कथा : बुझाई

~दीपक जडित~

संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी जम्मा गर्नु जस्ता अतिरिक्त काम पनि आईपर्थ्यो उनलाई ।

मिलको आँगनमा खर्दार अरु एकदुईजना मान्छेहरुसंग कुरा गर्दैथिए । संधै त यसबेलासम्म मिल चल्न थालिसकेको हुन्थ्यो । आज के भएछ भन्दै उनि त्यतै गईन । उनिहरु भन्दैथिए , ‘ हैन यो ईन्धनको मुल्य पनि असाध्यै बढ्यो । यो सबै ईराक वारको परिणाम हो । ‘

मनमनै सोचिन् उनले ‘यो ईन्धन भनेको चैं के र’छ ? मुल्ले बडो भन्छन ।’

उनिहरुको कुरा बुझ्ने प्रयत्न गर्दैथिईन् सुब्बिनि भाउजु , खर्दारले भने , ‘ए भाउजु आज काम नहुने भो तिम्रो । दुख मात्रै पाईछौ यहाँसम्म आउन । अब मिल चलाई नसक्नु भै’गो । घर गए हुन्छ ।’ उनले फर्कने आदेश पाईन् र लुरुलुरु फर्किन् ।

उनको मनबाट ईन्धन हटेन । कस्तो खालको धन होला यो ईन्धन भन्ने ? जिज्ञाशा भै रह्यो उनलाई । घर पुगेर छोरालाई सोधिन् , ‘ ए कान्छा ? हैन यो ईन्धन भनेको के रै’च हँ ? ‘

‘ किन चाहियो तिम्लाई ईन्धन र सिन्धन ? खै मलाई स्कुल जान ढिलो भै सको २० रुपियाँ देउ , डटपेन छैन । कतिदिन अर्काको मागेर लेख्नु ? ‘ सात कक्षामा पढ्ने कान्छाले उल्टै उन्को सातो खायो ।

‘ हैन ई छोराछोरी पढार पनि सुख छैन नपढार पनि सुख छैन ‘ पोल्टाबाट सुर्काने थैली झिक्दै भनिन् उन्ले , ‘ के राम्रै पात्तिएको ? नबुझेको त सोध्नै नहुने । ई ला बिस छैन दश लैजा , आफ्नो त दुमो पनि रहेन भएजति सबै तँलाई नै ठिक्क छ । ‘

उनको हातबाट चिलले चल्ला झम्टिएझैं दशको नोट थुत्दै कान्छाले भन्यो , ‘ चाहिएको पनि दश नै थियो तर दश भनेको भए पाँच देखाउंथ्यौ । मलाई था’छैन र ? ईन्धन भनेको मोटर गाडी चलाउने , मिल चलाउने र ठुला ठुला कार्खाना चलाउने तेल हो , भयो अब त ? ‘ कान्छा हान्नियो स्कुल तिर ।

‘ ए तेई भ’र पो मिल बन्द भएछ । तेत्रा खर्दारले पनि किन्न नसक्ने गरेर बढेछ है ईन्धनको मुल्ले त । धन्न हामी गरिबलाई त्यो ईन्धन नभए नि हुने नत्र हामी गरिबले के किन्न सक्थ्यौं होला र ? ‘ मनमनै गमिन् सुब्बिनी भाउजुले र प्रकट मै भनिन् , ‘ अब बुझें ईन्धन भनेको पनि । आँखिर कान्छालाई पढाको काम त लाग्यो । ‘

बिहानै घाम लाग्ला जस्तो भएपनि अहिले बाहिर पानी पर्न शुरु भैसकेको थियो । सुब्बिनी भाउजुको दिनभर काम केहि नै थिएन त्यसैले कान्छाले पकाएको भात खाएर घर बन्द गरेर गाउँतिर लागिन् । दिनभरी गाउँमै बिताईन् उनले न उनको बस्तुभाउ हेर्नु स्याहार्नु थियो न अरु कुनै काम । साह्रै फुर्सदिली थिईन् सुब्बिनी ।

साँझ घर आएर भात पकाउन अगेँनोमा आगो जोर्न के खोजेकी थिईन् उनिसँग घरमा मट्टितेल रहेनछ । लौ खा परेन अब फसाद ? सण्ठी , स्याउला सबै झरीले ओसिएको मात्र छ । थोरै मट्टितेल नचुहाए आगो सल्किनै मान्दैन । अब के गर्ने ? पकाएर खानु त पर्यो ; भएन राती सुतुञ्जेल कुप्पि पनि बाल्नै पर्यो । साँझ हस्याङफस्याङ गर्दै खर्दारको घर पुगिन् उनि । उनको लागी काम , दाम , माम सबै कुरामा हेरदेख गर्ने खर्दार नै त थिए । आँगनमै खर्दारकि श्रीमती भेटिईन् , ‘ ए दुलई लौ मेरो त अगेँनोमा आगै सल्केन अलिकति मट्टितेल पैंचो दिन्थेउकि भनेर आ’की , भोलीपर्सी किनेर दिम्ला…….. ‘ सुब्बिनीले कुरा सक्नै पाएकी थिईनन् खर्दारले भने , ‘ हैन ए भाउजु त्यही तेल नपाएर आज देखि मिल बन्द भो , कतिदिन भैसक्यो किन्नलाई पैसा ले’र जाँदा पनि पाईएको
छैन , कहाँबाट ल्याउने हो मट्टितेल ? धन्न ग्याँसले थेगेको छ हाम्रो त्यो पनि भरैभोली देखि सकिन्छ ।’

कुन्ताको अँध्यारो त्यसमाथी अँध्यारै मुख लाएर फर्किनुको बिकल्प थिएन सुब्बिनीसँग । फर्किंदा बाटोमा सोच्दै थिईन् उनि , ‘ थुक्क ! यो ईन्धन भनेको त हामी गरिबले बाल्ने मट्टितेल पनि पो रहेछ । बल्ल अब चैं बुझें ईन्धन भनेको , गरिबसँग नहुने भएपछि धन नै त भयो नि ईन्धन भने नि जुन् धन भने नि , थुक्क ! ईन्धन । ‘ अँध्यारोमा सुमुसुमु घर फर्किन् सुब्बिनी भाउजु ।

(स्रोत: Jadit’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.