नाटक : क्रमशः नायिकाहरू

~कृष्ण शाह ‘यात्री’~

–>    रङ्गमञ्चको दाँयाखण्डमा एउटा अग्लो ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्छन् ।
–>    रङ्गमञ्चको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्दैनन् ।
–>    रङ्गमञ्चको मध्यमागमा एउटा ठूलो प्रवेशद्वार देखिन्छ जहाँ ठूला अक्षरमा ‘अग्नि परीक्षा’ लेखिएको हुन्छ ।
–>    रङ्गमञ्चको अग्रभागमा यज्ञ, होम, पूजा आदि सकेर बाँकी रहेका विभिन्न सामग्रीहरू छरिएका छन् ।
–>    पर्दा खुल्दा सुनसान देखिने त्यो ठाउँमा विस्तारै नीलो धुँवा मडारिन थाल्छ । नेपथ्यमा विभिन्न कोलाज ध्वनीहरू सुनिन थाल्छ ।
–>    त्यसैबेला बाक्लो कालो कम्बल अनुहार अलिअलि देखिने गरी गम्लङ्ग ओढेको एकजना पुरुष पात्र अत्तालिँदै आउँछ । एक ठाउँमा राकिएर चारैतिर हेर्छ र मध्य भागको प्रवेशद्वार पछाडि गएर लुक्छ ।
–>    नेपथ्यको ध्वनी अझै ठूलो चर्को अवाजमा बज्न थाल्छ । कोलाज ध्वनीबीच नै रामायणको झझल्को दिने धुनहरू क्रमशः सुनिन थाल्छ । मञ्चको दाँयाबाट सीताको प्रवेश हुन्छ । उनी पनि अत्तालिएकी हुन्छिन् । चारैतिर हेरेर उनी दाँया ‘प्लेट फर्म’ पछाडि लुक्छिन् ।
–>    केही समय पश्चात् मञ्चको बाँयाबाट राधाको प्रवेश हुन्छ । राधा पनि चारैतिर हेर्दै मञ्चको दायाँ ‘प्लेट फर्म’ पछाडि गएर लुक्छिन् ।
–>    केही मानिसहरू हतारहतार ओहोर दोहोर गरिरहेको देखिन्छ ।
–>    अचानक लुकिरहेको ठाउँबाट सीता बाहिर निस्कन्छिन् र उद्घोष गर्न थाल्छिन् ।

सीता  : (चारैतिर हेर्छिन् त्यो ठाउँमा सम्बोधन गर्छिन् ) हे ! आदिम समयका कुरुप अवशेषहरू ! बन्दी आवाजका जीर्ण अस्थिपञ्जरहरू ! आदीम समयका कुरुप अवशेषहरु ! बन्दी आवाजका जिर्ण अस्थिपञ्जरहरु ! हे ! युगीन दस्तावेजहरु ! चोइटिएका आस्थाका साङ्लाहरू ! (चारैतिर हेर्छिन् र चर्को स्वरमा ) म रामायणकी त्यही सीता हुँ जसले आफ्नो पवित्रताको लागि अग्नी परिक्षा दिनु परेको थिउयो । म त्यही सीता हु जसले लङ्काको ऐश आरामलाई लत्याएर केवल आफ्नो पतिको प्रतिक्षामा कठोर रातदिन बिताएकी थिएँ । म  त्यही सीता हुँ । … (चारैतिर हेर्दै) मैले थाहा पाएँ । मैले अन्तिम पटक यो ठाउँमा नै अग्नी परिक्षा दिएकी थिएँ । मैले मेरो अग्नी परिक्षा यसै ठाउँमा दिएकी थिएँ । बर्षौं पहिले जुनबेला म रामायणकी ‘सीता’ थिएँ । (रङ्गमञ्चको बाँयातिरको अग्लो स्थानमा गई उभिन्छिन्) यो स्थानलाई पनि म राम्रोसँग चिन्छु । अन्तिम पटक मेरो र रामको भेट पनि यही भएको थियो । कत्रो विश्वास लागेको थियो मलाई । बर्षौंको विछोडपछि मेरो र रामको भेट भएको थियो । तर त्यो खुशीको पल केही क्षण मात्र अनुभव गर्न पाएँ मैले । जब रामले ममाथी नै शंका गरे र मेरोचरित्रमाथी नै शंका गरे अनि मेरो सर्वाङ्ग नै चिसो भयो । मेरो शरीर नै भत्भती पोल्न थाल्यो । मलाई ठूलो औडाहा भयो । अनाहकमा मेरो नारीअस्मितामाथी त्यसरी लाञ्छना लगाईएको देखेर मेलाई सीता हुनु र नहुनुको कुनै अर्थ लागेन । अनि मैले चारैतिर आगो मात्र देखें । केवल आगो जहाँ आफूलाई विसाएर मात्र म आफूलाई चोखो हुनुको प्रमाण दिन सक्थें । त्यसपछि दन्दनी बलीरहेको आगोमा मैले हाम फालें । (अगाडि आउँदै) तर आज मलाई लागिरहेछ । मैले जे गरें त्यो मेरो मुर्खता थियो । मैले त्यसरी हाम फाल्नु त्यो युगको दास मनोवृत्ति थियो । एएटा पुरुषको शंका मेट्न त्यसरी आफूलाई मैले जलाउनु के ठिक थियो ?  मैले यो प्रश्नको जवाफ आजसम्म पनि पाएकी छैन । मेरो के गल्ती थियो ? मैले यसको जवाफ आजसम्म पनि पाएकी छैन । म त्यही वाफको खोजीमाा छु । मेरो सोझोपनमाथी शंका गर्ने रामको खोजीमा छु ।

–>    रङ्गमञ्चको पछाडि अघिदेखि लुकिरहेकी राधा विस्तारै बाहिर निस्कन्छिन् ।
–>    उनी सीतालाई एकोहोरो हेर्छिन् र अगाडि आउँछिन् ।

राधा ः के तिमी साँच्चिकै रामको खोजीमा छौ ?
सीता ः (अचम्म मान्दै) हो म रामको खोजीमा छु । किन विश्वास लागेन ?
राधा ः कुरा विश्वास र अविश्वासको होईन ? कुरा वर्तमान र विगतको हो । तिमी कुन समयको रामको खोजीमा छौ ?
सीता ः म रामको खोजीमा छु । केवल रामको खोजीमा । सीताहरुलाई अनाहकमा अग्नी परिक्षा लिने रामको खोजीमा छु । सुपर्णखाहरुको नाक काट्ने रामको खोजीमा छु । के मलाई तिमी रामको ठेगाना दिन सक्छौ ?
राधा ः यो कस्तो प्रश्न गर्दैछौ तिमी ? तिमी रामलाई जहाँ पनि भेट्न सक्छौ अवशेषका रुपमा । ह्वाईटहाउसदेखि दरबारसम्म । सडकदेखि जङ्गलसम्म नै तिमीले रामका अवशेषहरु भेट्न सक्छौं ।
सीता ः म रामको खोजीमा छु । कुनै रावणको होईन ।
राधा ः त्यसोभए तिमी रामलाई भेट्न सक्दैनौ ।
सीता ः किन ? किन सक्दिन ?
राधा ः किनकी अहिले रामहरु आवरण मात्र रामको लाउँछन् । वास्तवमा उनीहरुको मन, मष्तिस्क, आत्मा सबै रावणमय हुन्छ । त्यसैले तिमी फेरी एक पटक राम्रोसँग सोच । के तिमी अझै पनि रामकै खोजीमा छौ  ?
सीता ः (रिसाउँदै) हो । हो । म कतिचोटी भनूँ ? म रामकै खोजीमा छु भनेर । म रामको त्यो अस्तित्वलाई जसरी पनि भेटेरै छाड्छु र मेरो जवाफ खोज्छु ।
राधा ः तिमी कुन अस्तित्वको कुरा गर्दैछौ सीता ? के रामहरुको अस्तित्व पहिले र अहिले फेरिएको छ र ? म त भन्छु त्यो कहिल्यै फेरिएन । परम्परागत नायकहरुको अस्तित्व कहिल्यै फेरिएन । नायकले जस्तो नराम्रो काम गरेपनि नायक भइरहने परम्परा कहिल्यै फेरिएन ।
सीता ः तिमी यी सब कुराहरु यत्तिका आत्मविश्वासका साथ कसरी भन्न सक्छौ ? तिमी को हौ र ?
राधा ः म को हुँ भन्ने कुरा थाहा पाएर पनि के गर्छौ ?
सीता ः किन ? तिमीले मेरो बारेमा यतिका कुरा जानिसकेपछि तिम्रो बारेमा मैले जान्न हुदैन भन्ने छ र ?
राधा ः त्यसो भए सुन । म राधा हुँ ।
सीता ः राधा ? को राधा ?
राधा ः म त्यही राधा हुँ कृष्णकी प्यारी राधा । म त्यही राधा हुँ जसको अतितमा एक सुन्दरी नारी र कृष्णकी अधाङ्गीनि बाहेक अरु केही अस्तित्व बनाइएन ।
सीता ः त्यसो भए तिमी पनि आफ्नो कृष्णसँग सन्तुष्ट थिएनौ ? के यही भन्न चाहन्छौ ?
राधा ः सीता ! कुरा जसरी भनेपनि एउटै हो । तिमी रामको खोजीमा छौं आफ्ना प्रश्नहरुको जवाफ माग्नका लागि । म कृृष्णको खोजीमा छु ।

–>    त्यसैबेला अत्याधुुनिक पहिरनमा एक जना युवती मोनिकाको प्रवेश हुन्छ ।
–>    उनी ‘क्याटवाक’ गर्दै आउँछिन् ।
–>    सीता र राधा युवती मोनिकालाई देखेर अचम्म मानेर हेर्न थाल्छन् । मोनिका उनीहरुलाई देखेर राकिन्छ ।

मोनिका ः हाई !

–>    सीता र राधा बोल्दिनन् ।

मोनिका ः किन ? के भयो ? किन नबोलेको तिमीहरु ?
राधा ः हामी किन बोल्ने तिमीसँग ?
मोनिका ः अरे ! कस्तो कुरा गरेको अब तिमी हामी सबैले एउटै ‘प्लेटफर्म’मा हुन लागेको त्यत्रो विशाल ‘फेशन कन्टेस्ट’मा भाग लिन लाग्दैछौं । अब त एउटै काममा भएपछि चिनजान, बोलचाल त हुनै प¥यो नि । हैन र ?
सीता ः हैन के कुरा गरेको ? एउटै प्लेटफर्म ? फेशन कन्टेस्ट ? मैले त केही पनि बुझिन ।
राधा ः कस्तो कुरा गरेको मैले पनि बुझिन ।
मोनिका ः ल ल । मसँग धेरै ठट्टा गर्नु पर्दैन । मलाई थाहा छैन र ? तिमीहरु पनि ‘फेशन कन्टेस्ट’मा भाग लिन आएको भन्ने कुरा ? (राधा र सीताको पहिरन हेर्दै) बरु भन न । तिमीहरुले लगाएका यी ‘ड्रेस’ कुन चाही ‘सिक्वेन्स’ का लागि हो ? जे होस् ! तिमीहरु यो ‘ओल्ड फेशन’मा पनि राम्री देखिएकी छ्यौ ।
राधा ः हत्तेरी ! कस्तो नबुझभिने कुरा गरेको  तिमीले भन्न खोजको के हो ? हामी कुनै ‘फेशन शो’मा भाग लिन जान लागेका होइनौ ।
मोनिका ः अनि त्यसो भए यो युगमा पनि यसरी ठाँडिएर ‘ओल्ड फेशन’को ड्रेस लगाएका के तिमीहरु रामायणकी सीता वा भगवान कृष्णकी राधा हौ कि क्या हो ?
राधा ः हो । तिमीले बल्ल हामीलाई चिन्यौ ।
सीता ः हो । म रामकी सीता नै हुँ ।
राधा ः अनि म कृण्णकी राधा ।
मोनिका  ः (अचम्म मान्दै) आर यु म्याड ? के तिमीहरु कतै खुस्किएका त छौनौ ? कि मलाई मुर्ख बनाउँदैछौ ?
राधा ः होेइन । हामी जे भन्दैछौं । त्यो साँचो हो । बरु तिम्रो बारेमा हामीले केही थाहा पाइसक्यौ । तिमीलाई पनि हामीे सचेत गराउनु पर्ला । तिमी आफ्नो पुरा परिचय देऊ त ।
सीता ः किन अचम्म मानेकी ? तिमी को हौ ? तिम्रो नाम र काम के हो खुलस्त भन न ।
मोनिका ः (अलमलिदैं) म ? म मोनिका । अहिलेकी हट मोडल ।
सीता ः मोडल ? ल तिमीले त झन धेरै कुरा जान्न आवश्यक छ ।
मोनिका ः कस्ता कुरा ?
सीता ः के तिम्रा आयोजकहरुले तिमीलाई कुनै सामानको विज्ञापन गर्नाका निम्ति तिमीलाई प्रयोग गर्छन् ?
मोनिका ः हो गर्छन् । तर त्यो बापत म आफ्नो पारिश्रमिक लिन्छु । सित्तैमा गर्दिन ।
सीता ः के उनीहरुले तिम्रो आवरण र विचारलाई उत्तीक्कै सम्मान गर्छन् ?
मोनिका ः कस्तो कुुरा गरेको ? उनीहरुलाई मेरो विचारसँग के सरोकार ? उनीहरु त हाम्रो सुन्दर आवरणलाई सम्मान गर्छन् ।
राधा ः हो ! तिम्रो यही कुरामा म सहमत छैन । सुन तिमी अज जसरी प्रयोग भइरहेछौ । के तिम्रो उमेर ढल्किएपछि पनि उनीहरुले तिमीलाई यसरी नै सम्मान गरीरहनेछन् त ?
मोनिका ः त्यो मलाई थाहा छैन ।
सीता ः हो । त्यसैले त भनेको तिमी पहिला आफ्नो अस्तिवलाई चिन । आफ्नो मुल्य र मान्यतालाइ चिन । पहिला आफ्ना अनुत्तरित प्रश्नहरुको उत्तर खोज । त्यसपछि सारा तिम्रा विचारहरु आफै स्पष्ट हुनेछन् ।
मोनिका ः के तिमीले भनेका कुराहरु सही हो त ?
सीता ः हो । तिमीले आफ्ना धेरै प्रश्नहरुको उत्तर खोज । नभए तिमी पनि यो समयकी सीताहरु र राधाहरुमा परिणत हुनेछौं ।
मोनिका ः त्यसोभए अब म के गरौं ? मैले त यी सबै कुरा साच्दै नसोची एउटा नुहाउने साबुनको विज्ञापनको लागि पाँच बर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर पनि गरीसकें ।
राधा ः त्यो भए तिम्रा कार्यक्रमका आयोजकहरु यो विषयमा पहिला वार्ता गर्नु पर्छ ।
सीता ः आफ्ना प्रश्नहरुको जवाफ माग्नुपर्छ ।
मोनिका ः के उनीहरुले जवाफ देलान् त ?
सीता ः किन दिदैनन् । हिड तिमीसँगै हामी गइदिन्छौ कुरा गर्न ।
राधा ः हो, हो जाऊ हिड ।
मोनिका ः हुन्छ । त्यसोभए जाऊ ।

–>    तीनै जना बाहिररिन्छन् ।
–>    मञ्चको मध्य भागको प्रवेश द्वारपछाडि लुकेर यतिञ्जेल सबै कुरा सुनिरहेका पुरुष पात्र बाहिर निस्कन्छ ।
–>    ऊ तीनै जना गएतिर हेर्छ । अगाडि आएर थचक्क बस्छ ।

पुरुष ः (लामो स्वास फेर्दैै) गए । फेरि सबै गए । बल्ल ढुक्क भयो ।

–>    त्यसैबेला नेपथ्यबाट आवाज आउँछ ।

आवाज ः अहँ ! तँ भ्रममा छस् । ती नारीहरु अझै गएका छैनन् ।
पुरुष ः (अत्तालिएर उठ्दै) को ? को हो बोल्ने ?
आवाज ः (जोडले हास्दै) हा हा हा । तिमी मलाई देख्न सक्दैनौ । केवल सुन्न मात्र सक्छौ ।
पुरुष ः को ? को हौ तिमी ?
आवाज ः म ? म तिम्रै अतित हुँ ।
पुरुष ः मेरो अतित ? कुन अतितको कुरा गर्दैछौं ?
आवाज ः कुन अतित जान्न चाहन्छौै ? यहुदी युवतीको प्रेममा पागल भएर त्यो प्रेम पाउन नसकेपछि लाखौं यहुदीको हत्या गर्ने हिटलरको अतितको रुप जान्न चाहन्छौ ? कि सयौं रानीहरु बनाएर आफ्नो मृत्य पश्चात सबैलाई बलिरहेको आगोमा सतीजान बाध्य पार्ने महापुरुष जङ्गबहादुरको अतितको रुप जान्न चाहर्नै ? एकोहोरो प्रेममा पागल भएकी सुपर्णखाको नाक काट्न नहिच्किचाउने र आफ्नो निर्दाेष पत्नी सीतालाई बलीरहेको आगोमा अग्नी परिक्षा लिने रामका अतीत जान्न चाहन्छौ ? भन कुन अतित जान्न चाहन्छौ ?
पुरुष ः अहँ । म आफ्नो कुनै अतित पनि जान्न चाहन्न । मलाई आफ्नो अतितसँग कुनै मतलव छैन । कुनै लिनुदिनु छैन । म आफ्नो वर्तमानमा मात्र रमाउन जान्ने पुरुष हुँ ।
आवाज ः गलत । वाहियात कुरा नगर । तिमी अहिले पनि आफ्ना अतितका पात्रहरुबाट लखेटिएर भाग्दै हिडिरहेका छौ । र, पनि तिमी आफ्नो अतितसँग कुनै मतलव नभएको कुरा गर्छौ ? यो सरासर वाहियात कुरा भयो ।
पुरुष ः आखिर तिमी के चाहन्छौ ? म जेसुकै गरु ? भागु कि लुकु ? बाँचु कि मरु ? तिमीलाई के मतलव ? तिमी यसरी मलाई पछ्याउने काम नगर ।
आवाज ः हा हा हा । कस्तो अचम्मको कुरा गर्छौ । आफ्नो अतितले नपछ्याए तिमीलाई के तिम्रो भविष्यले पछ्याउँछ त ?
पुरुष ः तिमी जे सुकै भन । म तिम्रो कुरा सुन्दिन । (दुवै कान थुन्छ)
आवाज ः तिमीले आवाज सुन्नै पर्छ । सुन तिम्रा कारणले नै महाभारत जन्मिन्छन् । तिम्रै कारणले नै विश्वयुद्धहरुको सुत्रपात हुन्छ । तिम्रै कारणले ‘क्लियोपेट्रा’हरु अवमुल्यन गराइन्छन् ।
पुरुष ः भो मलाई नसुनाऊ । म सुन्न सक्दिन ।
आवाज ः ऊ सुन । तिम्रा विरुद्धमा चर्का नाराहरु पनि नजिक नजिक आउँदैछन् ।
नारा १ ः अतितका नायकहरु !
समूह ः मुर्दावाद !
नारा २ ः वर्तमानका खलनायकहरु !
समूह ः मुर्दावाद !
नारा ३ ः उत्तरआधुनिक नायकत्व !
समूह ः मुर्दावाद !
नारा ४ ः परम्परावादी खलनायकत्व !
समूह ः मुर्दावाद !
नारा ५ ः कथित महापुरुष !
समूह ः मुर्दावाद !
नारा ६ ः कथित प्रायोजकहरु !
समूह ः मुर्दावाद !
नारा ७ ः अग्निपरिक्षका सीताहरु !
समूह ः जिन्दावाद !

–>    नारा सुनेर पुरुष पात्र अत्तालिन्छ ।
–>    ऊ अत्तालिदै वाँयातिरको अग्लो काठको प्लेटफर्ममाथी चढ्छ ।
–>    नारा झन् झन् चर्को हुदै जान्छ ।
–>    त्यसैबेला एक हुल मानिसहरु सहित राधा, सीता र मोनिकाहरुको मञ्चमा प्रवेश हुन्छ ।
–>    उनीहरुले प्लेटफर्म माथीको मान्छेलाई चारैतिरबाट घेर्छन् ।

मोनिका  ः यही हो, मलाई ललाइ फकाइ गरेर सम्झौता पत्रमा हस्ताक्षर गन लगाउने ।
पुरुष ः (फकाउने स्वरमा) मोनिका डार्लिङ ! तिमीलाई मैले त्यत्तिका सहयोग गरेको थिएँ ।
मोनिका  ः (व्यङ्ग्यात्मक स्वरमा) आफ्नो स्वार्थ सिद्ध गर्नका निम्ति ।
पुरुष ः (फकाउने स्वरमा) मोनिका ! तिमीलाई मैले त्यत्तिका राम्रो अवसर दिएको थिएँ ।
मोनिका  ः (व्यङ्ग्यात्मक स्वरमा) आफ्नो सामान बिकाउनका लागि ।
पुरुष ः (फकाउने स्वरमा) मोनिका ! तिमीलाइ मैले धेरै ठाउँमा लगेको थिएँ ।
मोनिका  ः (व्यङ्ग्यात्मक स्वरमा) आफ्नो खेलौना बनाउनका लागि ।
सीता  ः (रिसाउदै) यसलाई त्यसै छाड्न हुदैन । यसलाई कठोरभन्दा कठोर सजाय दिनु पर्छ । यो त्यहि समयको रामको नयाँ संस्करण हो ।
पुरुष ः (फकाउने स्वरमा) सीता ! त्यसो नभन । तिमीलाई मैले पतिव्रताको पहिचान दिलाएको छु ।
सीता ः (व्यङ्ग्यात्मक स्वरमा) बलीरहेको आगोमा हाम्फाल्न लगाएर ।
पुरुष ः (फकाउने स्वरमा) सीता ! मैले तिमीलाई सधैं साथ दिएको छु ।
सीता ः (व्यङ्ग्यात्मक स्वरमा) नाम मात्रको ।
पुरुष ः (फकाउने स्वरमा) सीता ! मैले तिमीलाई सधैं मनमा राखेको छु ।
सीता ः (व्यङ्ग्यात्मक स्वरमा) एक कैदी सरह ।
पुरुष ः  के त्यसोभए । तिमीहरु मलाई यहाँ बाट जान दिदैनौ त ?
सीता ः हामीले धेरै परिक्षाहरु दिइसक्यौं ।
आवाज १ ः कहिले अस्मिताको ।
आवाज २ ः कहिले निर्दोषीताको ।
आवाज ३ ः कहिले स्वाभिमानको ।
आवाज ४ ः कहिले अस्तित्वको ।
राधा  ः तर हामीले के पायौं ?
सीता ः सधैं तिरस्कार हुनुको पीडा ।
मोनिका ः सधैं खेलौना बनिनुका बाध्यता ।
राधा ः सधै अरुको खुशीमा रमाउनु पर्ने दासता ।
सीता ः त्यसैले यो पटक हाम्रो सट्टामा तिमीले परिक्षा दिनु पर्नेछ । तिमी नायकहरुको अभिमानमा पिल्सिएका हामी नायिकहरु अब नायक भनाउँदाहरुको परिक्षा लिनेछौं ।
सबै जना ः हो ! अग्नी परिक्षा लिनेछौं ।

–>    सबैले चारैतिरबाट पुरुष पात्रलाई घेर्छन् ।
–>    उसलाई अग्नि परिक्षा लेखिएको द्वारतिर लगिन्छ ।

नेपथ्यमा विभिन्न कोलाजध्वनी सुनिन थाल्छ ।

पर्दा खस्छ ।

***

Email : krishnayatri@gmail.com
www.theatrenepal.com

(स्रोत : )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *