पुस्तक-अंश : सुकुमारी भोटिनी झ्याइँ पार

~रामकुमार एलन~

बिहानै स्याउलीबजार नजिकको नर्कटघारीमा चराहरू कल्याङकुलुङ गर्दै लाखापाखा हुन्छन्। नजिकैको भरेङ धारामा नुहाउन जाने पनि कम हुन्नन्।

गाउँबाट बजार जानेको उस्तै हल्लीखल्ली हुन्छ। गाउँमा धारा सुकेको हल्लाखल्ला हुन्छ, यस्तै त छ स्याउलीबाङ दैनन्दिनी। कहाँ फेरिएको छ र गाउँ। गाउँका दृश्यहरू एकपटक नियाल्यो पिचुरले बार्दलीबाट। उसले परसम्म आँखा पुर्‍यायो। केराबारीमाथिका सबै वन सखाप भएछन्। मुक्तान माइलाको घरमाथि उस्तै पहिरो गएको छ। डाँडामा जम्माजम्मी ६ वटा जति रूख छन्।

त्यो पनि सीधा नभएर बाँकी बसेका जस्ता। गाउँमा घरहरू फेरिएछन्। केही घरमात्र अब खरका छाना छन्। सबै एपोलो कर्कटपातामा गएछन्। बिहान घाम नलाग्दै गाउँका छाना टल्किएका। अनि बाटा ठूला भएछन्। गाउँमा घरहरू थपिएका छन्। नथपिउन् कसरी। सबका छोरा विदेशमा छन्। अनि घरमा भएका बुहारीहरू आफैँ छुट्टिएर बसेका छन्। बुढेसकालमा सासुससुरा पालेर को बस्ने? बुढालाई फोन गर्ने, अलिपर छुट्टै घर बनाउने र छुट्टिने कामले घर बढेका छन्।
गाउँको चारैतिर हेरेर पिचुर मनमनै मख्ख पर्‍यो। उसलाई कतिपटक त आज अन्तिम सास भएको लाग्थ्यो युद्धमा। कानका छेउबाट धेरैपटक छर्रा र गोलीका टुक्रा उछिट्टिएर गएका थिए। कतिपटक भाग्ने क्रममा भीरमा हाम्फाल्दा मन चिसो हुन्थ्यो। टेक्ने हाँगो र समाउने लहरा भेटिन्थेन। फेरि पनि बाँचेको थियो केटो। जीवन यस्तै त हो भनेर लौ यति नै रहेछ भनेर धेरै पटक उसले अन्तिम सासको महसुस गरेको थियो। सँगैका साथीहरूले माटो खाए।

कोही झुरझुरेमा खरानी भए। कोही भिमानमा सिद्धिए। उसले पनि धेरैपटक जीवन सकिएको महसुस गर्दै अब गाउँ, आमा, परिवार र म्हेन्दोलाई सम्झँदै मलाइ माफ गर भनेर आँखा चिम्लिएको थियो। तर पनि ऊ बाँचेको थियो।

‘लौ चिया,’ म्हेन्दोले बार्दलीमै स्टिलका गिलासमा चिया ल्याएर दिइन्। उ एकोहोरो बोली, ‘पानी पनि ल्याइदिउँ कि?’ पिचुर केही बोलेन। हेरिरह्यो। म्हेन्दो पनि थप बोलिन। एक छेउमा चुप लागेर बसी। पिचुरलाई कताकता काउकुती लाग्यो। उसले केही नबोली चिया पिउन थाल्यो। म्हेन्दोलाई हेरेर चिया पिउँदा उसले ख्यालै गरेन, जिभ्रो पोलेपछि ‘आत्था’ भन्दै चिया थुक्यो। म्हेन्दो हाँस्दै तल झरी। पिचुर पनि हाँसिरह्यो।

लामो समयपछि फेरि पिचुर र म्हेन्दोको आँखा एक भए। टाढैबाट भएपनि पिचुरले म्हेन्दोलाई नियाल्यो र आफ्नो प्राण भेटिएकोमा गम्कियो। उसलाई युद्धमा कयौँपटक भएको ऐठन सम्भि्कयो। ऊ म्हेन्दोका लागि कति तडि्पन्थ्यो त्यतिखेर पनि। जीवनको पहिलो प्रेम थियो। अगाध प्रेमको त्यो न्यानो आलिंगनबाट प्रेमीका टाढा हुँदाको छटपटाहटको ऊ राम्रो भुक्तभोगी थियो।

जब उसलाई सहकारी दिदीले म्हेन्दो बेचिएको बताएकी थिइन्। त्यसपछि ऊ झन प्रेमीकालाई पर्दा साथ दिन सकिएन, उल्टै मुलुक फेर्छु भनेर घर छाडेर हिँडिएको छ भन्नेसम्म परेको थियो। हो, उ आफ्नो प्राण मान्थ्यो म्हेन्दोलाई। मनैदेखि सन्तोषको सास फेर्दै गम्लंग अंगालोमा बाँध्न चाहन्छ म्हेन्दोलाई। तर के मिलेको छैन, वरपर आउँदा उसले छुनसम्म सकेको छैन।

ऊ सम्भि्कन्छ, युद्धकालमा साथीभाइबीच मजाक गरिएको छ। साथीहरू सुनाउँथे, ‘नेपाली कलाकारहरू कथाले मागेजति दिन्छन् रे। कथाले माग्दा त दिनेहरूले मान्छेले माग्दा कति देलान्?’ उ सम्भि्कन्छ, ‘हो, म्हेन्दोलाई गम्लंग अंगालो हालेर आलिंगनमा बाँध्दै यत्रो दिन कसरी बितायौ मैच्याङ भन्नलाई कथाले दिइरहेको छैन।’ तल आमाबुबा छन्। बहिनी आँगन बढार्दैछिन्। बार्दलीमै कथाले माग्दा वरपरकाले पनि देख्छन्। यतिखेर कथाले मागे पनि ‘कट’ भन्नु परेको छ। कलाकारले जसरी हतारिएर दिइहाल्नु पनि हुन्न।

म्हेन्दो सुँक्कसुँक्क गर्न थालिन्। ऊ रूँदै आइ र पिचुर बसेको खाटमै पल्टी। घरमा सबै खाना खाएर लाखापाखा भएका थिए। पिचुर जनादेश साप्ताहिक पढ्दै थियो। पार्टीको आधिकारिक दस्तावेज भएकाले उसको सिरानीमै हुन्थ्यो जनादेश। म्हेन्दोले मौका छोपिन् र आएर रोइन्।
‘किन रोएको’, पिचुरले सोध्यो।

म्हेन्दो झन भक्कानिएर रोइन्। पिचुरले निधारमा हात लग्यो। बिस्तारै उसका आँखाका डिलबाट खस्दै गरेका मोती दाना सुम्सुम्यायो र नरून भन्यो। तर म्हेन्दोको आँशु थामिएन। यस्तो लाग्छ, आज उसले रोएर नै यतिन्जेलका पीडाहरू बगाउनु पर्छ। पीडाको आहालबाट मुक्त भएर पवित्र मायासँग उसले आज समीपमा हुनुपर्छ। ती सबै काला दिनहरू, नारकीय रातहरू र पाशविक यातनाहरू अब बिस्मृतिमा पनि आउनु हुन्न। अब उमात्र पिचुरको हुनुपर्छ। त्यसका लागि उसले अतीत आजै बिर्सनु पर्छ। पवित्र हुनुपर्छ रोएर। सायद मनमा यस्तै तर्कना खेल्दै म्हेन्दो डाँको नै छाडेर रून थाली। पिचुर धैर्यमा रहन सकेन। उसले च्याप्प समातेर आलिंगन गर्‍यो। खोकिलामा म्हेन्दोलाई राख्यो र उसका आँखाका आँशु चुम्न थाल्यो।

म्हेन्दोले झन च्याप्प समात्यो पिचुरलाई र अनुहार नै कुच्याउँदै रोयो। उसले पिचुरलाई गालामा, ओठमा चुम्यो। रूँदै भन्यो, ‘म बर्बाद भएँ, तिम्रा लागि चोखो रहन सकिनँ, मलाई… मलाई माफ गर।’ पिचुर अक्कबक्क न पर्‍यो। उसले दुवै हातले म्हेन्दोका आँशु पुछ्दै नरोऊ भनेर नाक तानिदियो। म्हेन्दो हाँस्न खोजी फिस्स। तर आँशुका भल बगिरहे। म्हेन्दो पिचुरको काखमै सुतिदियो। सलले आँशु पुछ्न लागी। के सोची कुनि, पिचुरको सर्टको कलर तानेर आँशु पुछी। पिचुरले कपाल चलाउन थाल्यो।

फेरि नाक तान्दै भन्यो, ‘नरोऊ न।’ उसले आँखाका परेलीहरू सुम्सुम्यायो। आँशु पुछ्दै अनुहारभरि हात रगड्यो। उसलाई म्हेन्दोको तातोले गाल्दै थियो। भित्रभित्रै पगाल्दै थियो। अखबारमा पढेका र जनसेनामा लुकिलुकी हेरेका फिल्ममा झैँ ओठ नै चुसेर किस गर्न मन लाग्दै थियो। समय, स्थान, पात्रले साथ दिए पनि उ सकिरहेको थिएन। आखिर काखमा नै लडिसकेपछि अरू केही धैर्य गरे त सबै भइहाल्छ। उ अनुहारभरि हात चलाइरह्यो।

‘म त वेश्यालयमा बेचिएँ नि,’ म्हेन्दोले भनिन्, ‘तिम्रो हुन सक्दिनँ, सरी लगु।’

पिचुरले के भनेको त्यसो? भन्दै म्हेन्दोको हात समायो। उसले औँलाहरू चलायो। म्हेन्दो केहीबेर बोलिन। उसले पनि पिचुरको हत्केलामा हत्केला मिलायो।

पिचुरलाई काउकुती लाग्यो। उसले म्हेन्दोलाई नै हात दिएर एकनासले हेरिरह्यो।

‘अब एउटा केटी खोजेर बिहे गर ल,’ म्हेन्दोले एकाएक नयाँ प्रसंग जोडिन्।

‘के भनेको? किन?,’ पिचुर तनक्क तन्किएर दुईवटा प्रश्न सोध्यो।

‘जीवन यस्तै हो लगु, मन परेका सबै आफ्ना हुन सक्दैनन्,’ उनीले भनिन्, ‘म त बेचिएकी केटी, तिमी कहाँको सुकुमार।’

छातिमा टाँसिएर म्हेन्दोले भनिन्, ‘मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ।’ तिमीले पनि अब जुनी काट्ने एउटा सुकुमारी भोटिनी खोजेर झ्याइँ पार र मलाई बिर्स। म त सक्दिनँ होला बिर्सन। त्यसैले तिमी र तिम्रो गाउँबाट टाढा हुन्छु। उनीले भनिन्, ‘आज धोको पुग्नेगरी तिम्रो काख र अँगालोमा बस्न देऊ ल?’ उसले पिचुरको गालामा हल्का किस गरिन्। पिचुरसँगै टाँसिइन्।

‘ल, तिम्रो पढ्ने पत्रिका पनि मेरा आँशुले भिजेछ,’ जनादेश साप्ताहिक तान्दै म्हेन्दोले भनिन्, ‘अब यो पत्रिका पढ्दा पनि तिमीलाई म याद आउने भएँ, छाडिदेऊ पढ्नलाई।’ म्हेन्दोका निर्दोष कुरामा पिचुरको प्रतिक्रिया थिएन।

‘तिमीलाई बेच्ने चैँ को’, पिचुरले सीधै प्रश्न गर्‍यो।

‘ङाला खेप्पा (मेरो बूढा),’ यसपटक म्हेन्दोले तामाङ भाषामा बोलिन्।

‘थेला मिन ता (त्यसको नाम के हो?),’ पिचुरले पनि तामाङ भाषा बिर्सेको थिएन। जातीय हकअधिकार, मौलिक पहिचानका लागि खस राज्यको एकलौटी हटाउन त जनयुद्ध लडेको। पछिल्लोपटक क्रान्तिकारी प्रचण्डपथ पक्षधरहरूले सोझा तामाङहरूलाई यसरी नै हिँडाएका थिए जनयुद्धमा।

‘मलाई सब थाहा छ, तिमी कसरी बेचियौ? कति दुख पायौ, भारतमा हुँदा मेरो कति याद गर्‍यौ, अनि नेपाल आएपछि के के गर्‍यौ,’ पिचुरले एकैपटक सब कुरा भन्यो।

म्हेन्दो पुलकित हुँदै पिचुरलाई हेरिरहिन्। उसले पिचुरको हात चलाइरहेको थियो। उसलाई कताकता पिचुरका हात समाउँदा पनि अनौठो आनन्द आइरहेको थियो।

‘एदा हाल्जे पाङ्जी (तिमीलाई कसले भनेको?),’ पिचुरको हात उठाएर किस गर्दै म्हेन्दोले सोधिन्।

‘सहकारी नानाजे, हाँडिखोलाला (हाँडिखोलाको सहकारी नानीले),’ पिचुरले भन्यो।

म्हेन्दो जुरूक्क उठिन् र पिचुरको काखमा बसिन्। उसले दुईवटै खुट्टा पिचुरको दाँयादाँयातिरबाट छिराइ। अनि दुई हातले पिचुरको घाँटीमा समात्दै पिचुरको आमनेसामने भइन्। अब दुई अनुहार आमनेसामने भए। आँखा आँखासँग, ओठ ओठसँग समीप भए। निधारमा निधारमा जोडिन थाल्यो। बस ओठमा ओठ जोडिन सकेको थिएन। बीचमा उठेका दुई थेप्चा नाक जुधिरहेका थिए।

(बिएन पुस्तक संसारबाट माघको तेस्रो साता बजारमा आउन लागेको उपन्यास ‘स्याउली सिम्फोनी’ को अंश।)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक अंश and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.