नाटक : अतिरिक्त यात्रा

~कृष्ण शाह ‘यात्री’~

(रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि आवाज नजिक–नजिक सुनिन्छ । रङ्गमञ्च अझै आलोकशून्य छ । रोदन बिस्तारै हराउँछ । अब मञ्चमा एकजना नारी मुक्तिको धुमिल आकृति देखा पर्छ ।)

मुक्ति ः

महाशय !

के तिमी,

मेरो आवाज सुनिरहेका छौ ?

के तिमी,

मेरो रुवाइ महसुस गरिरहेका छौ ?

के तिमी,

मेरो अत्यासलाग्दो वर्तमानलाई

यो आलोकशून्य रङ्गमञ्चमा देखिरहेका छौ ?

भन महाशय !

तिमीले मेरो अस्तित्वलाई

कुन रूपमा बुझेका छौ ?

(रङ्गमञ्चमा केहीबेर मौनता छाउँछ । मौनता चिर्दै मुक्ति बोल्न थाल्छिन् । अझै पनि रङ्गमञ्चमा उनको अनुहार देखिएको हँुदैन ।)

मुक्ति ः

मलाई थाहा छ,

मेरो वर्तमान मेरो अतीत होइन ।

र, मेरो अतीत

मेरो वर्तमान बन्न चाहिरहेको छैन ।

मलाई अब

न त विगतसँग सरोकार छ,

न त कुनै आगतसँग ।

यो कुरूप समयका कोर्राबाट

बारम्बार प्रताडित यस नारीलाई

अब भन महाशय !

तिमी

कुन महाद्वीपमा लगेर लिलाम गर्न चाहन्छौ ?

(रङ्गमञ्चमा बिस्तारै मधुरो प्रकाश छरिन्छ । मञ्चको अग्रखण्डमा मुक्ति दुवै मुठ्ठी कसेर हात फैलाएर उभिइरहेकी हुन्छिन् । उनको ठीक पछाडि मल्टिमिडियाको प्रयोगद्वारा चलचित्रका दृश्य देखाउन मिल्ने सेतो कपडाको पर्दा झुन्ड्याइएको हुन्छ । यतिबेला पर्दामा रातो प्रकाश छरिएको हुन्छ । मुक्ति दौडिँदै गएर आकाशबाट आइरहेको रातो प्रकाशलाई हेर्छिन् । केही आशा र अपेक्षा पनि छ । तर झिनो… मात्र झिनो । त्यसैबेला पर्दामा जनान्दोलनका दृश्य देखिन्छन् । आन्दोलनकारीहरूको विशाल समूह सिंहदरबारनजिक पुग्न लागेका छन् । आकाशबाट हवाइफायर हुन्छ । भयानक दमनका बीच पनि आन्दोलनकारी विचलित हुँदैनन् । त्यही भीडमा मुक्ति आफ्नो शिशुलाई बोकेर नारा लगाइरहेकी हुन्छिन् । बिस्तारै पर्दाको दृश्य हराउँछ । पर्दामा नीलो प्रकाश छरिन्छ । मुक्ति मञ्चको पछाडि जान्छिन् ।)

मुक्ति ः

महाशय !

तिमीलाई थाहा छ ?

तिम्रा जतिसुकै चिसा सपनाहरू पनि

म आफ्नै आँखाले हेरिदिन्थेँ

पग्लिन लागेका

तिम्रा हरेक पाइलाहरू

आफ्नै गति ठानी सम्हालिदिन्थेंँ,

कैयौँ अनिँदा रातहरूमा

अनेक–अनेकत्रासद्् अनागतहरूले

मलाई तर्साउन खोज्दा

समेत

म कहिल्यै विचलित भइनँ ।

तर यो मध्यान्तरमा

म किन आतङ्कित छु

तिम्रा उन्मुक्त कदमहरू देखेर

भन महाशय !

मबाट के गल्ती भयो ?

र, आज

तिमी सम्झौता गर्न खोजिरहेका छौ–

मेरो असमान अतीतसँग ?

भन महाशय !

मेरो शिशु हराएको

यो मलामीसाँझमा

तिमी

फेरि किन

कुनै नमीठो जोक सुनाएर

मेरो अपमान गर्न खोजिरहेछौ ?

भन महाशय !

तिम्रो पछाडि उभिएको

अजङ्गको प्रश्नचिह्न

किन

मलाई देखेर

बारम्बार हाँसिरहन्छ ?

किन मेरो विचारलाई गिज्याइरहन्छ ?

(रङ्गमञ्चमा विशाल प्रश्नचिह्न भिरेका आकृतिहरूको प्रवेश हुन्छ । विभिन्न हाउभाउ गर्दै आकृतिहरू मुक्तिको नजिक जान्छन् । मुक्ति अत्तालिँदै रङ्गमञ्चको अर्को कुनामा जान्छिन् । यिनलाई प्रश्नचिह्नहरूले फेरि पछ्याउँछन् । प्रश्नैप्रश्नबाट घेरिएकी मुक्ति आफ्नो मुक्तिको बाटो खोजिरहेकी हुन्छिन् । त्यसैबेला शिशु रोएको आवाज सुनिन्छ । मुक्ति आवाज आएतिर दौडँदै जान्छिन् । शिशु त्यहाँ देखिँदैन । उसको मात्र आवाज सुनिन्छ । प्रश्नचिह्न भिरेका आकृतिहरू यतिबेलासम्म प्रस्थान भइसकेका हुन्छन् ।)

मुक्ति ः

मेरो मुटु !

भन

तिमी कहाँ छौ ?

(शिशुको मसिनो आवाज । पुनः शिशुको खोजी हुन्छ ।)

भन ! कहाँ छौ तिमी ?

(शिशुको स्वर – ‘आमा ! आमा !’)

मुक्ति ः

महाशय !

तिमीले सुन्यौ ?

ऊ मलाई अझै पनि बोलाइरहेको छ

सायद उसलाई

भोक लागेको हुनुपर्छ ।

मुक्ति,

स्वतन्त्रता

र, अस्तित्वको ।

महाशय !

ऊ अझै पनि

रिमालकै कविताहरूमा

सास फेरिरहेको छ ।

ऊ अझै पनि

इच्छुकका कविताहरूमा

जीवन खोजिरहेको छ ।

उसलाई थाहा छ–

उसले खोजेको

सिङ्गो समय

विपरीत दिशातिर दौडिरहेको छ

इतिहासका थोत्रा बोक्राहरूले

घेरिएको छ समय ।

तर पनि महाशय !

ऊ अझै आशावादी छ

सार्थक संविधान बन्ने कुरामा

मलाई पनि त्यस्तै लाग्छ

तर थोरै मात्र ।

महाशय !

तिमीलाई मेरो कुरामा विश्वास लागेन ?

तिम्रा यस्तै अविश्वासी नजरहरू देखेर नै

मलाई अफसोच लाग्छ ।

तिमी नै भन्थ्यौ–

(फरक स्वर, भिन्न हाउभाउ गर्दै ।)

मुक्ति ः

‘मुक्ति !

जीवनमा कहिल्यै हरेस खानुहुदैन ।

हारमा पनि जित खोज्न सक्नुपर्छ ।

एकथोपा रगत रहेसम्म

धर्तीको गीत गाउन छाड्नुहुन्न ।’

तर,

भन महाशय !

आज,

फेरि किन

हाम्रो कालापानी

बारम्बार दुखिरहन्छ ।

हाम्रो सुस्ता

बारम्बार रोइरहन्छ ?

के यसको गतिलो जवाफ

दिन सक्छौ तिमी ?

भन महाशय !

के हामीले देखेको

सपनाको रङ यस्तै थियो ?

(एकाएक मञ्चको मध्यभागमा रातो प्रकाश छरिन्छ । त्यसपछि क्रमशः मञ्चको दायाँतिर हरियो र बायाँखण्डमा कालो÷मधुरो प्रकाश । फरक–फरक गोलाकार प्रकाशको घेरामा तीनवटा मानवआकृति छुट्टाछुट्टै देखा पर्छन् । यतिबेलासम्म मुक्ति मञ्चबाट ओझेल भइसकेकी हुन्छिन् । नेपथ्यमा अलाप सुनिन्छ । रातो प्रकाशको घेरामा उभिएको आकृति–१ चलमलाउन थाल्छ । यतिबेला मञ्चको पछिल्लो भागमा रहेको चलचित्रको पर्दामा अफगानिस्तानको युद्धभूमि देखिन्छ । गोलाबारुदबीच मानिसहरूको कोलाहल, त्रासद्् दृश्य देखिन्छ । त्यही दृश्यमा नेपालीको प्रतिनिधित्व गरिरहेको आकृति १ देखा पर्छ । मञ्चमा रहेको आकृति १ बोल्न थाल्छ ।)

आकृति १ ः

प्रिये !

यहाँ आकाश नदेखेको पनि

धेरै दिन भइसक्यो

अचेल त

हरेक बिहान नयाँ जीवन पाएजस्तो लाग्छ

मृत्युलाई उछिनेर जितेको

दौडजस्तो ।

थाहा छैन

यो दौडमा मैले जितेँ

कि तिमीले हारयौ ?

प्रिये !

म त यति मात्र भन्न सक्छु

मैले साँच्चै

आकाशको रङ बिर्सिसकेँ

मैले साँच्चै

जीवनको रङ बिर्सिसकेँ

म त अचेल

यति मात्र सम्झिरहेको छु

मैले

तिमीहरूका लागि केही गर्नु छ

यो मरुभूमिमा दौड जित्नु छ

किनकि,

वर्षौं एकोहोरो लागेर

आर्जन गरेको विश्वविद्यालयका डिग्रीहरू

आफ्नो मुलुकमा केही काम लागेनन्

तर म काम नलाग्ने वस्तु बन्न चाहन्नँ

म यही अभिनय सिकिरहेको छु

बाँच्ने अभ्यास गरिरहेको छु,

प्रिये !

अन्त्यमा सोधौँ ?

कस्तो छ अहिले मेरो मुलुक ?

फेरियो कि उस्तै छ ?

आफ्नो जीवनलाई यहाँ लिलामी गर्दागर्दै

हाम्रो भेट यो जुनीमा हुन सकेन भने

मलाई माफ गरिदेऊ ।

उही

तिम्रो खसम

भूमिकुमार नेपाली

अफगानिस्तान ।

(नेपथ्यमा फेरि अलाप सुनिन्छ । मञ्चको दायाँतिर हरियो प्रकाशको घेरामा उभिएको आकृति–२ चलमलाउन थाल्छ । मञ्चको पछिल्लो भागमा रहेको चलचित्रको पर्दामा अमेरिकाको क्यालिफोर्नियाको दृश्य देखिन्छ । तेज रफ्तारमा गुडिरहेका गाडीहरू, गगनचुम्बी महल र यान्त्रिक जीवनका दृश्यहरू पर्दामा देखिन्छन् । त्यही दृश्यमा नेपालीको प्रतिनिधित्व गरिरहेको आकृति २ देखा पर्छ । ऊ ल्यापटप अन गर्छ र केही टाइप गर्न थाल्छ । मञ्चमा रहेको आकृति–२ को आवाज सुनिन्छ ।)

आकृति २ ः

मलाई माफ गर्नुस् आमा !

म आज

बुबाको मृत्युको खबर सुनेर पनि आउन सक्तिनँ

म अहिले फर्किनु भनेको

मेरो भविष्य अन्धकारमा धकेल्नु हो

आमा !

हामीहरू भावनामा धेरै बग्दारहेछौँ

त्यसैले हामी पछि परेका हौँ ।

हाम्रो समय पछि परेको हो ।

हामी जतिसक्दो

व्यक्तिवादी हुन सक्नुपर्छ

म केही आर्जन गर्न चाहन्छु

मलाई थाहा छ

त्यसका लागि मैले सबैलाई बिर्सनुपर्छ

मलाई मेरो बुबाको मृत्युले पनि छुनुहँुदैन

आमा !

मलाई माफ गर्नुस्

यदि तपाईंको मृत्युमा समेत

आउन सकिनँ भने

मलाई माफ गर्नूस्

किनकी,

तपाईंले नै मलाई सिकाउनुभएको हो–

‘जीवनमा केही गर्नुपर्छ छोरा !’

तर, त्यो हाम्रो मुलुकमा सम्भव छैन” भनेर ।

हो आमा,

यतिबेला म

त्यही कुराको खोजीमा छु ।

मलाई माफ गर्नुस् !

(नेपथ्यको अलापसँगै मञ्चको बायाँखण्डमा कालो÷मधुरो प्रकाशको घेरामा उभिएको आकृति ३ चलमलाउन थाल्छ । मञ्चको पछिल्लो भागमा रहेको चलचित्रको पर्दामा नेपालको दृश्य देखिन्छ । नदीनाला, कृषि र प्राकृतिक दृश्य देखिन्छ । त्यही दृश्यमा एकजना नेपालीले रूखमा झुण्डिएर आत्महत्या गरेको दृश्य देखिन्छ । आत्महत्या गर्ने व्यक्ति आकृति ३ हुन्छ जसले एक नेपालीको प्रतिनिधित्व गर्छ । मञ्चमा रहेको आकृति ३ को आवाज सुनिन्छ ।)

आकृति ३ ः

मैले आत्महत्या गरेँ

मैले लाखौँ रुपैयाँ ऋण काढेर

लगाएको खेती

आज हेर्दाहेर्दै मेरो काल बन्यो

सयौँ बिघा जग्गामा फलाएका तरकारी

बेच्नका लागि ठिक्क पारेको थिएँ

तर,

लगातार नेपालबन्दका कारण

त्यसलाई बजारमा लग्न पाइएन

त्यसैले मैले आत्महत्या गरेँ

नगरेको भए पनि हुन्थ्यो होला

तर मैले त्यत्रो ऋण कहाँबाट तिर्ने ?

अहँ, बाँच्ने आँटै आएन

त्यसैले मैले आत्महत्या गरेँ ।

(केही समय मौनता छाउँछ ।)

कतिपयले मलाई लाछी ठान्छन् होला

जीवनसँग जोरी खोज्न जानिनँ मैले

हेर्दाहेर्दै जङ्गेपिलर ढालियो

र, मेरो धर्ती अपहरण भयो,

मैले विरोध गरँे

त्यसपछि मेरो उखुबारीमा आगो लगाइयो

डाँका लगाएर ठीक पार्ने धम्कीहरू आए,

तर मैले हार खाइनँ ।

बरु, मैले आगो बोक्ने निधो गरेँ

दबिएका आवाजलाई एकत्रित पार्दै

एउटा कठिन यात्रामा हिँड्नु थियो,

हिँडियो ।

हिँड्दाहिँड्दै मेरा अतीत मबाट टाढिए

हिँड्दाहिँड्दै मेरा आफन्त मबाट टाढिए

हिँड्दाहिँड्दै मेरो छाया मबाट टाढियो ।

तर म कहिल्यै टाढिइनँ मेरो लक्ष्यबाट

उफ् !

आज मैले अन्तिम यात्रा पूरा गरेँ

मैले आत्महत्या गरेँ ।

नगरेको भए पनि हुन्थ्यो होला

तर म मात्रै एक्लो कति हिँडने ?

अहँ,अत्यासलाग्दो बाटो काट्ने आँटै आएन

त्यसैले मैले आत्महत्या गरेँ ।

मैले देखेको जीवन कस्तो हो,

म अहिले सोचिरहेको छु,

त्यो रङ उज्यालो नै थियो ?

तर के हरियो नै थियो ?

मेरो लास बाँध्ने बाँसको रङजस्तै हरियो

अहँ,

अब मैले सोच्नुहुँदैन

मेरो सोचाइको कुनै अर्थ छैन

किनकि

मैले मैले आत्महत्या गरेँ ।

नगरेको भए पनि हुन्थ्यो होला

तर आफू जन्मे–हुर्केको भूमिबाट खेदिनुपर्दा

मैले कसरी बाँचेको अभिनय गर्ने ?

त्यसैले मैले आत्महत्या गरेँ ।

(रङ्गमञ्चमा बिस्तारै आलोक हराउँछ । आकृतिहरू हराउँछन् । मधुरो प्रकाशमा मञ्चको अग्रखण्डमा मुक्ति दुवै हात आकाशतिर फैलाएर उभिरहेकी हुन्छिन् । उनले पिठ्युँँमा शिशुलाई बोकेकी हुन्छिन् । मुक्तिको आवाज सुनिन्छ ।)

मुक्ति ः

महाशय !

के तिमी मेरो आवाज सुनिरहेका छौ ?

के तिमी यी आवाज महसुस गरिरहेका छौ ?

यतिधेरै समय–त्रासद्ी किन ?

यतिका धेरै पीडा–आरोहण किन ?

यतिका धेरै मृत्युउत्सव किन ?

महाशय !

के अब उज्यालो बाल्ने बेला भएन र ?

निर्जन मरुभूमिका भूमिकुमारहरूलाई

हामीले फर्काउन पहल गर्ने कि नगर्ने ?

साम्राज्यवादीको पोल्टामा भुलेका युवकहरूलाई

हामीले सम्झाउन पहल गर्ने कि नगर्ने ?

आत्महत्या गर्न बाध्य योद्धाहरूलाई

हामीले रोक्न पहल गर्ने कि नगर्ने ?

भन महाशय !

यो रङ्गमञ्चमा हामीले

कतिञ्जेल अस्तित्ववादी नाटक मञ्चन गरिरहने ?

(रङ्गमञ्चमा केहीबेर मौनता छाउँछ ।)

महाशय,

तिमी किन अझै मौन छौ ?

आज

म यिनै महाप्रश्नहरूको उत्तरको खोजीमा छु ।

मेरो यात्रा जारी छ ।

(रङ्गमञ्चको प्रकाश परिवर्तन हुन्छ । सूर्योेदयको उज्यालोमा मुक्ति उत्तरको खोजीमा दूर दिशातर्फ प्रस्थान गर्छिन् । रङ्गमञ्चमा विशाल प्रश्नचिह्न भिरेका आकृतिहरूको प्रवेश हुन्छ । विभिन्न हाउभाउ गर्दै आकृतिहरू मुक्तिको पछि लाग्छन् । यतिबेला प्रकाश मधुरो हुँदै जान्छ र अन्ततः मञ्च आलोकशून्य हुन्छ ।)

(श्रोत: अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *