कथा : संयुक्त आन्दोलनको सोच

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

कमरेड रसकमल नरम कम्युनिस्ट मानिन्थे । उनी शालीन र भद्र मिजासका मध्यम वर्गीय शहरिया कम्युनिस्ट नेता थिए । उनीजस्तै वर्ग श्रोतबाट आएका क. विन्ध्याचल पनि सोहीअनुरूप नरम नै मानिन्थे तर उनी भने सशस्त्र सङ्घर्ष र वर्ग सङ्घर्षको नारा छोड्न पनि सक्दैनथे र थप केही गर्न पनि सक्दैनथे ।

ग्रामीण परिवेशबाट आएका बामपन्थी कार्यकर्ताहरू यी दुवै नेतालाई कुनै पनि हालतमा कम्युनिस्ट मान्न तयार थिएनन् । यसरी क.रसकमल र क. विन्ध्याचल थोत्रा र पाकाहरूको समूहमा खुम्चिन बाध्यसमेत भएका थिए । किनकि युवाहरू उनीहरूलाई निस्क्रिय देख्थे र सक्रिय अनि ताता कम्युनिस्टहरू पूर्व र पश्चिममा उदाइसकेका थिए । त्यसैले बूढा कम्युनिस्टहरू पत्रिका पढेरै दिन कटाउँन बाध्य थिए । उनीहरू एकप्रकारले अवकासप्राप्त तृतीय श्रेणीको राजपत्रांकित कर्मचारीजस्तै फुर्सदिला भएका थिएः इज्जत र पहिचान भएका तर काम नभएका ।

कुरो २०३८ साल जेठतिरको हो । एकदिन क. विन्ध्याचल क. रसकमलकहाँ बास बस्न बिराटनगर आइपुगे । खानपानपछि आपसी भलाकुसारी भयो ।

‘धेरै चीज संश्लेषण गरेर हेर्दा, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति तथा टूटफूटबाट गुज्रिदै गरेको बाम आन्दोलन, नेपाली कांग्रेसको अवस्था तथा दरबारको शक्ति र चाहना…..लौ हेर्नुहोस् । यहाँ के देखिन्छ भने सैनिक, प्रशासनिक, आर्थिक सबै दृष्टिकोणले सबल र मजबूत दरबार त हामी र हाम्रा राजनैतिक पार्टीहरूलाई आपसमा लडाएर आफ्नो शासन गर्ने स्वार्थ निष्कण्टक बनाउँन सफल भएको छ ।’ क. विन्ध्याचल, जो कुनै जमानाका क.पा.को मूल नायक थिए, ले अहिले क. रसकमललाई भन्न थाले ‘तसर्थ, मलाई के लाग्छ भने नेपाली कांग्रेस र छरिएर रहेका टुक्राटाक्री बाम पार्टीहरूबीच एकता कायम गरी संयुक्त आन्दोलन गर्ने हो भने दरबारिया शासन ढल्छ …यस विषयमा मैले एकपटक यहीँ बिराटनगरमै नेकाका नेता बीपी बाबुसँग कुरा पनि गरेँ । तर बीपी बाबु कम्युनिस्ट भन्ने बित्तिकै नाक, मुख आँखा सबै खुम्च्याउँदा रहेछन् ।’

‘तपाईले ठीक भन्नुभयो ।’ क. रसकमलले जिज्ञासा व्यक्त गर्दै भने ‘यो भाव तपाईको पहिलेकै दस्तावेजमा पनि मैले पढ्न पाएको थिएँ । र त्यो कुन पत्रिकामा पनि पढेँ जस्तो लाग्छ, बिर्सिहाल्छु । राम्रो लाग्यो । यो संयुक्त आन्दोलनको कुरा ज्यादै महत्वपूर्ण छ र यसरी जाँदा नै सफलता प्राप्त हुन्छ । अन्यथा दरबारले सधैँ नै ‘फुटाऊ र राज गर’ को दाउपेच चलाएर सत्ता टिकाइराख्छ । म चैँ तपाईको यस अग्रगामी विचारसँग शतप्रतिशत सहमत छु ।’
‘मैले बीपी बाबुसँग सबै कुरा राखेँ । कुरा सुनुन्जेल उनी हो कि हो कि भने झैँ गर्छन् । अब त केही होला भनेर उठेर हिँड्यो । पछि फेरि के भन्दा रहेछन् भने….. ’ क. विन्ध्याचलले भने ।
‘के भन्दा रहेछन् ?’
‘के भन्दा रहेछन् भने मिलेर आन्दोलन ग¥यो काँधमा घोडा चढ्न कम्युनिसटहरू आइपुगिहाल्छन् । फेरि बीपी बाबुलाई के शंका पनि रहेछ भने प्रायः बामपन्थीहरू दरबारबाट सञ्चालित र पालित–पोषित छन् भन्ने कुरा ….उनी कम्युनिस्टलाई दरबारले नै चलाउँछ भन्ने सोच्दा रहेछन् । यस्तो शंका गरेर हुन्छ त ठूलो नेताले ? मिलेर आन्दोलन गर्ने हो भने म चैँ राम्रै होला भन्ने देख्छु । कांग्रेसले राजाविरूद्ध बम फाल्यो, सशस्त्र आन्दोलन पनि ग¥यो, आखिरमा टपटप टिपेर हेर्नुहोस् न, गोली ठोकेर मारिरहेको छ । जनताका छाराछोरीहरू ….कांगे्रसीहरू भने मौन बसेका छन् । नख्खुबाट जेल सार्ने बहानामा त्यत्रा पाँचपाँच जना युवा कांग्रेसीहरू मारिए । गाउँ गाउँमा मारिए कुन बामपन्थी त्यसको बिरोधमा बोल्यो ? उता बामपन्थी इलाममा मारिए, सिन्धुलीमा मारिए …कुन नेपाली कांग्रेसको चित्त दुख्यो हँ ? बाम मर्दा कांग्रेस चूप लाग्ने अनि कांग्रेस मर्दा बाम चूप लाग्ने ….यो तालले कहीँ दरबार पराजित हुन्छ र ?’

‘यो ठीक कुरा हो कमरेड ।’ क. रसकमलले सहमति जाहेर गर्दै भने ‘यो संयुक्त आन्दोलन उठान गर्ने पक्षमा जनमत सिर्जना गर्न म पनि लाग्छु ….।’

‘तपाईले पूर्वेली कमरेडहरूसम्म यो विचार पु¥याइ दिनुहोला ….कमसे कम तिनका कानमा यो कुरो पुगोस् । त्यहाँ क. समुद्र, क. कवि जस्ता भलाद्मी केटाहरू पनि छन् । तिनले मलाई छोडेर गए पनि तिनको हृदय र विचार म बुझ्नसक्छु ….तिनीहरू सिर्जनशील स्वभावका छन् । मौकामा भेट गरेर यो कुरा त्यहाँ पुगोस् । म पनि प्रयास गर्छु । के गर्ने बूढो भइयो । यसो हिँडडुल ग¥यो कि ढाड दुख्न थालिहाल्छ । ….कब्जियतको बिमारी पुरानै हो…’ क. विन्ध्याचलले बूढाको अभिभावकत्वको जिम्मेवारी बहन गर्ने शैलीमा भने ।

‘हो त नि, मलाई पनि पायल्सले सताएको निकै भइसक्यो । होमियोपेथीको ओखती खाइरहेको छु । ठीकै छ कमरेड, सकेको कुरो इमान्दारीपूर्वक गर्ने हो । अँ म यो कुरा पूर्वेलीहरूकहाँ पठाउँने प्रयास गर्छु । के गर्ने, ठिटाहरू एकदमै उरन्ठेउला छन् …..टेर्दै टेर्दैनन् ……..ठोक्ने, काट्ने र पड्काउँने भन्दा तलका कुरै सुन्दैनन् । त्यै क. मुखर्र्जीको संगत पाएपछि केही नरम भएका हुन्…..नभा त हरे…..’

यसरी यी दुवै पुराना वयोवृद्ध नेताहरूबीच निकैबेरसम्म भलाकुसारी भइरह्यो । उनीहरूले पुराना दिनहरू सम्झिए । पुराना नेताहरू सम्झिए । सात सालको आन्दोलन र पन्द्र सालको चुनाव पनि सम्झिए । सत्र सालको महेन्द्रले गरेको फौजी कू र अठ्ठाइस सालको एक दिने झापा विद्रोह पनि सम्झिए । उनीहरू यस भेटबाट पर्याप्त लाभ भएको महसुश गरिरहेका थिए ।
ððð

नरेन्द्र पराशर
मोरङ्ग
June 24, 2012

(स्रोत : Narendra Parasar’s Blog )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *