नेपाली उपन्यास : अनौठो प्रेमकथा

~प्रदीप नेपाल~Pradeep Nepal

अनौठो प्रेमकथा | नेपाली उपन्यास | प्रदीप नेपाल


समर्पण,
अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा

लेखकको भनाइ

प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा उपन्यासहरू नै बजारमा बाक्लरी छरिएका थिए। जनताको दुःखसुखको जीवनसँग जोडिएका कथाहरू विशाल महासागरमा कताकति देखिने टापुहरू जस्ता मात्र लाग्थे। म हिन्दी पनि पढ्थेँ त्यतिबेला। हिन्दीमा प्रख्यात मानिएका उपन्यासकार गुलसन नन्दाका प्रेम कहानीहरूले तर मलाई कहिल्यै छोएनन्। नेपाली उपन्यासकार युधीर थापाका प्रेममय उपन्यासलाई पनि मैले कलेजमै छोडेर हिँडेको थिएँ। त्यतिबेलै विदा दिइएका प्रेमकथाहरू फेरि मेरो जीवनमा भित्रिनै पाएनन्। राजनीतिमा बेस्सरी हेलिएको हुनाले शायद प्रेम पनि मेरा लागि राजनीतिको पेचकिला नै हुनपुग्यो होला। यद्यपि यही नै एकमात्र कारण हो भन्ने निष्कर्ष अहिले नै निकाल्नु उचित नहोला।किनभने क्रान्तिकारी भैरहँदा पनि मैले शरतचन्द्र चटर्जीका बाङ्ला प्रेम कहानीहरू पढेको छु। शरतचन्द्रको चर्चित प्रेम उपन्यास देवदास मैले स्कूले जीवनमै पढेको थिएँ। शरतचन्द्रलाई कुनै पनि प्रगतिवादी साहित्यकारले मन पराएको थाहा पाएको छैन मैले। तर तिनी मेरा आख्यान गुरूहरू मध्यका एकजना हुन्। मैले तिनका सबै उपन्यासहरू पढेको छु र श्रीकान्त उपन्यास दोहोर्‍याएरै पढेको छु। उनका उपन्यासहरूको प्रेमचर्चा सम्पूर्ण मानवीय संवेदनामा उनिएको हुन्छ। उनको उच्च सम्प्रेषण पढिसकेको हुनाले पनि हुनसक्छ नेपालीमा लेखिएका प्रेम कहानीहरू पढिरहने धैर्यता मभित्र उमि्रन सकेन। यसो भनेर मैले नेपाली साहित्यका बारेमा अन्यथा टिप्पणी गरेको नठानियोस्। मैले साहित्यकारकै हिसाबले सत्य बोलेको हुँ। नेपाली प्रेम कथाहरूले किन त्यो उचाइ लिन नसकेका हुन् मैले जान्न सकिन। आफ्नो क्षेत्र नभएको हुनाले त्यसप्रति मैले गहिरो जानकारी राख्नुपर्छ भन्ने पनि मलाई लागेन। तर जीवन प्रेममय हुनुपर्छ भन्ने हो भने प्रेमको साहित्यचर्चा पनि हुनैपर्छ। फ्योदोर दोस्तोएभ्स्की
अथवा एन्तोन चेखवका प्रेमकथाहरू सुन्दर लाग्छन् पढ्न र सुन्न समेत। हामीसित किन छैनन् प्रेम गाथाहरू  ! अहँ थाहा छैन मलाई।

प्रेम कथाहरूमा मैले धेरै पहिले पढेको, मन पराएको र अहिलेसम्म आफ्नो मानसमा जीवित रहेको कथा हो, नेपाली साहित्यका अग्रज र जीवनोपयगी कथाका सिद्धहस्त आख्यानकार रमेश विकलद्वारा लिखित “फुटपाथ मिनिस्टर्स”। प्रेम, करूणा र गरीवीको त्यति सुन्दर चित्रण मैले फेरि पढ्न पाएको छैन। जनताको दुःखसुखसँग जोडिएर जन्मिएको त्यो प्रेमकथाको उचाइलाई छुनसक्ने अरू कथा छन् कि छैनन् म भन्न सक्दिन। स्वयम् कथाकार रमेश विकलले त्यसपछि त्यो उचाइ छुने कथा लेख्नुभएको छैन अथवा मैले पढ्न पाएको छैन। कथा लेखनमा म रमेश विकलको असल शिष्य हुन चाहन्छु। तर फुटपाथ मिनिस्टर्सका कलिला पात्रहरूको प्रेम, द्वेष र करूणालाई पछ्याउन सक्ने कथा खै कहिले लेख्न सकुँला र म! र पनि एउटा प्रेम कथालाई मैले उनेकोछु यतिबेला। प्रेमरसको यसमा अभाव होला। आफ्नो कमजोरीलाई म बेलैमा स्वीकार्दछु। तर जीवनसँग जोडिएको प्रेमलाई सबै प्रगतिशील श्रष्टाहरूले उच्च महत्व दिनुपर्छ भन्ने आफ्नो आग्रह पनि म सबैसामू पस्किन चाहन्छु।

मलाई कथा लेख्न सिकाउने र सकेसम्म कथामा लागिरहन प्रेरित गरिरहने रमेश विकललाई म दाजु भन्छु। पैँतीस वर्ष अघि घनिष्ट सान्निध्य पनि पाएको थिएँ मैले। उहाँकै प्रत्यक्ष शिक्षामा मैले एकाध व्यक्ति व्यक्तिको जीवनी पनि लेखेको थिएँ। तर मैले उहाँसँगको सम्बन्धलाई आफूसँग सिधै गाँस्न सकेको थिइन। यही गाँठोका लागि मैले प्रस्तुत उपन्यासिकाको भूमिका लेखी दिनुहुन अनुरोध गरेँ। उहाँको स्वास्थ्य साह्रै राम्रो छैन, उमेरले पनि गाल्दै लगेको छ। उहाँ आफ्नै सिर्जनाहरूलाई सक्याउन हतार गरिरहनु भएको छ।

तथापि मैले रमेश विकललाई मेरो पुस्तकमा छापेरै छोड्छु भन्ने अठोट गरेँ। फेरि पनि कथाकार रमेश विकलले आफ्नो सानो भाइलाई सघाइदिनु भयो। मैले यो सानो उपन्यासको शीर्षक राखेको थिएँ “अनौठो प्रेम कहानी”। अहिले यो भएको छ “अनौठो प्रेम कथा”। नेपालीपनको सुन्दरता थप्ने यो शीर्षकका बारेमा पाठकले स्वयम् रमेश विकलको भूमिकामा जानकारी राख्नु हुनेछ। आफ्नो ब्यस्त समयलाई एकछिन छेउमा थन्क्याएर दाजु रमेश विकलले लेखिदिनु भएको उर्जावर्धक भूमिकाका लागि आभार प्रकट गर्दछु।

प्रदीप नेपाल
साउन २८, ०६३

ΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞ

साँच्चै अनौठो प्रेम कथा
–रमेश विकल

केही दिन अगाडि एउटा ‘उपन्यासिका’ को पाण्डुलिपि (यसलाई पाण्डुलिपि पनि भन्न नमिल्ला, किनभने यो कम्प्युटर टङ्कणलिपिका रूपमा छ) पढेँ – “अनौठो प्रेम कहानी” प्रदीप नेपाल लिखित। प्रदीप नेपाल आज एक सफल राजनीतिकर्मीका रूपमा उभरिएर देखा परेको छ। त्यसैले उसलाई मूलतः एउटा राजनीतिकर्मीकै रूपमा (नेतृत्व तहमै पुगेको) चिन्ने गर्छन् मानिसहरू।

तर उसको अर्को एउटा पहिचान पनि छ – कथाकार–उपन्यासकारको। यसरूपमा उसलाई चिन्ने धेरै नै होलान्, र छन्। एउटा उल्लेख्य संख्यामा उसलाई साहित्यकार (कथाकार–उपन्यासकार) का रूपमा चिन्ने र पढ्ने पाठककको वर्ग छ। हो, कतिपयले उसलाई प्रदीप नेपाल साहित्यकारका रूपमा नजानेर (त्यसो त राजनीतिक लेखकका रूपमा त धेरैले जान्दछन् नै) अर्कै नाउँबाट जान्लान् – कथाकार–उपन्यासकार सञ्जय थापा।

हो, उसको साहित्यिक अभियान सञ्जय थापाको नाउँबाट शुरू भएको प्रतीत हुन्छ। मलाई के थाहा छ भने सञ्जय थापाको नाउँबाट लेख्नु उसको वाध्यता थियो (शायद पार्टी भूमिगत हुँदाको वाध्यता)। तर उसको साहित्ययात्रा उसको किशोर अवस्थादेखि नै एउटा पाठक र लेखककै रूपमा शुरू भयो। किनभने उसलाई आज मात्र होइन, धेरै अघिदेखि – २०३६ साल भन्दा अगाडिदेखि नै एउटा प्रतिभाशाली नवयुवाका रूपमा धेरै नजिकबाट चिन्दछु।

म त्यतिखेर शिक्षा विभाग अन्तरगतकै एउटा प्रमुख संस्थामा कार्यरत हुँदा उ पनि त्यससँग सम्वन्धित थियो र हामी सँगै काम गर्थ्यौं। एक त त्यो संस्था नै साहित्य र शिक्षासँग सम्वन्धित हुनाले त्यहाँको वातावरण नै शैक्षिक, साहित्यिक थियो दोस्रो, प्रदीप पनि त्यस्तै परिवेश (सत्सङ्ग) बाटै आएको हुँदा उसको साहित्यप्रति सामान्य भन्दा बढी रूची देखिन्थ्यो। त्यसैले ऊ आफ्नो व्यवसायिक (कार्यालयीय) कामबाट फुर्सत पायो कि (निकालेरै पनि) केही न केही कोर्ने गर्थ्यो। उसले त्यसरी नवशिकारूका रूपमा कोरेको केही रचनाहरू मैले पनि हेर्ने मौका पाउँथे।

त्यही प्रदीप नेपाल सञ्जय थापाका रूपमा पल्लवित र स्थापित हुँदै आज राजनेतृत्वको अति व्यस्त र जटिल पेसाबाट पनि समय निकालेर साहित्यसाधनामा रमाउन रूची राखेको देख्ता मलाई आनन्द आउँछ।

र म त्यत्तिकै कल्पना गर्न थाल्छु – यो केटाले बाँझो राजनीतिको मैदानमा नहाम्फालेर साहित्यकै रमणीय
बगैँचामा, मालीका रूपमा साधना गर्दो हो त आज नेपाली साहित्यले कति सुन्दर सुन्दर, कृति अनमोल अनमोल साहित्य सुमन फुलाउँदो हो, साहित्यको फूलबारीलाई कति सजाएर चम्काउँदो हो, कतिलाई आनन्द दिँदो हो!

तर यो सम्भव हँदु ैन। सबैले साहित्य बगँैचाको माली बनेर राजनीतिक जङ्गलतिर नहेर्ने हो भने त्यो फाँट त त्यसै आजको भन्दा पनि कुरूप झाडी बन्न सक्थ्यो, घोर अरण्य पनि बन्न सक्थ्यो। त्यसैले त्यसलाई समाल्ने – त्यो खेती (राजनीतिक खेती) लाई स्याहारसुसार गर्ने, गोडमेल र मलजल गरेर उर्वरा धर्ति तुल्याउन कोही न कोहीले कम्मर कस्नै पर्थ्यो। तर त्यो चाहिँ स्वःका लागि नभएर समग्र जनवर्ग, राष्ट्र र देशप्रति समर्पित हुनुपर्ने – यो ब्रतको पालनाचाहिँ पहिलो प्रतिबद्धता, पहिलो सङकल्प हुन पर्ने र त्यसलाई पालना गर्ने इमानदारी हुनुपर्ने प्रमुख शर्त हो। त्यो कुराको चाहिँ अहिले न्यूनता खड्किएको छ। त आज त्यही राजनीतिको उद्यानको फोहरमैला सफा गर्न भनेर तम्सेको एकजना प्रतिबद्ध नेताको कलमबाट यो उपन्यासिका ‘अनौठो प्रेम कहानी’ (शीर्षक ‘कहानी’ को सट्टा ‘कथा’ भैदिएको भए बढी नेपाली हुँदो हो) को कोशेली लिएर आफ्ना पाठक समक्ष आएको छ। प्रथम त यसको शीर्षक नै आकर्षक र कौतुहल जगाउने खालको बनेको छ। ‘… कस्तो अनौठो प्रेम कथा हो त यो? …’

सामान्यतया हामी साहित्यमा, सिनेमामा अनगिन्ती प्रेम प्रसङ्गहरू पढदै, हेर्दै आएका छाँै। ती कथाहरूमा एकजना नायक हुन्छ, एउटी नायिका। (अझ अधिकांश सिनेमा र कथाकृतिहरूमा त खलनायक (भिलेन) पनि हुन्छ। नायक पुरूष र नायिका स्वतः नारी हुन्छे र ‘प्रेम’ भन्ने बित्तिकै हाम्रो मानसिकताले तुरून्तै पुरूष र नारी बीचको यौनजन्य ‘प्रेम’ भन्ने कुरालाई पक्डिइहाल्छ। हाम्रो कुसंस्कारयुक्त मनले ‘प्रेम’ शब्द अति पवित्र हुन्छ र यसको रूप, दाजुबहिनी, दिदीभाइ, आमाछोरा, बाबुछोरा, साथीसाथी बीचमा पनि फूलेको हुन्छ र त्यो फूल जत्तिकै पवित्र र सुन्दर हुन्छ भन्ने कुरालाई ग्रहण गर्नै सक्तैन – सकिरहेको छैन। (हो, नवपुस्तामा भने त्यो नयाँ धारणाले सनै सनै ग्राह्यता पाउँदै आएको, तर रूढीगत संस्कारको अवशेष अझै पूर्ण पुछिइनसकेको परिप्रेक्षमा यो अझै संशयकै स्तरमा, धरमरकै बिन्दुमा अड्किएको छ।) पुरानो संस्कार अनुसार प्रेमकथामा नायक नायिका बीचको प्रेमप्रसङ्ग नितान्त नारीपुरूषको यौनजन्य आकर्षण (फ्रायडवादी चिन्तनजन्य) मा नै रूमलिन्छ। त्यसमा मुख्य वियोगका आँसु अथवा मिलन (योग) का हाँसोले नै ओतप्रोत हुन्छ अन्त्यसम्म। (खलनायक समेत रहेको प्रेमकथाको संयोगान्त र वियोगान्तमा चाहिँ त्यसको कारणीमा त्यही खलनायकले दुष्ट भूमिका खेल्छ। कथा त्यो त्रिकोणात्मक भएर आदिदेखि अन्त हुन्छ।)

त्यस्तो आख्यान परिपाटीलाई आत्मसात गर्दै हुर्केका पाठक समाज माझ प्रदीपको प्रस्तुत ‘अनौठो प्रेमकथा’ ले साँच्चै अनौठो नै प्रभाव छोड्छ। किनभने यस आख्यानका नायक ‘प्रिय’ र नायिका ‘चाँदनी’ परम्परागत (मात्र के भन्नु आधुनिक नाउँ भिरेर जन्मिएका तर पुरातन सांस्कारिक परिधीबाट पूरै बिलग हुन नसकिरहेका पनि) जस्ता पटक्कै्र छैनन्। उनीहरू नत हिजोआजका बलिउड, कलिउडका ‘हिरो हिरोनी’ जस्ता एकान्त उपवन, बगैँचा वा धान, गहुँ, चनाका हरियालीपूर्ण खेतहरूमा ‘उन्मत्त ‘बानरे’ उफ्राइ’ गर्दै लखेटालखेट गर्दै उत्ताउला सस्ता गीतहरूका बेताले रागका सुरमा अर्धनग्न भएर एक अर्कासँग दशैँको पीङको लठारो झैँ लठारिँदै सस्ता दर्शकहरूलाई पनि योनोत्तेजनामा जुरूक् जुरूक् पारिरहेका हुन्छन्, न आदर्श र चोखो प्रेमका नाउँमा कुनै नदी किनारा वा सागरतटका किनारका चट्टानमा बसेर बिरहका आँसुमा भिजेको रूमानी गीत गाएर भावुक दर्शकहरूलाई पनि आँसुमा डुबाउने प्रयत्न गरिरहेका हुन्छन्। अझ साँच्चै भन्ने हो भने अठ्ठाइस, ‘ए फोर साइजको’ आफ्नो प्रियतमलाई चिठ्ठी शैलीमा लेखिएको दश दिनको दैनिकी (डायरी) भरमा परिभाषित प्रणय प्रेमको प्रसङ्ग ‘प्रिय’ ले आफ्नी पे्रयसी चाँदनीलाई लेखेको चिठी (यो पाण्डुलिपिको १३–१४–१५ पृष्ठ) को अन्तिम केही अनुच्छेदबाट मात्र प्रत्यक्षरूपमा अनुभूत हुन्छ। यो चिठी पाँच वर्ष पहिले चाँदनीको ‘प्रिय’ नायकले आफ्नी प्रेयसी चाँदनीको नाउँमा लेखेको हुन्छ। चाँदनीले त्यसलाई जतनसँग राखेकी हुन्छे र यसो न्याश्रो लागेको अथवा ‘प्रिय’ को सन्निकटताको तीब्र चाहना भएको घडीमा मात्र झिकेर पढ्ने गर्छे।

यसो भनेर यो उपन्यासिकामा विपरीत लिङ्गीमा हुने नैसर्गिक प्रेम–प्रणयको प्रसङ्ग हुँदै नभएको होइन। आदिदेखि अन्त्यसम्म ‘प्रेमतत्व’ ले नै त सिञ्चित छ यो। तर त्यो प्रेम हिजोआजको समाजमा प्रचलित प्रेम–प्रणयको परिभाषा भित्र पर्दैन, जुन वियोगको उच्छ्वासबाट व्यक्त हुन्छ नत संयोग र मिलनको उमङ्गमा। यो न फ्रायडको परिभाषामा व्यक्त हुन्छ नत कालिदासकै मेघदूतमा। हीरराँझामा पनि व्यक्त हुँदैन, रोमियो जूलियटमा पनि। यो आजको शताब्दीका राजनीतिक चेतनायुक्त दुई शिक्षित पारिवारिक र सामाजिक वातावरणले निर्माण गरेका स्वयं सचेत र शिक्षित युवा युगलको प्रेम कथा हो। त्यसैले यो माटो (देश, धर्ति) को ममतामा अभिव्यक्त भएको छ, समाजको पीडामा बोलेको छ, राजनीतिक वितण्डामा संवेद्य भएको छ।

समग्रमा भन्दा यो कथा मानवीय संवेदना, देशप्रेम, जातीय (राष्ट्रिय) ममत्वमा प्रस्फुटित भएको छ। यसमा
प्रेमैप्रेम छताछुल्ल भएर बगेको छ। त्यसैले यो ‘प्रेम कहानी’ हो र यसलाई प्रचलित ‘प्रेम’ का कथा पढ्नेका आँखामा यसमा कुनै प्रेम प्रणय प्रसङ्गै छैन। त्यसैले यो प्रेम–कथा नै होइन। त्यसैले समग्रमा यो ‘अनौठो प्रेम कथा’ हो। यसको यही ‘अनौठोपन’ नै यसको आकर्षण हो र यसैको चिन्तनशीलताले नेपाली साहित्यको श्रीवृद्धिमा सघाउ पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

र यही ‘अनौठोपन’ प्रतिको जिज्ञासाले नै पाठकको मनोरञ्जन साथै उसमा उत्सुकता जगाउँछ। शैली र प्रस्तुतिको अनौठोपनले पाठक अलि अलमलिए पनि त्यसलाई खोतल्ने जिज्ञासाले सचेत पाठकले यसलाई माया गर्नेछ। अस्तु, म भाइ प्रदीपको यस मूल्यवान प्रयासलाई साधुवाद दिन्छु। र उसले यस्तै लोकचेतनालाई उजिल्याउने, जनताकै सुखदुःखलाई बोकेर राष्ट्रिय चिन्तनलाई फैलाउने साहित्य, – कथा, उपन्यास र सम्भव भए नाटक निबन्धको सृजना गर्दै, नेपाली साहित्य भण्डारको श्रीवृद्धि गर्दै जावस्।

एउटा दाजुका नाताले म उसलाई साधुवादका साथै आशीर्वादका वचन पनि प्रदान गर्छु। र विश्वास
र आशा पनि गर्छु उसको कलम झन झन प्रखर र जनभावनालाई बहन गर्न सक्षम र सक्रिय हुँदै जावस्।
उ कर्तव्यपथमा कहिल्यै नथाक्ने, कहिल्यै नहार्ने योद्धासरी अगाडि बढ्दै जावस् –– चरैवेति! चरैवेति!!
तमसोमा ज्योतिर्गमय! असतोमा सद्गमयः! मृतयोर्मा अमृतंगमयः!!

आरूबारी

ΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞΞ

२६ साउन २०६३
सुत्रधार

नत नदी भन्न मिल्थ्यो त्यसलाई न नाली नै। त्यहाँ बग्ने पदार्थलाई पानी भन्न मिल्दैनथ्यो त्यसैले त्यो नदी थिएन। तर त्यो ठूलो नालीमा पानीको मात्रा बढी थियो, त्यसैले त्यसलाई पानी होइन पनि भन्न हुँदैनथ्यो। दुइ किनारको बीचबाट बग्ने त्यो पदार्थको रङ्ग फिक्का कालो थियो। त्यसलाई हेर्दा यस्तो लाग्थ्यो – पुरानो भएर खुइलिएको भक्तपुरे टोपी तरल पदार्थमा रूपान्तरित भएर मैदानमा सललल बगिरहेछ। अथवा तपाईं यसलाई मट्टीतेलको मात्रा बढी भएको डढेको मोबिलको अनुहारमा पनि सम्भि्कन सक्नुहुन्छ। कलौँसो कालो ध्वाँसो लिपिएको पानी जस्तो त्यो तरल पदार्थबाट बेलामौकामा चिताइनसक्नुको दुर्गन्ध ह्वास्स निस्कन्थ्यो। त्यो दुर्गन्धले तपाईंलाई घरैछेउबाट वाफ उडाउँदै बगिरहेको नालिको सम्झना गराउँथ्यो।

हामीलाई जस्तो शायद अरूलाई लाग्दैनथ्यो। त्यसैले त्यसलाई नदी भन्थे मानिसहरू। नदीका छिमेकीहरू मात्र हेाइन, देशभरिका मात्रले पनि होइन, देशावरका मानिसहरू पनि त्यसलाई नदी नै भन्थे। एकखालका मानिसहरू त त्यसैलाई पवित्र नदी भन्थे। त्यसमा नुहाउन पाउदा सिधै भगवानको काखमा बस्न पाइन्छ भन्थे। जति कालो भए पनि त्यहाँको पानीले निधारमा आचमन गर्न पाउदा भगवानको विश्वरूप देखिन्छ भन्थे। आस्थाको त्यो भावनालाई सम्मान गर्दै यो आख्यानमा त्यसलाई नदी नै भनिनेछ। तपाईं आफ्नो इच्छाले त्यसको नाम राख्न सक्नुहुनेछ। त्यसलाई वागमती भन्नुस, या विष्णुमती अथवा इच्छुमती भन्नुस्। भन्नै रहर लाग्छ भने तपाईं त्यसलाई कोशी या नारायणी पनि भन्न सक्नुहुन्छ। आखिर नदीभन्दा ठूलो नदीको नाम पनि त नदी नै हुन्छ।

अहिले सजिलोको लागि हामी त्यसलाई नदी मात्र भनौं।

कथा काठमाण्डौकै हो। काठमाण्डौलाई मित्रराष्ट्रसँग जोड्ने एउटा राजमार्ग छ। त्यो तपाईं हामी सबैले जानेकै कुरा हो। त्यही राजमार्गमा चिप्लिन थाल्नुपर्छ त्यहाँ पुग्न। राजमार्गको पातलो ओरालोमा,
उत्तरतिर लाग्ने एउटा राम्रो बाटो भेटिन्छ। त्यसलाई तपाईंले नै कुनै एउटा नाम दिनुभए हुन्छ। शान्तिमार्ग
भने पनि भो, प्रजातन्त्र गोरेटो भने पनि भो। मनले मान्छ भने अशान्ति उकालो अथवा अप्रजातान्त्रिक
ओरालो भने पनि हुन्छ। बाटो सिधा छ, कतै नमोडिएको कतै नबटारिएको।

सिधा पांच सय मिटर अगाडि गएपछि त्यो बाटो देब्रेतिर कुइंक्क घुम्छ। त्यसलाई नछोड्नोस्।
तपाईंको नाक अघिल्तिर एउटा मन्दीर शैलीको सेतो घर ठिङ्ग उभिन्छ। तलदेखि माथिसम्म नियालेर हेर्नुस्,
बुङमती र भक्तपुरमा बनेका प्राचीन शैलीका झ्यालढोकाले सिंगारिएको त्यो घरभित्र चौबिसै घण्टा जीवन
प्रवाहित भैरहन्छ। त्यो ब्युझिरहन्छ – तर चौबिसै घण्टाको अनिदोका कारण त्यसका आँखाहरू शंकर
लामिछानेले वर्णन गर्नु भएको अधर्धमुदित नयन जस्तै देखिइरहन्छन्।

भुईं समेत जोड्दा त्यो घरमा पाँच ओटा तलाहरू छन्। भुईं तलाको बारेमा सबैभन्दा पुछारमा
भनौँला। पहिलो तलामा हाजिरकापी, हिसाबकिताब, जोडघटाउको काम हुन्छ। त्यसलाई प्रशासन शाखा
भनिदिए हुन्छ। दोश्रो तलामा एउटा ठूलो सभाकक्ष छ, त्यसको आडैमा अर्को सानो सभाकक्ष पनि छ। ठूलो
सभाकक्ष वक्तामञ्च र श्रोतामञ्चमा बाँडिएको छ भने सानो सभाकक्ष अण्डाकार टेबल ओरिपरि छरिएर
सुतेको छ। तेश्रो तलामा एकातिर छन् बग्रेल्ती कम्प्युटर र त्योसँग खेल्ने भाइबैनाहरू। त्यसको अर्कापट्टी
छन् सम्पादक र उपसम्पादकहरू। चौथो अर्थात सबैभन्दा माथिल्लो तलामा बस्छन् कम्पनीका अध्यक्ष,
उपाध्यक्ष, सचिव अनि कार्यकारी निर्देशकहरू।

कथा त्यही घरको भुइँ तलोबाट शुरू हुन्छ। त्यो तलो संगमरमरको सेतो र चिल्लो ढुङ्गामा थचक्क
बसेको छ। अग्लो छत छ भुइंतलाको – काठमाण्डौका लागि पटक्कै नसुहाउने। १४ फिट अग्लो। छतमा
कलाकारिता समेटिएको छ। तर बिहारी कलाकारको भएर होला – न त्यसमा भारतीय कलाको सुन्दरता छ,
न नेपाली कलाले नै त्यहाँ रमाउने मौका पाएको छ। रङ्गीचङ्गी बुटाहरू छन् छतमा। तर ती बुटाहरूसँग
दिङला जाने बाटोमा पर्ने तीनतलेको चित्रगुप्तको कलात्मक घरका कलाकृतिहरूको जस्तो सुन्दरता कतै छैन
। यो त कला होइन, एक्कासी चमिकएको चट्याङ्गको उज्यालो जस्तो छ – आँखा खाने गरी चरक्क चर्किएको
रङ्गले विरक्तिएर संगमरमरको भुँइ नियाली रहे जस्तो।

संगमरमरमा पल्टिएको भुइँतलो, आफ्ना उदास र चिसा आँखाले तपाईंलाई ढोकामा स्वागत गर्न
आइपुग्छ।

अनौठो ढङ्गले खाली देखिन्छ त्यो भुईं कोठा। हुनेखाने मान्छेको घरमा उभि्रएर फ्यालिएको कोठा
जस्तो। मुलढोका साह्रै फराकिलो छ। ढोकाको सिधा भित्तामा अग्लो टेबल र त्यस्तै कुर्ची देखिन्छन्। कुर्चीको
दाहिने तिर साँघुरो बिजुलीभर्‍याङ छ। (काठमाण्डौमा फराकिला बिजुलीभर्‍याङहरू नयाँ शताब्दीसँगै बढी
प्रयोगमा आउन थालेका हुन्।) बिजुलीभर्‍याङको आडैमा माथि जाने सिमण्टीको भर्‍याङ छ। भर्‍याङको पल्लो
छेउमा अग्लो घरको भित्तो छ। त्यसरी दाहिने तिरको लङ समाप्त हुन्छ।

कुर्चीको देब्रेतिर पनि फराकिलो ठाउँ छ। फराकिलो ठाउँको बीचमा एउटा गोलो टेबल र चार
ओटा त्यसलाई सुहाउदिला तर सादा प्लाष्टिकका कुर्चीहरू छन्। टेबल माथि छरपस्टिएका अखबारहरू छन्।
केही पत्रिका पनि छन्। हेर्ने बित्तिकै थाहा हुन्छ – भुईंतलामा चार जना मानिसलाई मात्र बस्ने गरी स्वागत
गरिन्छ। त्यसैले आमरूपमा आगन्तुकहरू रिसेप्सनमा उभिएर कुरा गर्छन् र आफ्नो काम सकेर हिंडिहाल्छन्।
कति राम्रो व्यवस्था!

यही राम्रो व्यवस्था सम्हालेर भुर्इंतलाको कुर्चीमा बस्ने, घरको बारेमा सोधपुछ गर्न आउने जो
कोहीसँग पनि मुसुक्क हाँसेर बोल्ने, एक घण्टामा दर्जनौं टेलिफोनको जवाफ दिने कर्मचारी नै प्रस्तुत
उपन्यासकी नायिका हो ….

जेठ ४ गते
बानेश्वर

प्रिय,
उज्यालो आकाशमा पनि ताराहरू देखिएका छन् आज। छासछुस पानी परे पनि अझै बर्खा
लागिहालेको छैन। त्यसैले मैले आज घरको छतमा धेरैबेर बिताएँ। म छतमा चढ्दा साँझको आठ बजेको
थियो। भरखरै अँध्यारो ओर्लिन थालेको थियो धर्तीमा। गोदावरीबाट उकालो चढेर फुलचोकीको टुप्पामा
पुगेपछि थाकेको मान्छे जसरी पूर्णचन्द्रको टिका लाउन हिंडेको जुन खुइखुइ गर्दै आकाशको उकालोमा
चढिरहेको थियो। आकाश, गीतहरूमा वर्णन गरिएको जस्तै कञ्चन थियो। अहं, एक टुक्रो बादल पनि थिएन
कतै। जुनको उज्यालो, घरको छतमा असरल्ल परेर छरिएको थियो। तर आकाशमा ताराहरूको बिस्कुन
छरिएको हुनाले भुईंको जुन आकाशका ताराहरूको बिस्कुनमा हराए जस्तो लाग्थ्यो।

आकाश शितल थियो कि धर्ती शितल भएको हो भनेर धेरैबेरसम्म मैले छुट्याउन सकिन।
छिनछिनमा सिर्सिर् बतास चल्थ्यो। त्यो हिमालबाट ओर्लिएको हो कि आकाशवाट झरेको हो छुट्याउनै
सकिदैनथ्यो। जेठ महिनाको गर्मीले काठमाण्डौलाई कस्तरी समात्न थालेछ होगि?

केही साल पहिले हामी आलापोटको हाइस्कूलमा पढ्थ्यौं। विद्यार्थी र शिक्षकहरू बीचको सम्बन्ध
आज जस्तो व्यापारिक भैसकेको थिएन। शिक्षकहरू कक्षा कोठामा पैंतालिस मिनेट बिताउनुलाई आफ्नो
दायित्व निर्बाह ठान्दैनथे। शिक्षकहरू, बाबु हुन्थे, आमा हुन्थे, दाजु र दिदीहरू हुन्थे। विद्यार्थीप्रति ठूलो
जिम्मेदारी महसुस गर्थे। शिक्षकले विद्यार्थीलाई आफ्नै सन्तान ठान्थे, आफ्नै भाइबैना ठान्थे।
अहो, कति सुन्दर सम्बन्ध थियो शिक्षक र विद्यार्थीको त्यो!

सोनाम सर हामीलाई विज्ञान पढाउनु हुन्थ्यो। आजभोलि उहाँलाई मैले कुनै स्कूलको शिक्षक भएको
सुनेकी छैन। शिक्षकहरूको कार्यक्रमका समाचारमा पनि उहाँ लेखिनु भएको छैन। औंसीको आसपासका
रातमा सोनाम सर, हामी विद्यार्थीलाई स्कूलको आँगनमा बोलाउनु हुन्थ्यो। कहाँ हुनुहुन्छ सोनाम सर
आजभोलि? त्यतिबेला हामी विज्ञानमा रूची राख्ने विद्यार्थीहरू चाँडै भात खाएर चहुरमा भेला हुन्थ्यौं। सर
हामीलाई आकाशका ताराहरू देखाउदै तिनको चिनारी दिनुहुन्थ्यो। सप्तर्षीलाई मैले त्यसैबेलादेखि चिन्न
थालेकी हुँ। उल्टो प्रश्नचिन्ह जस्तो त्यो तारा समूह शुन्य आकाशमा सधैं हेरिरहन मन लाग्ने खालको हुन्थ्यो
। सोनाम सरले नै मलाई त्रिकुटीको तेर्सो धर्सो चिनाउनु भएको हो। उत्तरी धु्रवको नजीक बसिरहेको जस्तो
लाग्ने ध्रुव ताराको मसिनो टिकोलाई मैले त्यसैबेलादेखि ठम्याउन थालेकी हुँ। ठम्याउनै गाह्रो पर्ने ध्रुव तारो
चिनाउन सरले पाँच ओटा रात बिताउनु परेको थियो।

तर आजको रात औंसीको रात थिएन। आज त पुर्णिमाको सेरोफेरो थियो। यति हुँदाहुँदै पनि मैले
विज्ञानको सरले पढाउनु भएको त्यो रातलाई सम्भि्कएँ। परम्परामा रगत जसरी भिजेको माया कहाँ गयो हँ?
के जीवन व्यापार मात्रै हो? सम्भि्कदा सम्भि्कदै मेरो मन रोयो। बेस्सरी टाउको झड्कारें मैले। केको
सम्झना भयो? के हामीले गुमाउदै गएको आफ्नो सभ्यताको, आफ्नो संस्कारको माया हो यो?
“इतिहास फर्किदैन। मान्छेले इतिहासलाई फर्काउने कोशिश गर्‍यो भने, मान्छे जीवनका लागि
असान्दर्भिक हुन्छ। इतिहासलाई फर्काउनु भनेको हुर्किएका हामीहरू फेरि बालापनतिर जानु हो, यस्तो कहिले
हुन्थ्यो र!” सत्य जान्दा जान्दै पनि मेरो मन धेरैबेर आकाशका ताराहरूसँग तरङि्त भइरह्यो। मलाई मन
पर्ने सबैथोक फिर्ता भैदिए हुन्थ्यो जस्तो लागिरह्यो। मेरो बालापन, मेरा साथीसङ्गीहरू, मैले खेलेको मैदान,
मैले खेपेको सुख सबै सिनेमाका दृष्यहरू जसरी मनको आँखाबाट सललल बगेर गए। मन हुँडल्लिए जस्तो
भयो।

सुख सम्भि्कदा पनि किन मन पिरोलिन्छ?
मन अमिलिन खोजेपछि म पातला पाइला चालेर आफ्नो कोठामा ओर्लिएँ। कोठा बत्तीको उज्यालोमा
नुहाइरहेको थियो। तपाईंले एकदिन भन्नुभएको थियो नि! सके बिर्सिसक्नु भयो होला। “घरको कोठामा
गुलाफी रङ्ग लगाउनु, त्यो मन पर्दैन भने कोठामा उज्यालो पहेंलो रङ्ग लगाउनु। यी दुई रङ्गहरू प्रेम, स्नेह,
सौहार्दता र फराकिलोपनका सूचक हुन्। दुई रङ्ग मन परेनन् भने सेतो लगाए पनि हुन्छ। त्यो शितलता हो,
स्नीग्धता हो।”

एक महिना लागेको थियो मलाई कोठामा रङ्ग लगाउन। बुवाआमाले नमानेर होइन, मैले नै रङ्ग
नछानेर त्यति ढिलो भएको थियो। खैरो प्लास्टरको भित्तामा म एकछिन पहेंलो रङ्ग पोतेर नियाल्थें, त्यो मलाई
राम्रो लाग्थ्यो। कहिले देब्रे ढल्किएर, कहिले दाहिने निहुरिएर म रङ्गको फराकिलोपन केलाउन खोज्थें। अहा!
कस्तो राम्रो कहिल्यै नछोडौं, नछोडौं जस्तो।

अकस्मात तपाईंको गुलाफी रङ्गको अर्ति मेरो मनमा ठ्याङ्ग गरेर बजारिन्थ्यो। म हतार हतार
गुलाफी धर्काहरूलाई भित्तामा पोख्थें। त्यो झन सुन्दर देखिन्थ्यो।
सेतो रङ्गको त कुरै भएन। विद्यार्थी हुँदादेखि नै मलाई सेतो मन पर्थ्यो। म पाएसम्म सेतो रङ्गको
लुगा लाउथें।

मैले रङ्ग छान्न सकिन। एकदिन दाईले भन्नुभयो, “यो टिकाका दिन हामीले घर सर्नैपर्छ। यो केटीले
रङ्ग नछानेर हैरान पारी। यसलाई मन पर्ने भनेको पहेंलो, गुलाफी र सेतो हो। पहेंलो र गुलाफीलाई
मिलाउदा सेतो हुन्छ भन्ठानेर अब कोठाहरूमा रङ्गरोगन सिध्याउनु पर्छ। सबै कोठामा सेतो रङ्ग लगाउनु पर्छ
। कोठा उज्यालो हुन्छ,। मैलो लाग्यो भने पनि तुरून्तै देखिन्छ,। सरसफाइ गरिरहनु पर्ने हुन्छ। त्यही ठीक
हुन्छ।”

ठूलो समस्याबाट पार पाए जस्तो लागेको थियो त्यतिबेला। मैले खुशी भएर दाइलाई गम्लङ्ग अँगालो
हालेकी थिएँ। दाजुबैनीको पिरती देखेर बुवाआमा दङ्ग पर्नुभएको थियो।

अरूबेला सेतो रङ्गको महत्ता यति साह्रो अनुभूत गरेकी थिइन। घर बनाएकै पनि त पाँच वर्ष
भैसक्यो। तीन वर्ष भनेको एक हजार भन्दा बढी रात होइन? त्यत्रो समय बित्दा पनि कोठा कति सेतो छ
भन्ने थाहा हुनसकेको थिएन। घरमा फेरि एकपल्ट रङ्ग थप्नुपर्छ कि भनेर नयाँ वर्षकै दिन कुरा भएको थियो।
नपर्ने रहेछ। आज कोठामा पस्नासाथ कोठाको उज्यालोपन देखेर म छक्क परेँ। त्यो त चन्द्रमालाई धर्तीमा
स्वागत गर्न ओछ्याइएको सेतो बादलको बिछ्यौना जस्तो पो देखियो!

कति लामो गन्थन लेख्न मन लागेको होला? तपाईंलाई सम्भि्कएर डायरीमा शव्द कोर्न थाल्दा समय
रोकिए कति जाती हुन्थ्यो जस्तो लाग्छ।

आजको दिन हाम्रा लागि असाध्यै राम्रो रह्यो। छक्क पर्नु भो? काठमाण्डौको एक नम्बर क्षेत्रकी
केटी, आजको दिन हाम्रा लागि असाध्यै राम्रो रह्यो भन्छे! तर यो त्यस क्षेत्रकी केटीको खुशी होइन। त्यो
खुशी हो एउटी कर्मचारी केटीको। हामी र संसारका बीचमा कत्ति ठूलो भेद छ होगि? दाइको आँखाबाट
बगेको आँशु थामिएको छैन। समाचार सुनेदेखि उहाँको आँखा निदाएको छैन। बुवाले लामो सुस्केरा काढ्दै
भन्नुभो, “असल मान्छेलाई भगवानले धर्तीमा धेरै दिन बस्न दिंदैनन्। चाँडै बोलाउछन्।” आमाले मेरो
टाउकोमा हात राखेर भन्नुभएको थियो, “लाखौंलाई रूवायो। यस्तो मान्छे अब नेपालमा कहिले जन्मेला र?”
तर हामीले काम गर्ने घरमा आज खुशी बाँडियो। हामी र दुनियाका बीचमा कति गहिरो खाडल छ
भनेर सोच्दा म आफैसँग लजाउने गर्छु। मुलुकको एउटा ठूलो पंक्ति हिक्का छोडी छोडी रोइरहेको छ,
हजारौंका आँखाबाट बगेको आँशुले धाराको पानी सम्झाउछ, तर आज हामी सबै हाँसिरहेका छौं, रमाएका छौं
र व्यवस्थापनले हामीलाई आज तीन सय रूपैयाँ बराबरको कुपन बाँडेको छ। हाम्रो ब्यापार यसरी नै
फस्टाइरह्यो भने आगामी महिनादेखि मेरो तलबमा तीन सय रूपैयाँ थपिनेछ।
प्रसङ्ग शायद तपाईंले बुझ्नु भयो होला।

नेपाली राजनीतिका एकजना ठूला राजनेताको मृत्यु भयो। दुर्घटना भनिएको छ त्यसलाई। त्यसको
सबैभन्दा राम्रो समाचार हाम्रै अखबारले छाप्यो। उज्यालो पनि हुन नपाउदै हजारौं प्रति बिक्यो। तपाईं
कल्पना गर्नसक्नु हुन्छ? सक्नुहुन्न। हप्ता दिन अघिसम्म आठ दश हजार प्रति छापिने अखबारले पैंसट्ठी
हजारको संख्या नाध्यो। हाम्रा सरहरूको खुशीको ठेगानै भएन। उहाँहरूले पच्चिस तीस हजारसम्मको
अनुमान गर्नुभएको थियो। पचासको त कल्पना समेत गर्नुभएको थिएन। तर दोब्बर पो बिक्यो। एकैचोटी
ह्वात्तै बढ्यो अखबारको बिक्री। सरहरूले आजको स्टाफ मिटिङमा भन्नुभयो, “यसलाई टिकाउन गाह्रो हुन्छ,
तर पनि पचासभन्दा तल झर्न नदिने कोशिश गर्नुपर्छ। बाहिर सबैले शोक मनाउनु पर्छ – तर तपाईंहरूलाई
थाहा हेास् – तपाईंहरूको जागीर अब सुनिश्चित भयो। हाम्रो व्यवस्थापनले अखबारलाई चालिस हजारभन्दा
तल झर्न दिनेछैन। अब चिन्ता नगर्नुस्। ध्यान दिएर काम गर्नुस्। अखबारलाई उत्कृष्ट बनाउनुस्।”
जागीरेका लागि यो सुसमाचार भएन र?

तर यो सुसमाचारलाई म आफ्नै घरमा कसैसँग बाँड्न सक्दिन। यो खबर सुन्ने बित्तिकै बुवाले तेरो
बुद्धि छोटो र आयु लामो होस् भन्नु हुनेछ,। त्यतिबेला मलाई जन्माउने आमाले भन्नुहुनेछ – तेरो मृत्युमा
हामी कसैको आँखामा आँशु आउने छैन। दाइले आजसम्म गरेको मायाको ब्याज समेत चुक्ता हुने गरी
गालामा चर्को चड्कन दिनुहुनेछ। उहाँको हातको चुटाई परेको मेरो गालाको सिंगारपेटार नगरी भोलि मैले
अफिस जाँदा मेरा दौंतरीहरूले तैंले कुन क्रिम प्रयोग गरिस् हँ भनेर सोध्नेछन्।

कस्तो अनौठो सुखको अंशियार भएँ म? आफ्नै परिवारसित पनि बाँडचुँड गर्न नसक्ने!

अबत सबै कुरा थाहा भयो नि होइन? मदन भण्डारीको निधनमा यतिबेला सारा देश रोइरहेछ।
लाखौं युवाहरूको आँखाले निद्रा देवीलाई आफैं खेदेको छ। मान्छेको भोक मरेको छ। उत्साह समाप्त भएको
छ। जीवनप्रतिको विश्वास टुटेको छ। उहाँको परिवार झन कत्ति रन्थनिएको होला? परिवार भन्दा ठूलो
चोट उहाँको पार्टीमा परेको होला। उहाँको निधनले सिङ्गो पार्टीलाई नै टुहुरो बनाएको होला। उहाँको
पार्टीसँग हाम्रो कुनै दुश्मनी छैन, उहाँको पार्टी टुहुरो भैदिंदा हामीलाई अतिरिक्त आमदानी थपिएको छ।
उहाँको आफ्नो सन्तान किरियाको टालो पनि बेर्न नसक्ने गरी पछारिएको छ र हामी दुबै हातले अपुताली
सोहोरिरहेका छौं।

पहिलोपल्ट मलाई लाग्यो – हामीले गर्ने काम सुन्धाराका मासु पसलेहरूको जस्तै हो। उनीहरू जति
धेरै खसी काटियो त्यति धेरै खुशी हुन्छन्। हामी पनि जति ठूला मानिसहरू मारिए त्यति नै धेरै खुशी हुने
रहेछौं।
के हाम्रो पेशामा संवेदना हुँदैन?

जेठ ८ गते
बानेश्वर।

प्रिय,

हिजो मैले तपाईंलाई छर्लङ्ग उघि्रएको दिनको उज्यालोमा रूँदै रूँदै हिंडेको देखें। म रोइरहेछु भन्ने
तपाईंलाई थाहा भएको थियो? थिएन होला। बाटामा एक्लै हिँड्दा रूने कुरै भएन, कार्यालयमा उसै पनि
अहिले रूनु बर्जित छ। त्यसैले म शवयात्राको किनारमा ठिङ्ग उभिएँ। मान्छेको त्यो समुद्रमा तपाईं पीडाले
छटपटाइरहेको सुन्दर माछो जस्तो हुनुहुन्थ्यो मेरा लागि। हुन पनि मान्छे बगुन्द्रै भेला भएका थिए। एउटा
मान्छेका नाममा यति धेरै मलामी हुन्छन्? अहँ, मैले त कल्पना पनि गरेकी थिइन। तीन लाख मान्छे
सडकमा हिंडे भन्थे हाम्रा साथीहरू। हो? होला पनि। मैले तपाईंलाई डिल्लीबजारको ओरालोमा देखें।
तपाईंका आँखाबाट अटुट बगिरहेको आँशुले मेरो मुटु कटक्क खायो। कहाँबाट छिचोल्यो पिडाले तपाईंलाई?
तपाईंका पाइलाहरू एक तालमा हिंडिरहेका थिए। तपाईंको हात पनि अघि पछि गरिरहेकै थियो। घरि घरि
त्यो गालाको आँशु पुछ्न उठ्थ्यो। उठेको त्यो हात नेताको सम्मानमा सलामी दिन उठे जसरी तुरून्तै तल
झरिहाल्थ्यो।

थुप्रै मान्छेहरू क्वाँ क्वाँ रोइरहेका थिए। ठूला मान्छेहरू त्यसरी रोएको त मैले कहिल्यै देखेकी थिइन
। आफू ओरिपरिको संसारलाई सुनसान हुनेगरी बिर्साइ दिनसक्ने कस्तो पीडा? केटा मान्छेहरू मात्र होइनन्,
केटी मान्छेहरू पनि त्यत्तिकै रोइरहेका थिए। तपाईंलाई त थाहा भएन होला! रूनेहरूको लाम हेर्दै म धेरैबेर
ओरालोको पिपलबोटको चौतारोमा उभिइरहेँ। आँखा रातो नभएको त एकजना पनि थिएन।
मदन भण्डारीकी आमाले आफ्नो छोराको निधनमा देश गंगा बगाएर रोला भन्ने कल्पना गर्नुभएको
थियो? थिएन होला।

मानिस नसकिएको देख्ता एकछिनपछि म छक्क पर्न थालेँ। शवयात्राको शीर बानेश्वर चोकमा गएर
बिलिन हुँदासम्म पनि ओरालोमा मानिसहरूको हुल सकिएको थिएन। मानिसहरू लाइनमा थिएनन्। भीड नै
थियो डेढ दुइ किलोमिटर लामो। अहो! कति महान मान्छे? चार वर्ष अघिसम्म कसैले चिनेका थिएनन्।
मैले कुनै अंग्रेजी पत्रिकामा (शायद न्युजविक हो कि!) कार्लमार्क्स लिभ्स इन नेपाल भनेर मदन भण्डारीलाई
चित्रित गरेको अन्तरवार्ता पढेकी थिएँ। बेजोडको थियो त्यो अन्तरवार्ता। मदन भण्डारीका केही चुनावी
भाषणहरू पनि मैले सुन्ने मौका पाएकी थिएँ। लेख रचनाहरू पनि लेख्नुहुन्थ्यो रे उहाँ। मैले ती पढेकी छैन।
त्यस्तो समय पनि हुँदैन। दाइले बेला मौकामा उहाँका रचनाको बारेमा बताउने गर्नुहुन्थ्यो। भक्ति थियो
दाइको उहाँप्रति। हामी परिवारका सबैजना उहाँको अन्तरवार्ता असाध्यै रूची लिएर पढ्थ्यौं।

मदन भण्डारीले चाबहिलमा गर्नुभएको भाषण मैले सुनेकी थिएँ। अखबारमा चर्चा पनि धेरै भएको
थियो। मान्छेले टिप्पणी गरेका थिए – मदन भण्डारीले राजालाई चुनौती दियो’ भनेर। तर मलाई त्यस्तो
लागेको थिएन। अहिले पनि लागिरहेको छैन। मदन भण्डारीले राजनीतिको सीमा र संवैधानिक राजतन्त्रको
मर्यादाका बारेमा टिप्पणी गर्नुभएको थियो र ठीकै ढङ्गले गर्नुभएको थियो भनेर हाम्रा पाका सम्पादकले पहिलो
सुनाइमै हाम्रा सामू आफ्नो निष्कर्ष पस्किनु भएको थियो। त्यो भाषण क्यासेटमा भरिएर हाम्रो कार्यालयमा
आएको थियो। त्यतिबेलै उहाँले आफ्नो प्रतिकृया दिनुभएको थियो। म त सम्पादकीय शाखाको कर्मचारी
थिइन, तर म उहाँकै टेबल अघिल्तिर पुगेकी थिएँ। त्यतिबेला उहाँ आफ्ना सहकर्मीहरूलाई सुनाउदै
हुनहुन्थ्यो, “कस्तो चाहिने जति शब्दहरूलाई थुङ्गा थुङ्गा बनाएर वाक्यहरूको माला उन्न जान्ने मानिस रहेछ
यो! अबदेखि यसको भाषण सबै जस्ताको तस्तै लेराउनु।”

त्यतिबेला त मैले न प्रतिकृया दिन सकेकी थिएँ, न थप कुरो सोधेर अतिरिक्त ज्ञान संकलन गर्न
सकेकी थिएँ। ठूला मानिसको कुरो मेरो अध्ययनशील दिमागमा एउटा अर्को शिक्षा बनेर पसेको थियो।
तैपनि के हो के हो लागेर मैले बेलुकाको साँझमा मदन भण्डारीको भाषण र हाम्रा सम्पादकको
प्रतिकृयालाई जोडेर भाषणको वास्तविक अर्थ के हो भनेर सोधेकी थिएँ। त्यतिबेला दाइले भन्नुभएको थियो,
“राजाले राजनीतिमा सकृयतापूर्वक भाग लिने हो भने जनताले मानसम्मानका साथ शीरमा राखेको
राजसंस्थाको परम्परालाई परित्याग गरेर राजा, जनताको घरदैलोमा जानुपर्छ, निर्वाचनको प्रकृयामा समाहित
हुनुपर्छ, राजसंस्थाका रूपमा आफूले प्राप्त गरेका सबै सुविधाहरूलाई पूर्णरूपमै तिरस्कार गर्न सक्नुपर्छ र
जनताका छोरा अरू राजनीतिक कार्यकर्ताले बाँचेको जस्तो जीवन बाँच्नुपर्छ भन्नुभएको थियो। ”
यो त चुनौती होइन। यसलाई राजनीतिको राजमार्ग भन्नुपर्छ बरू। संवैधानिक राजाले राजनीतिमा
भाग लिएको कुरो कहाँ पढ्न पाइन्छ विश्व इतिहासमा?

राजनीतिमा बेरिएपछि मान्छेको आँखाको पानी सुक्दो रहेछ। त्यसैले त्यो पूर्वाग्रही बन्छ होला।
हुनत मेरो राजनीतिको ज्ञान भनेको घरमा दाजुको भाषण र कार्यालयमा साथीहरूको टिप्पणी मात्रै
हो। गहिराइमा गएर राजनीति गर्ने न सोच रह्यो न रहने छ। यो त खालि मदन भण्डारीको शवयात्राको
दर्शक भएर पिपलबोटको चौतारोमा उभिंदा अन्तरिक्षबाट उडेर आएको भावनाको सानो टुक्रो मात्र हो।
दुइ घण्टाका लागि अफिसबाट बाहिर निस्किएकी थिएँ म। ट्राफिक जाम भनौं भने शहरमा ट्राफिक
नै थिएन। गाडीहरूको कहाँ कल्पना गर्ने? मान्छे बाहेक सडकमा केही छँदै थिएन। एक मन लाग्यो –
शवयात्राको पछिपछि लागौं कि! मेरो पनि एक थोपो श्रद्धान्जली मदन भण्डारीका नाममा पोखिने छ। तर
श्रद्धान्जली दिन पनि त स्वतन्त्रता चाहिन्छ। हाम्रा मालिकहरूले पालैपालो दशरथ रङ्गशालामा प्राणरहित
सुताइएको मदन भण्डारीको अन्तिम दर्शन गरेका थिए, फूल र माला चढाएका थिए। रङ्गशालामा नदी जसरी
मानिसहरू बगिरहेका छन् भन्थे हाम्रा संवाददाताहरू। मान्छे अश्रुपुरित नयनले मदन भण्डारीलाई श्रद्धान्जली
दिइरहेका हुन्थे – हाम्रा पत्रकार साथीहरू त्यसलाई रूपैयाँमा अनुवाद गरेर हाम्रो स्वार्थरक्षा गरिरहेका हुन्थे।
तीन दिनसम्म अन्तिम दर्शनका लागि मदन भण्डारीको शवलाई रङ्गशालामा राखियो। हजारौं हजार नेपाली
पाइलाहरू त्यहाँ पुगे र ती प्रत्येक पाइलाले हामीलाई केही रूपैया दान गरे।

बुझ्नु भो होइन? तिनीहरूको समाचार छापेर हामीले बढी पत्रिका बिकायौँ, हामीले बढी विज्ञापन
संकलन गर्‍यौँ।

पिपलको बोटमुनि उभिन पाउँदा आँतले अघाउँजी अक्सिजन पायो होला। त्यसैले त्यो एकछिन
रङ्गशालामा बरालिइरह्यो। नाफाको सानो हिसाब सकेर त्यो ओरालोको पिपल बोटको डीलमा आइपुग्यो।
शवयात्राको लस्कर सकिएको थिएन। तर त्यो धेरै पातलो भएको थियो। ‘अब सकिन लागेछ,’
मनमनै अनुमान गरेँ। आफूले जानु पूर्वैतिर थियो। मलामीहरूको अन्तिम लहरमा समाहित भएर म पनि
बानेश्वरतिर लागें।

म मलामी थिइन, त्यसैले मैले गौशालातिर जानु थिएन। बानेश्वरको चोकमा पुगेपछि मलामीहरू
देब्रेतिर लागे, म दाहिनेको बाटो समातेर घरको आँगनमा ओर्लिएँ।
घरमा भित्ताहरू बाहेक अरू को थियो र? आमा बिहानै गाउँ जानुभएको थियो। म गहु्रंगा पाइला
चाल्दै अफिसतिरै लागें।

म अफिसमा पुग्दा अझै संवाददाताहरू आइसकेका थिएनन्। अर्थात् समाचार बन्ने क्रम आरम्भ
भैसकेको थिएन। रङ्गशालाको रिपोर्ट लिन गएका संवाददाताहरूसँग संपादकज्यू कुराकानी गरिरहनु भएको
थियो। रिपोर्टिङ्ग गर्ने मेरो काम थिएन। तर संपादकले अह्राउनु भएको काम पुरा गरी आएकी हुनाले म त्यहाँ
पुगेकी थिएँ। संवाददाताको रिपोर्ट सुनेपछि संपादकले लामो सुस्केरा काढ्दै भन्नुभयो – “मदन भण्डारी न
राजा थिए, न प्रधानमन्त्री नै। तर प्रजातन्त्रको पुनर्वहालीपछि नेपाली राजनीतिको केन्द्रमा उनी नै रहे।
मृत्युमा उनले सबैको मलामीलाई उछिने। नभूतोः नभविष्यति।”

साँझमा अफिस फर्किएका संवाददाताहरूले आफूले देखेको घटनाको विवरण सुनाए। समाचार
बनाउने ‘मुड’ बनेको थिएन कसैको। आज साँच्चै शोकाकुल थियो हाम्रो कार्यालय। आज क्याण्टिनले पनि
सबैलाई कालो चिया मात्र खुवायो। “जीवित हुँदा पनि मदनजीले नै हामीलाई सबैभन्दा बढी समाचार
दिनुभयो। हामीलाई जीवनभरि नै ऋण लगाउनु भयो। उहाँको निधनले पनि फेरि हामीलाई समाचारको
सागरमा सटक्क माथि निकाल्यो। यतिका दिन समाचारको केन्द्र बन्नुभएका मदन भण्डारी हामी सबैका
लागि श्रद्धा र सम्झनाका पात्र हुनुहुन्छ। आउनुस्, आज हाम्रो सम्पादकीय टिम, उहाँप्रति हार्दिक श्रद्धान्जली
अर्पण गरौं।” प्रमुख संवाददाताको यो भनाइपछि कोठा एकछिनका लागि स्तब्ध भयो। कार्यालयमा
संवेदनाको सुस्केरा छिर्यो।

व्यक्तिको संवेदना कार्यालयको सासमा मिसिएको थियो। सबैको मन दुखेको थियो। तर काम त
गर्नैपर्थ्यो। साथीहरू आफ्नो काममा लाग्नुभयो। म भुईंतलाको चिसोमा झरें।

भुईंतलामा सन्नाटा पोखिएको थियो। त्यो हिजो अस्ती भन्दा चिसो थियो। साँच्चै थियो कि मेरो
मनले त्यसलाई चिस्याएको थियो? थाहा छैन। मैले अझै डेढ घण्टा बिताउनु थियो। अरू बेलाको डेढ
घण्टा केही मिनेट जस्तो लाग्थ्यो। टेलिफोनको किरकिरलाई अलग अलग कोठाहरूमा सरूवा गरिदिंदा र
अगाडि उभिएका आगन्तुकको प्रश्नको जवाफ दिंदा सेकेण्ड, मिनेट र घण्टा बितेको पत्तै हुँदैनथ्यो। तर त्यो
ओरालो लाग्दाको दिन, पट्टाइलाग्दो भयो। आगन्तुक त आउदै आएनन्। डेढ घण्टामा एक जना पनि आएनन्
। फोनको घण्टी पनि बजेन भन्दा हुन्छ। डेढ घण्टामा जम्मा जम्मी दुइटा फोन आए। यस्तो त जागिर
खाएको दिनदेखि आजसम्म मैले जानेकै थिइन।

हिंड्ने बेलामा मनले सोध्यो – के आज काठमाण्डौ सिङ्गै आर्यघाटमा ओइरिएको छ?
छोटो बाटो चाँडै बित्थ्यो सधैं। आज बाटोले पनि समय खायो। निदाउन निदाउन खोजेको दिन
धुरूधुरू रोइरहेछ जस्तो लाग्यो। मन झन झन बिरसिलो हुँदै गयो। घरमा आएँ। आमा आइसक्नु भएको
रहेछ। ब्यबहारको फन्दाले होला – उहाँले मृत्युको शोकलाई बिर्सन थाल्नुभए जस्तो लाग्यो। ‘म पनि
ब्यवहारकै फन्दामा पर्न पाए हुन्थ्यो,’ मेरो मनले भन्यो, ‘सानातिना काममा अलमलिन पाए, ठूला दुःखहरूको
पीडा सम्भि्कइरहन त पर्दैनथ्यो कि!’

झमक्क रात परेपछि बुवा घरभित्र छिर्नुभयो र बैठक कोठामा थकित शरीर बिसाउँदै भन्नुभयो,
“गौशाला भन्दा उता जानै सकिन। जताततै मान्छे मात्रै छन्। विवेकको नाकमुख देखिन। भित्रै पसेको होला
। अरूको जे गत, त्यसको पनि सोही गत भन्ने सोचेर म चाहिं गौशालाबाटै फर्किएँ।”

“आज संस्कारको दिन, बेलुका अलिनो खाने कि!” आमाले सामाजिक मर्यादाको सम्झना गराउनु
भयो। मलाई लाग्यो – यसो भनेर आमा कुनै सनातन धर्मको पालना गरिरहनु भएको छैन। आफूले
नजीकबाट चिनेको नेताको दाहसंस्कारमा श्रद्धान्जलीको फूल चढाउने विशिष्ट शैलीलाई उहाँले अबलम्बन
गर्न खोजिरहनु भएको छ।

“आज केही नबनाउ, केही खान मन छैन,” बुवाले आमासँग भन्नुभयो, “उभिने ठाउँ कतै छैन
पशुपतिमा। कत्रो सम्मान! नेपालका न कुनै राजाले पाए, न कुनै प्रधानमन्त्रीले पाए। भविष्यमा पनि यस्तो
त नहोला। सामान्य नागरिक भएर राज गरे मदन भण्डारीले नेपाली राजनीतिमा। महान हुन मदन
भण्डारीलाई कुनै पद चाहिएन, कुनै ओहोदाको चाँदतोडा भिर्नु परेन।” बुवाले यसरी राजनीतिको सम्मान
गरेको त्यस अघि मैले सुनेकी थिइन। त्यसैले म बुवालाई हेर्न एकोहोरिएकी थिएँ। बुवाले मतिर फर्किंदै
भन्नुभयो, “देशले यति धेरै सम्मान गरेको इतिहास पुरूषको श्रद्धा गरौं हामी सबै। आज चुलो नबालौं।”

तपाईंहरू अझै आर्यघाटबाट फर्किसक्नु भएको छैन होला। दाई पनि त आउनु भएको छैन।
दाइलाई पर्खिएर साँझ, ढोका बाहिरको पींढीमा बसिरह्यो। घरि घरि त्यो जुरूक्क उठेर आँगनको
उज्यालोमा दाइलाई नियाल्थ्यो, उहाँको छायाँ नदेखेपछि त्यो टुसुक्क ढोकाको आडमा बसेर घडीको सुइतिर
हेर्न थाल्थ्यो।

आज न पढ्न मन लाग्यो नत लेख्न नै। दाइलाई पर्खिएर हामीले केहीबेर बितायौं। उहाँ नआउनु
भएपछि आमाले हामीलाई ग्लुकोज पानी खान दिनुभयो। आज घरमा कसैलाई खान मन लाग्ने छैन भनेर
उहाँले दिउँसै सोच्नुभए जस्तो लाग्यो।

पानी खाएपछि पनि हामी धेरैबेर दाइलाई पर्खेर बसिरह्यौं। अहँ, दाइ आउनु भएन।
के साँझ पर्न मध्यरात चाहिन्छ आज?

जेठ २७ गते
बानेश्वर।

प्रिय,

आज एउटा नमिठो घटना घट्यो अफिसमा।
चर्किएको मध्यान्ह थियो। साढे बाह्र बजेको थियो। हाम्रो एकजना स्तम्भकार आउनु भयो। उहाँसँग
मेरो राम्रो चिनजान थियो। त्यसैले मैले नै पहिले नमस्कार गरेँ।

“नमस्कार सर,” उहाँको अनुहार शान्त थियो, सौम्य थियो। उहाँले नजिकै आएर सोध्नुभयो, “तिमी
सञ्चै छ्यौ? गाउँतिर आउन छोडिहाल्यौ। भेटघाटै छैन। आजभोलि दाई कता?”

अर्थात्, उहाँ र म पुराना चिनारू थियौं। केटाकेटीमा उहाँले मलाई पढाउनु भएको थियो। दाइ
त्यतिबेला एस.एल.सी. दिने तयारीमा हुनुहुन्थ्यो र म सात कक्षाको परीक्षा दिएर बसेकी थिएँ। उहाँले
त्यसैबेला आफू स्कूलमा पढाउन आएको कुरो हामीलाई सुनाउनु भएको थियो। गाउँहरू त्यतिबेला
उपत्यकामा पनि पहाडतिरकै जस्ता हुन्थे। उहाँले हाम्रा बुवाआमाहरूलाई समेत चिन्नुहुन्थ्यो। मैले
एस.एल.सी दिइसक्दा पनि उहाँ त्यही स्कूलमा शिक्षक हुनुहुन्थ्यो। पछि दाइ र म क्याम्पस पढ्न शहर आउँदा
पनि उहाँसँग हप्तामा एकाध पटक भेट भैहाल्थ्यो, किनभने हामी विदाको दिन आयो कि गाउँतिर
दौडिइहाल्थ्यौँ। पछि उहाँ राजनीति र लेखनतिर लाग्नुभयो। केटाकेटीमा हामीलाई साह्रै माया गर्ने गुरू
हुनुहन्थ्यो उहाँ। त्यसैले पनि होला, उहाँप्रति मेरो सम्मानभाव अलिक बढी नै थियो।
“दाइको सरूवा भयो,” मैले भनें “अहिले हामी घरमा तीन जना मात्र छौं।”

“आमा बुवालाई मेरो नमस्कार सुनाउनु है,” उहाँले मायालु पाराले भन्नुभयो र सोध्नुभयो, “तिम्रो
जागीर यही टेबलमा स्थायी भयो कि क्या हो?”

“त्यस्तै जस्तो छ,” मैले पनि मन खोलेर भनें, “जागीरमा माथि जान पनि उचालिदिने कोही हुनुपर्दो
रहेछ। कामले माथि जान सकिंदो रहेनछ। चाकरी गर्न मनले नदिएपछि मच्ची मच्ची थच्ची हुँदो रहेछ।”

“सम्पादकजी माथि हुनुहुन्छ?” सरको सोधाइको आवाज सुन्दा मलाई अलिक अनौठो लाग्यो। सर
आफ्नो भावना लुकाउन जान्नुहुन्न। त्यसैले उहाँको खुशी, रिस, आक्रोस जस्ताको तस्तै उहाँको अनुहारमा
पोतिइहाल्छ।

“केही भयो र सर?” मैले डराइ डराइ सोधें।

“यिनीहरू कस्तो बदाम ब्यापारी जस्ता रहेछन्! लेखक खालि पैसाका लागि लेख्दैन। यिनीहरूले
एउटा लेखको हजार रूपियाँ दिएका छन् भन्दैमा लेखक यिनीहरूको खेलौना हुन्छ? हुदैन। लेखकको छातिमा
स्वाभिमानको आगो बलिरहेको हुन्छ। निरन्तर बलिरहने ज्योति जस्तो। त्यसैले उसँग आत्मसम्मान हुन्छ।
पैसा नाथे के हो? आज हुन्छ भोलि हुँदैन। भोलि हुँदैन, पर्सी हुन्छ। तर मान्छेको सम्मान त्यति सजिलरी
आउने र जाने हुँदैन। यिनीहरू त सम्झौता पालन गर्न पनि जान्दा रहेनछन् ए!”

असाध्यै नमिठो लाग्यो। आफ्नो सर भएर हो अथवा आफ्नो गाउँले दाई भएर हो थाहा छैन। उहाँको
भनाइ सुन्ने बित्तिकै मलाई लाग्यो – हाम्रै तर्फबाट उहाँको अपमान हुने कुनै काम भएको छ।

उहाँलाई अखबारमा लेख्न लगाउन महाभारत नै भएको थियो। मेरो र उहाँको चिनजान छ भन्ने त
त्यहाँ धेरैलाई थाहा थियो। पहिलोपल्ट अखबारको प्रमुख रिपोर्टरले मसँग लेखका लागि सरलाई मनाइदिन
आग्रह गर्नुभयो। मलाई पनि राम्रै लाग्यो। कम्तिमा हप्तामा एक दिन राम्रो कुरा पढ्न त पाइने भयो भन्ने
लाग्यो। त्यसैले म त्यसको लगत्तैको शनिबार गाउँमा गएँ। उहाँ गाउँमै बस्नुहुन्थ्यो।

“तिम्रा मालिकहरू लेखकको, सिर्जनाको सम्मान गर्न जान्दैनन्,” उहाँले मलाई सम्झाउदै भन्नुभयो,“उनीहरू पत्रकारिता गरिरहेका छैनन्, उनीहरू त पत्रकारिताको ब्यापार गरिरहेका छन्। म जस्तो मान्छे

कसरी ब्यापारमा टिक्न सक्छु र? ब्यापारै गर्ने भए त खेतमा धान थियो, बारीमा तरकारी थियो, आठ दश
लिटर दुध दिने भैंसी पनि थियो। खै मैले केही गर्न सकिन। राजनीतिमै पनि म दासतातिर लाग्न सकिन।
दुःख भए पनि मैले आत्मसम्मानको राजनीति रोजें। त्यसैले नानी, हुन्देउ, म त्यहाँ लेख्न सक्दिन। सरले
मान्नुभएन भन्देउ, कुरो सकिइहाल्छ।”

आफ्नो सरसँग बहस गर्नु त हुन्थेन, तैपनि मनले जितेर मैले भनें, “सर, मान्छे जस्ता भए पनि
अखबार त अक्षरको खानी हो। एकैचोटी पचास साठी हजार मान्छेले तपाईंको बिचार पढ्न पाउछन्,
तपाईंको कुरो तपाईंकै भाकामा जान्न पाउछन्। लेख्दा के बिग्रन्थ्यो र!”

प्यारी बहिनीको नाक समातेर हल्लाए जसरी उहाँले मेरो नाक समाउदै भन्नुभयो, “चाँदनी, तिमी
ठूली भयौ, तिमी जागिर खाने भयौ, केही दिनपछि हामी डोलीमा राखेर तिमीलाई घर पठाउछौं। तर तिमीले
पूंजीपतिको कालो मन चिनेकी छैनौ। तिनीहरू लेखक कलाकारको मर्यादा राख्न जान्दैनन्।”

“त्यस्तो दिन आएछ भने चटक्कै छोडिदिने नि। आखिर सरले त्यहाँ जागिर खाएको हेाइन क्या रे!
हामी जागिरेले पो जस्तो पनि भुक्तमान सहनु पर्छ। सरले त त्यो कार्यालयतिर मुखै नफर्काए पनि हुन्छ।
पारिश्रमिक पनि घरैमा पठाउन लाइदिउँला। अथवा मै बुझेर ल्याइदिउँला,” डोली चढाएर विदा गर्ने
माइतिको ब्यवहार पाएकोले होला मैले झन बढी लाडे पल्टिदै अनुरोध गरेँ।

“अपमान महसुस भएकै दिन म त लेख्न छोडिदिउँला। तर त्यतिबेला तिमी जस्ता भाइबैनीहरू
धुरूधुरू रूनेछौ। तिमीहरूलाई मैले रूवाउनु हुँदैन।”

“हामी रून्नौ। सरको गर्व निहुरिएन भनेर बरू हामी आफ्नो पनि शिर ठाडो पार्नेछौं।”
मेरो जिद्दी देखेर सर छक्क पर्नुभो।

“आज तिमी जाउ,” सरले मेरो टाउको मुसार्दै सम्झाउनु भयो, “सरले मान्नु भएन भन। भविष्यमा
तिम्रा लागि भए पनि म लेखुंला। मैले राखेका सबै कुराहरू पुरा हुन्छन् भने म लेख्न सक्छु। तर अहिले
उनीहरूसँग यी कुनै कुरा नगर्नु। सरले मान्नुभएन मात्र भन्नु।”

मेरो काम हुनेभयो भनेरै म फर्किएँ। त्यसदिन लेख सम्पादकले मलाई तीन चार चोटी खोजेछन्।
शायद उनी काम भैहाल्छ भनेर ढुक्कै थिए। काम भएन भन्न मलाई मन लागेन। त्यसैले साँझमा मैले
उनलाई फोन गरिन। भोलिपल्ट कार्यालय गएको एकछिनपछि सम्पादकले के भयो भनेर फोनमै सोध्नुभयो।
मैले पनि सरले मान्नुभएन भन्ने जवाफ दिएँ। उहाँले त्यसपछि आफ्नो कोठामा बोलाएर कुरा उक्काउनु भयो
। ‘सरले किन लेख्न मान्नुभएन?”

यस्तो प्रश्नको लागि त म तयार थिइन। तर पनि कुनै न कुनै उत्तर त दिनुपर्थ्यो। त्यसैले मैले
उत्तर मिलाएँ, “सर, उहाँ आजसम्म कसैका सामु दब्न मान्नुभएको छैन। शायद उहाँ आफ्नो बाहेक अरू
कसैका सामु शीर पनि निहुराउन मान्नुहुन्न। अखबारमा लेख्न थालेपछि मालिकहरूले हेप्छन्, सम्पादकको
हप्कीदप्की हुन्छ भन्ने उहाँलाई लागेको हुनसक्छ। मैले धेरै कर गरेँ, हुन्देउ नानी, मलाई फुर्सद छैन मात्र
भन्नुभयो। उहाँको फुर्सद नहुने त कुरो छैन। शायद मैले भनेको नपत्याएको हो कि!”

“त्यस्तो त किन हुन्थ्यो र? मान्छेहरू आफैं लेख छापिदे भन्न आउछन्।”

“तर उहाँ त्यस्तो होइन सर। उहाँले छापिदे भनेर कसैलाई भनेको मलाई थाहा छैन। सबै उहासँग
माग्नै जान्छन् र माग्न जानेलाई रित्तै फर्काएको पनि मलाई थाहा छैन। त्यसैले सरहरूले आफैं कुरा गर्दा
शायद उहाँले लेख्नुहुन्थ्यो कि!”

“ठीक छ, म कुरा गरौंला।”सम्पादकले सरसँग कुरा गर्नुभयो। तर कुरो मिलेन। मैले सम्पादकको तिक्तता सुनें, “बडो अप्ठेरो पारिदिनु भयो। मप्रति तपाईंका मालिकको ब्यवहार अपमानजनक हुदैन भन्ने ग्यारेण्टी गर्नुहुन्छ? भनेर अवाक् पारिदिनु भयो। मैले कहाँबाट ग्यारेण्टी गर्नु! आफैंले पचासौं पटक अपमानित हुनुपरेको छ। गजबको मान्छे हुनुहुदो रहेछ। आत्मसम्मान भन्दा अहंकार बढी भए जस्तो।”

कुरो बिग्रिने पो हो कि भन्ने डर मलाई लागेको थियो। मैले सरलाई बेलुका फोनबाट कनकन पनि
गरेँ। “नानी, जहाँ सम्मान हुँदैन, त्यहाँ म जान सक्दिन। तिमीलाई थाहै छ। सम्पादकले मेरो आत्मसम्मान
सुरक्षित हुने ग्यारेण्टी गरेनन्। म कसरी लेख्न सक्छु र? तिमी आफ्नो प्यारो सरको शीर निहुरिएको देख्न
सक्छ्यौ?”

त्यो त म देख्न सक्दिनथें। तर सरले लेख्नै पर्थ्यो।

त्यो दिन पनि राती नै थियो। सरले आउने हप्तादेखि लेख्ने कुरो मैले थाहा पाएँ। सरले नै फोनमा
सुनाउनु भयो मलाई।

कम्पनीका मालिकले सरलाई रात्रीभोजको निम्तो दिएका थिए एउटा ठूलो होटलमा। डेस्क प्रमुख र
सर आमन्त्रित हुनुहुदो रहेछ। सरले दिउँसै छक्क परेको स्वरमा मलाई सोध्नुभएको थियो, “नानी मलाई
एउटा ठूलो होटलमा खाना खाने निम्तो दिएका छन्। तिम्रो कम्पनिका मालिक स्वयम् आउने रे। मेरो त मुटु
नै ढक्ढक् गर्दैछ। उही लेख्ने कुराका लागि त होला।”

“सर, साह्रै अररो भएर नाइ नभन्दिनु होला,” मैले अनुरोध गरेँ, “आफ्ना सबै शर्तहरू राख्ने मौका
यही हो।”

त्यो रात्रीभोजमा कुरो मिलेको थियो। आफूसँग नसोधी ‘कमा’ पनि तल माथि गर्न नपाइने शर्त
सरले राख्नुभएछ। त्यो पनि हुने भएछ। सरको बार र टिप्पणी रहने स्थानका बारेमा पनि सम्झौता भएछ।
सरले मलाई भन्नु भएको थियो – “हामी लेखकहरू कानूनका कुरा जान्दैनौं। यो एउटा भलादमी सम्झौता
हो, तर वाध्यकारी सम्झौता हो। म हप्ताको एउटा बारमा लेख्छु, त्यसमा कमा पनि संशोधन गर्न पाइदैन,
मेरो लेख अनिवार्यतः सिरानमा हुनुपर्छ, मेरो पारिश्रमिक म माग्दिन, समयमा पाइन भने अर्को अंकदेखि
लेख्दिन, यो लेखाइ मेरो आवश्यकता होइन, तपाईहरूको अनुरोध हो भन्ने तपाईंहरू सबैले बुझ्नु पर्छ। कुनै
दिन मेरो मन अपमानित भयो भने म सामान्य सूचना दिएर लेखाइबाट अलग्गिन्छु।”

हामी सबै खुशी भयौं। सरले लेख्न थाल्नुभयो। दाइले पहिलो अङ्कको लेख पढेपछि खुशी भएर
विराटनगरबाट फोन गर्नुभयो। भन्नुभयो उहाँले, “केटी अब तिमीहरूको पत्रिका पनि पढ्न पर्ने भयो, सरले
नियमित लेख्ने हुनुभएको हो?”

एक वर्ष, सर र कम्पनी बीच राम्रै सम्बन्ध रह्यो। हामीले पनि राम्रो लेख पढ्ने मौका पायौं।
अखबारको विस्तार पनि फैलियो। हामी सबै खुशी भयौं।

दशैंमा सरले दश हजार पेश्की लिनुभएको थियो। त्यसलाई हामी सबैले स्वभाविक ठानेका थियौं।
बेलामौकामा त्यस्तो भैरहन्थ्यो। त्यसले कुनै नकारात्मक परिणाम निकाल्ला जस्तो पनि हामीलाई लागेको
थिएन।

तर कुरो बिग्रिएछ। सरको लेख पुछारमा छापिएछ। अब कुरो बिग्रियो भन्ने हामीलाई लाग्यो।
“चाँदनी,” सरको फोन आयो। कम्पनीको इमानदार कर्मचारी भए जसरी मेरा खुट्टाहरू कामे।

“चाँदनी, देख्यौ बगरे काइदा! मैले दश हजार पेश्की के लिएको थिएँ, लात हानिहाले तिनले। अब
जति अपमान गरे पनि मैले सहनै पर्ने भयो। कित मैले पैसा खोजेर ऋण फिर्ता दिनुपर्ने भयो कित किचिक्क
निहुरिएर लेखिरहनु भयो। तिम्रा सम्पादक कोठामा छन्?”

सम्पादकजी आउनु भएको थिएन। तर पनि मैले घरैको फोन दिएर उहाँहरूको सम्पर्क मिलाइदिएँ।
आधा घण्टामा उहाँहरूको कुरो सकियो होला भन्ठानेर मैले सरको फेान नम्बर थिचें।

“कसैले बीचमा बदमासी गर्‍यो, यो गल्ती नै हो, मेरो समस्यालाई यहाँले बुझिदिनु पर्‍यो, अब यस्तो
हुनेछैन, भन्नुभयो।”

“माफ मागेपछि त लेख्नै पर्छ सर, फेरि यस्तो दोहोरियो भने चटक्कै छोड्दा पनि हुन्छ।”
सरले लेख्नुभएको थियो। त्यसपछि बीचमा दुइटा पाठक प्रतिकृयाहरू सरको लेखको विरूद्धमा
छापिएका थिए। उहाँले दुबैपटक लेख्दिन भन्नुभएको थियो। तर त्यसलाई पनि हामीले नै सामसुम पारेका
थियौं।

आज के भयो थाहा थिएन। आज त उहाँको लेख छापिने दिन पनि थिएन।

“सर, केही भयो फेरि?” मैले फेान खेलाउदै सोधें।

“अब सबै समाप्त भयो,” उहाँले गम्भिर स्वरमा भन्नुभयो, “आज यिनीहरूको अखबारमा मेरा
विरूद्धमा दुइटा टिप्पणी छापिएका छन्। पहिलो हो पाठक प्रतिकृया। त्यो पाठक प्रतिकृया नक्कली हो। मेरो
आफ्नै सालोको नाममा त्यो प्रतिकृया छापिएको छ। शायद नक्कली प्रतिकृया लेख्ने कम्पनीको भाटलाई मेरो
बिहे अन्तरजातिय हो भन्ने थाहा थिएन होला। त्यसैले नमिल्ने जाती र थरको प्रयोग गर्दा त्यसले मेरै घरतिर
पनि तान्नसक्छ भन्ने तिनलाई थाहा पाएन। सँगैको ब्यङ्ग कोलममा पनि जसको जौ खाने उसैको जुँगा
उखेल्ने भनेर मैले यो अखबारका बारेमा गरेको टिप्पणीलाई लिएर मनपरी लेखिएको रहेछ। मैले आफ्नो
लेखको गणना गरेर पैसा फिर्ता लिनु भनेको छु।”

“कम्पनीका कोही ठूलाबडासँग कुराकानी भएन सर?” मैले डराई डराईं सोधें।

“फोनमा कुरा गरेँथें मैले। यस्ता कुरालाई ब्यक्तिगतरूपमा लिइदिनु भएन भन्दै थिए। मैले हुँदैन
भने। अहिले सम्पादकलाई जानकारी गराइदिउँ भनेर आएको। म अब यो पत्रिकामा लेख्दिन।”
सरको मन बेस्सरी पिरिएको थियो। त्यो जलेको थियो। त्यसैले मैले फेरि पनि लेखिरहनु पर्छ भनेर
थप अनुरोध गर्न सकिन।

मैले सम्पादकको नम्बर थिचें। टेलिफोन उठ्यो। मैले सर आउनु भएको कुरो बताएँ। सामान्यतयाः
भेटघाटको समय पहिले नै मिलाउने चलन थियो। आउनेहरू यतिबेला आउछु है भनेर फोनमा समय लिने
गर्थे। त्यसैले सम्पादकले नाईं पो भन्नुहुने हो कि भन्ने शंका लागेको थियो। तर अनौठो! उहाँले सजिलरी
भन्नुभयो, “माथि पठाइदेउ न!”

सर भर्‍याङ चढ्नु भयो। मलाई चौ चौ लागिरह्यो। उसो त सम्पादकको कोठामा दिउंसो पसेको
मानिस लामै समय गफ गरेर फर्किन्थ्यो। तर आज मलाई लाग्यो – सर तुरून्तै फर्किनु हुन्छ र सम्पादकसँग
खस्रो मसिनो गरेरै फर्किनु हुन्छ।

नभन्दै त्यस्तै भयो। पन्ध्रै मिनेटमा उहाँ भर्‍याङबाट तल झर्नुभयो। उहाँप्रति सद्भाव जाहेर गर्न म
बसेको ठाउँबाट जुरूक्क उठें। भुर्इंतलामा कोही थिएनन्। म भर्‍याङको नजिकै गएँ।
“के भयो सर?” मैले सकेजति विनम्र भएर सोधें।

उहाँ खिसिक्क हाँस्नुभयो। अघि जाँदाको आगो उहाँको अनुहार र मन दुबै ठाउँमा निभिसकेको रहेछ
। मेरो मन चङ्गा भयो।

“चाँदनी, मैले यो अखबारमा अब नलेख्ने भएँ,” उहाँले गर्वोन्मत्त स्वरमा घोषणा गर्नुभयो। मलाई
नमिठो लाग्यो। हप्तामा एकदिन पाइने रमाइलो पनि श्रोतमै सुक्ने भएछ।

असार २७ गते
बानेश्वर।

प्रिय,

आज असाध्यै नराम्रो लागिरहेको छ। दिन त उज्यालै थियो – तर साँझ नै रातमा रूपान्तरित भए
जस्तो लागेको छ। बाक्लो रात झन कस्तो भयावह होला! तपाईं यतिबेला के गर्दै हुनुहुन्छ?
हाम्रो कार्यकारी निर्देशक विमारी हुनुभयो। अकस्मात नै भन्दा हुन्छ। सोमबारसम्म रामरी काम
गरिरहनु भएको थियो। अकस्मात उहाँको टाउको दुख्यो। अफिसबाटै उहाँलाई डाक्टरकोमा लगियो। कुन
डाक्टरकोमा लगियो? हामी जस्ता साना तिना मान्छेहरू भए भरसक वीर अस्पताल या शिक्षण अस्पतालमा
जान्थ्यौं होला। हामीले जानेसम्म ती दुबै ठाउँमा राम्रै उपचार हुन्छ। अथवा कुनै सामुदायिक अस्पतालमा
पुग्थ्यौं कि! तर ठूला मानिसहरूको उपचार नर्सिङ्ग होम र नीजि क्लिनिकहरूमै हुन्छ। रोग सानो होस् कि
ठूलो, उपचार ठूलै हुनुपर्छ।

मलाई यसले नमिठो पारेको होइन। गरीबको उपचार गरीबै हुन्छ र धनीको उपचार धनी नै हुन्छ।
यो विभेदलाई नेपालमा राज्य, समाज, चेतना सबैले सकारिरहेको छ। त्यसैले नेपालका लागि यो सांसारिक
नियम नै हो। उही रोग लाग्ने कुनै नेपाली जिल्लाका अस्पतालहरूमा औषधि नपाएर मर्छ, कुनै नेपाली
काठमाण्डौका सरकारी अस्पतालहरूमा छटपटाइरहेको हुन्छ भने कुनै नेपाली नर्सिङ्ग होममा आरामले
पल्टिइरहेको हुन्छ। यतिमात्र होइन, कुनै नेपाली भारत या थाइल्याण्डका अस्पतालमा स्वाँस्वाँ फ्वाँफ्वाँ
गरिरहेको हुन्छ भने कुनै नेपाली बेलाइतको महङ्गो अस्पतालमा गरीब नेपालीको धनी पैसा खर्च गरिरहेको
हुन्छ। त्यसैले यो भेद देखेर मैले दुःख मान्न छोडेको धेरै भयो। भाग्य र कर्मको नाममा होइन, हाम्रो
मुलुकमा सभ्यता र सुसंस्कार छैन, एक नेपालीले अर्को नेपालीलाई सघाउने संस्कृति छैन भन्ने बुझेर मैले
मान्न छोडेकी हुँ। वर्गीय समाजमा भेद हुन्छ, माथिल्लो वर्गको मानिसले सुविधाका सबै औसरहरूको
सदुपयोग र दुरूपयोग गर्ने छुट पाएको हुन्छ, तल्लो वर्ग औसर नपाएर मृत्युको प्रतिक्षा गरिरहेको हुन्छ भन्ने
सत्यलाई निराशाको धरातलमा मैले सकारेकी हुँ। दाइसँग मेरो जहिले पनि यसैमा झगडा हुन्छ। उहाँ
भन्नुहुन्छ, “सामाजिक न्यायको कुनै विकल्प हुँदैन। शोषण समाप्त हुन्छ। जाति, वर्ग, समुदायका आधारमा
भैरहेको थिचोमिचो समाप्त हुन्छ। सबैले महसुस गरेर यसलाई समाप्त गर्न चाहे शान्तिपूर्ण ढङ्गले यो समाप्त
हुन्छ, होइन भने गरीबहरूको क्रन्दनले आक्रोसित बनेको हिंसाको हतियारले यसलाई समाप्त पार्नेछ।”
म त कता पो पुगेछु! थानकोट हिंडेको मान्छे जरसिङ्गपौवा पुगे जस्तो! गाली नगर्नुस् है! कुरो
हाम्रा कार्यकारी निर्देशक र मालिकको सन्दर्भमा थियो।

मालिक विरामी हुनुभयो। उहाँको जाँचपडताल भयो। घातक रोग लागेको रहेछ। तुरून्तै अपरेशन
गर्नुपर्ने भयो रे। हाम्रो अफिसमा मुर्दाघरको सन्नाटा छायो। रोगलाई भरसक लुकाउने प्रयत्न गरियो। तर
सच्चाइ कसरी लुक्छ र? त्यो त धुरी चिरेर पनि बाहिर आइहाल्छ।

“उहाँको टाउकाको अपरेशन गर्नुपर्ने भयो,” सम्पादकले मलाई भन्नुभयो, “तिमीसँग सोधपुछ गर्लान्
मानिसले। तीन दिन केही नभन्नु। अस्पतालमा अनावश्यक भीड हुन्छ। अपरेसनपछि सघन उपचार कक्षमा
राख्दा आखिर भेटन दिने होइन कसैलाई। त्यसपछि बिस्तारै मान्छे हेरी हेरी जवाफ दिनु।”

आफ्नो दायित्व निर्वाह गर्न मलाई कुनै गाह्रो थिएन। त्यतिसाह्रो फोन पनि आएनन्। शायद घरतिरै
सम्पर्क गरेहोलान् पारिवारिक घेराका मानिसहरूले। मसँग केही स्तम्भकारले सोधे, केही साहित्यकारले सोधे,
केही पाठक र केही शुभेच्छुकहरूले सोधे। मैले उनीहरूलाई सम्पादकले अह्राए भन्दा दुइ दिन पछिसम्म
भेटन नपाइने कुरो सुनाएँं। त्यत्रो ठूलो अपरेशन, के भन्न सकिन्छ र!

अरूलाई बताउने र अस्पताल पठाउने कामले मात्रै आफ्नो दायित्व पुरा हुँदैनथ्यो। पातलो शरीर
भएको हाम्रो निर्देशकको ब्यवहार हाम्रा प्रति मायालु थियो। मालिकपनको घमण्ड प्रायः हामी देख्दैनथ्यौं।
त्यसैले उहाँको परिवारमा हामी उहाँलाई नै सबैभन्दा बढी श्रद्धा गर्थ्यौं। त्यस्तो मान्छे विमारी भएर
पल्टिरहेको बेला हाम्रो शुभकामनाको पनि त खाँचो पर्थ्यो नि!

अपरेशनपछिको पाचौं दिन हामी मन मिल्ने केही कर्मचारीहरू उहाँलाई हेर्न अस्पताल गयौं। अनौठो
लाग्यो हामीलाई। त्यस्तो अस्पताल त हामीले कहिल्यै देखेकै रहेनछौं। अस्पताल हो कि होटेल हो त्यो,
हामीले छुट्याउनै सकेनौं।

निर्देशक आकाशे रङ्गको ओछ्यानमा सुत्नुभएको थियो। चिल्लो थियो उहाँको अनुहार। विमारी
जस्तो नलाग्ने। हामी सबै खुशी भयौं।

हामी सबैले “शिघ्र स्वास्थ्यलाभको शुभकामना” चढायौं। उहाँले मुसुक्क हाँसेर त्यसको प्रत्युत्तर
दिनुभयो।

कोठा फराकिलो र लामो थियो। कोठाको पूर्वी भित्तामा विरामीको सुकिलो ओछ्यान थियो। सुकिलो
ओछ्यानको देब्रे किनारमा ठिक्कको फ्रिज राखिएको थियो। शायद त्यहाँभित्र विरामीले खाने कुराहरू
राखिन्थ्यो होला। कोठाको पश्चिमी भित्तामा विरामी रूङ्गने आफन्तका लागि सुत्ने ओछ्यान पल्टाइएको थियो
। त्यो ओछ्यानको छेउमा दुइटा सोफाका कुर्ची र दुइटा फलामका कुर्चीहरू राखिएका थिए। विरामीको
परिवार आउदा त्यहाँ धेरैबेर बस्न सजिलो होस् भनेर त्यस्तो ब्यवस्था गरिएको होला। अरू मानिसलाई
भीडभाड गर्न त अस्पतालले कहाँ छुट दिंदो हो र?

हामी सबै तिनै सोफा र कुर्चीहरूको छेउमा उभियौं। म्याडमले हामीलाई त्यहँि बस्न इशारा
गर्नुभयो र आफू मालिकको छेउमा उभिनु भयो।

धनी मानिसलाई उपचार गर्ने अस्पताल धनी नै थियो। त्यत्रो कोठामा सजिलै चार ओटा
ओछ्यानहरू राखेर धेरै विरामीलाई उपचार दिन सकिन्थ्यो। तर त्यहाँ फगत एकजनाले सन्नाटा रूँगेर
बस्नुपर्ने बनाइयो जस्तो लाग्यो मलाई। धन्न प्रकृतिले साथ दिएको रहेछ। त्यो लामो कोठाको पश्चिमतिर
दुइटा ठूला ठूला झ्यालहरू थिए। झ्याल बाहिरबाट आइरहने ट्याङ ट्याङ आवाजले कोठाको मौनतालाई
टुक्क टुक्क हिर्काएर जीवनको अनुभूति दिइरहँदो रहेछ।

चिल्लो थियो अस्पतालको कोठा। आजभोलि रङ्गको नयाँ प्रबिधि आएको छ नि काठमाण्डौमा। पेरिस
भन्ने चिल्लो, अस्वस्थकर र तम्तम्याइलो रङ्ग संयोजन। हो त्यही लगाइएको थियो त्यहाँ। सेतो रङ्गको पेरिस
गरिएको हुनाले त्यो सैह्य थियो। विरामीको मन कसरी रमाउदो हो त्यो तम्तम्याउदो पेरिसमा! हुन त हामी
पाँच छ हजार तलब पाउनेलाई के थाहा पेरिसको आनन्द? साँच्चै त्यसमा मान्छेको मन रमाउछ कि!
रङ्ग जेको लाए पनि मौन कोठाले मान्छेको मनभित्रको मौनतालाई मुरी मुरी माया पोखेर गम्लङ्ग
अँगालो हाल्थ्यो।

हामी बीस मिनेट जति बस्यौं। सिस्टरले हामीलाई धेरै भीड नगरिदिन अनुरोध गरिन्। हामी बसेको
ठाउँबाट जुरूक्क उठ्यौं। निर्देशकको श्रीमतीले मलाई बोलाउनु भयो, “चाँदनी, तिमी एकछिन यता आउ त,
सर तिमीलाई काम अह्राउन खोज्दै हुनुहुन्छ।”

झस्स डर उमि्रयो शरीरमा। उहाँको स्वास्थ्यको बारेमा सोध्ने कसैलाई मैले ठीकसँग जवाफ पो
दिइन कि! म निर्देशकको नजिकै गएँ।

“तिमीले राम्रो गर्‍यौ। मैले थाहा पाएँ। अब कसैलाई नरोके हुन्छ। कसैले फोनबाटै स्वास्थ्यलाभको
कामना गरे भने नोट गरेर राख्नु र बेलुका अस्पतालमा निस्किएर घर जानु।”
“हस् सर,” मेरो मुखबाट रेडियोको जस्तो जवाफ फर्कियो।

भेटघाट खुलेको छ भन्ने थाहा पाएर हो कि टाउकाको अपरेशन गरेको मान्छेको स्वास्थ्यको प्रगति
कस्तो भैरहेको छ भन्ने चासो भएर हो, त्यसपछि बाक्लै टेलिफोन आउन थाले। मैले त दिनैपिच्छे पो
अस्पताल जानुपर्ने भयो। मेरो ब्यस्तता बढेको देखेर निर्देशकले निमित्त निर्देशकलाई मेरा लागि केही समय
अस्पतालको जागीरमा मिलाउने निर्देशन दिनुभयो। मैले सुन्नेगरी नै उहाँले फोनमा आदेश दिनुभयो,
“चाँदनीलाई दिनहुँ यता आउनु पर्ने हुनथाल्यो। तिनलाई तीन बजे नै अफिसबाट छुट्टी दिनु।”
सरले दया गरेका हुन्, माया गरेका हुन् अथवा आफूप्रति शुभकामना ब्यक्त गर्नेहरूप्रति तत्काल
आफ्नो धन्यवाद फिर्ता गर्नका लागि टेलिफोन उठाइरहने म जस्तो सामान्य कर्मचारीलाई आफू अस्पतालमा
रहुन्जेल नीजि सहायक नियुक्त गर्न खोजेका हुन्, सरले नै जान्ने कुरो भयो। तर म बिहान अफिस आउँदा
एक दर्जन साँघुरा आँखाहरू मेरो शिकार गर्न बन्दुक भएर उभिइरहेका हुन्थे। कति साँघुरो छ होगि नेपाली
चेतना! त्यो आफैंलाई पनि विश्वास गर्न सक्दैन।

जे होस्।

म कार्यालयबाट गाडी अथवा मोटरसाइकलमा अस्पताल जान्थें। अस्पतालमा निर्देशकको परिवारको
कुनै न कुनै सदस्य हुन्थ्यो। कहिले म तिनै सदस्यलाई दिनभरिको प्रगति बताइदिन्थें भने कहिले सिधै
निर्देशकसँग कुराकानी गर्थें। कतिपयलाई निर्देशक त्यहँिबाट धन्यवादको टेलिफोन गर्न पनि लाउनु हुन्थ्यो।

बढीमा एकाध घण्टा अस्पतालमा बिताएर म घर फर्किन्थें।

बिरामी भेट्न जानेहरूलाई अस्पतालको ब्यवस्थापन थाहा हुने कुरो भएन। त्यस्तो सोधखोज गर्ने
कुरो पनि आएन। तर हप्ता दिनसम्म अस्पताल धाउँदा त्यहाँ एकाध सिस्टरहरूसँग मेरो चिनजान भयो।
आज म तीन बजे नै अस्पताल पुगेकी थिएँ। निर्देशकको श्रीमती आफ्नै हातले विमारीका लागि
मौसमको रस बनाइरहनु भएको थियो। पतिपत्नीमा एकजना विरामी भएपछि अर्कोको मनको माया, सागर
जसरी उर्लिएर आउछ होला। आफू बाहेक अरू कसैको सेवाप्रतिको विश्वास समाप्त हुन्छ होला। नत्र हाम्रो
निर्देशककी पत्नीले यस्तो सानो काममा हात हाल्ने कुराको कल्पना कसरी गर्न सकिन्छ र?
मैले निर्देशकलाई दिनभरिको टेलिफोनको रिपोर्ट गरेँ। उहाँले तीन जनालाई त्यहँि कोठाबाट
टेलिफोन गर्न अह्राउनु भयो। टेलिफोनमा दुइ जना भेटिनु भयो। तेश्रोलाई बेलुका घरबाट आफैंले धन्यवाद
दिनु भनेर अह्राउनु भयो।

“चाँदनी, तिमी एकछिन बस है,” निर्देशककी श्रीमतीले मलाई अह्राउनु भयो। म उही बिरामी रूङने
सोफामा गएर बसें।

तर सन्नाटामा चुपचाप कसरी बसिरहन सकिन्थ्यो र? मेरो मनले भन्यो ‘चाँदनी, तँ दम्पतिको
मायाको बीचमा काँढो बनेकी छस्।’

“म्याडम, म उता सिस्टरसँग अलमलिन्छु, बोलाउने बित्तिकै आइहाल्छु,” मैले अनुरोध गरेँ।

“हुन्छ, जाउ न, आज तिमीलाई लिएर मैले बजार जानु छ। सरलाई भोलि घर लाँदैछौं। अलिकति
किनमेल गर्नुछ। म तिमीलाई घरमै छोडिदिउँला।”

सुन्दा अप्ठ्यारो लाग्ने प्रस्ताव भए पनि कर्मचारीको स्वतन्त्रता कहिले पो निर्वाध हुन्थ्यो र?
म सिस्टरको कोठामा गएँ। म भन्दा थोरै सानी लाग्ने ती बहिनी एक्लै थिइन्। उनले खिसिक्क
हाँसेर एउटा कुर्ची मतिर सारिदिइन्।

“तपाईंहरूको सर भाग्यमानी हुनुहुँदो रहेछ। उहाँको मिसेस दिनभरि सेवामा बसिरहनु हुन्छ। हामी
त उही मेडिकल हिसाबले मात्रै त्यहाँ जाँदा हुन्छ।”

म खिस्स हासें। यसको जवाफ के हुन्थ्यो र?

“दिदी, तपाईं उहाँहरूको अफिसको कर्मचारी होइन?” उनको प्रश्न सुनेर एकछिन छक्क परेपछि
मैले जवाफ दिएँ, “हो,”।

“तपाईं पनि त हामी जस्तै हुनुहुँदो हो, त्यसोभए। काम गरेर खाने मान्छे।”
तिनको कुरो सुनेर म छक्क परेँ। कस्तो प्रश्न होला यो?

“हो।”

“तपाईंको सरलाई उहाँको मिसेस महङ्गो महङ्गो कुरा मात्रै खुवाउनु हुन्छ। सस्तैमा उही कुरा पाउदा
पनि महङ्गै खोज्नु हुन्छ। मैले धेरैचोटी ख्याल गरेँ – नेपालमा पाइने सबैभन्दा महङ्गो बिस्कुट मात्रै खुवाएको
देख्छु। स्याउ पनि डिपार्टमेण्टल स्टोरको मात्रै किनेर ल्याएको देख्छु। यस्तो किन भएको होला?”
म झन छक्क परेँ। मलाई नै थाहा छैन किन त्यस्तो भएको हो!

“यस्ता मानिसहरूले सामाजिक कार्यमा थोरै लगानी गरिदिए कति मानिसको कल्याण हुन्थ्यो?
नचाहिने ठाउँको खर्च कटाएर चाहिने ठाउँमा लगाइदिए यस्ताहरूको कति हाइ हाइ हुन्थ्यो!”
मैले सिस्टरको अनुहारमा दाइ हाँसिरहेको देखें।

“तिम्रो घर टाढा हो?”

“धेरै टाढा – तपाईंको त काठमाण्डौमै होला होइन?”
मैले टाउको हल्लाएर हो भनेपछि उनले भनिन्, “हाम्रो घर धेरै टाढा पर्छ। भोजपुर हो, भोजपुरमा
पनि सदरमुकाम भन्दा धेरै टाढा ….

तिनी बोल्दै गइन्। नदी जस्तै थियो तिनको बोली। ठाउँ ठाउँमा झर्नाहरू भेटिन्थे। तर तिनको
आवाज ठूलो हुँदैनथ्यो। झर्ना त छङछङ गरेर बग्छ होइन र। तर तिनको झर्नामा छङछङपना हुँदैनथ्यो।
त्यो नदी जस्तै शान्त थियो …

“मैले ०४९ सालमा हाइस्कूल पास गरेँ। दुइ वर्ष मिहिनेत गरेर नर्सिङ्ग पढें। यहाँ काम गरेकी छु।
सबैले ठूलो अस्पताल भन्छन्। साढे चार हजार पाउँछु। भाइ र म बसेका छौं। भाइलाई इन्जिनियर बनाउने
सपना छ। आइ. एस्सी. दियो। पढाइ राम्रो छ। तर सबैथोक भनसुनमा चल्छ भन्छन्। आफ्नो त त्यस्तो
भनिदिने र सुनिदिने कोही छैन। तपाईं त काठमाण्डौको मान्छे। चिन्नुहुन्छ होला धेरैलाई ..। सहयोग मागें
भने दिनुहुन्छ?”

सिस्टर थिइनन् तिनी। तिनी त्यतिबेला मिर्ग भएकी थिइन्। आँखामा अलिकति डर थियो, अलिकति
ग्लानी, अलिकति पिडा, अलिकति सुस्केरा र छेउमा सानो आशा!

निर्देशकको श्रीमतीले ढोका ढक्ढक्याएको हुनाले हाम्रो कुरो अड्कियो। उदास मन बोकेर निस्कने
बेलामा मैले तिनलाई भनें, “बैनी, तिमीले काठमण्डौमा मेरी एउटी दिदी छ भनेर सम्भि्कनु है। म
बेलामौकामा तिमीसँग भेटौंला। एकदिन तिमीलाई म हाम्रो घर देखाउला। अप्ठ्यारो नमानी आउने जाने गर्नु
। मेरो दाइ हुनुहुन्छ तिमी जसरी नै सोच्ने। तिम्रै जिल्लाको हुनुहुन्छ मेरो भावी श्रीमान, उहाँको मन पनि
तिम्रो जस्तै छ। तिमीले मलाई आफ्नै ठान्नु। म हाम्रो सरसँग तिम्रो भाइको बारेमा अनुरोध गराँैला। तिम्रो
स्याहार सुसारबाट उहाँ खुशी हुनभयो होला भन्ने लाग्छ। उहाँबाट हुनसक्ने सहयोग पक्कै हुन्छ,” मैले
हौसिएर सबै कुरो एकैचोटी सक्याएँ।

बिचरी! तिनको आँखाले मेरो चासोलाई मुरी मुरी धन्यवाद दियो।
किनमेलमा मलाई मेरो जागिरले घिसार्यो। मेरो मनको सिउंदो त अघि नै पुछिइसकेको थियो।
घर आइपुग्दा साँझ ओर्लिन खोज्दै थियो। यस्तो अप्ठ्यारो घडीमा दाइ नै मेरो आड हुनुहुन्छ भन्ने
त तपाईंलाई थाहै छ। तर आज दाइ पनि घरमा हुनुहुन्नथ्यो।

म कोठामा पसें। त्यो पनि उदास थियो।

तपाईंलाई सम्झना छ? हाम्रो स्नेहबन्धनका प्रारम्भिक दिनहरूमा तपाईंले आफ्नो पहाडको घरबाट
एउटा चिठी पठाउनु भएको थियो। मेरो मनले भन्यो – त्यही चिठी पढेर मन बुझा।
तपाईंका सबै चिठीहरू जतन गरेर राखेकी छु मैले। तपाईंले लेख्नुभएको थियो,
चाँदनी,
आज म संसारिक मोहबाट मुक्त भएँ। आमाको काम सकिएपछि मलाई लाग्यो – यो संसारसँगै मेरो
मोह भङ्ग भयो।

काठमाण्डौबाट उड्दा आमा बिमार हुनुहुन्छ भन्ने मैले थाहा पाइसकेको थिएँ। तर उहाँ कत्ति विमार
हुनुहुन्छ भनेर मलाई कसैले भनेका थिएनन्। पोहोर मात्रै बुवाको मृत्युले गलाएको उहाँको शरीरको घाउ १८
महिनापछि बल्भि्कएछ भन्नेसम्म लागेको थियो।

आफ्नो जन्मथलो जाँदा जहिले पनि मन चङ्गा हुन्थ्यो मेरो। जहाजको उत्तरपट्टिको पँखेटातिर बसेर म
यात्राभरि हिमाल नियाली रहन्थेँ। पैंतिस मिनेको त्यो उडाइ मेरो घरलाई बिस्तारै नाघेर पूर्वतिर लाग्थ्यो। घर
माथि आइपुग्दा प्यारासुट भए म यहँि झर्ने थिएँ भनेर मेरो मन पुलकित हुन्थ्यो। तर मैले प्यारासुटका बारेमा
योजना बनाउन पाउदा नपाउदै हवाइजहाज ध्याच्च रोकिए जसरी आकाशमै अडकिन्थ्यो। आँखा अगाडि
छोटो हवाइमैदान देखिन्थ्यो। जन्मथलोका घाँसहरूमा टेक्दै म आफ्नो घर जाने ओरालोतिर लाग्थें।
नदीको दोभानबाट बाटो उकालो लाग्थ्यो। दोभानमा आएपछि म जहिले पनि आधा घण्टासम्म
पुलमा उभिन्थें। केटाकेटीमा यहीँको पानीले मेरो शरीर सिँचेको थियो भन्ने सम्झनाले मेरो शरीरमा रगतको
नयाँ भल्को थपिदिन्थ्यो।

बुवा खस्दा यत्ति धेरै चोट महसुस गरेको थिइन मैले। बुवाको उमेर पनि पाको भैसकेको थियो र
अब जाने दिन आए भनेर बुवाले धेरैपटक भनिसक्नु भएको थियो। बुवा जहिले पनि आमाका कारण चिन्तित
हुनुहुन्थ्यो। सौतेनी माम्लो थियो घरमा। दाइहरू आमालाई उत्तिसाह्रो राम्रो मान्नु हुन्नथ्यो। आफ्नो सम्पत्ति
खान आएकी आइमाई भनेर भरसक किनारै लाउन खोज्नुहुन्थ्यो। म आफ्नो खुट्टामा उभिन सक्ने भैसकेको
थिइन। बुवा जहिले पनि एकान्तमा मलाई भन्नुहुन्थ्यो, “तेरा दाइहरूको मति ठीक छैन। छाती फराकिलो
छैन। म नभएपछि आमाले धेरै दुःख पाउछे। तेरो खुट्टो अडिने भएपछि जान पाए हुन्थ्यो जस्तो लाग्छ। तर
मरण कहाँ आफ्नो हातमा हुन्छ र? माथिबाट बोलाहट आउने बित्तिकै परिवार रूवाउँदै हिंडिहाल्नु पर्छ।
त्यसैले ख्याल राखेस आमाको। अंश रामरी छुट्याइदिएको छु। तेरी आमाको नाउँमा जीउनी छ। तँ र
भाइको सगोलमा हालिदिएको छु। तेरा सबै दाजुहरूलाई छुट्टीभिन्न गरिदिइसकेको छु। घरी घरी लाग्छ –
तेरी आमासँग बिहे गरेर मैले त्यसमाथि ठूलो अन्याय गरेँ।”

म बालाई शान्त्वना दिन्थें। बुवा र आमाको उमेरको बीचमा २८ वर्षको अन्तर थियो। बुवाले त्यो
कुरा गर्नु हुँदा उहाँ उनासी वर्षको हुनुहन्थ्यो, आमा भरखर एकाउन्न लाग्नु भएको थियो। म बी.कम. पढ्दै
थिएँ र भाइ नौ क्लासमा गाउँमै पढ्दै थियो।

बुवा त्यही साल जानुभयो। मानसिक सन्तापले पनि उहाँलाई चाँडै लग्यो।

बुवाको शरीर नदी किनारको शोलामा चढ्न भ्याउँदा नभ्याउँदै घरभित्र झगडाको बिरालो पस्यो।
ठूली आमातिर तीन जना दाजुहरू हुनुहुन्थ्यो। उहाँहरूले हामी बसी आएको मूलघर कब्जा गर्न खोज्नु भयो।
गाउँलेहरू दुइतिर बाँडिए। कोही हाम्रा भए, कोही उहाँहरूका भए। बल उहाँहरूकै बढी थियो, गाउँमा हाम्रो
भन्दा बढी प्रभाव उहाँहरूकै थियो। हामीले घर छोड्ने परिस्थिति आयो।

त्यसबाट हामी टर्‍यौं। मैले तिमीलाई एउटी दिदीसँग चिनजान गराएको थिएँ। उहाँ मेरी सौतेनी
आमाकी छोरी हुनुहुन्छ र उहाँ माथि पनि सौता थोपरिएको छ। उहाँले सौतेनीपनको पिडा बुझ्नु भएको रहेछ
। उहाँले दाजुहरूको सातो खानुभयो र बुवाले गरेको बन्दोबस्त तलामाथि नपार्न हकार्नु भयो। दाइहरूले
दिदीको कुरो काट्न सक्नुभएन।

तर आमालाई सताउन उहाँहरूले छोड्नु भएन। आफ्नै बिरहको घर भएकी दिदीले कतिन्जेल पो
आमा माथि सहानुभूति खन्याउन सक्नुहुन्थ्यो र? आमाका अँध्यारा दिनहरू बाक्लिंदै गए। जीवन टेकाउने
उहाँभित्रको आत्मविश्वास सुक्दै गयो। उहाँले जीवनबाट बिदा लिने निर्णय गर्नुभयो।

तर म यो लामो परिवर्तनबाट अज्ञान रहेँ। मसँग विदा हुन मात्र आमा ओछ्यानमा सुतिरहनु भएको
रहेछ। घरमा आइपुगेको अपरान्ह मात्र मैले सच्चाइ थाहा पाएँ। त्यही साँझ मैले मनमनै आमालाई विदा गरेँ

आमा जति दिन बाँच्नुभयो, त्यतिन्जेल हामीले उहाँको सेवा गर्‍यौं। हामीले उहाँलाई डाक्टर नभएको
अस्पतालमा लगेनौँ। बजारको कम्पाउण्डरलाई बोलाएर सकेसम्मको औषधी उपचार गर्‍यौं। तर हाम्रो प्रयत्न
ब्यर्थ भयो। आठौँ दिनका दिन आमा हामीसँग विदा हुनुभयो। र विदा हुँदा आमाले मेरो भाइको हात मेरो
काखमा ल्याएर मेरो जिम्मेवारी बोध गराइदिनु भयो।

चाँदनी, मेरो अनुरोधलाई अन्यथा नसम्झे। हामीले एक अर्कालाई प्रेम गर्‍यौँ। हामीले कहिल्यै एक
अर्कासँग कुनै कुरो लुकाएका छैनौँ। हामीले एक अर्कालाई दुःख र सुखमा साथ दिंदै पनि आयौँ। त्यसैले मैले
यति भन्ने साहस सँगालेको हुँ।

पहाडमा हाम्रो नाममा जग्गाजमीन होला। तर अब हामी बिस्थापित भयौं। भाइले एस. एल.
सी.पास गर्‍यो। उसलाई पढाउन यात मैले जिल्लाको सदरमुकाममा डेरा लिनुपर्छ या मैले उसलाई
काठमाण्डौमा आफैंसँग राख्नुपर्छ। भाइलाई म छोड्न सक्दिन र उसलाई लिइराख्न मसित तेश्रो बाटो छैन।
भाइ पनि गाउँबाट उखेलिएपछि हाम्रो नाममा भएको जग्गाजमिन हाम्रो हुनेछैन। त्यो दाइहरूको बलात्
कब्जामा पर्नेछ। मैले जसलाई कमाउन दिए पनि एकाध वर्ष अन्नको पैसा आउला, त्यसपछि त्यो सदाका
लागि समाप्त हुनेछ। त्यसैहुनाले संकटका घडीमा म र मेरी आमालाई साथ दिने तिनै दिदीलाई मैले
जग्गाजमिन सुम्पिने निर्णय गरेको छु। आफ्ना दाजुभाइलाई तिरस्कार गरेर विमाताको साथ दिने न्यायप्रिय
दिदीले त्यो जग्गा पाउनु भयो भने उहाँको जीवन अहिलेभन्दा सुखी हुनेछ। म र भाइ पनि सत्कर्ममा
बुवाआमाको सम्पत्ति लगानी भएको छ भनेर सधैँभरिका लागि ढुक्क हुनेछौँ।

त्यस्तो अवस्थामा काठमाण्डौको मेरो भौतिक आधार साँघुरो हुन्छ। तिमीलाई थाहै छ – म अहिले
साढे पाँच हजार कमाउछु महिनाको। आजसम्म मैले आमा र भाइका लागि महिनाको खर्च छुट्याउनु परेको
थिएन। यसो चाडबाडको खर्च छुट्याए पुग्दैथियो। तर अब त्यस्तो हुँदैन। मसँग भाइ हुनेछ र उसको दैनिक
खर्चको ब्यवस्था मैले नै गर्नुपर्नेछ। गरीबीको पिडा कस्तो हुन्छ भन्ने मैले पहिलो पटक काठमाण्डौ आउदा नै
महसुस गरेको थिएँ। बिहानको चियामा चिनी तौलेर हाल्ने बानी बसाल्नु पर्छ। भात पकाउदा गिलासमा
भरेर, नमरिहाल्ने हिसाबले चामल राख्ने बानी बसाउनु पर्छ। दाल, भात, तरकारी, अचार भन्ने खाद्य पदार्थ
सपनाको कथा हुन्छ। एक्लै हुँदा साथीसँग मिलेर बसेको थिएँ म। खर्च जोगिन्थ्यो। भाइलाई ल्याएपछि मैले
एक्लै बस्नुपर्छ। त्यस्तो अवस्थामा साढे पाँच हजार दुइ जनाका लागि अनिकालको खर्च मात्र हुन्छ।
भाइ मेरो जिम्मेवारी हो। आमा जानु भएर मात्र मैले उप्रति दया देखाएको होइन। यो विश्वमा अब
हामी दाजुभाई नै सबै हौं। हाम्रो न समात्ने हाँगो छ, न टेक्ने डालो। त्यसैले भाइ र मैले आफैँलाई हाँगो र
डालो दुबै बनाउनु परेको छ। यस्तो स्थितिमा मैले खाजा नखाएर, लुगा नलाएर भए पनि भाइलाई राम्रो
शिक्षा दिनुपरेको छ। उसको त्यो हक हो। साधारण स्कूलमा पढेर पनि उसँग बोर्डिङ्ग स्कूलका विद्यार्थीलाई
पराजित गर्ने क्षमता छ। यसैपालिको एस.एल.सी. परीक्षामा उसले आफ्नो क्षमता प्रदर्शित गरिसकेको छ। म
उसलाई डाक्टर अथवा इन्जिनियर त बनाउन सक्दिन होला, तर मैले उसलाई सकेसम्मको राम्रो शिक्षा
दिनैपर्छ। आफूलाई बन्धक राखेर भए पनि मैले उसलाई असल शिक्षाको उचाइमा पुर्‍याउनै पर्छ।
यस्तो अवस्थामा चाँदनी मैले तिमीसँग माफी माग्नुपर्छ। मेरा लागि चार पाँच वर्ष प्रतिक्षा गर भन्ने
अन्धो स्वार्थको प्रदर्शन म गर्न सक्दिन। अहिले नै तिमी बीस वर्षकी भैसकेकी छ्यौ र एकाध वर्षपछि
बुवाआमाले तिम्रो विवाहका लागि आत्तुरी गनुपर्छ। त्यतिबेला मैले तिम्रो विवाह रोक्ने प्रस्ताव गरेँ भने
विवेकजी र मेरो मित्रतामा पहिरो जान्छ, मैले आमाबुवाको मायाबाट पखालिएर किनार लाग्नुपर्छ। संसारमा
एक्लो भैसकेको म त्यो स्नेहबाट बञ्चित हुन चाहन्न। त्यसैले तिमीलाई पर्खाउने अनैतिक आग्रह मैले पाल्नै
हुँदैन। तिमीले म सम्भि्कएर आफ्नो जिन्दगीलाई एक्ल्याउनु हुँदैन। जहाँ जस्तो अवस्थामा भए पनि हामी
असल साथी भइरहन सक्छौं। त्यसैमा मैले सन्तोष मान्नुपर्छ।

परिस्थितिले मेरा सामु उभ्याएका पर्खालहरूलाई तिमीले देख्नेछ्यौ, मलाई माफ गर्नेछ्यौ र मेरो
भाइको उज्यालो भविष्यको कामना गर्नेछ्यौ भन्ने विश्वासका साथ,

असार २८ गते
बानेश्वर।

प्रिय,

त्यतिबेला तपाईंको चिठी पढेर म थाहै नपाई रोएकी थिएँ। भाइबहिनीलाई दाजुदिदीहरूले माया
गर्छन् भन्ने थाहा थियो। दाइले पनि मलाई माया नै गर्नुहुन्थ्यो। तर भाइबहिनीका लागि दाजुदिदीहरूले
आफ्नो स्वार्थलाई कसरी तिलान्जली दिंदा रहेछन् भन्ने ज्ञान पाएकी थिएँ र पिडाले होइन, गर्वले रोएकी थिएँ
म। त्यो पत्र नै मेरा लागि हाम्रो सम्बन्धको निर्णायक पत्र भैदियो। त्यतिबेलै, पत्र पढ्दा पढ्दै तपाईंको पवित्र
उद्देश्यमा मैले साथ दिनुपर्छ भन्ने मलाई लागेको थियो र साथ पाउने बित्तिकै हाम्रो पवित्र प्रेम झन उज्यालो
हुन्छ भन्ने मलाई विश्वास थियो।

त्यतिबेला, तपाईंको विरसिलो पत्र पढिरहेको बेला मेरा आँखा रसाएका भए पनि ती तपाईंको
त्यागको रापले उज्याला भएका थिए होलान्। तर ती अस्पतालकी सिस्टरले आज मलाई बेस्सरी रूवाइन्।
पीडाले नै रूवाइन्। बिहेको उमेर भैसकेको छ उनको। शायद उनको जीवनको बाटोमा कोही प्रेमी म जसरी
नै क्षितिज हेरेर उभिइरहेको पनि होला। आफ्नो प्रेमीको सम्झना गर्ने फुर्सद पनि नहुँदो हो उनलाई शायद।
ठूलो अस्पताल, धनीमानी विमारीहरू, सेवा अनुरूपको पारिश्रमिक नपाए पनि ठूलाहरूको सेवा गर्दा पछि
भाइका लागि केही गर्न सकिन्छ कि भन्ने उनको चाहनाले उनको आफ्नै प्रेमीप्रतिको प्रेम पनि रूखो भएको
होला शायद!

त्यसैले मैले आफ्नो निर्देशकसँग अनुरोध गरेर भए पनि ती बैनीलाई सहयोग गर्ने टुङ्गो गरेँ। यति
गराँैला भनेर मैले तिनलाई वचन समेत दिइसकेकी छु। निर्देशकले सहयोगको आश्वासन दिनुहुन्छ भन्ने
कुरामा म ढुक्कै भएकी छु। हेरौँ, मेरो सहयोग काम लाग्छ कि लाग्दैन!
ती बहिनीको एउटा सहारा त म भएँ, तर त्यतिबेला तपाईंसँग केही थिएन, तपाईंको कोही थिएन।
अहिले जसरी छ्यास्छ्यास्ती स्कूलहरू पनि खुलेका थिएनन्। उसमाथि चार वर्ष भाइले काम गर्नुहुँदैन भन्ने
तपाईंको बलियो आग्रह थियो र म त्यो आग्रहलाई घाइते बनाउन नसक्ने अवस्थ्ामा थिएँ। त्यसैले तपाईंको
सहयोगी हुनुभएको दाइलाई तपाईंको पत्र पढ्न दिएँ। दाइले पत्र मलाई नै फिर्ता दिँदै भन्नुभयो
“व्यक्तिप्रतिको जिम्मेदारीबोधले देशप्रतिको जिम्मेदारीबोधलाई टेवा दिन्छ। मलाई लाग्छ – तैँले यो पत्रको
मान राख्नुपर्छ र प्रतीक्षामा केही वर्ष बिताउनु पर्छ। उसै पनि आजको जमानामा बिवाहको उमेर भनेको
चौबिस पच्चिस वर्ष नै हो।”

तपाईंलाई सम्झना छ? तपाईंहरू घरबाट फर्किएपछि मैतीदेवीमा अलग्गै डेरा लिएर बस्न
थाल्नुभएको थियो। तपाईं साथीहरूसँग मिसिएर बस्दा त म तपाईंको कोठामा जान अन्कनाउथें। तर घरबाट
फर्किएर आउने बित्तिकै दाइ, तपाईं र म बसेर हाम्रो भावी जीवनको टुङ्गो गरेपछि म दुबै परिवारमा विभाजित
भैसकेकी थिएँ। तपाईं भाइसँग एक्लै बस्न थाल्नुभएपछि त्यो कोठामा मेरो हक लाग्यो भन्ठानें मैले। त्यसैले
म मौका मिल्यो कि फुत्त डेरामा पस्थें।

शायद त्यो बिहानलाई तपाईंले बिर्सिदिनु भयो होला। त्यतिबेला तपाईंहरू भात खान ठिक्क
पर्नुभएको थियो। म फुत्त पसेँ। भाइले साह्रै अप्ठ्यारो मान्नुभयो। तपाईंले पनि आफ्नो अप्ठ्यारोलाई
लुकाउन खोज्नुभयो जस्तो लाग्यो मलाई। तपाईंहरूको भातको भाँडो रित्तो थियो। बाँडेर तपाईंहरूले थालमा
भात पस्किसक्नु भएको थियो। त्यति भातले भोक मरे पनि ठिक्कै, नमरे पनि ठिक्कै हुनुपर्थ्यो। मैले नियालेर
हेरें – तपाईंले आफ्नो थालमा भात थोरै पस्किनु भएको थियो र भाइको थालको भातलाई चुली नबनाएर थोरै
बनाउने कोशिश गर्नुभएको थियो।

भाइले अप्ठ्यारो माने पनि म तपाईंहरूले खाएको हेरेर बसिरहेँ। केही समयपछि यही मेरो घर हुने
हो, यही ब्यवहारमा मैले भिज्नुपर्छ, आफ्नै विमातृ दाजुहरूको ब्यवहारबाट क्षुब्ध भएको सानो भाइलाई मैले नै
लामो समयसम्म गाउँमै छोडिएकी दिदीको माया दिनुपर्छ भन्ने भावनाले मलाई त्यहाँ बसाइरह्यो। तर भात
खाइरहेका भाइको टाउको नै उठेन। भाइको बोझिल अनुहारका कारण तपाईंले पनि अरू बेला जस्तो खुलेर
कुरा गर्नुभएन।

मैले त्यो बैनीलाई त्यही दिनको चित्रमा सम्भि्कएँ। तिनको भाई भोकाउदो हो भनेर शायद दिदीले
धेरै भाग भात भाइको थालमा हाल्दिंदी होलिन्। भाइलाई दिदीको सुकेको शरीर देखेर खान अप्ठ्यारो लाग्दो
हो। दिदी भाइको भविष्य नियाल्दी हुन्। भाइ दिदीको वर्तमानसित लजाउँदो हो।
तिनको पनि कोही म जस्तै एउटा शुभाकाङ्छी भैदिए! त्यतिबेला मेरो भावना कल्पिएको थियो।
अहो! जीवन कत्ति निष्ठुरी हुन सक्दो रहेछ। हाम्रो निर्देशकको एक दिनको खर्चले ती दिदीबहिनीले
दुई महिना टार्नु पर्ने रहेछ। बिचरा तिनीहरू मध्य कोही एकजना विमारी पर्‍यो भने उसले पनि तपाईंकै
आमाको जस्तो मृत्यु बहन गर्नुपर्दो हो!

तपाईंलाई थाहा छ? ती दिदीभाइका पनि कोही छैनन्। तपाईंले विमारीका कारण आफ्ना आमा र
बुवालाई गुमाउनु परेको थियो त्यतिबेला। बिचरा अहिले तिनीहरूले त आगो निकाल्दै पड्किने बन्दुकका
कारण आफ्नो सबैथोक गुमाउनु परेछ।

आज फेरि म सधैँको समय पारेर अस्पताल गएकी थिएँ, तिनै बहिनीलाई भेट्न र तिनलाई हाम्रो
घरमा निम्तो दिन। तिनी आज अलिकति फुर्सदमा थिइन् किनभने हाम्रो निर्देशक सुत्नुभएको महङ्गो विमारी
कोठा अहिले एक्लै पल्टिइरहेको थियो र तिनको एकजना दायित्व घटेको थियो। मैले तिनीसित आफ्नो
घरबारका बारेमा सोधेकी थिएँ। उनले भनिन्, “यो संसारमा अब हामी दिदीभाइ मात्र छौं। मावली हुनुहुन्छ,
काका काकी पनि हुनुहुन्छ – तर हाम्रा लागि हामी मात्रै छौं। पह्रार साल माओवादी पक्षले सुराकी भनेर मेरो
बुवाको हत्या गर्‍यो। यो साल माओवादीलाई भात खान दिने, घरमा लुकाउने भनेर सरकारी पक्षले मेरी
आमाको हत्या गर्‍यो। हाम्रा आफन्तहरू हामीसँग साह्रै डराएका छन्। हामी भुतप्रेत जस्तै भएका छौं
उनीहरूका लागि। हाम्रा कारण माओवादीले उनीहरूलाई लखेट्छन् भन्ने डरले चौविसै घण्टा तर्सिइरहन्छन्
उनीहरू। बुवाका कारण माओवादीले तिनलाई सताइरहेकै छन्, सरकारले पनि आमाको कारण देखाएर
उनीहरूलाई सताइरहेका छन्। हामी उतै बसेको भए शायद उनीहरू नै जिल्ला छोडेर भारततिर बसार्इँ
सरिसकेका हुन्थे। त्यसैले उनीहरूले हामीलाई गाउँ नआउनु, घरबारी र उब्जनीको चिन्ता नगर्नु भनेर
अनुरोध पठाएका छन्। होला, उनीहरूको पनि अप्ठेरो भनेर हामी यहाँ खुम्चिएका छौं। आखिर गाउँमा अब
छ नै के र? थोरै बारी छ – काकाहरूले दुइ चार पैसा पठाइदिनु होला। अलिकति खेत छ मामाहरूले
बेचबिखन गरेर अलिकति रूपैयाँ पठाइदिनु होला। पठाइदिनु भएन भने पनि के मन दुखाउनु र? आखिर
आफूलाई जन्मदिने बाबुआमा त गुमाउनु पर्‍यो भने नाथे एकचोक्टो बारी र चार गह्रा खेतको के लोभ!”
मैले तिनको लामै दुखेसो सुनेँ। तिनी अलिकति हलुङ्गो भइन् कि जस्तो लाग्यो। मैले तिनको थोरै
भारी अङभर गरेँ कि जस्तो लाग्यो।

आधा घण्टा ती बैनीसँग बिताएर निस्कने बेलामा मैले उनलाई फेरि सम्झाएँ, “आउनु नि यो
छुट्टीको बिहिबार, भाइलाई पनि लिएर आउनु।”

आकास विचित्रै ढङ्गले सफा भएको छ आज। असारलाई त बर्खा भनिन्थ्यो उहिले हामी केटाकेटी
छँदा। यो साल त असारे पन्ध्र पनि हिलोमा लतपतिएन। झार्रझुर्र ओइरिने पानीलाई के झरी भन्नु? असार
साउनमा आकासमा तारा देखिनु अपसगुन हो भन्नुहुन्थ्यो हाम्रो हजुरबा। तपाईं पनि छतमा उक्लिनु भएको
भए ताराहरूलाई लाममा गन्नै थाल्नुहुन्थ्यो होला। के हामी अपसगुनको विपत्तीतिर गैरहेका छौँ?
राजनीति गर्न मैले यो कुरो उक्काएकी होइन। किन बन्दुक पड्किन्छ सधैँभरि कुठाउँमा? मान्छेले
मान्छेलाई साथी माने बन्दुक चाहिन्थ्यो होला? चाहिँदैनथ्यो। मेरो परिवारमा कसैलाई बन्दुक चाहिँदैन।
तपाईंको मनले पनि बन्दुक खोजेन। झगडाको साटो त्याग गरेरै आफूलाई तपाईंले महान बनाउनु भयो।
अहिले त दाजुहरू तपाईंसँग रिसले मुर्मुरिनु भएको होला, तर भोलि उहाँहरूले तपाईंको महानतालाई
नमस्कार गर्नुहुनेछ। भाइको पढाई सकिएपछि, भाइको कतै जागीर भएपछि आफूबाट भएको अन्याय
उहाँहरूको मथिङ्गलमा भुलुक् भुलुक् उफ्रिनेछ। उफ्रिएन भने पनि तपाईं हाम्रो के बिग्रन्छ र?
होला, सरकारले गरेको उत्पीडन, अन्याय र अत्याचारबाटै माओवादी जन्मिएको होला। गाउँमा
ठूलाबडाहरूले गरेको थिचोमिचो र अतिचारकै कारण माओवादीहरू जन्मिएका होलान्। तर यही अवस्था त
सधैँ रहिरहँदैन नि! रात सँधै उभिइरहन सक्छ र? उज्यालो त हुनैपर्छ। उज्यालो आउने नै हो भने सबैले
आफ्नो बन्दुकलाई कोशी, नारायणी र कर्णाली नदीमा लगेर बगाइदिँदा कस्तो हुन्छ?
बन्दुक बिनाको समाज कति सुन्दर हुँदो हो? पवित्र, उज्यालो र मायालु।

पुराना कुरा कोट्याएँ, प्रश्नहरूको मालामा मनको भडास पनि पोखेँ – गाली नगर्नु होला। भाइको
स्नातकोत्तर तहको पढाइ आउने साल सकिने हुनाले पनि मलाई ती सेविका बैनीको पिरोलोले झक्झक्याएको
हो। अहिलेसम्म तपाईंले बोकीरहनु भएको आर्थिक भार अब क्रमशः घट्तै जानेछ। ती सिस्टरका लागि पनि
हामी यही शुभकामना दिउँ – दिदीको स्वार्थत्यागले तिनका भाइलाई सफलताको प्रेरणा प्रदान गरोस्।
तिनको भाइ पनि हाम्रो भाइ जस्तै विवेकी हुन सकोस्। अर्को पाँच वर्षपछि एउटा भाइले दिदीको सपना पुरा
गरोस्। स्वार्थ र लोभका किराहरूले त्यो भाइको गिदीमा गुँड लाउन नसकुन्।

चैत्र मसान्त
बानेश्वर।

प्रिय,

हिजो असाध्यै रमाइलो भयो। हामी गाउँ गएका थियौं। बुवाआमाहरू गाउँमा गैरहनु हुन्थ्यो। म त
गाउँ नगएको ठ्याम्मै वर्ष दिन भएछ। पढाइ र काममा कसरी फसिँदो रहेछ? “गाउँ बिर्सिन्छेस्,” आमाले
भन्नुभयो, “गाउँ बिर्सिएपछि आफूलाई बिर्सन थालिन्छ। त्यसैले गाउँ हिंड्।” दाइले पनि गाउँ जान जोड
गर्नुभयो। उसोत, आजभोलि मौका पायो कि दाइ गाउँ दौडिहाल्नु हुन्छ। समय पाउदा दाइ शहरमै बसेको
हामी कसैलाई थाहै छैन। विदाको दिन हुनाले मलाई पनि सजिलै भयो। बसमा जाँदा बाटामा धेरैबेर अलमल
हुन्छ भन्ठानेर हामी बिहानै ट्याक्सी लिएर गाउँ लाग्यौं।

एक वर्ष नदेखेको भए पनि थलीको उकालोदेखि नै गाउँ फेरिएको थिएन, रत्ती फेरिएको थिएन।
आफ्नो पुरानो गाउँलाई केस्रा केस्रामा केलाउन म थलीको स्कूलमै ट्याक्सीबाट ओर्लिएँ। दाइ पनि त्यहँि
ओर्लिनु भयो। बुवाआमाहरू सिधै घरतिर लाग्नुभयो। हामी दाजु–बहिनी आफ्ना साथीहरूलाई भेट्दै
आलापोटतिर लाग्यौं। आधा घण्टामै दाइ र मेरो बाटो छुट्टियो। उहाँ आफ्नो काममा लाग्नुभयो। म आफ्ना
सीमित साथीहरूसँग भेटघाट गर्दै बिहानको खाना पाक्न नभ्याउदै घर पुगें।

दाइ दिनभरि आफ्नो धन्दामा लागिरहनु भयो। बुवाआमाको त एकभारी कामै थियो। हप्तैपिच्छे गाउँ
जाँदा पनि उहाँहरूको कामको मेलो सरेको हुँदैनथ्यो भने यसपालि त आमा महिना दिनपछि गाउँ आउनु
भएको थियो।

आआफ्ना काम सकेर हामी तीन बजेतिर शहर हिंड्यौं। मन चङ्गा भएको थियो। खचमखच
भरिएको बसमा पनि धेरै चिनारूहरू भेटिनु भयो। मन साह्रै रमायो।

दाई घरमा आउनु भएन। हामी बानेश्वरमा ओर्लिएका थियौं। दाइ सिधै शहर जानु भएको थियो र
बिदा हुने बेलामा ‘म आज राती घर फर्किन्न। बागबजारमा हुन्छु। केही परे त्यतै फोन गर्नु’ भनेर
सम्झाउनु भएको थियो।

अर्थात्, उहाँलाई बेस्सरी चुनाब लागेको थियो। त्यसै हुनाले उहाँ गाउँमा पनि बेफुर्सदिलो हुनुहुन्थ्यो
। दिनभरिमा उहाँले कसैलाई कामको वचन दिनुभएको थियो भने कसैलाई राजनीतिको ज्ञान। उहाँले
कतिलाई शायद जागिरको आश्वासन पनि दिनुभएको थियो कि! बुवाआमालाई पनि दाइको राजनीतिसँग
विरोध छैन। त्यसैले हामी सबैले ‘हुन्छ, तर खाना खान नबिर्सनु’ भनेर उहाँलाई विदा दिएका थियौं।
राती मस्तसँग निदाएकी थिएँ म। लगातार फोनको घण्टी बज्यो। एकछिन त आ जेसुकै होस् भन्ने
लाग्यो। तर फोनको घण्टी बज्न छोडेन। कसले गर्‍या होला फोन यो मध्यरातमा! बत्ती बालेँ। रातको साढे
बाह्र बजेको थियो।

“कत्रो बेर लाएको फोन उठाउन,” दाइको झर्को कानैमा आयो।

“के भो र?” अलि अलि डराउदै मैले सोधें।

“खासै केही भएको छैन, तर पनि सुन्,” मैले हाइ काढेँ। दाइले भन्नुभयो, “तिमीहरूको अखबारको
कार्यालयमा अहिले राती हाम्रा विरूद्ध षडयन्त्र हुँदैछ। काभ्रेपलान्चोकमा हाम्रो पार्टीले अर्को पार्टीको
उम्मेद्वार, कमानसिंह लामाको हत्या गर्‍यो भन्ने समाचार त्यहाँ छापिंदैछ। हामीले तिमीहरूको रात्रीकालिन
डेस्कको मान्छेलाई त्यो समाचार झुठो भएको, कमानसिंहजी एउटा कार्यक्रममा जानुभएको र फर्किएर बनेपा
आइनपुग्नु भएको जानकारी दिएका छौं। मैले पार्टीको केन्द्रीय कार्यालयबाट आफ्नो परिचय सहित कुरा
गरेको छु। भोलि कमानजीको आफ्नै भनाइ तिमीहरूको अखबारमा ल्याइदिने कुरो पनि मैले गरेको छु।
त्यसैले त्यस्तो झुटो समाचार छापेर आफैंलाई र आफ्नो पत्रकारितालाई वदनाम नगराउनुस् भनेर मैले
अनुरोध पनि गरेको छु। उनीहरू विश्वस्त होउन् भनेर मैले तेरो दाइ हुँ समेत भनेको छु। तर पनि
हामीलाई शंका लागेको छ। हुँदै नभएको झुटो समाचार छाप्ने तयारी भैरहेको बेलामा हाम्रो अनुरोध काम
नलाग्न सक्छ, त्यसैले सक्छेस् भने सम्पादकलाई फोन गरेर त्यो समाचार रोक्। उहाँलाई भन्दे – तत्काल
केही घण्टाका लागि त हामीलाई अप्ठ्यारो पर्ला, तर सत्य कुरो बाहिर आएपछि सबैभन्दा ठूलो अप्ठ्यारो
उहाँहरूलाई नै पर्छ।”

“आ, दाइ पनि। मनपरेन भन्दैमा जे पनि भन्नु त भएन नि! यत्रो अखबारले त्यस्तो झुत्रो काम
गर्छ कतै? यस्तो नचाहिंदो कुरो तपाईंलाई कल्ले सुनायो?”

“मसित बहस नगर्। सम्पादकलाई सचेत गरा। यो समाचारको सूचना मलाई ताराले दिएको हो।”
मैले केही भनिन। ताराले दिएको खबर भन्ने बित्तिकै मैले छलफल रोकिहालें। ताराको कुरो सधैं
दाइका लागि विश्वसनिय हुन्छ भन्ने मलाई थाहा थियो। पहिले पनि ताराले बेलाबेलामा घरमा फोन गरेर
दाइलाई समाचारका बारेमा बताउने गरेकै थिइ। त्यसैले मलाई लाग्यो – कुरो साँचो हुनुपर्छ।
मलाई जिम्मेवारीले कुत्कुत्यायो? कि दाइको आदेशले मलाई ततायो? कि अखबारको इज्जत
जोगाउने पिरोलोले मलाइ रन्थन्यायो। मेरो मनले निष्कर्ष निकाल्न सकेन तापनि मैले हतार हतार
सम्पादककोमा फोन गरेर समाचारका बारेमा आफूले पाएको जानकारी दिएँ र उहाँसँग अनुरोध गरेँ, “सर,
मेरो दाईको कुरो झुटो हुँदैन। पक्कै पनि त्यहाँ उहाँहरूको पार्टीलाई फँसाउने काम भैरहेको हुनसक्छ।
तपार्इंले डेस्कमा हस्तक्षेप नगर्दा बिनाकारण एउटा ठूलो पार्टीसँग हाम्रो झगडा बढ्न सक्छ।”
“हुन्छ, म बुझौंला, त्यस्तै रहेछ भने रोकौंला” उहाँको उत्तर साह्रै संक्षिप्त थियो।
मिल्यो होला सबै कुरो भनेर म कोठामा गएर पल्टिएँ। निद्रा लागेको थाहै भएन।
बिहान म उठ्दा दाइ घरमा आइसक्नु भएको थियो। शायद पत्रिकाकै बारेमा कुरो हुँदै थियो। मलाई
देख्ने बित्तिकै दाईले सोध्नुभयो, “तैंले भनिनस्?”

“डेस्कलाई तपाईंहरूले नै औपचारिक जानकारी गराइसक्नु भएको रहेछ। मैले सम्पादकलाई त्यस्तो
झुटो समाचार छाप्न रोक्नुस्, पार्टीसँग झगडा गर्नु राम्रो हुँदैन, भनेर भनेकी थिएँ। उहाँले पनि म बुझौंला,
त्यस्तै रहेछ भने रोकौंला भन्नुभएको थियो,” कुरो बिग्रिएछ कि क्या हो भनेर मैले राती भएको कुराको
सविस्तार वर्णन गरेँ।

“ठीक छ, आज तेरो सम्पादकसँग कुरा गर्न आउनु पर्ला। कति बजेतिर भेटिन्छ त्यो?”
दाइको रिस आगो जसरी दनदनाइरहेको छ भन्ने थाहा भैहाल्यो। मैले भनें, “उहाँ आउने भनेको
प्रायः दुइ बजेतिर हो। तर तपाईं एकछिन सुत्नुस्, रातभरि नसुतेजस्तो छ।”

“तेरो अखबारले निद्रा खाइदियो। अहिले पनि सुत्ने बेला छैन। अखबारले हाम्रो हातबाट मारिदिएको
मान्छेको सस्वर खण्डन लिन अहिले नै धुलिखेल जानुछ। तैंले नै रिसेप्सनबाट चार बजेको समय मिलाइदिनु।
म तीन बजेतिर फर्किन्छु।

दाइ चिया खाएर धुलिखेल लाग्नुभो। मैले आफ्नो कामलाई फेरि अर्कोपल्ट धिक्कार्नु पर्‍यो। मान्छे
कसरी नैतिकताका सारा बन्धनहरूलाई चुँडाल्न सक्छ हँ?

आफ्नो समयमा म कार्यालयमा पुगें। कार्यालय लाजको शोकमा डुबेको होला भन्ने लागेको थियो।
तर त्यो त प्रफुल्ल रहेछ। उही जीवन्तता, उही आनन्द, उही हाँसो। मानौं कार्यालयलाई केही भएकै छैन।
नाङ्गै भएपछि त बौलाहा बौलाहीहरू मात्र लाज मान्दैनन्। के हाम्रो कार्यालय पनि बहुलाएको हो?
सम्पादकज्यु आउने बित्तिकै मैले उहाँलाई भेट्नेहरूले मागेको समयको जानकारी गराएँ। उहाँले
मलाई आफ्नो कोठामै बोलाउनु भयो।

“विवेक शर्मा भनेको तिम्रो दाइ होइन? उहाँलाई एउटा खण्डन पठाइदिनु भन न। जस्ताको तस्तै
छापिदिउँला।”

सम्पादकको कुरो सुनेर म छक्क परेँ। त्यसोभए समाचार एउटा सुनियोजित षडयन्त्र हो? मलाई
सम्पादकको कुरो फिट्टै मन परेन। यस्ता कम्पनीहरूमा आफूभन्दा ठूलासँग बहस गर्दा सजिलै मान्छेको
रोजीरोटी खोसिन्छ। तर त्यतिबेला मलाई त्यसको पनि डर लागेन। यस्तो गैरजिम्मेवार हुन पाइन्छ?
“सर, दाइ र मेरो सम्बन्ध घरभित्रको हो। घर बाहिर हाम्रो स्वतन्त्र अस्तित्व छ। हिजो पनि दाइको
बैनी भएर मैले सरलाई फोन गरेकी थिइन। मैले अखबारको कर्मचारीको दायित्व निर्वाह गर्दै तपाईंलाई फोन
गरेकी थिएँ। जति रिस उठे पनि असत्य समाचार छापेर इबि सँाध्न पाइदैन। पार्टीले हाम्रो कम्युटरमा एउटा
प्रायोजित र झुठो समाचार लेखिंदैछ, त्यो भोलि बिहानको अखबारमा छापिनेछ भन्ने थाहा पाउनासाथ त्यो
समाचार नछाप्न अनुरोध गरेको छ, मारिएको भनिएको मान्छेको सस्वर खण्डन ल्याउने जिम्मेवारी लिएको छ,
डेस्कमा कसैले पूर्वाग्रहवस त्यो काम गरेको हो कि भनेर तपाईंसम्म समाचार पुर्याउने कोशिश गरेको छ।
यस्तो समाचारको तीन लाइनको खण्डन छाप्ने कुरो कसरी न्यायसंगत हुन्छ र?”

“चाँदनी, हामी यहाँका कर्मचारी हौं, नीति निर्माता होइनौं,” उहाँले मलाई सम्झाउने पारामा
भन्नुभयो।

मैले बहस गर्नैपर्ने भयो। त्यसैले मैले भनें, “मेरो हकमा कर्मचारीको कुरो लागू होला। तपाईं त
पत्रिकाको प्रधानसम्पादक हुनुहुन्छ। पत्रिकामा के छाप्नुहुन्छ, के छाप्नुहुँदैन भन्ने प्रश्नको निर्णयकर्ता हुनुहुन्छ।
त्यसैले यो समाचारको दोषबाट तपाईंले पन्छिन मिल्दैन। यात तपाईंकै मनमा दाइको पार्टीप्रति द्वेषभाव छ,
या तपाईं सम्पादक होइन मजस्तै रिसेप्सनिस्ट हुनुहुन्छ।”

सम्पादकले आँखा फुकालेर मलाई हेर्नुभयो। तर मैले डराउनु पर्ने कुनै कारण थिएन। सम्पादकले
मेरो जागीर खाने पनि थिएनन्। ‘यिनै सम्पादकको कालो कर्तुत हुनुपर्छ यो’ मेरो मनले भन्यो, ‘यिनले गर्दा
मेरो दाजु रातभर सुत्न पाउनु भएन। बिचराले अहिलेसम्म खान पनि पाउनु भएको छ कि छैन? धुलिखेलमा
कमानजी भेटिए त ठिकै भयो। कथमकदाचित् भेट भएन भने?’

मेरा आँखाहरू दाइको थाकेको शरीर देख्दै रसाउन खोजे। मैले प्रसङ्ग फेरेर सोधें, “त्यसो भए तपाई
विवेक शर्मासँग भेट गर्नुहुन्न?”

“मसँग समय छैन भनिदेउ।”
म अनायस हाँसें।

“तपाईंले मेरो जागिर खाए पनि म त्यो भन्न सक्दिन सर। तपाईंहरू सँगसँगै मिलेर झुटको खेती
गर्न सक्दिन म। त्यसैले जे सत्य हो, म विवेक शर्मालाई त्यही भन्छु। उहाँहरू तल रिसेप्सनमा आउनु हुँदा
म भन्नेछु, – संपादकले तपाईंहरूसँग भेट गर्न चाहनु भएन।”

सम्पादकले ट्वाँ परेर मेरो मुख नियाली रहनु भयो।
“बेकारमा झगडा बढाउने काम किन गर्छ्यौ?” धेरैबेरपछि उहाँले भन्नुभयो।

“सरले नै अघि मलाई सिकाउनु भएको छ। विवेक शर्मा भन्ने मान्छे मेरो दाइ हो भन्दै उहाँको
ख्याल गर्नु भनेर सिकाउनु भएको छ। त्यसैले म विवेक शर्मालाई ढाँट्न सक्दिन। सर, तल रिसेप्सनमा
उहाँलाई मैले ढाँट्नु पर्‍यो भने पनि बेलुका घरमा मैले ढाँट्नुपछिका सबै कुराहरू जस्ताको तस्तै नसुनाइ
हुँदैन। त्यसैले नढाँट्दा होइन, ढाँट्दा तपाईं र मेरो दाइको बीचमा झगडा बढ्छ। तपाईंले भेट्न मान्नुभएन
भन्ने बित्तिकै तलको समस्या समाधान हुन्छ। किन चाहनु भएन भनेर उहाँहरूले सोध्नुहुने छैन। तर समय
छैन भनेँ भने बेलुका मेरो दाइले ‘तेरो सम्पादक प्रधानमन्त्री भन्दा ठूलो भो होइन? हामीसँग भेट्ने समय
छैन भन्यो होइन?’ भनेर सोध्दा मैले सत्यलाई जस्ताको तस्तै नराखी हुँदैन।”

म सम्पादकको अगाडि उभिइरहेँ। दुइ मिनेटसम्म उहाँ नबोलेको देखेपछि म आफ्नो टेबलमा फर्किएँ

चार बज्न पन्ध्र मिनेट बाँकि हुँदा दुई जना साथीहरूलाई पछि लाएर दाइ कार्यालयको भुईंतलामा
पस्नु भयो। त्यतिबेला म एकजना पाहुनासँग कुरा गरिरहेकी थिएँ। दाइलाई देखेपछि मैले उहाँसँगको कुरा
छोट्याएँ। टेबल रित्तो भएपछि दाइ र उहाँका साथीहरू मेरो अगाडि उभिनु भयो।

“सम्पादकजी हुनुहुन्छ होइन?” यो दाइको प्रश्न थियो।

“हुनुहुन्छ, तर उहाँ तपाईंहरूसँग भेट्न चाहनु हुन्न।”

“किन?” दाइको भृकुटी खुम्चियो।

“त्यो त थाहा छैन। उहाँले एउटा खण्डन छोडेर जानु भन्नुभएको छ।”

“तेरो यो अफिस मान्छेहरूले काम गर्ने कार्यालय हो कि गोसखान हो? (दाइले दुइ वर्ष दार्जिलिङ्गमा
बिताउनु भएको थियो। त्यसैले उहाँ कसैप्रति घृणा पोख्नुपर्‍यो भने ‘गोसखान’ भन्नुहुन्थ्यो। मासुको ठूलो
पसललाई दार्जिलिङ्गतिर गोसखान भनिन्छ होला)। तेरो हाकिमले मनपरी जे पनि छाप्न पाउने अनि हामीले
त्यसको खण्डनका लागि ज्युंदो मान्छे ल्याउँदा पनि भेट्न नपाउने?”

“विवेकजी, प्लिज,” दाइसँग आउनु भएको साथीले उहाँको बाहुलो समात्दै अनुरोध गर्नुभयो।

“पिर नगर्नुस्,” दाइले आफ्नो बाहुलो छुटाउँदै भन्नुभयो, “मैले यो गोसखानको कर्मचारीलाई गाली
गरेको होइन। यो मेरी बैनी हो।”

म हाँसे। दाइ पनि पनि फिस्स हाँस्नु भयो। हामीहरू हाँसेको देखेर अरू दुइजना साथीहरू पनि
हाँस्नु भयो।

“म अहिले धेरै थाकेको छु।” सँगैको साथीतिर देखाउदै उहाँले भन्नुभयो, “मैले भन्दा बढी परिश्रम
उहाँले गर्नुभएको छ। अब हामी घर जान्छौं। खण्डनका लागि म पार्टी अफिसमा फोन गरौंला। तर तैंले
आज जागीरबाट राजीनामा दिनु। यस्तो गोसखानको संगतले मान्छेलाई असल बनाउदैन। पाए जागिर
खालिस, नपाए गाउँमा घरजग्गा छँदैछ, त्यतै जालिस्।”

हामी फेरि हाँस्यौ। दाइले मलाई जिस्क्याउदा सधैं ‘गाउँमा गएर खेती गर्’ भन्नुहुन्थ्यो।
दाइहरू हिंडेपछि मेरो मन झस्किइरह्यो। दाइले जिस्किएर जागीर छोड् भन्नुभएको थियो। मलाई
लाग्यो – त्यो अत्यन्तै गम्भिर सल्लाह हो।

तर मैले दाइको गम्भिर सल्लाह मानिन। ‘अखिर म एकजनाले छोडेर संस्थाले पश्चाताप महसुस
गर्ने होइन, बरू यहीँ बसेँ भने दाइलाई थोरै पनि थप मद्दत पुर्याउन सक्छु’ भन्ने लाग्यो।
मेरो दिन सधैंको जसरी बित्यो। कामको समय सकिएपछि म घर गएँ।

भदौ २७ गते
बानेश्वर।

प्रिय,

हिजो साँझ हाम्रो कार्यालयमा अनौठो घटना घट्यो। चार वर्षमा मैले एकदिन पनि यस्तो देखेकी,
भोगेकी थिइन।

बाहिर क्षेत्रमा खटिएका साथीहरू भरखर आउन थालेका थिए। दुइ जना त्यहँि भुईंतलामा चुरोट
तान्दै उभिएका थिए। चार जना माथिल्लो तलाको आफ्नो कार्यालयमा भरखरै छिरेका थिए।

“खै, यत्ति साह्रै नकच्चरो भएर त लेख्न सक्दिन, बरू काम छोडिदिन्छु,” चुरोटको लामो सर्को तानेर
दिक्दारी पोख्ने भाइको नाम सरोज न्यौपाने थियो। उनी राजनीतिक रिपोर्टिङ्गमा खटिएका हुन्थे प्रायजसो।
उनलाई एकाध पटक मैले घरमा पनि देखेकी थिएँ। उनी र दाइको पार्टी एउटै थियो। त्यसैले कार्यालयमा
हामी दुइजनाको एकान्त हँुदा म उनको घरबार र पहाडको गाउँको बारेमा सोधिरहन्थें। सानै थिए सरोज।
पूर्वी नेपालको संखुवासभाबाट सानैमा झापा बसाइ सरेका सरोज, पाँच वर्ष पहिले काठमाण्डौ आएका थिए।
उनी असाध्यै टाठा थिए। त्यसैले तीन वर्षको छोटो अवधिमा तिनले राम्रो प्रगति गरेका थिए।

उनको टाठोपनका कारण छोटो अवधिमै उनी प्रमुख समाचार संकलक भएका थिए।

उनको छेउमा उभिएर चुरोटको धुवाँ बुङ्बुङती उडाइरहने भाइ अलिक पुराना थिए। शरद अधिकारी
थियो उनको नाउँ। उनी पनि चिन्तित थिए। उनी आफ्ना सहकर्मीलाई भाइ जस्तै ठानेर सम्झाउने र उस्तै
पर्दा हकार्ने पनि गर्दथे। आज पनि उनले सरोजलाई माया गर्दै भने, “सरोज, हामी तिर्खाएका चराचुरूङ्गी
जस्तै हौं। हामी आफैं पानी निकाल्न सक्दैनौं। पानी खोज्दै हामी चारचौरास भौंतारिन्छौं – जहाँ पानी पाइन्छ
त्यहीँ बेग माछर्ौं। त्यसैले हामी, जे चाहन्छौं त्यही गर्न स्वतन्त्र छैनौं। हामी खोज्न स्वतन्त्र छौं। तर कुवा
कसैले हाम्रा लागि बनाइदिनै पर्छ। अनि कुवा बनाइदिनेले पानी खानु अघि केही यक्षप्रश्नहरू हाम्रा सामू
तेर्स्याए भने हामीले त्यसको उत्तर दिनैपर्छ। अन्यथा हामीले पनि भीम, अर्जुन, नकुल र सहदेव जसरी नै
पानी पिउन नपाएर मर्नुपर्छ।”

“यस्तो अत्याचार सहनु भन्दा त बरू मर्नै निको हुन्छ।”

“मर्नु त कुनै हालतमा पनि निको हुँदैन। मरेपछि सदाका लागि विदा भइन्छ, बाँचिरहे फेरि केही
गर्न सकिन्छ। त्यसैले मर्ने कुरो नगरौं। सपार्न सकिने कुरो मात्र गरौं।”

“त्यसको कुनै अर्थ छैन। अब त्यस्तो गर्न सकिने ठाउँ नै छैन। पत्रकार सम्मेलन भएन। तर
पार्टीको प्रवक्ताले तीन जना समाचार संकलकहरूको बीचमा प्वाक्क मुख फोरेर मलाई भन्नुभएको छ –

“तपाईहरूको अखबार हामीलाई साह्रै खेद्छ। हाम्रा बारेमा झुटो कुरो छाप्छ। त्यसैले हाम्रो विज्ञप्तीको
मूलप्रति तपाईंको हातमा दिंदैछु। मान्छे साक्षी राखेर दिंदैछु। मन पर्दैन नछाप्नुस्, हामी दुःखेसो गर्दैनौं। मन
लाग्छ छाप्नुस्। हामी धन्यवाद दिनेछौं।”

“यो पनि त पूर्वाग्रह भयो नि! समाचार नछापिंदै यस्तो छापिएला भनेर कुरा काट्नु त राम्रो होइन
।”

“यो उहाँहरूको अनुभवजन्य डर हो। हामीले पटक पटक उहाँहरूको समाचारमा खेलेका छौं।
पार्टीले प्रदान गरेको सूचना अहिलेसम्म शायदै सद्दे छापिएको होला। कहिले बटारिएको छ, कहिले पार्टीको
कुनै नाम बताउन नचाहने केन्द्रीय सदस्यको परिचयमा आधिकारिक विज्ञप्ती खण्डित भएको छ। त्यसैले
यसपाली पनि त्यस्तै हुन्छ र उहाँहरूको निर्णय जस्ताको तस्तै छापिदैन भन्ने उहाँहरूलाई लागेको छ।”

“मिलाउनुस्,” शरद अधिकारीले भने, “दुबैतिरको समस्यालाई मिलाउनुस्। सके तपाईं पनि त्यही
पार्टीको हुनुहुन्छ क्या रे। तपाईं भन्दा अघिको तपाईंको पार्टीको साथीले बेहोर्नुसम्म हुर्मत बेहोर्नु परेको थियो
। यसैगरी उहाँले पनि चुरोटको धुवाँमा आफूलाई डुबाउनु परेको थियो। पछि उहाँले पार्टी नै छोड्नु भयो कि
पार्टीले उहाँलाई निकालिदियो। तपाईंको पनि त्यस्तै दिन आउनेछ। त्यसैले दुबैतिर मिलाएर काम निकाल्नुस्
।”

“समस्या त्यति सजिलो भए यति धेरै चिन्ता हुने थिएन। प्रवक्ताको भनाइ जस्ताको तस्तै मैले
सम्पादकलाई सुनाए र समाचारमा खेल्ने कुनै सम्भावना नरहेको जानकारी दिएँ। सम्पादकले भन्नुभयो –
पार्टीको कुनै एउटा समर्थकलाई उभ्याएर निर्णयको विरूद्धमा बोलाउनुस्, तपाईं त्यही पार्टीको मान्छे हो।
पार्टीले सरकारमा नजाने निर्णय गरे पनि देशभरिका एकाध लाख कार्यकर्तामा एउटा दुइटा त सरकारमा जाने
पक्षमा होलान् – सकिइहाल्यो।”

“त्यसो गर्दा पनि उम्किन त पाइन्छ।”

“कसरी पाइन्छ उम्किन?” सरोजको प्रश्न कडा थियो, “मेरो काम निर्णय छापेर कसैले नाम दिए
त्यसको नामबाट असन्तुष्टी खोज्नेसम्म हो। तर हुँदै नभएको कथा रचेर पत्रकार हुँ भन्ने गौरव म कसरी
थेग्न सक्छु र?”

चुरोट सकियो। सरोज मेरो छेउमा आए। माया लाग्यो असाध्यै।

“सरोज, अप्ठ्यारो भो?” मैले मायाको मलम लाउदै सोधें।

“दिदी, आजै मेरो अन्तिम दिन हुन्छ होला,” उनले विरसिलो भाकामा भने। सरोज मेरा भाइ हुन
भन्ने मलाई लाग्दैन। म भन्दा उनी एकाध वर्षै जेठा होलान्, तर म भन्दा पछि कम्पनीमा जागीर खान
आएको हुनाले उनी मेरा भाइ भएका हुन्। उनले धेरैबेर यताउता आँखा डुलाउँदै भने, “अपराध गर्न सकिन्छ
जस्तो लागेन। पार्टीले सरकारमा नजाने विज्ञप्ती निकालेको छ। विज्ञप्तीमा खेल्न सकिने एउटा शव्द छैन।
प्रवक्ताले औंला ठड्याउनु भएको छ। यता सम्पादक महोदय पार्टी सरकारमा जाने भो भनेर समाचार
बनाउनुस् भन्नुहुन्छ। त्यस्तो समाचार नबनाए अन्यत्र काम खोज्नुस् पनि उहाँले भनिसक्नु भएको छ।”
चिसो हावाले मेरो कपाल हल्लायो। यस्तो कसरी गर्न पाइन्छ? सरकारमा जाने कि नजाने भन्ने
निर्णय त पार्टीले गर्ने हो। अखबारको काम त पार्टीले जस्तो निर्णय गर्‍यो त्यही छाप्ने न हो। आफैंले
अर्काको पार्टीको निर्णय गरेर त्यसलाई खबर बनाउन कसरी सकिन्छ?

“दाइसँग कुरा गर्छौ?”

“कुराले के होला र? तै पनि दिनुस् न।”

मैले दाइसँग फोन मिलाएँ।

“ … असैह्य भयो। पार्टी सरकारमा भाग लिने भयो भन्ने समाचार बनाउने आदेश आयो। मैले म
त्यसो गर्न सक्दिन भनें। जागीर खाने मन भए पार्टीलाई सरकारमा पठाउनु, छैन भने घर जानु भन्ने जवाफ
आयो। कति निहुरिएर काम गर्नु? अब त काम गर्न सकिन्न। एक महिना पहिले नै राजीनामाको सूचना
दिनुपर्छ। त्यसैले म आजै जागीरबाट राजीनामा दिन्छु। तर समाचार मेरै नाममा छापिन्छ होला। पार्टीमा
मेरो स्थिति स्पष्ट पारिदिनुस् है!”

“सरोज, के तिमीले जागिर नै छोड्न लाग्या?” एक्कासी मेरो मुखबाट निस्कियो।

“अब मसँग कुनै विकल्प छैन। सम्पादकलाई मनाउन जति चाकरी गर्नुपर्थ्यो, त्यो सबै मैले गरेँ।
अनुरोध गरेँ, आफू यस्तो गलत काममा लाग्न नसक्ने कुरा गरेँ। सम्पादकले मलाई भने – कतिपय नेताहरूले
मसँग सरकारमा जाने कुरा गरे, त्यसैलाई आधार बनाउनुस्। चौध जना नेताहरू मध्य दश जना सरकारमा
जाने पक्षमा छन्, महामन्त्रीको तानाशाहीका कारण सबैले मुखमा ताल्चा मारेका छन् भनेर लेख्नुस् भने।
यस्तो उलफट्याङ कुरो म कसरी लेख्न सक्छु र? पार्टीले सरकारमा नजाने निर्णय सर्वसम्मतीबाट गरेको छ
। मैले व्यक्तिगतरूपले भेटेर नौ जनासँग कुरा गरेँ। सबै सरकारमा जाने कुराको विरोधमा हुनुहुन्छ। अनि
कसरी म दश जना सरकारमा जाने पक्षमा छन् भन्न सक्छु र?”

मान्छेहरू पत्रकारितालाई गाली गर्थे। म पत्रिकामा समावेश भएको हुनाले मलाई चिन्नेले धारे हातै
लाएर सराप्थे पनि। तर मलाई लाग्थ्यो – पत्रकारिता समाजको आँखा हो, मुख हो। निमुखाहरूको त्यो
आवाज हो। अहिले पनि मलाई त्यस्तो लाग्छ। तर पत्रकारितामा रमाउछु भनेर सबै औसरलाई निचोरेर
फ्याँक्दै यहाँ आएका नयाँ भाइहरू नै पत्रकारिताबाट वाक्क भएको कुरा गर्छन्। के अखबारहरू निर्धा

निमुखाबाट टाढिएकै हुन्? अब मैले पनि थाहा छैन भन्ने दिन आएछ।

कार्तिक २९ गते
बानेश्वर।

प्रिय,

कस्तो अनौठो दृष्य देख्नुपर्छ कहिले काहीं। मनको कुनामा तरङ्ग समेत नचढेको दृष्य आफ्नो नाकको
ठिक्क अगाडि फनफनी घुमेर नाच्न थालेपछि न बोल्न सकिंदो रहेछ, न सोच्न जानिदो रहेछ। आज त्यस्तै
भयो।

समय भन्दा पन्ध्र मिनेट अगाडि नै पुगेकी थिएँ अफिसमा म। कहिलेकाहीं सरसफाइ गर्ने दिदीको
आँखा म बस्ने अग्लो कुर्ची र अग्लो टेबलमा पर्दैन। त्यस्तो बेलामा टेबलमा बाक्लो धुलो गजधम्म परेर
सुतिरहेको हुन्छ। आँखाको सामुन्ने बासी धुलो देखेपछि चङ्गा मनले कसरी काम गर्न सकिन्छ र? त्यसैले म
बेला बेलामा समयभन्दा अगाडि नै पुगेर आफ्नो कुर्ची र टेबल आफैं पुछ्ने गर्थें। समयभन्दा अगाडि प्रायः
भेटघाट गर्ने पाहुनाहरू आउदैनथे, झुक्किएर कोही आइहाले भने पनि घडीले दश नबजाउन्जेल बाहिरको
आँगनमा लर्‍याङ तर्‍याङ हल्लिएर समय कटानी गर्थे। त्यतिन्जेल म आफ्नो काम सिध्याएर फुर्तिली भएर
कुर्चीमा बसिसकेकी हुन्थें।

कामदार भएपछि कम्पनीले वास्ता गरे पनि नगरे पनि आफूले त कम्पनीको इज्जत राखिदिनै पर्दो
रहेछ।

दश बज्न दशै मिनेट बाँकि थियो। वर्ष तीसेकको एकजना मान्छे हान्निदै ढोकाबाट छिर्‍यो। उ
टेबलको टाउकामै आयो।

“सुन्नुस्” उसले असभ्य पाराले मतिर फर्किएर आफ्नो धोद्रो स्वर ओकल्यो।
म केही नबोली उभिइरहेँ। टेबल पुछ्दै गरेको टालो मेरो हातमा झुण्डिएर आगन्तुकको
असभ्यतालाई नियाल्न थाल्यो। उसको पहिलो शब्द नै मभित्रको आगोलाई दन्काउन पर्याप्त थियो। म उसकै
भाकामा भन्नोस भन्न सक्थें – तर मैले केही भनिन।

“तपाईं यहँि काम गर्नुहुन्छ?” उसले त्यस्तै ठाडो पारामा प्रश्न तेर्स्यायो, “तपाईंका हाकिमहरूको
बारेमा केही बताउन सक्नुहुन्छ?”

मलाई रिस उठिसकेको थियो। कस्तो असभ्य मान्छे! त्यसैले मैले जवाफ दिएँ, “ज्यू म यहाँ काम
गर्छु र यो नै मेरो काम गर्ने कुर्ची हो।” उसलाई देखाउनै जसरी म कुर्चीमा बसें। “म यहाँका सबै
हाकिमहरूको बारेमा आवश्यक जानकारी दिन सक्छु। तर अझै कार्यालय खुल्ने समय भएको छैन। तपाईं
कसैलाई भेट्न आउनु भएको हो? हो भने कृपया एकछिन परको कुर्चीमा बसिदिनुस् र मलाई कार्यालय
नखुल्दै गर्नुपर्ने आफ्नो काम सक्याउन मद्दत गर्नुस्।”

त्यो मान्छेले छक्क परेका आँखाले मलाई हेर्यो। मैले पनि उसँग आँखा जुधाएँ। उसको आँखामा
आक्रोस र घृणाको लहर उर्लिरहेको प्रष्टै देखिन्थ्यो। ज्वालामुखीबाट आगो निस्कन्छ भन्छन् देख्नेहरू। शायद
ज्वालामुखी भनेको यस्तै आँखो हुन्छ होला। के त्यो ज्वालामुखी मेरै विरूद्धमा हो? कि कसैको लापरवाहीको
भारी मैले बोक्नुपरेको हो?

मलाई लाग्यो बन्दुकबाट छुटेका बुलेट जस्ता आँखा भएको त्यो मानिसले मलाई थरररर कमाउने
गरी गाली गर्नै आँटेको छ। म प्रत्याक्रमणको तयारीमा लागेँ। उसले मलाई हकार्‍यो भने म पनि उसलाई
हकार्नेछु, उसले मलाई सराप्यो भने म पनि उसलाई बेस्सरी सराप्नेछु।

“माफ गर्नुहोला,” मेरो कल्पनाका तरङ्गहरूलाई डङडङती लात्तले हान्दै उसले सामान्य स्वरमा भन्यो,

“माफ गर्नुहोला ”।

मलाई आफैंसँग रिस उठ्यो। थक थक लाग्यो। कुरा मिलाउन मेरा ओठहरू सलबलाए। तर मलाई
उछिन्दै उसले नै वाक्य फुटायो, “मैले तपाइसँग यस्तो ब्यवहार गर्नु हुँदैनथ्यो। माफ गर्नुहोला।”
हेर्दा हेर्दै हिउँ पग्लिएर पानी भएजस्तो यस्तो मान्छे त मैले यसअघि कहिल्यै देखेकी थिइन। म
अप्ठ्यारोमा परेँ। सकसकाउदै मैले “केही छैन, भन्नुस” भन्ने मन मात्रै बनाएकी थिएँ, उ फनक्क फर्किएर
फटाफट हिंड्यो। ढोकामा पुगिसकेको मानिसलाई “ओ दाइ” भनेर कराएर बोलाउनु पनि असभ्यतै हुन्थ्यो।
म सङ्कटमा परेर बटारिए जस्ती भएँ। उ कोठाबाट बाहिर निस्कियो। मलाई लाग्यो – समय भन्दा पहिले
आउने अरूहरू जस्तै उ पनि फराकिलो आँगनमा ओहोर दोहोर गर्दै समय कटानी गर्नेछ। मेरो मनले
शान्त्वना पाओस् भनेर मैले उसको कठालोलाई पछ्याइरहेँ।

तर उ मुलढोका काटेर फटाफट बाहिर निस्कियो। म शिताङ्ग भएँ। मेरा आँखा एकोहोरो भएर
अफिसको मूलढोकामा टाँसिइरहे। कति मिनेट म अर्धचेतन मन लिएर बसें? थाहै पाइन। मेरा आँखा
मूलढोकैमा टाँसिइरहे। मूलढोकाबाट टाउको निहुराउँदै भित्र पस्नु भएको हाम्रो प्रशासन शाखाको प्रमुख
के.सी. सरलाई देखेपछि मात्रै मेरा इन्द्रीयहरूले काम गर्न थालेछन्।

“चाँदनी” कोठाको दैलो नाध्दा ननाध्दै उहाँले मलाई बोलाउनु भयो। म जुरूक्क उठें। “बस, बस”
हिंड्दा हिंड्दै उहाँले मलाई भन्नुभयो। म चङ्गा भैसकेकी थिएँ? के.सी. सरले एकछिन मेरो अनुहारमा
नियालेर हेरेपछि सोध्नुभयो, “बलवन्तजी यहाँबाट फर्किएर जानु भएको हो?”

“को बलवन्त, सर?” मैले उहाँसँगै सोध्नुपर्‍यो।

“कोही मान्छे यहाँ आएर रिसाएर जानुभथ्यो?”

“एकजना आउनु भाथ्यो,” मैले स्पष्टीकरणको भाषामा जवाफ दिएँ। नीजि कम्पनीमा जागीर खानेले
जति प्रजातन्त्र आए पनि डराउनै पर्छ।

“एकजना आउनु भाथ्यो। असभ्य पाराले मलाई हकार्नु भो। मैले कार्यालय खुल्न दश मिनेट बाँकि
छ, त्यहाँ बस्तै गर्नुहोस् भनेकी मात्रै थिएँ, फनक्क फर्किएर हिन्दिनु भो। मैले त सर बस्दै गर्नुस न भनेर
दोहोर्‍याउन पनि भ्याइन।”

केसी सरले देब्रे हातको हत्केलोले निधारमा प्याट्ट हिर्काउनु भयो र मतिर टाउको घुमाउदै सोध्नुभयो,

“बलवन्तजीलाई चिन्दिनौ तिमी?”

“नामले चिन्या थिएँ तर अनुहारले चिनेकी थिइन,” मैले आफूलाई बचाउन खोज्दै भनें, “उहाँले पनि
‘म बलवन्त हुँ’ भन्नुभएन। आँधी जसरी आएर हुरी जसरी बत्तिदै जानेलाई मैले अन्तरदृष्टिले चिन्ने कुरो पनि
आएन।”

केसी सर अग्लो टेबलको सतहमा चोर औंला र माझी औंलाले ठुक् ठुक् ठोक्दै केहीबेर उभिइरहनु
भयो। मलाई उहाँको उपस्थिति सकसकाउदो माकुरो जस्तो भैरहेको थियो। त्यसैबेला आँगनमा एक दर्जन
कर्मचारी साथीहरू छिरे। मैले ढुक्कको सास तानें।

“चाँदनी,” के.सी. सरले मलाई सम्झाउने स्वरमा मलाई भन्नुभयो, “बलवन्तजी फर्केर आउनु हुन्छ।
अब तिमीले मान्छे चिनिहाल्यौ। तिमीबाट दुर्ब्यवहार हुँदैन, त्यो पनि म जान्दछु। तर उहाँ भित्र जसरी
दनदनी आगो बलिरहेको छ, त्यसलाई साम्य पार्ने कोशिश गरेर मात्रै माथि पठाउने काम गर। मलाई लाग्छ
– कुनै ठूलै मान्छेले उहाँको अपमान हुने काम गरेको छ संस्थाको आडमा। को रहेछ त्यो पत्ता लगाउने
कोशिश गर।”

के.सी. सर मेरो टाउकातिर भारी पन्छाएर आफ्नो बाटो लाग्नुभयो। मैले मूलढोका माथि टाँगिएको
घडीमा हेरें – दश बज्न केही सेकेण्ड मात्र बाँकि थियो। म बलवन्तको स्वागत गर्न फुर्तिली भएर बसें।
पाँच मिनेटसम्म बाहिरको मूलढोकामा कोही देखिएन। आकासमा घाम चर्किइसकेको थियो र त्यो
चर्को घाम खपेर कोही पनि सडकको पेटीमा उभिइरहन सक्ने थिएन। मेरो मनले एउटा दायित्व आफैं पुरा
भएकोमा खुशी मनायो। मनले भन्यो – छोड्दे, बलवन्तजी गैसक्नु भएजस्तो छ।

म चिठीपत्रहरू सम्याउने काममा लागें। शाखा शाखाका चिठीहरू छुट्याएर संबन्धित ठाउँमा
पुर्‍याउने जिम्मा मेरै टाउकामा पर्थ्या े।

“माफ गर्नुहोला,” परिचित जस्तो लाग्ने स्वरले मलाई झस्क्यायो, “के म तपाइहरूको प्रशासन
अथवा लेखाको प्रमुखलाई भेट्न सक्छु?”

बलवन्तलाई तपाईं चिन्नुहुन्छ नि! दाइले एकाध पटक उहाँको कुरा गर्नुहुँदा तपाईंले पनि उहाँसँग
चिनजान भएको कुरा गर्नुभएको थियो। उहाँ दाइले समेत मान गर्ने गरेको साथी हुनुहुन्थ्यो। त्यो मान
सम्भि्कएर र कम्पनीको हित चिताएर मैले उहाँप्रति अतिरिक्त सम्मान दर्शाउनु पर्छ भन्ने अनुभूत गरेँ। म
बसेको ठाउँबाट उठें र भएभरको विनम्रता स्वरमा घोलेर भनें, “सर, हजुरको नाम बलवन्त हो?”
“हो, मेरै नाम बलवन्त हो, तर म हजुर होइन। म तपाईंहरूको साथी हुँ। तपाईं यहाँको
रिसेप्सनिष्ट हुनुपर्छ भनेर सोधेको हुँ।”

“हजुर, मेरो नाम चाँदनी हो। म टेलिफोन उठाउने र भेटघाटको समय मिलाउने काम गर्छु,” मेरो
उत्तरले उहाँ माथि कस्तो प्रभाव पार्दैछ भनेर जान्न सास फेर्ने निहुँमा म एकछिन रोकिएँ। उहाँ मौन आँखाले
मलाई हेरिरहनु भएको थियो। ती आँखामा ज्वालामुखीको चिन्ह पनि थिएन। त्यतिबेला त्यहाँ मायाको सागर
तैरिइरहेको थियो।

“हजुरलाई म नामले चिन्थें। मेरो दाइ हजुरको बारेमा बरोबर कुरा गरिरहनु हुन्थ्यो। – हजुरको
स्वाभिमान झुक्न र झर्किन मान्दैन भनेर भनेर के.सी. सरले मलाई भरखरै सम्झाउनु भएको थियो …।”
म आफ्नो बोलीको प्रभाव हेर्न मात्र रोकिएकी थिएँ। त्यही अन्तरालमा उहाँले मेरो कुरो काट्दै
भन्नुभयो, “तर तपाईंले त मलाई केही नराम्रो गर्नुभएको थिएन …।”

“हजुरले मलाई तपाईं भन्न सुहाउदैन,” मैले बलवन्तको कुरो बीचैमा काटेर भनें, “म विवेक
फुयाँलकी बहिनी हुँ। हजुरको चिनजान छ नि! त्यसैले म हजुरको पनि बहिनी हुँ। हजुरलाई यताबाट कसैले
बेथिती गरेको हुनुपर्छ। त्यसैले हजुरको मन घाइते भएको हुनुपर्छ।”

बलवन्त हाँस्नुभयो, संगमरमर जस्तो उज्यालो हाँसो। “त्यसोभए तिमी विवेकजीको बैनी,” अलिअलि
चासो, अलिअलि जिज्ञासाको स्वरमा उहाँले भन्नुभयो, “विवेकजीको बैनी भएर यो कसाइखानामा तिमी कसरी
जागीरे भैरहन सकेकी छ्यौ? कति भयो जागीरे भएको?”

मलाई नराम्रो लागेन। अब वादल फाटिसकेको थियो र म उहाँसँग पनि दाइसँग जसरी नै कुरा गर्न
सक्ने भैसकेकी थिएँ। मैले ओरिपरि हेरें, कोही आएको थिएन। भरखरै दश बजेको हुनाले कोही आइहाल्ने
सम्भावना पनि थिएन। त्यसैले मैले घनिष्टता बढाउने मौका पाएकी थिएँ। मैले बसेको ठाउँबाट ओर्लिंदै
भनें, “लेखा प्रमुख आउनु भएको छैन। उहाँ आमरूपमा एघार बजे आउनु हुन्छ। बिहानको बैंकको झमेला
सकेर आउने छुट उहाँले पाउनु भएको छ। प्रशासनको प्रमुख के.सी. सर हो। उहाँ र म उस्तै कर्मचारी हौँ
– पत्रपत्रिकासँग सम्बन्धित कुरासँग हाम्रो सरोकार नै हुँदैन। त्यसैले एकछिन हजुरसँग त्यहाँ बसेर कुरा गर्न
पाएँ भने हजुरले कोसँग कुरा गर्नु पर्छ भनेर म बताउन सक्थेँ।”

“यस्तो राम्री मान्छे, तिमी यहाँको जागीर छोड। तिमी जस्तो सिपालुले जहाँ पनि जागीर पाउछ्यौ।
म विवेकजीसँग अन्त जागीर खोज्ने कुरा गरौँला,” उहाँले मेरै सारमा पाइला मिलाउदै भन्नुभयो, “तिमीसँग
बसेर कुराकानी गरिरहनु परोइन अब। यहाँका मान्छे बेइमान रहेछन्, आफ्नो वचनमा नअडिने फटाहा
राजनेता जस्ता रहेछन् …।”

हामी त्यतिबेलासम्म बस्ने कुर्चीमा पुगिसकेका थियौं। बलवन्त सरलाई पहिले बसाएर म उहाँको
अघिल्तिर बसें।

“… तिमीलाई थाहा होला यो अखबारमा मेरा पाँच ओटा टिप्पणी छापिएका थिए। म लेख बाँड्दै
हिंड्ने मान्छे होइन। तर कसैले अनुरोध गरेको कुरो काट्न पनि म सक्दिन। तिमीहरूको लेख सम्पादकले
मसँग लेख माग्नुभयो। मलाई लेख्न जाँगर थिएन त्यसैले टार्नका लागि मैले म अलिक महङ्गो लेखक हुँ भनें।
उहाँले मेरा लागि पन्ध्र सय कोटामा परेको छ भन्नुभयो। उहाँले भन्नुभएको थियो, “एउटा लेखको पन्ध्र सय
दिने त निधै भैसकेको छ। त्यसको ग्यारेण्टी मै गर्छु। लेख्न थाल्नुभयो भने एउटाको दुइ हजार पार्न म
कोशिश गर्छु। दुइ हजार भएन भने पनि तपाईंले लेख्नु चाहिं पर्छ। तपाईंको लेख छापिनु जरूरी छ हाम्रो
अखबारमा …।

…त्यसपछि मैले लेख्न थालें। पैसा दिने बेलामा साह्रै किचकिच गरे। आफैं आउनु पर्ने, परिचय पत्र
लिएर आउनु पर्ने जस्तो झ्याउलो मलाई पटक्कै मन पर्दैन। लेख सम्पादकको ग्यारेण्टीमा लेख्न थालेको
मान्छेलाई यो झमेला किन? यस्तो ठाउँमा टिक्न सकिन्न भनेर मैले लेख्न छोडिदिएँ र पैसा पठाइदिने
मन्जुरीनामा सहित यहाँ मान्छे पठाएँ।

… तिमी कल्पना पनि गर्न सक्दिनौ, मेरो पैसाको भुक्तानी दिन तिम्रो यो कम्पनीलाई चार महिना
लाग्यो। ढिलो भए पनि पैसा लिन बोलायो जानु भनेर मैले मञ्जुरीनामा दिएको भाइलाई अह्राएँ। उसले पैसा
लगिदियो। पैसा देखेर छक्क परेँ म। कस्ता फटाहा रहेछन्। एउटा लेखको एक हजारको हिसाब पो गरेछन्।
त्यो पनि एकपल्टमा चार ओटाको मात्रै भुक्तानी हुन्छ भनेर अपमान गरेछन्। प्रत्येक महिनाको भुक्तानी
एकपटक हुने हो भने पाँचौं टिप्पणी स्वीकार्दा चार अङ्कको भुक्तानी दिनु पर्दैनथ्यो? बडो गएगुज्रेका ब्यापारी
रहेछन्, मान्छेको सम्मान र स्वाभिमानको कदर गर्नै नजान्ने।”

बलवन्तले लामो सास तान्नुभयो र भन्नुभयो, “अब तिमी नै भन नानी, मैले कोसँग कुरा गर्ने हो!
तिम्रो लेख सम्पादक ‘ए त्यसो पो गरेछन्, मलाई त पहिले नै उहाँलाई पन्ध्र सय दिने हो भनेका थिए’ भनेर
पन्छिदिए। एकपल्ट मालिकसँग कुरा गर्नुस् न भनेका थिए, मलाई जाँगर लागेन। म यो कम्पनीसँग सदाको
लागि सम्बन्ध समाप्त पार्न चाहन्छु। मलाई चार अङ्कको अधुरो पैसा दिएको छ यसैले म त्यो फिर्ता गर्दिन
चाहन्छु। आज त्यसैका लागि म आफैं आएको हुँ। पाचौं टिप्पणीको पैसा नदिनु भन्ने पनि मेरो निष्कर्ष हो।
यस्ताहरूको कुसङ्गतमा लागियो भने आफू पनि बेइमान हुने खतरा हुन्छ …।”

“दाइ, एउटा अनुरोध गरौं?” म एकछिन अलमलिएँ। उहाँले ‘भन न’ भन्नुहोला भन्ने लागेको थियो
। तर उहाँले केही भन्नुभएन। त्यसैले मैले नै कुरो उठाएँ, “यो सिङ्गो सन्दर्भलाई यहीँ समाप्त गरौं। किनभने
लेखाका प्रमुख टेपरेकर्ड जस्तो मान्छे हुनुहुन्छ। उहाँ आफू केही सोच्नुहुन्छ भन्ने मलाई लाग्दैन। प्रशासन
प्रमुख के.सी. सरले हजुरलाई बाहिर देख्तै अपराधबोध गरिसक्नु भएको थियो। यहाँबाट कसैले बलवन्तजीको
सम्मानमा चोट पुर्‍याए जस्तो छ, रामरी कुरा गर्नु भन्नुभएको थियो। उहाँसँग झगडा गरेर के हुन्छ र? म
त बैनी हुँ, उहाँ पराइ नै हो। उहाँको मन दुख्न सक्छ। त्यसैले हजुरले कुरो यहीँ टुंग्याए हुन्न?”
उहाँले फ्याट्ट उत्तर दिनुभएन। धेरैबेर उहाँले मेरो अनुहारमा नियालेर हेर्नुभयो। म अलिअलि
अस्पटिएँ पनि।

“तिमीले कुरो राम्रै गर्‍यौ,” उहाँले हँसिलो अनुहारले भन्नुभयो, “तर यो पैसा” गोजीबाट पैसा
निकाल्दै उहाँले मलाई भन्नुभयो, “म यो पैसा त लिन सक्दिन। यो अपमानको उपहार मलाई चाहिंदैन। यो
पैसा मैले कसै न कसैलाई फिर्ता गर्नैपर्छ। को हो त्यो फिर्ता लिने मान्छे? त्यसलाई त मैले भेट्नै पर्छ।”

“त्यसको ब्यवस्था हुन्छ, कोही आवश्यकता पर्नेहरूलाई बाँडिदिउँला” मैले पैसामा आफ्नै अधिकार
भए जसरी भनें, “के.सी. सरले नै उचित सल्लाह दिनुहुन्छ। हजुरले पैसा फिर्ता गर्ने कुरो मात्रै राख्दा पुग्छ।”
बलवन्तलाई मैले के.सी. सरकोमा पठाएँ। उहाँ भर्‍याङ चढिरहेको बेला मैले फोनबाट के.सी.
सरलाई कुरोको चुरो बताइदिएँ र पैसा फिर्ता लिइदिन अनुरोध गरेँ। “कसैलाई दिंदा हुन्छ नि,” मैले जिद्दी नै
गरेँ। उहाँले हाँसेर फोन राख्नुभयो।

आधा घण्टापछि बलवन्त फर्किनु भयो। हाँस्दै उहाँ मेरो छेउमा आउनु भयो।

“चाँदनी, बेइमानहरूको कुसङ्गतबाट म त मुक्त भएँ। म जोगिएँ अब। तिमीले पनि चाँडै मुक्ति
लिनु। बिग्य्रौली। म विवेकजीसँग कुरा गरौंला। कुनै राम्रो ठाउँमा काम खोजौंला।”
‘नीजि कम्पनीहरूमा कति पो भिन्नता हुन्छ र? आफ्नो कमाइ बढाउन उनीहरूले कर्मचारी राख्ने
हुन्। कर्मचारीको हीत होस् भनेर कसैले कम्पनी खोलेको हुँदैन।’ मलाई यसै भन्न मन लागेको थियो, तर
मैले केही भनिन।

मंसिर २७ गते
बानेश्वर।

प्रिय,

हिजो हाम्रो पत्रिकाको वार्षिकोत्सव थियो। राम्रो कमाइ गरेको पत्रिका हुनाले जमघट पनि ठूलो
थियो। जमघटको विशालतालाई आत्मसात गर्ने रमझमको भव्यता पनि कल्पनातीत थियो। अरूहरू को को
बोलाइएका थिए, सबैलाई मैले चिनिन, तर आफ्ना सहकर्मी, केही स्तम्भकार एवम् राजनीतिमा कृयाशील
रहेका थोरै व्यक्तिहरूलाई मैले चिनेँ।

बाहिर अँध्यारो थियो, त्यसैले होटेल भित्रको त्यो चिसो भुईं झनै उज्यालो देखिएको थियो। शायद
त्यो सभाकक्षको पूर्वपट्टी फराकिलो मैदान थियो। घाँस त मैले देखिन, तर मिलाएर पर पर बालिएका
बत्तिहरू भित्रको जगमगको तुलनामा फिक्का देखिन्थे। झसक्क मलाई लाग्यो – बाहिर खाते
बालबालिकाहरूका निरिह आँखा जस्तै छन् ती बाहिरका बत्तीहरू। भित्र कति रमाइलो छ!

म एउटी साधारण कर्मचारी। मेरो काम ढोकाको लाइनमा उभिएर सजाइएको मुस्कान छर्दै
पाहुनाहरूको स्वागत गर्नु थियो। हामीले कसले खायो, कसले खाएन भनेर सोधखोज गरिरहनु परेको थिएन,
त्यसका लागि होटलकै परिचारक, परिचारिकाहरू टन्नै थिए।

छ बजे सबैलाई दिइएको समय थियो। हामी महिला कर्मचारीहरू छदेखि सात बजेसम्म ढोकाको
दुइ किनारमा उभियौँ। ढोकाको मुखैमा एकातिर कम्पनीका प्रमुख हुनुहुन्थ्यो भने हामी सात जना
केटीमान्छेहरू दोहोरो लाइनमा सजाएर उभ्याइएका थियाँै।

यसो गर्नु राम्रो हो? मलाई थाहा छैन। महिलावादीलाई लाग्दो हो – यो नराम्रो चलन हो।

आधुनिकतामा रङ्गिएकाहरूलाई लाग्दो हो – यो अत्यन्तै राम्रो चलन हो। पुरातनपन्थीहरूलाई लाग्दो हो – यो
सनातन परम्परा हो। महिलाको मुस्कानबाटै संसारमा ठूलठूला घटना घटेका छन्, युद्धहरू भएका छन् भनेको
पनि सुनेकी छु मैले। मेरो विश्वासमा विक्रीका धेरै सामान मध्य एउटा महिलाको मुस्कान पनि हो र
ढोकाको दुइ किनारमा तिनीहरूको उपस्थिति त्यही विक्रीको स्थापन हो।
जे होस्। तपाईं हुनुहुन्छ, म छु।

सात बजेसम्म हामी त्यहीँ उभिइरह्यौँ। सात बजेपछि समाचार शाखाका निर्देशकले हामीलाई पनि
अरूहरूसित मिसिन र चिनिन निर्देशन दिनुभयो। यो मिसिने र चिनिने काममा मुस्कानको भूमिका कत्तिको
थियो भनेर मैले थाहा पाउन चाहिन। अरू साथीहरू गिलास समात्नैतिर लागे हुनन्, म चाहिँ कागती र
चिनी मिसिएको तातो पानी मागेर भद्रजनहरूको छेउछाउ खोज्न थालेँ।

“मुद्दालाई अमुद्दा बनाउदा मूलमुद्दा कमजोर हुन्छ,” कपाल सेतै फुलेका तर उमेर नफुलेका एकजना
सज्जनले बोलेको सुनेर म उनकै छेउमा उभिएँ। के हो उनको नाउँ? मलाई एक्कीन भएन। मधुरो बोलीमा
उनी भन्दै थिए, “हामीले समाचार सम्प्रेषणमा कुन कुरालाई प्राथमिकता दिनुपर्छ, मुद्दाहरूको सार्थकता कसरी
खोज्नुपर्छ भन्ने विषयमा गहिरो अध्ययन गर्नुपर्छ। त्यसले मात्र समाचारमा सुन्दरता थप्छ। व्यक्तिविरूद्धको
आग्रह, संस्थाविरूद्धको आग्रहले समाचारको इज्जत घटाउँछ र समाचारको इज्जत घटेपछि अखबारको इज्जत
घट्छ। अखबारको इज्जत घट्नु भनेको सञ्चार जगत छिन्नभिन्न हुनु हो। सञ्चार जगत छिन्नभिन्न भएको
मुलुक कहिल्यै व्यवस्थित हुन सक्दैन।”

“ब्यक्तिलाई उठाउने अथवा लडाउने भनेको त फेरि पनि यही सञ्चार नै हो नि,” छेउमा उभिएको
अर्कोले पहिलो भलादमीको खण्डन नगरे जसरी खण्डन गर्‍यो।

“सामान्य हिसाबले त्यसलाई मान्न सकिएला। तर मरेको ब्यक्तिलाई जिउँदो बनाउने अनि
जिउँदोलाई झुठा मुद्दाहरू उरालेर मार्ने कामलाई पत्रकारिताको अङ्ग मान्न सकिन्न।”

“त्यस्तो केही पर्‍यो कि क्या हो तपाईंलाई?” झण्डै झण्डै ठट्टा जस्तो प्रश्न थियो त्यो।

“मेरो कुरो होइन,” तिनले गम्भिर स्वरमा भने, “यो कुनै एक जनाको कुरो होइन। मैले तीन
हप्तासम्म पत्रिकाहरूको प्रवृत्ति हेरेँ। घरको फोटो छापेर नेताहरूको बदनामीको अभियान नै चलाएका छन्
तिनले। लेखिनु पर्ने कुरो हो – राजनीति गर्नेहरू त्यागी हुनुपर्छ, तपस्वी हुनुपर्छ। तर त्यो कोणबाट लेखिएको
अथवा समाचार बनाइएको मैले कतै देखिन। मलाई त दुःख लागेको छ। घरको फोटो छाप्नु भन्दा पहिले
घर कसरी बनाइयो भनेर खोजी गरिनु पर्थ्यो। घर बनाउने जति सबैलाई बेइमानीको एउटै कित्तामा अनि
घर नबनाउने जति सबैलाई इमानदारीको कित्तामा कसरी फ्याँक्न सकिन्छ? मान्छे घुरेन त होइन नि!”

“तर भ्रष्टाचार त असीमितै भयो,” बीचबाट कसैले कुरो उठायो।

“भ्रष्टाचार भयो त त्यसको उत्खनन गरिनुपर्छ,” उनले पहिलेकै भाकामा कुरो अगाडि बढाए, “फेरि
यो भ्रष्टाचार भनेको आज जन्मिएको त होइन क्यारे! पुराना राजा रजौटा, सामन्तका महलहरू त्यतिबेलाको
तलबले बनेका हुन्? के पञ्चायतमा यस्ता घर, महल बेपत्तासित ठडिएनन्? भ्रष्टाचारका अनगिन्ती
घटनाहरूबाट मुक्त छ त्यो ब्यवस्था? छैन। यो पनि छैन, तर जसरी इतिहासका पुराना घडीहरूमा इमान्दार
मानिसहरू थिए, त्यसैगरी अहिले पनि इमान्दार मानिसहरू छन्, छन् मात्र होइन अहिले बेइमानहरू अत्यन्तै
सीमित छन्, इमान्दारहरू कता हो कता धेरै छन्।”

“यो पनि उही अनुमानकै कुरो त हो।”

“होइन, यो खालि अनुमानको कुरो होइन,” वक्ताले आफ्नै अगाडि उभिएको मानिसतिर हेर्दै भने,

“हिजो भ्रष्टाचार हुन्थ्यो, तर त्यसको पोल खोल्न मानिसले सक्दैनथ्यो। त्यसैले त्यतिबेलाको भ्रष्टाचार
सुरक्षित थियो। तर अहिले घुस लिन पाएको हुँदैन, कुरो चुहिई हाल्छ। ०४६ साल अघिको कठोर
शासनकालमा भएको छ्याप्छ्याप्ती पसि्रएको मुर्तीचोरी अहिले कता हरायो? चाँडै पोल खोलिन्छ, नाङ्गेझार
होइन्छ भनेरै मुर्तिचोरहरूले आफ्नो कामलाई स्थगित गरेका हुन्। मेरो कुरो मनमा राख्नुहोला – यदि कुनै
दिन नेपालमा सञ्चारको घाँटी उसैगरी निमोठियो भने, राजनीतिक दलहरूलाई उसैगरी भित्ता पुर्‍याइयो भने
फेरि मुर्तिचोरीको विकरालता बढेर जानेछ। प्रजातन्त्र आएपछिको अर्को राम्रो कुरो पनि हेर्नुस – नेपाल कुनै
समयमा लागू पदार्थको राजमार्गै थियो, अहिले त्यो पनि छैन।”

“नराम्रा काम घट्ने बित्तिकै राम्रै भैरहेछ भन्न त मिल्दैन।”

“मैले त्यसो कहाँ भनेको छु र? मेरो जोड त के मात्रै हो भने सञ्चारको आँखाले यो भेद देख्नुपर्छ।
यो सामाजिक परिघटना हो। घर नितान्त बैयक्तिक कुरो हो र त्यसलाई व्यक्तिगत ढङ्गले नै उत्खनन गर्नुपर्छ
।”

“तपाईं पनि घर काण्डमा पर्नुभयो कि क्या हो?”

“घरै नभएको हुनाले म घर काण्डमा पर्ने त कुरो भएन, तर घरकाण्डमा परेकाहरूको पीडालाई मैले
साह्रै नजीकबाट देखेको छु, तिनको ब्यथाबाट पोलिएको छु।” उसले हातको पेयलाई ओठको टुप्पासँग छुवाएर
एकपल्ट लामो सास तानेपछि भन्यो, “तर व्यक्तिपीडाका कारण मैले यो कुरो गरेको होइन, मैले खोजेको हो,
एउटा उत्तरदायित्वपूर्ण संस्कार, सामाजिक दायित्ववोधको अभिव्यक्ति। देखेको कुरो लुकाउनु पर्छ पनि म
भन्दिन, त्यसलाई अनावृत्त नै गरिनु पर्छ। तर छ्यानब्यान नगर्ने पत्रकारिताले सबैमाथि अन्यायकै भारी
बोकाइदिन्छ।

… … … …।

मलाई कपाल सेतै फुलेका तर अनुहार नफुलेका ती मानिसको कुरा सुनिरहन मन लागेको थियो।
तर त्यो एउटा गम्भिर बहस थियो अनि म त्यसमा सहभागी हुन सक्दिनथेँ। म जिस्किने खालको जमघटमा
त जान सक्दिनथेँ, तर गम्भिरताको त्यो गह्रुङ्गो भारी पनि मलाई बोकिरहन मन लाग्दैनथ्यो। त्यसैले म
त्यहाँबाट बाहिर निस्किएर अरू समूहहरूमा मिसिन थालेँ।

मान्छे किन श्रृङ्गारमा रमाउछ भनेर अहिलेसम्म मैले बुझ्न सकेकी छैन। म धेरै संकिर्ण छु जस्तो
मलाई लाग्दैन। केही समय पहिले भएको सौन्दर्य प्रतियोगितालाई सडकमा उभिएका धेरै महिलाहरूले विरोध
गरेका थिए। तर मलाई सौन्दर्य प्रतियोगिता राम्रै लाग्छ। चाहे त्यसलाई उपभोग भनौँ, चाहे त्यसलाई
पश्चिमा संस्कृति भनौँ, त्यो त स्वेच्छाको कुरो हो नि! मान्छेले आफ्नो इच्छाले गरेको कामलाई कसरी अरूले
विरोध गर्न मिल्छ र?

तर सार्वजनिक समारोहहरूमा पहेँलपुर भएर आउने चलनसँग म कहिल्यै सहमत हुन सकिन।
मान्छेको सक्कली रूपलाई बिगार्ने बाहेक त्यसले अरू केही गर्दैन जस्तो मलाई लाग्छ।

तपाईंलाई थाहै छ, त्यसैले कतै जाँदा पनि मेरो अतिरिक्त तयारी हुँदैन। लुगा त मसँग पन्ध्र बीस
जोर नै छन्, तर मसँग गरगहना झण्डै छैनन् भन्दा हुन्छ र मैले गहना थुपार्ने खेल खेल्ने चाह पनि पालिन।
गहना लाए पनि नलाए पनि हुँ त म चाँदनी नै। मेरो परिचय चाँदनी मात्रै हो, सुनको गहना अथवा जरी
हालेको बनारसी साडी होइन।

तपाईंलाई पनि यस्तै लाग्छ होइन!

राती नौ बजे अफिसकै गाडीले हामीलाई घर घर पुर्‍याइदिने भयो। पाहुनाहरू झण्डै झण्डै
रित्तिइसकेका थिए। म पौने दश बजे घर पुगेँ।

भरखरै जुन झुल्किएको थियो आकासमा। बिचित्रको सन्नाटा छाएको थियो धर्तीमा। म आज ढिलो
आउँछु भन्ने घरमा थाहा थियो। आमा हिन्दी सिरियल हेरेर बसिरहनु भएको थियो।

पौष २७ गते
बानेश्वर।

प्रिय,

अब केही दिन मात्र बाँकि छन् मेरो उदासीका। तपाईं पत्याउनु हुन्छ?
हिजो हाम्रो घरमा परिवार घटबढ हुने छलफल चल्यो। यसपालि चाहिँ यसलाई गम्भिर प्रकृतिकै
रूपमा लिनुपर्छ।

शनिबारको बिहान, घाममा तातिँदै हामी घरको छतमा बसेका थियौँ। तपाईंलाई पनि थाहै छ नि,
हिजो घामले अनौठै ढङ्गले प्रकृतिलाई माया गरेको थियो।

कुरो आमाले उठाउनु भयो। उहाँले बालाई सम्बोधन गर्दै भन्नुभयो, “होइन, तपाईँ कति ढुक्कले
बस्न सक्नु भएको हँ? यसो घरको कुरोमा आँखा लाउनु पर्दैन?”

“के भो र?” बाका आँखाले सोधे।

“दाजुको बिहे नभै म बिहे गर्दिन भन्छे चाँदनी, बैनीको बिहे नगरी म कसरी आफ्नो बिहेको बारेमा
सोचाँै आमा भन्छ विवेक। तपाईँ चासै देखाउनु हुन्न। अब एकैजग्गेमा दुइटैको लगनगाँठो कसिदिउँ,”
आमाले हाँस्तै कुरो अगाडि बढाउनु भयो, “न छोरो भाग्न पाउने, न छोरी उम्किन पाउने!”

बा हाँस्नुभयो बेस्सरी। दाइ पनि बाकै लहैलहैमा हाँस्नुभयो। दाइले पनि आमातिरै फर्किएर
भन्नुभयो, “आमा, आउने फागुनमा झ्याईं झ्याईं पारेर यसलाई विदा गर्नुपर्छ। अंश र बंशको कुरो उठ्न
थालेको छ। त्यो नमूना हामीले आफ्नै घरबाट देखाउनु पर्छ। यो घर चाँदनीको नाउँमा छुट्याउनु पर्छ,
बिहेमा ठूलो खर्च गर्नुहुँदैन।”

“चाँदनीलाई घर छुट्याएर तँचाहिँ कहाँ बस्छस्? पशुपतिको सत्तलमा?” आमाको मनमा खुशी त
थियो होला, तर उहाँको स्वरमा अविश्वास पनि थियो।

“आमा, हामीले बिहेको नचाहिँदो खर्च घटाउने, जातपात नमान्ने, बावुआमाको सम्पत्तिमा
छोराछोरीको हक बराबर लाग्ने शपथ लिइसकेका छौँ। म त्यसबाट पन्छिएँ भने म पनि अरू ठग नेताहरू
जस्तै हुनेछु। समाजले मलाई धिक्कार्ने छ, आफ्नै अन्तरआत्माले मलाई धिक्कार्ने छ। ज्वाईंसाहेब गाउँबाट
उखेलिएर आउनु भएको छ, तर म त उखेलिएको छैन। आलापोट हाम्रो पैत्रिक थलो हो। तपाईंहरू जहिले
पनि शहर भन्दा आफ्नै गाउँ राम्रो भन्नुहुन्छ। म पैत्रिक थलो स्याहार्छु, त्यसोहुँदा यसले पनि साँच्चिकै माइती
आउने ठाउँ पाउँछे। त्यसैले यो दुइ महिनामा बन्दोबस्त मिलाएर ब्याण्डबाजा बजाउनु पर्छ।”

“होइन, यो घरमा मेरो चाहिँ स्वत्व नै सकियो कि क्या हो?” बाले हाँस्तै सोध्नुभयो। त्यसपछि
उहाँले मायालु आँखाले मेरो अनुहारमा नियाल्दै भन्नुभयो, “साइत फागुनमा जुराउँ कि बैशाखसम्म पर्खौँ भनेर
म सोचिरहेको थिएँ। विवेकले रोजेकी केटी र चाँदनीले छानेको केटो दुबै मेरो मन माफिकका छन्।
विवेकको पार्टीले सादा विवाहको आग्रह गरेको र उ आफैँले बाआमाको संपत्तिमा छोरीको हक लाग्ने कुरो
एक वर्ष अघि नै मसँग गरिसकेको थियो। आज उठ्यो कुरो, तिमीहरूले बोलिहाल्यौ, अब चाँदनी पनि
बोलोस्।”

शुरूमा हाम्रो घरमा आउँदा तपाईंले पनि ‘कस्तो अनौठो परिवार!’ भन्नुभएको थियो। त्यतिबेला
भन्दा अहिले त्यो झनै फरासिलो भएको थियो। जनपक्षीय राजनीतिक आस्थाले बुवा, आमा दुबैलाई दाइजस्तै
बनाइदिएको थियो। परिवारमा बरू लाटी त मै थिएँ। मदन भण्डारीको मृत्युभन्दा पहिलेसम्म राजनीति
भनेको दाइको काम हो भन्ने मात्रै सोचेकी थिएँ मैले। राजनीतिलाई अलि अलि टिप्न थालेपछि पनि चुनावका
बेला मत खसाल्ने जिम्मा मात्रै मेरो भागमा परेको जस्तो भएको थियो। तर फेरिँदै गएको संसारलाई
बुवाआमाले त आत्मसात गर्नुभएको थियो भने पच्चिस वर्षको यो उमेरमा मैले पनि बुहारी झार जसरी
लजाउनु पर्ने केही थिएन। त्यसैले मैले भनेँ, “बुवा, दाइले यो घरलाई आफ्नो सपनाको घर बनाउनु भएको
छ। यो घर दाइकै रहोस्। अहिले हामी तीनै जनाको काम हुन्छ, हामी कतै दुइ कोठा र भान्छा खोजेर
बस्नेछाँै। अंश त मलाई चाहिन्छ, तर त्यो पछि भए पनि हुन्छ।”

“आज तँ बोल्न पाउँदिनस्,” दाइले मायालु भाकामा हकार्नु भयो, “अब नानी, माइती घर आफ्नो
हैन, पराइघर जाउ, भनेर गीत सुन्न थाल्। काम त हामी पनि दुबै जना गर्छौ, एकै ठाउँमा गर्छौ। हामीलाई
डेरा सजिलो हुन्छ। तँ कहाँ डेरा लिन्छेस्? एउटाको काम कीर्तिपुर, अर्काको काम महाराजगञ्ज अनि तेरो
काम यहाँको गोसखान। कहाँ बस्छेस? बागबजार? कि असन? आएको कमाइले घरभाडा तिर्छौ? कि त्यो
पैसा बसभाडामा खर्च गर्छौ?”

नेपालमा हाम्रो जस्तो अरू कसैको पनि परिवार हुँदो हो, तर अहिलेसम्म मैले त्यसलाई कतै भेटेकी
छैन। हामीभित्र कोही सानो, कोही ठूलो छैन। दाइको मिहिनेतले हाम्रो परिवार मिल्ने अनि असल
साथीहरूको समुदाय भएको छ। त्यसैले आमाले पनि राय पोख्नुभयो, “विवेकले भनेकै होस्। हामी गाउँमा
जान्छौँ। तिमीहरू सधैँ शुक्रबार घर आउनु। आफ्नो पैत्रिक थलो, बा र मेरो मन शान्त हुन्छ। रामरी काम
गर्दा खान पुग्ने जमीन छँदैछ। उस्तै पर्दा तिमीहरूले सागसब्जी किनिरहनु पर्दैन ….।”

एउटा सुखद सपना थियो त्यो। तर मलाई हाम्रो समस्या सजिलरी समाधान हुन्छ भन्ने पटक्कै
विश्वास थिएन। तपाईंको आत्मसम्मानमा चोट नपुगीकन, भाइप्रतिको तपाईंको दायित्व कमजोर नपारीकन
म तपाईंसँग एकाकार हुन चाहन्थेँ। त्यसैले मैले भनेँ, “आमा, भाइले यहाँ बस्न अप्ठ्यारो मान्नुहुन्छ। भाइको
अप्ठ्यारोले उहाँलाई पनि अनिर्णयमा पुर्‍याउँछ …।”

“आमा, यसको कुरातिर नलाग्नुस्, यसको देवरलाई मनाउने मेरो जिम्मा।”

“र पनि दाइ, भाइलाई अप्ठ्यारै हुन्छ,” मैले पनि जिद्दी नै गरेँ, “भाइलाई म चिन्दछु। हामी दुइ जना
जति थोरै कुरा गर्छौँ भाइसँग त्यसको पाँच गुना कुरो हुन्छ मेरो। तीन कोठाको एउटा सानो घरमा हामीहरू
रमाउने सपना सँगालेर गफ गरेको हामीले धेरै भयो। हाम्रो यो निर्णयले त्यो सपना भताङभुतुङ हुन्छ भन्ने
डरले मलाई निर्णयको समर्थन गर्न गाह्रो भैरहेको छ।”

“अरे बाबा,” दाइले मैलाई सम्झाउने गरी आफ्ना शब्दहरूमा बल लगाउँदै भन्नुभयो, “तँ जस्तो
लाटोकोशेरो होइन तेरो देवर। तँलाई पो राजनीति तेरो दाजुको ठेक्का भएको छ। तेरो देवर त क्याम्पसको
टाठो विद्यार्थी मात्र होइन, स्ववियूको जिम्मेवार सभापति पनि भैसक्नु भएको छ। म आफँैले सञ्चालन गरेको
छु उहाँहरूको कमिटी। पारिवारिक उत्पीडन, विद्यार्थी जीवनले भोगेको गरीबीले उहाँलाई खारिएको सुन
बनाएको छ। राजनीतिप्रति तेरो साह्रै चासो छैन भन्ने थाहा पाएरै तँसँग घरकाजका कुरा होलान्, मसँग
नीतिका कुरा हुन्छन्, ब्यवहारका कुरा हुन्छन्। तेरो देवरको निष्कर्षमा नेताहरूको, खास गरेर मन्त्रीको
कुर्चीमा निदाउने नेताहरूको चेतनामा प्रजातन्त्र आएकै छैन। यस्तो सही कुरा सोच्ने मानिसले आफ्नै पार्टीले
गरेको निर्णयलाई नाई कसरी भन्नु हुन्छ? हामीले मात्र होइन, बा र आमाले समेत मानिसकेको कुरो भाइ
जस्तो नयाँ पुस्ताले नबुझ्ने कसरी हुन्छ?”

“होला सबै कुरो, तर भाइको मन मैले पढेकी छु,” दाइको कुरालाई खण्डन नगरे पनि मैले
अनकनाउदै अप्ठ्यारो मानेँ।

“विवेकले जिम्मा ली,” बुवाले भन्नुभयो, “मानिसको आत्मसम्मान मार्नु हुँदैन, तर तिमीहरू सबै
एउटै पार्टीमा छौ। पार्टीको निर्णय त सानो ज्वाईंलाई पनि थाहै छ। यहीँबाट सम्झा विवेकले। हामी
बुढाबुढीलाई बोल्न नलाउनु तिमीहरूले। उहाँहरूका बाबु आमा हुनुहुन्न, हामीलाई त्यो थान दिनुहोस् भन्ने
वातावरण तिमीहरूले नै मिलाउ।”

“हजुर पनि कस्तो अब्जसे,” आमाले बीचैमा कुरा काट्दै भन्नुभयो, “विचरा उहाँहरूले कहिले पराइ
जस्तो ब्यवहार गर्नुभएको छ र? झन सानो नानी त मलाई साक्खै आमाजस्तै गर्नुहुन्छ। एकदिन भन्दै
हुनुहुन्थ्यो – आमा र हजुरको जन्म एउटै सालमा भएको रहेछ। हजुरलाई नभेटुन्जेल मेरो त आमा, बुवा,
दाजु सबै एक्लो दाजु हुनुहुन्थ्यो, अहिले हजुरको आशिर्वाद पाउन थालेपछि पहाडकी दिदीको नियास्रो समेत
मेटिएको छ।’ त्यस्तो नानीलाई कसरी अटेरी होलान् कि भन्नसक्या होला हजुरले!”

बुवाको हँसिलो अनुहारले आकासको घामै बिर्साइदियो। बुवाले भन्नुभयो, “अब यो गन्थन सकियो।
औपचारिक कुराकानी मै गरूँला पर्छ भने, पर्दैन भने बैशाखको एउटा मिति तय गर् विवेकले। ज्वाईं नानीको
पनि बोलाउनै पर्ने कोही हुनुहुन्छ भने फराकिलो समय चाहिन्छ।”

मैले विमातृ दिदीको अनुहार झलक्क सम्भि्कएँ। उहाँ नै मेरो घरतिरको अभिभावक हुनुहुन्छ।
उहाँलाई विवाहभन्दा अगाडि नै बोलाउँ है!

चैत्र २६, ०६१
काठमाण्डौ ।

(श्रोत:-अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

5 Responses to नेपाली उपन्यास : अनौठो प्रेमकथा

  1. Shailesh Bikram Paudel says:

    khusi lagyo….malai novel padne ekdam nai rahar lagxa..bt paisa ko avaab le kinna paudina the…yo site ma tapai haru le novel prakasit garera…malai khusi banaunu vo….thank you alot…

    • शैलेस ज्यू ,

      धेरै भन्दा धेरै कृति एवं रचना पस्किने प्रयासमा छौं । तपाईंको साथ पाईरहनेछौं भन्ने आशा छ ।

      – संग्रहालय

  2. BHOLA ADHIKARI says:

    ल्याण्डमा सर्प भेटिनु जस्तो हो। तर यहाँबाट नयाँ कृति पढ़न पाउँदा मरुभूमिमा पानी पाएको आभस भयो। आशा छ पुनः अझै नयाँ र समयोपेम भारतको काशी हिन्दू विश्वविद्यालयको स्नातकोत्तरको छात्र हूँ। यहाँ नेपालमा छापिएका कृति पढ़न पाउनु भनेको आयरक्षित कृति पढ़न पाइन्छ भन्ने।

  3. BHOLA ADHIKARI says:

    म भारतको काशी हिन्दू विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययनरत छात्र हूँ। नेपालमा प्रकाशित कृति पढ़न पाउनु भनेको हामी भारत वासीलाई मरुभूमिमा पानी पाउनु सरह हो। यहाँबाट नयाँ कृति पढ़न पाउँदा आयरल्याण्डमा सर्प पाएझैं लाग्यो। आशा छ भविष्यमा नयाँ र समयोपेक्षित रचना पढ़न पाइन्छ भन्ने।।

  4. Pingback: अनौठो प्रेम | dprateik

Leave a Reply

Your email address will not be published. Required fields are marked *