कथा : दोषी चश्मा

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चश्मा लिनें विचारमा थिए, तर अझै अनुकूल परेको थिएन ।

तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैंको जस्तो चाकरीमा गएका थिए, तर ५ बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिंदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइसँगै छुट्टिएका, बाटो बिराएका, एक-दुई बादलका टुक्रा आकाशमा रँगमगिंदै थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे । अरु दिन भएको भए जर्साबका चाकरी नपाउँदा तिनी कति दु:खित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैँसी हो कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चश्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो बिचारले तिनलाई धेरै बेर चिन्तित पारेन त्यसै बखतमा पछिल्तिरबाट ‘भों, भों’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चश्माको घेरालाई देव्रे हातको बुढी र चोर औंलाले समातेर उनले मोटरको नम्बर-प्लेटलाई गौर गरे । “धत्, यो चश्माले ठ्याम्मै काम नचल्ने भयो ।” मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हतपताउँदै स्वस्ति गरे । चश्माले यँहा पनि धोका दियो ।

“चश्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथें, चाकरी पुग्थ्यो ।” केशवराज हतोत्साह भए । धेरै दिनदेखी आँखा जँचाई नयाँ चश्मा लिने उनले विचार गरेका थिए; कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्व तिनले आजै बुझे । चश्मा नफेरी त तिनलाई धेरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन ।

तिनलाई मर्का पर्ने त एउटा अर्को कुरो छ । जर्साबले तिनलाई निश्चय नजर भयो होला । तिनी ठिङ्ग मोटरतिर फर्किरहे, स्वस्ति गरेनन् । यो नटेरेको हुन्छ । उहाँबाट नटेरेकै हो भन्ने ठानिबक्स्यो होला । यतिका दिन चाकरी गर्दा पनि केही बन्दोबस्त जर्साबबाट नहुँदा केशवराजले यस्ता जर्साबलाई के टेर्नु भनेर नटेरेको भन्ने जर्साबका मनमा पर्‍योहोला । ठूला मानिसहरु इज्जतका कुरामा बडा इखालु हुन्छन् र पछिसम्म सम्झिरहन्छन् । केशवराजलाई बडो गाह्रो पर्‍यो । तिनका सारा आशा-भरोसा मौसूफ जर्साब होइबक्सन्थ्यो र उहाँले यस्तो भूल धारणा मनमा लिइबक्स्यो भने त तिनको बासै उठ्यो ।

यसरी यो कुरा विचार गर्दै तिनी घर पुगे । साँझ झमक्क परिसकेको थियो । घर पुग्दा तिनलाई रीस उठ्न थालिसकेको थियो । सबभन्दा पहिले त तिनको रीस चश्मामाथि खनियो, “यो ठाँडो………।” त्यसपछि आफूमाथि खनियो, “यो मूर्ख, काम पहिले बिगारेपछि आँखा देख्ने……… दैलो देख्यो………।” कोठामा पुगेर लुगा फुकाल्न थाले । टिमिक्क परेको सुरुवाल तिनको गोडाबाट हतपत निस्कन खोजेन, त्यसमा तिनको क्रोधको झन् मात्रा बढ्यो र जब सुने भातमा केही बिलम्ब छ, तिनको क्रोधको सीमा रहेन । उर्लदै फलाक्दै तिनी बुइगलमा पुगे, जहाँ दिउँसो राम्ररी नहेरेर किनेको चिसो दाउरालाई फू फू गरी बाल्ने प्रयत्नमा तिनकी धर्मपत्नी लागेकी थिइन् । “जैरी, बडी सिपालु म छु आफुलाई भन्छे, घमन्ड छ यसलाई, आफ्नो पोइलाई टायममा भातसम्म खुवाउन पनि सक्तिन । ए मोरी, के गरिरहेकी थिइस् यतिका बेर ? दुई घडी रात गएपछि चूल्हो फुक्न लागिरहिछस् ? काममा बाहिर गयो, लखतरान भइ घर फर्क्यो र अब गाँस टिप्न पाइएला भन्यो त यहाँ……।” र अरु के के फलाकिरहे । यो अचानकको क्रोध देखेर तिनकी स्त्री डराउनुको सट्टा छक्क परिन् ।

भात खाएर सुत्दा तिनलाई निद्रा परेन । रातभरी “अहँ अहँ” गर्दै बिछ्यौनामा छटपटाइरहे । तिनबाट निस्चय नै ठुलो अपराध भएको छ ! आफ्ना अन्नदाता अगाडि देखिनु, आफूले नटेरेर अभिवादनसम्म पनि नगर्नु, यो त निमकहराम हो, एउटा पाप पनि हो र केशवराजले आफ्नो त चित्त बुझाए । तिनले जानी-जानीकन नटेरेको होइन । हृदय तिनको पवित्र छ, अन्धोले देखेन भनेर कसैले रिसाउनु हुन्छ ? तिनको यसमा केही अपराध छैन । केवल एउटा सानो बिराम छ–पहिले नै चश्मा नसाट्नु, यध्यपि तिनको केही अपराध छैन तर जर्साबको दिलमा त नराम्रो पर्‍यो होला । जर्साबको मनमा मैले नटेरेको भन्ने भावना त पर्न दिनु हुँदैन । केशवराजले त्यो भूल निवारण गर्ने कुनै युक्ति देखेनन् ।

ननिदाएर छट्पटाएका देखेर तिनकी पत्नीले सोधिन्- “किन निद्रा परेन ? केको दु:ख छ ? मर्जी होस् न ।” पहिले त केशवराजलाई यो प्रश्नमा रीस उठ्यो, काम न काज सबै कुरो जान्न खोज्छे र आफ्नो क्रोध काबुमा राखेर केवल “केही होइन” भन्ने मात्र उत्तर दिए । दुलहीबाट यो कुराको बिषयमा केही सल्लाह मिल्न सक्छ भन्ने तिनलाई आशा नै थिएन- यो यत्रो ठूलो कुरा ! त्यसो हुनाले दुलहीलाई केही भन्न उनलाई मन लागेन । तर दुलहीले ढिपी गर्दा त्यो विशेष घटनालाई नभनेर गोल बोलीमा कुरा गरे- “मबाट एउटा कसूर भयो । एउटा ठूलो मानिसलाई मैले नटेरेको जस्तो गरेँ । अब के उपाय गर्ने ? तिनी रिसाए भने त बडो बरबाद भयो ।”

केशवराज आत्तिएका थिए । दुलहीले सजिलैसँग उत्तर दिइन्- “गएर माफी माग्नुहवस् न ! भैहाल्छ नि ।”

यो युक्ति तिनलाई पनि मन पर्‍यो र भोली बिहान गई माफी माग्ने निश्चय गरे । अब त तिनलाई निद्रा चाहिएन, तर कहिले बिहान होला भन्ने ध्याउन्नले तिनले बाँकी रहेको रात उपयोगमा ल्यउन सकेनन् र झिसमिसेमै उठेर लुगा लाएर जान तयार परे । केवल घडीले अवेर गरिदियो ।

अझै आठ बज्न तीन घण्टा बाँकी छ । आठ नबजी जर्साबको तल सवेरी हुँदैन । चाकरीवाजको टायमै त्यही हो । पर्खदा पर्खदा तिनले सम्झे । आफ्नो घरमा पर्खनुभन्दा त ढोका नै कुर्नु असल हो नि भनेर छ बजे तिनी जर्साबकहाँ जान भनी हिंडे । साइत नपरेको होइन-खर्पनभरी दहीका कहतरा देखिए, काम सिद्ध हुने भयो ।

दुई घण्टा ढोका कुरेपछि बिस्तार चाकरीवाज आउन थाले र दरवारको अघिल्तिरको चौर मान्छेले भरियो । निन्याउरो मुख लाएर केशवराज छुट्टै बसेका थिए । छुट्टै बस्नाको उनको महान् उद्देश्य के थियो भने घुइँचोमा कसलाई नजर हुन्छ कसलाई हुँदैन, थाहा पाइँदैन, राम्रो चाकरी पाइन्छ र एकान्तको मौका पर्‍यो भने माफीको कुरा पनि बिन्ती गर्न पाइन्छ ।

पर्खालभित्रबाट घोडाको टापको संगीत सुन्न भनी उत्सुक भैरहेका केशवराजका कानमा जर्साबको क्रुद्ध-वाणी पर्‍यो ।

कुन्नी के काम बिगार्दा जर्साब सइसमाथि रिसानी भैरहेको थियो । उहाँको शान्त स्वभावका विषयमा सबैको एकमत छ, उहाँले रिसाएको कसैले देखेको छैन । आज किन रिसानी भयो त ? उहाँको क्रोध शब्दका रुपमा पर्खाल छेडी बाहिरसम्म आइरहेको थियो ।

केशवराजले उहाँको रीस थाहा पाए । हिजोको कुराले उहाँलाई निकै चोट परेछ । चोट पर्ने कुरै थियो । ठूला मानिसको अहङ्कारमा धक्का दिनु तिनिहरुको सबभन्दा कोमल स्थानमा स्पर्श गर्नु हो । सहन सक्तैनन् । अहँ, यो क्रुद्ध अवस्थामा केशवराजले माफी माग्नु उचित छैन । कहिं क्रोधको धारा आफ्नै टाउकोमाथि बग्न गयो भने ? केशवराज घरतिर फर्के ।

बाटामा तिनमाथि नाताकतको दौडाहा भयो । हिजो राती भात पनि राम्ररी खाएका थिएनन्; निद्रा ता पटक्क लागेको थिएन र आफ्ना विरामका विषयको कुरा मनमा खेलाउँदा तिनी बिरामीजस्ता भए । एक डेग हिंड्दा पनि तिनको दम फुल्न थाल्यो । आफ्नो यो अवस्था देखेर उनलाई आफूमाथि दया लाग्न थाल्यो औ नबुझेर सानो कुरामा रिसाउने जर्साबसँग रीस उठ्न थाल्यो । “मेरो कुन ठुलो अपराध हो र ? चश्माले भेट्टाएन, चिन्न सकिनँ, तेसो हुनाले स्वस्ति गरिन । सधैं त विहान बेलुका गई ढोका कुरी बसिहालेको छु नि । मेरो मनसुवा उहाँलाई नटेर्ने भएको भए यसरी किन चाकरी गर्थेँ ? त्यती पनि त बुझिदिनुपर्छ । उहाँबाट बिनाकारण ममाथि रिसानी हुन्छ भने के लाग्यो मलाई पनि खाँचो छैन । आफुले मर्नु हुँदैन ।” तर घर पुग्दा नपुग्दै तिनको यो विचार हरायो र पहिलेकै विचार मनमा आउन थाल्यो । “जसले चाकरीकै भरमा दुई साँझ गाँस टिप्छ, ऊजस्ताले त्यस्ता ठूलासँग टेक राख्ने रे । अहँ अहँ, एउटा भूललाई अर्कोले सच्याउन सक्तैन । गएर माफी माग्नै पर्छ ।

भरे फेरि क्षमा याचनाका निमित्त केशवराजले ढोकातिर प्रस्थान गरे । जर्साबको घोडामा सवारी भयो । केशवराज डरले थर-थर कामिरहेका थिए । भने जस्तो एकान्तको मौका पाएर डरले भकभकाएर बिन्ती गरे- “प्रभु ! चश्माको दोष……… माफ पाऊँ ।”

जर्साबले घोडा थामेर नबुझेर सोधिबक्सियो- “के भन्यौ? केको माफी ?”

केशवराजको सातो गयो । जर्साब कति रिसाइबक्सेको रहेछ । माफीसम्म दिन खोजिबक्सिन्न । केशवराजले चारैतिर अँध्यारो देख्नथाले, काम्न लागेको गोडाले भर दिएन । दुवै हातले कपाल समातेर थुचुक्क बसे। जर्साबले धेरै खोजिनिती नगरी घोडा बढाइबक्सियो । घोडाको टापले उडाएको धूलोले सडकको एक कुनामा कपाल समातेर बस्ने केशवराजलाई ढकमक्क ढाक्यो ।

केशवराज एक्कासि ५० बर्षका बूढाजस्ता देखिन थाले । हिँड्दा कम्मरमा हात लाउनु पर्ने भयो, लट्ठीको आवश्यकता परेको तिनले थाहा पाए । केशवराजको कल्पना सत्य निस्क्यो । जर्साब रिसानी भएछ औ अघोर रिसनी भएछ । घर पुगेर निराश भएर लामो सास तानेर बाहिर जाने लुगा नफुकाली कोटैसमेत बिछ्यौनामा उनी पछारिए र खान्न भनेर समाचार पठाए ।

केशवराजको बाँच्ने प्रेरणा जागरित भयो । तिनले यसरी खुट्टा छोड्नु हुँदैन । तिनले जर्साबलाई बुझाउनै पाएनन् । राम्ररी बुझाएको भए जर्साबले निश्चय नै माफी बक्सिन्थ्यो । यहाँ दयाको सागर होइबक्सिन्छ । आफैं आत्तिएर वाक्यै ननिकाल्ने ? सोझै माफ पाऊँ भनेर माफी पाइन्छ ? घटनाको सब इतिहास, चश्माले दिएको धोखा, पछी स्वस्ति पनि गरेको, र मोटरको क्यारेज बाक्स इत्यादि सब खुलासा गरे पो माफी पाइन्छ । भोलिपल्ट बिहान उठेर फेरि ढोकामा गए । जर्साबलाई आदिदेखि अन्त्यसम्म सुनाए । जर्साबबाट मर्जी भयो- “बुझें, बुझें, म त्यती पनि बुझ्दिनँ ? तिमी त बडा अनौठाका मानिस रहेछौ । यस्तो जाबो कुरामा…….. ।”

केशवराज निर्धक्क भए । जर्साबबाट बडो करुणा राखी माफी बक्सियो । कति दयालु होइबक्सिन्छ । यी सब गुण भएर त लक्ष्मी पनि यहाँ बास गर्छिन; कत्रो सुख छ । यी सब कुरा हिजै बिन्ती चढाएको भए तिनलाई यतिको मानसिक चिन्ता खप्नै पर्ने थिएन । तिनको मन प्रसन्न भयो ।

हिजोको चिन्ताले र तीन छाक भात नखाएको हुनाले केशवराजलाई निकै गालेछ । सिंढी चढ्दा दुईचोटि बिसाउनु पर्‍यो । कोठामा पुगेर थाकेको हुनाले उनी बिछ्यौनामा पसारिए । बुइगलमा नअटाई माथि जाने बाटो नपाई भन्साघरको धूवाँ केशवराजको कोठामा रङ्मगिरहेको थियो । तिनले सुतीसुती उँधो मुन्टो लाएर चिच्याए- “कति धूवाँ पारेको ?” तिनकी पत्नीले माथिबाट कुन्नि के भनिन् केशवराजले सुनेनन् र सुन्न पनि खोजेनन् । चिच्याउँदा बल परेर तिनी स्वाँ स्वाँ गर्न थाले । असाध्यै नाताकत भएछ । तिनको मनमा हिजोको विचार खेल्न थाल्यो । “बुझें, बुझें, म त्यति पनि बुझ्दिनँ र, तिमी त बडा अनौठाका मानिस रहेछौ । यस्तो जावो कुरामा………।” धुवाँको एउटा मुस्लो सिंढीमा लडीबुडी खेल्दै एउटा डल्लो भएर तिनको कोठामा आई फुट्यो । कोठा अँध्यारो भयो, तर केशवराज प्रसन्न थिए । माथि ‘बुढी’ लाई दाउरा नबलेर कति कष्ट होला ! विचारीले यसै गरी दु:खसँग जीवन बिताउनु पर्छ । केशवराजले भान्से बाहुन वा बाहुनीसम्म राख्न सकेका छैनन् ।

आफैं पनि केशवराजले सुख पाए र ? दुलही घरको दु:ख खेप्छिन्, तिनी बाहिरको । बिहान चाकरीमा दगुर्नु पर्छ, दिउँसो दुई बजेदेखी फेरि चाकरीमा गयो । अरु केही काम छैन । चाकरीको घोडेयात्रा छ ।

कहिले त ‘जर्साब’ नजरसम्म पनि हुन्न…… केशवराजलाई ग्लानि भयो ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.