व्यङ्ग्य निबन्ध : नाम फर्ने धुनमा

~भैरब अर्याल~Bhairab Aryal

…धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरि ! अचेलकसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्‍विपुछ्रे हुनुपरेको छ । अझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।

कोही राख्ने नाउँलाई फार्ने गराउँछन्, कोही फार्नेलाई राख्ने । विष्णुका सहस्र नामजस्तै एउटै मान्छेका सत्रोटा नाम पनि सुन्नुपरेको छ । ००७ सालको राजनीतिक क्रान्तिसँगसँगै जोरिइर आएको यो नाम क्रान्तिले मलाई पनि नउराली छाडेन । म कति दिन ‘कालू’ को ‘कालू’ रहेन ? राख्ने नामलाई नै फार्ने गराऊँ न त भने झन् नमिल्दो छ ‘खडेश्वर’ । ठूलाबडाको सामु दुई मिनेट खडा हुनुपर्दा कामज्वरो चढेझैँ लगलग पाँसुला काम्ने मेरो नाम ‘खडेश्वर’ । पहिलो कुरा त के छ भने बाबुदेखि लिएर साहूसम्म सबैको जिभ्रामा झुन्डिएको छ- कालू । प्रख्यात भैसकेको नाम छाडेर मलाई कल्ले खडेश्वर भन्ने ? भनिहाले पनि नाम बिगारुकलामा सुप्रसिद्ध हाम्रा साथीभाइले खडेश्वरलाई छोट्टयाएर फकाउनुपरे ‘खडु’, होइन भने ‘खडे’ भनिदिन्छन् ।

हाम्रा गाउँका मामा आफ्नो नाम बताउँदा चतुर्भुजप्रसाद उपाध्याय भनी बडो गर्व गरेर भन्छन्, तर उनलाई गाउँघरेहरुले ‘चतुरे बाहुन’ भनेको पत्तै छैन । हाम्रा ठूल्दाइ मेरो नाउँ त ‘काजी गजाधरबहादुर उप्रेती क्षेत्री’ भनेर गजक्क पर्छन् । बाहिर सुन्ने हो भने उनलाई ‘गजेखत्री’ सिवाय केही भन्दैनन् । सायद पैसा कमाउन या मान पाउन सकेको भए मेरो नाममा अलि सुधार गरिदिन्थे होलान् कि ? त्यसो भए पनि हद्द भन्लान्- खडुबाबू वा अझ छोटकरीमा- खडुकाजी । हुँदाहुँदा मेरो असली नाम ‘खड्काजी’ हुन बेर छैन । अब भन्नुहोस्, म झर्रो उप्रेती क्षेत्रीलाई खड्काजी भनिदिए भने नाम त फरक पर्‍यो पर्‍यो, थर, गोत्र पनि बदलिने भयो । अर्को कुरा मेरो राख्ने नाम पेटफार्‍यो ‘ष’ बाट उठेको हो कि मोटो ‘ख’ बाट उठेको हो त्यसमा पनि पुरेतबाजेको र हाम्रा बाजेको मतभेदै छ । त्यसैले राख्ने नाम चल्तीमा ल्याउने त मेरो कुरै छैन ।

अब म आफ्नो नाम के राखूँ ? विष्णुसहस्रनाम, गणेशसहस्रनाम, सूर्यका बाह्र नाम इत्यादि शास्त्रीय नामदेखि लिएर आफूले आजसम्म हेरेका फिल्म, उपन्यास र नाटकका पात्रहरुका सारा नाम म छान्न थालेँ । इष्टमित्र, साथीभाइ, ठूलाबडा सबैको नाम पनि सम्झन थालेँ । यतिसम्म कि जरसाहेब, करसाहेब, मैयाँसाहेब, बिबीसाहेब इत्यादि ठूलठूला साहेबसाहेबनीका काखमा पालिने कुकुर, बिरालो, खरायो आदिको नामसमेत मैले आफ्नो सूचीपत्रमा सम्झेसम्म टिपेँ । साँच्ची भनूँ भने तिनताक मेरो मगजमा नामछनोट समितिको एउटा धूमधामको अफिसै खुल्यो ।

म आफ्नो नाम राख्न चाहन्थेँ आधुनिक भावपूर्ण र आफूसुहाउँदो । शास्त्रीय नामदेखि पनि मलाई झोक उठिसकेको थियो । पल्ला गाउँको ठूले- जो हप्तामा तीन पटक भेडो काटेर बेच्थ्यो- उसको नाम बुद्धरत्न रे ! यसलाई अहिंसावादी बुद्धको बेइज्जती नभने के भन्ने ? पिँडालुटारका सुब्बा भनेपछि गरिबगुरुवा थर्कमान हुन्थे । दुई मुठा प्याज बेचेको पैसाले दुई हजारसम्म ब्याज लगाउन सक्ने सुब्बाको दयामायाबारे के बयान गर्नु ! तर उनैको नाम थियो दयाराम । छुच्चोमा खोज्न गए तीन सहर नेपाल वर्णाएका हाम्रा जरसाहेबको नाम दानवीर ! हाम्रा बाजेको पालामा जिल्लामा हाकिम भएर घूस खाँदाखाँदा कोक्रामा कुरमुर्‍याएर ल्याइएका तल्ला गाउँका बूढाको नाम धर्मजङ्‍ग । टाढा किन जानु ! दिनको तीन फेर पेग र पुलाउबेगर नहुने हाम्रै छिमेकीको नाम शिवभक्त ।

यसैले यस्ता स्वभाव नमिल्ने नाम राख्नुभन्दा बेनामी नै बसूँजस्तो मलाई लाग्यो । मेरी श्रीमतीलाई पनि आफ्ना पतिदेवलाई अरुले ‘कालु’ भनेकोमा खेद लागिरहेकै थियो । त्यसैले उनी पनि मेरो नाउँ-फेर आन्दोलनमा ज्यूज्यानले सहयोग दिइरहिथिन् । एक दिन बेलुका सूचीपत्र पल्टाउँदै भनिन्- “उसो भए हजुरको नाम सुन्दर राख्ने ।” प्रस्ताव मलाई पनि रमाइलै लाग्यो । तर झलक्क सम्झेँ- आफ्नो नाम त सुन्दर राखुँला तर सुन्दरकी पत्नीलाई कसैले ‘सुन्दर पत्नी’ या ‘सुन्दरी’ भनिदिएको खण्डमा के अलि बिझओन ? तैपनि सुन्दर नाम सुन्दरै हो । आफ्नो अनुहार पनि त्यति असुन्दर कहाँ छ र ! जेसुकै होस्, यही राख्नुपर्‍यो भनेर सम्झँदै थिएँ, हाम्रा नेत्रबहादुर काका टुप्लुक्क आइपुगे । दिइटै आखाँ चिम्सा भएका हाम्रा काकालाई अक्षर हेर्नुपर्‍यो भने चस्माभन्दा माथि पनि हातले ओझेल पारेर हेर्नुपर्थ्यो । ‘जुन गोरुको सिङ छैन उसको नाम तीखे’ भन्ने न्यायअनुसार उनको नाम नेत्रबहादुर रे भन्ने सुन्नासाथ हाम्री दुलही खिल्ल हाँसिन्।

काका पन्छिएपछि जोईपोइ बसेर फेरि नाम खोज्न थाल्यौँ । ठूलाघरे बहिराको नाम कर्णबहादुर । दुइटै हात झरेर देउपाटनको सडकमा पैसा माग्नेको नाम हस्तबहादुर । जन्मैदेखि डेढी मेरी जेठानदिदीको नाम सुलोचना । बिफरले छयाकैछयाका भएकी बिचारी सालीको नाम रुपवती । फू: गर्दा थानकोट काट्ला जस्तो मेरो भाइको नाम वीरबहादुर । देख्दै यमराजको दूत होला जस्तो दाह्रे जिम्दारबाजेको नाम कामदेव रे ! भएन के ! अनि मलाई रुप बुझाउने नाम पनि मन परेन । अरू सबै थोक सुन्दर भएर के गर्नु ? कोदालीपाते तजस्ता आफ्ना दाँतले पोल खुस्काइहाल्छन् भने म कसरी ‘सुन्दर’ नाम राखूँ ?

मेरी दुलही हरेराम पार्टीकी भूतपूर्व सदस्यी भएकीले हो कि किन हो, फेरि अर्को नाम झिकिन्- “मथुराकुमार राखे कसो होला ?” हुन त हो, ठाउँबाट पनि नाम राख्नु राम्रो हो । मैले आफ्नो अड्डाका हाकिम अयोध्यामान, टाइपिस्ट जमुना आदिको नाम सम्झेँ । तर यसबाट झन् हाँसो उठ्यो । ठाउँबाटै नाउँ राख्ने हो भने नेपालीहरु आफ्नै स्वदेशी नाम किन राख्दैनन् ? चिनियाँमानको सट्टा चिसापानीमान किन नराख्ने ? यस्तै जमुनादेवी, गङ्‍गाकुमारी, डिल्लीरमण आदिको सटो जाजरकोटदेवी, गण्डकीकुमारी र दिङ्लारमण राखे के पर्ला ? यस्तो सङ्कुचित विचार नलिऊँ भने हुन्छ, ल, कसैको काहिरामान, कसैको पेकिङराज, कसैको लन्डनकान्त, कसैको पेरिसकुमार, कसैको न्युयोर्कप्रसाद राखौँ । के भन्नु ? देउतैको नाम लिऊँ भने पनि नेपालमा ‘पशुपतिनाथ’ भन्दा ‘विश्वनाथ’ भन्ने नाउँको चल्ती भएको सम्झँदा मैले आफूहरुको नक्कली संस्कारलाई पाचँपल्ट स्याबासी दिएँ ।

फेरि सूचीपत्र पल्ट्यो । ‘परदेशी’, ‘पहाडी’, ‘विकल’, ‘विद्रोह’, ‘विप्लव’, ‘चेतन’, ‘अज्ञात’, ‘कञ्चन’, ‘रोचक’, ‘रुचिकर’, ‘अशान्त’, ‘त्यागी’, ‘वियोगी’, ‘विरही’, ‘कुसुम’ इत्यादि आधुनिक पुछ्रे नामहरु आए । आफूलाई पहिलो एउटा सिङ्गै नाम चाहिने, त्यसपछि पो चङ्गाको पुच्छरझैँ यस्तायस्ता उपनाम झुन्डयाउन सजिलो हुन्थ्यो त ! सबे केलाएर हेर्दा सिङ्गै हुन पुग्ने कुनै नाम देखिएन । स्वदेशमै बसेर ‘परदेशी’ कसरी भनिने ? टेरिलिन सुट लगाएर नयाँसडक घुमिरहनुपर्ने । आफूलाई ‘पहाडी’ भन्ने स्वाङ देखाउन पनि मन लागेन । नेपाल पहाडी प्रदेश भन्ने कसलाई थाहा छैन र म पहाडी हुँ भन्ने विज्ञापन गरिरहनु ? त्यस्तै ठूलाबडाले उखु चुसेझैँ चुसिरहँदा चुँक्क बोल्न नसक्नेले विद्रोही, विप्लवी इत्यादि पुच्छर के झुन्डयाऊँ ? अरुले भने भनोस् नभने नभनोस् आफूले आफैँलाई रोचक, त्यागी, कञ्चन, कुसुम इत्यादि नाम दिन पनि मपाईंको प्रदर्शन गर्नु हो जस्तो लाग्यो । विकल, विरही, वियोगी, अशान्त इत्यादि जे भने पनि अलि रुन्चे भाव देखाउनु छ भने म आफ्नो पुछ्रे नाम पिन्चे, पिलन्धरे यस्तै कुनै प्रस्ट नेपालीमा राखिदिन्थेँ ।

जे होस्, धेरैजसो हिन्दुस्तानीहरुबाट नक्कल गरिएका र हिन्दी-संस्कृतबाटै कोसेलीझैँ लिइएका यस्ता पुछ्रे नामले मलाई निकै दिन अलमल्याए तापनि यिनैबाट आफ्नो नामकरण गर्न भने अलि चित्त बुझेन । मैले यस्ता नाम राख्नेहरूको खिसी गरेको त नसम्झनुहोला नि ! आफ्नो प्रधान नाम नभएकोले पुछ्रे नाम मात्रै राख्दा ‘दौरा न सौराको गोजी’ होला भन्ने गन्थन मात्रै गरेको ।

श्रीमतीले अर्को प्रस्ताव राखिन्-

नाम जस्तोसुकै भए पनि इङ्ग्लिस-कट गरिदिए त भलादमीको ठाउँमा भलादमी, आधुनिकको ठाउँमा आधुनिक, कसो ? उपाय सजिलै हो । ‘के. एस्. काजी’ भनिदियो कालूसिंह लाजी पनि खडेश्वर काजी पनि दुवैतिर मिल्छ । राख्ने न फार्नेको इङ्ग्लिस-कट ठ्याक्कै ! अब भने समस्या समाधान भयो भनी फुर्कँदै थिएँ, दिल्ली रोडका बाबूसाहेबलाई झल्याँस्स सम्झियो । उनको नाम थियो टी. बी. सिंह । नाम सुन्दा कतिले उनलाई टी. बी. भएको हो कि भन्ने शङ्का पनि गर्थे । ताराबहादुरलाई इङ्ग्लिस-कट गराउँदा त्यो आपत् पर्‍यो । त्यसले उनका दाजु टीकाचन्द्रचाहिँ आफ्नो नाम कसैले इङ्ग्लिस-कट पारेर मारिदेला भनी सधैँ थर्कमान रहन्थे । जे होस्, मलाई यस्तो आपत्ति त केही थिएन, ‘के. एस्. काजी’ नाम जमेकै हो । तर के गर्नु र, नेपाले खस्रो जिभ्राले बेलायती उच्चारण गर्नुपर्दा के. एस्. काजीलाई बिगारेर केशकाजी, क्यासकाजी, क्याँसकाजी गर्दागर्दै आफू मरेपछि छोरानातिले ‘ग्याँसकाजीस्तृप्यन्ताम्’ गरिदिन के बेर ? फेरि कुल्लीसिंह र खन्ती साहूको इङ्ग्लिस-कट पनि त के. एस्. नै हुन्छ नि ! त्यसैले इङ्ग्लिस-कट नाम झन् खतरनाक लाग्यो ।

एक महिनाको परिश्रममा मैले कुनै पनि नाम मन नपराएपछि मेरी श्रीमती पनि खूबै झोक्किन् र भनिन्- “अब तपाईंलाई सुहाउने नाम त एउटै बाँकी छ ‘लिँडो’ ।” हुन पनि जस्तो नाम ल्याए पनि मन नपर्ने मलाई मेरी दुलहीले के नाम राखिदिऊन् त ! मैले उनलाई स्याबासीको धाप दिदैँ भनेँ- “बल्ल ल्यायौ आफूसुहाउने नाम ।” त्यहाँदेखि मेरो नाम रह्यो- ‘लिँडे कालू’ ।

(श्रोत: काउकुती)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.