कथा : धर्मबिम्ब

~भुवन ढुङ्गाना~

उसले केटाकेटीमा मन्दिरमा बज्ने घण्टको स्वर सुनेकी थिई । यद्यपि त्यस बखत त्यो घण्ट मन्दिरमा बजेको हुँदैनथ्यो । उसकी आमाले भान्साघरनजिकै थापेको एउटा सानो देउताथान थियो, मन्दिरको सानो रुप । घरधन्दामा लाग्नुभन्दा अगाडि आमाले गर्ने नित्यपूजा पनि पथ्र्यो । घण्टको टनटन-टनटन स्वर सुनेपछि केटाकेटीमा उसको निद्रा खुल्ने गथ्र्यो, अहिलेको उसको कोठामा राखिएको अलार्म घडीजस्तै थियो आमाले बजाउने घण्ट ।

एकपटक ऊ र उसको भाइबीच सल्लाह पनि भएको थियो बिहानको बेला उनीहरुको निद्रा खलबल्याउने आमाको त्यो घण्ट कतै लुकाइदिन पाए हुन्थ्यो ।

एकदिन दिउँसोपख भाइले त्यो घण्ट कतै लुकाइ दिन खोज्दा कुबेलामा बजेको घण्टको स्वर सुनेर आमाले आत्तिदै कोठा बाहिर निस्किएर भाइलाई गाली गर्नुभएको थियो, “कुबेलामा घण्ट बजाउनु हुँदैन, यो त भगनान्लाई बोलाउन मात्र बजाउने हो- साँझ बिहान । घण्ट खेल्ने कुरा हो र ?”

घण्ट खेल्ने कुरा होइन रहेछ, उमेर बढ्दै गएपछि उसले यो कुरा पनि बुझ्दै गई ।

समयको अन्तरालमा ऊ बालिकाबाट युवती हुन पुगी ।

उसलाई सम्झना छ- प्रथम रजस्वला भएको दिन अँध्यारो कोठामा थुनिएर बस्नुपर्दा अपराधबोधले ग्रसित उसका आँखाबाट बलिन्द्रधारा आँसु झरेका थिए । उसले आफूबाट कुनै पाप भएछ भन्ठानेकी थिई । त्यस अँध्यारो कोठामा बसेका दिनहरुमा उसले आफूबारे धेरै कुरा थाहा पाई । ती दिनहरुमा युवतीको रुपमा पाप र पुण्य के हो भन्ने कुराको उसमा बीजारोपण भएको थियो । रजस्वलालाई धर्मबिम्ब मानेर उसकी आमाले उसलाई सिकाएका नीतिनियम कहिले धर्मजस्तो, कहिले पाप, कहिले अभिसाप त कहिले आफूले पाएको वरदानजस्तो लागेको थियो, पछिसम्म पनि लागिनै रहृयो ।

रजस्वला भएपछिको बाह्रौं दिन बिहानीपख नुहाइसकेपछि पहेंलो सारी ब्लाउजमा धार्मिक विधिअनुसार पूजा गर्न उसलाई आसनीमा बसाइएको थियो । त्यो बेला आफ्नो अगाडि अर्घमा केराको कोसा राखेर जल चढाउन सिकाइरहेको पण्डिततिर हेर्न पनि नसकेर उसले लाजले टाउको निहुर्‍याएकी थिई । उसलाई त्यो अर्घ स्त्री योनीको प्रतीक र त्यसमाथि राखिएको केराको कोसाले रोमांचित बनाएको थियो । जल चढाउँदै गरेका उसका हातहरु अनयास कामेका थिए । यस्तो अद्भुत तुलनामा ऊ आफैँ छक्क परेकी थिई । बर्सेनि आउने तीज-पञ्चमीका पूजाहरुमा घरका स्वास्नीमान्छेहरु पूजामा एकाग्र भएर अर्घमाथि राखिएको केराको कोसाबाट थालीमा जल चढाइरहँदा उसको मनको कुना पुरुष-स्त्रीयोनि बिम्बमा केन्द्रित भइरहन्थ्यो । अरुजस्तो पूजामा एकाग्र हुन सकिन ऊ । तैपनि उसले यो धर्मबिम्बको रहस्य कतै उद्घाटित गरिन । मनमनै यो पापलाई धर्मको आडमा सँगालेर राखेको वषौँ भइसक्यो, अर्घ र केराको कोसाको रहस्य त्यो धर्मबिम्ब ।

ऊ उसकी आमाजस्ती हुन सकिन ।

समयको चापले ऊ गृहिणी र बाहिर पनि काम गर्ने एउटा आधुनिक युवती हुन पुगी । उसको दिनचर्या अति व्यस्त रहन्थ्यो । कुनै दिन क्लान्त, थकित झमक्क साँझ परेपछि घरभित्र पस्दापस्दै छिमेकमा बजिरहेको घण्टको स्वरसँगै मिसिएर उसकी आमाको अनुपस्थितिमा पनि उनको स्वरले उसलाई सोधिरहेको हुन्थ्यो- ’किन यति अबेर नि ? साँझको घण्ट बजिसक्यो थाकेर आइस् होइन ?’ त्यस बखत आमालाई प्रयुत्तर दिनु अगावै थकाइको लामो श्वास कतै पनि प्रतिध्वनित नभएर ऊ भित्रभित्रै गुम्सिइरहन्थ्यो । बाहिर घण्ट बजिरहन्थ्यो घरभित्र उसको स्वर दबिरहन्थ्यो ।

समयको अन्तरालमा ऊ युवतीबाट आमा हुन पुगी ।

त्यो एक वर्षको जाडोको बिहानी थियो । आफ्नो एकवर्षे छोरालाई घाममा तेल लगाउन नाङ्गै पारेपछि ऊ केही क्षण असमञ्जसमा परेकी थई । तेल लगाउँदालगाउँदै हठात् उसका हातहरु टक्क रोकिएका थिए । आमाको हातबाट बज्ने त्यो सानो घण्टभित्र लत्रिएर, झुण्डिएर बज्ने त्यो बाजाजस्तै सानो आकारको उसको छोराको लिङ्ग । उसले पापपुण्य सबै बिर्सिएर छोराको त्यो सानो ध्वनिरहित बाजालाई निहुरिएर म्वाईँ खाई । काउकुती लागेको जस्तो गरेर उसको छोरो खितितिती हाँसिरहृयो । मातृप्रेममा ऊ पनि मुस्कुराई ।

जीवनको उत्तराद्धमा सम्भोग-इच्छाबाट परित्यक्त एक्लै निष्पाप मनस्थितिमा ईश्वरदर्शन हेतु अर्थात भ्रममा मन्दिरको ढोकामा, लाममाझ भीडमा ऊ पनि उभिरहेकी हुन्छे । मन्दिरअगाडि झुण्डिरहेको घण्ट कसैले बजाइरहँदा हठात् उसको मनमा त्यो घण्ट, त्यो धर्मबिम्बबारे पापपुण्य सँगसँगै मुस्कुराउँछन्, घोप्टिएको स्त्रीयोनी-आकारको घण्ट र यसले छोपेर पनि नछोपिएको, लत्रिएर बाहिर निस्किएको, झुन्डिरहेको बजाउने बाजा, पुरुषलिङ्ग । स्त्रीयोनी-आकारको घण्टको कापकापमा ठोकिएर, बजि्रएर त्यो पुरुषलिङ्ग आकारको बाजाबाट ध्वनि प्रतिध्वनित भइरहेछ । भीडको कोलाहललाई पनि उछिन्ने गरी आवाज घन्किरहेछ । ऊ मन्त्रमुग्ध उभिएर त्यो आवाज सुनिरहेकी छे ।

केटाकेटीमा अर्घ र केराको कोसाको रहस्यजस्तै त्यो घण्टबिम्ब पनि आज उसलाई रहस्यमय लाग्यो र स्त्रीयोनीसँगको स्पर्शविना बज्न नसक्ने, बेकामको ध्वनिरहित, स्वररहित त्यो लत्रिएर, झुण्डिएको बाजा, त्यो घण्टबिम्ब । पुरुषको पुरुषार्थलाई थिचेर, घोप्टिएर बसेको त्यो स्त्रीयोनीप्रति उसलाई गर्व लागेर आयो । मन्दिर परिसरमा बालेको धूपको सुगन्धमा नाक फुराएर सुँघिरहँदा आफ्नो सर्वाङ्ग नै उसलाई सुगन्धमय भएको जस्तो लाग्यो

सम्भोगक्षणका धेरै प्रपञ्चहरु उसले बिर्सिसकी । उसको सम्झना बल्झिने गरी आँखाअगाडि टक्क झुण्डिएको छ घण्टबिम्ब । एउटा धमिलो तर बिर्सन नसकिने दृश्य उसका आँखाअगाडि तस्विर हेरेजस्तै आइरहेछ, घण्टबिम्बले सम्झाइरहेछन् स्त्रीपुरुष-सम्भोगका दृश्य । मन्दिरप्राङ्गणमा उभिइरहेको बेला पनि मनमा उठेको यो पापसोचाइबाट मुक्त हुन उसले लम्किएर त्यो झुण्डिरहेको घण्टमा लत्रिएको बाजालाई बजाउन थाल्छे- टननन-टननन-टननन…….।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.