नाटक : आवरण-अनावरण

~कृष्ण शाह’यात्री’~

बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला । म कुनै सामान्य बाँदर होइन । यसको बेलिविस्तार पछि लगाउँदै गरौँला । अहिले मैले डाक्टर मास्केलाई इमेल गर्नु छ ।

(बाँदर टाइप गर्न थाल्छ । केही सम्झे जस्तो गरी पुस्तक राखेको दराजनजिक आउँछ । एउटा पुस्तक झिक्छ । केही कुरा पढ्छ र जहाँको त्यहीँ राखेर फेरि टाइप गर्न थाल्छ । टाइप गरिएको कुरा स्क्रिनमा देखा पर्छ ।)

बाँदरः डाक्टर मास्के ! आज तपाईंको प्रयोगशालामा दुई जना महान् आत्माहरू भिजिट गर्न आउँदै छन् । मैले उनीहरूको पृष्ठभूमि राम्रोसँग अध्ययन गरेको छु । उनीहरू तपाईंसँग धेरै दिनअघिदेखि भेट गर्न चाहिरहेका थिए । तपाईंकै सल्लाहमा मैले उनीहरूलाई आज दिउँसोको समय मिलाइदिएको छु । उनीहरूको नाम क्रमशः हिटलर र बुद्ध हो । म तपाईंको आगमनको प्रतीक्षामा रहनेछु । तपाईं नआउञ्जेल म उनीहरूलाई आफ्नै कुरामा भुलाएर राख्नेछु । धन्यवाद !

(बाँदरले टाइप गर्न छाड्छ । स्क्रिन पनि आफैँ बन्द हुन्छ । दर्शकदीर्घातिर हेर्दै) डाक्टर मास्के ! यस समयका शक्तिशाली वैज्ञानिक हुन् । र, म उनको निजी सहायक हुँ । म यस ठाउँमा कसरी आएँ ? राम्रोसँग मलाई सम्झना छैन । एक जना दाह्रीवालले मेरो घाँटीमा डोरी बाँधेर मलाई डोर्‍याउँदै सहरबजारमा चटक देखाउँदै हिँडेकोसम्म याद छ । चटक देखाउँदादेखाउँदै म मसिनो डोरीमा एकै खुट्टाले हिँड्न लाग्दा सन्तुलन बिगि्रएर भुइँमा नराम्ररी बजारिएको थिएँ । त्यसबेलासम्म पनि म बाँदर नै हुँ भन्ने राम्रो हेक्का छ । त्यसपछि मैले होस गुमाएँ । होस फिर्दा म यही प्रयोगशालामा थिएँ । डाक्टर मास्के मलाई हेरेर मुसुमुसु हाँसिरहेका थिए । सुरुमा त मलाई डर र अचम्म दुवै लाग्यो । म कसरी आइपुगेँ यस ठाउँमा ? अनि मलाई देखेर एउटा मान्छे किन हाँसिरहेको थियो ? अचानक मेरो आवाज निस्कियो,
‘ओ महाशय ! किन यसरी मलाई हेरेर हाँसेको ?’ मेरो आवाज सुनेर त्यो मान्छे खुसीले झन्डै पागल भयो । उसले ममाथि धेरै वर्ष लगाएर गरेको वाक् परीक्षण सफल भएको रहेछ । जनावरलाई मान्छेको भाषा बोल्न लगाउने औषधिको प्रयोग उसले म माथि गरेको रहेछ । त्यो दिनदेखि नै म बोल्न सक्ने भएँ । अनि त्यही डाक्टर मास्केले मलाई बाँदरबाट मान्छे बनायो । मतलब बोल्न सक्ने बाँदर बनायो । नयाँ अस्तित्व स्वीकार गरेर म डाक्टर मास्केको सहायकका रूपमा काम गरिरहेको छु । उपयुक्त दिन आयो भने मात्र मलाई मान्छेको समाजमा प्रस्तुत गर्ने बताएका छन् उनले । म अचेल आफूलाई बाँदर कम र मान्छे ज्यादा ठान्छु । के म ठीक छु ?

(बाहिर कसैले ढोका ढकढक्याएको आवाज सुनिन्छ ।) ए को हँ ? ढोकै फोरूँलाझैँ गर्ने ? बाहिर घन्टी राखेकै छ । घन्टी बजाउन पनि आउँदैन ? (रिसाउँदै मञ्चको दायाँतिरको ढोकाको प्वालबाट चियाउँदैै) ए ! यो पक्कै पनि डाक्टर मास्केलाई भेट्न आएको हुनुपर्छ । -मञ्चबाट निस्कन्छ र भित्रबाट एक जना मान्छेलाई ल्याउँछ ।)

ल भन्नुस्, तपाईंको नाम के पर्‍यो ?

मान्छेः (अनौठो मानेर बाँदरलाई हेर्दै) ओहो ! तँ त बोल्न पनि जान्दोरहेछस् । तैँले मलाई चिनिनस् ?

बाँदरः के खालको मान्छे होला ? तपाईंको नाम तपाईंको निधारमा लेखिएको छ र मैले तपाईंलाई चिन्नु ? ल खुरुक्क आˆनो नाम र काम बताउनुस् ।

मान्छेः भनेपछि तैँले मलाई अझै पनि चिनिनस् ? म चाल्र्स डार्बिन हुँ ।

बाँदरः डार्बिन ? मान्छेको आदिम पुर्खा बाँदर नै हो भनेर घोषणा गर्ने त्यही डार्बिन ?

मान्छेः हो म डार्बिन हुँ ।

बाँदरः त्यसोभए तँ खुरुक्क गइहाल् यहाँबाट । म तँलाई एक पल पनि यहाँ टिक्न दिन्न ।

मान्छेः ए बाँदर ! आफ्नो औकातमा बस् ! तँ नाथेले मलाई यसरी तल झारेर कुरा गर्न मिल्दैन ।

बाँदरः किन मिल्दैन ? तैँले हामी महान् बाँदरवंशको घोर अपमान गर्न मिल्छ भने मैले तँलाई यति भन्न किन मिल्दैन ?

मान्छेः नचाहिँदो कुरा नगर् । ल भन् ! मैले के अपमान गरेँ ?

बाँदरः तैँले यस संसारको सबैभन्दा स्वार्थी, मतलबी, कपटी जाति मान्छेसँग हाम्रो नाम जोडेर हामी बाँदरवंशको घोर अपमान गरेको छस् ।

मान्छेः (अकमकिँदै) यो कस्तो कुरा गरेको बाँदर ? मैले त झन् तिमीहरूको नाम संसारको सबैभन्दा बुद्धिमान, सभ्य र सचेत जाति मान्छेसँग तिमीहरूको नाम जोडिदिएको छु । यसमा त तिमीहरूले झन् गर्व गर्नुपर्ने !

बाँदरः भयो । परेको छैन तेरो बकम्फुसे कुरा सुन्न । तँ खुरुक्क यहाँबाट गइहाल् । नत्र मेरो रिसको पारो चढ्यो भने तँलाई यो प्रयोगशालामा बन्दी बनाउँछु ।

(यसपछि त्यो मान्छे अलि डराउँछ । बाँदरले मान्छेलाई धकेल्दै ढोकासम्म पुर्‍याउँछ र बाहिर घचेटेर ढोका ढ्याप्प लगाउँछ । अब मञ्चमा बाँदर मात्र हुन्छ ।)

बाँदरः यी अन्वेषकहरूको जातै यस्तै हो । मान्छेको पुर्खा बाँदर रे ! दर्शकवृन्द ! पत्याउनुको पनि एउटा हद हुन्छ । के यो कुनै कोणबाट हेर्दा पनि मिल्छ त ? -मौनता) अनि तपाईंहरू आफैँ भन्नुस् त ? त्यो डार्बिनलाई मैले घोक्रेठ्याक नलाएर के गर्नु ?

(बाँदरको नजर ल्यापटपमा पर्छ । नजिकै जान्छ ।) ओहो ! डाक्टर मास्केको इमेल आएको रहेछ । (पढ्दै) “आज आउन अलि ढिलो हुन्छ । भिजिटर्सलाई होल्ड गरिराख्नु !’ (दर्शकसँग) दर्शकवृन्द ! हाम्रा डाक्टर मास्केलाई भेट्न इतिहास, वर्तमान र भविष्यका थुपै्र पात्रहरू आउने गर्छन् । कहिलेकाहीँ मलाई अचम्म लाग्छ, डाक्टर मास्केको मृत्यु भयो भने मैले कसरी उनको काम सम्हाल्ने ? मान्छेको समाजमा आफूलाई कुन रूपमा चिनाउने ? म बोल्न थालेदेखि आजसम्म यो प्रयोगशालाभन्दा बाहिर गएकै छैन । म कसरी समाजसामु प्रस्तुत हुने ? -बाँदर थचक्क बस्छ) अहँ ! मैले यस्तो अनिष्ट सोच्नुहुन्न । -बाहिर कसैले डोरबेल बजाएको सुनिन्छ । बाँदर सतर्क हुन्छ । घडीतिर नजर लगाउँछ ।) सायद भिजिटर्स आएको हुनुपर्छ ।

(बाँदरले ढोका खोल्छ । एउटा यन्त्र मानव/रोबोटको प्रवेश हुन्छ । यन्त्र-मानवको यान्त्रिक हिँडाइ हुन्छ । ऊ सरासर भित्र पस्छ । बाँदरलाई वास्ता गर्दैन ।)

यन्त्र-मानव ः हल्लो डाक्टर मास्के ! डाक्टर मास्के ! कहाँ हुनुहुन्छ तपाई ?

बाँदरः हैन के ताल हो यो ? सरासर भित्र पसेर डाक्टर मास्के भन्दै हल्ला गर्न लाज लाग्दैन तपाईंलाई ? म उहाँको सहायक । भन्नुस् के काम आइपर्‍यो ?

-यन्त्र-मानव बाँदरको कुरा सुनेर बाँदरलाई तलदेखि माथिसम्म हेर्छ । त्यसपछि जोडले हाँस्छ ।)

बाँदर ः -चिच्याउँदै) चुप चुप लाग्

-यन्त्र-मानवको हाँसो बन्द हुन्छ) यहाँ हाँस्न मनाही छ । यो कुनै थियटर हैन यो जहाँ कमेडी ड्रामा चलिरहेको होस् ।

यन्त्र-मानव ः ल, ल । सरी । अनि भन डाक्टर मास्के कतिबेला आउनुहुन्छ ?

बाँदर ः किन ? के काम छ ? भेट्ने समय लिएका छौ ?

यन्त्र-मानव ः यतिका धेरै प्रश्न किन गर्छौ तिमी ?

बाँदर ः -रिसाउँदै) प्रश्न गर्नु मेरो दायित्व हो । उत्तर दिनु तिम्रो कर्तव्य ।

यन्त्र-मानव ः ओहो तिमी त्यत्तिकै रिसाउँछौ ? मलाई एउटा कुरा मात्र जान्नु छ डाक्टर मास्केसँग । म यन्त्र-मानव भएर पनि मान्छेले जस्तो हिँड्न सक्छु । बोल्न सक्छु । सोच्न सक्छु तर हाम्रो रोबोट प्रजातिले किन मान्छेले जस्तै सन्तान जन्माउन सक्दैनन् ? किन उनीहरूको उत्पादन कारखानाबाट मात्रै सम्भव हुन्छ ? रोबोटजातिको वंशवृद्धिदर गर्न चाहन्छु म । यसका लागि पनि डाक्टर मास्केले यसको नयाँ फर्मुला र औषधि पत्ता लगाउँछु भनेका थिए । उनले केकति काम सके, त्यो बुझ्न चाहन्छु म ।

बाँदरः ए भनेपछि यो संसारमा तिमी आˆनो आधिपत्य जमाउन चाहन्छौ ?

यन्त्र-मानव ः मैले त्यसो त भनेको छैन नि ?

बाँदरः तर तिम्रो भनाइको आशय त यस्तै देखिन्छ नि ।

यन्त्र-मानव ः म तिमीसँग व्यर्थको विवाद गर्न चाहन्नँ ।

बाँदरः मलाई पनि तिमीसँग कुरा गर्ने रहर छैन ।

-यन्त्र-मानव रिसले मुर्मुरिन्छ । उसले बाँदरलाई घुरेर हेर्छ । बाँदरले पनि घुरेर हेर्छ ।)

यन्त्र-मानव ः म अहिलेलाई जान लाग्दै छु । तेरो मालिक आयो भने विज्ञानमन्त्री रोबोट अल्फाबिटा आएको थियो भनिदिनु । -जान लाग्छ । फेरि अडिँदै) अँ । सुन । यदि औषधि पत्ता लगाएको रहेछ भने मलाई खबर गर्न नबिर्सेलास् नि नत्र म तँलाई बाँदरबाट कुकुर बनाइदिन्छु । -हाँस्दै) हा…हा…हा…

-यन्त्र-मानव यान्त्रिक गतिमा बाहिरिन्छ । बाँदर रिसले आगो बन्छ ।)

बाँदरः -दुवै हात देखाउँदै) यी तँलाई खबर गर्छु ? के ठानेको छस् तैँले आफूलाई ? तँ जाबो यन्त्र-मानव शक्तिशाली हुँदैमा तैँले भनेको सारा कुरा मान्नुपर्छ भन्ने छ र ? हैन कस्ता-कस्ता भिजिटर आउँछन् यहाँ ? बाँदरबाट कुकुर बनाइदिने रे ? यी बनाउँछस् बरु फेरि आइस् भने म तँलाई पगालेर फलामको डल्लो बनाइदिन्छु । -बाहिर कसैले फेरि डोरबेल बजाउँछ ।) लौ हेर को आयो फेरि ? अहिले भने पक्कै पनि सायद भिजिटर्स आएको हुनुपर्छ ।

-बाँदरले हतार-हतार ढोका खोल्छ । ढोकामा एक जना सेतै कपाल फुलेको डाक्टर मास्के देखा पर्छन् । बाँदरले अभिवादन गर्छ । उनले स्वीकार्दैनन् ।)

बाँदरः डाक्टर मास्के तपाईं ? यति चाँडै ?

डाक्टरः मेरो मिटिङ क्यान्सिल भयो । त्यसैले म सिधै यहाँ आएँ । अनि भन । यहाँ भिजिटर को-को आए त ?

बाँदरः आउनुपर्ने मान्छे आएनन् । नआउनुपर्ने मान्छे आएर मेरो दिमाग चाटेर गए ।

डाक्टरः हैन के भन्दै छस् तँ ? मैले त तेरो केही कुरा पनि बुझिनँ ।

बाँदरः कुरा के भने नि आज आउनुपर्ने भिजिटर अझै आइपुगेका छैनन् ।

-डाक्टर मास्के प्रयोगशालामा जान्छन् । बाँदर डाक्टरको नजिक जान्छ ।)

डाक्टरः सुन् मेरो अनुपस्थितिमा जोकोहीलाई यहाँ छिर्न नदिनु । पहिले नै समय लिएकाहरूलाई मात्र प्रवेश गराउनु । अचेल फर्मुलाहरूको चोरी निकै बढेको छ ।

बाँदरः हवस् हजुर ।

-डोरबेल फेरि बज्छ । दुवै जना सतर्क हुन्छन् ।)

डाक्टरः जा गएर हेर् त को आएको रहेछ ?

बाँदरः हवस् हजुर ।

-बाँदरले ढोका खोल्छ । ढोकामा एक जना युवती देखा पर्छिन् । युवती निकै रूपवान् हुन्छिन् । उनको हाउभाउबाट जोकोही पनि आकषिर्त हुनसक्छ ।)

डाक्टरः -युवतीलाई देखेपछि) तपाईंले कसलाई खोज्नुभएको ?

युवतीः तपाईर … ?

डाक्टरः म प्रोफेसर डाक्टर मास्के

युवतीः ओ डाक्टर मास्के

डाक्टरः एस मिस ….. ?

युवतीः मिस युनिभर्स मान्यता ।

डाक्टरः कति राम्रो नाम मिस मान्यता । मान्छेजस्तै सुन्दर नाम ?

बाँदरः सबै मान्छे सुन्दर हँुदैनन् हजुर ।

युवतीः ओहो ? यो जनावर पनि बोल्दोरहेछ

बाँदरः -एक्कासि आवेगमा आउँदै) ए कसलाई जनावर भनेको ? के हाम्रो बाँदर प्रजातिको इज्जत छैन ? हाम्रो नाम छैन ?

युवतीः ह्वाट अ सरप्राइज बाँदर पनि बोल्छ र ?

डाक्टरः मिस मान्यता यो डाक्टर मास्केको ल्याब हो । यहाँ जे पनि प्रयोग हुनसक्छ । यहाँ मान्छे बाँदर हुन सक्छ र बाँदर मान्छे हुनसक्छ । यो बाँदर मेरो दास हो । यो मेरो प्रयोगशालाको एक रोचक सामग्री पनि हो । के तिमीलाई मेरो कुरामा विश्वास लागेन ?

युवतीः लाग्यो डाक्टर त्यसैले त म तिमीलाई वषौर्ँदेखि खोज्दै-खोज्दै यहाँ आइपुगेकी हुँ ।

डाक्टरः ल भन । त्यसो भए म तिम्रो के सेवा गर्न सक्छु ?

बाँदरः पहिला बस भन्दैनौ ?

डाक्टरः ए सरी-सरी । बस न । हो, बसेरै कुरा गरौँ न । बसेर कुरा गर्नुको आनन्द नै बेग्लै छ । बस्नु पनि एउटा प्रयोग नै हो तर हामी अधिकांश प्रयोगहरू उठेर नै गर्छौं । -बाँदरलाई हेरेर) अनि बाँदर तँ भित्र गएर जुस बनाएर ले त ।

-बाँदर मन नलागी-नलागी भित्र जान्छ ।)

डाक्टरः ल भन मिस मान्यता । तिमी के चाहन्छौ ?

युवतीः -एकछिन सोचेर) डाक्टर के म राम्री छु ?

डाक्टरः तिमी असाध्यै राम्री छौ ।

युवतीः के म साँच्चै राम्री छु ?

डाक्टरः मैले आजसम्म देखेका स्त्रीहरूमा तिमी सबैभन्दा राम्री हौ ।

-केही समय मौनता छाउँछ । मान्यता डाक्टरको कोठामा राखिएको सामग्रीहरू हेर्न थाल्छिन् ।)

युवतीः डाक्टर तिमीलाई एउटा कुरा सोधौँ ?

डाक्टरः हुन्छ । सोध न ।

युवतीः के तिमी मलाई बिहे गर्न चाहन्छौ ?

डाक्टरः -अकमकिदै) यो तिमीले के भनेकी ? म कसरी तिमीलाई बिहे गर्न सक्छु ?

युवतीः सायद तिमी आफनो उमेरदेखि लाज मान्दैछौ तर मलाई तिम्रो उमेरभन्दा पनि तिम्रो व्यक्तित्व मन पर्‍यो । के तिमी मसँग बिहे गर्छौ ?

डाक्टरः हेर मान्यता । तिमी मसँग ठट्टा गरिरहेकी छौ ? वा मेरो मन बुभmन खोजिरहेकी छौ ? मलाई थाहा छैन तर म तिमीले राखेको प्रस्ताव स्वीकार्न सक्दिन । -एक छिन मौनता छाउँछ । सम्हालिँदैै) मिस मान्यता बरु म तिम्रो असल केटा साथी बन्न सक्छु ।

युवतीः तर जीवनसाथी बन्न किन सक्दैनौ डाक्टर ?

डाक्टरः मैले भनेँ नि । म बिहे गर्न सक्दिनँ भनेर ।

युवतीः तर किन डाक्टर ?

डाक्टरः यो प्रश्नको उत्तर मसँग छैन ।

युवतीः उत्तर छैन कि भन्न चाहिरहेका छैनौ डाक्टर

डाक्टरः ओहो आखिर तिमी के चाहन्छौ ?

युवतीः तिमी पुरुष जातिहरूले जहिले पनि आफूले चाहेको बेला मात्र नारी जातिलाई प्रयोग गर्‍यौ । भन्ने बेला नारीलाई आधा आकाश, जननी, धर्ती अनेक फूल बुट्टाले सम्बोधन गर्छौ तर यथार्थमा तिमीहरूले नारीलाई आफूलाई मात्र भोक लागेको बेला उपभोग गर्ने साधनका रूपमा लिएका छौ ।

डाक्टरः (आवेगमा आउँदै) तिमी कठोर आरोप लगाउँदै छौ ।

युवतीः आरोप हैन । मेरो निष्कर्ष हो यो । नारीलाई यसरी हेर्ने पुरुषको मस्तिष्कमा के कस्ता तन्तुहरू हुन्छन् ? र ती नारीभन्दा किन भिन्न हुन्छन् ? म यो जान्न चाहन्छु । के तिमीले यस बारेमा कुनै प्रयोग गरेका छौ डाक्टर

डाक्टरः तिमीले के भन्न खोजेकी हौ ? कुरा नघुमाइकन सिधा भन । मसँग धेरै समय छैन । यहाँ अरू पनि भिजिटर आउँदैछन् । मैले उनीहरूलाई पनि समय दिनुपर्छ । भन । तिमी के चाहन्छौ ?

युवतीः (डाक्टरको नजिकै गएर एकदमै ठूलो स्वरमा) म पुरुष बन्न चाहन्छु । डाक्टर म तिमीजस्तै पुरुष बन्न चाहन्छु । म नारीबाट पुरुष बन्न चाहन्छु । र पुरुष भइसकेपछि नारीलाई किन पुरुषले त्यसरी हेर्छन् भन्ने कुराको अनुभव गर्न चाहन्छु ।

डाक्टर ः -अचम्म मान्दै) होइन । यो कस्तो ठट्टा हो ? मलाई नचाहिँदो ठट्टा गरेको मन पर्दैन ।

युवतीः मैले ठट्टा गरेको होइन डाक्टर म पुरुष बन्न चाहन्छु । म यसै जुनीमा नारी र पुरुष दुवैको जीवन बाँच्न चाहन्छु र त्यो अनूभूतिलाई म आफनो अटोबायोग्राफीमा उतार्न चाहन्छु । -डाक्टरलाई अङ्कमाल गर्दै) डाक्टर के तिमी मलाई मद्दत गर्दैनौं ? डाक्टर मैले तिम्रोबारेमा धेरै सुनेकी छु । पढेकी छु । तिमी प्रकृतिका धेरै नियम तोड्न सक्छौ रे जीवविज्ञानमा तिमीले अनेक चामत्कारिक कामहरू गरेका छौ रे डाक्टर के तिमी मेरो मनोकाङ्क्षा पूरा गरिदिन्नौ ?

-डाक्टर मास्के असामञ्जस्यमा पर्छन् । केही बोल्न सक्दैनन् । त्यसैबेला हतारिँदै एक जना दुब्लो-पातलो अधबैँसै व्यक्तिको प्रवेश हुन्छ । युवतीलाई देखेर ऊ टक्क अडिन्छ ।)

व्यक्तिः माफ गर्नुहोला महाशय यो मेरी श्रीमती हो यसको मनोदशा अलि ठीक छैन । घरमा थुनेर राखेको थिएँ । सबैको आँखा छलेर भागिछे । (मान्यतालाई) ए ल हिँड् छिटो । तँलाई एक्लै हिँड्न कसले भन्यो ? यसरी एक्लै हिँड्न हुँदैन भन्ने थाहा छैन ? ल हिँड् ।

-युवती डाक्टरको पछाडि जान्छिन् ।)

युवतीः अहँ म जान्न । जाँदै जान्न । म तेरी श्रीमती होइन । -डाक्टरसँग) डाक्टर म यसकी श्रीमती होइन । यसले मलाई अपहरण गरेर बन्दी बनाएको थियो । म यसको बन्दिगृहबाट भागेर आएकी हुँ ।

व्यक्तिः -फकाउँदै) कस्तो कुरा गरेकी ? नचाहिँदो कुरा नगर त । खुरूक्क हिँड् ।

डाक्टरः एक छिन पर्खनुस् । उनी तपाईंकी श्रीमती हुन् भन्ने के प्रमाण छ ?

व्यक्तिः -रिसाउँदै) मसँग प्रमाण खोज्ने तिमी को हौ ? त्यसो हो भने तिमी पनि योसँग मिलेका छौ । म तिमीहरू दुवै जनालाई छाड्दिन ।

-व्यक्ति डाक्टरको नजिक जान्छ । मान्यताले पछाडिबाट त्यो व्यक्तिलाई धकेलिदिन्छिन् । व्यक्ति लड्छ । मान्यता दौड्दै मञ्चबाट बाहिरिन्छिन् । व्यक्ति उठेर मान्यता गएतिर नै जान्छ । डाक्टर हेरेको हेर्‍यै हुन्छन् । त्यसैबेला बाँदरको प्रवेश हुन्छ । यतिबेला बाँदर रिसाएको हुन्छ ।)

बाँदरः डाक्टर मास्के म अब यो प्रयोगशालामा बस्न चाहन्नँ ।

डाक्टरः तँ यो के भन्दै छस् ? तँ होसमा त छस् ?

बाँदरः म बल्ल होसमा आएको छु डाक्टर म अब यस ठाउँमा बस्न चाहन्नँ । म बन्दिगृहमा कैद भएर एकछिन पनि बस्दिनँ ।

डाक्टरः के रे ? यो बन्दिगृह रे ? तँ नाथे बाँदरको यत्रो हिम्मत ? तँलाई मैले बाटोबाट टिपेर ल्याएँ । मान्छेको आवाज दिएँ ।

बाँदरः बाँदरको अस्तित्व मास्नका लागि ।

डाक्टरः मैले तँलाई काम सिकाएँ ।

बाँदरः आˆनो आजीवन सेवा गर्नका निम्ति ।

डाक्टरः मैले तँलाई सचेत बनाएँ ।

बाँदरः आˆनो निर्जन प्रयोगशाला रक्षाका लागि ।

डाक्टरः तँ जे सुकै सम्झी तर तँ मेरो प्रयोगशालाको अपमान गर्न पाउँदैनस् ? म पनि हेर्छु । तँ कसरी यो ठाउँबाट मुक्त हुँदोरहेछस् ? मैले तँ माथि गरेको यत्तिका प्रयोग खेर जान दिन्नँ ।

-बँादर जान खोज्छ । डाक्टरले बाँदरलाई समात्छ । बाँदर अडिन्छ ।)

बाँदरः म तिम्रो प्रयोगशालाको सामग्री होइन डाक्टर हामीलाई कहिले डार्बिनले प्रयोग गरे ख्याति कमाउनका लागि । हामीलाई कहिले रामले प्रयोग गरे रावणका विरुद्धमा लाग्नका लागि । हामी आज पनि प्रयोग भइरहेका छौँ । कहिले रसायनशास्त्रीहरूबाट कहिले मानवशास्त्रीहरूबाट । डाक्टर तिमीलाई कसले अधिकार दियो ? मलाई प्रयोग गर्ने ? मलाई वर्षौँ प्रयोगशालाको वस्तुमा रूपान्तरण गरिरहने तिमी महास्वार्थी हौ । डाक्टर अब म यो आयातित पीडामा अरू रमाउन सक्दिन । म अब हिटलर, बुद्ध वा यन्त्र-मानवको प्रतीक्षा गर्न सक्दिन ।

-यतिञ्जेल डाक्टर मास्के रिसले रन्थनिसकेका हुन्छन् । उनले लामो फलामको डन्डीले बाँदरलाई प्रहार गर्न खोज्छन् । बाँदरले छल्छ । हेर्दाहेर्दै प्रयोगशालाका सामग्रीहरू नराम्ररी तोडफोड हुन्छ । अचानक डाक्टर मास्केको सन्तुलन बिग्रन गई उनको टाउको जमिनमा नराम्ररी ठोक्किन पुग्छ । डाक्टरको टाउको शरीरबाट छुट्टन्िछ । यतिबेला थाहा हुन्छ डाक्टर मास्के एउटा यन्त्र-मानव हुन् भन्ने कुरा । डाक्टर टाउकोविना समेत उठ्न खोज्छन् तर सक्दैनन् । मञ्चमा रातो प्रकाश डाक्टरमाथि केन्दि्रत हुन्छ । केही समयपछि डाक्टरको भयानक मृत्यु हुन्छ । यतिबेला बाँदर सम्हालिन्छ । बाँदर कहिले डाक्टरलाई, कहिले प्रयोगशालामा छरिएका सामग्रीहरूलाई हेर्छ । बाँदर केही बोल्न खोज्छ तर वाक्य फुट्दैन । बाँदरको बोली हराउँछ । बाँदर अत्तालिँदै प्रयोगशालामा यताउति दगुर्न थाल्छ । यसैबेला पर्दा खस्छ ।
(समाप्त ।)

(श्रोत : Onlinesahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नाटक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.