्वस्व गराई

दरिद्रलाई दान दिइन्छ,

त्यही सुधार कहिन्छ,

औषध लुकाई दया देखाउने

घृणा छिपाई माया जताउने

सुधारवादी श्रेष्ठमा दरिन्छ,

कविको ह्दय टुटाएर

प्रार्थना स्तुति पुकार गराईन्छ,–

पिँजरामा धुरुधुरु रुन्छ चरो,

गीत गायो भनेर प्रचार गरिन्छ ,

शेक्सपियर रानी एलिजावेथका

लडाका पुख्र्यौलीको

नवरसले वर्णन गर्छन्

अनि अन्धताको निहुँले रुन्छन् ।

नेपाल र अमेरिकासम्मन्

फैलिएका अङ्ग्रेजी हात

एकातिर पृथ्वीनारायण शाह

अर्कातिर वाशिङ्गटन टोक्छन्,

अमेरिकामा जनजागृति हुन्छ,

फेरि आगो पानी टोकाटोक गर्दै

लठारिएर कराउँछन् ।

२४

रुसो पानी भैकन भन्छन्–

‘प्रकृति हाम्रो हितकारी छ,

स्वभावत: मानिस–मानिसमा

समानताको प्रवाह छ,

बलियाहरूको सभाद्वारा

उत्पन्न भएको सभ्यताले

दुर्बलमाथि शासन चलाई

भेदभाव असमानताको

ऐन नीति विधानको राँको

समाजमा घुस्न दिएका हुन् ।’

निट्ज्शे आगो बनेर बोल्छन्–

‘शक्ति नै परम धर्म हो,

शक्तिको इच्छा स्वाभाविक गुण हो’

स्वभावत: मानिस–मानिसमा

असमान तेजको लक्षण छ ,

परमेश्वर छैन, उसकी ठाउँमा

परम मनुष्य छ !

बौद्ध क्रिश्चियन स्वास्नीमान्छे हुन्

उद्वेगबिनाको मानिस दूध हो ।

रुसोले फ्रान्सका जनताद्वारा क्रान्ति गराए ।

निट्ज्शेले सोही क्रान्ति दबाउने

एकतन्त्री कल्पनामय शासक

सम्राट नेपोलियन मन पराए,

इस्पात–मनुष्य बिस्मार्कलाई

लोहित कण्ठले समर्थन गरे ।

बिस्तार ब्रिटिश साम्राज्य–विस्तार

द्वीप–द्वीपान्तरमा बढ्यो,

सभ्यता जङ्गली भयो,

सबै द्वीपमा ब्रिटिशसिंहका तोपको गर्जन गुञ्ज्यो,

विजयी विक्टोरिया भारतसम्राज्ञी बनिन् ।

बुद्धको जन्मस्थलमा

विडम्बनाको नृत्य खुल्यो :

अहिंसावादी बुद्धलाई भगवान् मान्ने नेपाली

त्यस्तै अर्का अहिंसावादी

क्राइष्टलाई ईश्वरपुत्र मान्ने अङ्गरेज जाति

दुईको बीचमा समर चल्यो ।

राजेन्द्रलक्ष्मीका सिंहनादमनि

डमरुजस्तै हुर्केका

नेपाली स्त्री र बालकसमेत

जोधा बनी तोपका गोला

छातीले फोड्दै मरे ।

अश्वमेधको सट्टामा झन्

चर्को बारुद–मेघ थियो,

उसमा घोडा अगि–अगि हिंड्थ्यो

यसमा गोला अगि पुग्थ्यो,

शस्त्र जसको सङ्ग्राम उसको,

जसको लट्ठी उसकै भैंसी,

नेपालीले वीर–नाम कमाई

आधा नेपाल हार तिरे,

पोखिएको रिस गृहकलहमा दन्कँदा

फेरि सहस्रौँ व्यक्ति जले ।


(पछिको)


आकाशमा मानिस उड्यो !

देउता हुन माथि उडेको मानिस

झर्दै राक्षस बन्ला भन्ने

अनुमान पहिले को गथ्र्यो ?

पृथ्वी नै निल्न बस्ला भन्ने

पहिले कसको स्वप्न थियो ?

अधिकारको निमित्त नै सब लड्छन्

तर व्यक्तिको कति अधिकार हो ?

पृथ्वी यही हो,

मानिस यिनै हुन्

कसको ठाउँ कुन हो ?

हाम्रो आङभरिको घाममा हाम्रो अधिकार किन नहुनु ?

हामी पल्टेको भूँईमाथि

हाम्रो अधिकार किन नहुनु ?

बनाउनेको छाप्रोमाथि

आङ्खनो अधिकार किन नहुनु ?

हामीले जोतेको खेतमा

हाम्रो अधिकार किन नहुनु ?

तर फेरि–

जति रुख छोई टाँचा मार्ला

सबमा उसैको अधिकार कसरी ?

जो जति बटुली सोहोरी थुपार्ला

त्यसमा उसैको अधिकार कसरी ?

सह्यार्ने कोही दासदासी अछूती अनधिकारी,

सह्यार्ने कोही पितामाता किन अधिकारी ?

आज एक बालकको भन्दा

युवकको अधिकार छ भने

भोलि त्यस युवक बूढाको भन्दा

बालक युवकको अधिकार नहुनु ?

फोहोर सोहोर्नु कष्टसाध्य भए

सोहोर्ने सिद्ध तपस्वी हो !

पसिना चुहाउनु यत्नसाध्य भए

चुहाउने अधिकारी हो !

पानीमा अधिकार कसको,–

वैद्यको कि त रोगीको ?

घरमा अधिकार कसको हुन्छ,–

त्यो बनाउनेको कि बिगार्नेको ?

फूलमा अधिकार कसको हुन्छ,–

रोप्नेको कि टिप्नेको ?

अनेकौं प्रतिभाशालीबाट

स्वतन्त्रताको पक्षमा

लेखनीका काला–काला मेघमालाबाट

चारैतिर वर्षा हुन लाग्यो,

तर उच्छृङ्खलताको बाढी

रोक्ने चेष्टा गर्दै कतिले

बाँध विधान व्रत बनाउन थाले ।

अधिकारको पनि सीमा हुन्छ,

त्यसको साँधी समाज न हो,

व्यक्तिको अधिकारमा हस्तक्षेप

समाजले कति गर्न हुने हो ?

समाजको निम्ति व्यक्तिलाई

कति बन्धन कति मुक्ति दिने हो ?

कुन आधारमा अधिकार दिनेले ?

कसले दिने, कसले लिने ?

हजारौं वर्षअगाडि

श्रुतिमा विभिन्नता थियो,

स्मृतिमा विभिन्नता थियो,

अनेक अनुहार

अनेक विचार

अनेक मतमतान्तर थिए,

अहिले पनि ता त्यस्तै छन् ।

पहिलेको आधार गयो,–

वैज्ञानिक अनुसन्धानले

कल्पनाको जग भत्कायो !–

समाज उठाउन खट बनाइयो,

खट फुकाल्दा समाज पनि फुक्ल्यो ।

नयाँ संसार बनाउनै छ !

जङ्गलमा फर्कौँ त्यो मासिसकियो,

लाखौँ नगर बसालिसकियो,

जाडो–गर्मी सहने छाला

ऊन, रुवा, आतशखान, पङ्खा, साटन, मखमल, झूल, पतङ,

मल्हमले नरम गराइसकियो,

भोजनका नौ सय रसमा चोप्तै

रसना लाटो पारिसकियो ।

सभ्यताले निर्धो बनायो,

संस्कृतिले सङ्कुचित तुल्यायो,

दर्शनले दर्शनलाई मेट्यो,

विज्ञानले आगो भेट्यो ।

अलिकति ज्ञान अलिकति अज्ञान,

केही प्रत्यय केही अनुमान ,

केही असम्भव ऐतिह्य उपमान,

केही रहस्यमय शास्त्रप्रमाण,

केही डुबुल्की केही उडान,

केही विनय केही अभिमान,

अलिकति स्वार्थ अलिकति पदार्थ,

त्यसमा अलिकति गीतिछन्द ,

अलिकति क्रियाविहीन गद्यकविता,

अलिकति वर्ण पहेंलो जून,

अलिकति मात्रा शिशुको जत्रो,

केही वर्णन केही छाया,

केही बिम्ब केही प्रतिबिम्ब,

अलिकति आस अलिकति त्रास,

केही छन्द केही स्वच्छन्द,

केही मुक्त केही बन्द,

केही सरसतम भावुक कवित्त,

केही सत्य र शुष्क गणित ।

संसारमा खिचडी पाक्यो !

मुण्डमुण्ड बुद्धिमान् मुखले

कुण्डकुण्डको पानी चाख्यो,

यातायातको मेला चल्यो,

मानिस–मानिसको सम्पर्क बढ्यो,–

पहेंलो र रातो मानिसबाट

सुन्तला रङ्गको मानिस निस्क्यो,

कालो र सेतो जातिबाट

गहुँगोरो जन्म्यो,

शुद्ध अशुद्ध भई विशुद्ध भयो ।

जापानी दाँत, फारसी ओठ,

अरबी कपाल, मिस्री नाक,

भारती आँखा, चीनियाँ रङ,

रोमानी स्वर, यूनानी जीउ,

अमेरिकी बल, रुसी एकता,

फ्रान्सिसी स्वभाव, अङ्ग्रेजी बुद्धि,

जर्मनी साहस, नेपाली शौर्य

छ्यासमिस भएर मुछियो,

संसारमा खिचडी पाक्यो !

सिक्री लठारिंदै चुँडिन थाल्यो,

बन्धन छिन्दै मुक्त अल्झियो,

विश्वासहरूमा कलह भयो,

हीनयान, महायान र वज्रयानमा जुद्ध चल्यो,

भोटलाई ठोक्ने अङ्ग्रेजलाई

नेपालले सहायता दियो,

अनि रुस र जापानको युद्धकथाले

पट्टलको सिरक ओढाएर

नानीलाई सुताइदियो !

मेरो शैशवकाल !

तैंले भोगेको सुखको शान्त घडीले

आज पछितो गराई–गराई

मलाई रुवाइरहेको छ :

त्यसै बेला तैले रुँदै

चित्त नदिंदादिंदै पनि

कमाइएका दुई–चार अक्षर यिनै

आज मेरो फट्फटाइरहेको

घाइते ह्दयले बाएको मुखमा

शीतल शान्तिबिन्दु बनीकन

तपतप झरिरहेका छन्,

तसर्थ दु:ख बरु प्यारो लाग्छ,

शान्त घडीसित डर लाग्छ,

त्यसैले कुनै दुर्दिनको घडी

थापिरहेझैँ लाग्छ ।

शान्तिमय मत्थरपछिको तूफानजस्तै

केजरको बलले सिजर बिर्साई

प्रथम महायुद्ध चम्काई

समस्त संसार हल्लायो ।

सप्पै महासागरहरूमा

मनुष्यरक्त नै रक्त भए पनि

अभिमानको त्यो रक्तपिपासा

कहिले मेटिन सक्थ्यो !

परन्तु जनशक्तिले केजरको

अँजुली नै उल्टाइदियो ।

सङ्ग्रामको धारमा परेर

धुजा भएकै अवस्थामा

रुसमा महा अनिकाल पार्‍यो,

अनि माक्र्सको सिद्धान्तले त्यहाँ

प्रवेश गर्ने मौका पायो

लेनिनले त्यही तत्वले रुसमा

समस्त जलाथल पारिदिए,

रोग निर्मूल गर्नालाई

रोगीलाई नै मारिदिए ।

बहुजनसुखाय बहुजनहिताय–

प्रतिशत एकलाई मारिदिए ,

बुद्धको पनि साम्यवाद हो

तर त्यो दयाको साम्यवाद,

क्राइष्टको पनि साम्यवाद हो ।

लेनिनले देखे यी दुवैका

समता त साधन–सिद्धान्त,

तर साध्य भने विषमताका कारण

सेना सङ्ग्राम र साम्राज्य रहेछन्–

के जर्मनी पनि क्रिश्चियन ?

के जापान पनि बौद्ध ?

तसर्थ लेनिनले माक्र्सवादलाई–

साम्यवादलाई साध्य बनाए,

त्यसको साधना हिंसा !

इतिहासमा पानी आगो भयो !–

भोलगा नदी लाभा भयो !

डाइडेरट लो मेत्रि, र रहल्ब्याकको

विचार पाकी टमस मोरको–

‘युटोपिया’ भविष्यमा आफैं बन्छ,

भन्ने कुरामा

लेनिनले पत्यार गरेनन्,

रुसोको झैँ कार्यमा अनि क्रान्तिमा

उनले विश्वास गरे ।

एकातिर थोरै धनाढ्य

चिल्लिंदै मोटाउँदै थिए,

अर्कोतिर भोकले करोडौँ कङ्गाल कङ्काल

टनक्न टन्की कक्रन्थे,

सत्य कुरा सब राम्ररी छाम्थे,

तर आँखाको पुतलीमा

अविद्याको जालोले गर्दा

कानको जालीमा जाली शब्द पर्दा

आफैँमाथि विश्वास गर्न पनि

शुद्ध बुद्ध सक्तैनथे,

आफैँ तुल्य निरस्त (हटाइएको/अस्वीकृत) तिरस्कृत

व्याकुल विह्वल मनोहत भयद्रुत (आँत्तिएको)

दुर्गत वञ्चित पीडितहरूको पनि

आङ्खनै जहान बच्चाको पनि

दयामाया मोहममताले

अत्याचारी अन्यायीमाथि

क्रोध रुमल्लिदै उठ्तथ्यो ,

तर किंकर्तव्यविमूढताले

चित्त नबुझाइ संह्लिनुपथ्र्यो,

आगो ननिभाई छोप्नुपथ्र्यो,

लेनिनको नेतृत्वमा सब झुरिएका काठ सल्के !–

मह पार्ने गुलियो खान नपाउने

मानिस मौरीले डङ्क उठाए !

इतिहासमा पहिलो पँलि

भू पन्छिएका मनुष्यहरूले

सीमा उल्लङ्घन गरी–गरी

आत्मविश्वास गर्न थाले

पददलितवर्गले फणँ उठाई

आँसुलाई हलाहल पारी

हाँस्ने दाँत टोक्ने बनाई

खेत खन्ने कोदालेँ उचाली

आफूलाई कुल्चेका

आफूलाई कुल्चनेको

कुल्चन सक्ने साराको

ढोडनसामा ठुँग्यो !–

भूगोललाई पटुकाले झैँ बेर्ने

विहारी नुनिलो अमृतजल

विषाक्त पोल्ने भइदियो ।

इतिहासमा पानी बल्न लाग्यो,

इतिहासमा पानी पेट्रोल भैकन

जम्मै समुद्र दन्कन लाग्यो

पानी पग्लेको आगो भयो,

त्यो सेलाउँदा मुङ्ग्रो र हँसिया बने ।

धार्मिक जगत् तस्र्यो

धनी जगत् काँप्यो,

धाकी जगत् थाक्यो,

झोल आगो र चोक्टा आगो जुध्न लागे,

साम्यवाद सुकाउनलाई

पूँजीवादी देशहरूले

रुसलाई भित्री आक्रमण र शोषण गरे,

तर सारा निराश भई फर्के ।

फेरि त्यहीं आजसम्ममा संसारभरमा

अङ्कित गरिएका इतिहासमा

सबभन्दा प्रचण्ड अनिकाल पर्‍यो ।

लाखौं–लाखौंको अन्त भयो,

बाँच्नलाई

हिलो र नालमा पनि कतिले मुख गाडे,

चिहान खोस्री लाश निकाल्दै

मानिस हिंस्रक जन्तु बने

त्यसै बेला पश्चिम यूरोप

धान मिल्काउँदै थियो,

तर सैद्धान्तिक भेदभावले गर्दा

मानिस राक्षसतुल्य बने ।

त्यत्रो उथलपुथलको बीचमा

महामारीको बीचमा पनि

अग्निबीच पनि तारासदृश

जीवनबिन्दु बनीकन

लोहाको झूलभित्र बसीकन

हिंसात्मक साम्यवाद बाँचिरह्यो ।

फेरि आगाको लप्का उठ्तै

उठ्तै–उठ्तै हिटलर बन्यो,

बिटोफेनको सिम्फनीले त्यसैलाई फुक्यो,

निट्ज्सेको मसान फेरि जाग्यो,

भाग्नरले रचेको सङ्गीत–

सिग्फ्रिडको मलामी बाजा

नभमण्डलमा रुमल्लियो ।

हिट्लरले भाले मुठी कसे,

समस्त संसार हल्लियो ।

धूमपटमा द्वितीय महायुद्धको

बोलचालचित्र प्रदर्शित भो,

गोलागोलीहरू फुट्तै

खाँदिएको शब्दसङ्ग्रहले

आकाश नै चर्कायो,

बिजुलीका पचासौं धाँजा परे,

रगत वर्षा भयो !

एउटा आधा सुकेका थोपा

भारतवर्षका गान्धी

बुद्ध र क्राइष्टले जस्तै

‘सत्य, अहिंसा’ फलाक्न लागे ।

तर बुद्ध सिकाउँछन्–

‘मलाई कुट्यो, मलाई गाली गर्‍यो

भन्ने विचार छोडिदिए

मनमा शान्ति हुन्छ ।’

‘रागसमानको आगो अर्को छैन ,

तसर्थ मनुष्यले

एकान्तवासको रसपान गरोस्

लोभीलाई दानले जितोस्. !

अक्कोधेन जिते कोधं

ब्राह्मणलाई पनि धिक्कार छ ,

कुट्यो भनेर रिसाउने

ब्राह्मणलाई पनि धिक्कार छ ।’

‘पुण्य र पापबाट मुक्त होऊ,

तृष्णा छोड, आशा छोड,

कामना छोड, आसक्ति छोड,

स्नेहलाई उखेल,

शान्तिमार्ग निर्वाणको आश्रय लेऊ ।’

क्राइष्ट सिकाउँछन्–

‘खेदो गर्ने शत्रुलाई पनि प्रेम गर ।

तिम्रो दायाँ गालामा कसैले हिर्काए

अर्को गाला फर्काइदेऊ ।’

‘तिमीसित जे–जति छ

त्यो बेचेर गरीबलाई देऊ,

अनि स्वर्गमा ऐश्वर्य पाउनेछौ ।’

‘धनीलाई

ईश्वरको राज्यमा छिर्नुभन्दा

बरु ऊँटलाई सियोको प्वालमा

छिर्न सजिलो होला !’

‘म तिमीहरूलाई भेडा बनाई

ती हुँडारको बीचमा पठाउँछु,

तसर्थ सर्पझैँ बुद्धिमान् बन,

ढुकुरझैँ हानिरहित बन ।’

यस्ता पलायनवादमा–

आफूलाई आफैँ थिची–मिची

आफ्नो अस्तित्व मेटिदिने

दुवै प्रभुका साम्यवादमा

गान्धीले विश्वास गरेनन् ।

गान्धीको पनि साम्यवाद हो,

तर त्यो जिद्दीको साम्यवाद :

हतियार उठाउने कामै छैन,

हाम्रो सत्याग्रहमा रगेडिंदा

तिनका धार त्यसै मर्छन्,

हामीले सद्व्यवहार गरे

नाक भूईँमा रगेडेर

अर्कोले पनि गर्नैपर्छ,

आज नगरोस् भोलि नगरोस्,

पर्सिसमेत नगरोस्,

कुनै दिन नगरोस्,

तर अन्तिम दिनको

अन्तिम घडीमा गर्नैपर्छ,

त्यसैले साम्यवाद साध्य भए

साधन पनि साम्य हुनैपर्छ ।

आदर्शवादी गान्धीको अनुसार

युटोपिया बन्नैपर्छ,–

मन्दिर मस्जिद दुवै उभिउन्,

कुरान पुरान दुवै पढिउन्,

स्वर्ग जहन्नत दुवै भरिउन्,

नरक जहन्नम दुवै पुजिउन्,

तर

हिन्दू मुसल्मान एक बनून् !

हिंस्रकसित हिंसावादीसित

असहयोग आन्दोलन गरी

अहिंसात्मक ढाल लिई

वीरत्वले लड्नैपर्छ,

फेरि फेरि फेरि बजारिँदै

छालाले चट्टान फोड्नुपर्छ,

आशाविरुद्ध आशावादी भई

मनु्ष्य मात्रले मर्नुपर्छ ।

मर्‍यो !

यो गान्धीवाद

गान्धीसितै मर्‍यो ।

संसार यदि नीद हुँदो हो त

कल्पनाको गाढा विचारले

चाहेको सचित्र स्वप्नपुष्ट

पल्टाउन सकिन्थ्यो,

शङ्कराचार्यको मिथ्यारोटी

मिथ्याजिब्रोले बोल्न सकिन्थ्यो,

तर हामीले ता वास्तविकता

बेहोर्नुपर्दछ, बिर्सेर

पानी नपिए रगत सुक्तछ,–

तातो चिसोको मात्रा मिलेमा

मात्र जीवन आद्र्र रहन्छ ।

जगत् मृत्युझैँ साँचो छ ।

दीप–शिखामा दुई औँलाले

नङको पानी छर्केझैँ

गान्धीले हिट्लरलाई

शान्तिपत्र लेखे पनि,

सहसा होम्मिंदै आगामा

आफ्नो जातिको पानी राखी

जापानीले हाराकिरि

गरी मरिमेटे पनि

मानवताको आशालाई

परमाणुबमले चुर्ण गर्‍यो ।–

मानिस आफ्नो पाखुरामा आफैँ टोक्तै

आफैँसित डराई दगुरी भाग्न लाग्यो,

चन्द्रमामा कलङ्कजस्तै

मनुष्यको ज्ञानविज्ञानमा पनि

लाञ्छन लाग्यो ।

अस्तित्वको नाममा सङ्घर्ष उठ्छ,

त्यो स्वार्थपूर्तिको काममा लाग्छ ।

अशक्तको हात रित्तो हुन्छ,

शक्तिमानको हातमा चाहिँ

ज्यान मारेको रगत जम्छ ।

नजान्ने अन्धविश्वास गर्छ ,

जान्ने स्वार्थमा अल्झेर

तदनुकूल झूटो तर्क झिक्छ ।

सज्जन अनुमानले कल्पना बुन्छ,

दुर्जन प्रत्यक्ष डाँका मार्छ ।

हुने सुरक्षाको पक्षमा बोल्छ,

नहुने शून्य वितरणमा चल्छ ।

धनी बमगोला छाम्छ,

नङ्गा बमभोला भन्छ ।

कोरियाको रणक्षेत्रमा

बल जाँच सिद्धिनासाथै

फर्मोसामा बुद्धिचालका

गोटी टेढो घर चल्छन् ।

इलेक्ट्रनको ताँदो तानिँदै पृथ्वी फन्का मार्छ,

फोटनको वाण तिखारिन्छ,

वातावरण अवाक् हुन्छ ।

बालाज्यूको बाटामा

सडकको बीच–बीचमा

वर्षाको पानीले गर्दा

सानो संसार यस नेपालमा बनेको

माटाको सानो नेपालजस्तै

साना–साना डाँडाकाँडा

पुतली झरना पुतली खोला

स्वयं बन्न गएका छन् ,

त्यसैले त्यहाँ नागबेली पर्दै

फट्को मार्दै हिँड्नुपर्छ ।

डाँडाको टुप्पा–टुप्पा माथि

तेञ्जिङ बन्दै अडिनुपर्छ ।

त्यस्तो बाटाको वरिपरि यताउति

केही भत्केका लच्केका

ढल्किएका घरहरू छन्,

कुनै पुरानो पराले छाना

थाकेको बूढोजस्तै

एक तलामा थ्याच्च बसीकन

बेनिम्तामा आउने कालको

बाटो हेरिरहेको छ,

कुनै झिङटीको छाना

पक्षपात भएजस्तै गरी

एक हर बसालो मुख बङ्ग्याई

मूर्छा परिरहेको छ ।

त्यस्तै घरका पनि तला–तलामा

सुत्केरीका डेरा छन् ।

भ्यानडाइक खैरो, प्रशियन हरियो र इन्डिगो,

कैलो म्याडर र पहेंलो ओकर रङको

नालनिकास जमेनेरै

केटाकेटीहरूले गरेको

फोहोरको माझमाझीमा

सुत्केरी

सुकुलका लिप्टामा बसी

आफैँले तेल घसी–घसी

घाममा टल्केका आङ सेकाई

विवशताले मनलाई कुतकुती लगाई

आधा हाँसिरहेका छन् ।

सिंघान नाकमा लुर्काएका

नाङ्गा भुतुङ्गा बालकहरू मिली

बालुवा र ईँटको धूलो जम्मा पारी

गिरिबान्कीका साना–ठूला धेरै

गिरीशका लिङ्गहरू बनाई

तिनका घुमाउरा जलहरीमा

मुत्तै खेलिरहेका छन् ।

त्यहीँनेर दुईटा कुकुर

गाँठो परिरहेका छन् ।

मोटो रुखको ठुटामाथि अग्लो भई

एउटा सप्रेको रङ्गीचङ्गी

ठूलो कुखुराको भाले

आगोजस्ता आँखा पारी

रातो सिउर लप्काउँदै

नेतृत्व गर्न खोजेजस्तै

गरी बसिरहेको छ,

गद्गद् स्वर झिक्तै कुखुराहरू

साह्रा चुच्चा परेका ओठले थलथले

सर्वत्र खोस्रिरहेका छन् ।

१०

गाउँदै दाउरा बोक्नेहरू

एक झुण्डमा आउँछन् ।

मान्छे !

तँलाई थाहा छैन

तैँले चुमेकै वायुमा

तैँले टेकेकै पृथ्वीमा

तैँले चिन्तन गरेकै भावमा

क्यारुजो पनि गाउँथे,

तैँले माझिन जानेको छैनस्,

तँलाई माझिदिएका छैनन्,

तँलाई माझ्न दिएका छैनन्

चुसाहा मारा समाजले

तेरा शरीर र मनलाई

निर्वाङ्ग बनाइदिएको छ,–

दौराका फेरवरिपरिबाट

पट्ठा, तेरा पुट्ठा र लङ्गौटी

बारम्बार देखिन्छन्,

प्राकृतिक आवश्यकताले

तेरो पैताला गैँडाको तल्लीजस्तै भएको छ ।

तँलाई थाहा छैन

तैँले लत्तो छोडिदिएकोले

घुम्री–घुम्री लट्टा परीकन

ढकमक्क भएको तेरो केश

हीरा पन्नाको श्रीपेचभन्दा पनि

बहुमूल्यको छ,

त्यसमाथि प्वाल र चिरा परेको

झुत्रो टोपीबाट बाहिर

रौँको जिब्रो ल्याप्प झिकी

डाहाले संसारलाई गिज्याएँ

भन्ने तँलाई थाहा छैन !

११

स्वास्नीमान्छे !

दुई हजार एघार सालकी

परमसुन्दरी रानी,

तँलाई त थाहा छ,

तँलाई थाहा नभए पनि

तेरो थाहा पाइरहे जस्तो

आँखालाई थाहा छ,

मेरो आँखाको ऐनामा पारदर्शक

तेरो त्यो आँखा टाँसिन्छ,

अनि जति हेरे पनि

कणकणमा त्यै हुन्छ !

तैँले रुखलाई हेरिस् भने

रुखका पातपातमा

तेरा चित्रहरू छापिन्छन्,

तेरा आँखा पुष्प बनीकन

रुखका हागा ढाक्छन्,

अनि रुख निहुरी–निहुरी रुन्छ,–

उसका आँसु ढिका–ढिका भै फल फल्छन्,

तेरा आँखाका सौन्दर्य

तिनमा माधुर्य भै घुस्छन् ।

तेरा टन्केर ढल्केका

माथिल्लो कन्दर्पधनुष,

र तल्लो दुई खण्डे ओठमा

तैँले टाँसी बन्द गरुञ्जेल

अव्यक्त प्रेम पाकिरहन्छ,

तैँले खोलिदिएपछि

के हुन्छ तँलाई थाहा छ ।

के हुन्छ, भनूँ ?

दन्तपङ्क्तिको बीचमा परी

समस्त विश्वको घाँटी अँट्ठिन्छ

त्यो चल्दा मुटुकलेजा सब

पेलिँदै कविता चुहाउँछन् ।

परन्तु

तेरो छिटको फरिया

धूलो जालो–बुनाझैँ धुस्रो

लुँडिएको अति मैलो छ,

तेलले कटकटिएको कालो चोलो

धुलोको फाहा घसिँदा–घसिँदा

सेतो–सेतो भएको छ ,

आगोझैँ राता डम्ठे चुरालाई

पानीझैँ चाँदीका बालाले

निभाई फुस्र्‍याएका छन्,

तिनको जुधाइमा मिचिएका

बाहुला झुत्रिएका छन्,

तेरा पिँडौला फुटेका फुस्रा

दाना–दाना परी बोक्रा चर्केका कलिला रुखका फेदझैँ छन्,

खुट्टा माटाका डल्लाझैँ छन्,

समाजको लज्जाका अङ्कित सङ्ख्या

तरा हत्केलामा काला

पचासौँ रेखा देखिन्छन्,

भित्र डढेको क्रान्तिजस्तै

तेरा नङ पनि नीला छन् ।



१२

स्वास्नीमानिस !

मनुष्यसमाजको पापको भारी

तेरो बुई चढेको छ

त्यसको नाम्लाले निधारको छालामा

साठी वर्षमा मात्रै पर्ने

खुम्चाहरूका (तर चिन्ताशून्य)

डोरा बन्न गएका छन्,

जयस्थितिले स्थिति बाँधेको त्यो

डोरीको डामजस्तो छ,

प्रताप मल्लले सुनको छाता

ओढाइएका पशुपति

तेरो हिमालमा पालो बस्ने

बूढा बाबा महेश्वरको टीको त्रिपुण्ड्रजस्तो छ ।

यही अन्तर–अन्तरमा ।

यस्तै उठ्तै टल्की–टल्की

बहेका पसीनाधारा

रूपमतीको स्नेहतरङ्गले

चुनिएका रानीपोखरीमा

साना तरङ्ग दगुरेजस्तै

मेध्य मनोरम देखिन्छन्,

आँखीभौँमा जम्मा भएका

पसीनालाई परेलाले

बराबर चोरी झिमझिम गर्दै

झार्दै

गालामा ताता गुलाफको

गाढापनलाई

फिका गुलाफी पर्दा छन्,

बानकी अस्पष्ट भईकन

उठेको कुमारी–सुकुमारी नाकबाट

चुहिएको बुलाकी जस्तो बिन्दुमा

समस्त कपिलवस्तुका दर्शन

उभिण्डिएर रहेका छन् ।

१३

युवक आङ्खनो गीतसूत्रमा

तीखो प्रेमको बल्सी झुण्ड्याई

युवतीका कानद्वारा छिराई

अङ्कुसीले मुटुलाई

नत्थ्याईकन झिक्ने दाउ

हेरी लम्बिरहेका छन्,

युवतीको पश्चिममा भूत अस्तायो,

भविष्य उदाउने पूर्वरङ्गै छैन,

केवल त्यै गीत झन्–झन् उज्यालो

हुँदै स्वान्तमा बलिरहेछ,

तर यति त उसलाई थाहा छ,

लोग्नेमानिस अत्याचार गर्छ ।

अगि–अगि भामिनी कामिनी मानिनी

खुरुखुरु भागिरहेकी छन्,

‘छड्के पोते नलाउनुहोला

ज्यान जाला, ज्यान जाला’ भन्दै

गीत लखेटिरहेको छ,–

परेवी भागिरहेकी छ,

नाच्तै घुर्दै फुल्दै परेवा

उसलाई लगारिरहेको छ ।

१४

काम ! काम !

ढिकी, जाँतो, डोको, नाम्लो,

घाँस, दाउरा, स्याउला, पात,

सियो, धागो, कुचो, पोतारी,

खल, ओखल, आह्री, भिउँट,

ठेकी, मधानी, जूठो भाँडा,

चूलो, गाग्री, आगो, पानी,–

जीवन सङ्घर्ष ?

जाँड, रक्सी, गन्ध, मद,

मयल, लट्टा, फोहर, खटिरा,

हिलो, धुलो, लोभ, मोह, मात्सर्य,

क्रोध र कामवासना !

काम !

अमिलो र पिरो !

जुवारी खेल !

मैलो ओछ्यान !

म्वाइँ

काम ! काम ! काम !

मुगाको माला !

फेरि भारी अनि सुत्केरी !

कालो टाला !

रोग, रिङ्टा, चाउरी !

माया, ममता, बच्चा, बच्ची

झुत्राझुत्री, राल, सिंगान !

नैराश्य, अन्धकार र अन्त्य !

भूइँ काप्तछ,

भुमरी पर्दै हावा कराउँछ, –

त्यो कसको अपराधको चित्र ?

त्यो थोत्रो घर, अबाटो बाटो

त्यो सामान्य पशुको जीवन,

त्यो विश्वविषयक अनभिज्ञता,

त्यो अन्धपरम्परा

त्यो शुष्कता, त्यो दरिद्रता, त्यो नीचता,

त्यो निरक्षरता, त्यो कामुकता,

त्यो सङ्कोचन !

कसले गरेको पातकको

फल यसरी फल्छ ?

कसको अपराध ?

कसको अपराध ?

कसको अपराध ?

१५

अलिकति हावा गुडिंदै आउँछ,

बालुवाका थुप्रा बल्दै

राँकेभुतझैँ नाच्तै जान्छन्,

लडीबुडी खेल्छन् सुकेर दोब्रिएका

भित्र सेतो जालोको

गुजुल्टा भएका पात,

बूढा रुख उङ्दै शिर हिलाउँछन्,

व्योमयानमा डुलिरहेका

जलबिन्दु दुई–चार खसी फुट्तछन्,

सूर्यकिरण सब टुक्रन्छन् ।

१६

जङ्गली !…….

जालबाट उम्की उडेको जङ्गली !

असनको एक होचो पसलमा

टाँगिराखेको हरितताराको

ऐना हालेको तस्वीरलाई

हावाले हल्लाई डोलाउँछ,

त्यस ऐनामा परेको

घाम लागेको सडकको छाया

तलमाथि हुन्छ,

जङ्गलीको गम्भीर मुखमा

वनजस्ता रौँबाट छिरी

त्यही उज्यालो

उकालो–ओह्रालो गरिरहन्छ ।

काँसाको घण्टी गुँजेजस्तै

मानवध्वनिले गुँजिरहेको

कान्तिपुर पुरमा

घण्टा घनले ठोकेजस्तै गरी

जङ्गली चिच्याई भन्छ –

‘कसको अपराध ?

कसको अपराध ?

लाप्पा खुवाइदे !

हामी सब अपराधी छौँ !’

फेरि कराउँदै हिँड्छ,

लम्कँदै कराउँछ–

‘त्यस्तालाई सुन्न पछि लागी

तँ समयलार्य नमार्,

समयलाई बचाएर

त्यस्ताको बतासे कुरालाई

एक कानबाट सुनीकन

अर्कोबाट उडाइदे !–

ती तौली–तौली बोल्दछन्,

छातीका दैला उघार्दैनन्,

माथिल्लो तलाको झ्याल

कराइ देउडी परेकोबाट

तलतिर हेर्छन्,

होशै नगरी थुकिदिन्छन्,

ती–

शब्दको व्यापार गर्छन्,

अर्थको जूवा खेल्छन्,

आँसुबाट नाफा झिकी–झिकी

हाँसोमा त्यै खर्च गर्छन्,

कटुता पेटमा भर्दै– भर्दै

मुखबाट मधुरता ओकल्छन् !

तिनका दाँतमा जिब्रो झूटोसित चुकचुकाई बज्दछ,

बरु फलाम सत्य बोलीकन

ढुङ्गामाथि बज्रन्छ ।

आगो अत्याचार गर्छ,

पानी बेइमानी गर्छ,

मैले साँच्ची भनेको

तिनका कुरै नसुन् !’

१७

जङ्गली अगिअगि हिँड्दै

सर्की ठाडै उकालो लाग्यो,

कैयौँ उसकै पछिपछि लागे ।

जतिजति ती माथि चढ्दथे

उतिउति हिमालयमा चुचुरा

शिर उचाली अग्लिन्थे ।

भूगोलको भाल नेपालहिमाल !

मानवताको मुकुट विशाल !

पाउने व्यथा लाग्दा पृथ्वीको

आँसुले व्यक्त गरेको काल !

उज्ज्वलताको प्रतिस्पर्धामा !

प्रथम निस्कने विक्रान्तदल !

उसले छुनासाथ बादल

कीराजस्तै गुँडुल्कियो ।

मानिसको कृतिमा रौँप्रमाणको

टेढो भए पनि खट्कन्छ,

परन्तु प्रकृतिमा बाङ्गा हाँगा,

खस्रा बोक्रा भएका रुख,

बेमेलले पहिरो गएका पर्वत,

ढुनमुनाएका नदीनाला,

कोल्टे परी चेप्टिएका छहरा,

छरिएका चुच्चाचुच्ची पत्थर,

जथाभाबीसित पल्टिरहेका झार,

फाट्टफुट्ट फुलेका फूल, सबै

सर्वाङ्गसुन्दर भएर रहन्छन् ।

मानिसले एउटै हाँगा काटोस्,

अथवा कतै खनखान गरोस्,

कलमी काटोस, चौतारो बनाओस्,

लहर मिलाईकन रुख लाओस्,

ड्याङड्याङ बनाई

फूलबारी सजाओस्,

सङ्गमरमरको घर उठाओस्,

तर स्वरूपमा विकृति देखिन्छ–देखिन्छ–

एक न एक ठाउँमा पुगी

त्यो बेछाँटिलो हुन्छ–हुन्छ,

प्रकृति नै बिटुली भएझैँ हुन्छ ।

विमानबाट पृथ्वीलाई हेर्दा

ठूला–ठूला नगरीहरू

छालाका उकुच पल्टेका

खटिराजस्तै देखिन्छन्,

लामा–लामा पुल–सडकहरू

काटिएका घाउझैँ देखिन्छन्,

समुद्रमाथि वा भूमिमाथि

बादलका थुम्काहरू

अथवा हिउँका थुप्राहरू नै

मनग्य मनोज्ञ मञ्जुल देखिन्छन् ।

त्यसैले जङ्गली करायो–

तर मानिस सिंगारिदिन छोड्दैनन्,

सौन्दर्यलाई घुम्टोले लपेट्छन्,

फरियाले छोप्छन्, मालाले ढाक्छन्,

अनि स्वादलाइृ कलुषित पार्छन् ।

उसले परतिर देखायो :

गह्रा–गह्रामा

खण्ड–खण्ड सिंढी बनाई

मालामाथि माला खप्टेको

गिरिवर उभिएर रहेको छ,

होचो पर्वत

निहुरेकी पार्वती दुलहीले

धानका झुलेका सुनौला बालाका

घुम्टो ओढिरहेझैँ छ,

गौरीशङ्कर प्रदर्शिनी

हेर्नलाई बनाएको

वरतिर खेती गरिएको त्यस्तै पाटा

यूनानको याम्फिथिएटरझैँ छ ।

जङ्गली त्यहीँ पुगी सबभन्दा अग्लो

ढुङ्गामा उभियो,

गिर्दा लागी सबै बसे !

जङ्गली न्वारानको बल बटुली

सप्तम स्वरले गर्जन लाग्यो !

‘हे मैले, हे झुत्रा, नाङ्गा,

एक चौथाइ पेट भरिएका ,

त्यान्द्रामा प्राण झुण्डिएका,

हे औषधि नपाएका रोगी,

हे अल्सी महाकातर जोगी,

हे अन्धा वीर, चुत्था झगडिया,

छोटो मन भएका हे प्रतिभाशाली,

हे हलुका हावामा उड्ने सिमलका भुवा,

चाँडो भाव चढ्ने अमली,

हे वृथाभिमानी

हे अप्ठयारा,

अनुत्तरदायी

हे विद्याले किचिएका मूर्ख,

हे उदार उच्छृङ्खल,

हे बाँच्न नचाहने, मर्न डराउने

ऐश्वर्यशाली डिङ्गर,

हे आत्मघात गर्न लहसिने

जानी–जानी निर्धा भएका लाछी,

भोलिको हेर्ने–नहेर्ने

हे उपध्र्‍याहा, उद्दण्ड, निरङ्कुश,

हे आङ्खनो जरा आफैँ खन्ने सहज बौलाहा,

हे ईख नभएका सर्प,

हे कापट्यले भरिएका

अन्यायी विषालु डाहाले,

हे छाडाछोडा, लत्ता छोडा,

बुझपचाउने सुन !

तिमीहरूको कानमा म

तातो–तातो तेल खन्याउँछु,

भित्र मनमा जौतिल पाकोस्,

सु्न !

म तिमीहरूलाई मात्रै भन्दिनँ

तिमीद्वारा समस्त नेपालीलाई,

नेपालीद्वारा एशियालीलाई,

एशियालीद्वारा विश्वलाई भन्छु,

यो मेरो शिक्षा होइन ,

पुकार होइन, विलाप सुन !

आगोपानीको झगडामा हामी

अशान्ति मात्रै देख्छौँ,

आगो–आगोमा मृत्यु देख्तछौँ,

पानी–पानीमा मसानको शान्ति,

पानीको रस र आगाको आँचमा

मात्रै जीवन ढुकढुक गर्छ ।

पृथ्वी अगि अग्निपुञ्ज थियो

पछि यो हिउँको ढेलो होला,

तर आगो–पानीको बाँडचुँडमा

मात्रै जीवनको गति घुमिरहला,

अनि आरोग्य–अमृत बहला ।

१८

‘दुई पाटा संसारमा

आगाले पनि सुनौला ज्वाला निकाली

घमण्डले अणु विस्फारित पारी

मनुष्यलाई भस्म नपारोस् !

पानीले पनि जमी–जमीकन

विस्फोटक कीटाणुले रक्त बन्द गरी

मनुष्यलाई शीत नचढाओस् !

हामी

बाँच्न–बचाउन चाहन्छौँ !–

जीवनस्पन्दनको सङ्गीत चाहन्छौँ !

आजसम्मको हाम्रो अपराध हो –

साखिलो भईकन हामीले

व्यक्तिलाई महत्व दियौँ,

मानवजातिलाई दिएनौँ

एकेकोटा लहडीलाई

एक–एकोटा पागललाई

एक–एक स्वप्नदर्शीलाई

लाखौँ–लाखौँ समर्थन गर्दै

नेता बनायौँ, श्रेष्ठ बनायौँ,

पूज्य बनायौँ, ईश्वर बनायौँ,

मानवसमाजका लहलहाउँदा

कोमल भावनालाई,

मधुर माया मीठो ममता

समान मित्रतालाई

मुठारी–मुठारी जम्मा पारी

पागलखानाभित्र हुल्यौँ

हामीले अपराध गर्‍यौँ ।

१९

‘एउटा अत्याचारी पट्ठाको

शारीरिक सौन्दर्य र मांसपेशी देखी,

कसैले पनि भाँच्न नसकेको

मोटो लौरो सहजैसित

उसले भाँचेको देखी,

हात्तिलाई ठोकी–ठोकी उसले वशमा ल्याएको

बिजुलीजस्तै चम्कने घोडा

उसले चढी थकाएको,

दगुर्नामा अनि कुस्तीमा पनि

उही नै मण्डली भएको देखी

उसलाई सरदार बनायौँ,

हामीले अपराध गर्‍यौँ ।

सरदार–सरदारमा युद्ध भयो,

हाम्रा सरदार निर्भय थिए,

उनको विजय भयो,

हामीले सरदारलाई कुममा बोकी उचाल्यौँ,

त्यस महामहोत्सवमा

सरदारको पूजापाठमा

जयले उन्मत्त भएका हामीले

सोमलताको रस पिउँदा

आँखाको बिर्को बन्द गरी

मानवताको हत्या भएको

आङ्खनो चिहान आफैँले खनेको

जनतामा ढिला विष परेको

हेर्दै हेरेनौँ,

देख्तै देखेनौँ,

हामीले अपराध गर्‍यौँ ।

त्यही आतङ्कको बीचमा

एक जनाले मीठो स्वरले

राम्रा–राम्रा लयमा

घतिला कुरा भर्नासाथै

त्यस प्रथम गोठालेगीतमा–

आगो र पानीका ऋचामा

हामी लट्ठ पर्‍यौँ,

भेडाजस्तै हुल्ला बाँधी

त्यसकै पछि पछि लाग्यौँ,

मानवस्वतन्त्रताको बलिदान भएको

मानवअधिकारको हत्या भएको

वास्तै राखेनौँ,

पागलपूजामा

पागल भइकन मुख बिगारी

आँखाको सेतो पल्टाई

रुँदै हाँसी अश्लीलताले

तिघ्रा कम्मरहरू नचाई

उत्तेजक बौलट्टी बाजामा

मुर्दाका कान हल्लने गरी

भजन–कीर्तनहरू करायौँ

हामीले अपराध गर्‍यौँ ।

२०

‘तातेको घिउमा धेरै चोटि

आगामा पनि हामफाल्यौँ

आगाबाट उफ्री फेरी अनाहक

त्यही जलेको घिउमा पर्‍यौँ ।

अब हामी स्वाधीनता ओढेर

स्वतन्त्र–प्रेमले अघाउन चाहन्छौँ,

सिंह र मूसाको विवाह हुँदैन,

मान्छे सब मान्छे जन्माउन सक्छन्

भने कोही नर मूसो भए

समस्त मानिस सिंहै हुन सक्छन् !

हामी सद्व्यवहार–समान व्यवहार चाहन्छौँ,

समान अधिकारमा विकसित भएको

समाज प्रीति चाहन्छौँ,

विभिन्न जातिका पशुदेखि भिन्न

मानिसलाई मानिस ठान्दछौँ,

भूगोललाई साझा देश सम्झन्छौँ

सूर्य चन्द्र तारा जडिएको

फरफर गर्दा दिनरात हुने

नीलो आकाशलाई झण्डा

बादललाई त्यसकै अङ्गमा

तरङ्ग चलिरहेको मान्छौँ ।

हामी हाम्रा कपिल बुद्ध

भृकुटीहरूलाई देखाएर

शेक्सपियर माक्र्स सङ्खफोसित साट्तैनौँ,

पशुपतिको एउटा कुँजेसित

आफालाललाई साट्छौँ

एउटा लाटो हब्सीसित

भानुभक्तलाई साट्छौँ,

अथवा हाम्रालाई अरूको

अरूकालाई हाम्रै सम्झन्छौँ ।

अथवा तिम्रो–हाम्रोलाई

एउटै राम्रो सम्झन्छौँ ।

जस्तै विशिष्ट व्यक्ति भए पनि

त्यो जनजातिको सेवा गर्ला,

आज सल्कला, भोलि निभ्ला,

तर जाति सधैँभरि बलिरहला ।

हामी प्रत्येक व्यक्तिको मुखबाट

जनताको जय चाहन्छौँ !

२१

‘करोडौँ निर्दोष बालकले भन्दा

निर्दोषी भै हाँस्न सक्ने

के कुनै हुर्केको व्यक्ति होला ?’

सारा एकै स्वरले कराए–‘असम्भव !’

जङ्गलीले फेरी भन्यो–

‘निर्दोषी कोही पनि छैन,

हाम्रो आँखाभन्दा स्पष्ट

कल्पनाले नधमिलिएको

संसारमा कुनै दर्शन छ ?

वैज्ञानिक दार्शनिक विश्लेषणले

सर्वज्ञ ठहराएको मानिस

कतै कोही जन्मेको छ ?’

सारा एकै स्वरले कराए–‘छैन !’

जगत्भरका आजसम्मका सङग्रहित

जम्माजम्मी ज्ञानभण्डार

जुनसुकै विद्वद्वरको निमित्त पनि

अगाध र अपार छ !

‘काखको बालक चुँडिँदाको रुवाइ

अथवा दाम्पत्य–आलिङ्गन

च्यातिँदाको मर्मान्तिक एक दुई वाक्य

हामीले प्रत्यक्ष सुनिएका बराबरी

जगत्भरका काव्यजगत्मा

उत्तमोत्तम ठहरिएका

कृत्रिम आलङ्कारीक उक्ति

दाँजामा आउन सकेको

के कुनैले सुनेको छ ?’

सारा एकै भावले कराए –‘छैन !’

जुनसुकै महाकविभन्दा पनि

यस विशाल भुवनको बाव्यजगत्

दाँज्नै नसकिने श्रेष्ठ छ ।

२२

तिम्रा विधान सब फालिदेऊ,

बोक्राहरूले पेट भरुन्,

तिम्रा विश्वास श्वासले उडाऊ,

नीतिशास्त्र भएजति सबै

चूल्होभित्र घुसारेर

भात पकाऊ

तिहुन पकाऊ

अनि बाँडीकन खाऊ,

हाम्रो पेट मात्र होइन,

हाम्रो तन मात्र होइन,

हाम्रो मन मात्र होइन ,

हाम्रो बचन मात्र होइन,

विवेक पनि स्वतन्त्र रहोस् !

मानवताको उच्चतालाई

कुनै व्यक्तिले निहुर्‍याउन नसकोस् !

दस हजार वर्षअगि

भङेरा जतिसम्म सुखी थिए

अहिले पनि ती उस्तै छन् ।

त्यतिभित्र मानिसले सुखसाधन

असङख्य बनाए,

तर सुखसाध्य भने बन्न सकेन,

किनभने

हामीले अपराध गर्‍यौँ

अनधिकार चेष्टा लिने

एउटा–एउटा व्यक्तिले

उसको मनअनुसार गरी

समाजलाई नचाएको

नाच्तै हामीले हेर्‍यौँ,

हामीले अपराध गर्‍यौँ ।

२३

‘अब हाम्रो प्रायश्चित्त–

कसले शासित हुनु नपरोस्,

न शासन कसैले गर्नुपरोस्,

न कतै बार होस्,

न कतै द्वार होस्,

न कसैको जित होस्,

न कसैको हार होस् !

संसारभरका मानिस एक हून्,

पृथ्वी सबैको साझा धन होऊन्

एकको निमित्त सबै होऊन्

सबको निमित्त एक होओस्,

कोही कसैबाट ननाघियोस्,

कुनै सज्जनविशेषले

सेवा गरुञ्जेल सब चुप लागून्,

जब त्यो प्रभुता झिक्न खोज्दछ

त्यसलाई जगत् हाहा गरोस् ।

मानिस जन्मँदा मानिसै हुन्छ,

तर शक्ति र ऐश्वर्यभित्र जिस्किँदा

ऊ बौलाहा पनि बन्छ,

सामाजिक दारिद्रयले

चिमोटिँदा

ऊ राक्षस पनि हुन्छ,

लाखौँ–लाखौँमा एकात्मा

परिस्थितिको अग्निपरीक्षामा

पनि उत्तीर्ण भएर

महामानव अथवा महात्मा

अथवा द्यौता बन्छ,

प्रकृतिनियमको अचम्मको

नियमित आकस्मिकताले

दुई टाउके छ औँले मानिस

जन्मेजस्तै कोही त्यस्तै

काम क्रोध लोभादि गुणको

मात्रा ज्यादै थोरै भएको

जन्मोस् नजन्मोस्,

त्यस्तालाई प्रदर्शित गर्दै

रहस्यवादको दीप उकास्तै

देख तमाशा भन्दै चटक

देखाउने प्रयोजन छैन,–

हामी व्यक्तिगत पूजा चाहन्नौँ,

हामी त्यो आडम्बर चाहन्नौँ,–

हामी बौलाहा चाहन्नौँ,–

हामी राक्षस चाहन्नौँ,

हामी मानिस चाहन्छौँ ।

पथदर्शक मानवप्रेम बनोस् !

चर्चाले सबमा ज्ञान बढोस् !

यसको लागि समाज योग्य होस्,

सत्य र दृढप्रतिज्ञ बनोस् !

केवल देखिदिए पुग्छ,

सधैँ देखिरहने आँखालाई अझ अलिकति उघारेर

केवल हेरिदिए पुग्छ,–

परार्थतामा परार्थता हेरोस् !

यसको निम्ति बलिदान हुने

स्वभाव प्रत्येकले लेओस् !

यो गराई छोड्नालाई

मरिमेट्ने मरिमेटिने

प्रेमोद्गार सबमा उब्जोस् !

कुलत फालिदिए यो हुन्छ,

हामी तपस्या चाहन्नौँ !

कुशिक्षा नाश भए यो हुन्छ,

हामी शिक्षा बरु चाहन्नौँ !

अन्धकार हटिदिए पुग्छ,

हामी सूर्य बरु चाहन्नौँ

यो भावना लामो बिरामी होला,

तर मर्न कहिल्यै सक्तैन,

आज कठिन झैँ देखिन्छ तापनि

मानसमेघ सब पन्छिएको

निर्मल आकाशसमानको

एकताको आधारमा

एक दिन हामी सफल हुन्छौँ,

संसार त्यतैतिर गइरहेछ ।

हामी सङ्ग्रामसित त्यति डराउँदैनौँ

जति अधीनतासित डराउँछौँ !

हामी मृत्युसित डराउँदैनौँ,

हामी बन्धनसित डराउँछौँ ।

त्यही मानवता ल्याउनालाई

मानव उठीकन अग्नि बनोस्,

मानवताको पालनलाई

मानव बसीकन पानी बनोस् !

आगाले निभी पानीले ताती

एक दिन अवश्य मिल्नैपर्छ,

गिर्नेले उभिई उठ्नेले झुकी

परस्पर म्वाइँ साट्नैपर्छ,

दुई दिनपछि गाल्नुपर्ने अभिमान

आज सम्मानमा ढाल्नैपर्छ !

श्रद्धा भक्ति दया ज्ञानको

आमुल सत्यनाश भएको

केवल मात्र प्रेमको राज

भएको हामी चाहन्छौँ !–

भने आज आत्मसाक्षी राखी

प्रतिज्ञा सबले गर्नै पर्छ !’

सारा तारस्वरले चिच्याए–

‘हामी प्रतिज्ञा गर्छौँ !’

जङ्गली सरासर लम्केर गयो,

लाम्पुछ्रे ताराका पुच्छरझैँ

केही मानिस उसको पछि लागे

तर कसैले उसलाई भेटेनन् ।

हिमालयले रगत सोहोरी

शरीर सब रातै पार्‍यो,

चन्द्रमाले जून

खत्याई–खत्याई त्यो धोइदियो,

ताराहरूले माला गाँथी

आकाशमा झुण्डयाइदिए,

त्यसमा आङ्खनो शिर छिराई

वायु सुगन्धित स्वच्छ बन्यो ।


समाप्त


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *