कथा : केतकी फूलको माला

~दीपक जडित~

सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो ।

‘ सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ । ‘ उसले श्रीमतीलाई कोठाभित्रैबाट अह्रायो ।

‘ सकिसकेँ अब । तपाईँलाई भोक लाग्यो ? चिया बनाईदिउँ ? ‘ सीमा उसकै कोठाभित्र छिरिन् ।

‘ हैन मलाई के को भोक लाग्नु नि ? बच्चाहरु भोकाउंछन् भनेर पो । ‘ उ अलि सम्हालिए झैं भयो । उसको अनुहारमा देखिएको उदाशीको भाव उसकी श्रीमतीबाट लुक्न सकेन । उसको केश सुम्सुम्याउँदै सीमाले भनिन् , ‘ किन यसरी दु:खी बन्नुहुन्छ बाबा ? तपाईंमात्र हो र चेली नहुने मान्छे यो संसारमा ? कति छन् कति अरुपनि । मेरैपनि त माईति छैनन् तर हामीले त अब बच्चाको खुशीको लागी पो खुशी हुनुपर्छ । ‘ उसले केही भनेन । सायद सोच्दैथियो के भन्ने भनेर । सीमाले नै भनिन् , ‘ अरे , यो सियो धागो कस्ले यहाँ ल्यायो हिमाल ? ‘

‘ खै ? बच्चाहरुले ल्याए होलान् । ‘ उसले सरासर झूट बोल्यो । सीमाले उसलाई बच्चाहरु बोल्ने भएर बाबा भन्न थालेपछि बाबा पनि भन्ने गर्थिन् त कैले नामले पनि बोलाउँथिन् । देखाभेट नै नभई उनिहरुको प्रेम भएर विवाह भएको थियो । उनिहरु सामान्यता जब ढोकाबाट दु:ख भित्र पस्छ तव माया , प्रेम झ्यालबाट बाहिर निस्कन्छ भन्ने उखानको अपवाद बनेका थिए । निक्कै दु:ख झेलेका थिए उनिहरुले विवाह पश्चात पनि तरपनि उनिहरुको प्रेममा कमी आएन भलै उनिहरुले सामाजिक मान्यता अनुशार अन्तरजातिय विवाह गरेका थिए ।

‘ बच्चाहरुहरु त आज यो कोठामा छिरेको देखेकै छैन.. ‘ , उसलाई सीमाले निधीखोजी गर्लिन भन्ने चिन्ताले सतायो र जवाफमा के भन्ने भनेर सोच्न लाग्यो तर सीमाले सियो धागोको कुरा छाडेर भनिन् , ‘ अब तपाईंले पहिले के भयो भनेर विर्षनु पर्छ बुझ्नु भो ? सँधैँ सँधै बितेको कुरा सम्झेर यसरी दु:खी बनेर नि चल्छ ? ‘

श्रीमतीको कुराले उ झन न्याउरो भयो र रुन्चे स्वरमा भन्यो , ‘ म दु:खी भ’को छैन सीमा र पनि आजको दिन याद आउँदो र’छ चेलीको । मेरो छोड न , जाउ बरु छिट्टो गर बच्चाहरुलाई । ‘

सीमाले उसलाई चपक्क छातिमा टाँसिन् र बाहिर निस्किन् । सीमा गएतिर हेरिरह्यो उसले । उसको कोठाबाट सीमा निस्किँदा ढोकाको एकपट्टीको पल्ला खुल्लै रह्यो । उसलाई आज ढोका थुनेर बस्न मन लागेको थियो तर न उसले सीमालाई ढोका ढप्क्याईदेउ भन्न सक्यो न आफैं उठेर ढप्क्यायो । बरु उ त्यतिकै पल्टियो पलङ्गमा । उसलाई भित्रभित्रै नमिठो अनुभुती भैरहेथ्यो । घरी घरी उसकी दिदीको अनुहार उसको अनुहारमा आईरहेथ्यो । उसले सिह्रानमुनि लुकाएको उसकी दिदीको तस्विर छाम्यो त्यो त्यहीँ थियो । निकालेर हेर्न मन लागेको थियो उसलाई दिदीको तस्विर । रुन मन लागेको थियो उसलाई दिदीको तस्विरसँग तर उसले त्यसो गरेन सोच्यो ढोका खुल्लै छ सीमा अथवा बच्चाहरु भित्र छिरे भने के भन्लान् उसलाई रोईरहेको देख्दा ? जे भएपनि उ घरको मुली हो उसले आफुलाई दह्रो बनाएर देखाउनुपर्छ चाहे छातीभित्र जतिसुकै डढेलो सल्केको होस् ।

‘ सिमरन तिमी यहाँ बस बाबु , अब दिज्युले बाबुलाई टिकी लाईदिनुहुन्छ । ‘

‘ हिसिला चक्चक नगर्नु है नानु म सिलौटो ल्याईहाल्छु । अब भाईलाई टिका लाईदिनु पर्छ , पूजा गर्नुपर्छ है नानु । ‘ उसले नेपथ्यमा सीमाको आवाज सुन्यो । सीमा छोराछोरीलाई सम्झाउँदै थिईन् । उसले ढोकातिर नजर फ्याँक्यो सीमा हतारिँदै भान्सातिर गएको देख्यो र एकैछिनमा दुईहातले ढुँङ्गाको सिलौटो र लोहोरो ल्याएर उसको ढोकाको सामुन्ने नजर पर्ने गरेर राखेको देख्यो । सीमाले सिलौटोमाथी यौटा सानो टपरीमा ओखर ल्याएर राख्दै भनिन् , ‘ सिमरन तिमी त्यँही बस्नु है बाबु , अब तिमीले यो ओखर हेर्नु हुँदैन , दिदीले यस्लाई पूजा गरेर फुटाउनु हुन्छ । ‘

उसको नजरबाट सीमा अदृश्य भईन् । फेरी नेपथ्यमा उसले उसकी छोरी बोलेको सुन्यो , ‘ मम्मी ? भाइले टिकाको थाली चलायो । ‘

‘ सिमरन चलायौ बाबु तिमीले ? मेलो छोलो ज्ञानी छ चलाउँदैन नि हगि ? ‘ सीमा बच्चाहरुलाई सम्हाल्दै त्यहीँ पुगेको अनुमान् गर्यो उसले । उसलाई आफ्नो बाल्यकालमा भाईटिका लगाउँदाको सम्झना आयो । उसको पनि एकजना मात्रै दिदी आमाले सम्झाई बुझाई भाईटिका लगाउन अह्राउनु हुन्थ्यो । त्यही क्रम उसलाई आफ्ना छोराछोरीको पुष्तामा पनि दोहोरिएको लाग्यो । यौटा नयाँ कुरा उसले के ख्याल गर्यो भने उसको पालामा उसकि दिदीले भाई मलाई कति पैसा दिन्छस् ? भनेर सोध्ने गर्थिन् भने उसका छोराछोरीले भाईले मलाई कति पैसा दिन्छ र म दिदीलाई यति पैसा दिन्छु भनेको सुनेन । सायद उसको पालामा बच्चाहरुले अघिपछि पैसाको मुख देख्न नपाउने भएको होला यसो भएको उसले मनमनै गम्यो ।

‘ ल यो फूल लेउ र भाईको टाउकोमा राखिदेउ । ‘

‘ अब यो फूल काँधमा यतापनि र यतापनि राखिदेउ ।’

‘ घुँडामा राखिदेउ अब । ‘ नेपथ्यमा उसकी श्रीमती छोरीलाई भाई पूज्न सिकाउँदैथिन् । यता उ भने अतितमा बल्झेर उकुशमुकुश हुँदैथियो ।

उ ठुलै भैसकेपछिको कुरा – उसकी दिदीको गाउँकै केटासँग प्रेम परेको रहेछ । उनिहरु विहे गर्न थाहन्थे तर उसको बाउले ईज्जतको कुरा उठाएर बाहुनकि छोरी तल्लो जातमा विहे गर्न दिन्न भनेर ढिपी कसेका थिए । आमा थिईनन् । बाउले सानो भएपनि दुखेसो उ सँग पोख्थे त्यसैले उसले बाउको पक्ष लिएको थियो । उसकी दिदीले भने प्रेम गरेको हो अपराध गरेको हैन भनेर मनपरेको केटोसँगै बिहे गर्न पाए गर्ने नत्र नगर्ने र भागेर पनि नजाने भनेर अड्डी कसेकी थिइन् । उसका बाउ यहि कुराले क्वाँ क्वाँ रोएको देखेको थियो उसले । यतिञ्जेल सम्म धर्म जोगाएर बाँचियो । यो बुढेशकालमा यो दिन देख्नुपर्ने रहेछ म पहिल्यै किन मरिनँ तेरी आमासँगै भन्दै छाती पिटीपिटी रुन्थे उसका बाउ उ सँग । उसलाई दिदीले बाउलाई यसरी रुवाउन नहुने भन्ने लाग्थ्यो । यहि कुरा बढ्दै गएर गाउँको पुलिस चौकीसम्म पुगेको थियो । पुलिस चौकीमा पनि सारा दुनियाँ उसकि दिदी र दिदीको प्रेमको पक्षमा थिए भने उ र उसका बाउ मात्र एकापट्टी थिए । पुलिस चौकीमा उसकी दिदीलाई ईच्छाले विहे गर्न दिनुपर्ने र त्यहीदिन देखिनै उसकी दिदीलाई उसले मनपराएको केटोलाई लोग्ने मानेर उसैको घर जान पाउने फैसला भएको थियो । दुनियाँको अगाडी उ र उसको बाउले हारेका थिए । दिदीको तल्लो जातको केटासँग प्रेम भएको थाहा नपाउञ्जेल सम्म उसलाई यो संसारमा दिदीभन्दा प्यारो कोही थिएन तर त्यसदिन उसले र उसको बाउले उसकी दिदीलाई आजदेखि हाम्रो निंती मरिस् भन्दै थुकेर तथानाम गाली गरेका थिए अझ उसले त बाउ धरधरी रोएको देखेको आवेशमा आएर दुनियाँको अगाडी पुलिस चौकीमै दिदीलाई लात्तैलात्तले हिर्काएको थियो ।

गाउँ छिमेकमा जजमानी गर्ने उसका बाउलाई उसकी दिदीले तल्लो जातको केटासँग प्रेम विवाह गरेपछि पूजा कार्यमा बोलाउन छाडे । उसको घरमा चिना हेराउनेको देखि लिएर साइत सोध्न आउनेकोसम्म ताँती हुन्थ्यो । तर त्यसदिन देखि छरछिमेकका ईष्टमित्रहरु गफगर्न समेत आउन छाडे । ठुलै चोट परेको थियो उसको बाउलाई दिदीको कारणले । रातदिन भुट्भुटिन्थे हे ईश्वर ! यो के दिन देख्नु पर्यो भन्दै । त्यही चोटले एकदिन उसका बाउ गाई गोठमा दाम्लोको पासो हालेर आत्महत्या गरेर बिते । उसको बाउ बित्दा पनि दिदीसँग बोलचाल भएन उसको । देखेको थियो उसले दिदीलाई बाउ मर्दा आएको तर पुलिस चौकीमा उसकी दिदीको प्रेमको पक्ष लिने मान्छेहरुले पनि त्यतिखेर यो जातपातको कुरो यहि मर्दापर्दा त चाहिने हो भनेर उसकी दिदीलाई परपरै पारेका थिए । बाउ मरेपछि एक्लो भएको उसले बाउ मर्नुको दोषपनि उसैकी दिदीलाई लगाएको थियो । दिदीकै कारणले बाउले अपहत्ते गरेर मरे भन्ने ठहर थियो उसको । त्यसैले उ पनि बोलेन दिदीसँग ।

‘ लु यहाँ समाउ त हिसिला ? यो यमराजको हड्डीलाई एक्कैतालमा फुटाउनुपर्छ अनि तिम्रो भाईलाई कसैले केहि बिगार्न सक्दैन । ‘ , सीमाको आवाजले झस्किएर उ बर्तमानमा झर्यो । दृश्यमा उसले सीमाले हिसिलाको हात समातेर सिलौटोमा राखेर पूजा गरिएको ओखर किच्याएको पनि देख्यो ।

‘ बाबा हेल्नु न दिदीले मलाई टिकी लाईदिनुभ’को । ‘ उसको सात वर्षको छोरो सिमरन दौडँदै उसको कोठामा पस्यो । उसको हातमा दशैंको मेलामा किनेको सानो मुरली थियो ।

‘ बाबा अब हामी पिङ खेल्न जाने नि ? ‘ पछिपछि नौ वर्षकि छोरी हिसिला पनि आईन् ।

‘ अहो ! मेरो छोरो त टिकी लगाएर हातमा मुरली पनि बोक्दा त कृष्णजी जस्तै पो देखिएछ त । ‘ उसले उठेर छोराको कपाल मुसार्दै र छोरीलाई काखमा लिँदै भन्यो , ‘ अब खाना खाने , भाईलाई खुवाउने अनि ममीसँग जाने है पिङ खेल्न । ‘

‘ नाईँ बाबा तपाईँसंगै जाने । मम्मीले त मलाई पिङमा हल्लाउन पनि सक्नुहुन्न । ‘ हिसिला अनुरोध गर्दैथिईन् ।

‘ कस्ले भनेर सक्दिनँ ? सुन्नुभो यस्ले त मलाई मान्छे नै गन्न छाडी ‘ भर्खरै फुटाएको ओखर पर कतै मिल्काएर फर्किएकि सीमाले उ तिर मुखरित हुँदै भनिन् , ‘ खाना खाउँ है अब । आउनुस् म पस्किन्छु । ‘

‘ हैन छोरी , आज तिम्रो बाबालाई सञ्चो छैन त्यसैले ममीसँग जाउ भनेको , बरु म बेलुकीपख बजार घुमाउन लान्छु नि मेरी ज्ञानी छोरीलाई । ‘ , उ छोरीलाई सम्झाउंदैथियो ।

‘ म पनि जाने बजाल् । ‘ यौटा हातले मुरली नछोडी भुईँमा खेल्दै गरेको सिमरन बोल्यो । उसको ध्यान तुरुन्तै उसले भर्खरै उनेको केतकी फूलको मालामा गयो जो उसले खाटमुनि लुकाएर राखेको थियो । उसलाई छोराले कतै खेल्दाखेल्दै पलङमुनिबाट त्यो माला त निकालिदिने हैन जस्तै लाग्यो र हत्तार ‘जान्छ नि मेरो छोरो पनि म सँग बजार ‘ भन्दै छोरोलाई उठाएर पलङमा राख्यो ।

‘ बुझ्नुभो तपाईंको छोरो कि त ठुलै संगीतकार हुन्छ जस्तो छ कि त भने मेला हुँदी मुरली बजाउँदै चटक देखाउने चटके हुन्छ जस्तो छ । सुत्दा पनि छोड्दैन यो मुरली यस्ले । ‘ सिमरनको हातको मुरलीलाई संकेत गर्दै सीमाले भनिन् ।

‘ यस्तै हुन् बच्चाहरु । खाना खाउँ भनेकी हैन तिमीले ल हिँड जाउँ खाउँ अब ।’ उसले हतार लगायो । उसलाई खाना खाईसकेपछि पाउन सक्ने एकान्तको ध्याउन्न थियो । खाना खाईसकेपछि हिसिला र सिमरन पिङखेल्न जाने भनेर अड्डी कस्दैथिए भने सीमा जुठोभाँडो सिध्याएर लिएर जान्छु भन्दैथिन् । उसले एकान्त प्राप्त गर्न सक्ने उपयुक्त मौका यहि हो भन्ने ठानेर भन्यो , ‘ लैजाउ न त पहिला । जुठोभाँडो आएर गरे नि हुन्छ । ‘

बाबुको पनि आड पाएपछि बच्चाहरु झनै करकर गर्नथाले पिङमा जाने भनेर त्यसैले सीमाले लिएर गइन् । जसै उसलाई एकान्त मिलेथ्यो उ आफ्नो कोठातर्फ गयो र सिह्रान मुनिबाट दिदीको तस्विर झिकेर एकपटक छातिमा टाँस्यो र आँखाभरी आँसु पार्दै एकटकले तस्विर हेर्न थाल्यो र एकाएक उ पुन अतित छिचोल्न पुग्यो ।

बाउ बितेपछि उसले सबै जायजेथा छिमेकीलाई जिम्मा लगाएर गाउँ छाडेको थियो । बहाना पढ्नलाई भएपनि उसलाई गाउँमा बस्नै उकुशमुकुश भएको थियो । गाउँ छाड्नेबेलामा कसैकसैले उसलाई ‘ जे भएपनि आफ्ना भनेका आफ्ना नै हुन्छन् । कम्तिमा खेतबारी त दिदी भेनालाई कमाई खान दे , कम से कम उनिहरुको पनि खाने खेल्ने ठाउँ फराकिलो हुन्छ । ‘ भनेका थिए तर उसले म सँग त्यसको कुरै पनि नगर्नु भनेर कसैको कुरा सुनेन ।

समय बित्दै जाँदा परिवर्तित देश र कालले उसलाई धेरै नरम बनाईसकेको थियो । अक्सर उ पश्चातापमा गल्ने गर्थ्यो । दिदीलाई गरेको ब्यावहार सम्झेर किन त्यसो गरेँ होला भन्ने हुन्थ्यो उसलाई तर फर्किएर दिदीसँग गएर माफ माग्ने आँट भने जुटाउन सकेको थिएन । गाउँ छाडेको चारपाँच वर्षै बितिसक्दा उसले पनि विहे गरिसकेको थियो । अझ दैवको लीला कहाँसम्म भयो भने गहिरो प्रेम परेर उसले विहे गरेकी केटी पनि आफु भन्दा तल्लो जातकि हो भनेर उसले विहे गर्नको लागी तयार भै सक्दा मात्र थाहा पायो । तै बरु उसकि दिदीले तल्लो जातको केटासँगै विहे गरेकी भए पनि समाजको मान्यता अनुशार पानी चल्ने नै जात थियो तर उसको त हिँजो सम्मको उसैको नजरमा पनि पानी अचल जातकी केटी परेकी थिईन् ।

के जान्नु उ ज्ञानी नै भएको थियो वा सीमाको प्रेमले धोईएको थियो उसले चुँ प्रतिक्रिया नगरी सीमालाई विहे गर्यो बरु मनमनै उसले दिदीलाई भेट्ने र माफी माग्ने अठोट भने गरेको थियो । विहे गरेकै साल तिहारमा उ दिदी भेट्न गयो र दिदीको खुट्टा समाएर माफी माग्दै भन्यो , ‘ मलाई माफ गरिदेउ दिदी , म अज्ञानी थिएँ त्यतीबेला त्यसैले तिमीलाई भन्नु नभन्नु भनेँ , गर्नु नगर्नु गरेँ । आँखिर अहिले मैले आफैंले पनि तल्लो जातकै केटी विहे गरेको छु । यो जात र धर्म भन्ने कुरा माया प्रेम भन्दा ठुलो हैन रहेछ भनेर बल्ल बुझेको छु । ‘

यतिका वर्षपछि , त्यो पनि भाईतिहारको दिन माईतिको मुख देख्न पाएकि उसकी दिदीले उसलाई ग्वाम्लाङ्ग अँगालो हालेर भनेकि थिइन् , ‘ तिमी फर्केर आयौ । मलाई माफी दियौ यहि नै लाख छ मेरो लागी । किन माफी माग्छौ मसंग मैले कहिल्यै तिमीलाई दोष लगाएको छैन , के को लागी माफी दिनु मैले ? ‘ उनको मुहारमा अब्यक्त खुशी यसरी छचल्किएको थियो मानौं दिब्य दश हजार वर्ष कठोर तपस्या गरे पश्चात कुनै मनुवाले भगवानको दर्शन पाएको होस् । उसले दिदीसँग मात्र माफी मागेन भिनाजु र भिनाजुको सबै परिवारसँग माफी माग्यो । सबैले उसलाई माफी माग्न त ठुलो छाती पो चाहिन्छ भन्दै महान भनेर तारिफ गरे । सबैको आँखा रसाएको थियो त्यसबखत ।

निक्कैबेरको भलाकुशारी पछि दिदीले पूजाको सम्पुर्ण सर्जाम तयार गरेर उसलाई टिका लगाइदिन् र केतकी फूलको माला लगाईदिँदै भनिन् , ‘ भाई आज यो संसारमा म जति भाग्यमानी कोही छैन होला ? मैले तिमीबाट माफी पाएँ त्यसैले आज देखि सत्य युगमा सानो झूट बोलेर गल्ति गरी अपहेलित भएको यो क्यात्तुके फूलले पनि माफी पाओस् । आज देखि यस्लाई कुकुरको घाँटीमा मात्र नलगाईदिउन् मान्छेहरुले । मान्छे मान्छे माझपनि जातपातको भेदभाव आजै देखि मेटियोस् र यो फूलले पनि आजै देखि माफी पाओस् ।’

दिदीले उसलाई घाँटीमा केतकी फूलको माला लगाइदिँदा भित्रैदेखि चिसो भएर आयो । उसलाई दिदीले कुकुरलाई झैं ब्यावहार गरेको भान पर्यो र उसले दिदीकै अगाडी माला चुँडाएर फ्याँक्दै , ‘ मैले तिमी भा’ठाउँ आउनु नै गल्ति गरेछु । तिमीले त मलाई कुकुरलाई झैं ब्यावहार गर्यौ । कुन मान्छेले आजसम्म यो क्यात्तुके फूलको माला लगाएको छ र मलाई लगाईदियौ ? तिमीलाई अझैपनि माईतिको ईज्जतको ख्याल रहेनछ । ‘ भन्दै उठेर हिंड्यो ।

त्यसको केहिदिनमा उसले उसकी दिदीले पनि बाउ माईतिको शिर ठाडो गर्न सकिँन भनेर पासो लगाई आत्महत्या गरेको खबर सुनेथ्यो । त्यसदिन देखि सँधैं सँधै तिहारको समयमा बिव्हल बन्नेगर्छ । यसरीनै एकान्तमा दिदीको तस्विर हेरेर रुने गर्छ । दिदीसँग माफी माग्ने गर्छ । आजपनि उ दिदीको तस्विर र उसले आफैं उनेर पलङमुनि लुकाएको केतकी फूलको माला लिएर उसकि छोरी हिसिलाले भाईलाई टिका लगाईदिएको स्थानमा गयो र दिदीको तस्विर अघिल्तिर राखेर आफैंले टिका लगायो । मानसिक संतुलन गुमाएर विक्षिप्त बनेको मान्छेझैं आफैले केतकी फूलको माला पनि लगाएर उ भन्दैथियो , ‘ दिदी , मलाई माफ गरिदेउ , म ठुलो पापी हुँ । मलाई मैले गरेको पापको सजाय छैन । मलाई किन त्यसदिन् तिमीले यो क्यात्तुके फूलको माला लगाईदिँदा मान्छे हुनुको घमण्ड आयो ? कुकुर पनि उनै ईश्वरको सिर्जना हो र यो फूल पनि उनै ईश्वरको सिर्जना हो भनेर मैले किन बुझिँन त्यसबेला ? तिमी सहि थियौ दिदी , म कुकुर नै थिएँ त्यसबेला , मान्छेहरुले चाहे यो फूललाई माफ गरुन् नगरुन् तर मैले आज आफैं यो फूलको माला लगाएको छु दिदी , तर म जस्तो नीच व्यक्ति यो फूलको मालाको पनि योग्य छैन ।’

यतिञ्जेलसम्म उ भित्रैबाट मुटुको खिल निकालेझैं अझ भनौं न क्विन्टलको भारी बिसाएझैं हलुङ्गो भै सकेको थियो । एकाएक उसलाई सीमा र छोराछोरी याद आए । ठिक यहि बेला उनिहरु आए भने के भन्ठान्छन् होला भनेर उसलाई चसक्क पर्यो र उनिहरु आउनुभन्दा अगाडी नै पूर्ववत हुनको लागी आफ्नो कोठामा जानलाई पछि फर्कियो । पछिल्तिर अघि नै कतिखेर देखि दुबै बच्चा च्यापेर आँखाभरी आँशु पार्दै सीमा मुर्तिवत खडा भएको देख्यो उसले ।

(स्रोत: Jadit’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.