प्रकाश आङ्‍देम्बेका ४८ रुबाईहरु

~प्रकाश आङ्‍देम्बे~Prakash Angdembe

कमिला यत्रतत्र हात्ती सिक्रिमा छ
असिमित चाहनाहरु दिनरात फिक्रीमा छ

आउनोस सस्तो मै मिलाएर लानोस
आजभोलि यो ज्यान पनि बिक्रिमा छ।

******************************************

बिदेशीलाई फकाउन रीति ढाल्नोस हजुर
भ्रष्ट तस्करहरुलाई अतिथि पाल्नोस हजुर

किन गुनासो गर्नुहुन्छ महल पजेरो छैन भनेर
बरु तँपाई पनि आजै देखि राजनीति थाल्नोस हजुर

******************************************
हे डक्टर हरेशमा खाने के बनायौ
हे इन्जिनियर स्वर्गमा जाने के बनायौ

नभन आफुलाई सर्वश्रेष्ठ मानव
नत्र सम्झ त स्वयम् मर्दा लाने के बनायौ

******************************************

मन भाँचिन्छ, तोडिन्छ, कहिले दिन कहिले राती हुन्छ
जसलाई विश्व्ाास गर्यो उ नै विश्वासघाती हुन्छ

यसरी मन भाँचिनु तोडिनु टुट्नु र दुःख्नुभन्दा
बरु मन त फलामकै भए जाती हुन्छ

******************************************

बग्न दिऊँ खोलालाई बाँध लाउनु हुन्न
मपाइत्वँको डोलीहरु काँध लाउनु हुन्न

मान्छेभन्दा दोस्रो पहिचान छैन हाम्रो धर्तीमा
त्यसैले देश महादेशको साँध लाउनु हुन्न

******************************************

अझै पनि मानवताको गीत गाउन सकिन्छ
घरभित्ता टालेर छानो छाउन सकिन्छ

असम्भव भन्ने त्यागेर केही गर्न लागिपरे
औँसीको रात माझ पनि तारा पाउन सकिन्छ

******************************************

अहितकर गीत गाउनु हुँदैन
भावनालाई फत्काउनु हँुदैन

एउटा कुरा बुझ्नुपर्छ कान्छा
मुसा मार्न घर भत्काउनु हुँदैन

******************************************

यो समाज अपरिवर्तन मेला होइन
प्रत्येक मान्छ गुरुको चेला होइन

थप्पडको पैचो थप्पड नै चाहिन्छ आजकल
किनकी यो समय बुद्द र गान्धीको बेला होइन

******************************************

पहिलो प्रश्न समयलाई छुन किन सकेनौँ
दोस्रो प्रश्न आस्थालाई दुहुन किन सकेनौँ

हरपल मलाई एउटै कुरामा अपसोस छ
कि हामी मान्छे भएर मान्छे हुन किन सकेनौँ

******************************************

के श्राप पयोर्ेे तिमीलाई ल्याएदेखि हास्न सकेकोे छैैन
प्रत्येक प्रहर भित्र्याउन बाँस्न सकेको छैन

थाहा छ तिमीलाई भगाउँदा बन्धक राखेको रित्तो आकाश
आजसम्म मैले त्यही पनि उकास्न सकेको छैन

******************************************

मैले सजिलो मन पराउँदा तिमी सारो मन पराउँछौ
मैले सरल मन पराउँदा तिमी गारो मन पराउँछौ

एउटै सपना, उदेश्य र बाटो भए पनि हामीमा केही भिन्न छ
किनभने मैले पुतली मन पराउँदा तिमी छेपारो मन पराउँछौ

******************************************

मजदुरहरुलाई अत्याचारले किन घस्नु भएको छ
गरीबहरुलाई घृणाले किन डस्नु भएको छ

एकपटक छातिमा हात राखेर सोच्नुस महासाय
तँपाइ कसले बनाएको महलमा बस्नु भएको छ

******************************************

समय त बर्खैको भयो
जीवन त चर्खैको भयो

सपना त मेरो थियो
अफसोस बिपना अर्कैको भयो

******************************************

एक बारको जीवनमा सार्थक वयान दिनुपर्छ
नजिकिन चाहनेहरुलाई पनि ध्यान दिनुपर्छ

मायाको कुरा छाड, त्यो त आकाशको फल हो
यहाँ त जाबो एक टुक्रा कात्रो पाउन पनि ज्यान दिनुपर्छ

******************************************

भोक लाग्दा ढुँगा भेटियो अन्न थिएन
आराम गरौँ त काँडै काँडा तन्ना थिएन

तिमी टाढिएको व्यथा कापिमा लेखुँ भन्थे
दुर्भाग्य त्यो कापीमा पनि खाली पन्ना थिएन

******************************************

मायाको संसार चल्ती थियो
सम्बन्धको सानो खल्ती थियो

मिलन छुट्नुमा जति तिम्रो कमजोरी
मेरो पनि त्यति नै गल्ती थियो

******************************************

उ महान छ जो आफै उभिन सक्छ
धेरै दिएर थोरैमात्र लिन सक्छ

तिमीजस्तो हुत्तिहाराभन्दा जुनकिरी महान छ
कमसेकम ँअँध्यारोलाई चुनौति त दिन सक्छ

******************************************

साँघुरो सोचाइभन्दा अँध्यारो पर्याप्त हुनसक्छ
समस्या पगाले सम्भावना प्राप्त हुनसक्छ

सन्तानको गल्तीमा क्षमा नदिने अविभावक भनाउँदाले बुझे हुन्छ
उसको अस्तित्व घरैवाट कुनै दिन समाप्त हुनसक्छ

******************************************

सुल्टो कुरो पनि उल्टो सम्भि्कएपछि
मैनवत्तीलाई पुल्ठो सम्भि्कएपछि

फूल उपहारको के अर्थ भो र
निष्ठुरीले अगुल्ठो सम्भि्कएपछि

******************************************

बिदाइको क्षण हँसिलो खुखिलो ज्यान बनाएर जाउ
यो रातले पोल्छ मलाई विहान बनाएर जाउ

बाचा खुवाएर मलाई बिर्स भन्छौ भने विन्ति छ
तिम्रै हातले मेरो लागि एउटा चिहान बनाएर जाउ

******************************************

धागो बाधेको सबै लौरो टाँगो हुँदैन
जीउ नाँगो भए पनि बिचार नाँगो हुँदैन

गाँठी कुरो भित्र हुन्छ चिन्न सक्नु पर्छ
उखु बाँगो भए पनि रस बाँगो हुँदैन

******************************************

सम्झन्छु भन्नेको विर्षने स्वभाव हुन्छ
गर्ने त सधै सधै चुपचाप हुन्छ

मलाइ नसोध कति माया गर्छौ भनेर
किनकी थोरै माया गर्नेको मात्र हिसाव हुन्छ

******************************************

यहाँ बर्षेनी रिण अर्ब खर्ब हुन्छ
र पनि आफैमा गर्ब हुन्छ

कसले भन्यो जँगबहादुर मर्यो भनेर
नत्र कसरी दिनदिनै कोतपर्व हुन्छ

******************************************

सपना आफु अन्सार हो तिमी
प्रेमनगरको भन्ासार हौ तिमी

हरेक जुनीमा तिमी पाए पुग्छ
मेरो लागि त सारा संसार हौ तिमी

******************************************

समवेदना कुल्चिएर वाहिर वाहिर हाँसेकोछु
र पनि यो मुटुमा तिमीलाई नै साँचेकोछु

मेरो देशको हालखबर के बताउ प्रिय
यो पत्र लेख्दासम्म चाही गोलीवाट बाँचेकोछु

******************************************

जोइ र पोइ उस्तै उस्तै
बाचा र गोही उस्तै उस्तै

विपत्तीमा केवल आशा मात्र
इश्वर र निर्मोही उस्तै उस्तै

******************************************

गध्य पनि लय भयो
जीवनयात्रा तय भयो

कलमकसम त्यसदिनदेखि
जब तिमीसँग परिचय भयो

******************************************

पराइको गमलामा फूल्ने मान्छे
सपनाको शहर डुल्ने मान्छे

तिमीलाई म कसरी भुलु खै
ओ मलाई भुल्ने मान्छे

******************************************

संझौतामा लुछिने सुस्ता र महेशपूरको पक्षमा छैन
शक्तीमा उद48डता मच्चाउने महिशासुरको पक्षमा छैन

म कलमजीवि स्वतन्त्र बिचारको पक्षमा छु
निंरकुशता लाद्ने कुनै जँग बहादुरको पक्षमा छैन

******************************************

मालिक थिएँ दासी भएँ
चालकवाट खलासी भएँ

के भइन तिम्रो कारणले
आज प्रेममा नि सुकुम्बासी भएँ

******************************************

फूल देख्दा डराउने मन भयो
मन जस्तै चकनाचुर बचन भयो

तिम्रो साथ छुटेपछि अरु त ठिकै छ
विडम्वना एक प्रेमयोद्धालाई डिप्रेशन भयो

******************************************

अत्याचार फूल बनेर आए पनि सहिएन
भुवा जस्तो जता हावा त्यतै पनि बहिएन

बेरोजगार सही सिँगो परिचय बाँचेकोमा गर्वित छु
धन्न होलसेलमा सहिद र सभासद भइएन

******************************************

पहिचान पखाल्नेलाई नागरिकता
गलत कदम चाल्नेलाई नागरिकता

याम थुलुँगहरु शरणार्थी सधै
जँगेपिलर ढाल्नेलाई नागरिकता

******************************************

पछ्यौरीले मुहार नछेके हुन्थ्यो
व्यर्थै रुबाइ नलेखे हुन्थ्यो

आफुलाई सधै भूल्छ यो मन
बरु तिमीलाई नदेखे हुन्थ्यो

******************************************

प्रभातको सितल सितल वतास दिन सक्छु
बाँचुन्जल आत्मिय आभास दिन सक्छु

धर्तीमा त आफ्नो भन्ने एक पाइला जमिन छैन
तर तिम्लाई जुन तारा आकाश दिन सक्छु

******************************************

कोही कराएर बिग्रे
कोही डराएर बिग्रे

धरोधर्म म भने
तिमीलाई मन पराएर बिग्रेँ

******************************************

तिर झैँ हान्छन् बेसरम आँखाहरु
मनै लान्छन् बेसरम आँखाहरु

इज्जतको त ख्याल राख्नु पर्छ नि
नबोलाई जान्छन् बेसरम आँखाहरु

******************************************

तिम्रै आँखामा पस्छु भन्छ
सपना हँुदै खस्छु भन्छ

विन्ति सम्झाएर पठाइदेऊ मनलाई
मलाई छाडेर तिमीसँगै बस्छु भन्छ

******************************************

यो आँसु विना उपलब्धी सुक्छ सधै
याद पनि तिमी कहाँ पुग्छ सधै

आफ्नो भन्नु नै यही एउटा मन छ
त्यही पनि कदम कदममा दुःख्छ सधै

******************************************

सौँन्दर्यको रवाफ थियो
मुस्कानको जवाफ थियो

बहार पनि फिक्का लाग्यो
कारण तिम्रो अभाव थियो

******************************************

कहिलेकाहीँ दिउँसै सपना देख्न मन लाग्छ
कहिले काही जानी जानी भुलेका कथा लेख्न मन लाग्छ

त्यो काँडा हो त्यसले घोच्न त्यो पनि थाहा छ
तर सबै थाहा हुँदै पनि नाँगो खुट्टाले टेक्न मन लाग्छ

******************************************

नकाट भन्यो छुरा मान्दैन
नबज भन्यो चुरा मान्दैन

आफ्नै मन पनि पराइ भा,छ अचेल
आफैले भनेकै कुरा मान्दैन

******************************************

तर्क गर्दा कोक्याउने सुर्ती भयो भन्छन्
व्यस्त रहँदा आरिषले फुर्ती भयो भन्छन्

भन्नेहरु भनि रहन्छन् मुख टाल्न सकिदैन
मौन भई वस्दा पनि मुर्ती भयो भन्छन्

******************************************

असम्भव तस्विरहरु उन्छन् यी आँखा
जहिले तिम्रै सपनामा हुन्छन् यी आँखा

तिम्लाई सम्झी हाँस्ने प्रयास गर्दा गर्दै
मलाई नै झुक्याएर रुन्छन् यी आँखा

******************************************

यो विद्रोहतिर नि सर्दैन
सुरक्षाकर्मीको सम्मान गर्दैन

किन भनेर नसोध मित्र
मलाई बन्दुक मन पर्दैन

******************************************

व्हिस्की वियर रम पनि तिम्लाई भेट्ने वहाना मात्र हो
साहसिक दंभ पनि तिम्लाई भेट्ने वहाना मात्र हो

गीत, गज, कविता सबै मिश्रित आजको यो
सिँगो कार्यक्रम पनि तिम्लाई भेट्ने वहाना मात्रै हो

******************************************

आफु भएर उभिएको पराइपनलाई सम्झाउँदैछु
ठट्टामा वितेको उदाश यौवनलाई सम्झाउँदैछु

जहिले विपत्तीमा सम्झाउँथ्यो यो मनले
तर आज म त्यही मनलाई सम्झाउँदै छु।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *