कथा : नीलो तृष्णा

~विद्या सापकोटा ~Bidya Sapkota

म यसैपनि अन्तर्मुखी स्वभावको मान्छे,शान्त वातावरण र सानाठूला बोटबुट्यानहरु । हरबिहान म आफ्नो ओछ्यानबाटै बाहिरी दुनियाँ नियाल्थे । चिया पिउने मेरो बानि थिएन/छैन,झण्डै एक चिया बसाइमा मै शीतले सफा पारेका चुत्राका पातहरु आफ्ना रङ्ग बदल्थे, त्यो कुनै जादू थिएन सिवाय चराचुरुङ्गीको बदमासि । घामको चहकसँगै ती अझ टल्कदै जान्थे,बदलिएको रङ्ग, रुप र बिरुपतामा मलाई एक्लै हाँसो उठ्थ्यो एकसाथ रंगिनताको मीठो आभास मभित्रै संचार भए झैं पनि लाग्थ्यो ।

हुनतः म यहाँ सरुवा भएर आएको एकवर्ष मात्रै हुन लागेथ्यो । मान्छेको जंगलमा अभ्यस्त भइसकेको म, साच्चैको यो जंगल, त्यसमा पनि घामले आक्कलझुक्कल मात्र चियाउने ओसिला कोठाहरु । बाफरे शुरुमा त म अत्तालिएको थिए, धन्न इन्टरनेट सुविधाले हाँस्न नसके नि बाच्न सक्नेसम्म बनाइदियो । बिस्तारै  , ब्यारेकभन्दा केही माथिको घमाइलो भूई फलैंचामा बसेर घामका किरणहरु ओड्दैं ल्यापटपसँग हराउने बानी पर्न लाग्यो । पछिपछि, उही परिवेश आफ्ना लाग्न थालें जहाँ म सोचाइका दरभंगाहरु तर्दातर्दै कताकता हराउथे/हराइदिन्थे,उसकै यादमा ।

मेरो यो जंगल बसाइ उसकै कारणले सहज भएको थियो । ऊ अर्थात् थोरै चुलबुले, धेरै प्यारी मेरी बि । ऊ म भन्दा सानी थिई, धेरै सानी सायद कच्चा पनि । मुख्य कुरा त उसको बालापन गएकै थिएन । उसमा भर्खरै मात्र चञ्चलताका बहाबहरु देखापर्न लागेका थिए । भावनाका गहिराईमा पौडिरहेकी हुन्थी ऊ । एक्लैएक्लै मुस्कुराउथी, हावासँगै उडिदिन्थी, पानिसँगै बगिदिन्थी, जून हास्दा हासिदिन्थी,  शीतसँगै रोइदिन्थी पनि । उसको त्यो निश्चल हाँसो,निर्मल मन र बालापन मिश्रित भावले नजादिदो पाराले मलाई उसैतिर खिच्दै लगेथ्यो, म खिचिदैं गएथें ।

ऊसँगको भेट पनि कम्ती रोमाञ्चकारी थिएन ।

एक रापिलो विहान, म ल्यापटप काखमा राखेर समाचारका साइटहरु चाहरीरहेको थिएँ । यसैबीच एक चाखलाग्दो पाठक प्रतिक्रियामा मेरो आँखा पर्यो । को होला यस्तो लेख्ने सोच्दानसोच्दै परिचय मिल्यो ‘सपना र चाहनासँग उडिरहेकी एक बच्ची’ साथैमा अझ जिज्ञासु बनाउने खालको इमेल ठेगाना । म कसैसँग सम्पर्कमा आइहाल्ने बानिको मान्छे पक्कै होइन तर खैं के रहर चल्यो ।
म तिमीसँग कुरा गर्न चाहन्छु, मलाई च्याटमा भेट्न सक्छौं ? सररर टाइप गरे ।
हो हैं, लौं के कुरा हो गरौं न त । ऊ नेटमै रहिछ, अग्रजी अक्षरहरु राम्रै फर्माए ।
यस्तैमा हाम्रा कुराकानीका सिलसिला शुरु भएँ । उसले बडो आनन्दसाथ आफ्नो नाम बताइदिई ‘म विभुती शर्मा ’।

रसिली, फरासिली, उत्साही रहिछे ऊ । त्यो भन्दा बेशी मलाई उसको बारेमा खासै थाहा भएन ।

जमाना संचारको छ, नेटको छ,संजालको छ जहाँ दुनियाँ भेटिन्छ । सुरादेखी सुन्दरीसम्मको कुरा हुन्छ, सडकदेखी सदनसम्मको बहस चल्छ, ऊ भेटिनु कुनै नौलो कुरा थिएन । हामी बेलाबखत भेटिन्थ्यौ । छोटो समयको अन्तराल मैहाम्रो मित्रताको डोर कसियो | बीस–बाइसमा दौडदै गरेकी आधुनिक युवती र चालिस बयालिसको अधबैंसे पुरुषका अतुलनीय रहरहरु,भोगाइहरु तपशिलमा परे |

जहाँ जसरी पनि रमाउनुपर्छ/हासेर बाच्नुपर्छ भन्ने उसको सिद्धान्त थियो । ऊ सधै उत्साहको कुरा गर्थी,सफलताको सपना देख्थी ,हरकुरालाई सकारात्मक रुपले हेर्ने लोभलाग्दो आँखा/मन उसँग थियो । उसका प्रियतमाहरुको लिस्टमा नछुटिकन पर्थे परिवार, साथी,पुस्तक, कम्प्युटर, टि.भी., कलम र प्रकृती ।
“के गर्दैछु बि,” म प्रेमपूर्वक सोध्थे ।
“गर्नु नै के छ र, सुम्निमा सकाउन लागें ।”
“भोली–पल्पसा क्याफे, पर्सि फलानो फिल्म,साथीहरसँग भेटघाट /स्व-लेखन …………………………”एक न एकसँग सधै मस्तमख्ख |
छि ! कस्तो झुर केटीसँग भेट भएछ? आफू त्यो लिस्टमा पर्न नसक्नुको क्षोभले दिक्दारी पोख्थे  म |
“छोड न, त्यो तिम्राहरुको कुरा, केही आफ्ना कुरा बताऊ ।”
मेरो चिडचिडाहटको किन पर्वाह गरोस र ऊ, कल्पनामा कावा खादै बोलिदिन्थी , “अरे बाबा मेरो बारेमा जान्ने त्यत्रो उत्सुकता हुनेले त खुरुक्क पल्पसा क्याफे पढ्नु नि, त्यो पल्पसा म नै हुँ क्या | ” लौ फसाद ! आफ्नो रोजाइमा कहिल्यै नपरेको कुरो पुस्तक, उसलाई जान्न पढ्नैपर्ने भयो |
आफूलाइ खुला किताब भनिदिने ऊ मलाई भने बडो रहस्यमयी लागी/लागिरही |
‘आकाक्षाको म्याराथनमा दौडिरहेकी कुशल धाविका रहिछ ऊ’, प्रत्यक्षभेटपछिको मेरो अन्दाज |

उसको आगमन मेरो लागि सुखद रह्यो । उसँगको कुराकानीले मेरा सारा थकान भाग्थे । त्यसैले त घामको बर्को उछिट्टिएर शीतको पछ्यौरी लपक्क भिजिसक्दा पनि प्रतिक्षा चियाइरहन मन पराउथें म । कहिलेकाहिं बेखबर रहिदिदाँ, आफूले ‘आफूलाई के सम्झदी हो यो केटी ?’ मुर्मुरिदैं निदाउथें म, प्रतिक्षाको देउरालीमा भिमसेनपाती चढाउदै बिउझिन्थ्यो मन ।

पछिल्ला दिनहरुमा ऊ अझ ब्यस्त रहन थाली , हाम्रो भेट पातलिदैं गयो । यसो हुनु के थियो,मेरा संकटका पलहरु शुरु भएँ । मलाई अनौठो भूमरीले थिच्न लाग्यो। बेला न कुबेला त्यसको निश्चल हाँसो मलाइ बिथोल्न आउन लाग्यो  । यादहरुमा लहराउन लागी ऊ । “सुनेनौं काग कराएको, मैले सन्देश पठाएथें त,” कल्पना मै जिस्याउन लागी ।

लौं बाबा, त्यो फुच्ची त कुनबेलादेखी मेरो मुटु मै अखडा जमाएर बसेकी रहिछ, मलाई थाहै भएन । त्यसका बेहिसाब घच्घच्याइले मन त्यसै विचलित हुदैं गयो,म बडो समस्यामा परें । घर, परिवार, सम्मानित जागिर ,गाउँसमाजमा प्रतिष्ठा भएको परिपक्व पुरुष म,सबथोक भएर पनि केही नभएजस्तो, कोही नभएजस्तो आफैंभित्र थलिदैं गएँ, थिचिदैं रहे ।

जे हुदैंथियो मैले चाहेर भएको थिएन । मैले सोचेर गरेको थिइन । कसलाई के भन्नु/आफैंले पनि के मान्नृ, प्रेम/आकर्षण, भ्रम/यथार्थ, उमेर/चाहना, प्राप्ती/त्याग, प्रतिष्ठा/अभिप्सा, ऊ/म दुविधैं–दुविधामा पिल्सिदैं गएँ म । दुनियाँलाई भन्नु–नभन्नु, कसैले मान्नु–नमान्नु फरक कुरा तर आफैंलाई ढाट्नु सम्भव थिएन । यता म प्रेममा परिसकेथे|उसलाई चाहन थालिसकेको थिएँ, सम्पुर्णरुपमा । उता ऊ जस्ताको तस्तै कलेज,साथीभाई ,घरपरिवार, पुस्तक, टिभी ,आफ्नै सपनाको संसार बस् बिन्दास् । मलाई उसको बेफिक्रीमा रिस उठ्थ्यो । ‘मलाई बेहाल पारेर हराउन पाउन्नस् तँ’ झपार्न मन लाग्थ्यो ।
एक्लैएक्लै चिच्याउथे म/भित्रभित्रै कराउथे, “म तेरो प्रेममा परे फुच्चू ।“
तल्काल आफैंभित्र काप्पे,‘मेरो प्रेमलाई कतै बासनाको उपमा दिइयो भने’???

दिनाहुदिन ‘ऊ’ ममाथि हाबि हुदैं गई । कसैलाई बताउन नसकिने अनौठो रोगले मलाई गाल्दै गयो । म आफैभित्र पिल्सिएर, थिचिएर, लत्रिएर उसको प्रतिक्षा गर्न लागे । भेट्ने बाहानाहरु खेज्दै उकहाँ पुग्न लागे, पुगें ।
एक फुर्सदिलो साझ अस्विकृतीको झापड ब्रजनेछ जान्दाजान्दै पनि उसको मन बुझ्ने दुर्साहस गरें मैले । ‘‘अब कति यताउता लड्खराउछौं बि, आफ्नो पनि घरजम गर्ने बेला भएन र?‘‘
‘‘घरजम……हजुरले भन्नुभयो अब सोच्नुपर्ला की ‘अंकल’?‘‘ आफ्नो प्यारो प्रतिकारात्मक शब्द अंकल जोडेर प्रश्नको आशयलाई नै उडाइदिई उसले ।
‘‘भन त तिमीलाई कस्तो केटा मनपर्छ ?‘‘ मलाई  सुन्नु थियों ।
‘‘दुःखको कुरा, मलाई कुनै केटा नै मन परेनन् ।‘‘ पुरानै उत्तर ।
‘‘मलाई ढाटेकी पो हौं कि, कोही प्रेमी?‘‘
‘‘अब ढाटेकै भएपनि आफ्नो प्यारो मान्छेलाई नभनेर घरजम कसरी पो होला र ?‘‘ आफ्ना चञ्चल आँखाहरु मेरो मुर्झाएको अनुहारमा सर्र दौडाउदै खित्का छाडी उसले ।
‘‘ठट्टा नगर न बि‘‘, थाकेको आवाज मेरो थियो ।
‘‘अरे कहाँ ठट्टा गरिराछु र, साच्चै मलाई कोही मनै परेनन् त म के गरु?‘‘ केही गम्भिर देखिई ऊ।
‘‘अनि बिहे ?‘‘
‘‘म्यारिज ब्यूरो खोल्नुभयो कि क्या हो, म त मेरो बाबाले रोज्नुभएको केटासँगै विवाह गर्छु हैं ? ‘‘ हाँसेर टार्ने उसको पुरानो आदत ।
‘‘तैपनि भनन, तिम्रो रोजाइको पुरुष कस्तो हुनेछ ?‘‘ मैले आफ्नो अडान छोडिन ।
‘‘अब के भने नी, मैले त्यसबारेमा सोचेकै छैन भन्नैपर्दा मलाई ठ्याक्कै मेरो बाबाजस्तै पुरुष मनपर्छ जो आकर्षक होस्, समझदार होस् अनि मलाई बेहद प्रेम गरोस् ।‘‘
मलाई हाँसो उठ्यो, ‘‘बाबाजस्तै भन्दा त कुनै चालिसबर्षेले म तिमीलाई अत्ति माया गर्छु भनिदियो भने ?‘‘  ठट्यौलो सोधाइ ठट्टा थिएन |
‘‘ओहो ! विभुती अनी बूढो ? कस्तो  नसुहाएको, केही त शुभ बोल्नुस्…. अँ !म तिमीभन्दा बीसबर्ष पछि जन्मिए ,के गरु त प्रिय? सायद!म यस्तै भन्छु होला । ‘‘ जोडजोडले हाँस्न लागी ऊ  । ‘त्यो हदभागी प्रेमि मै हुँ भन्ने थाहा पाउदी हो त त्यो  हाँसोको पारो अझ कत्ति बढ्दो हो?’ मलाई आफैंमाथी दया लागेर आयो ।
हुनपनि ऊ किन कसैले भन्यो भन्दैमा मनिदेओस्? म त्यो लोग्नेमान्छे,जसले आफनी स्वास्नीलाई माया गर्न जानेन, त्यसले फूलको चाह गर्नु मात्र पनि कम्ति दुखदायी थिएन ।  के भनौं न के भनौंको मनोदशामा धन्न कहाँबाट फुर्यो, ‘‘कथाको प्लट मीठो सुनियो, शिर्षक के राख्छौ नी बी……?‘‘
अन्तत: बाह्रबर्षे जनयुद्ध खेपेर आएको कठोर प्रहरी अघिकृत, एउटी फुच्चीसँग नराम्ररी हार्यो।
आक्रान्त पारेर गुलाफी मुस्कुराहट ओझेल पर्यो । तड्पाएरै मार्ने इरादा थियो की ?

यस्तो सहिनसक्नु ,भनिनसक्नुको रोगले ममा उत्साह, जाँगर ,मनोबल भन्ने कुराको शुन्यान्त नै गराइसकेको थियो । काममा ध्यान लगाउन सकिरहेको थिइन । सारा वातावरण नै बोझिलो लाग्थ्यो, ल्यापटप त खोल्नै छाडिदिएको थिएँ । सम्हालिने हजार प्रयासको बाबजुत पनि ऊ बारबार मलाई गिजोल्न आउथी उही चञ्चलता, चाहना र उत्साहको पछ्यौरीमा ढाकिएर । यस्तैमा एउटा आर्कषक कार्ड मेरो हातमा पर्यो । मेरी फुच्चु विवाह गर्न लागिछें………‘ओहो ! विभुती अनि बूढो, कस्तो नसुहाएको, केही त शुभ बोल्नुस् ।’ म बूढो, उसको अशुभ/मेरो प्रेम एक नीलो तृष्णा बग्यो सललल…..।
‘‘मेरो प्यारो मान्छे !मलाई विश्वास छ,प्रतिक्षारत आँखाहरु थाक्ने छैनन् । ‘‘ उसका सुन्दर हस्ताक्षरहरुले मेरो खिसि उडाउन छाडेनन् । म निस्सासिएँ, छटपटिएँ । रिसले, आवेगले, संवेगले, तनावले एकैचोटी छटाएँ ।

विवाह भनिएको दिन, अन्तस्करणको भुनभुनसँगै मेरा पाइला छिटोछिटो अगाडी बढ्दैथें । ‘कता ?’ सायद यही प्रश्न गर्दैथ्यो, शिरिशको फूलभित्र सुरक्षित उही निमन्त्रणा–पत्र ।।

(श्रोत:- अन्तर्जाल) 

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.