दसैँ आयो

~उमा सुवेदी~

नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न कम्पनीहरुले आफ्नो

उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे होलान् । छुट्टी लिएर देश, विदेशबाट गाउँघरतिर फर्किनेहरुको लर्को बढ्दै होला । सहर बजारतिर किनमेल गर्नेको भिड बढेको होला । टेलरहरुले नयाँ अडर क्लोज गरे होलान् । बूढी आमैहरु पिँढीमा बसेर सहरिया छोराछोरी अझैसम्म नफर्केकामा खुइय गर्दै होलान् । कोही कोही हातले घामको टहक छल्दै पर पर बाटामा हिँडिरहेकाहरुलाई आँखा झिमिक्क नपारी हेरिरहेका होलान् । कोही भने वर्षौंपछिको भेटमा हर्षका आँसु बगाइरहेका होलान् ।

तर इजरायलको यो होलोन सहर जस्ताको तस्तै छ, बिलकुल बेपर्वाह । मानिसहरु उसै गरी काममा गइरहेका छन्, फर्किरहेका छन् । सडकमा गुड्ने गाडी पनि

toda-upanyas

उस्तै छन् । बाटाका छेउमा ठिङ्ङ उभिएका जैतुन र खजुरका रुखहरु केही थाहा नपाएझैँ उभिएका उभियै छन् । पानीको फोहोरा उसै गरी फिँज काडिरहेको छ । पार्वतीलाई यी सब लाटाजस्ता लाग्छन् । सबैलाई झङझङ्ग्याउँदै सोध्न मन लाग्छ उसलाई-

‘के तिमीहरुलाई दसैँ आएको पनि थाहा छैन ?’

पोहोरको दसैँमा ऊ किकार वाइजमेन पार्कको एक कुनामा रहेको खजुरको रुखको फेदमा छलिएर खुब रोएकी थिई । बाटामा हिँड्दा पनि ऊ थाहै नपाई रोइरहेकी हुन्थी । मानिसहरु आश्चर्य मानेर ऊतिर हेरिरहेका हुन्थे ।

यसपालि पनि उसको मुटुमा पहिरो त गएकै छ तर आँखामा बाढीचाहिँ पसेको छैन । उसलाई बानी पर्दै छ ।

घटनास्थापना सुरु भैसकेको छ । यो दसैँमा पार्वतीले चार दिन बिदा मिलाएकी छे । दसैँ बिदा बस्नकै लागि उसले पुरानो बिदा सञ्चित गरेर राखेकी थिई । यी चार दिन अपार्टमेन्टमा साथीहरुसँगै बसेर विभिन्न ठाउँ घुमेर बिताउने उसको योजना छ ।

इनेसले भने अँध्यारो अनुहार बनाइन् । उनले भनिन्, ‘अब चार दिन कसरी बिताउने ?’

पार्वतीले इनेसलाई सम्झाइबुझाइ गरी । उसले ठट्यौलो पारामा भनी-

‘साप्ता -हजुरआमा), मैले तिमीलाई धेरै हेरेँ । यसपालि तिम्रो देश पनि हेर्छु । तिम्रो देश तिमीजस्तै मायालु छ कि छैन, मलाई बुझ्न मन छ ।’

उसको कुरा सुनेर इनेस मुसुक्क हाँसिन् । अनि तुरुन्तै भावुक भएर भनिन्-

‘जाऊ, तर छिट्टै आऊ है । म तिमीबिना एक्ली हुन्छु । साराको घरमा रमाउनै सक्तिनँ म ।’

उसले इनेसलाई चार दिनका लागि चाहिने सरसामानहरु एउटा ब्यागमा मिलाएर राखिदिई ।

भोलिदेखि चार दिन साराकहाँ पाहुनाजस्तै भएर बस्नुपर्ने भएकाले इनेस रातभरि निदाउन सकिनन् । छोरीको घरमै जाने भए पनि उनी खुसी थिइनन् । तर छिनछिनमा पार्वतीलाई उपदेश भने दिइरहेकी थिइन्-

‘धेरै बाहिर नहिँड्नू । घाममा निस्कँदा सनकि्रम लगाएरमात्र निस्कनू, नत्र छालामा दाग आउँछ । पैसा गोजीमा राख्नू, धेरै पैसा नबोक्नू । धेरै पैसा छ भने धेरै नै खर्च गर्न मन लाग्छ ।’

पार्वतीले आमालाई सम्झी । उसकी आमा पनि त उसलाई यसरी नै अर्ती दिन्थिन् ।

आमाहरु कति राम्रा ।

000

लेभिन्स्की पार्क इजरायलस्थित नेपालीहरुको भेटघाटस्थल थियो । यो केन्द्रीय बसस्टेसन तखाना मार्काजितको नजिकै थियो । हार्चियोन र लेभिन्स्की रोडको कुनामा त्रिकोण परेर यो पार्क बसेको थियो । यत्रतत्र नेपाली नै नेपालीमात्र छरिएका देखिन्थे । नजिकै रहेको चाइनिज मार्केटको होहल्लाले असन बजारलाई सम्झाउँथ्यो ।

इजरायलमा काम गर्न बसेका केयर गिभरहरुको अपार्टमेन्ट तखाना मार्काजित नजिकै थियो । टाढा टाढा काम गर्नेहरुलाई बेलुका यहाँ आइपुग्न सजिलो थियो । शारीरिक रुपले सबल रहेका वृद्धाहरुकहाँ लिभआउट केयर गिभरहरु बस्छन् । तिनीहरु आठ घण्टा ड्युटी गर्छन् र साँझतिर हतार हतार आफ्नोे अपार्टमेन्टमा आउँछन् । अपार्टमेन्टको बहाल, खानपिन गाडीभाडा लगायतको खर्च आफ्नै गोजीबाट गर्नुपर्ने हुँदा यस्ता केयर गिभरको बचत कम हुन्छ । हिँड्डुल गर्नसमेत अर्काको भर चाहिने वृद्धाहरु लिभइन केयर गिभर राख्छन् ,जसले चौबीसै घण्टा वृद्धाकै वरिपरि रहनुपर्छ । यस्ता केयर गिभरलाई बिदा अत्यन्तै कम हुन्छ तर आर्थिक बचत निकै हुन्छ । वृद्धाकै फ्ल्याटमा बस्ने, उनीसँगै खाने र बाहिर घुमफिर पनि नहुने भएपछि यिनीहरुले छिट्टै सम्पत्ति जोड्छन् । अझ बिदाका दिन पनि काम गरेबापत अतिरिक्त भत्ता पनि पाउँछन् । त्यसैले इजरायली केयर गिभरको उद्देश्य हुन्छ- सकेसम्म अशक्त वृद्धाको सुसारे बन्ने ।

000

पार्कको छेवैमा टेलिफोन बुथहरु थिए । हरेक बुथमा नेपाली केयर गिभरहरुको घुइँचो थियो । बुथमा एक छिन उभिएर सुन्यो भने थाहा हुन्थ्यो, कसले इजरायलमा पहिलो दसैँ मनाइरहेको छ र कसले दोस्रो, तेस्रो या चौथो । पुरानाको आफन्तसँगको वियोगको घाउमा खाटा बस्न थालेको देखिन्थ्यो । नयाँहरु भने वियोगको लप्काले डढेको अनुहार लिएर छटपटाइरहेका थिए । पुरानाहरु कोही चिल्ड्रेन पार्कको पिङमा मच्चिरहेका थिए । कोही हुन्डीवालाहरुसँग पैसाको कारोबार गरिरहेका थिए । कोही समूह बाँधेर पिकनिकमा रमाइरहेका थिए । नयाँ केयर गिभरहरु भने रुन्चे अनुहार लिएर यो सब नियालिरहेका थिए । कोही फूलको बोटमा छेलिएर एक्लै बसेका थिए, कोही फोनको रिसिभर कानमा अड्याएर रुँदै नेपालमा रहेका परिवारजनसित कुरा गरिरहेका थिए ।

फोनमा कोही आफ्नी बूढी आमालाई फकाउँदै थिए । कोही आफ्ना सन्तानको तोतेबोली सुनेर मर्माहत थिए । कोही आफ्ना श्रीमान्सँग निष्ठुर रातका सुस्केराहरुको बयान गर्दै थिए । कसैलाई डर थियो, पाँच वर्षपछि र्फकंदा सन्तानले बिर्सिसक्ने हो कि ? कसैलाई आफ्ना श्रीमान्को माया बाँडिने हो कि भन्ने भयले गाँजेको थियो । आँखामा चमक थिएन, पाइलामा जोस थिएन, मनमा उमङ्ग थिएन । के के न गरुँला भनेर समाज र परिवारसँग विद्रोह गरेर विदेश हान्निएका चेलीहरु त्यस दिन साँच्चै थाकेका थिए । उदास, तेजहीन र हतप्रभ थिए तिनीहरु ।

यतिखेर इजरायली भूमि नेपाली चेलीहरुका आँसुले लफक्कै भिजेको थियो ।

000

लेभिन्स्की पार्कको रुवावासी हेर्न नसकेर पार्वती फर्केर थिरकुमारीकै अपार्टमेन्टमा पुगी । तर यो सुनसान कोठा उसलाई मसानघाटजस्तो लाग्यो । किनकिन उसलाई कोठाको मौनता भन्दा पार्कको रुवावासी नै ठिक लाग्यो । किनभने, त्यहाँ जीवन थियो । गति थियो । सपनाहरु थिए । रहर र चाहनाहरु थिए । आँसु त थिए थिए, तर सुन्दर भविष्यको कल्पनाले दिने अलिकति हाँसो पनि थियो त्यहाँ ।

एकै छिनमा थिरकुमारीसँगै शान्ति र रिनाहरु पनि आइपुगे । तीन महिनाअघि मात्र इजरायल छिरेकी भावना पनि त्यहीँ आएकी थिई । नेपालमा परिवारसित बसेर मनाएको पोहोरको दसैँ सम्झेर भावना रोएको रोयै थिई ।

भावनाको आँसुसँगै सुरु भयो दसँैको तयारी । सेलरोटी बनाउने चटारो पनि सुरु भयो ।

यत्तिकैमा भावनाको मोवाइलको घण्टीले मौनता भङ्ग गर्‍यो । भावनाले हत्तपत्त उठाइहालिन् ।

‘हेलो !’

तर त्यसपछि भावनाको मुखबाट अर्को शब्द निस्किएन । मोवाइल कानमा पुर्‍याएर हेलो भनेपछि उनले अर्को शब्द निकालिनन् । एकदमै गम्भीर देखिइन् उनी । क्रमशः उनको मुखाकृति बिगि्रन थाल्यो । भावनाको हबिगत देखेर थिरकुमारी पनि आत्तिन थालिन् । भावनाले मोबाइलमा बोल्न नसकेपछि थिरकुमारीले मोबाइल लिएर कुरा गर्न थालिन् । वातावरण एकदमै बोझिलो बन्न थाल्यो । अन्त्यमा फोन राखेर थिरकुमारीले पार्वतीसित बिस्तारै भनिन्-

‘भावनाका श्रीमान् बितेछन् ।’

यतिन्जेल भावना बेहोस भएर ढलिसकेकी थिइन् ।

000

भावनाका श्रीमान् दुवई गएको सात वर्ष भैसकेको थियो । केही समयसम्म त राम्रै गफगाफ हुन्थ्यो । तर तीन वर्षपछि भने फोनै गर्न छोडे उनले । भावना र छोराको वास्तै भएन उनलाई । पछि पो थाहा पाइन् भावनाले । उनका श्रीमान्ले त दुवईमै अर्को बिहे गरेका रहेछन् । त्यसपछि छोराको भविष्य सम्झेर अनेक मेसो मिलाएर भावना पनि इजरायल आइन् । यति हुँदा पनि उनलाई कुनै दिन सन्तानको मायाले लोग्ने फर्केलान् भन्ने आशा थियो ।

तर अब त्यो आशा पनि समाप्त भएको थियो । उनले रुँदै भनिन्-

‘लोग्ने जहाँ भए पनि सिन्दूर त मैसँग थियो । अब त्यो पनि रहेन । विधवा भएर समाजमा कसरी बाँच्ने ?’

तर थिरकुमारीले भनिन्-

‘पापी लोग्नेकी स्वास्नी भएर बस्नुभन्दा त विधवा भएर बस्नु ठिक ।’

किन भनेकी होलिन् थिरकुमारीले यति कठोर कुरा ? सबै जिल्ल परे । तर पार्वतीलाई थाहा छ थिरकुमारीको कथा र व्यथा ।

000

मोटो ज्यान, भरिएका गाला र छाती पनि भरिएकै । हाँस्ता काला काला वर्णका गालामा डिम्पल देखिन्थे । थिरकुमारी नामजस्तै थिइन् स्थिर र अविचल । अनुभव र उमेरका कारण उनी सबैकी दिदीजस्तै भएकी थिइन् इजरायलमा । पार्वती त उनलाई दिदी नै भनेर बोलाउँथी ।

सासू, ससुरा र श्रीमान्ले घरसल्लाह गरेरै हाँसीखुसी उनलाई यता पठाएका रे । उनले महिनैपिच्छे पैसा पठाइन् । पैसाको बिटो समाएपछि श्रीमान् लालबहादुर फोनमा निकै बेर गफिन्थ्यो । गफिन्थ्यो के भन्नु, श्रीमतीको चाकरी गथ्र्यो, ‘मैले तिमीजस्ती वीर श्रीमती पाएँ । म कति भाग्यमानी Û तिमीले पठाएको पैसाले सहरमा घरघडेरी किन्छु, छोरा छोरीलाई राम्रो स्कुलमा पढाउँछु । तिमीले यताको कुनै पिर मान्नु पदर्ैैन । सम्हाल्ने म छँदै छु…… । ‘

लोग्नेका मीठा कुरा सुनेपछि थिरकुमारी भुइँ छाड्थिन्, ‘मेरो लालबहादुर जस्तो असल लोग्ने कसको होला र Û’

एक, दुई, तीन वर्ष बित्यो । थिरकुमारी सहरमा घर किनेको खबर सुन्न आतुर थिइन् । तर लालबहादुरले भने कुनै हतार गरिरहेको थिएन । खै किन किन लालबहादुर र थिरकुमारीबिचको फोन सम्पर्क पनि बिस्तारै पातलिन थाल्यो । पहिले पहिले केशवराज जर्साबकहाँ धाएझैँ दिनहुँ टेलिफोन बुथमा धाएर थिरकुमारीको चाकरी गरेर मात्र फर्किने लालबहादुर अब हप्तामा एक दिन पनि फोनमा आउन छाड्यो । कहिले व्यस्तता र कहिले नेटवर्कलाई दोष दिएर उम्कन थाल्यो । सासूआमै पनि फोनमा थिरकुमारीसित यतिमात्र भन्थिन्-

‘छोराछोरीको पिर नगर् । म छउन्जेल यिनलाई केही दुःख हुँदैन । आफ्नो राम्रो ख्याल गर् है बुहारी ।’

‘पक्कै केही गडबड छ- थिरकुमारी अस्थिर भइन् ।

झापाको बुधबारे माइतमा फोन गरेर भाइलाई मोरङको आफ्नो घरमा कुरा बुझ्न पठाइन् ।

‘भान्जाभान्जीको साह्रै न्यास्रो लागेर आएको’ भन्दै थिरकुमारीको भाइले दुईचार दिन दिदीका घरमा बसेर कुरा बुझेपछि भने बादल हटेपछिको आकाश जस्तो सबै कुरा छ्याङ्ङ भयो ।

श्रीमती बिदेसिएको केही समयसम्म त लालबहादुरले ठिकै ठाउँमा खुट्टो टेकेछ । तर, जब आफूले दुई वर्षमा पनि जोड्न नसकेको सम्पत्ति श्रीमतीले एकै महिनामा पठाई तब त्यसको नसा नसामा मात चढेर खुट्टो लरबरिन थालेछ । नसा नसा हुँदै जब मात दिलसम्मै पुग्यो त्यसपछि त आँखा पनि तिर्मिराए । सही गलत ठम्याउन सकेन । आफ्नो पराई र पराई आफ्नो भयो ।

छोरालाई महँगा पहिरनमा ठाँटिएको देख्दा सुरुमा त आमाका आँखामा पनि भ्रम भयो- होइन, यो मेरै छोरो हो ? तर आमाका आँखालाई कुरा बुझ्न धेरै बेर भने लागेन । भनिन्, ‘हेर् छोरा ! बुहारीले त्यसरी दुःख गरेर कमाएको पैसा हृवारहृवारती नसक् । त्यसका आँसुले सराप्छ कुनै दिन ।’

अर्कैले लखेटी लखेटी पन्जामा पारेको सिकार खोसेर खाएको बाघजस्तो भएको थियो छोरो । आमाका वचनले के छुन्थ्यो । राता आँखा पार्दै सनक्क सन्केर लाग्यो कतैतिर ।

एक दिन भुजेल्नी कान्छीले पल्लो गाउँकी धर्मीसँग पथरी बजारको होटेलमा एउटै प्लेटमा चाउमिन खाँदै गरेको देखिछिन् लालबहादुरलाई । सोझो र सफा मन भएको धर्मीको लोग्नेले कसैलाई बिझाउने कुनै काम गर्दैनथ्यो । धर्मीलाई ज्यादै माया गथ्र्यो । तर धर्मीको परिभाषामा माया भनेको पैसा थियो । राम्रा राम्रा पहिरन र गरगहना थिए । त्यसैले लोग्नेको मायालाई लत्याएर ऊ थिरकुमारीको लोग्ने लालबहादुरसँग लहसिएकी थिई ।

अर्को दिन धने माल्दाइले लालबहादुरलाई धर्मीसँगै दमकको सुन पसलमा देखेछन् । धर्मीले त्यहाँ दुईवटा सुनका औँठी, एउटा सिक्री र चुरासमेत लगाएको माल्दाइले देखे । घर र्फकंदा बाटाछेउको चियाबगानमा शिरीषको रुखमुनि अडेस लागेर लालबहादुर र धर्मीले लाजै नमानी मायाप्रीति साटेको पनि देखे माल्दाइले ।

भुजेल्नी कान्छी र धने माल्दाइको मुखबाट पुत्रको पौरख सुनेपछि आमा घाइते बँदेल्नीजस्ती च्वाँऽऽ गर्दै धर्मीको घरतिर हान्निइन् । त्यति बेला लालबहादुर खरदारको जागिर खान नगई धर्मीका म्याक्सीमुनि पो लुकेर बसेको रहेछ । आमालाई देखेपछि ऊ घर पछाडिको मकै बारीमा लुक्यो ।

ंआमैले दौडेर गई धर्मीको कपालमा समाइन् । एक छिन त धर्मी बोलिन । आफ्ना छोरालाई पानीमाथिको ओभानो ठानेर आफूलाई मात्र धारिला वचनले काटेको काट्यै गरेपछि धर्मीलाई पनि असहृय भयो । उसले ठाडै भनिदिई-

‘ममाथि के थुतुनु चलाउँछ्यौ आमै ! सक्छ्यौ भने बरु आफ्ना छोराको मुतुनुु जोगाऊ न ।’

‘हिलो चलाई मुखमा छिटा’ भन्दै आमा फर्किन् । फर्किंदै गर्दा उनले सुनिन्, ‘तिम्रा छोराले दमकमा मेरा नाममा एउटा घर किन्देका छन् ।’ धर्मीले अरू पनि के के भनी तर आमाले त्यसपछि केही सुनिनन् ।

पतिदेवको लीला सुनेपछि थिरकुमारीले इजरायलकै समुद्रमा आफूलाई विसर्जन गर्ने घोषणा गरिन् । भूमध्य सागरतिर दौडिँदै गर्दा कतिपटक साथीहरुले फकाएर फिर्ता ल्याए ।

समयले उनलाई सबभन्दा बढ्ता फकायो । अहिले उनलाई छोराछोरीको धेरै पिर लाग्छ । भन्छिन्-

‘तिनीहरुका लागि केही खर्चको व्यवस्था गरेर मात्र नेपाल र्फकन्छु ।’

त्यतिखेर उनको भर्खर भर्खर विवाह भएको थियो । उनको लोग्नेले बारम्बार भन्ने गरेको वाक्य उनलाई अहिले पनि प्रस्ट सम्झना छ । ऊ भन्ने गथ्र्यो-

‘तिमी चौपट्टै मायालु छ्यौ । जीवनभरि तिमीलाई माया गर्न पाउँ । तिमीले अरु केही गर्नु पर्दैन । तिमीलाई पाल्ने जिम्मा मेरो हो अब । म जसरी भए पनि खुसी राख्नेछु मेरी प्यारी थिरुलाई ।’

तर अब थिरकुमारीलाईर् लोग्नेका ती वचनहरु मीठो निद्रा बिगार्ने कर्कश आवाजजस्ता लाग्छन् ।

धन्न उनी त्यसैमा मख्ख परिनन् । चुलोचौकोमै आफूलाई सीमित गराइनन् । आफैँले केही गर्ने अठोट गरेर बाहिर निस्किन् । संसार देखिन् । नत्र टाउकामा हात राखेर भाग्यलाई धिक्कार्दै बाँच्नुपर्ने थियो उनले ।

अहिले उनमा आत्मविश्वास बढेको छ । अब उनी लोग्नेको दयाबिनै बाँच्न सक्ने भएकी छिन् । आफ्ना सन्तानको पालनपोषण, उनीहरुको शिक्षादीक्षा र भविष्य नै अब उनको एकमात्र लक्ष्य बनेको छ ।

एक दिन उनले पार्वतीसित भनिन् –

‘प्ाार्वती, अब म त्यसलाई सम्झेर कहिल्यै आँसु झार्नेछैन । एक्ली भएँ भनेर कहिल्यै दुःखी हुनेछैन । बरु मलाई गर्व छ, अब मैले एउटा छाडा पुरुषकी निरीह स्वास्नी भएर आँसु पिउँदै बाँच्नुपरेन । आफ्ना खुट्टामा उभिएर बाँच्न सकेँ ।’

त्यसपछि थिरकुमारीले आफ्नो विगतलाई लिएर गुनासो गरेको पार्वतीले कहिल्यै सुनिन ।

000

थिरकुमारीले अनेक व्यवस्था गरेर भावनालाई त्यसै रात नेपाल पठाइदिइन् । भावनामाथि आइपरेको अप्रत्याशित आघातले सबैलाई आहत बनाएको थियो । तर थिरकुमारीले सबैलाई सम्झाइन्-

‘अहँ, दसैँका यी दिनहरुमा हामी कोही पनि दुःखी हुनेछैनौँ । सबैले आफ्ना र अरुका दुःखहरु बिर्सिएर रमाइलो गर्नेछौँ ।’

थिरकुमारीको कुरा सबैले माने ।

000

दशैँको रात झन् झन् गाढा हुँदै गयो । अपार्टमेन्टमा भेला भएका पन्ध्र जना युवतीले अझ जोसिला चुट्किलाहरु, कथा, कहानीहरु एकअर्कालाई सुनाए । त्यस रात कसैले सुत्ने कुरा गरेन । सबैलाई आफ्ना कुरा सुनाउने हुटहुटी थियो । कसैले भने-

‘बाआमाका थाप्लामा रिनको ठूलो भारी थियो, मैले हलुका पारिदिएँ ।’

कोही सहरमा जग्गा किनिसकेको कुरा गर्थे । घरै बनाइसकेकाहरु यो तातो मरुभूमिमाथि चिसा रात बिताउन छोडेर आफ्नै देशको न्यानो अँगालोमा बेरिन आतुर भइरहेका थिए ।

दुःखलाई सजिलै सुखमा बदल्ने आँट थियो सबैमा । कोही नाच्न थाले । कसैले पूर्वेली लोकभाका झिके ।

प्रतिमा आफ्नो स्पेनमा रहेको केटासाथीसँग मोवाइलमा गफिन थालेको झन्डै एक घण्टा भयो । प्रतिमा र सञ्जयले इजरायल आएको केही समयपछि एकअर्कालाई मन पराएका थिए । सबैले भन्थे, ‘कति सुहाउने जोडी ।’ साथीहरुको हौसलापछि उनीहरुले बिहे पनि गरे । केही समयपछि सञ्जय र प्रतिमाले स्पेन जाने र उतै सुखी जीवन बिताउने सल्लाह गरे तर सञ्जयको भिसा लाग्यो । प्रतिमाको अझै भिसा लाग्ोको थिएन ।

बिहे भए पनि प्रतिमा सञ्जयलाई पति, श्रीमान्, बूढो वा पोइ नभनेर केटोसाथी भन्थी । ऊ भन्थी-

‘मैले सुनेकी छु, लोग्ने भन्यो भने मायामा कमी आउँछ रे । पुरानो हुँदै जान्छ रे माया । केटोसाथी भन्यो भने बिहे गर्नुभन्दा पहिलेकै जस्तो झन्झनाहट हुन्छ रे शरीरमा । त्यसैले आफ्नो मायालाई ताजा राख्न र लभ पर्न थाल्दाको पहिलो पहिलो आकर्षण, कौतुहल र समर्पण भावलाई जीवन्त बनाइराख्न केटोसाथी भन्नुपर्छ ।’

रोशनीलाई भने प्रतिमाको तर्क मनै परेन । उसले लाजै पचाएर भनी-

‘के गफ लाउँछेस् ? तेरो लोग्नेको तुरी यतिन्जेलमा त जमेर छुर्पी भैसक्यो होला ।’

रोशनीको कुरा सुनेर सबै गलल्ल हाँसे ।

त्यसपछि रोशनीले हिजो भर्खर नेपालबाट आफन्तले पठाइदिएको छुर्पी सबैलाई बाँडी । सबैले कहिले प्रतिमा, कहिले रोशनी र कहिले छुर्पीतिर हेर्न थाले ।

000

‘अचेल नीति कतै बेपत्ता भएकी छे अरे नि हौ । कति दिन भैसक्यो अरे अपार्टमेन्टमै नआएकी ।’

रोशनीले अचम्मको कुरा गरेकी थिई । पार्वतीलाई त्यसै बेला नीतिलाई भेटूँ भेटूँ लागेको थियो ।

भोलिपल्टै पार्वती र रोशनीहरु लेभिन्स्की रोड हुँदै होर्चियोनतर्फ बढे । उनीहरुलाई आग्रा-३५ बाट होर्चियोन-३२ मा रहेको नीतिको अपार्टमेन्टमा पुग्न दश मिनेट लाग्थ्यो । उनीहरु नीतिलाई भेट्न निकै उत्साहित थिए । उनीहरुलाई विश्वास थियो । अरू बेला बेपत्तै भए पनि दसैँका बेला पक्कै पनि ऊ आफ्नै अपार्टमेन्टमा भेटिनेछे ।

नीतिको अपार्टमेन्टको गेट खुल्लै थियो । चार तले भवनको पहिलो तलाभित्रको हल्लीखल्ली बाहिरै सुनिन्थ्यो । उनीहरु सरासर कोठामा पसे । बैठकमा वरिपरि चारपाँच जना बसेर तास फिट्तै रहेछन् । बियरका बोतल, आधा रित्तिएका ग्लासहरु, भुटेको मासु, साँदेको बदाम र सलाद छेउछेउमा राखिएको थियो । जिउका आधाउधी लुगा गायब थिए उनीहरुका । एउटीले चुरोटको धुँवा मुखबाट फाल्दै प्रस्ताव गरी-

‘अहिले हामी स्वतन्त्र छौँ । त्यसैले आजका दिन मुखमा आए जति

छाडा बोलौँ । कति गुम्सिएर बस्नु, के छाडा शब्द लोग्नेमान्छेको मात्र पेवा हो र ?’

सबै दङ्ग परे । गजबको प्रस्ताव थियो यो । अर्कीले सुरु गरिहाली-

‘मेरो जाँठो लोग्नेले मलाई कहिल्यै माया गरेन ।’

अनि त के थियो र ! सबै जना आफूले जाने जतिका फोहोर र अश्लील शब्दहरु फलाक्न थाले । अर्कीले भनी-

‘मलाई नेपालका लोग्नेमान्छेलाई भन्दा बढ्ता छाडा बोल्न आउँछ । यदि यस्तो बोल्ने कम्पिटिसन हुँदो हो त म फस्टै हुन्थेँ होला । तर के गर्नु, नेपालमा बोल्नै नपाइने । आफूलाई कत्रो रहर थियो ।’

त्यसपछि उसले लहरै फोहोर गालीहरु उच्चारण गर्न थाली ।

तिनीहरुका तातो गफको गन्ध उनीहरुले पिइरहेको बियरको गन्धभन्दा कडा थियो ।

एउटीले भनी, ‘हेर केटी हो ! मेरो त एउटा फिलिपिनोसँग लभ परेको छ । त्योसँग म धेरै खुसी छु । इजरायल बसुन्जेल मस्ती गरिन्छ । पछिको किन पिर लिने ? जे होला होला । बिहे गरेन भने पनि केही छैन ।’

डन्डीफोरका दाग छोप्न अनुहारभरि भद्दा मेकअप गरेकी अर्की बत्तीस, तेत्तीस वर्षकी युवती झन् हौसिई-

‘आफ्नो त यतिका वर्षसम्म बिहे भएन । नेपालमा एउटा ब्वाइफ्रेन्ड थियो, छोडिहाल्यो । यहाँ आएको केही महिनादेखि एग्रिकल्चरमा काम गर्ने हेन्डसमसँग बस्दै छु । बिहे त गर्दैन होला । नेपालमा राम्री श्रीमती र दुई छोरा पनि छन् रे, उसैले भनेको । केही छैन, जिन्दगीको मजा यहीँ

चाख्ने हो । नेपालमा गएर अलिकति पैसाको जाल फालिन्छ, केटा त माछासरि ।’

उत्ताउलो पहिरनमा ठाँटिएकी अर्की युवती बियरले लठ्याएको जिब्रो लतार्दै बोल्न थाली-

‘आफू त गाउँकी केटी । बिए पढ्दै गर्दा बाआमाले बलिया पाखुरा हेरेर एउटा हरितन्नमलाई सुम्पे । पढेर केही गरुँला भन्ने रहर कल्पनैमात्र भयो । लोग्ने महाको जँड्याहा निस्क्यो । अलिअलि भएको मेरो दाइजो र गहनासमेत सकिदियो । सासू उहिलेको जमानाको खुइलेको कुरामात्र गर्थिन्- टाउको ढाकेर हिँड्, काम गर्दा चुरा नबजा, पुरुषहरुसँग हाँसेर नबोल् । के के हो के के । त्यतिमात्र हो र Û अलिकति तलमाथि भयो भने जगल्ट्याउँथिन् । अलच्छिनी, छौँडा, नकचरी भन्थिन् । लोग्नेको माया कस्तो हुन्छ भन्ने थाहै नपाई छोराछोरी जन्मिए । लोग्ने राति रक्सी धोकेर आउँथ्यो र रातभरि कोट्याइरहन्थ्यो । सुत्नै नपाइने । बाध्य भएर माइत आएर बसेँ । आमाले रिन काढेर यता पठाइदिनुभयो । यहाँ आएपछि थाहा भयो- जिन्दगी यति रमाइलो पनि हुँदोरहेछ ।’

तिनीहरुका वीभत्स गफ सुनेर पार्वतीलाई बान्ता आउलाजस्तो भयो । उसलाई एक छिन पनि त्यहाँ बस्न मन लागेन । अरुलाई पनि बस्न मन लागेन । उनीहरु चुपचाप बाहिरिए ।

‘नेपालका बँधुवा गाई हुन् यिनीहरु । यिनीहरुलाई इजरायल पठाएको त गोठमा बाँधिराखेको गाईलाई दाम्लो खोलेर जङ्गलतिर चर्न पठाएजस्तै भएको छ । फुक्काफाल छन् यिनीहरु । यिनका पछाडि उन्मत्त साँढेहरुको लाइन छ ।’ पार्वती एक्लै फत्फताई ।

जवाफमा रोशनीले भनी, ‘त्यसो होइन, यिनीहरु जे गरिरहेका छन्, ठिक गरिरहेका छन् । आफ्नो जिन्दगी आफ्नै हिसाबले बाँच्ने नि । किन अरुको नीतिनियम अनुसार चल्ने ?’

पासाङ रोशनीको कुरामा सहमत हुन सकिन । उसले भनी-

‘हामी एकदुई घण्टा फुर्सद मिल्यो भने पनि पार्टटाइम काम खोज्छौँ र एक एक पैसा जोडेर नेपाल पठाउँछौँ । यिनीहरु हुँदाखाँदाको ओभरटाइम जागिरमा समेत अर्कैलाई पठाएर चटारिएको कोरलीझैँ बहरको मुत सुँघ्दै कुद्छन् ।’

नीति नभेटिएकोमा भने उनीहरु सबैलाई खल्लो लागिरहेको थियो । निस्कनुअघि एउटी केटीले भनेकी थिई-

‘नीति बहुलाइसकी ।’

पार्वतीलाई त्यति बेला चार सय बीस भोल्टको करेन्ट लागेको थियो । पार्वतीलाई नीतिजस्ती हिम्मतिली केटी पनि बहुलाउन सक्छे भन्ने कुरामा पटक्कै विश्वास थिएन ।

उसले रोशनीसित भनी-

‘पोहर साल त हो नि, उसको लोग्नेले लागुपदार्थ किनबेचको आरोपमा साउदीमा फाँसीको सजाय पाएको । नीति त्यति बेला पनि बहुलाइन । उसले सही आफूमाथि परेको विपत्तिलाई । छोरीका लागि हरेक पीडा सहन तयार छु भन्थी ऊ । अहँ, नीति बहुलाउन सक्तिन ।’

रोशनीलाई पनि पार्वतीको कुरा हो कि जस्तो लाग्यो ।

000

(साँग्रिला बुक्सबाट प्रकाशित सुवेदीको ‘तोदा’ उपन्यासबाट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पुस्तक अंश | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *