कथा : सुनीता

~इल्या भट्टराई~Illya Bhattarai_1

कोही ढोकामा आएर ठिङ्ग उभिएको जस्तो लाग्यो र मैले टाउको उठाएर त्यसलाई छक्क परेर हेरें । एउटी २०, २२ वर्षी तरुनी केटी मेरो ढोकामा उभिएकी थिई, उसलाई म चिन्दिनथें । सम्झनाले विस्तारै आफ्नो उपस्थिति जनाउँदै ल्यायो । हेराइमा विस्तारै परिचयको उपस्थिति झल्किन थाल्यो । केटीको ओठमा स्मित हाँसो छाएको थियो अनि त मैले चिनिहालें ऊ सुनीता पो रहिछे ।

एक त मेरो आँखाको दुर्वल हुँदै गएको शक्ति, दोस्रो सुनीतामा आएको बैंश, दुवैले पो म अल्मलिएकी रहिछु ।

परिचयको तन्तु जोडिएपछि उब्जिने प्रश्नहरू स्वाभाविक रूपमा एक पछि अर्को गरी आउँदै गए । उसले उत्तर दिंदै गई ।

यस पूर्ण युवती सुन्दरी सुनीता लगभग बाह्र वर्षअघि मेरो काम गर्ने केटी थिई । मेरी नवजात छोरीको धरालोको रूपमा कसैले उसलाई मकहाँ ल्याइदिएको थियो ।

काली, मैली फोहरी, कपालभरि स्याउँ-स्याउँती जुम्रा भएकी त्यसलाई मैले जतनपूर्वक सफा पारेकी थिएँ । जुम्रा निखार्ने स्याम्पुले नुहाउन लगाएर, बाँकी भएको जुम्रा आफैंले हेरिदिएर त्यसलाई सुग्घरी बनाएकी थिएँ । एउटा अव्यवस्थित झ्याङ र झाडीलाई सुरम्य बगैंचाको रूप दिएकी थिएँ ।

काली भएता पनि हिस्सी परेकी त्यो फरासीली थिई । जेठी छोरीको जडाउरी लाउँदा पनि त्यो फुर-फुर परेकी पुतली जस्तै देखिन्थी ।

रहँदा बस्ता त्यो मेरै परिवारकी सदस्य भैदिएकी थिई । मलाई पनि आफ्नो एउटा सन्तान बढेको भान हुन थालेको थियो ।

हामी जहाँ गए पनि त्यो हामीसंगै जान्थी । पहिले पहिले त सानो बच्चाको धरालोको रूपमा अनि पछि पछि त सन्तानकै प्रतिस्वरूप भएर हक अधिकारीको रूपमा ।

उसले आफूलाई मेरो परिवार कै अभिन्न अङ्गको रूपमा समायोजन गरिसकेकी थिई । आफूलाई मेरै सन्तानकै समकक्षी सम्झिन थालिसकेकी थिई । मलाई पनि ऊ काममा सिपालु आफ्नै सन्तान जस्ती लाग्न थालेकी थिई ।

तर वास्तविकता त कठोर हुने नै भयो । ऊ एउटी नोकर्नी थिई । सत्य त्यही थियो । त्यसकारण समाजले पनि उसलाई मेरो सन्तानको प्रोक्सीको रूपमा हेर्न नखोजेर एउटी नोकर्नीकै रूपमा हेर्न खोज्दथ्यो ।

“नोकर्नीलाई पनि मसिनो भात ख्वाउने, ओहो ÛÛ आफ्ना छोराछोरी जस्तै त्यल्लाई पनि फलफूल ख्वाउने < पैसा बढी भएको Û”

यस्ता नकारात्मक टिप्पणीहरू म पाइलैपिच्छे सुन्थे“ । तर त्यस्ता कुराहरूको म वास्ता गर्दिनथें । सुनीताले पाएका ती सामान्य सुविधाहरू समाजलाई पचेन । एउटी नोकर्नीलाई नोकर्नीको तहमा नराखेर आफ्ना सन्तान सरह गरेको व्यवहारले समाजको आँखामा अपराधिनी जस्ती हुन पुगें म ।

सबै भन्दा बढी गाह्रो बाहिर कतै जाँदा हुने गर्दथ्यो । सधैं हामीसंग बाहिर जाने बानी भएकी त्यसलाई अब बाहिर जानबाट रोक लगाउन खोजिन्थ्यो । तर सुनीताको मनले भने आफूलाई मेरो सन्तानको रूपमा हकको अधिकारी होइन भन्ने सोच्नै सकेको थिएन । ऊ अधिकारपूर्वक हामीसंग बाहिर जान खोज्थी ।

यसरी त्यसको संवेदना तथा घरका मानिसहरूको मानसिकताको बीचमा म चेपिएकी थिए“ ।

सुनीताले चित्त दुखाउली भनेर आफूसंग लान खोज्यो भने घरको वास्ता नगरी आफ्नो आफ्नो मात्र सुख सुविधा हेर्ने स्वार्थीको रूपमा म गनिन्थें । होइन एउटी नोकर्नी भएकी नाताले सुनीताले घरमै बसेर सबैको सेवा गर्नुपर्छ भन्ने सोचेर उसलाई आफूसंग लगिन भने ऊ आफू अपहेलित भएको ठानेर मसंग निकै चित्त दुखाउँथी । फलस्वरूप ऊ रिसाएर ठुस्स परेर बसिदिन्थी । अनि उसको भागका कामहरू पनि मैले नै गर्नु पर्दथ्यो ।

आफ्नो स्थितिबारे बिस्तारै बुझ्न थालेकी सुनीताको मनस्थिति बिस्तारै-बिस्तारै बिग्रिदै जान थाल्यो । ऊ मसंग निकै चिढिन थाली । मेरो हरेक कुरालाई ऊ अटेर गर्न थालेकी थिई । उसको मनले आफ्नो यथार्थलाई स्वीकार गर्नै सकेको थिएन । एकातिर काम गर्नु नै परेपनि सुख सुविधा तथा माया पाइरहेकीले आफू को हुँ भन्ने बिर्साइरहेको स्थिति थियो भने, अर्कोतिर आफू त्यो घरकी एउटी काम गर्ने मात्र रहेको कटु वास्तविकताले त्यसलाई चिमोट्न थालेको थियो । यही दोहोरो मनस्थितिको संघर्षको चेपले गर्दा उसका संवेदनाका धारहरू नकारात्मक दिशामा मोडिदै थिए । अनि म उसका ती भावनाका तारो बनेकी थिए“ ।

एक दिन यसै गरी हामीसंग बाहिर जान पाइन भन्ने आक्रोशमा उसले, भर्खरै दशैंमा किनिदिएको सिल्कको लुगा ध्यार-ध्यारी च्याती । उसको मनोविज्ञान बुझ्दाबुझ्दै पनि उसको त्यो व्यवहारले असहिष्णु भई मैले उसलाई त्यहीं दुइ चार थप्पड लगाइ दिएकी थिएँ ।

त्यस घटनापछि मेरो मनमा पनि रिसले जरो गाडयो । “ए यो पनि अब केटाकेटी छैन, कुरो त यसले पनि बुझ्नु पर्छ नि Û मेरो मनले तर्क गर्थ्यो । तर पनि सहानुभूतिको भावले तर्कलाई उछिन्थ्यो । रिस हार्थ्यो र म ऊस प्रति मायालु भइ दिन्थें ।

तर, सुनीता मप्रति मायालु हुन मात्र हैन कि मप्रति सामान्य सद्भाव राख्न पनि नसक्ने हुन थालेकी थिई ।

हुन पनि दोषी त मै थिएँ । आमाबाबु नभएकी टुहुरीलाई आमाबाबु तथा परिवारको न्यानोपन मैले नै दिएकी थिए“ । आफ्नो आर्थिक तथा सामाजिक कारणले गर्दा उसले सोच्न पनि नसक्ने इन्द्रेनी सपना उसको आँखामा मैले नै हालिदिएकी थिएँ । कक्षामा सधैं पहिलो स्थान ओगट्ने त्यसलाई मौका मिलेमा त्यो सपना पूरा गर्न कुनै गाह्रो कुरो थिएन । बाहिरकाले शंका मानेर ‘यो को नि’ भनी सोद्धा “मेरी जेठी छोरी” भनेर नोकरलाई आफ्नो सन्तानको तहमा उकाल्ने दोषी म नै थिएँ ।

सुनीता मेरो लागि झन्-झन् असह्य हुन थाली । सधैंकी हँसिली, फरासिली, गाली गर्दा पनि नरिसाउने त्यो अब स-सानो कुरामा पनि रिसाउने गर्न थाली ।

बिस्तारै-बिस्तारै आफ्नो कामप्रति पनि हेलचेक्र्याईं गर्न थाली । त्यसलाई केही काम अह्राएर आफू ढुक्क भएर बस्यो, ऊ भने काम नगरी यता र उति हल्लिएर बसेकी हुन्थी ।

पहिले आफूले सके पनि नसके पनि घरको हरेक काममा काँध थाप्ने त्यो अब घरका आफूले गर्नुपर्ने भन्दा बाहेकका कुनै पनि काम अह्राउँदा पनि नगर्ने जस्ती भएकी थिई ।

एकदिन कसो-कसो त्यसको एउटा कापी मेरो हात पर्‍यो । त्यसले बिर्सेर भान्सा मै कापी छाडिछे । कापी खोलेर हेर्दा, त्यस्ती पढैया केटीको कापीमा शुरु देखि अन्त्यसम्म प्रेमपत्रहरू लेखिएका थिए । कक्षाकार्य गर्न छोडेर ऊ प्रेमपत्र लेख्न थालिछे । गृहकार्य गर्न छाडेर ऊ प्रेमको दिवास्वप्नमा डुब्न थालिछे ।

म बुझ्दै थिएँ यो सुनीताको हामी प्रतिको विद्रोह थियो । अझै भनौं उसको रिस त मैप्रति थियो किनकि विपन्न त्यस टुहुरीलाई घरको सुरक्षा, परिवारको स्नेह र आमाको ममता त मैले नै दिएकी थिए“ । एउटी नोकर्नीलाई छोरीको तहमा मैले नै पुर्‍याएकी थिएँ । उसले आँट्नै नसक्ने सपनालाई एउटा सहज र सुलभ गन्तव्यको रूपमा मैले नै गोरेटो बनाइदिन खोजेकी थिएँ । तर सामाजिक परिस्थितिले मैले र उसले बुनेका ती भ्रमका जालाहरू देख्न सकेन र उसले बलपर्ूवक त्यो जालो च्यात्ने प्रयत्न गर्‍यो । छोरीको तहबाट जबरजस्ती नोकर्नीको तहमा ओराल्दै थियो ।

म विवश थिए“ । एउटी नोकर्नीलाई मैले मालिक्नीको रूपमा नहेरी, आमा भएर हेरेकी थिए“ । व्यवहार गरेकी थिए“ ।

मैले त्यसलाई, त्यसको माटोबाट उखेलेर अन्त सारेको बिरुवालाई, आज फेरि उसको पहिलेकै ठाउँमा पुर्‍याउँदा उसले त्यो माटो चिन्नै सकिन । ठूलो सपना संगालिसकेकै मनले सपनाविहीन त्यो जीवन सोच्नै सकेन । आकाशमा उड्न पखेटा चलाइसकेकोले कठोर धरातलमा टेक्नै सकेन ।

यता मैले पनि त्यसलाई छोरीको तहमा उकाल्न पनि सकिन । नोकर्नीको तहमा ओराल्न पनि सकिन । यही नोकर्नीलाई छोरी जस्तै मान्ने मायालु मालिक्नीको मानसिकताले त्यसलाई आफ्नो वास्तविकता बिर्साइदियो । तर जब समाजले उसको वास्तविकताबाट उसलाई अवगत गराउन खोज्यो, उसलाई आफ्नो माटोमा टेकाउन खोज्यो । यही माटो परिवर्तनको असामन्जस्यले, यही सपना टुटेको पीडाले, यही काटिएको पखेटाको असहायताले सुनीताको मन चकनाचूर भएको थियो र त्यही चूर-चूर भएको मनका टुक्राहरूले नै मलाई पनि आहत तुल्याइरहेका थिए ।

सुनीतालाई मैले राख्न सकिन । त्यसको विद्रोही मन कुव्यक्तिको पन्जामा परेर त्यसले आफ्नो विनाश निम्त्याउली भन्ने डरले मैले उसलाई उसकै आफन्तहरूको जिम्मा लाइदिएँ । बिचरी ÛÛ आफ्नै घाइते मनले त्यसलाई “पुनर्मूषिको भव” को स्थितिमा ल्याइ पुर्‍याएको थियो ।

बीचका धेरै वर्षरू ऊ मबाट टाढिएकी थिई ।

अनि अहिले सुनीता फ्रान्स जानको लागि मसंग केही सहायता भाग्न आएकी रहिछे ।

मन भाँचिए पनि त्यसले आफूलाई पहिलेकै धरातलमा उभ्याइछे । उसले अरुको घरमा काम गरेर पनि आफ्नो पढाइलाई निरन्तरता दिइछे । मनमा दुःख लिएर थालेको पढाइले उसलाई कक्षामा प्रथमको स्थिति प्रदान गर्दै गयो । उसले छात्रवृति पाएरै प्रवीणतापत्रसम्म पास गरिछे र अहिले एउटा गै. स. स. को सहृदयी फ्रान्सिसी बृद्धाको सद्भावनाको फलस्वरूप छात्रवृत्ति पाएर ऊ फ्रान्स जान थालेकी रहिछे ।

सुनीताको जीवनमा आएको त्यस चमत्कारिक परिवर्तनको बारे थाहा पाउँदा मलाई असाध्यै सुख र सन्तोष लाग्यो । आखिर मैले पनि उसको जीवनमा त्यही मोड ल्याइदिन खोजेकी थिए“ । तर समाज तथा त्यसको मन बीच भएको टक्करबाट म हारेकी थिएँ । म त्यसबाट टाढिन वाध्य भएकी थिए“ ।

तर जेहोस् तात्कालिक रूपमा ऊ मसंग रिसाएता पनि पछि उसले मेरो विवशता बुझेकी होली । अनि मप्रतिको गुनासाका ग्रन्थीहरू उसको मनबाट हराएर गए होलान् र त ऊ त्यत्तिका वर्षपछि मद्दत माग्न मकहा“ नै आइपुगी । उसले ममाथि भर गरी । उसलाई थाहा थियो उसले गरेको भर, खेर जाँदैन भन्ने कुरो ।

भगवानले त्यसलाई विपन्न तथा टुहुरी बनाएर एकातिर ठगेका थिए भने, मुक्त हातले त्यसमा विद्या भरेर तथा सौन्दर्यले सिंगारेर त्यसलाई कसैभन्दा कम नहुने वरदान दिए । अब फ्रान्स जस्तो देशबाट प्राप्त विद्या तथा सौन्दर्यको देश फ्रान्सको हावापानीले गढेर सुनीता एउटा बहुमूल्य हीरा सरह हुनेछे भन्नेमा कुनै द्विविधा छैन । भगवान् संधै उसका दाहिने होउन् !

(श्रोत:-  रचना द्वैमासिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.