पुस्तक अंश : यत्रैसित्ती !

~टंक चौलागाई~

kathmandu geet-3

“संविधान बन्दैन । संविधान बन्दैन । ……..का छोराहरुले संविधान बनाउँदैनन् । भारतले संविधान बनाउन दिँदैन । चीनले संविधान बनाउन दिँदैन । अमि्रकाले संविधान बनाउन दिँदैन । ज्ञानेले संविधान बनाउन दिँदैन । ए भाते हो ! नबनाओ संविधान ।” साइको कराइरहेको थियो । मान्छेहरुले उसलाई हेरे, सुने, गए । कोहीले अगाडि पुगेपछि आँखा छोपे, कान थुने । मैले सुनेँ । साइको त्यहाँ ६०१ सभासद्को श्राद्ध गर्दै थियो ।
जडीबुटीदेखि यता आउन मन लाग्दैन । गाउँ सम्भmयो कि दिक्क लाग्थ्यो । धेरैजसो पुरानो बानेश्वर नै बस्थेँ । जया आउँथी ।

“उता बस्न मन नभए बुबा-ममीलाई यतै ल्याऊ । उहाँहरुलाई एक्लै छोड्नु हुन्न ।” जया मेरो अँगालोमा बेरिएर भन्थी ।

कहिलेकाहीँ बाउआमाको लागि यता आउँथे । एक दिन बेलैमा आएँ । कमजोर भएका बाउआमालाई मासु खुवाउन मन लाग्यो । एक किलो खसीको मासु ल्याएँ । भाग लगाएको मासुमा हड्डी बढी हुन्थ्योे । त्यसैले कसाहीकोबाट फलमासु-फलमासु छानेर ल्याएँ । मासु ल्याएको दिन बाउ पकाउन अघि सर्थे । त्यसदिन सरेनन् । सकी-नसकी आमाले नै काम गरिन् । मासु पकाइन् । मीठो बास्ना चल्यो । बाउ मासु भनेपछिtanka-chaulagai हुरूक्क हुन्थे । त्यसदिन भएनन् ।

“अब बिहे गर् । त्यही नखरमउली भे पनि लेर आ । मन परेको भे हाम्ले के भनौँ । हाम्रा लागि हैन तेरै भविष्यको लागि हो ।” बाउ सुस्तरी बोले । बाउले रक्सी खाएका थिएनन् । म बोलिनँ ।

“राम्री छे । यत्रो काल हाम्रो कुरा नसुनी-नसुनी कटाइस् । त्यो नहुनी भे, एउटी खोजेर बिहेे गर्दिन्छौँ । तयार हो ।” आमा बोलिन् कम, रोइन् बढी । कति रून सक्छिन् आमा । आँसु सबै जम्मा गरेर राख्या भए बाटा भरिन्थ्यो होला !

“यो बारेमा अब हामी धेरै कुरा गर्न सक्दैनौँ । खुरूक्क भनेको मानेर बिहेे गर् । त्यति गर्दिएपछि हाम्रो कर्तव्य सकियो । …तेरो जीवन हो गरेर खाए खा, नभए हामी के भनम् ।” बाउ साह्रै दुःखी थिए । मसँग कुनै कुराको जवाफ थिएन । बिहे किन गर्नु पर्‍यो ? सुत्न ? कि छोराछोरी जन्माउन ?

बाउआमाले खालान् भनेर मासु ल्याएको । उनीहरुले चाखे मात्रै । सबै आफैँले खानु पर्‍यो । कुकुर र मैले भएर बल्लबल्ल सक्यौँ । बाउआमा सारै कमजोर भए ।

घरमै थिएँ । लब्ली आयो । जया काममा गइसकेकी थिई । उसले राम्रो माल लिएर आएको रहेछ । भर्‍यो । मजाले तान्याँैँ ।

“दा, नै स्वास्नीले पठाउँछे भन्या,म त फेरि रिहृयाबमा जानुपर्ला जस्तो छ । के गर्ने दा, आ ला…, म रिहृयाबमा बसेको तीन पटक हुन्छ दा । जाऊ-जाऊ भन्दै छे । अब कहिले पठाउँछे हेरौँ । रबिन छत्रे दाको एउटा काम गर्नु छ, त्यसपछि जानुपर्ला ।” लब्ली धुवाँ उडाउँदै थियो । बोल्दै थियो । एक्लै बोलेको हो कि मसँग बोलेको हो
“त्यहाँ बस्दाचाहिँ दाम्स हुन्छ हैन दा । माल नखाउ नखाऊँ लाग्छ हैन दा । बाहिर आएपछि फेरि उस्तै हो । …बूढीले अबचाहिँ निकाल्दिन भनेकी छे । भेट नहुन पनि सक्छ दा ।” ऊमात्रै बोलिरहृयो ।

लामै कुरा भयो । लब्लीसँग बस्दा समय कटेको पत्तै हुँदैन । दिउँसो जया आई । खाजा ल्याई । यो बीचमा धेरै पटक फोनमा कुरा भइसकेको थियो । लब्ली बाहिर निस्कियो ।

आमाले फोन गरिन् । आएँ । यता । उता । कता-कता ।

“हाम्रा खलकलाई फलाम फाप्दैन भन्या थिएँ मानेनौ । हाम्रा खलक फलामले कोही उँभो लागेको देख्या छौ ?” आमा पीरले सुकिन् । बाउ रोगी, त्यसमाथि रक्सीले सुके ।

माइक्रो बनाएर चलाउनुभन्दा त्यसै छोड्न फाइदा देखियो । पीर मानेर के गर्ने ? त्यसको कुनै अर्थ थिएन । बैंकमा भएको अलिअलि पैसा सकियो । बेलुका घर जाँदा केही लिएर जान्थे । नभए बाउआमा भोकै ।

काकाले घरजग्गाको मुद्दा उठाए । मान्छेको कमजोरी हेर्ने चारगाउँको चलन नै हो । काकाले हाम्रो परिवारको कमजोरीको फाइदा उठाउन खोजेका हुन् ।

बाउ बिरामी भए । यो पटक बाउलाई अस्पतालमै भर्ना गर्नुपर्‍यो । डाक्टरले चेतावनी दिइसकेको थियो । बाउका आँखा खोपिल्टाभित्र पसिसके । आएका मान्छेहरु चिन्न छोडे । डाक्टरले सिकाए, अराए जति सबै गरेँ । बिचरा लब्लीले खुब सहयोग गर्‍यो । जयाले धोको पुर्‍याएर मेरो बाउको सेवा गरी ।

“छोरीको मुख देख्न मन थ्यो । फुन गर्दे… ।” बाउले आँखाले इसारा गरे । उनको जिउले सलाइन पानी तान्न छोडयो । आमा दिनभरि रोइरहन्थिन् ।

“बहिनीको नम्बर भए म फोन गर्दिन्छु दा ।” लब्ली औषधी ख्वाउँदै थियो । उसले भन्यो ।

“बाउआमा उसले सम्भिmनुपर्ने हो ।” मलाई त्यसलाई फोन गर्न मन थिएन ।

“म यहाँ बस्दिन । आँगनमा राखेर मेरो वैतणर्ी गर्दयाओ ।” बा फुस्फुसाए । सास रहन्जेल आश । अस्पतालमै राखेँ ।

लब्लीले अलि बढी नै जिद्दी गर्‍यो । बहिनीसँग कुरा गराइदिउ“m कि जस्तो लागेको हो । त्यसको नम्बर मसँग थिएन । सेतो कागजको टुक्रोमा लेखेको नम्बर भए बाउले राखेका होलान् कि कतै पोको पारेर ।

बाउको अवस्था अन्तिम भइसकेकै हो । भोलिपल्ट आमा पनि अस्पताल आइन् । बाउको खल्तीमा रहेछ नम्बर । दिए । पोहोर मैले नै लेखिदिएको हुँ ।

रिचार्ज कार्डका लागि लब्लीलाई पैसा दिएँ । उसकै मोबाइलबाट गरोस् । के मतलब मलाई । लब्लीले दुईर् सयको रिचार्ज गर्‍यो । बाउले दुई सयभन्दा बढीको कुरा गर्लान् जस्तो लागेन ।

“पाँच सय स्वाहा हुँदो रहेछ, एकपटक छोरीसँग फुनमा बोल्दा ।” पोहोर दसैँमा बहिनीसँग कुरा गरेपछि बाउले भनेको कुरा सम्भिmएँ ।

“हलो । म विदुर दाको भाइ हो । हजुरको बुबा अस्पतालमा हुनुहुन्छ । हजुरसँग कुरा गर्ने भनिस्या छ । कुरा गरिस्यो है ।” लब्लीले फोन बाउको कानमा लगाई दियो । बाउले हात कमाउँदै फोन समाए । आमा बाउको नजिकै बेडमा बसिन् । छोरीको बोली सुनिएलाझैँ गरेर । बाउले चिम्रा आँखा खोले । देखेनन् । फेरेको सासले नाक बज्यो ।

छोरीको बोली सुनिरहे । खै के बोली उसले त्यसरी सुन्नुपर्ने । बाउले बोल्न खोजे, बोली निस्किएन । बाउका चिम्रा आँखाका कुना-कुनाबाट आँसु बग्यो । तप्प सिरानमा झर्‍यो । आमा पनि नरोइ बस्न सकिनन् ।

“तेरो मुख हेर्न मन थियो । आउँछेस् कि छोरी ।” बाउले सासको भरमा बोले । बहिनीले के बोली खै ? आमाको रूवाइ बढयो । उसले के-के भनी एकछिनसम्म बाउले सुनिरहे ।

“तेरो मुख देख्न पाए सजिलै सास जान्थ्यो छोरी ।” बाउको बोलीभन्दा सास फेरेको प्रस्ट सुनिन्थ्यो । एकछिन कुरा सुने । फोन समाएको बाउको हात बेडमा झर्‍यो । आमाले फोन समाइन् ।

“बाउ बाँच्दैनन् । बाउको मुख हेर्नुछ भने आइज ।” आमाको आवाजमा रूवाइ बढी निस्कियो ।

“कस्तो नमिल्नु हो आपmना बाउ मर्न लाग्या छन् भन्दा ।” आमा फेरि फोनमा रोइन् । केहीबेरसम्म रोइरहिन् ।

बाउआमाको आँसुले मेरो मन पनि नराम्ररी कुँडियो । रोऊँरोऊँ भएर पनि रोकेँ ।

फोन काटियो । पैसा सकिएछ । लब्ली र मैले मिलेर आमालाई सम्झायौँ ।

बाउको प्राण अघि नै गइसकेको रहेछ ! बेडमै अररो भए । त्यही दिनदेखि बाउले सास फेर्न छोडे । रोक्दारोक्दै पनि आँसु झर्‍यो । मरेपछि माया लागेर के गर्नु ?

अस्पतालको बेडमै बाउ मरे । काकाबाउ ? आए ! बाउ मरेपछि आए । बाउ जिउँदो भइन्जेल कुकुर र बिरालो जस्तो भए । लास बोक्ने मान्छे कोही नहोलान् भनेर बाउ पीर मान्थे । बाउको लास बोक्नै परेन । “लास घरबाट उठाउनुपर्छ ।” मान्छेहरुले भने । भन्नेमा काकाबाउ पहिलो थिए । मन लागेन । आमा पनि घरमा ल्या, भन्थिन् । एम्बुलेन्सले घाटमा पुर्‍याइदियो । थाहा पाएका चारगाउँले मलामी आए । शिवम् काका अस्पतालदेखि नै साथ थिए ।कर्मकान्ड केही गर्न मन थिएन । पोल्यो । सकियो । बाँचिन्जेल खुसी राख्न सकिनँ । मरेपछि केको टन्टन् । आमाले मानिनन् ।

किरियापुत्री बस्ने भनेर भित्र ठाउँ बनाए । एक कुनो, कोठा जस्तै बारेको थियो । एकतिर मलाई, अर्कातिर आमालाई बस्ने ठाउँ बनाए । प्रेमकी आमाले खुब सहयोग गरिन् । जया पनि आई । घरको सदस्य जस्तै बनेर बसी ।

बाहुनले जे-जे अरायो त्यही गरेँ । बाहुनलाई सिकाउने गाउँले थिए । काका बिहानै गाईको दूधको बाल्टिन ढोकामा राखेर जान्थे । डालो बोक्ने बेलामा आइपुग्थे ।

राति कुर्न भाइ पनि आयो । आयो तर हामी कसैसँग दोहोरो कुरा भएन । भाइले पनि विद्युत् प्राधिकरणमा जागिर खाएछ ।

“प्रभुले सबैलाई एकदिन लान्छन्, लान्छन् । हामी सबै ईश्वरको खटन खाएर बसेका हौ, है । भगवान् शिवको अगाडि कोही अछुतो रहन सक्दैन । हामी सबैलाई एकदिन जानुछ, जानुछ ।” शिवम् काकाले सम्झाए । आमाको मन अलि बुझ्यो कि ? राति कुरूवा बसेकाहरु कुरा गर्थे ।

लब्लीले घरको सबै काम गर्‍यो । ऊ तेह्र दिन नै बस्यो । प्रेम पनि आइरहृयो ।  केही काम थिएन । चिन्ताले दुब्लायो । खुब लेख्न थालेको थियो । “कविताको किताब निकाल्न पाए हुन्थ्यो ।” कुर्न बस्दा राति कुरा गर्‍यो । ऊ मलाई सान्त्वना दिन्थ्यो । गाउँका साथी कोही आए, कोही आएनन् ।

“सेतो लुगा लगा, लाउनुपर्छ । लगा ।” आमाले भनिन् । काकाले पनि भने । अरुले पनि भने । आमाले सेतै लुगा लगाउने भइन् ।

“लाउँदिनँ । देखावटी गर्नु छैन ।” जित मेरै भयो । काम सकियो । बाउको शरीर हरायो । तर बाउ घरका कुनाकानीबाट हराएनन् । बाउको इस्टकोट झुन्डयाउने किलामा धेरै दिनसम्म आँखा गइरहृयो । भगवान ! किलामा स्टकोट झुन्डिए हुन्थ्यो ।

यत्रो दिनमा काकाबाउले जम्मा दुईवटा कुरा बोले ‘लास घरबाट उठाउनु पर्छ,’ र ‘सेता लुगा लगा,’ अरु केही बोलेनन् । जबरजस्ती पनि गरेनन् ।

“सकेर गयो ।” गाउँलेले मरेका बाउको कुरा काटे । सेता लुगा लगाएर आमा आँगनमा घुमिरहन्थिन् ।

खै किन हो, मलाई दिक्क लाग्थ्यो । मलाई यता टेक्नै मन लागेन । कहिलेकाहीँ मात्रै आउँथे । यता आमा एक्लै हुन्थिन् । “कस्तो पापी ! बूढी आमालाई एक्लै छोड्न सक्ने ।” कुरा काट्न थाले । अरुको कुरा नगरे गाउँलेलाई खाएकै पच्दैन । अरुको कुरा किन गर्नुपर्ने होला ? राम्रो भए पनि कुरै गर्नुपर्ने ! नराम्रो भए पनि कुरै गर्नुपर्ने !
शिवम् काकाले गाडी किने । बाटामा भेटिरहन्थेँ । चलाउने ड्राइभर राखेका थिए ।

मन लागे गाडि चलाउँथे । मन नलागे चलाउन्नथेँ । बास धेरैजसो ग्यारेजमा हुन्थ्योे । बाँकी एयरपोर्टको गेट, डोमेस्टिक, इन्टरनेसलमा टुरिस्ट कुर्थें । कुर्नु नै काम थियो । मन लागे कुर्थें । मन नलागे कुर्दिनथेँ । विदेश जाने केटाकेटीहरुको लाइन थियो । तिनीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँथे । विदेश जानेहरु अबिरमाला लगाएर छुट्टिन्थे । पैसा कमाउन गएका होलान् । पढ्न गएका होलान् ।

टिप आए बोक्थेँ । नआए छेउतिर लागेर माल तान्थेँ । नभए गितार बजाएर बस्थेँ । जे मन लाग्यो त्यही गर्थे । कहिले केटाहरुसँग माल लिन गल्छी पुग्थेँ ।

दिउँसो गाडी चलाउँदै थिएँ । आमाले फोन गरिन् । कुरा सुनेर अत्तालिएँ । आमासँग कुरा गरिसक्दा गाउँ छिरिसकेँ । आफ्नै टोलमा पुगेँ । बाटैदेखि मान्छेहरु लाम लागेका थिए । ठूलै हल्लाखल्ला थियो । गाउँलेले तन्नामा पारेको पोको बाटोतिर ल्याए । सबै पछि लागेका थिए । मान्छेको लर्को थियो । चोकमा साइको चिच्याइरहेको थियो ।

“गाडी लिएर आको होस् ?” शिवम् काकाले सोधे । मैले उत्तर दिन पाइनँ । गाडी देखाएँ । सबै हतारहतारमा पोको गाडीमा हाल्न हतारिए । पोकोमा को थियो ? पोको पछाडि हाले । तीनजना बसे । मैले गाडी कुदाएँ ।

“केएमसी ।”

“बी एन्ड बी ।” पछाडिबाट हल्ला आइरहेको थियो । म सकेसम्म गाडी कुदाइरहेको थिएँ ।

“सास छ है ।” पछाडि आत्तिएको आवाज थियो ।

“यसलाई विष खानुपर्ने के पर्‍यो त्यस्तो ?” कुमार दाइ अगाडि थियो । उसले भन्यो । विष कस्ले खायो ? हेर्न तन्किएँ । तिनैजनाले छोपेका थिए ।

बचाउनु थियो । किन विष खायो ? कोटेश्वरबाट सातदोबाटोतिर लागेँ । पोको भित्र चिच्यायो । सुनेको आवाज । कुमार दाइ पछाडि तन्के । मैले लुकिङ ग्लासमा हेरेँ । तैपनि देखिानँ । को हो ? पिलु थियो । गाउँमा जसले विष खाए पनि पिलु अगाडि सथ्र्यो ।

“गयो गयो ।” पछाडिबाट आवाज आयो । आवाज पिलुको हो । पिलुले भनेपछि कुरो सकियो । विष खाएको मान्छेलाई बचाउने आइडिया सिकेको थियो ।

“छाँदेपछि छोड्छ ।” कुमार पछाडि तन्कियो ।

“हैन सेलायो, चिसो भयो ।” पछाडिबाट पिलुको आवाज आयो । ग्लासमा हेर्दै थिएँ । ग्वार्काे पुगेँ । कस्तो जाम होला । इमरजेन्सी बत्ती बालेको थिएँ । तैपनि कसैले बाटो दिने हैनन् ।

सबैले आश मारे । मैले आश मारिनँ । बीएन्डबी पुर्‍याएँ । इमर्जेन्सी वार्डमा पुर्‍यायौँ ।

प्रेम ! मैले अस्पतालको भित्तो समाएँ । एकपटक अस्पताल पुरै नाच्यो । म नाचेँ कि अस्पताल ?

प्रेम बाँचेन । मर्‍यो । मेरो होस हरायो । प्रेम के कारणले मर्‍यो ? कारण खुल्नै सकेन । “काम नपाएर” भने भन्नेले । मेरो मन मान्दै मानेन । चारगाउँ नै शोकमा डुब्यो ।

लौन ! मलाई कसैले समाओ ।

यत्रो चारगाउँलेले मानेको मान्छे किन मरेको होला ? चारगाउँका साथी सकिए भने पनि भयो ।
चारगाउँका बूढोहरुले भनेः जागिर नपाएर प्रेम मर्‍यो ।

काँठमती ढलमती भइसक्यो । सहरबाहिरका मान्छेको दिसापिसाब बगाएर सहरभित्र पुर्‍याउँथ्यो ।

एक दिन आमालाई लिन आएँ । “बाउ यहीँ गए, म पनि यहीँ मर्छु । बूढेसकालमा यता न उताको नबना ।” आमा पीरले रातभरि रोइन् । आमाको कुरा ठीक हो । आफूलाई त्यहाँ टेक्नै मन थिएन । एक्लै कसरी छोड्नु ? मैले उनको कुरै सुनिनँ । यहाँ के गर्ने ? कस्ले हेर्ने ? रातभरि रोएपछि आमा बोल्न छोडिन् । “यसो नगर ।” भन्ने कोही थिएन ।

“जे गर्छस् गर् ।” उनले भनिन् । बोलेर लाग्ने भए बोल्थिन् होला । सबै कुरा सकिएको थियो । किन बस्नु ? हिँड्ने बेलामा आमाले एकपटक घरपट्टि र्फकेर हेरिन् । आँसु झारिन् । पछयौराले मुख छोपिन् ।

आमालाई ल्याएपछि जया खुसी भई ।

दिग्दार लाग्यो । “तैँले औषधी किन नखाको, भन् त ? मैले ल्याइदिउ“m भने जानेकी छैन ।” आमाले सोधिन् । थुप्रै समय भयो औषधी नखाएको । औषधीले असरै गर्न छोड्यो । के खानु ?

काम गर्न छोडेँ । मन मर्‍यो । किन गर्ने काम ? दिनभरि ग्यारेजमा बस्थेँ । बेलुका घर जाँदा आमा कराउँथिन् । दिनभरि कोठामा बस्नेहरुसँग कुरा गर्दी हुन् । वल्लो घरमा उनलाई साथी हुने आइमाई थिइ । आमा आएपछि जयालाई आउन बन्देज लगाएँ ।

“बाउ मर्दा नि आइन, बहिनीलाई देख्न मन लाग्याथ्यो ।” आमा यो कुरालाई लिएर कराउन थालिन् ।

“उतै बिहे गरी रे ।” हल्ला चलिसकेको थियो । बिहेे नै गरे पनि बाउआमालाई किन बिर्सिनुपथ्र्यो ?

“फोन गर्नुपर्ने त्यसले हो, हामीले हैन ।” मैले यति भनेपछि आमा चुप लागिन् ।

मैले ठीक गरेँ कि बेठीक गरेँ । त्यसको हिसाब राखिनँ । दिक्क भएको थिएँ । मलाई जे गर्दा आनन्द भयो । त्यही गरेँ ।

गणतान्त्रिक प्रदेश !

टोल नं. ९, टोल नं. ५, टोल नं. ७, टोल नं. ८ र तल्लो गाउँलाई गणतान्त्रिक प्रदेश बनाएछन् । जे बनाए पनि यत्रैसित्ती !

(स्रोत  : चौलागाईंको हालै सार्वजनिक उपन्यास काठमाडौं गीतबाट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पुस्तक अंश | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

One Response to पुस्तक अंश : यत्रैसित्ती !

  1. Tanka Chaulagain भन्नुहुन्छ :

    धनयवाद !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *