कविता : सधैं-सधैं मेरो सपनामा

~भुपी शेरचन~

सधैं-सधैं मेरो सपनामा
असङ्ख्य युवति आमाहरू
मेरो अगाडि आउँछन्
र बहुलाई झैं
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन-‘
भन्ने गीत गाउँछन्
र मलाई देखाई-देखाईकन
सुंगुरका भद्दा गन्दा बन्चाहरूलाई झैँ
आफ्नो अतिशय दूधले गानिएको
स्तन चुसाउँछन्
अनि एक्कासि
छाती पिट्तै
कपाल लुछ्तै मसँग आफ्ना हराएका छोराहरू माग्न थाल्छन्
सधैं-सधैं मेरो सपनामा
असंख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्णातन वृद्धहरू
र विदीर्णमन बृद्धाहरू
मेरो अगाडि आएर लम्पसार पर्छन्
र मसँग
आफ्नो अथाह भविष्यको सूत्र माग्छन्
आफ्नो हराएको एकमात्र पुत्र माग्छन्
सधैं-सधैं मेरो सपनामा
असङख्य युवति विधवाहरू
मेरो अगाडि आएर
आफुलाई सम्पूर्ण रूपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेको
काला-काला डामहरू देखाउँछन्
र मसँग आफ्नो जीवनको सहारा माग्दछन्
मसँग आफ्नो यात्राको किनारा माग्दछन्
सधैं-सधैं मेरो सपनामा
क्षयका कीटाणु बोकेका
असङ्ख्य टुहुरा केटा-केटीहरू
मेरो अगाडि आउँछन्
र मसँग स्कूलको फीस
पुस्तक किन्ने पैसा
क्रिकेटको बैट
र पिताको चुम्बन माग्छन्
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात
यसरी नै सधैं-सधैं मेरो सपनामा
मलायाका असंख्य-असंख्य मानिसहरूको
आँसुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठ्छ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लासले घृणाले हेर्छ
आह, मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छ ।

(२०१६ शारदा)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.