कथा : बिहा

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए ।

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।

मैले एउटा बिहा देखेको छु, म जन्तीपट्टि थिएँ । हामीहरूलाई ४ बजेको निम्तो थियो, तर जन्ती ८ बजे भन्दा पहिले निस्केनन् । हामीहरू बाहिर बसी-बसी जन्ती निकाल्ने उद्योगमा थियौं तर दुलहाले नै अबेर लगाए । उनी सिँगार पारिरहेका छन् रे । विवाहको अवसरमा एक चोटि सिँगारिने मौका पाइन्छ भनी हामीहरू चुप्प लागी उनको प्रतीक्षा गरिरहेका थियौं । मैले दुलहालाई देखेको थिइनँ, कस्ता होलान् । गाउँका स्वास्नीमानिसहरू पनि आएर उभिरहेका थिए; तिनीहरू पनि दुलहालाई हेर्छन् रे । कस्ता होलान् ? दुलहा भन्नासाथ २०/२२ वर्षको युवकको कल्पना हुन थाल्दछ र ती ग्रामीण रमणीहरू पनि यस्तै दुलहाको कल्पना गरी हेर्न उभिरहेका होलान् । धेरै बेरपछि ढोकातिर खलबली भयो । “दुलहा आए दुलहा आए” भनेर सब उतातिर ओइरिन लागे, तर मैले चिन्न सकिनँ कुन चाहिने दुलहा हुन् । सब छिपिएका उमेरका मानिसहरू ढोकाबाट बाहिर निस्के । यसो ठम्याउन नसके पनि पहिरनले ती कालो कोट लाउने नै दुलहा हुन् भनिठानेँ । नभन्दै तिनी रहेछन् । आफ्नो खुशी र सुखलाई नदेखाऊँ भन्दाभन्दै पनि उनको आकृति चलाइ र बोलाइले नै तिनी दुनियाँका सबैभन्दा खुसी मानिसजस्ता देखिन्थे ।

ठीक ८ बजे जन्ती घरबाट बाहिर निस्क्यो । दुलहा हात्तीमा चढे औ हामीहरू पैदल हिँड्यौँ । मलाई दुलहा देख्नासाथ दुलहीको ध्यान आउन थाल्यो । दुलही पनि त्यस्तै ३५/४० की ढोकाबाट निस्की भने मेरो सारा उत्साह व्यर्थ हुनेछ । तर सानी १४ वर्षकी निस्की भने ? मैले यसो हात्तीमा चढेको दुलहा हेरेँ र नजिक हिँड्ने एउटा भद्रलाई सोधेँ –

“दुलहाको यो पहिलो बिहा हो ?”

उनले उत्तर दिए – “अहँ”

“पैलेकी दुलही नि ?”

“ऊ मरेर त यी अर्को बिहा गर्न हिँडेका । यिनको पैलेकी दुलहीबाट दुई वटा छोरा छन् । घरमा स्वास्नीमानिस नभएर घर नचल्ने, त्यसमा पनि छोराछोरीहरूलाई हेरिदिने कोई नहुँदा यिनले बिहा गर्नु परेको ।”

दुलहापट्टिबाट निश्चिन्त भै म दुलहीको कल्पना गर्न थालेँ । दुलहाको त घर चलाउन थियो र यी साना-साना केटाकेटीहरूलाई हेरिदिने मानिस ल्याउनु थियो र बिहा गरे । तर यिनको घर चलाउने र यिनका छोराछोरीलाई हेरिदिन आउने दुलही कस्ती होलिन् ? ती निश्चय नै बढेकी होलिन् नत्र कसरी घर चलाउँछिन्, कसरी छोराछोरीलाई हेर्छिन् ? उनलाई पनि थाहा होला कस्तो घर छ र कस्ता केटाकेटी छन् । म दुलहीको विषयमा विश्चिन्त भएँ र दुलहीको घर पुग्ने बखतमा मलाई फेरि उत्साह आउन थाल्यो । नाचगानमा, उहाँको उत्साहमा म पनि खूब शामिल भएँ र दुलही निकाल्ने बखतमा हतपताई मण्डपमा आएँ । त्यहाँ पनि दुलहीलाई हेर्न आउने मानिस खचित थिए । गाउँका स्वास्नीमानिसले मण्डप घेरिएको थियो । तिनीहरू कस्ती दुलही कल्पना गरिरहेका होलान् ? २५/३० वर्षकी, घरको काम चलाउन निपुण, बढेका दुई छोरालाई हेर्न सक्ने, दुलहाको सारा व्यवहारलाई थाम्ने दुलहीको कल्पना गरिरहेका होलान् ? म त यस्तै दुलहीको कल्पना गरिरहेको थिएँ तलदेखि माथिसम्म रातो लुगाले छापिएकी एउटी सानी बालिकालाई देखाउँदै ठेल्दै २/३ स्वास्नीमानिस मण्डपमा पुगे । यहाँ पनि मेरो कल्पनाले मलाई धोका दियो । म उहाँको उत्साह देखी विरक्त भएँ । मैले विचार गर्न सकिनँ । कसरी यी १४ वर्षकी कलिली बालिकाले दुलहाको घर थाम्लिन् र उनका छोराहरूको हेरविचार गर्न सक्लिन् । म यी बालिकाका विषयमा गम्न थालेँ , यिनी दुलहाको घरमा कसरी बस्लिन्, यिनको र दुलहाको कस्तो सम्बन्ध रहला ? अहिले यिनी के सोच्न थालेकी होलिन् ? इत्यादि । त्यसपछि मैले कुनै बिहामा जाने साहस गरिनँ । मलाई अब पनि बिहा गर्न रहर लाग्दैन ।

र जब मैले सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भनेको सुनेँ मलाई यस बिहाको स्मरण भयो । हरिमतिमाथि मलाई त्यसै दया आयो । हरिमति सुखी छन् कि दु:खी छन् मलाई थाहा छैन, तर मलाई त्यसै हरिमतिमाथि सहानुभूति हुन्छ । हरिमतिले दुलहा भनेको सुनेकै होली, बिहाको विषयमा उसका साथीहरूले उसलाई जिस्क्याउँदा उसलाई रहर नै लाग्यो होला । उसले पनि आफ्नो दुलहाको कल्पना गरेकी होली ! उसले कस्तो पतिको कल्पना गरेकी होली ? जवान ? कि कटकबहादुरजस्तै छिपिएको ? कि आफूजस्तै सानो केटो ? मीठो खान पाइएला, राम्रो लाउन पाइएला वा बाजागाजासाथ डोली चढी हिँड्न पाइएला भन्ने सुखको कल्पना गरेकी होली ?

बिहा गरेर घरमा आएपछि हरिमतिको कल्पना सत्य हुन्छ कि झूटो ? कटकबहादुर र हरिमति कस्ता कुरा गर्दा होलान् ?

कटकबहादुरले बिहा गरेको राति हरिमतिलाई सोधे होलान् – ‘मेरो रानी’- हरिमति झसङ्ग हुन्छिन् । धेरै दिनको कुरा होइन । एक दिन छिमेकका केटाकेटीसँग खेल्दा त्यो रानी बनेकी थी र एउटा केटा राजा । तर यत्रो ठुलो मान्छेले जस्तै खेलबाड गरेको देख्ता हरिमतिलाई राम्रो लागेन । छक्क परेकी हरिमतिलाई नजिकै टाँसेर कटकले सोधे – “मेरी रानी, मलाई माया गर्छ्यौ ?”

‘माया गर्छु’ भनिदिँदा उनी खुशी हुन्छन् भनेर “गर्छु” भनिन् ।

“म्वाइँ देऊ न त” कटकले आग्रह गरे ! यहाँ हरिमतिको आश्चर्यको सीमा रहेन र मेरो पनि । कटकबहादुरले के भनेर म्वाइँ खान खोजेको ? सानी केटी भनेर कि दुलही भनेर ?

बल्लबल्ल आफ्नो मुखलाई उसको मुखबाट सारी हरिमतिले भनिन्, “मलाई निद्रा लाग्यो, सुत्छु ।”

“यति चाँडै ?” प्रेमको यस्तो रूको उत्तर पाउँदा कटकलाई ग्लानि भयो, तर उनी भन्दै गए – “अरू कुरा गरौँ न, सुत्न त सधैँ सुतिहाल्छ्यौ नि ।”

हरिमति पहिले-पहिले नयाँ घरमा आएर डराई । निद्रा लाग्दा सुत्न नपाउँदा पनि केही बोलिन र उसको मुखतिर हेरिरही । कटकले गरेको कुरा उसले बुझिन, कुनै-कुनै बुझेको पनि कि ता एकदम व्यर्थ कि हाँसो उठ्तो जस्तो लाग्यो ।

कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भन्ने सुन्दा मलाई सब कल्पना किन हुन थाले ? सायद हरिमति र ऊसँग यस्तो केही कुरा भएन होला । उनले हरिमतिसँग प्रथम प्रश्न गरे होलान्- “नानी तिम्रो के नाउँ हो भन त ?”

यस्तो मीठो ढङ्गसँग सोधेको देख्ता नयाँ मानिससँग पनि नडराई हरिमतिले उत्तर दिइन् “हरिमति ।”

“तिमीले कति पढेकी छौ ?”

“कखरा सिद्धयाई भरखर साना-साना पुस्तक बाच्न थालेकी छु ।”

“अबदेखि मसँग पढे, जाऊ अब निद्रा लाग्यो होला, सुत ।”

हरिमतिलाई सुताई ओढाई उनी आफू घरको हिसाब मिलाउन लागे होलान् । बिहान भएपछि उसलाई उठाउँछन्, नुहाउन लाउँछन् र खाजा खाएपछि एकछिन पढ्न भन्छन् र बिराएको ठाउँमा आफैं सिकाउँछन् । खाइसकेपछि कितापहरू एउटा बासामा बाँधी सधैँको जस्तो हरिमति स्कूल जान्छिन् ।

तर म सोध्छु- त्यसो भए कटकबहादुरले किन बिहा गरे ? छोरी नभएर छोरीको रहर पुर्याउन ? त्यसो भए ल्याएकै दिन बढेकी कन्याको बिहा गरिदिनुपर्ने पीर तिनीलाई थपियो होला ।

(स्रोत:Premchari )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.