कथा : लटरम्म फलेका रहरहरू

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ”
ऊ सुडकेस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किन कि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ । तर ऊ आएर थचक्क बस्छ, म अक्क न बक्क हुन्छु नबस्नु पनि भन्न सक्दिन भने बस्न दिन पनि मनले स्वीकारेको छैन, कुनै बेलाको संयोग यस्तै अप्ठेरो हुन जान्छ सायद । दोधारले भित्र भित्रै रेट्छ खुव निसासिन्छु । झ्यालबाट एक मुस्लो हावा बयली खेल्दै अचेट्टेर भित्र पस्छ । मानौं धेरै हतारमा दौडेको मानिस जस्तो, मैले छोडिराखेको केश फरर्र उडाएर सबै उसको मुख छोप्न पुग्छन् ।
“आहा ! क्या आनन्द, यसरी केटीको कपाल मात्रले पनि मुहारमा स्पर्श गर्दा कता कता मीठो अनुभूति पो हुँदो रहेछ । ”
ऊ फिस्स हाँस्दै बहकियो । उसको पारा पटक्कै मन परेन, रिसको पारो ह्वात्तै बढ्यो । जुरूक्क उठेर पछाडि हेर्छु अरू पनि सिट खाली रहेछन् ।
“महाशय ! सिट अरू पनि खाली छन् तपाईं पछाडि गएर बसिदिनु होला । यहाँ मेरो श्रीमान् आउनुहुन्छ ।”
उसले अनौठो पाराले मलार्इँ क्वार क्वार्ती हेर्छ । म झन रिसले आगो बन्छु ।
“के हेरेको मान्छेको मुख पनि देखेको छैन कि कसो ?”
“देखेको छु तर तपार्इं जस्तो छुच्ची र रिसाहा अनि घमण्डी आइमाई भने देखेको छैन, हेर्नुस् म्याडम म यहाँ बस्दैमा तपाईंलाई अंगालो मार्ने त हैन नि फेरि किन चिच्याउनु प¥यो र ?”
उफ् ! म गल्छु भित्रभित्रै, ढोकाबाट हुर्र मान्छे भित्र पस्छन् । ऊ मतिर हेरेर मुसुक्क हाँस्छ, मानौं त्यो हाँसो विजयको हो, जितको हो, उत्सवको हो र मलार्ई हराएको हो । मलार्ई पनि हारेको महसुस भयो, हुन त हामीले कुन युद्ध गरेका थियौँ र हार र जीतको प्रसङ्ग आओस् तर पनि मलार्ई अरूले कुरामा जितेको पटक्कै मन पर्दैन । यो मेरो नराम्रो बानी हो थाहा पाएर पनि छुटाउन नसकेकोमा म दुःखी छु ।
घरमा श्रीमान्सँग पनि त्यस्तै ठाकठुक पर्छ । भन्छन् चुलोमा दाउरा पनि नठोकी बल्दैन । त्यस अर्थमा ठाकठुक परेको बेला जब म आफू हार्ने पक्का हुन्छ तब रोइदिन्छु । त्यसपछि उहाँले उल्टै फकाउन थाल्नुहुन्छ । तर यो पराई मान्छे त्यसको अगाडि रोएर आफू लाचार कायर बन्न पनि त भएन । बस अगाडि बढ्छ । ऊ भने मुसुमुसु हाँसीदिन्छ । उसको हाँसोले भित्रभित्रै चिर्थोछ र म झ्यालतिर फर्केर बाहिरको वातावरण नियाल्न थाल्छु । मनमा आगो बलेझैं भतभत पोल्छ, ‘एक मन लाग्छ गलहत्याएर सिटबाट झारिदिऊँ, फेरि सोँच्छु बसभरि यात्रु छन् । के ग¥यो यसले भनेर सोधे के जवाफ दिऊँ मैले ? म सोचाइका तानाबुना बुन्छु ।
“ए ! हेलो, खै त तपाईंको श्रीमान् ? मलार्ई थाहा थियो तपाईं एक्लै हुनुहुन्छ ।”
ऊ फेरि खित्का छोडेर हाँस्छ ।
“बस्न दिएपछि त चुप लागेर थेच्चिनु नि कति फतर फतर कराउन परेको होला, कहाँको पाखण्ड ? मान्छेको सङ्गत पनि कहिल्यै गर्न नपाएको जस्तो देखिन्छ ।”
म ऊ भएतिर हेर्दै नहेरी जवाफ दिन्छु ।
“म्याडम ! झ्याल बन्द गर्नुस् न हावाले तपाईंको कपाल मेरो मुहारभरि ल्यायो । यो केस पनि अचम्मको छ, मान्छे रिसाएर चौपट्ट छ तँ भने चुम्न आउँछस् ।”
एक श्वासमा भनी सिध्याउँछ ऊ आफ्नो भनाइ ।
“अलिकति घच्चा सहन नसक्नेले त हिड्नु नि बाउको कारमा, सार्वजनिक सवारी साधनमा त यस्तै हो ।” मैले छेड हान्छु, तै पनि ऊ रिसाएन ।
समथर भूभाग पातलो घर त्यो पनि एकदुई तले मात्र, पहेलपुर धान झुलेको खेत, आलीमा लटरम्म फलेका रहर, मलार्ई खुव मनप¥यो त्यो वातावरण । पछाडि घाँस, दाउँरा र दूधको क्यान राखेर महिलाहरू मस्तले साइकलमा दौडेका छन् । आफूलार्ई भने साइकल चलाउन पटक्कै आएन, श्रीमान्ले कत्ति सिकाउनु भो तर मैले आपैmँले लत छाडेँ, यसो भनौँ रूचि देखाइन । पहाडमा जन्मी बीस बाईस वसन्त पार गरेको मान्छे कसरी दुई पाङ्ग्रे साइकलमा दौडने आँट गर्न सक्नु र ? बल्ल बल्ल स्कुटर चलाउन भने सिकेँ, धन्न त्यो पनि तीन महिना लगाएर । नसिकेर पनि के गर्नु उहाँको चाहना म स्कुटरमा हिडोस् भन्ने थियो । अब त छोरीलाई स्कुलसम्म पु¥याउन र लिन जान सक्छु । अन्त त एक्लै पठाउने भए पो । कहीँ कतै सपिङ्ग जान उहाँको आँखा छल्नुपर्छ ।
“के सोचेको त्यसरी मौन बसेर, खूव मन प¥यो कि कसो तरार्ई ? यतै बसाई सरे हुन्छ नि ।”
मेरो एकाग्रपनलाई तोड्दै बोल्छ ऊ । बेला न कुवेला बिना प्रसङ्ग किन बोल्नु परेको होला । मनमनै सराप्छु उसलार्ई ।
“तपाईलार्ई गजल मन पर्छ ?” उसले विषयको उठान गर्छ ।
“नाई ! म साहित्यिकार हुँ र ?”
मेरो जवाफले गम्भीर बन्दै सुटकेसबाट एउटा पाक्षिक पत्रिका निकाल्छ । त्यसभित्र छापिएको एउटा गजल देखाउँदै भन्छ ।
“हेर्नुस् न ! यो मान्छे को हो ? त्यो त म जान्दिन तर यही गजल मेरी अदृश्य साथीले पटक पटक फोनबाट मलार्ई सुनाउँथिन् । तर अहिले अर्कैको नाममा छापिएको छ । काठमाडांै गएर उनलाई सोध्नु छ ।”
म नराम्रोसँग झस्किन्छु । एकमन भित्रभित्रै हाँस उठ्छ ।
“तपाईको अदृश्य साथीको नाम के हो नि ?”
नचाहँदा नचाहँदै फुत्किन्छ प्रश्न ।
“उनी सीमा हुन् । विवाहित छिन् तर मैले देखेको र भेटेको भने छैन । आवाज ठ्याक्कै तपाईसँग मिल्छ । साँच्चै म्याडम तपार्इंको आवाज उनकै झैं लागेर मात्र यो सिटमा बस्न आएको हुँ । तपाई त्यत्तिकै रिसाउनु भो, सरि ल ।”
भाव विव्हल बनायो उसको वाक्यले ।
“ठीकै छ ! मेरो बानी नै त्यस्तै छ माइन्ड नगर्नु ल ।”
नरम भएर मैले भनेँ । यो मान्छे राम हो भन्ने मलार्ई स्पष्ट थाहा भयो । तैपनि चिनाउने प्रयास गर्नु थिएन उसलार्ई । ऊसँग फेस टु फेस हुने चाहना भए म नाम परिवर्तन गर्ने नै थिइन । भित्र–भित्रै हाँस उठ्छ । उसको बहुलठ्ठीपन देखेर । ऊ फेरि मेरो ध्यान आफूतिर केन्द्रित गर्दै बोल्छ–
“साँच्चै म्याडम ! हामी फोनबाट घन्टौं कुरा गथ्र्यौं । कति मीठा, रसिला थिए कुरा गर्ने तरिका, उनको हाँसो त झन यति मादक कि ………… ।”
ऊ बीचमा रोकिन्छ ।
“आजभोलि उनीसँग सम्पर्क छैन ?”
म प्रश्न तेर्साउँछु ।
“खै फोन त गरेको हुँ, तर प्रायः सधै मोबाइल अफ हुन्छ । यदाकदा अन भए पनि उनको श्रीमान्ले उठाउँछन् उनको आवाज सुन्ने बित्तिकै म पानी– पानी हुन्छु । बोल्ने र सोध्ने साहस ममा हुन्न ।”
ऊ अलि उदास र निन्याउरो देखिन्छ । हामी चढेको बस नारायणगढ, ट्राफिक चोकमा आएर रोकियो ।
“झरेर केही खाने हैन म्याडम !”
उसले मतिर फर्केर जिज्ञासा फ्याँक्छ ।
“अहँ ! मलार्ई केही खान मन छैन तपाई खानुस् । फेरि यो यात्रामा कच्याक कुचुक खाँदा देहले पनि सहन्न ।”
ऊ बसबाट झर्छ । म उसलार्ई खुब नियालि रहन्छु ।
सम्झेँ, ऊ फोनबाट भन्थ्यो–“सीमा ! म कस्तो छु भनेर तिमीले कल्पना गरेकी छौ ? म त गोरोगोरो छु, त्यति अग्लो पनि हैन र होचो पनि हैन पातलो नै छु । नहाँसी बोल्नै आउन्न, प्रायः हाँसिरहेकै हुन्छु ।” साँच्चै उसको भनाइ सतप्रतिशत सही रहेछ । फोनमा जति रोमान्टिक थियो ऊ, प्रत्यक्ष पनि त्यस्तै, कस्तो सोझो युवक ! छलकपट रतिभर छैन । मनमा कुरा खेल्न थाल्यो ।
“म्याडम लिनुस् आइसक्रिम मेरो तर्फबाट सम्झना स्वरूप, आज पो संयोगले बसमा सँगै यात्रा गर्न पाएका छौं । भविष्य सबैको अनिश्चित हुन्छ, के थाहा ? जीवनका मोडहरूमा यही भेट पहिलो र अन्तिम पनि हुन सक्छ ।”
त्यति चन्चले, चुलबुले उसको मुहारमा भावुकताको रेखाहरू कोरिन्छन् । नाईं भन्न नसकेर समाउँछु उसले दिएको आइसक्रिम ।
“तपाईंको विवाह भएको छैन ?”
अप्रत्याशित ओकलिन्छ जिज्ञासा ।
उसले पर बजारतिर नियाल्दै भन्छ । “खै ! सधै रोजी रोटीकै लागि खटिनुमा समय चिप्लिदो रै‘छ ।”
अलिकति सहजता प्रदर्शन गर्दै–
“यसो भनौँ म्याडम ! मैले खोजेकी जस्तो भेटिएकी छैन् । भने नि तपाईंलाई, बाहिर शरीरको बनावट नदेख्दै सीमा असाध्यै मन परिन् तर विवाहित रहिछन् । सायद कर्ममा नै उनी लेखेकी थिइनन् क्यारे, यसै भनेर चित्त बुझाउँछु ।”
ऊ चुप लाग्छ । आधा घण्टाको बिश्राम पछि बस नारायणगढबाट पुनः काठमाडौ बत्तीन्छ । बसको यात्राबाट थकित भएर हो कि कुन्नि उसका आँखा लोलाउँछन् । म बीचमा बोलेर उसलार्ई डिस्टप गर्न चाहन्न । झ्यालबाट एक मुस्लो चिसो हावाले हुत्तेर मलार्ई अङ्कमाल गरी उसैलार्ई पच्छ्याउँछ, तै पनि ऊ त्यो हावाको कुनै पर्वाह नगरी निदाउँछ । उसको शून्यतामा म पनि मौन बन्न पुग्छु । आफूमात्र बोल्ने कुरै थिएन, बिगतको कुरा दिमागमा बयली खेल्दै मौनताको फाइदा उठाउन आइपुग्छ ।
आजभन्दा दुई वर्ष अगाडिको कुरा हो । माघ महिना जाडो भने मनग्य हुन्छ सहरमा, बिहानको दश बजेसम्म घाम देख्न नपाउनु सहरबासीको दुभाग्र्य हो । दिउँसोको समय, मधुरो घामको तापमा डँढाल्नु सेकाएर म कौसीमा बदम खाँदै थिएँ । अनायासै मोबाइलको घण्टी बज्यो । हातमा लिएर हेरेँ, नम्बर चिनेको थिएन । उठाऊँ कि नउठाऊँ भन्ने दोधारमा परेँ । रिङ्ग बजिरह्यो । म भने बदाम खानमा नै तल्लीन रहेँ । लगातर रिङ्ग बजेपछि फोन उठाएँ–
“हेलो !”
“हेलो ! हाई, के छ सीमा ?”
उताबाट एउटा युवकको आवाज आयो । पहिला त रङ्ग नम्बर भनेर राखांै कि जस्तो लाग्यो, फेरि सोचेँ फोन उसैले गरेको हो । एकछिन सीमा बनेर कुरा गर्दा के पो फरक पर्ला र कमसेकम समय त पास हुन्छ भन्ने सोचेर मैले भनेँ–
“हाई ! तिमी को बोलेका मैले त चिन्न सकिन नि ।”
“म तिम्रो साथी राम ! आज कलेज गइनौ ?”
उसले प्रश्नको झटारो हुत्यायो । मैले अब गम्भीर बनेर कुरा गर्नुपर्छ भन्ने सोचँे ।
“अँ साच्ची चिसो लागेर त्यति सन्चो छैन त्यसैले आज कलेज गइन ।”
यस्तै कुरा घण्टौं भयो हाम्रो । उसको बारेमा सबै सोधेँ मैले तर आफ्नो बारेमा भने केही बताइन, जे बताएँ त्यो सबै राम कहानी झुटो । उसको घर खोटाङ्ग, बाबु आमाको माइलो छोरा, बेलाबखत म उसलाई जिस्काउथेँ ।
“जेठो छोरा पिताजीलाई, कान्छो आमालाई, माइलो त बेकाम । किन जन्म लिएको ?”
त्यो समय ऊ हाँसी–हाँसी भन्थ्यो–
“बाबा आमाको लागि नभए पनि प्रियसीको लागि त हुँ नि कसो ?” बिहान पशुपति क्याम्पसमा पढ्ने रै‘छ, बेलुकी नर्सिङ्ग होममा ल्याब एसिस्टेन्ट पदमा काम गर्ने, दिउँसो घरमा बस्दा के गरूँ के गरूँ लागेर भाइको फोन डायरीबाट सीमा भन्ने केटीको नम्बर टिपेर फोन गर्दा सातको अङ्क डायल गर्नु पर्नेमा तीन डायल गर्दा फोन मेरो मोवाइलमा आएको रहेछ । महिनौ चल्यो हाम्रो फोन वार्ता, मीठा मीठा कुरा गथ्र्यो ऊ, तर म भने जति तिता कुरा गर्थे ऊ मप्रति नजिकिएको आभाष पाउन थालेँ ।
उसले भन्थ्यो– “सीमा ! तिम्रो आवाज नसुनेको दिन आङमा घाम नै लाग्दैन । सबैको माझमा पनि एक्लै भएको महसुस हुन्छ । आखीर किन ? अरूले सुन्दा हाँस्छन्, हाँस्ने मात्र कहाँ हो र पागल नै भन्छन् । तर म तिमीलाई माया गर्न थालेको छु । हो सीमा ! के कसैलार्ई चाहनु, मन पराउनु र माया गर्नु पागलपन हो भने सही, मलार्ई पागलपन मन्जुर छ ।”
कति पटक सम्झाउने प्रयास गर्दागर्दै पनि असफल हुन्थें म । साँच्चै उसको पागलपनले सीमा नाघ्ला भन्ने डरले उसको पागलपन दूर गराउन वास्तविकता ओकल्न कर लाग्यो मलाई र सबै यथार्थ बताएँ । मलाई राम्रोसँग याद छ त्यो पल फोनमै रोएको थियो ऊ । रूवाइको क्रन्दनसँगै चुपचाप फोन राखिदिएको थियो उसले । किन किन मलाई पनि नरमाइलो लाग्यो साथमा पश्चाताप पनि । सायद मैले ऊससँग खुलेर कुरा गर्न हुन्न थियो होला । तर घटनाले यो मोड लिन्छ भन्ने कल्पनासम्म गरेको थिइन मैले ।
भोलिपल्ट फेरि उसको फोन आयो, ऊ झन भावुक बनेर भन्न थाल्यो–
“सीमा ! म तिमीबेगर जिउन सक्दिन । पाँच, सात महिनाको फोनमा कुरा गराइले म तिमीप्रति यति नजिकिन गएँछु कि आफूले आफूलार्ई नै सम्हाल्न नसक्ने भएँ । प्लिज सीमा ! म संसारको सारा खुसी तिम्रो पोल्टामा राखीदिन्छु मलार्ई आफ्नो बनाऊ । छाडिदेऊ तिम्रो श्रीमान्लाई । संसारमा तिमी नै पहिलो नारी पनि त हैनौ दोस्रो विवाह गर्ने थाहा छ तिमीलाई, द्रौपतीका पाँचवटा श्रीमान् थिए । के हुन्छ त तिम्रो र मेरो मन मिलेपछि ।”
फोन मै खुव बहकिएको थियो ऊ त्यो पल । मैले सम्झाउने लाखौं कोसिस गरेँ तर सबै असफल भयो । उसको जिद्दी, एकोहोरोपन, बहुलठ्ठी स्वभावले मलार्ई आजित बनायो । सोध्दै, खोज्दै तिम्रो घरमा आउँछु भनेर पटक पटक धम्काउँथ्यो ऊ मलार्ई । कति दिन त मोवाइलको स्वीच अफ गरेर पनि राखेँ । तर साध्य लागेन । श्रीमान्ले सोध्नु हुन्थ्यो किन मोबाइल अफ गरेको भनेर, के जवाफ दिउँ म उहाँलाई । कसरी भनौं एउटा केटा पछि लागेको छ उसले मलार्ई लान्छु भन्छ भनेर । म सारै दुःखमा परेँ । अन्तमा एउटा उपाय मेरो लागि खडा भयो त्यो हो मोवाइलको सिमकार्ड साट्ने । लगत्तै श्रीमानसंग सिमकार्ड साटेर समस्याबाट मुक्ति पाएकी थिएँ, त्यो समय मैले ।
“ल ! ल नौविसे आयो, खाजा नास्ता गर्ने जति झरौँ ।” खलासीको आवाजले म अतीतबाट वर्तमानमा आएँ । ऊ पनि आँखा मिच्दै उठ्यो ।
“म्याडम ! म त निदाएँछु क्यारे । तपाईंलाई बोर त भएन है ? उठाउनुभएको भए हुन्थ्यो नि ।”
आफू निदाएकोमा असन्तुष्टि जाहेर गर्दै बोल्छ ऊ ।
“तपाईंको मीठो निन्द्रा बिथोल्न चाहिन मैले, अँ साँच्ची के देख्नु भयो सपनामा ?”
“सपनाहरू मीठा हुन्छन् र झुटा पनि, सबै देखिएका सपनाहरूले मूर्त रूप पाउँदो हो त म बताउँथे तपाईलाई तर म्याडम ! यिनै झुटा र मीठा सपना सजाउँदै, कल्पिदै जीवनका सत्ताइसौं वसन्त बितिसकेछन् । थाहा छैन अझ कति वर्ष यसरी नै गुज्रिने हुन् ।”
लामो सुक्केरा हाल्दै आङ तन्काउँदै भन्छ ऊ । त्यसै प्रसङ्गलाई अगाडि बढाएर झनै उसको मन दुखाउनु थिएन मलाई ।
“झरौँ बसबाट, यहाँको खीर असाध्यै मीठो हुन्छ । खाने हैन त ?”
म विषय मोड्दै बसबाट उत्रन्छु । ऊ पनि झर्छ । हामी एउटै टेबलमा आमने सामने बसेर खीर खान थाल्छौँ ।
“वा ! यो त गाउँमा आमाले पकाएको जस्तै मीठो र स्वादिलो छ साँच्चै तपाईको रोजाइ एक नम्बर नै छ । मान्नुपर्छ बा तपाईंलाई ।”
खीरको स्वादमा जिव्रो फड्कार्दै बोल्छ ऊ, जवाफमा म मात्र हाँसिदिन्छु ।
नास्ता पछाडि सबै यात्रु बसमा चढ्छन् ऊ र म पनि आआफ्नो सिटमा गएर बस्छौँ ।
“अब एक घण्टामा त बसपार्क पुगिएला हैन म्याडम ?”
“हो ! तपाईं भएर पनि आजको बसको यात्रा अविस्मरणीय भयो । मैले यस्तो हुनुहुन्छ होला भन्ने सोचेकी थिइन तर तपाई फरक हुनुहुँदो रहेछ ।”
ऊ हाँस्छ गालामा खाल्टो पार्दै, फेरि उही पत्रिकाको पहिलो शेर गजल सुन्ने गरी पढ्छ ।
“तिमी किन्नर हुँ भन्थ्यौ म किन्नरी थिएँ ।
यौवन फक्रिएर खुव सुन्दरी थिएँ । ।”
“निकै मन छोयो यो गजलले कि क्या हो ?” म जिस्क्याउँछु ।
“तपाईं बुझ्नु हुन्न म्याडम यस्तो कुरा, भन्छन् खुकुरीको चोट अचानोलार्ई मात्र थाहा हुन्छ ।”
“सीमा असाध्यै मन परेकी थिइन् तपाईलार्ई ?” म सोध्छु ।
“आज सम्म त्यति मन अरूसँग मिलेको पनि छैन न त दिल खोलेर कुरा नै गरेको छु । जीवनको मोडमा सपनाकी राजकुमारी उही एउटी त थिइन् ।”
“फोनबाट त्यति नजिक बनेकी सीमा अहिले अगाडि आए के भन्नुहुन्छ ?”
“मात्र धन्यवाद दिन्छु । जीवनको उतार चढावमा धेरै कुरा सिकेको छु उनीबाट, जुन कुरा आज जिउने सहारा बनेको छ ।”
“आफ्नो वास्तविकता लुकाएर तपाईको दिल भड्काएकोमा दोषी ठान्नु हुन्न ?”
“दोषी ! म आफै हुँ, उनले कुरा गर्न नचाहँदा पनि बारबार फोन गरेर विवश बनाउँथेँ । झण्डै आफ्नो निजी स्वार्थको लागि उनको संसारमा आगो लगाइनछु । अहिले सम्झदा खेद लाग्छ । त्यसैले पनि होला उनीप्रति कुनै गुनासो छैन । गुनासो छ त केवल समयसँग मात्र ।”
कुरै कुरामा कलङ्की आइपुगेछौँ । म जाउलाखेल जान त्यहीँ झरेर ट्याक्सी समात्नु पर्थो। त्यसैले पनि ब्याग समातेर बसबाट झरेँ, मेरो सुटकेस झारी दिन उसैले सहयोग गर्यो । दुईचार जना यात्रु झारेर बस गोंगबु बसपार्कतिर लम्कियो ।
मैले “जान्छु है ।” भनेँ ।
उसले चुपचाप टाउको हल्लायो । बस पर पुग्दा झ्यालबाट उसले हात हल्लाइ रहेको रहेछ । मैले पनि हात हल्लाएँ केही सम्झेर, केही बिर्सेर त केही खुसीमा भने केही दुःखमा ।

(कथाकार मेट्रो अनलाइन दैनिक पत्रिका, काठमाडौंको सम्पादक हुन् ।)

(श्रोत:- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.