कविता संग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे

~भूपि शेरचन~

Bhupi Sherchan

भूपि शेरचन

घुम्ने मेचमाथि अन्धो मान्छे
–भूपि शेरचन

प्रकासकीय

घुम्ने मेचका अन्धालाई
साँघुरो चोकका द्यौतालाई
वीर भएका बुद्धूलाई
बुद्धू भएका वीरलाई
हल्लै–हल्लाको देशमा
चार भन्ज्याङ, यो चिसो एष्टे्रमा
उभ्याउने हामी होइनैं।‘केही लेख्छन्
लामो सास फेर्छन्’
यस्ता भूपी शेरचन
हामीले दिक्क पारेपछि
एक दिन भन्छन्
‘छाप्ने भए छाप्नू,
खोजेर जहाँ जे छन्।’
भयो।
हामीले खाज्यौ, खाजायौं
अनि अलिकता रोजायौं,
ऐले यो संस्करणचाहिं
जस्ताको तस्तै बुझायौं।
भूपीलाई फेरि पनि
साझा प्रकाशनको घेरोमनि
अर्कै रुपमा
अर्कै रङ्गमा
उजिल्याउने हाम्रो धोको छ।
(त्यो गरिदिने उनीबाहेक अर्को को छ?
त्यसैले उजूरको पोको छ। )त्यसैले शुभकामनाको डोको छ–
भूपीले कलम नरोकून्,
शुभ्र, शान्त र स्निग्ध
मैनबत्तीको शिखालाई नछोपून्।

वि. सं. २०२६                            क. वी.

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
कविताहरु

मेरो चोक
मैनबत्तीको शिखा
सधैं–सधैं मेरो सपनामा
वसन्त
हामी
मेरो देश
मध्यान्ह दिन र चिसो निद्रा
गलत लाग्छ मलाई मेरो देशको इतिहास
घुम्ने मेचमाथि अन्धो मान्छे
घण्टाघर
घैंटोभित्र वटवृक्ष
मेरा विगत सपनाहरु
ए जून!
शहीदहरुको सम्झनामा
पोखरा
हो–चि–मिन्हलाई चिठी
यो हल्लै–हल्ल्ााको देश हो
ज्वरमुक्त आकाश र तृप्त ताल
मर्दैछ हामीमा हामी बाँचेको युग
साँझको नयाँ सडक जिन्दगीको जात्रा
नयाँ वर्ष
पहिरो जाने पहाडमुन्तिर
भैरहवा

मेरा साथीहरू
प्रात: एक आघात
असार
चिसो एष्ट्रे
जीवनको अँध्यारो सडकमा
भूपि शेरचन
तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति
एक कविता
दुई सेता कलिला हत्केलाको परेवा :
तिम्रो नमस्ते
अभिशप्त घर
रात काठमाडौं प्रातः
शीत–युद्धकालका बाँदरहरु
बेड–ल्याम्प
मानी नभएको जिन्गानी
रिक्त शय्याको स्थानबाट
मेरो जीवन लेकझैँ
हिंड्दा–हिंड्दै
दुई टुक्रा
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
असङ्ख्य राग छ,
अनन्त भोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ।
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ।
तर यहाँ यी दुवैथरी उदास छन्।
दुवैथरी निराश छन्।
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात–रात–भरि उपियाँले टोक्छ
दिन–दिन–भरि उपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन? सबथोक छ।

(२०१७–साहित्य)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको।
मानौ,
प्रथम रजस्वलापछि
स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैँ
चकित–चकित झैँ
एक्लै–एक्लै मुस्काइरहेको
हनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशूलाई निहालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
बगिरहेछ अश्रुधार।
मानौ यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको।
शुभ्र,शान्त र स्निग्ध
शिखा मैनवत्तीको।

(२०१६)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

सधैं–सधैं मेरो सपनामा

सधैं–सधैं मेरो सपनामा
असङ्ख्य युवती आमाहरु
मेरो अगाडि आउँछने
र बहुलाई झैं
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन―’
भन्ने गीत गाउँछन्
र मलाई देखाई–देखाईकन
सँुगुरका भद्दा गन्दा बच्च्ाहरुलाई झैँ
आफ्नो अतिशय दूधले गानिएको
स्तन चुसाएँछन्
अनि एक्कासि
छाति पिट्दै
कपाल लुछ्दै मसँग आफ्ना हराएका छोराहरु माग्न थाल्छन्
सधैं–सधैं मेरो सपनामा
असङ्ख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्ण तन वृद्धहरु
र विदीर्ण मन वृद्धाहरु
मेरो अगाडि आएर लम्पसार पर्छन्
र मसँग
आफ्नो अथाह भविष्यको सूत्र माग्छने
आफ्नो हराएको एक पुत्र माग्छन्
सधैं–सधैं मेरो सपनामा
असङ्ख्य युवती विधवाहरु मेरो अगाडि आएर
आफूलाई सम्पूर्ण रुपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेको
काला–काला डामहरु देखाउँछन्
र मसँग आफ्नो जीवनको सहारा माग्छन्
मसँग आफ्नो यात्राको किनारा माग्छने
सधैँ–सधैँ मेरो सपनामा
क्षयका कीटाणु बोकेका
हसङ्ख्य टुहरा केटा–केटीहरु
मेरो अगाडि आउँछन्
र मसँग स्कूलको फीस
पुस्तक किन्ने पैसा
क्रिकेटको बैट
र पिताको चुम्बन माग्छने
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात
यसरी नै सधैँ–सधैँ मेरो सपनामा
मलायाका असङ्ख्य–असङ्ख्य मानिसहरुको
आसुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठ्छ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लाशले घृणाले हेर्छ
आह, मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छं ।

(२०१६–शारदा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

वसन्त

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझैँ आउँछ हावा काठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रअरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थ्ानिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिंडिरहेछ आकाशमा
तुवँलो भुवाको खास्टो ओढेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु– यो कस्तो वसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो!
यो कस्तो मुर्दा शहर हो!
सडकका दुई किानरमा वसन्तको स्ववागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैँ
रङ्गीन झण्डाहरु हल्लाइरहेका फूलका सानासाना बोटहरु

म हेरिरहेछु
र साँचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैँ
येा कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ?
या हर्षमा मुस्कान
आफै, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो!
जता हेर्‍यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिरै बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
गर्‍हुङ्गो रातो फूल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो फूल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरकेा मुखमा झुण्डिएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दूस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो बसन्त!
खोइ मानिसहरुले चोला फेरेका?
खाई घरहरुले बोक्रो फेरेका?
खोइ?
खोइ?
खोइ?
म चिच्याउन चाहन्छु―खोइ?
तर खोइ मेरो आवाज किन निस्कन्न?
के भयो मेरो आवाजलाई
यो के हो डल्ल्ाो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटीखोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानौ
अब ममा कुनै उम्लाइ छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ,
पड्किसकेको सोडाको एक बोतल―
एउटा खाली बोतल?
(२०१७―रुपरेखा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

हामी

हामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौँ,
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौ
र बादल बन्छौँ,
हाबाको इसारामा यताउति दगुर्छौँ
र आफूलाई गतिशील भन्ठन्छौँ,
अनि एक चाृटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सर्न्छौँ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैँ
हामी भुक्तछौँ
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौँ
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचूर हुन्छौँ
र फेरि परिणत हुन्छौँ पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर विताउँछौँ बाँकी जीवन
टर्र टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
विष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौँ
जतिसुकै यताउति दगुरौ
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी भित्र–भित्रै खाक्रा छौँ
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै ल73य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टोको ‘छ्वाइय’ भन्दा बढी वजन छैन।

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्र निरन्तर खिइदै र घिस्सिदै गइरहेका छौँ
हाम्रो बाहिरको उचाइ झुटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउका उँचाइभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचामा रमेका छौँ, लट्ठिएका छौँ, फुलेका छौँ
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइदै र घिस्सिदै गइरहेको कुरालाई भुलेका छौँ
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौँ
हामीले आफ्नो विगत उँचाइलाई बिर्सिसक्यौँ
हामीले मानिसको सामान्य उँचाइलाई बिर्सिसक्यौँ
हामीले  सामान्य मानिसको उँचाइलाई बिर्सिसक्यौँ
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ‘गुलिभर’ झैँ
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौ
हामी उसलाई हेरेर छक्क पर्छौ
हामीलाई उसको उँचाइ देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स–साना हतियारहरुको उसमाथि
प्रहार गर्छौ
उसको अङ्ग–प्रत्यङ्गमा चढ्छौँ
उफ्ररन्छौँ
टोक्छौँ
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ
शान्त हुन्छौँ
समर्पित हुन्छौँ
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
त्क ओर्लैर त्यसको पाउ पखालेझैँ
हामी पुज्न थाल्दछौँ त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्रै निरन्लर खिईदै गइरहेका छौँ
हामी ‘लिलिपुट’का मानव हौँ।
हामी लघुमानव हौँ।

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपनैँ,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग–रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँ
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिु कम र बर्ता गोटी हौँ।

हामी वीर छौँ
तर बुद्धू छौँ
हामी बुद्धूछौँ
र त हामी वीर छौँ
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ
हामी महाभारतको कथामा वर्णित एकलव्य हौँ
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
हामीलाई ज्ञान दान गर्नबाट इन्कार गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउछौँ
आफ्नो झप्रो अगाडि,
त्यसलाई पुज्छौँ
ढोग्छौँ
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौँ
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौ
तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु–दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौँ,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौ
र मक्ख पर्छाै आफ्नो गुरुभक्ति माथि

आफ्नो आत्मशक्तिमाथि
त्यसैले त हामी वीर त छौँ
तर, बुद्धू छौँ
हामी बुद्धू छौँ
र त हामी वीर छौँ
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनाँै।

हामी पाइतला हौँ
कैबल पाइतला
र फगत पाइतला
पाइतला :  जसको भरमा शरीर उभिन्छ
पाइतला :  जसको आधारमा शरीर हिँड्छ
पाइतला :  जसको भरोसामा शरीर दगुर्छ
पाइतला :  तर जो भन्ठान्छ कि
शरीरलै कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाइई सँग्ा–सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधैँ शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ–सधैँ नतमस्तक रहन्छ
ेहामी पाइतला हौँ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इशारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौँ
केवल पाइताला
र फगत पाइताला।

हामी केही पनि ह्वैनौँ
र शायद त्यसैले केही ह्वौँ कि!
हामी कतै पनि, केही पनि छैनौँ
र शायद त्यसैले कतैै, केही छौँ कि!
हामी बाँचिरहेका छैनौँ
तर शायद त्यसैले पो बाँचेका छौँ कि!
त्यसैले आओ ए शून्य पूजकहरु!
हामी सब मिलेर पुजौँ यो शून्यतालाई
हामी सब मिलेर ढोगौँ यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई।
(२०१७–रुपरेखा)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मेरो देश

जहाँ
हिउँ परेको रातमा
जून, धरतीलाई भेट्न
हिमकणहरुको साथमा
मुस्कुराउँदै ओह्रलो झर्छ,
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा फर्कने गर्छ
जहाँ
आलुबखडाका हाँगा–हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरु
जहाँ
मृगमरीचिका पछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु
जहाँ मुटुको स्पन्दनझैँ उफ्री–उफ्री
खेल्छन् मृगशावकका हूल
जहाँ पहराबाट छहराले
खोलामा हाम्फाल्दछ
जहाँ– रातमा पनि हिमचुलीले
आँगनमा घाम पाल्दछ
जहाँ
प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ
जहाँ
स–साना नदीहरुमा पनि
तूफानी समुद्रको वेग हुन्छ
जहाँ
बटुवालाई  प्रत्येक झ्याङबाट
झ्याउँकीरीले गिज्याउने गर्छ,
प्रत्येक अँधेरी पँधेरोमा
जूनकीरीले ज्योति फिजाउने गर्छ
जहाँ शीतल हावामा बुई चढेर
कस्तूरीको सुगन्ध डुल्दछ
जहाँ
एकबाजि आएर
घर फर्कन वसन्त भुल्दछ
जहाँ
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पङ्खा हम्कन्छ
जहाँ
एक–अर्काको मुख हेरेर
नीलगिरि र धालागिरि चम्कन्छ
जहाँ
प्रत्येक रातमा आकाशले
मङ्गल–दीप सजाउँछ
जहाँ प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउँछ
जहाँ
हरिया–हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैँ ढाड सेकेको हुन्छ
म जति टाढा भए पनि त्यो मेरो देश
सधैँ मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ।
(२०१७–सङ्गम)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मध्यान्ह दिन र चिसो निद्रा

अखबारको ‘वन्टेड कालम’मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु–नयाँ बजृटको आश्वासन
रेडियो–घोषणासँग मागिरहेछु
सान्तवनाका दुई शव्द
नयाँ पे–स्केलले नापिरहेछु
म आफ्नो परिवारको आयु
प्रत्येक खाली सीटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैँ गन्हाउँछ,
आमाको ममतामा पनि
कसैले नैराश्य घोल्दछ,
बाबुको प्रोत्साहनमा पनि
चिसो सुस्केरा बोल्दछ
कुमारी बहिनीको स्यूदोसँग,
सिन्दूर झस्केझैँ लाग्छ
पत्नीले थालमा सधैँ–सधैँ
व्यङ्ग्य पस्केझैँ लाग्छ
एक युग बित्यो
म आफ्नो बिन्तिपत्रजस्तो अनुहार बोकेर
भटि्करहेछु दर–दर
पुगिरहृछे घर–घर
एक चिसो निद्राले मलाई
छोपिरहेछ निरन्तर,
मलाई थाहा छ
यसपल्ट म निदाएँ भने
फेरि कहिल्यै पनि म बिउँझन सक्तिनँ
त्यसैले
ए झुसिल्कीराझैँ लाम लागेकाहरु!
र्
नाराका अक्षरहरु!
अरु जोर–जोरसित नारा लगाऊ
उफ! म निदाउन चाहन्न यो दिउँसै
मलाई जगाऊ, मलाई जगाऊ।

(२०१७–रुपरेखा)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
गलत लाग्छ मलाई मेरो देशको इतिहास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोको बीचमा माटो खनेेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर
र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधैँ त्यही– सधैँ उस्तै र
सधैँ एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधैँ
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैँ नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
तब मलाई गरुँ–गरुँ झैँ लाग्छ
आफ्नै रगतको उपहास
ेजब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लिहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सूुन्छु :  अमरसिंह काँगडासम्म बढेको कुरा
सूुन्छु :  तेन्जिङले सगरमाथा चढेको कुरा
सूुन्छु :  बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सूुन्छु :  अर्निकाले  कलाले विश्व–मन हरेको कुरा
सूुन्छु :  सधैँ सुन्छु र केवल सुन्छु
तर मलाई
हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास।
(२०१७–चिराक)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
घुम्नेमेचमाथि अन्धो मान्छे

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर,
घाउहरु कोट्ट्याएर
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँसडक– असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ
किसिम–किसिमका पोशाकमा
ओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु्
फुलपारेको कुखुराझैँ कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ–ठाउँमा अन्भकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशकदेखि तर्सेर
अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ
र नपाएर विस्मृतिको लेथे नदी
रक्सीको गिलाँसमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनि र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलीबाट एउटा सूर्य उदाएँछ,
सधैँ रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ प बसेको पृथ्वी– पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदैखि,
दृश्यहरुदेखि,
रमाइलो देखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै।

(२०१८–रुपरेखा)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

घ48टाघर

कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोेरा–नाति
सँगी–साथीहरुमा बाँडेर
एक–एक गरी–
फौजका सब पुराना जर्सीहरु सिद्धिए।
तर जतनसाथ बचाई राखेको
फौजी जीवनका दुइटा प्रिय चिह्न
एउटा एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी
छातिमा झुन्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालमा लामा र दिक्दारे दिन बिताउने लाहुरेझैँ
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घ48टाघर।
(२०१८–रचना)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
घैंटोभित्र वटवृक्ष

साँघुरो घैंटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझैँ
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाए
आफ्नो वरिपरि निसास्ंिसदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच नाङ्गा औँलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ
र अब म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफूभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भएपनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैँ!

(२०१८–शारदा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मेरा विगतका सपनाहरु

भारी ट्रकमुनि थिचिएर
मर्‍यो एउटा कलिलो ठिटो
हत्केला खोलेर
उसको आयुरेखा लामो थियो
लामो थियो
लामो थियो
मेसा बिगतका असफल सपनाहरु जस्तै।

(२०१८–रुपरेखा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

ए जून!

मेरो जस्तै ए जून!
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रुन्छौ र तिम्रो आँसु शीत बन्छ
म रुन्छु र मेरो आँसु गीत बन्छ।
(२०१९–रुपरेखा)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

शहीदहस्को सम्झनमा

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फासीको माला गाँसी वीरले हास्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्ररन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गांसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा धडकन छ शहीदको
हाम्रा खुशीकाृ प्रत्येक पलमा जीवन छ शहीदको
पाउने थिएनौ खुशी तिनले छाडेर नगए
हामीले  आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए!
(२०१९–रचना)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
पोखरा

१.उपत्यका वरिपरिका डाँडा
म्यूजिकल चेयरका खेलाडी
सङ्गीतमा बाँधिएका
हिंनलाई तयार
बाजा बज्ने प्रतीक्षामा उभिहेका
२.कतै लुकेर
कतै फुुकेर
एउटा गहिरो डहरबाट एक्कासि निस्केर
बगिरहेछ सेती खोला
टेप–रिकर्डको फित्ता झैँ
एउटा मीठो धून सुसेलेर
३.माछापुच्छे्र
एक बिहान हेर्छ अनुहार फेवामा
र मिलाउँछ शिरमा
सेतो–कालो टोपी सक्कले ढाकाको
४.हनिमून मनाउन आएको गोरासाहेब
एक बाजि हेर्छ काउँ डाँडालाई
र हेर्छ विस्फरित नयनले
मीमसाहेवका उन्नत वक्षस्थललाई
अनि हल्लिन्छ छाया लालपातीको
‘मीम सा’ब’का मर्करी गलामा
५.हवाईजहाज आइरहेका छन्
हवाईजहाज गइरहेका छन्
हवाईजहाज आइरहेछन्
हनिमूनज मनाउने जोडाहरु बोकेर,
हवाईजहाज गइरहेछन्
‘ब्या’ को भोलिपल्टै
कच्छमा जान डाकिएका लाहुरेहरु बोकेर,
हवाईजहाज आइरहेछन्
माच्छापुच्छ्रे हेर्न आएका टुरिष्टहरु बोकेर,
हवाईजहाज गइरहेछन्
डोको, मदुस र हलो बोकेर,
चितौनमा जग्गा खोज्न जान लागेका
माछापुच्छ्रेका सन्तानहरु बोकेर,
जहाज आइरहेछन्
एअरपोर्टका चौतारोमाथि
एकनास
गाइहेछ एउटा अन्धा
‘चरीको आउदैन दूध
दुःखीको हँदैन घरबार।’

(२०२२)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
हो–चि–मिन्हलाई चिठी

आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रे हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा हिमाल मानेर ।
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाँझैं
बिस्तरी-बिस्तरी उठेर
मेरो अगाडी उभिरहेछ
तिम्रो बुढो र पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ – ‘लेते खोला’
तिमी जस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठुला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछी
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउंछन्
मेरो ‘लेते खोला’ !
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई ।
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बिचमा सिमरेखाहरुले
मलाई तिमीसंग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना छ
यो सबभन्दा माथि सच्चा जहाँ मुटुको ढुकढुकी छ
त्यहाँ मा तिमीसंग छु
र युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काईमा म बेघर भएको छु
तिम्रो प्रत्येक पूलको टुटाईमा म टुटेको छु
तिम्रो प्रत्येक गोल-गोल मंगोल अनुहार भएकी
आइमाइको बेईज्जतीमा
मैले आफ्नी पत्नी र दिदि-बहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध-बिहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भुको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धरहरामाथी परेको अनुभव गरेको छु
र बमवर्षाका रातहरु
मैले पनि जागरणका ट्रेन्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरी मुढाहरु दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
र तिम्रो सानो देशको ठुलो आत्माबाट
मैले आफ्नो सानो सानो आत्माभित्र
एउटा ठुलो ज्योति सल्केको पाएको छु
हनोइमाथी होइन, मान्छेमाथि बम हो,
र मैले तथा मजस्तै
सारा मानिसहरुले ती बमहरुलाई
आफूमाथि पड्केको भन्ठानेका छौं
मेरो कमरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन
जसरी डढेलोमा रुखहरु डढ्छन
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरी पलाउँछ
डढेलो पछी उम्रिने असंख्य च्याउहरुजस्तै
आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रेको छायामा उभिएर
प्रतिज्ञाजस्तो वारिपी दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामर्थ्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ ।

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
हल्लै हल्लाको देश

यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।

(२०२४-रूपरेखा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
ज्वरमुक्त सूर्य, जलनमुक्त आकाश र
तृप्त ताल

मैले पाएँ
नीलो निम्ता–पत्र
तिम्रा छालहरुको
र बादलु कछारलाई क्षितिजमा
झु48ड्याएर–मैले
हाम्फालेँ तिम्रो जलमाथि
डुबुल्की मारेँ तिम्रो
गहिर्‍याइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट गर्‍यौ तिमीले पनि
सम्पूर्ण मलाई आफूमा
आफूभित्र
कुहिरोहरु पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर
नाङ्गिर
कति सन्तुष्ट हाँसो छर्दैछ अब
मेरो ज्वरमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरुले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरुभित्र
तिम्रा चञ्चल माछाहरु
अब तिम्रो शीत जललाई उनीहरुले
छिचोल्दैनन्।
उठेर फर्किनुपरे अनि मैले आफ्नो
पूर्वस्थानमा अब म अशान्त हुन्न
असन्तुष्ट हुन्नँ,
कि म स्पष्ट देखिरहेछु
तिमी भित्र मेले कुँदेको
मेरो आफ्नो प्रतिविम्व
चलमलाई रहेको
मेरो आफ्नो छाया
सलबलाइरहेको।
(२०२४–रुपरेखा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मर्दैछ हामीमा हामी बाँचेको युग

बाँधका मुहान
अनि खोला नाला र तालका कुरहरुमा
थापेजस्तै माछा समाउने पोडेहरुले डोका र जालहरु
यो युग जसमा बाबुहरुले
भोगपछिको जिम्मेदारीसँग बाँच्न
थाप्छन
गर्भाशयतिर लम्केका आफ्नै सम्भावित सन्तान
शुक्रकीटहरुलाई नष्ट गर्ने पासोहरु
र आमाहरु
आफ्नै आनन्दलाई चिन्तामुक्त गर्छन्
गर्भाशयको ढोकामा
आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई
निषेध गर्ने पालेहरु उभ्याएर
यो युगमा जसमा
भाग्यवश
संयोगवश
पाएभने कसैले प्रवेश गर्भाशयभित्र
तीमध्ये पनि कैयन् नष्ट गरिन्छन्
आफ्नै आमा–बाबुद्वारा खटाइएका
जिउँदो वा मुर्दा समाउने आदेश पाएका
यमदूतमरुद्वारा
यस युगमा
यस्तो युगमा जन्मेका छौं हामी
जन्मिनुअगावै मृत्युको त्रास बोकेर
हत्याको सुईको पाएर
आएका छौँ हामी यस पृथ्वीमा
आफ्नै निर्माताहरुको इच्छाविरुद्ध
उनीहरुको षड्यन्त्रलाई तोडेर
पहिलो पटक
नीलो चहकिलो आकाशमुनि पहिलो पटक
हरियो भरियो पृथ्वीमाथि पहिलो पटक
पहिलो
पहिलो
र पहिलो पटक
खोल्यौँ पनि त हामीले आँखा यस धरतीमा
पोलिनलाई ठीक भइसकेका
नाजी ग्याँसच्यम्बरका कैदीहरुले मूर्छा परेर
अन्तिम घडीमा मुक्तिपाएर आँखा खोलेजस्तै
आफूलाई मृत
र आँखाअगाडिको संसारलाई
मृत्युपछिको अर्कै लोक भन्ठानेर
त्यसैले हामी बाँचिरहेका छौँ
बाँच्नुप्रति चिसो र शङ्कालु भएर
र हामी हुर्किरहेका छौँ त्यस युगमा
जुन युगमा
हामीभित्र
हामी सँग–सँगै
हर्किरहेको छ एउटा तीव्र अनास्था
स्वयं यस युगप्रति नै
यस युगको अस्तित्वप्रति नै।
(२०२४–रुपरेखा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

साँझको नयाँ सडक जिन्दगीको यात्रा

बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिभलेस् ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ, गल्लीका
काखीका रौँजस्ता झ्वास्स उम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउन, मिस् नाइलन र सुश्री टेरेलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिह्नहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’मा मग्न हिप्पीकुमारको अंगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिंड्छे
नयाँ सडकका तमाम आँखाहरुलाई
आफ्नो नाइटोमा खोपाएर
र वरिपरि उभिएका पीपलको बोटमा धर्मपुत्रहरु
भित्र–भित्रै करुवा भइदिन्छन्
चौतारीवरिपरि उमि्रन्छन्
प. स. क. को डे्रनेजले मिल्काएका फोहोरहरु
र कमलपित्ते आँखाले आउँदो भोलीलाई हेर्दछन्
अखबारका खापाहरु उघारेर।
एउटी माग्ने आइमाईले न्यूज सेन्टरअगाडि उभिएको
सूटेड टाटकुमार नेपाली रित्तो खल्तीको एक्सरे गरिदिन्छे
पाँच पैसा मागेर
र टाटकुमार नेपाली
काठमाडौंको आकाशमा गालीको बेलून उडाएर
भाग्योदय चिट्ठातिर हेरेर आफूलाई थकिदिन्छ।

नयाँ सडकमाथि
बोकेर
उभिनुको कुनै अर्थ पाउँदिनँ
र घरबार शब्दलाई एउटा अर्थ दिन
(दिउसो घर र राति बार आवाद गरेर)
लेटेष्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर घोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु
वरिपरिका भीडहरुतिर भैरहवा सुगर मिलको हाँसो फालेर
शहीदद्वारतिर पुगेर म अडिन पुग्छु
र अन्तिम खिल्ली चारमिनारको सल्काएर
म रित्तो बट्टाभित्र काठमाडौंको
रिक्तता हालेर मिल्काइदिन्छु
र एक टक शहीदद्वारलाई हेरेर शहीदद्वारतिर
एउटा मौन प्रश्न फाल्छु
शहीदद्वार मलाई हेरेर फिस्स हाँस्छ
र कुहिरोभित्र हराउँछ।
(२०२५–मधुपर्क)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
नयाँ वर्ष

नयाँ सरुवा भई आएको हुलाकेझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्……….ट्वाक्……….ट्वाक्……….ट्वाक्……
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो
अनुहार पारेर
बेमौसमको बर्षत
बेला–कुबेलाको बादलको गड्याङ–गुडुङ
आकाशलाई पखालो लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ,
सहनाईको बेसुरा धुनिबाट निस्किरहेका छने
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्याह्न दिन
चर्को घाम
सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचाटि
भित्ताको नयाँ क्यलेण्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एकचोटि
सँगी सागीहरुको सूची बनाउनु छ
फेरी एकचोटी
भयानक बमहरु बोकेर, एडिरहेको हवाईजहाज
र रकेटहरुमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र।

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

पहिरो जाने पहाडमुन्तिर

अनिश्चित भविष्यका आशङ्कामय पीडा
खप्न नसकी
‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात
जन्माउछिन् लंगडा, लुला्क कुच्चिएका बिहानहरु
जब बिउँझन्छु म
छिप्पिन आँटेको जाँडको घैंटोजस्तो
उत्तेजित टाउको उचालेर
अनि हेर्दैछु– ताजा अखबार :
चील र गिद्ध उडिरहेको आकाश
सिनुको गन्ध बोकेका
म गाड्छु दाँत टोष्टमाथि
र मिल्काउँछु एक टुक्रा दैलोको घामतिर
अनि घाम फैलिन्छ चाउरेको विश्वमाथि
बासी टोष्टमाथि पग्लिएको नौनीझै
यसरी सुरु हुन्छ एउटा नयाँ दिन
यसरी सुरु हुन्छ अर्को नयाँ दिन
अर्को….अर्को…….र नयाँ दिन
हतार–हतार आउने र जाने
जुवाडीको खल्तीका नोटजस्ता चाउरिएका
असङ्ख्य नयाँ दिनहरु
घुमिरहेछ पृथ्वी
आफ्नो धुरीमा, निरन्तर
तर ‘रुलेट’–को चक्काझैँ
जहाँ प्रत्येक व्यत्ति टन्न छ उत्तेजनाले
बेग्लाबेग्लै बाजीमा थापिएका सिक्काझैँ
आकाश त्यही छ पुरानो
तर अब त्यहाँ
चुच्चोमा खर च्यापेर गँुड बनाउन लम्केका
गौँथलीको साटोमा
उड्दछन् पचासौ मेगाटन बोकेका रकेटहरु
क्षितिज तिनै छन् घाम बोकेका रकेटहरु
क्षितिज तिनै छन् घाम उदाउने र अस्ताउने
तर त्यहाँ अब थकित सूर्य पल्टन्छ
अन्तरमहाद्वीपीय क्षेप्यास्त्रको सिरानी हालेर
यो के भयो एक्कासि मेरो विश्वलाई?
यो के भयो विश्वको ‘म’–लाई?
किन सक्तिन म ‘स्कान अन द राक्स’मा
जलविहार गरेर आफ्नो जलनलाई मेट्न?
किन सक्तिनँ म आफ्ना कोमल भावनाहरुलाई कुल्चन
‘लोलिटा’लाई जस्तै217
किन सक्तिनँ म डुब्न,
‘विथोवन’ र ‘मोजार्ट’को सिम्फनीमा
किन ट्रम्पेट र क्यारोनेटको मुख
हेर्दाहेर्दै परिवर्तित हुन्छन्
तोप र बन्दूकहरुको नालमा?
आहा! मलाई थाहा छ शान्ति कहाँ छ
शान्ति हेर उः त्यहाँ मेडासिङको चौबाटोमा छ
तर किन म शान्त हुन सक्तिनँ
त्यहाँ सांढे जुझाइको माझमा
घाँटीको दाह्रीमा उस्तरा चलाउन दिइरहेको मान्छेजस्तै!
मेरो निम्ति त शान्ति
जँड्याहा जन्डो मान्छेको स्वास्नीको गर्भमा छ
आहा! कति क्षीण छ मेरो आशा,
हाम्रो आशा
एउटा कलिलो हँसिलो संसारको न्वारान गर्ने।
(पोखरा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

भैरहवा

टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ
न कतै विनम्रताले झिकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,
मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोर झैं
यताउता जथाभावी बेढङ्ग उठेका,
मानिस
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिसहरू कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखाताका जिल्ला अझै राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पहेलिन्छन्
सन्ध्याकालीन क्षितिज झैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाताको सिरानीमा ?शुभलाभ? लेखिए झैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न त भित्ता छन्
न खापा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न कतै मनोहर द्रश्य देखिन्छ
सुनिन्छ त फगत
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ?’अच्छा यार’
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-‘भै’
तावाको छुटेर जलेको रोटीको ?’र’
गालीजस्तो नरमाइलो तातो
हावाको-‘हवा’।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं


म एक पुत्र
एक पति
र एक पिता हुँ


एक न्वारान
एक विवाह
र एक चिता हुँ


म एक होटल
एक बोतल
र एक प्याला हुँ


म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ


म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ


म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ


म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ


म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ


म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ

१०
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ

११
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ

१२
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
मेरा साथीहरू

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर, जिउन झन् गाह्रो छ !
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

प्रात: एक आघात

प्रत्येक दिन
चोरझैं सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
व्यूझन्छु म किरणहरूको स्पर्शले
देख्छु प्राचीका नियमित रूपमा माझिएका
सेतासेता उज्जवल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आह! सकिंदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

असार

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

चिसो एष्ट्रे

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
जीवनको अँध्यारो सडकमा

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ ।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
भूपि शेरचन

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि’ शेरचन !!
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति

जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रवडका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै
अरुको हा…हा…….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खालि बन्दै!)
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु!
ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बुढीहरु!
ती वितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो!
ती मरेका प्रेमीहरुको कोसेेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो!
खूपै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्एिको गन्ध तिम्रो आफन्तहरुको लाशको!
(पोखरा)

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
एक कविता

‘भोक लाग्यो’ ठिटोप्रति
न गँासको प्रबनध
न बासको ठोगाना
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै
सधैँ असङ्ख्य पाउमुनि कुल्चिएर

कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिशिचत भष्यिको अन्तरिक्षमा
विना कुनै स्पेस सूट!
‘अक्सिजन मास्क’
र सुरक्षित सञ्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
झुत्रो प्यारासुट ओढेर

यो शिशु
जन्मियो यिशूजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर

पुसको जाडो
रौँ ठाडो हुने रात
उदास, उजाड, फटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुराना अखबार ओढेर
अखबार
ः जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’को समाचार
मन्त्रीज्यूबाट उद्घाटन,
मिठाइ र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चिन्त भई सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुन्ड्याइनेछन्– म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’को नेपालमा
दुई थरीका मानिस थिए
एक थरी
जो अखबारमाथि पलटन्थे
हेडलाइनको सिरानी हालेर
महत्त्वपूर्र्ण खबर बनेर,
अर्को थरी
जो त्यही खबरको न्यानो
पुस–माघको जाडो काट्थे बेखबर भएर
…….उहिले–उहिलेको नेपाल
एउटा वासी अखबारजस्तो थियो।

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

दुई सेता कलिला हत्केलाको परेवा :
तिम्रो नमस्ते

कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते
दिनभर
मेरा आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिँजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो कैशोर्यको गुलाफी रङ्ग छरिरहन्छ
रातभरि
मेरो निद्राको दलिनभरि
तिम्रा सप्तरङ्गी चुराहरुको बुट्टा जडिरहन्छ
र सधैँभरि
सधैँ–सधैँ सधैँभरिको निम्ति
मेरो मुटुभरि
मेरो परेलाभरि
मेरो ढुकढुकीभरि
तिम्रो एकलासपनाको अस्फुट प्रार्थना।
खित्काहरु भरिरहन्छ।
दुई सेता कलिला हत्केलाको परेवा :
तिम्रो नमस्ते।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

अभिशप्त घर

जब–जब बायाँ र दायाँ पट्टिका छिमेकीहरुले
एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन्
यस घरको छानामा घाम ताप्न बसेकी बूढीको चश्मा र
कौसीमा रमिता हेरिरहेकी दुलहीका चुराहरु फुट्छन्,
आधारातमा जब छिमकीहरुले आपस्तमा
जहाँबाट जे पायो त्यसैले कुटाकुट गर्छन्
भोलिपल्ट विउँझेर यस घरको बातको रोगी वूढाले
आफ्नो लौरी भाँचिएको पाउँछ।
यस्तो छ अभिशप्त घर
डढेलोको बीचमा उम्रेको खरजस्तो छ यो घर।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

रात
काठमाडौं
प्रातः

बाग्मतीपारि स्याल,
र वारि कुकुरहरु करउँदा
सशङि्कत माथी कुखुराझैं
घिच्रो तन्काएर
हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराके टुप्पोनिर पुग्छ,
गल्लीहरुका नसाभित्र रगत
कालो हुँदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्पः नयाँ सडक
सल्बलायँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट –बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुका
र हाँस्न थाल्छन् उन्मुक्त झ्याल र ढोकाहरु।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

शीत–युद्धकालका बाँदरहरु

हातमा फोहर लागेका
बाँदर सदा र सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा ऊ
दुर्गन्धले निसासिन्छ
गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर
बचाउने चेष्टा गर्छ
घृणित स्पर्शबाट आफ्नै हातको
अनि सफलताको चीत्कार बोकेर
ऊ वन–वन दगुर्छ
रुख, ढुङ्गा आदिमा हात पुस्छ
खोला–नालाको पानीमा हात चोपेर
ऊ मुक्त हुन खोज्छ दुर्गन्धबाट
त।्क प्रत्येक प्रयासपछि
हात सुँघ्दा दुर्गन्ध
झने बढेको पाउँछ
अनि बहुुलनझैँ
रुख हाँगाहरुका सारा
फलफूलहरु झार्दै
सुगन्ध र स्वादलाई मेटेर
कम गर्न खोज्छ आफ्नो
दुर्गन्धको प्रभावलाई
र अन्तमा निराश भएर
कुनै ठाउँमा बसेर ऊ बर्बरतापूर्वक
घोट्न थाल्छ आफ्नो हात खस्रो
ढुङ्गामाथि
उसले ढुङ्गामा हात घोट्छ र सुँघ्छ
उसले आफ्नो हात सँुघ्छ र घोट्न
थाल्छ र घोटि नै रहन्छ
तबसम्म
जबसम्म कि उसको हात वेकम्मा हँुदैन
शङ्कालु बाँदरको जब एकचोटि
हात गन्हाउँछ
उसले बगैँचालाई उजाड
र आफ्नो हातलाई लुला बनाउँछ।
(रुपरेखा)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

बेड–ल्याम्प

भोरको उज्यालोमा उसलाई निभाएर
सधैँ–सधैँ म घरबाट निस्कन्छु
र दिन–दिनभरि
सूर्यसरि
यस क्षितिजबाट त्यस क्षितिजमा
भट्किरहन्छु
मानिसहरुको बीचमा
अनि जब रातमा घर फर्कन्छु
ऊ त्यहीं त्यसरी नै
निभेर झोक्रिएर बसेको हुन्छ
जाग्छ मनको कुनै कुनामा
एक अव्यक्त माया
र हठात् म उसलाई स्पर्श गर्न पुग्छु
ऊ खुशीले धप्प बल्छ
ऊ मेरो कोेठाकाृ ‘बृड–ल्याम्प!’
ऊ मेरी ‘धर्मपत्नी’!
(‘आधुनिक नेपाली कविता’बाट)
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मानी नभएको जिन्गानी

आउँछन् जब किरण भोरका
झ्यालभित्र ज्वरको रापझैँ
उठ्छु चूपचाप ओछ्यानबाट
घाममा सुकाएको गीलो कपडाको बाफझैँ
हराउछु दिन–दिनभरि घरबाहिर
रक्सी पिएर बिर्सेको पापझैँ
रातको साथमा घर फर्कन्छुु
नशा उत्रेपछिको पश्चात्तापझैँ
आह! यसरी बितिरहेछ जीवन
सन्निपातको रोगीको प्रलापझैँ।

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
रिक्त शय्याको स्थानबाट

शय्याको भर्खर रिक्त भएको स्थानबाट
उठिरहेछ तातो बाफ
ठ्वाक…ठ्वाक…ठ्वाक
ठक…ठक..ठक्क
तल भर्‍याङमा सुनिन्छ
टाढा गइरहेको
ेक्रमशः क्षीण भइरहेको
कसैको परिचित
तर असन्तुलित पदचाप
एकछिनको निम्ति वातावरण बेहोश हुन्छ
पुनः सुनिन्छ कोर्राको फटकार
बग्गीको खड–खड, घोडाको चीत्कार
बाटोको ढुङ्गा र माटोको सम्मिलित हाहाकार
म भने शय्यामा पल्टिरहेर
निस्पन्द, निश्चल, चूपचाप
सोचिरहेेछु मैले
एकैछिन पैले
के गरे–प्रणय कि पाप!
पुनः सोच्छु–यो म के सोचिरहेछु
के यो मेरो सोचाइ मात्र? जिज्ञासा मात्र?
कि मेरो अन्तस्ले मसित लुकाएको पश्चात्ताप?
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

मेरो जीवन लेकझैँ

मेरो जीवन लेकझैैँ बिरानो थियो
मेरो दुनियाँ
मुर्दा मोल्ने बगरझैँ सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालोझैँ एक्लो थिएँ
तर एक–दिन
तिमी मेरो जीवनमा भैँचालोझैँ अकस्मात् आर्या
तिमीलृ मसित प्र्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफनो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत पायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैँ
वृद्ध शरीरभित्र प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैँ
भोरको प्रतीक्षामा बाँचेको रातझैँ
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्ार मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतीक्षा गरें
तिमी भने
कुनै अप्ररिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैँ
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशको
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझैँ
तिमीलाई पर्खिरहेछु
किनकि आज म भित्र–भित्रै
हिमशिलाझैँ चर्किरहेछु।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
हिंड्दा–हिंड्दै

हिंड्दा–हिंड्दै केही सम्झेर
बटुवा बाटोमा हाँसेझैँ
किसानको हृदय अन्न बनेर
खेतको माटोमा हाँसेझैँ
तिमी हाँस्ता यस्तो लाग्छ प्रिये!
तिमी मेरो साटोमा हाँसेझैँ।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं

दुई टुक्रा

१.जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्ती
कुन्नि के छ तिमीमा, जो अरुमा छैन
कि तिमीलाई जति पाए पनि थोरैजस्ती

२.एकलास तिम्रो बाटोमा रमाइलो साथ दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सत्तिनँ म
बर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउँदी कली! वर्षाद दिन सत्तिनँ म।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता सङ्ग्रह and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *