कथा : पुस्तक

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याधि फिंजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा पगें । साथमा कुइनेन, क्लोरोडाइन, पोटाश पर्मेगनेट इत्यादि औषधि थिए ।

बनारसबाट हिंड्दा हामीहरूले सारा प्लान छलफल गरिसकेका थियौं । एउटा इलाकामा पुगेर त्यहाँका गाउँ-गाउँमा गई औषधि बाँड्ने प्रत्येकले आफूलाई चाहिने कुरा लिएर हिंड्नुपर्थ्यो । मैले औषधि त लिएँ लिएँ झूल पनि बोकें, तर दुर्भाग्यवश पुस्तक लिन बिर्सेछु ।

इलाकाको इलाका पानीमा थियो । पानीबाट माथि उठेका झारहरूमा फट्याङ्ग्रा, कमिला र अरू साना-साना कीराले आश्रय लिएका थिए । एक‍-दुई नडुबेका अग्ला ठाउँमा लोग्नेमानिस, स्वास्नीमानिस, बालकबालिकाहरू कमिलैसरह स्याउँस्याउँती थिए । रोग र भोकले व्याकुल ती किसानहरू उभिन नसकेर त्यसै जथाभाबी लडिरहेका थिए – चितामा सुतेका जस्ता । तिनीहरूमध्ये कतिले सुत्तासुत्तै अन्तिम सास फेरिसकेका थिए, तर नजिकै टाँसिएर सुतेका अरू अझै बाँचिरहेकालाई यो कुरा थाहै थिएन । एउटा बान्ता गर्दागर्दै पानी नेर मुन्टो गाडेर पछारियो । बेला-बेलामा मर्नुभन्दा पहिले निर्धक्क भएर चिच्याएको कुकुरजस्तो क्रन्दन सुनिन्थ्यो । यो त मैले त्यो ठाउँको वर्णन गरें जुन ठाउँ बाढीको सबभन्दा ठूलो प्रकोपमा परेकि थियो । सरकारी विज्ञप्तिमा यो ठाउँमा प्राय: १०,००० मान्छे मरेको सूचना थियो ।

हामीहरूले यसैलाई आफ्नो क्षेत्र छान्यौं । यै ठाउँमा कम्मर कसेर काममा लाग्यौं । हाम्रो मुख्यो काम थियो मरिसकेको संस्कारको प्रबन्ध गर्नु, बाँचेकाको पेटमा अन्न पार्नु र रोगीलाई औषधि र पथ्य दिनु । मरिसकेकालाई हामीले छुट्ट्यायौं । बाँचेका मध्ये पनि रोगी र निरोगीलाई छुट्ट्यायौं । नजिकैको गाउँसम्म बोकेर लैजान सक्नेलाई बोकेर पुर्यायौं र वहीं उसको खाने र औषधिको प्रबन्ध गर्यौं । अरूलाई त्यहीं बाँधमै खानेकुराहरू पुर्याउन थाल्यौं । धेरैलाई यसरी बचायौं भन्ने विश्वासले हामी दिन-रात केही नमानेर भोक-तिर्खाको वास्ता नगरेर मिहिनेत गरिरह्यौं ।

बिस्तार-बिस्तार त्यस ढिस्काबाट अन्तिम मान्छेलाई लग्यौं । बाढी पनि कम हुँदै गयो । पानीमा तीव्रता थिएन, थाकेर नजानिंदो हिंडाइले बगिरहेको थियो । पहिले गरेको उत्पातलाई बिर्सन सक्यौं भने अहिलेको पानीको दृश्य रमाइलो नै थियो – कुनै ताल जस्तो । हामीहरूको काम पनि सिद्धियो, हाम्रो जाने बखत भयो । यत्रो मिचामिचमछि अहिलेको शान्तिले हामीलाई उद्वग्न पार्यो । केही काम थिएन । काम नपाएर बस्ता असाध्य गाह्रो हुँदो रहेछ । मेरा साथीहरू धेरै फर्किसकेका थीए । अरू चाहिं अरू-अरू गाउँमा छापछाप्ती थिए ।

म अहिले एक्लै यो सानो गाउँमा थिएँ । दुई-तीन दिनमा सारा साथीहरू यहीं भेला हुन्छन्, अनि सँगसँगै फर्कने निश्वय भएको थियो । म काम नपाएर त्यसै बसिरहेको थिएँ । गाउँमा एक प्रकारको शान्ति हुन्छ जसले हामी जस्ता शहरियाहरूको मस्तिष्कमा र हृदयमा गह्रौं भएर थिच्छ । एउटा चरो यताउति यो हाँगोदेखि उ हाँगो गरिरहेको थियो । यसले एकान्तको भीषणता झन् थपिदिन्थ्यो ।

म एउटा बूढो खेतालाको अतिथि थिएँ । जामुनाको बोटमनि डोरीको खाट हालेको थियो, त्यसैमा पल्टेर म दिन काट्ने प्रयत्न गरिरहेको थिएँ । आफ्नो कृतज्ञता प्रकट गर्न त्यो बूढो उठ्यो र हात जोड्यो र उभिरह्यो ।

“मैले केही गर्न सकिनँ,” – भनेर त्यो आएर ठिङ्ग उभियो । “बाढीले भएका गाईबस्तुहरू बगाएर लग्यो । दूधदही केही छैन ।”

मैले त्यसको सोझो आतिथ्यले गद्गद भएर भनें,‍- “बुढा, तिमीले मलाई आफ्नो आतिथ्यले सधैंको निम्ति ऋणी पार्यौ । मलाई सबै कुरा पुगेको छ ।”

त्यो बुढो किन मान्थ्यो – “यो गाउँ त्यति गरिब त होइन, बाबु ! यो बाढीले सब कुरा बगाएर लग्यो, नत्र कसैलाई एक पेट खान र आए-गएकालाई खुवाउन पुगेको थियो । मैरै दूध दिने दुइटा गाई बगेर गए । मलाई आफूलाई के चाहिएको थियो र, बुढो भएँ, मर्ने बखत भयो । आए-गएकालाई गर्न नसक्ता दु:ख हुन्छ । ऊ छँदा सह थियो, त्यो पनि मरेर गई ।”

बूढो चुप्प लाग्यो । मैले कुहिनाले टेकेर यसो आफ्नो टाउको उठाएर त्यसलाई हेरिरहें । त्यो बूढो बिस्तारै आफ्नो छाप्रोपट्टि लाग्यो औ एकछिनपछि छाप्राका दैलामा आएर बस्यो ।

म फेरि उँधोमुन्टो लाएर जामुनाका पात गन्न थालें । अल्छी लागिरहेको थियो । हाई-हाई आउँथ्यो । आज बेलुकासम्म एक‍-दुई साथी आइपुग्छन् क्यारे । टाढासम्म जहाँ दृष्टि पुग्थ्यो एकनास पानी थियो । सूर्यको प्रकाश त्यसमा टलमल टलमल गरिरहेको थियो, असाध्य पटाइलाग्दो । मैले पुस्तक ल्याउन बिर्सेछु, नत्र समय सजिलैसँग काटिन्थ्यो । कहिलेकाहीं घरको सम्झना हुन्छ । त्यो बूढो एक्लै छाप्रोको दैलैनेर टुक्रुक्क बसेर एकनासले एकातिर हेरिरहेको थियो । मेरो बानी जहाँ हिंड्दा पनि एक-दुई पुस्तक बोक्ने छ । यसपाला बिर्सेछु । रोम्याँ रोलाँको जीन क्राइस्टोफर पढ्ने इच्छा थियो । एक-दुई अध्याय पढि पनि सकेको थिएँ । आजकाल त्यो पुस्तकको खूप नाम छ । पुस्तक सम्झेर म झन् छटपट गर्न थालें । अब झन् समय बिताउन गाह्रो भयो । कुनै पुस्तक भए पनि यसो अक्षर हेरेर समय काट्दो हुँ । यहाँ मूर्ख देहातमा के पुस्तक पाइन्थ्यो । म कहिले उठ्थें, कहिले बस्थें र कहिले निश्चल भएर सुत्थें । बूढाले धेरै बेरसम्म मलाई हेरिरह्यो । मेरो छटपटी थाहा पाएर त्यो फेरि मनेर आयो र उभियो ।

मैले भनें- “बूढा, कसरी दिन काट्ने ?”

बूढाले भन्यो – “खोइ केही काम छैन । डुल्न जाऊँ भने चारैतिर पानी नै पानी छ, नत्र यहाँ डुल्न त खूब रमाइलो ठाउँ थियो । उ: त्यो सल्लाको रूखनेर पोखरी थियो ।”

मैले भनें – “पुस्तक भए पनि बसी-बसी पढिरहने थिएँ ।”

बूढाको अनुहार उज्यालो भयो – “एउटा पोस्तक त मसँग छ । हरिहरले मर्ने साल कहाँबाट लिएर आएको थियो ।”

त्यो पुस्तक लिन छाप्रोभित्र पस्यो । मेरो अलिक उत्साह बढ्यो । राम्रो पुस्तकको त मैले आशा नै गरेको थिइन, तर कुनै साधारण कथाको पुस्तक भए पनि अक्षर त हेर्न पाइन्थ्यो । साँझसम्म कोही साथी पनि आइपुग्लान् ।

कालो ध्वाँसो लागेको पुस्तकाकारको एउटा कुरो लिएर त्यो बूढो मनेर आयो । मलाई त्यो कुरो दिंदै भन्न थाल्यो – “हरिहर, मेरो छोरोले मर्ने साल यो लिएर आएको थियो । त्यो बडो बाठो थियो । पुस्तक पढ्थ्यो । जैले पनि यसैलाई हेरिरहन्थ्यो । मलाई त्यसको धेरै आशा थियो । दैवले चटक्क चुँडेर लगे । मैले त्यसको मायाले यसलाई छानामा घुसारी राखेको थिएँ । आज छोराले ल्याएको काम लाग्यो ।”

बूढाले हात जोरेर भनिरह्यो । म मुन्टो गाडेर त्यसले ल्याएको पुस्तकलाई हेरिरहेको थिएँ । डाक्टर एस. के. बर्म्मन (डाबर) को १९२६ सालको सूचीपत्र थियो । दमका निमित्त श्वासारि, मलेरियाको निमित्त जूडीताप ….।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.