पुस्तक अंश : सीमान्त विचलन

~माधव सयपत्री~Madhab Sayapatri

आजकल मेरो मन अत्यन्त उद्वेलित भैरहन्छ । फर्केर आफ्नै भूमिमा जाउँ जाउँ लाग्छ । केको कमी थियो र हामीलाई त्यहाँ ? सबैथोक पुगेको थियो । हामीले देश छोड्न लागेको बेलामा आफन्तहरू आएर धर्धरी रूँदा पनि श्रीमान मान्नुभएन । सासूससुरा डाँकै छोडेर रुनुभएको थियो । मेरो बुबामुमाले पनि अपहत्ते गर्नुभएको थियो । कस्तो मन होला मेरो श्रीमानको ? छोराछोरी पनि खुसीले आएका होइनन् ।

कारखाना, घर, गाडी टन्नै सम्पत्ति थियो हाम्रो । तर पनि उहाँलाई सम्पत्तिले पुगेनछ । देशको माया लागेनछ । बेलाबेलामा आउनेजाने गरिरहन्छु भनेर आफ्ना बाबुआमालाई झुक्याएर आउनु भो ।

मलाई भने मातृभूमिको सम्झनाले चिमोटिरहन्छ । अब मैले यो जीवनमा नेपाल देखौँली र ! कहिले त मन भक्कानिएर आँसु नै र्झछ । मनलाई सम्हालेर ल्याउँछु । जेठो छोरा सुशान्तबाहेक छोराछोरी यहीँ छन् । श्रीमान साथमा नै हुनुहुन्छ । किन पीर गर्ने !

तर, छोराछोरी, श्रीमान्, सम्पत्ति मात्र आफ्नो देश होइन रहेछ । देश भनेको छुट्टै भावना रहेछ । देशको खाँचो अरू चीजबाट पूरा नहुँदो रहेछ ।

एकहिसाबले हेर्दा यहाँ मलाई कुनै कुराको कमी छैन । छिमेकी अत्यन्त सहयोगी, सहृदयी छन् । छिमेकीहरूमा मेलिना सारै मिलनसार छिन् । आँखैमा हाल्दा पनि नबिझाउने । ‘न्यास्रो नमान्नू, अप्ठ्यारो पर्दा भन्न गाह्रो नमान्नू’ भन्छिन् । बिहानबेलुकै आइरहन्छिन् । हाम्रै छिमेकी देश भारतबाट आएकी रहिछन् ।

मेलिना धेरैजसो हिन्दी बोल्छिन् । मलाई बुझ्न पनि सजिलो हुन्छ । बुझ्न त अङ्ग्रेजी राम्ररी बुझ्छु तर जवाफ फर्काउन अप्ठ्यारो लाग्छ । हिन्दीमा चाहिँ सजिलो लाग्छ ।

मेलिनाको श्रीमान् अष्ट्रेलियन रहेछन् । भारतमा एउटै क्याम्पसमा पढेछन् । मायापिरती बसेछ । घरसल्लाहले मेलिनाले बिहे गरिछन् र यता आइछन् । उनी मेरी छिमेकी र साथी पनि भएकी छिन् । मेलिना पनि अहिले खासै केही काम गर्दिनन् । बिहान कलेजमा दुई पिरेड पढाएर आउँछिन् र दिनभरि घरै बस्छिन् । म उनकोमा जान्छु, उनी मेरोमा आउँछिन् । हाम्रा कुरा मिल्छन् । भावना मिल्छ । मेरो श्रीमान र मेलिनाको श्रीमान् पनि अति मिल्नुहुन्छ । धेरैजसो सँगसँगै पार्टीमा जानुहुन्छ ।

यो विकसित महाद्वीपको सुन्दर सहरमा फेरि पनि म केही नभएको अनुभव गर्छु । सधैँ एउटै कुराले मेरो मन खोसि्ररहन्छ, खनिरहन्छ, खोतलिरहन्छ, चिमोटिरहन्छ, चिथोरिरहन्छ र निचोरिरहन्छ । यो कस्तो कुरा ! अरूलाई भनेर मनको बह पोख्न नहुने । मनको बह नपोखी यो आगो कसरी निभ्ला र ! मानौँ मलाई मेरो देशले सरापेको छ । विगतको स्मृतिले पोलिरहेछ । म यो पराइ देशबाट उम्किएर कहिले आफ्नी आमाको काखमा लुटपुटिन पुग्ने होला !

श्रीमान् भन्नुहुन्छ, ‘करूणा तिमी किन सधैँ मलिन देखिन्छ्यौ ? तिमीलाई केको अभाव भयो ? यस्तो रमाइलो सहरमा पनि खुसी नहुने ? अबचाहिँ म तिम्रा निराश आँखा हेरिरहन सक्दिनँ । तिमीले आफ्नो बेखुसीको कारण मलाई भन्नुपर्छ ।’

यस्ता वाक्यहरू वहाँले पटकपटक दोहोर्‍याई सक्नुभएको छ । कतिपटक त रौद्ररूप लिनुभयो । धेरै पटक चेतावनी दिनुभयो । मैले उहाँसामु यस्तो उत्तर दिने गरेको छु, ‘मलाई केही कुराको कमी पनि छैन । केही पिर पनि छैन । त्यसैले हजुर ढुक्क हुनुस्, म सन्तुष्ट छु । हजुर साथमा हुनुहुन्छ । छोराछोरी छन्, मलाई केको चिन्ता !’ यति भनेर म वहाँको काखमा मुलायम केशराशि राखिदिन्थें। वहाँलाई विश्वास लाग्दैनथ्यो । भन्नुहुन्थ्यो, ‘हेर करू, मलाई ढाँटेर आखिर तिमीले के पाउँछ्यौ !’

मलाई भन्न मन लाग्थ्यो, ‘म फेरि नेपाल र्फकन्छु ।’ तर यसो भन्नु उचित थिएन किनकि मेरो श्रीमान् त सपनामा पनि त्यता र्फकन चाहनुहुन्नथ्यो । हामीले त नेपालको नागरिकतासमेत त्यागिसकेका थियौँ ।

म अव्यक्त वेदनाले थिलथिलिँदै गएँ । मेरो शरीर पातलिँदै गयो ।

मेरो मुटुको टुक्रा सुशान्त यता आएन । देशमा नै राजनीति गरेर बस्यो । अहिले ऊ विद्यार्थी संगठनको माथ्लै तहमा पुगेको छ रे । ‘भ्रष्ट नेता हटाऊ’ अभियानमा जुटेको छ रे । त्यो अभियान देशव्यापी भइसकेको छ रे । म उस्को अभियानको सफलताको कामना गर्दछु । नेताहरुको बुद्धि छिट्टै फिरोस् । देश उँभो लागोस् । यति टाढा बसेर यो भन्दा बढी के नै कामना गर्न सक्छु र मैले !

सुशान्त आइएससी पढ्दादेखि नै राजनीतिमा लागेको थियो । उसलाई मैले असहयोग गरिनँ । श्रीमान्ले त्यतिबेला थाह पाउनुभएको भए नराम्रो मान्नुहुन्थ्यो होला । तर, आजकल मेरो खुसीको लागि हो वा छोराले रामै्र गर्यो भनेर हो वहाँ खुसी नै देखिनुहुन्छ । छोरा असल नेता बनोस् भन्ने कामना गर्नुहुन्छ । फोनमा पनि राजनीतिको कुरा सोध्नुहुन्छ । सुशान्त राजनीतिमा लागेको कुरा मैले पहिल्यै थाह नदिएकोमा चित्त कुँडाउनुहुन्छ । म मलाई थाह थिएन भनिदिन्छु । युवाहरुले देश सपार्छन् कि भन्ने वहाँलाई पनि लागेको होला ।

मेलिना मलाई पटकपटक सोधेर हैरान पार्छे, ‘तिमीहरूको विवाह प्रेम कि मागी ?’ मलाई पटक्कै उत्तर दिन मन हुँदैन । तर ऊ सोध्न छाड्दिन । एकदिन त मैले भनिदिएँ, ‘हाम्रो विवाह प्रेम पनि होइन र मागी पनि होइन । हाम्रो विवाह चोरी विवाह हो ।’

यसको अर्थ उसले प्रेमविवाह भन्ने लगाई । ठिकै छ, उसले जस्तोसुकै अर्थ लगाओस् । चोरी त यस कारणले भनेको हुँ, नचाही नचाही भएको विवाह थियो । फेरि मेलिनाले सोधी, ‘करूणा, तिम्रो त्यस्तो मिलेको परिवार छ तर तिमी मलिन देखिन्छ्यौ । तिमीलाई के भएको छ हँ ?’

मैले ठाडो जवाफ दिएँ, ‘मेलिना, मेरो बानी नै यस्तै हो । यो बानी तिमीलाई नराम्रो लाग्यो ?’ मैले यथार्थ भन्नु हुन्थेन ।

उसले भित्री कुरा दुहुन धेरै प्रयास गरी तर गाँठो फुकाउन सकिन । अलिअलि रिसाएझैँ गरी आफ्नै घरतिर लागी । मैले मेरो यान्त्रिक र शुष्क ढर्रामा बाँधिएको जीवनलाई सामान्य बनाउन खोजेँ तर सकिनँ । मसँग सबैथोक भएर पनि केही छैन । म रित्तो छु । खाडलभित्र नराम्ररी थचारिएकी छु ।

बिथोलिएको, चिथोरिएको मनलाई धेरै राहत दिने एउटा उपन्यासको पाण्डुलिपि छ मेरो साथमा । त्यसलाई तीनचार पटक पढिसकेँ । पढ्ने रहर अझै मेटिएको छैन । त्यसैभित्र म मेरो विगत पढ्छु र सम्झन्छु ।

आज श्रीमान् र मैले इमेल चेक गर्यौँ । ससुराले मेल गर्नुभएकोरहेछ । लेख्नुभएको थियो, ‘बाबू प्रताप, तिमी हाम्रो एकमात्र सन्तान हौ । सोचेका थियौँ, तिमी नै हाम्रो बुढेसकालको लौरो हुनेछौ । अशक्त अवस्थाको सहारा बन्छौ तर तिमीले हाम्रो माया राखेनौ । तिमीलाई पैसाले पुगेन । कति सकिन्छ कमाउँनू । हामी देश छोड्न किमार्थ सक्दैनौँ । हामी यहीँ बाँच्छौँ, यहीँ मर्छौँ । तिमीहरूको भन्दा हामीलाई देश प्यारो लाग्यो । आएनन् भनेर नरिसाऊ । देश बाँचुन्जेल हामी देश छाड्न सक्दैनौँ । इच्छा परे फोन गर्नू । पैसाजस्तो ठूलो बाबुआमा कहाँ हुन्छन् र ! यो देश डुबे पनि हामी यहीँ डुबेर मर्छौँ । हाम्रो पीर कहिल्यै नलिनू । तर बाबु, दुईचार वर्षपछि छोराछोरीले देश खोज्छन् । त्यतिबेला तिमीले उनीहरूलाई आफ्नै देश दिन सक्नुपर्छ ।’

अहो ! मेल पढेपछि म त धर्धरी रोएँ । श्रीमान्मा केही परिवर्तन देखिएन । साना छोराछोरी पनि रोए । उनीहरू हजुरबाहजुरममी नआएकोमा रोएका हुन्, मलाई थाहा छ । सानैमा देश गुमाउनेहरूले ठूलो भएपछि देश कहाँ खोजून् !

यो परदेशमा म सधैं रोइरहेको छु अर्थात् मेरो मन असहृय पीडाले पिल्सिरहेको छ । अहो ! मेरो अतित कति कहालीलाग्दो छ । सत्रअठार वर्षअगाडिको मेरो जीवनको कथा मेरो मानसपटलमा फैलिन थाल्दछ । त्यसैलाई म यता फर्काउँछु, उता पल्टाउँछु । अनि त्यसमा आफ्नै अनुहार हेर्छु ।

(स्रोत :-  सयपत्रीको हालै सार्वजनिक उपन्यास ‘सीमान्त विचलन’ को एक अंश । सयपत्री रामेछापमा शिक्षक छन् ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पुस्तक अंश | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *