संस्मरण : २२ वर्षपछिको भाइटिका संझिएर

~भारती गौतम~

नोभेम्बरको त्यो बिहान अलि अलि हुस्सु लागेको भए पनि भर्खर झुल्किएको घाममा भैंसेपाटीवाट देखिने हिमाल ओल्लो छेउ देखि पल्लो छेउ सम्म चांदी जस्तै टल्किएको थियो। हुन त हामीले त्यहाबाट देखिने अलौकिक हिमाल श्रृंखला देख्‌न एक महिना अगाडी देखि वाटो हेरिराखेका थियौ। डेढ हप्ता काठमांडौ वसेर पोखरा पुगीसके पछि पनि अविरल वर्षामा वादलको घुम्टो भित्र लुकेको माछा पुछ्रे श्रृंखलाको खुला अनुहार देख्‌न समेत अर्को एक हप्ता लागेको थियो। हामी फर्किने भनेको मितिको अरु दुई हप्ता पछि मात्र भैंसेपाटीवाट देखिने पहाडी क्षितीज चांदी टल्किन सक्ने थाहा पाए पनि वुझ पचाएर हरेक विहान मेरा अतृप्त दृष्टी हुस्सुको ओढ्ने ओढेर गजधम्म सुतेको श्रृंखलामा नठोक्किईरहन सक्तैनथे ।
तर आज अस्वाभिक अद्भुत अनारदाना देखाएर मुस्काएको हिमालले २२ वर्ष पछि काठमान्डौमा मनाउन आंटेको भाईटिकामा म र मेरो भाईसंगै खुशी मनाएको जस्तो लाग्थयो।

हो, त्यो मेरो दुईदशक भन्दा पनि पछिको मेरो भाईटिका थियो। विगत चार पांच वर्ष देखि मेरो नजीकै भएको मेरो अर्को भाईलाई मैले अमेरिकामा नै टिका लगाउने अवसर पाएको थियो तर मेरो भाईले त्यो दुईदशकमा आफ्नो निधारमा कसैको ईन्द्रेणी टिका लगाएको थिएन। परदेशमा वेपत्ता दिदीको प्रतिस्थापन शायद मेरो भाईले स्विकार्न सकेको थिएन।

मेरी छोरीले नेपालका सवैभन्दा महत्वपूर्ण र महान चाडहरु हेर्ने रहर गरेको हुनाले उसलाई नेपाल र नेपालका चाडपर्व देखाउने निहुंमा आफूले पनि वालककाल देखि आफ्नो मनको सवैभन्दा गहिरो स्थानमा कुदिएर रहन सफल र सक्षम दशैं र तिहारलाई लामो समय पछि फेरि एकपटक अगाल्ने अवसर पाएकी थिंए।

दशैंको कोजाग्रत पूर्णीमाको लगत्तै पछि देखि काठमांडौका गल्ली,गल्ली घर चोक ,वजार सडक सवैमा तिहारको आगमन देख्न सकिन्थ्यो। सयपत्रीका र मखमलीका मालाले नयासडक, शहिदगेट,कालीमाटी, असन, का सडकमा रहेका वारहरु सजिएका थिए। पेटीहरु सांघुरिएका थिए।तेल,घीउ,चिनी,पटाका,मैनवत्ती देखि लिएर फलफूल, ल्वाङसुपारी,नरिवल,कटुस ओखर अनि काजु किसमिसले खचाखच भरिएका दोकान र त्यसलाई किन्न जाने मान्छेको जांगर, खुशी र उत्सुकता देख्ता मुलुकको हिजोको हत्या हिंसा र हरण को अविस्मरणीय यथार्थ, आजको अनिश्चित नीति, नेताकोवोली र नियम , राजनीतिक अस्तव्यस्तता अनि भोलिको निष्पट्ट नियती को तथ्य पनि यमराजले लिएको छुट्टी जस्तै पंचकभरी कतै विदा मनाउन गए जस्तो देखिन्थ्यो।

झण्डै डेढ दशक देखि कागतिहार,नर्केचतुर्दशी, लक्ष्मीपूजा, गोवर्धनपूजा, म्हपूजा,अनि भाई पूजा हरेक वर्ष आउने यी अवसर मेरो लागि वर्षै पिच्छे आउने वसन्त या शिशीर जस्तो स्वाभाविक थिएनन् । मेरो लागि ती पंचकका एक एक दिन मात्र हैन तर तिहारसंग का हरेक मिनेटहरुले अर्को कतिसम्मको लागि अविस्मरणीय छाप लेख्‌नु पर्ने थियो।
“ मैले मेरी दिदीको हातको टिका नलगाएको सोह्र वर्ष भयो” दिदी दक्षिण कोरियामा भान्जा भान्जीको पढाईको लागि खर्च वनाउन जानु भएको”। मीर्ग मरिचिकाको शिकार भाईको सपना।
“मेरो भाई द्वन्दमा वेपत्ता भयो, अझै उ भेट्टिन्छ अनि टिका लगाईदिन्छु भनेर पर्खीरहेकी छु”। सत्य थाहा भएपनि स्वीकार्न असमर्थ दिदीको ब्यथा।

“मेरी वहिनी एउटा कुमति भएको मान्छेलाई विहे गर्न पुगिछन्, खसी वोका जस्तो व्यापारको शिकार भएर वेपत्ता भएको दश वर्ष पुगेछ, दश वर्ष अगाडीका संझेसम्मका तिहार मेरा सवै तिहार मानेको कल्पना गर्न पर्याप्त छन्।, भाईपूजाको तिथि पात्रोवाट हटे पनि हुन्छ जस्तो लाग्छ”। प्रतीक्षामा थकित दाजुको सुस्केरा।
“छोरो कतारतिर लागेको ,छोरी लन्डनमा , पांच पुगेर ६ लाग्यो, कताको मखमलि,कताको सेल, कताको विमिरो अव त एकादेशको कथा जस्तो भै सक्यो”एक आमाका अनुहारमा फेरि एउटा चाउरी थपिन्छ।

यस्तै यस्तै तिहार र तिहारसंगको यथार्थको शिकारको लामो लस्करमा आफू पनि उभिएको पत्तै भएनछ।
पारिलो तर चिसो चिसो घाममा भाईको घरको माथि छतमा खुल्ला र फराक ठाउं भनेर टिका लगाउने निधो भयो। मैले मेरो भाईलाई, वुहारीले उनका दुईजना दाजुलाई अनि मेरो भदालाई उसकी वहिनीले गरि तीनथरीको तयारी भयो।

टपरीमा दियो,कलस,गणेश, छेउमा एउटा टपरीमा विमिरो, संघार मानिएको भर्याङको छेउमा एउटा हाडे ओखर, कुचो, एउटा सानो प्लेटमा तेल, साथमा काईयो, एउटा किस्तिमा मखमली फूलका माला(आफ्ना आफ्ना दाजुलाई), सयपत्री र गोदावरीको माला(मेरो भाईलाई मात्र, काठमान्डौको चलन(मेरीवुहारीको कमसेकम)मा मखमली मात्र भए पुग्छ अरे। अर्का केहि किस्तिहरुमा सेल,अनर्सा, अर्सा, मीठाई अनि काजु,किसमिस आदि मसलाहरु, केहि उपहारहरु,छतभरी फिजिए। मेरो लागि यो अवसर गर्मी पछि जाडो आउने औंसी पछि पूर्णीमा आउने या त दिनपछि रात आउने जस्तो स्वाभाविक थिएन। मेरो लागि त्यो समयका सेकेन्ड सेकेन्ड बहुमूल्य थिए,अमूल्य थिए, अलौकिक थिए। मैले यि सेकेन्ड सेकेन्ड जम्मा गरेर जोहो गरेर सस्मरण भित्र कुंदेर राख्‌नु थियो अनि आगामी नजाने कति भाईपूजाको लागि अलि अलि गर्दै फारो संग पुर्याउनु थियो।

वाहिर देख्ता म काठमान्डौको तिहारको अनुभूति गर्देगरेको भए पनि मेरो मानसपटलमा भने मनको तल्लो भागमा कुंदिएर रहेको वालककालदेखि नै धनकुटामा मनाईने गरेको तिहार को संमरण को अनुभुती आलो भएर व्युझिएको थियो। अनायास म धनकुटा सल्लेरि पारीको आंगन ढुंगाले छापेको अनि टीनको छानो भएको आकाशमा चन्द्रमा टल्किए जस्तै परैवाट टल्किने आफूलाई सवै भन्दा प्यारो लाग्ने ठांउमा पुगेकी थिए।

वरीपरी जुनार सुन्तला ,कागती, निवुवा र अम्वाका रुखहरु, चारैतिर फर्सी,घिरौंला, लौका, कांक्रा लटरम्म पाकेका वार र माचहरु,आंगनको एकछेउमा तुलसीको मठ अनि अर्को सिंगै पाटो जातजातका, रंगरंगका, ठाऊठाउका सवै मौसम जगमगाउनेगरीका फूलभएको फूलवारी ,फूलवारीभित्र मेरा वा हुनुहुन्थ्यो भने ,वगैचाभरी मेरा दाजुभाई, तेल र घिउको रागको धुवाभित्र पैताला देखि टाउकै सम्म रातै रातो रंगमा सजिएकि मेरी आमा सवै संग मेरो भेटघाट भयो। छुमलिङवाट मेरी एउटै फूपु कुराउनी र अर्साका वट्टा लिएर मेरा वा र तीनजना काकाहरुलाई टिका लगाईदिन आउनु भयो। तीनदिन देखिको चामल भिजाउने, पिठो कुट्ने, सेल, अनर्सा, अर्सा,मीठाई वनाउने, रंगीचंगी पातला झुरुमुरे रोटीहरु खोजेर ल्याउने, मसला, वदाम, ओखर, थरीथरीका अचार, तरकारीको व्यस्ततामा आमा थाकेजस्ति देखिनु भयो। फलफूलले सजिएका किस्तीहरु र आफ्नैवारीको फूलवाट आफैले तयार गरेका मखमली,गोदावरी र सयपत्रीका मालाहरुले असरल्ल घर खुट्टा राख्‌ने ठाउ छैन। आंगनवाट तलतिर हेर्दा तल डाडामा मच्चिने लिंगे र रोटे पिङको झन्कार कानमा झन्किन्छ। टिकाको साईत ११ वजे भएर सवैले नुहाउन धारामा पालो पर्खिनु परेको छ। ओछ्यानको पत्रमा जतनसंग अरुबेला लुकाउने गरेको निलो भुईमा राता फूलका बुट्टा भएको गलैचा एकातिर अनि वास्तिमवाट ल्याएको राडी अर्को छेउमा, अनि माझमा वाले रेखी हालेर तयार पार्नु भएको पूजा गर्नु पर्ने भूईभरी पूजा सामान अनि माझमा चांदीको करुवाको टुटीमा दूवो घुसारेर वरीपरी छेक्न ठिकपारेको कलस सवै मेरो सामु मेरो आंङमा पोखिएको न्यानो घामको किरण जस्तै सांचो थियो।

“दिदी पूजाको बेला भयो” भदैको वाक्यले झस्किएको मेरो मन काठमांडौको सिमेन्टको घरको कच्चा छतमा ठोक्किन पुग्यो। व्युझिएको यथार्थमा मेरी आमा डेढ दशक अगाडि दिंबगत भैसक्नु भएको थियो, म संगै मेरा दाजुभाईलाई टिका लगाउने मेरी बहिनी पनि वर्षौं अगाडी नै अर्कै दुनियाको पाहुना भैसकेकी थिई, मेरा वा, मेरा तीनैजना काकाहरु अनि एकमात्र मेरी फूपु सवै नै एक एक गरि पतझडमा झरेका पातहरु जस्तै झरेर कता कता अनन्तमा विलाई सक्नु भएको थियो।

केहि दिन अगाडि मात्र साक्षात्कार खण्डहर हुनका गाह्राले उभिएको त्यो घर को संस्मरण मेरो अन्तस्करणमा छस्स बिझ्न पुग्यो।
छतमा टिकाको प्रक्रिया शुरुहुनै आंटेको थियो।

(स्रोत: Nepalipost )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.