पुस्तक अंश : आधा जून

~झलक सुवेदी~

एसएलसी दिएर फर्केपछि फेरि उनै खेतबारी र गोठ भकारोका काम सुरु भए। म यसैमा रमाउँदै र अनिश्चित भविष्यको त्रास बोकेर गाउँमा बस्न थालेँ।

एकदिन साँझ पर्ने बेला गैरारेकी आमा गुहारगुहार गरेर चिच्याएको सुनेर आमाले भन्नुभयो, ‘ओइ कान्छा, जा त त्यो गैरारे बूढी किन चिच्याकी छ बुझेर आइज। त्यहाँ फेरि काटाकाट हुन बेर छैन।’

म दौड्दै गैरारेको घरमा गएँ। गैरारे बूढी एउटा नाम्लो हातमा लिएर चिच्याइन्, ‘म अब त्यै बडहरको बुटाँ झुन्डिएर मर्चु।’

‘के भो गैरारे आँ, किन त्यस्तो नजाती कुरा बोल्नुभको?’ मैले नजिक पुगेर सोधेँ।

‘छोरा भर यस्ता असत्ती भसी म बूढीले क्यार्न बाँच्न पर्‍यो। ओइ सञ्जे, हेर त यो माइलाले मलाई त जिम्दै मार्‍यो ए गाँठे। तँ पनि पढेलेखेको मुन्छे होस्। निसाप अरिदिन पर्‍यो म बूढीलाई।’

उनले घरमुनि बारीको कान्लामा रहेको बडहरको बुटो देखाउँदै भनिन्, ‘हो…रु त्यो मेरो ज्युनीमा परेको बडहरको बुटो आफ्नो बारीमा पर्‍यो भनेर बेचिदिएच ! मेरो बूढाले कति जतन अरेर हुर्काको बुटो, मेरो शेष रइन्जेल मलाई दूध खान एउटा भैंसी चाइन्च भनेर गाउँले दाजुभाइहरूले अंशमा लाइदिएका ऐले त यो डाँकाले बेचेर पो खाच।’

‘जाबो एउटा बडहरको बुटो पाइनँ भनेर झुन्डिएर मर्न हुन्च? यसरी मर्‍यौ भने त सीधै नर्क परिन्च आमै’, बूढीका हातबाट नाम्लो खोस्दै मैले भनेँ।

यता म बूढीलाई के सम्झाउँदै थिएँ, उता तगारो जोडिएको पल्लो घरको आँगनबाट गैरारेले गालीको झटारो हान्यो, ‘यो अलच्छिना बूढीलाई मर्न नदेर किन नानावली कुरा अरिर्चस् ए कान्छा। यो बूढी मर्दा दिनाँ कस्तरी हाँस्ताउन नि मेरा हाड ! यस्ती पापिनी। कान्छा छोरालाई पोस्न पुगेन भनेर मैले काटिरको घाँसको बुटो पो खोस्न खोज्चे ए यो राँडी त? पापको ख्याल पनि कति नभकोओ?’

Aadha Joon - Jhalak Subedi

 

म गैरारेलाई सम्झाउन खोज्दै थिएँ। बूढी एक्कासि भित्रबाट ठूलो अगुल्टो लिएर निस्की र गैरारेतिर दौडी। गैरारे हातमा खुर्पा लिएर बूढीलाई काट्चु भन्दै जाइलाग्यो। भारी तिनेक घाँस आउने धोद्रो बडहरको बुटाका लागि भएको आमाछोराको यो मारकाट सम्हाल्न मलाई हम्मेहम्मे पर्‍यो। गैरारेकी श्रीमतीले बूढीलाई सराप हाल्दै लोग्ने चाहिँको हातबाट खुर्पा थुतेर लगी। मैले बूढीका हातबाट अगुल्टो खोसेँ।

दुवै आफ्नाआफ्ना घरका आँगनमा बसेर एकअर्कालाई ‘भोलि बिहानभित्रै मरेस्’ भनेर सराप हाल्न थाले।

यी अब लडभिड गर्दैनन् भन्ने लागेपछि म घरतिर गएँ।

गैरारे बडो रमाइलो मान्छे थियो। उसका खुट्टाका पिँडुलाभरि सर्प बेरिएजस्ता नसा थिए। अगाडि सबैले गैरारे कान्छो भन्थे। पछाडि पर्नेबित्तिकै गैरारे नसे भन्थे। चुच्चो नाक, लाम्चो अनुहारको गैरारे सधैं मैलोमैलो ढाकाको टोपी लगाउँथ्यो। केटाकेटीदेखि बूढापाकासम्म सबैसँग सजिलै मिल्थ्यो। कहिले गाउँमा भैंसीको व्यापार गथ्र्यो। कहिले गोरु र बहर साट्दै हिँड्थ्यो। कहिले आलु बोकेर पर गुरुङ गाउँतिर मकैसँग साट्न जान्थ्यो। कहिले बजारबाट खिस्रीमिस्री ल्याएर बेच्दै हिँड्थ्यो।

‘खै म्ले, मैले त क्यै अर्दा’ नि भन। ह्याँ बसेर निर्वा होला जस्तो छैन। मधेसतिर जान पर्चकी क्या हो’, त्यही राति आगो तापिरहेको बेला उसले भन्यो।

रोहित काकाले भने, ‘हेर गैरारे बाबु, यो मान्छेको जात कस्तो रच भने एक ठाँ बसेर नपुउनी। पैले मान्छेहरू निर्वा अर्नी ठाम खोज्दै लेक पस्ते। हाम्रा पुर्खा ह्याँ आको पनि जम्मा सात पुस्ता त भो । ऐले पहाडमा नपुएर धमाधम मधेस झर्न थाले। अब सर्कारले मधेस खोल्यो क्यारे, उइलेउइले पो औलोको डर थियो। ऐले त्यो पनि उन्मूलन भो। जता सजिलो हुन्च त्यैं गर जीवन बिताउन पर्‍यो नि अब क्यार्नी तो नि?’

गैरारेले केही जवाफ दिएन।

दुई सातापछिको कुरा हो। केही दिनदेखि राम्रोसँग घाम पनि लागेको थिएन। बिहान निकै चिसो थियो। पातलो तुँवालो वातावरणभरि पोखिएर गाउँ धमिलो देखिएको थियो। कुकुरहरू पनि पुच्छरमुनि टाउको घुसारेर कुइँकुइँ गर्दै घुरानमा सुतिरहेका थिए।

गैरारेको घरमा खैलाबैला सुनियो। म भरखर उठेर मुख धुँदै थिएँ। खलबल सुनेर म पनि गैरारेको घरतिर गएँ।

‘होइन यो आइमाईको त जातै नहुनी क्या। अब साइत अरिसकेपछि पनि कोइ रोओर बस्चन् त? हिँड् अबेला भैसक्यो।’

गैरारेले श्रीमतीलाई अलि चर्को स्वरमा हकारेको मैले उसको तगारोबाटै सुनेँ।

गैरारेले डोको बोकेको थियो। उसको अनुहार निकै अँध्यारो थियो। ऊ फटाफट तगारासम्म निस्क्यो र छोडेर जान लागेको घरतिर फर्केर हेर्‍यो। उसका आँखाबाट केही थोपा आँसुका ढिका गुडुल्किए। दुईजना भरिया अगाडि हिँडिरहेका थिए।

‘अब फेरि भेट होला-नहोला, नबिर्सनु है ! बाँचियो भने एकपटक जस्सरी पनि आम्ला क्यारे नत्र यत्तिकै हो’, भन्दै गैरारेकी श्रीमती आँगनमा जम्मा भएका छिमेकका दिदीबहिनीसँग झम्टीझम्टी रोइरहेकी थिई।

‘नरो भो, केटाकेटीको मुख हेर, तिनलाई नरमाइलो हुन्च। गैरारे बाबु राम्रै मुन्छे छन्, तँलाई दु:ख कटाउनी छैनन् त। अचेल मधेसमा पनि सबै यतैका मुन्छेले भरिएको छ भन्चन् क्यारे। अरू नगको ठाम पनि होइन, तेरै माइती पनि उतै छन्, ढुक्कले जा’, आमाले मजेत्रोले आँसु पुछ्दै भन्नुभो।

गैरारेका अलि हुर्केका पाँचजना सन्तान आमा रोएको टुलुटुलु हेर्दै थिए। सबैले सकेको पोको पन्तुरो बोकेका थिए। तिनका गोडामा चप्पल थिएन। मसँग खेल्ने गरेकी जेठी छोरी मेरो नजिकै आई र मलिन अनुहार लाएर उभिई। मैले उसलाई हेरिरहेँ। केही बोल्न सकिनँ। मेरा आँखामा आँसु भरिए। केटीले सर्टको फेरले आफ्ना आँखा र नाक पुछी।

सबैभन्दा सानी छोरीले आँगनको छेउबाट गट्टाका पाँचओटा बाटुला ढुंगा हातमा लिई र मुठी पारी। बिस्तारै तिनीहरू बाटो लागे। चिहानडाँडाबाट तिनीहरूको ताँती जस्तो यात्रा नछेलिउन्जेल सबैले हेरिरहे।

‘खै माडीतिर त्यति राम्रो छैन भन्चन्। हात्ती र बाघ उल्कै लाउँच अरे। कसरी खाली खै गैरारेकीले?’ अछरीले सुस्केरा हाल्दै भनी।

‘लुतुलुतु बर्सेनि पाइआले। ऐले पाल्न गारो भो। क्यारुन् त नि जानै पर्‍यो नि। यो जाबो पहाडाआँ खोस्रेर खान पनि पुउन छोड्यो क्यारे। इशोरले मुन्छेलाई एउडा एउडा बाटो लाउँचन् नै’, लाउरेले भन्यो।

(फाइन प्रिन्टद्वारा प्रकाशोन्मुख सुवेदीको उपन्यास ‘आधा जून’ को अंश।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पुस्तक अंश | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *