प्रहसन : जय लोकतन्त्र !

~सुकुम शर्मा~

पात्रहरू

कृष्णप्रसाद– बुबा स्थान– घरको कोठा
देवकी– आमा समय– बिहान ९ बजे
समिर– छोरो
सुप्रभा– छोरी

(सहर नजिकको सामान्य घरको कोठा, कोठाका भित्तामा एक दुई तस्बिर झुन्डिएका, तस्बिरको नजिकै भित्तेपात्रो, कोठाको एक कुनामा दराज देखिन्छ । कृष्णप्रसाद कार्यालय जान तयारी गर्दैछन् ।)

कृष्णप्रसाद– (कमिजको टाँक लगाउँदै गर्दा झ्यालबाट बाहिर हेर्छन्) ल, ल, केको आवाज, को हँ ? ऊ जुलुस आएजस्तो छ ! खोइ आज पनि कार्यालय गइएला जस्तो छैन ।

देवकी– (आफ्नै सुरमा) तपाईँलाई सधैँ अफिसको चिन्ता छ । जुलुसले बाटो ठप्प पारेपछि कसरी पुग्ने अफिस ! (जुलुसको आवाजतिर ध्यान दिँदै) ऊ, ‘बन्द सफल पारौँ रे ! बन्दै भनेपछि त अफिस ! अफिस ! मनमनमा जप्यो, घरमा नै बस्यो ।

कृष्णप्रसाद– (श्रीमतीतिर हेर्दै) कार्यालय नगएको पनि ठ्याक्कै एक साता नै भयो क्यारे ! अँ आज के बार अरे (भित्तेपात्रो हेर्दै) शुक्रबार ! नभन्दै एक साता भएछ ।

देवकी– (अनुहारमा हल्का हाँसो भर्दै) एक साता भए पनि, दुई साता भए पनि तपाईंलाई केको चिन्ता ! जुन दिन बाटो खुल्छ, बन्द हुँदैन, त्यही दिन गयो, हाजिर ग¥यो (उपेक्षा भावले) आखिर देशको प्रगति नै यसैमा छ भने ……. ।

कृष्णप्रसाद– (बीचैमा) अरू जे भए पनि म त देशको कारिन्दा हुँ नि ? मेरो अमूल्य श्रम, समय देशका लागि दिन म तयार छु । (आश्चर्य स्वरमा) तर, देश चलाउनेहरू पूरै देश ठप्प हुँदा पनि आँखै देख्दैनन् कि क्या हो ?

देवकी– (हल्का पाराले हाँस्दै) देश त देखेकै छन् नि ! देश आफैँले के गर्छ र अनि तपाईं छट्पटाएर के गर्नू देश चलाउने पो छट्पटाउनु पर्ने ? दिनदिनैको जुलुस, बन्द, चक्काजाम गर्न कार्यकर्ता उक्साउने पनि तिनै देश चलाउने हैनन् र ?

कृष्णप्रसाद– हो त, हड्तालको पनि एउटा सीमा हुन्छ नि ! दिनहुँको यो जात्रा, देश बिगार्ने उत्सव !

देवकी– आश्चर्यका पारामा) के को जात्रा भयो र ? जात्रा हेर्नेको त भीड हुन्छ, रमाइलो हुन्छ तर (नाकबाट छिटोछिटो सास तान्दै) तर हड्ताल, बन्द त त्रास र धम्कीको खेल पो भएको छ ।

कृष्णप्रसाद– विरोधको पनि एउटा नीति हुन्छ, मर्यादा हुन्छ । (औँलो भाँच्दै) आइतबार एक ट्याक्सी ड्राइभरले मिटर छिटो घुमाएकोमा बन्द, सोमबार डाक्टरले इन्जेक्सन दिन नजानेको विरोधमा बन्द, मङ्गलबार भाषा अधिकारका लागि बन्द, बुधवार पार्टीको वार्षिकीको सन्दर्भमा बन्द, बिहिबार पेट्रोलियम पदार्थमा मिसावट भएकाले बन्द । आज शुक्रबार ऊ के जाति जुलुस बन्द भन्दै छ ।

देवकी– एकै दिनभर दुईतीन थरीको चारपाँचवटा माग राखेर बन्द भएको कसरी बिर्सने नि !

समीर– (गीत गुनगुनाउँदै कोठाभित्र पस्छ) अबदेखि त शनिबार अफिस जाने अरू दिन जुलुस, हड्तालमा सहभागी हुने विषय बनाए त भइहाल्थ्यो नि ! आखिर अफिस खुले पनि कर्मचारीले ६ दिनमा १ दिनको पनि काम गर्दैनन् ।

कृष्णप्रसाद– (उपेक्षा भावले हेर्दै) होलान्, कोही कामचोरहरू ! तर सबैको एउटै मूल्याङ्कन हुनु त भएन नि !

देवकी– (लोग्नेका मुखमा हेर्दै) लोकतन्त्र भनेको बन्द चक्काजाम, विरोध, जुलुस भाषण नै भइसक्यो । यसो भएपछि हाजिरीकपी पनि जुलुसमा लैजाने, त्यहाँ हाजिर गर्ने, नारा घन्काउने बस्….. ।

समिर– यो नयाँ नेपालको मार्ग कोर्ने समय भएकाले सामान्य कुरा मान्नुपर्छ ।

कृष्णप्रसाद– (झोक्किँदै) कसरी हुन्छ सामान्य कुरा ! सधैँको बन्द, सधैँको हड्ताल नयाँ नेपालको मार्ग भएपछि मान्छेले बत्तीसवटा दाँत तीन सय पैँसठ्ठी दिन कसरी चलाउन सक्छन् त ?

समिर– जुलुस, भाषणको महत्व नबुझेपछि यस्तै हो । (उपेक्षापूर्वक) अहिले हामीजस्ता बेरोजगारीहरूको पनि काम बढेको छ । नारा घन्कायो, कविता सुनायो… क्या मज्जा !

कृष्णप्रसाद– (बोलीमा रुष्टता भरेर) हेरहेर यसलाई लोकतन्त्रको भूत चढेको ! मेरो प्यारो छोरा सबैका कार्यकर्ता, कविजी सडकमा चिच्याएर कविता भट्याएर पेट भरिन्न । (केही सोचेझैँ) अस्तव्यस्त देशलाई बनाउन त काम गर्नुपर्छ, पसिना चुहाउनुपर्छ ! त्यसअनुसारको अवसर राज्यले जुटाउनुपर्छ ।

समिर– (हाँस्दै) ल, बा पनि कविता बोल्न पो थाल्नुभयो । अखिर जसले जे जानेको छ उसले त्यही काम गर्ने त हो नि !

देवकी– (छोरातिर हेर्दै) जसले जे जानेको छ उसले त्यही काम गर्ने भनेर सधैँ रत्यौली नाचेजस्तो त गर्नु भएन नि !

सुप्रभा– (हाँस्दै भित्र पस्छे) आमाका कुरा पनि देश सधैँ रत्यौली नाचको आँगन बनेको छ भने तपाईंले मैले दाइको बिहे पर्खेर के हुन्छ र ?

कृष्णप्रसाद– (व्यङ्ग्यपूर्वक पत्रिका देखाउँदै) ल, यो शीर्षक हेर न “बन्दका कारण बेहुला बेहुलीको बिजोग” ! बिहे पनि कहाँ सहज छ र ?

सुप्रभा– (बाबुतिर हेर्दै) कहाँ मैले दाइको बिहेको कुरो गरेकी हुँ र ? बा पनि भाव नै नबुझेर गीत छनौट गर्ने निर्णायक जस्तो पो हुनुभयो त ?

समिर– (मज्जाले हाँस्दै) हो, सुप्रभाले बल्ल ठीक कुरो गरी । जीवनमा एउटा पनि कविता नरच्ने मान्छे दुर्लभ हुन्छ भन्छन् । हो, त्यही दुर्लभ मान्छेहरूको गीत चयन समिति बनेपछि कसरी उत्कृष्ट गीत चयनमा पर्छ त ?

सुप्रभा– (आँखा तर्दै) आफूलाई केको चिन्ता, यसलाई कविताकै चिन्ता छ । के के न ठूलो कवि भएजस्तो !

समिर– (अलि झोक्किँदै) तैँले नपत्याए नि के भयो र ? म कवितावाचनमा नै जमिसकेँ, कवि भइसकेँ ।

कृष्णप्रसाद– (व्यङ्ग्यात्मक स्वरमा) ल, ल ठीक छ । आफ्नो डम्फू आफैँले नबनाए अर्कोले तँलाई कवि कसरी भन्लान् र ? (कवि आफैँलाई सोध्दै) राष्ट्रका हिमाल, पहाड, तराई, खोला नदीको बगाई उत्कृष्ट गीत भएपछि अनि लोकतन्त्र, युद्ध, गौरव, त्याग, महान् शब्दले क्रान्तिकारी कविता भएपछि कवि हुन के आइतबार चाहियो र ? जीवन चलाउन त त्यति सजिलो …… ।

समिर– (बीचैमा) बुझेँबुझेँ, जागिर खा अनि अरु कुरा गर्लास् भन्नुभएको होला । जागिर खाने योग्यता बनाउँदैछु ।

सुप्रभा– (व्यङ्ग्य स्वरमा) म त, यसलाई जागिरको के चिन्ता छ र ? आन्दोलनमा ढुङ्गाको पुर्जी पाएकै छ, सडकमा कविता र नारा गाएकै छ । पार्टीले मन्त्रालय, विश्वविद्यालय भागबन्डा लाएकै छन् । अब नेताको पाउ मोल, चाकडी गर अनि उँभो लागिहालिन्छ ।

देवकी– (गम्भीर हुँदै) नेताहरूको पनि कुनै विश्वास र टुङ्गो छैन । पहिले लोकतन्त्र आएपछि सबै काम गरौँला भन्थे । अहिले लोकतन्त्र जोगाएपछि गरौँला भन्दैछन् अब तिमीहरू मरेपछि गरौँला भन्न मात्र बाँकी छ ।

कृष्णप्रसाद– (आफ्नै सुरमा) भएको जागिरमा पुग्न त नसकिने दिन आए नभएको जागिरको चिन्ता किन गर्नू । अफिसमा पुगे पनि सुख छैन, नपुगे पनि सुख छैन ।

देवकी– (झोंक्किएर) यी बुढालाई पनि रङ्ग न ढङ्गको भूत चढेको छ । घरि अफिस जान पाइन भन्ने चिन्ता घरि अफिसमा गएर पनि दुःख भयो भन्ने चिन्ता !

कृष्णप्रसाद– (सुस्केरा छोड्दै) अफिसमा पनि १० जना कर्मचारीका २० वटा सङ्गठन छन् । सङ्गठनका माग र सङ्घर्षका लामालामा फेहरिस्त छन् । कुनै एउटा सङ्गठनको सदस्यता लिएर पनि सुख छैन । चन्दा, सहयोग त सबैलाई दिनैपर्ने ।

देवकी– (आँखा तर्दै) अफिसमै त्यसरी पैसा सकिएपछि महँगीको मारबाट कसरी बच्ने नि !

कृष्णप्रसाद– सरकार बन्छ र थिति बस्छ भनेर पर्खंदापर्खंदा बीरवलको खिचडी पाक्ला र खाउँला भनेजस्तै भयो । (आक्रोश पोख्दै) तिनै कालबजारिया, माफियाकै दिन आए । अझै इमान र जमानका दिन आएनन् ।

सुप्रभा– (आँखीभौँ खुम्च्याउँदै) बुबा पनि जता मल्क्यो उतै ढल्क्यो भएन भने त दुःख पाइन्छ नि ! जताजता धेरै मान्छे दौडन्छन् उतैउतै दौड्यो, अनि त टाउकै दुख्दैन ।

देवकी– (हात टाउकामा पु¥याउँदै) अवसरवादी बुढो भनेर टाउको फुटाइदेलान् नि फेरि !

समिर– के को अवसरवादी नि ! (उत्सुक हुँदै) क्रान्तिकारी भएर सुरिने जति युद्ध र आन्दोलनमा मरिहाले । बाँचेका मध्येकाको पार्टी यसै सानो हुने भयो । तब त, जस्ता मान्छे पनि सोहोर्नु प¥यो, पद जन्माउनु प¥यो आफ्नो पार्टी ठूलो बनाउनै प¥यो ।

कृष्णप्रसाद– त्यस्तैत्यस्तै मान्छेको भीड भयो भने पार्टी एकातिर, सिद्धान्त अर्कोतिर हुन के बेर ! फर्सी कुहेको कसले देख्छ र ?

देवकी– (बुझक्कड पारामा) नीति र नेता भएर पछि छाडातन्त्र हुने रहेछ । व्यापारीको उद्देश्य नाफा कमाउ भनेझैँ आफ्नो दुनो सोझ्याउनेकै भाउ हुन्छ, त्यसैको सान हुन्छ ।

कृष्णप्रसाद– सिद्धान्तलाई व्यवहारमा अपनाउने इमानदारितापूर्वक काम गर्ने मान्छे कहिल्यै उँभो लाग्दैन ।

समिर– जे भए पनि यो परिवर्तन सार्थक छ । तैपनि ……

कृष्णप्रसाद– (दिक्क मुडमा टाउकामा हात राख्दै) पुग्यो, अब सबै कुरा पुग्यो । देशमा अब अति भइसकेको छ । जनताको धैर्यको बाँध कति रहने हो थाहा छैन । हे नेता गण ! अब देशका बारेमा सोच, जनताको मर्म बुझ ! हृदयदेखि नै जय लोकतन्त्र भन । यी बेथितिबाट मुक्त पार ।

(सबैजनाको ध्यान कृष्णप्रसादमा केन्द्रित हुन्छ।)
बिस्तारै पर्दा खस्छ !

(स्रोत : Fitkauli)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in प्रहसन, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *