व्यङ्ग्य निबन्ध : मादक वस्तुको सेवन

~शङ्कर लामिछाने~

झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना, फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन रे ! प्रायः सबको भनाइ छ, नेपाल मात्र विश्‍वमा त्यो देश हो, जहाँ हृयासिसको विक्रयमा कुनै प्रतिबन्ध छैन ।

हाम्रा धार्मिक परम्पराअन्तर्गत जोगी, साधु, सन्तहरूले गाँजा, भाङ, अफिम तथा चरेसको सेवन गरी धुनी जगाउने प्रचलन निकै पुरानो हो । हिमालयका आदिदेव महादेव त विषपान गर्नमा ख्यातिप्राप्‍त छन् । पुराना समयमा यसको सेवन गरी चिन्तनमननको लागि एकाग्रता पाउने प्रयास गरिन्थ्यो भने वर्तमान काल पश्‍चिमी सेवकहरू अतिशय भौतिक विकासको प्रतिक्रियाबाट उत्पन्न भएका कोलाहलबाट तन्तुहरूलाई सुषुप्त पार्न तथा वातावरण, एक ट्रान्क्विलाइजरको रूपमा यसलाई प्रयोग गरेको भन्दछन् । एक प्रकारले हेर्ने हो भने संसारका जत्ति मादक पदार्थ छन् ती सबको प्रयोगको आधारभूत उपादेयता एउटै छ, वास्तविकता बिर्सिन, मनमस्तिष्कलाई सकेसम्म निस्क्रिय पार्नु । कुनै मादक पदार्थमा चेतनतालाई लाटो बनाएर बिर्सन सकिने अवस्था हुन्छ भने, अर्का थरीमा कुनै विशेष उत्तेजना उमारेर त्यसलाई तीव्रतम पारिदिएर, अन्यान्य तन्तुलाई त्यसको तुलनामा कमजोर बनाइन्छ । अफिमले शारीरिक सुस्ती बनाएर मनलाई एकोहोरो ढङ्गबाट भविष्यलाई चित्रित गर्ने प्रयास गर्दछ भने रक्सीले ब्लडप्रेसरलाई उकासेर आत्मलघुताको आभास कम गर्नुका साथै क्षणिक यौवनजन्य आवेग तथा तार्किक प्रक्रिया (जुन कहिलेकाहीँ झगडालु प्रवृत्तिमा परिणत हुन्छ) त्यसको वृद्धि गरिदिन्छ ।

पूर्वीय देशहरूमा आफ्ना आर्थिक विषमता र दैनिक दारिद्र्यबाट उम्किन गरिबवर्गमा यसको प्रचलन बढी रूपमा पाइन्छ भने यसको ठीक विपरीत पश्चिमी देशहरूमा धनको गरिमाबाट सबै वस्तु सहज रूपमा उपलब्ध भएका अवस्थाको परिणामस्वरूप जीवनको उराग्दोएकनासेपनबाट मुक्ति पाउन सम्पन्न परिवारहरूका तरुणवर्गमा यो प्रचलित पाइन्छ । अस्ट्रेलियानिवासी तरुणवर्ग आवश्यक सैनिक सेवाबाट छुटकारा पाउन जत्थाका जत्था रूपमा विदेसिन्छन् भने अमेरिकी सैनिकहरू भियतनाम युद्धको विभीषिका बिर्सन यसको शरण लाग्छन् । सैगोनका अँध्यारा बारहरूमा टिपेको मादकसेवन तथा गुप्‍ताङ्गसम्बन्धी रोगहरू बोकेर उनीहरू स्वदेश फर्किन्छन् । भियतनाममा अब शान्ति सम्झौता त भयो, तथापि विगतका युद्धको अनेक अदृश्य प्रभावहरूसँग सङ्घर्ष गर्न अमेरिकालाई एक दशकले पनि पुग्ने छैन । सबभन्दा ठूलो सङ्घर्ष हुनेछ युवावंशको मनोवैज्ञानिक दृष्टिकोणमा आएको एक भावनालाई मेट्न: त्यो हो, अर्काको देशमा गई युद्ध गरी आफ्नो ज्यान किन व्यर्थमा फालियो । आफ्नो यौवनको सर्वश्रेष्ठ कालमा, केही सिक्ने-सिकाइने, केही उपलब्धिको आधार बनाउन सक्ने बेलामा, त्यस समयको दुरुपयोग भएको बोध सायद मृत्युपर्यन्त पनि कैयन्‌लाई बिझाइरहनेछ । युद्धमा मृत्यु भएका सदस्यहरूको परिवार भने यो अनावश्यक हानिको क्षोभ बोकिरहनेछन् ।

त्यस अर्थमा, पूर्वीय देशहरू भाग्यवादी दृष्टिकोणले गर्दा, यी मनोवैज्ञानिक विषमता त्यत्तिको कष्टप्रद नहुन पनि सक्छन् । तथापि यही भाग्यवादी दृष्टिकोण तथा मादक वस्तुको सेवनको बढ्दो प्रचलनले हाम्रो आवश्यक राष्ट्रिय जागरण तथा उत्थानका लागि ठूलो बाधक हुने सम्भावना पनि छ । अधुरो आध्यात्मिकतासँग नैराश्यजन्य निस्क्रियता जोडिन जानु जस्तो आत्मघातक अवस्थाको परिकल्पना गर्न सकिन्न । यो एक यस्तो सङ्क्रमक रोग हो, जसको आक्रमणबाट व्यक्ति वा समाज मात्रको स्तरमा हानि हुने होइन कि यसले राष्ट्रको परम्परागत उपलब्धिहरूलाई समेत क्रमशः गुमाउँदै जान्छ ।

हेरोइनको सबभन्दा ठूलो खेती मध्य-पूर्व एसियामा हुने गथ्र्यो । मेडिटेरेनियन सागरको बाटो ससाना डुङ्गाहरूको माध्यद्वारा यो तस्कर-व्यापार फ्रान्स तथा इटलीमा पुग्थ्यो । त्यहाँ प्रशोधन गरिने प्रयोगशालाहरूमा यिनको प्रशोधित रूप प्रदान गरिन्थ्यो । तथा लैटिन अमेरिकी देशहरूको बाटो गरी यो अमेरिकामा विक्रीवितरण केन्द्रमा पुग्थ्यो । यो अवैध व्यवसायलाई निर्मूल पार्न संयुक्त राष्ट्रसङ्घको माध्यमबाट अमेरिकाले एक दीर्घकालीन योजनाअन्तर्गत अरबौँ डलर खर्च गरी हेरोइनको खेती नै रोक्ने आग्रह गरेको छ । उक्त योजना सफल हुन निकै श्रम र समयको आवश्यकता छ । तथापि त्यसको सफलता अन्य राष्ट्रहरूको लागि एक यस्तो उदाहरण हुनेछ, जसबाट प्रेरणा पाई अरूहरूले समेत केही कदम चाल्ने आशा गरिन्छ ।
यो भविष्य कति टाढा होला ?

गुनकेशरी- अङ्क २, माघ-चैत २०२९
(साभारः शङ्कर लामिछानेका निबन्ध (२०५९), सम्पादक : शिव रेग्मी)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.