पुस्तक अंश : जन्मघरबाट बिदा

~हरिवंश आचार्य~Haribansha acharya

दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो । दलिन मक्काए, फेर्ने पैसा थिएन । इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको थियो, फेर्ने सामर्थ्र्य थिएन । विकल्पमा घर बेच्नै पर्ने भयो । टङ्गाल गैरीधारामा एक रोपनी नौ आना जग्गा भएको घर बाउन्न हजार रूपैयाँमा २०३० सालतिर होला, बिक्री भयो । मेरो भागमा पैंतिस हजार रूपैयाँ पर्‍यो ।

जन्मघर बेचेको धेरै भएको थिएन । चौध-पन्ध्र वर्ष बिताएको घर, जहाँ म जन्मी, हुर्किएर किशोर भएर  यौवनको सँघारमा उभिएको थिएँ । एक दिन दिनभरि घुमें । मनमा केके कुरा खेल्दै थियो, हिँड्दाहिँड्दै म त साँझ वास बस्न जन्मघरको आँगनमा पुगेछु । जब घरतिर आँखा लगाएर पस्न खोजें अनि पो झसङ्ग भएँ- यो घर त अरुलाई नै बेचिसकिएको हो । त्यसपछि म फरक्क फर्केर रूँदैरूँदै आफ्नो डेरातिर लागें ।

हाम्रो बा सङ्खुबाट काठमाडौं आएपछि ‘जङ्ग थापा’, ‘शमशेर थापा’ खलकको गुरू बन्नुभएछ । धेरै जङ्ग र शमशेर थापाहरुलाई गायत्री मन्त्र सुनाउनुभयो र उनीहरुको घरमा चाडवाड वा पूजाआजा हुँदा कर्मकाण्डको काम गर्न गर्नुभएछ । सानो छँदा मेरी आमासँग म पनि थापाहरुको घरमा जानेआउने गर्थे । मलाई सबैले माया गर्थे । गङ्गाजङ थापा, म र मेरो नाति मुकुन्द नै थियौं । लुलु थापा मेरी आफ्नै दिदी जस्तै थिइन् । मलाई गाली गरीगरी पढाउँथिन् । अरु थापाहरु पनि मलाई माया गर्थे ।

‘आमाबाबु नभएको बिचरा’ भन्थे । कसैले खर्च दिन्थे, कसैले लुगाकपडा किनिदिन्थे । तिनैमध्ये नक्सालमा बस्ने एक जना थापालाई पनि मेरो बाले नै गायत्रीमन्त्र सुनाउनुभएको रे । उनलाई घर बेचेको पैसा मसँग छ भन्ने थाहा रहेछ । उनले मलाई नक्साल चारढुङ्गे र भगवती बहालको बीचमा ‘चार आना जग्गा बेच्छु’ भने र बैना भयो । उनको घरको माथिल्लो तला एक जना प्रधान थरको मान्छेलाई बन्धकी दिएका रहेछन् । मसँग पैसा लिए र उनलाई हटाए । मलाई उनले आफ्नै घरको त्यही माथिल्लो तलामा लगेर राखे । हामी दिदीभाइ त्यहीँ बस्न थाल्यौं ।

उनका छोराछोरीसँग हाम्रो राम्रो सम्बन्ध हुँदै गयो- साथी वा दिदीभाइ जस्तै । ‘जग्गा पास गरिदिबक्स्योस् न, घर बनाउनुपर्‍यो’ भन्दा ‘पखपख’ भन्दै आलेटाले गर्दै गए । पछि ‘जग्गा होइन, घरै लिऊ बाउन्न हजारमा’ भन्ने कुरा गरे । त्यस बखत मेरो सबै अभिभारा जानदेवी दिदी र भिनाजुले लिइदिनुभएको थियो । मसँग भएको पैसा पैंतिस हजारमा अरु पैसा दिदीले थपेर त्यो घर किन्ने कुरा भयो । थप पैसा दिएर बाउन्न हजार पुर्‍यायौं । तर पूरै पैसा लिएपछि पनि उनी घर दिन आलटाल गर्दै गए । र्झकने, भेट्न नखोज्ने जस्ता व्यवहार प्रदर्शन गर्न थाले ।

घरमा बस्दै जाँदा थाहा हुँदै गयो, आफ्नो भागमा परेको तराईको एघार सय बिघा जमिन, अरु भएका  जग्गाजमिन सबै बेचेर खाइसकेका रहेछन् । बिहानदेखि बेलुकीसम्म पैसा सापट दिएका मान्छेहरु आउँथे । बाबुबाजेको सम्पत्ति बेच्दै, खाँदै, सिकार खेल्दै, अत्तर छर्कंदै, गाडी फेर्दै, मोजमस्ती गर्दै हिँड्ने अनि आफूचाहिँ केही नगर्ने भएपछि जतिसुकै सम्पत्ति भए पनि टिक्तैन मान्छेको । हामीले पूरै पैसा दिएर ‘घर पास गरिदिइबक्स्योस्’ भन्यौं, बर्षौ कुर्‍यौं । कहिले ‘तिमीहरुको पैसा फिर्ता गरिदिन्छु’ भन्थे, कहिले कहाँकहाँ लगेर ‘यो जग्गा तिमीहरुलाई किनिदिन्छु’ भन्थे तर घर पास गरिदिएनन् ।

‘अब हामी फस्यौं’ भन्ने पक्का भयो र अदालतमा मुद्दा हाल्यौं । मुद्दा हालेपछि उनका छोराछोरीसँग हाम्रो दुस्मनी हुन थाल्यो । म पनि उग्र हुन थालें । डर, त्रास र धम्की मलाई केही जस्तो पनि भएन । हामीले तल भुइँतलामा भएको ट्वाइलेट प्रयोग गर्नुपथ्र्यो । उनीचाहिँ बीचको तलामा भएको ट्वाइलेट, बाथ रूम प्रयोग गर्थे । तल सेफ्टी ट्याङ्क भरिएपछि सफा गरिदिँदैनथे । हामीले प्रयोग गर्ने ट्वाइलेट भरिएर भित्र छिर्न सकिँदैनथ्यो । बिन्दु दिदी ट्वाइलेट प्रयोग गर्न छिमेकीकहाँ जान्थिन् । मचाहिँ पत्रिकामा ट्वाइलेट गरेर माथिल्लो तलाबाट उनको झ्यालनिर खसालिदिन्थें । आधा रातमा माथि कोठाको भित्ता प्वाल पारेर पिसाब फेरिदिन्थें । एक पटक मध्यरातमा पलङ घ्वार्रर सार्दै थिएँ । पुलिसलाई रिपोर्ट गरेछन् । मलाई अञ्चलाधीश कार्यालय लगियो । अञ्चलाधीशले पनि मलाई झन्डैले थप्पड नहानेको । म अञ्चलाधीशसँग ठूलठूलो स्वरले बाझें । त्यस बेलाका अञ्चलाधीशसँग त्यसरी कराउने हिम्मत सितिमिति कसैको पनि हुँदैनथ्यो ।

अञ्चलाधीश सुन्दरप्रताप शाहका पीए मेरो साथी राजाराम पौडेलका काका राधेश्याम पौडेल थिए । उनलाई म ठगिएको विषयमा थाहा थियो । उनले पनि अञ्चलाधीशलाई सम्झाइदिए । त्यस्तो उग्र भएको अञ्चलाधीशले भने- “ए त्यस्तो मान्छे भइसकेछ हँ त्यो ? मैले पनि अलिअलि सुनेको थिएँ ।” मलाई प्रहरीको खोरबाट मुक्त गरेर घर पठाइयो । थापाकाजीले मलाई घरबाट निकाल्न अरु धेरै तरिका अपनाए तर सकेनन् । म घर पुगेपछि मैले आफ्नो उग्र क्रियाकलाप जारी राखें । मलाई जसरी भए पनि मेरो पैसा फिर्ता लिनु थियो तर पैसा फिर्ता गरेनन् । उल्टो उनी त आफू बसेको घर भाडामा दिएर डेरामा पो बस्न गए ।

त्यस बखत मलाई पूरै नक्साल टोलकै साथ थियो । सबै नक्सालवासीलाई मेरो वेदना थाहा थियो । विषेश गरी मेरा साथीहरु राजु मानन्धर, राजु भुजू, रवीन्द्रदास श्रेष्ठ, सुरेन्द्रमान श्रेष्ठ, अशोक चालिसे, राजाराम पौडेल, प्रकाशपाणि गौतम, रमेश डङ्गोल, रत्न मानन्धर, मनोहर श्रेष्ठ आदिले मलाई समस्यामा सहयोग गरेका थिए । अदालतबाट आएको पुर्जी टाँस्न लानुपथ्र्यो, साक्षी बस्नुपथ्र्यो । यस्तो जटिल काममा उनीहरुले सधैं मलाई सघाए । यतिसम्म कि विपक्षीको छोराले मलाई कुट्न मान्छे जम्मा गरेर ल्याउँदा यी साथीहरु मेरा लागि पिटाइ खानसमेत तयार भएर आए ।

एघार वर्षपछि मुद्दा फैसला भयो । म त्यही घरमा बसेको हुनाले पैसाको ब्याजचाहिँ नपाउने, सावाँ फिर्ता दिने भयो । २०३१ को बाउन्न हजार रूपैयाँ एघार वर्षपछि फिर्ता आउँदा पैसाको महफ्व धेरै घटिसकेको थियो । अर्थात् मेरो पैसा खोस्टा भइसकेको थियो । विशेष गरी २०३६ सालपछि काठमाडौंमा जग्गाको भाउ उत्पात बढ्यो । एघार वर्षपछि त्यो मेरो भागमा परेको ३५ हजार रूपैयाँले त विकट ठाउँमा चार आना जग्गा पनि नपाइने भइसकेको थियो ।

उनले त्यो पैसा पनि फिर्ता गरेनन् । अब लिलामी गरेर असुलउपर गर्ने प्रक्रियामा लागें । लिलामीको चिठी नबुझ्ने, म्याद बक्यौती गर्ने अनेक उपाय हुँदो रहेछ । चन्द्रकुमार भट्टराई, अमृत शाक्य, जगत्पाल श्रेष्ठ दाइहरुले एउटा नाटक गरिदिए- त्यो नक्सालको घर दुई लाख पचास हजारमा किन्ने भनेर । थापा डेढ लाख पाए बेच्ने ग्राहक खोज्दै हिँडिरहेका थिए । दुई लाख पचास हजार दिन आउँदा आत्तिए । दाइहरु घर हेर्न आए जस्तो गर्दै, मलाई पनि नचिने जस्तो गरी आए । मैले भनें- “उहाँचाहिँ को नि ? यो घरमा मेरो मुद्दा छ, मेरो पैसा नतिरीकन हेरौं त कसले घर किन्दो रहेछ ? किन्नेलाई पनि काट्छु, बेच्नेलाई पनि काट्छु !”

मलाई सम्झाइयो, तिम्रो पैसा फिर्ता दिने भनेर । दाइहरुले पनि ‘ल हामी पक्का किन्छौं तर यो भाइको पैसा फिर्ता दिएपछि मात्र’ भने । मैले सुनेको- थापाको सालोले सुन बन्धक राखेर बाउन्न हजार झिक्यो रे । मलाई पैसा तिर्‍यो तर पनि म ठगिएँ । मलाई अत्याचार भयो । अन्ततः म त्यो घरबाट आजाद भएँ । अनि चन्द्रकुमार भट्टराई, अमृत शाक्य, जगत्पाल दाइहरुले पनि मेरो पैसा तिरिसकेपछि ‘हामी घर किन्दैनौं । त्योभन्दा राम्रो घर अन्त पाइयो’ भनिदिएछ । म चन्द्र दाइ, अमृत दाइ, जगत् दाइहरुप्रति जीवनभर आभारी रहन्छु ।

तर मैले नक्सालमा जग्गाजमिन किन्न सकिनँ । मैले जीवनमा धेरै थोक पाएको प्यारो नक्साल टोल र साथीभाइलाई छोडेर जानुपर्ने भयो ।

(हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ बाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक अंश, संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.