कथा : सूर्यमुखी

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ – ‘सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !’

तर म त्यसो गर्न सक्दिनँ । मेरी सूर्यमुखी अचेल सहरभरिका ठिटाहरूकी रमा मात्र शेष रहन गएकी छ । ऊ जुन सडकबाट हिँड्छे, सडक नै उचालिदिन्छे । होटलमा काम गर्ने ठिटाहरूदेखि लिएर रिक्सावाल, ट्याक्सी ड्राइभर र बाह्रमासेहरूसम्म सुसेली हाल्दै अनेकवली भनेर गिज्याउन लाग्छन् उसलाई । कति पल्ट यस्ता घटना आफ्नै आँखाले देखेको हुँ र ऊप्रति असाध्य घृणा उब्जेको थियो मेरो मनभरि । उसलाई चटक्कै बिर्सिदिने चेष्टा पनि गरेँ तर सकिनँ । रही-रही ऊ फक्रिरही-ओइलिरही-झरिरही ।

वास्तवमा ऊ त्यस्ती थिइन, न त्यस्ती होली भन्ने नै चिताएको थिएँ । मलाई राम्रो थाहा छ, उससँग मैले पहिलो नाटक ‘राम वनवास’ खलेको थिएँ र त्यसमा ऊ सीता भएकी थिई र म चाहिँ राम भएको थिएँ । नाटकमा ऊ नायिका हुन्थी, आवश्यक पर्दा नाच्थी र बेला-बखतमा गाउँथी पनि । यसरी उसले हाम्रो टोलीमा प्रसिद्धि कमाइसकेकी थिई ।

म अझै त्यही नाट्यशालामा काम गरिरहेको छु । अब नायकको अभिनय गर्न छोडेर म बूढो मान्छेको अभिनय गर्न लागेको छु । वैँश ढल्किसकेकाले पनि होला, अचेल कसैले मलाई नायक बनाउने प्रसंग पनि उठाउँदैन । कथकङ्कदाचित् त्यस्तो कुरा चलिहाले पनि केटीहरू हच्किन्छन् । सायद उनीहरूका लागि म अब नसुहाउने भइसकेको छु । अचेल नाट्यशालामा धेरै नयाँ-नयाँ कलाकारहरू थपिएका छन् र अघिभन्दा दोब्बर चहलपहल पनि बढेको छ । तर मलाई कता-कता ती जम्मै अनुहारहरूभन्दा पर सूर्यमुखीको अनुहारको सम्झना भइरहन्छ । यस्तो लाग्छ, हामी चाहिँ अझै नाट्यशालाभित्र कल्पित नाटक खेल्नैमा व्यस्त छौँ र ऊ चाहिँ त्यो परिधि नाघिसकेर यथार्थ नाटक खेलिरहेकी छ । एक पल्ट उसले भनेकी थिई – ‘सुन्नुभो दाइ, हाम्री आमाको बिहे नहुँदै म जन्मेकी रे ! मेरो बाबु म नजन्मिँदै गाउँ छोडेर भागेको रे ! लोग्नेमान्छे कति निष्ठुर हुन्छन् हो कि ? कहिले त जम्मै लोग्नेमान्छेसँग प्रतिशोध लिऊँ जस्तो लाग्छ मलाई ।’

सोच्छु – कतै ऊ प्रतिशोध त लिइरहेकी छैन ? दिनहुँ कति लोग्नेमान्छे उसको पछि लागिरहेका हुन्छन् । कतिले आफ्नो दिनभरिको कमाइ नै फुकिदिन्छन् उसका लागि । सायद ऊ धेरैलाई बिगारेर आमाको इज्जत लुट्नेहरूसँग प्रतिशोध नै लिन लागिरहिछ ।

उसलाई नाट्यशालाबाट निकाल्नमा पनि मेरै प्रमुख हात थियो । रहँदा-बस्दा ऊभित्र गुम्सिरहेको ज्वाला नाट्यशालाभित्रै दन्किन लागेको थियो । बिस्तार-बिस्तार हाम्रो टोलीका धेरै केटाहरू त्यस ज्वालाको लप्कामा परिसकेका थिए र नाट्यशाला नै जल्ने सम्भावना देखिन लागेको कुरा मैले स्पष्ट बुझिसकेको थिएँ । एकदुई पल्ट चेताएको पनि हुँ, तर काम लागेन र अन्त्यमा नचाहँदा-नचाहँदै पनि उसलाई नाट्यशालाबाट बिदा दिनै परेको थियो ।

यी जम्मै कुरा हुँदाहुँदै पनि सूर्यमुखी मेरा आँखामा एउटा बेग्लै मूल्य लिएर उभिन्छे । ऊभित्र रहेको कलाकार मलाई सधैँ भनिरहेको हुन्छ – ‘दाइ, जस्तै रोल दिनुहोस्, म खेल्न सक्छु ।’

साँच्चै, ऊ जस्तै रोल पनि खेल्न सक्दी रहिछ भन्ने कुरा नाट्यशाला छोडेपछि सडकभरि, सहरभरि खेलेर देखाइरहेकी छ । एकान्तमा बसेको बेला मभित्र जब ऊ फक्रिँदै जान्छे, अनि एउटा चिसो आशङ्काले मलाई अँचेट्छ – सूर्यमुखीको भविष्य के होला ?

(श्रोत: अन्तर्जाल)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *