कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~

-’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’

-’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’

-’के रे के ?’

-’केही पनि होइन् घर जाऔं । अहिले गस्ती आएर समातेर लग्छ !’

-’आए के त ? हामी जस्तो ठुलावडाको सुरक्षा नदिएर प्रहरीले कसलाई दिन्छ ? हामी राजा हौँ राजा । केाही देश चलाउँछन् भने के भो र ? हामी भट्टी चलाउँछौ बुझिस् । आ-आफ्नो क्षेत्रमा सवै ठुलो । कोई छ डिस्टिलरीको राजा ? कोई छ माईकालाल ‘

ऊ अर्थात शंकर । पंचायती हृयाङओभर भएका बहुदलीय नेता । बहुदलको नाम जपे पनि संस्कार भने एकदलीय छ उनको । सानैदेखि लागेको बानी भनेर डिङ हाँकेर हिङ नभए पनि हिङ बाँधेको टालोको रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । शंकरसँगै मत्थुराम भएका सुरबहादुर आफूलाई समाल्न खोज्दै भूईमा पछारिएका शंकरलाई उठाउने प्रयास गर्छ । यो प्रयासमा खुट्टाले जीउको भरथेग गर्न नसकेको ऊ पनि भूईमा चित्त परेको शंकर माथि बुङ्ग खप्टिन पुग्छ ।

सित्तैमा भेटे अलकत्रा पनि खाने जात नेपालीको, त्यसमा पनि जर्किनमार्काको शुद्ध कोदोको तीन पाने भेटेपछि ऊ किन सानो हुन्थ्यो ? तीनपानेसँग तुलना योग्य जावलाखेल र सिक्किमसम्मको कमसे कम हुनै सक्दैन् । नब्बे फिटको सडक बिलाउँछ । दारासिंहजस्ता पहलमान पनि तीन पानेको अगाडी फिस्टा हुन्छन् । यी दुई किन पछि सर्थे र ?

‘ए उठ् हिड् घर जौं ।’ ऊ लर्वरिँदै उठ्छ ।

‘हिँड जौ भनेको, घरमा गाली गर्छन ।’

‘कल्ले ?’

‘बुढियाले !’

‘थुक्क ! वुढियाको गालीको डर । म त कसैसँग पनि डराउँदिन । ए जोईटिंग्रे ? ल उठा त उठा !’

शंकर हात पसार्छ । सुरबहादुर उसको हात समातेर लर्वराउँदै उठाउँछ । दुवैजना अँगालो मारेर भाका छोड्दै गीत गाउँदै हिँड्छन् ।

‘ए आमै भनेको मान

बुच्चे घैटो निकाली जाँड छान

जाँड खाने, जाँड खाने ।’

मुमुक्षु मस्त निद्रावाट थपडीको आवाजले व्युँझन्छ, “ए आमै ? ए आमै ?

निद्रा बिथोलिएको मुमुक्ष सोच्छ – आजकल शंकर व्यक्तिगत स्वतन्त्रता अलिक बढिनैं उपयोग गरीरहेछ । काजीसाहेवहरुको यो चालाले आफनो स्वतन्त्रता उपयोग गर्दा अरुको स्वतन्त्रतालाई खिसिट्यूरी गरिरहेका छन, हिजोजस्तै गरी ।

……..

सधैँ आउने जाने गथ्र्यो शंकर । गाउँकै जमिन्दारको छोरो भएकोले साथमा पैसा भए पनि नभए पनि उधारो पत्याउनेहरुको कुनै कमी थिएन । त्यसमा पनि सानीकान्छीको पसलमा पसेर एक दुई बोतल नलडाए त शंकरको भात पनि पच्न गाह्रो हुन्थ्यो । त्यसैले शंकर दिनहुँ घाम अस्त हुन नपाउँदै मस्त हुन छिर्छ । सानीकान्छीको पसलमा छिर्दा आसेपासे पनि लिएर छिर्छ । अनि साँढेझैं कहिले अरु ग्राहकहरुलाई पनि हान्छ । तर पनि सानीकान्छी केही भन्न सक्दिन् । शंकरहरु जो एक रातमा हजारौं बिल उठाउनछन् तिनका तुलनामा अन्य ग्राहकको भाउ नैं के छ र ? सबै ग्राहक भगवान हुन सबैको उत्तिकै आदर गर्नु पर्छ भन्ने व्यापारी त माडे मात्र हुन । अरु त ताक परे…..नत्र …….उखानका अनुयायी ।

शंकर जब सानीकान्छीको पसलमा छिथ्र्यो तब अरु ग्राहकहरु साउनी मार्दै चोर दैलोबाट फुत्त फुत निक्लिएर बाटो साफ गरिदिन थालेका छन् । यसरी बाटो साफ नगरी दिने हो भने शंकर र उसका आसेपासेले हुर्मत लिन खोजी हाल्छन् । आनन्द र थकान मेटानको लागि पिउन जानु छ, पिउनुको मजा लिन जानु छ । तर पिएको पनि वेस्वाद हुने ठाउँमा जानु किन ? अरु ग्राहकहरुको उठबस घट्दै गएपछि शंकरलाई पनि खुब आनन्द आई रहेछ । त्यसैले त उ भन्न थालेको छ -कुँडाकर्कट साफ भए अब सानीकान्छी र म मात्रै ।

शंकरले कुडाकर्कट साफ गर्‍या हो कि ? आफै कुडाकर्कटको रुपमा रुपान्तर हुँदै गएको भन्न कठिन छ । तर एउटा अर्धनग्न सत्य के हो भने सानीकान्छी भने शंकरको उठबसले आजकल मोटाउँदै गईरहेकीछिन् । त्यसैले होला कुर्था सुरुवालले सानीकान्छी उमेर घटाउँनुको साथै बढ्दो पेटको आकारलाई सामान्य बनाउँदै लग्ने असफल प्रयासमा देखिन्छे । शंकरको रवाफका अघि हुत्तिहाराहरुले बोल्न सक्ने अवस्थै छैन । किनकि शंकर गाउँकै बम भोले हो, निराकार हो । शंकर जो भाङको सूचक हो, अघोरी संप्रदायको मूल नायक हो । त्यसैले होला उसले थुतुने पनि जोगाएको छैन् मुतुनो पनि जोगाएन् ।

……….

एक नवजात शिशु कुकुरले चेपेर च्याँ च्याँ रुवाउँदै मान्छेेको वस्तीमा ल्यायो । हल्ला गाईघाट वजारभरि बिचरा च्वँ च्वँ कुन चाहिँ पापिनीले यस्तो विज्ाोग पारेर छोडी । आमै छोरो पो रहेछ । कस्तो निर्दयी आइमाई होली । यस्तालाई त सुलीमा चढाउनु पर्ने । नानाभाँती चर्चा भई रहेछ । मान्छेको भिड जम्मा हुँदै गइरहेछ । कोही चुकचुकाउँदै थिए कोही अपराधी पत्ता लगाएर कारवाही गर्नु पर्छ भन्दै थिए । मुमुक्षुले भने कुकुरको मुखबाट नवजात शिशुलाई धरधर भन्दै खोस्यो । रगतपच्छे शिशुको रुवाई विस्तारै मधुरो बन्दै गइरहेको थियो ।

सत्य ढिलो नै उद्घाटन हुन्छ । मुमुक्षुले शिशुलाई हेर्‍यो- माल तातो र गाला रातो गाउन मस्त हुने शंकरको अनुहार सम्झयो । कताकता तेस्तै देख्यो । मुमुक्षुले शिशुलाई धाईको प्रवन्ध गर्ने विचार गर्‍यो, प्रहरीलाई खबर गरेर अपराधी पत्ता लगाउन विचार गर्‍यो । तर मुमुक्षुको सोचाइले मूर्तरुप नपाउँदै रगतपच्छे शिशुको च्याँ च्याँ गर्न छोड्यो । मुमुक्षु के गर्न सक्छ र ? अब मान्छेप्रति अपशोच गर्नु सिवाय Û कठै, उसले बाँच्न पाएन ।

शंकाले लंका हान्यो । केटी केही घण्टा त केही नभएको जस्तो स्वाँग पार्न सफल भई । तर कलिलै उमेरमा बच्चा जन्माउँदा शरीरले पोल खोल्छ भन्ने तथ्यसँग ऊ परिचित हुन सकिन । जाडो, भोक र सुत्केरी लुक्न सक्दैनन् । शिशु वेवारिसे भएर मर्‍यो । उनी पागल मनस्थिति लिएर पुलिसको फन्दामा परिन् ।

सत्यको उद्घाटन भयो । उनले गाँठो बाँध्दा बाँध्दै धोती फुस्काइन,- ‘तिम्रो नानी हो ?’

‘खितिति…….हो ।’

‘अनि किन यसो गरेकी ? माया लागेन ?’ आँशु बरर झरे ।

‘नानी मर्‍यो सुनेनौं ?’

‘मर्‍यो र ?’

‘मेरो मात्रै छोरा हो र ? शंकरको पनि त हो । मैले त जन्माएकीसम्म हुँ । जन्माउनेवित्तिक्कै मेरो छोरो मात्रै हो भन्ने हुन्छ र ? मलाई किन समात्या ? खितिति …।’

कुकुरको मान्छेप्रतिको भक्तिभाव र अनुरागले होला, जंगलमा फ्यालिएको नवजात शिशु मुखले च्यापेर सकिनसकी मान्छेको बस्तीमा ल्यायो । कुकुर सोच्दो हो- मान्छेजस्तो देखिने यो छाउरालाई लाम्टो चुसाउँला, बढाउँला, हुर्काउँला । तर मान्छेको छाउरा किन स्वाभिमान झुकाउँथ्यो ! उसले लाम्टो चुसेन । यसलाई चारहात पाउ टेकाउँला तर ऊ बामे पनि सरेन । ठूलो बनाउँला भूँ भूँ भुकाउँला मालिकको घरको रखबारी गर्न लगाउँला । तर कठै ! कुकुरको सोचाईमा तुषारापात पर्‍यो । छाउराले च्याँ च्याँ गर्‍यो तर भूँ भूँ भुकेन । उ ठूलै हुन सकेन ।

कुकुरको सोचाईमा मान्छेको छाउरा हिँड्न सक्दैन । मान्छेको छाउराले कुकुरको प्रत्येक सोचाईलाई गलत सावित गरिदियो । उसले मान्दै मानेन् । मान्छेको छाउराको एउटा घर हुन्छ । बाआमा हुन्छन् । तर यो बडो अचम्भ छ । बाबाआमा नभएको मान्छेको छाउरा कसरी हुन सक्छ ? वित्थैमा मान्छेको छाउरोलाई ल्याएर दुःख सास्ती खेप्यो, खप्की भेट्यो । मान्छेप्रति आफ्नो सद्भाव दर्सायो । मान्छेलाई, मान्छेको छाउरालाई कुकुरको सद्भावनासँग कुनै सरोकार हुँदैन । दयामाया हुँदैन । काम पर्दाको भाँडो र नपर्दाको ठाडोमात्र हो कुकुर ।

………

मामल घरभित्र भान्जाभान्जीहरुको लागि छुट्टै व्यवस्था हुन्छ । मामलघरको शान भिन्दै इज्जत प्रतिष्ठा भिन्नै अर्थात सम्पूर्ण कुरै भिन्नै हुन्छ, संसारै भिन्नै । शिशु मारेको अभियोगमा उनी मामल घरमा बसिराखेकी थिइन् ।

मामलघर रमाईलै हुन्छ । त्यो भिन्नै संसार हो । ठाउँ संकुचित भएर के गर्नु ? त्यो अति विशाल हुन्छ । वाहिर जे जति स्वरुप सिद्धान्तका मान्छेहरु हुन्छन् त्यहाँ कोही छुटेका हुँदैनन् । राजादेखि रंकसम्म, लुतेदेखि भुसतिघ्रेसम्म । मामलघर बनाउने ईन्जिनियर, ठेकेदार लिएर मजदुरसम्म । अदालतमा वयान दिन नसकिने उनले आफनो विगतको वारेमा आफैले समिक्षा गरिन् ।

पुरानो रवाफ हो शंकरको, शंकरको खान्दानी काम हो त्यस्तो । प्रलोभन नभए धाकधम्की दिएर युवतीहरुको अस्मितामाथि खेलवाड गर्नु ? प्रजातन्त्र आयो भनेर के गर्नु ? हिजो पनि शंकरको हैकम चल्थ्यो, आज पनि चलेको छ । व्यवस्था फेरिए पनि पार्टी फेरिए पनि शंकरहरु भने फेरिएका छैनन् । त्यसैले त सानीकान्छी मात्रै शिशु हत्याको आरोपमा जेलमा बस्न बाध्य छे । यता शिशुको अघोषित बाबु भनिने शंकर भने पार्टीको ठूलै नेता हुन लागेको छ ? पार्टीमा कामले हैन दामले महत्व पाउन थाले पछि शंकरहरुको दिन खुलेको छ । लाग्छ गाउँमा शंकर भनेका पार्टी हुन् र सिद्धान्त भनेको उनको हैकम ।

जेलमा बसेकी सानीकान्छी मनमा कुरा खेलाई रहेकी छे ।

“…शंकरको बच्चा हो भनेर मैले किन भन्न सकिन्न ? कसरी भन्नु ? कसले मेरो कुरा पत्याउने ? शंकर मिठामिठा प्रलोभन दिन्थ्यो । म सवै कुराको ख्याल गर्दैछु । मैले पापको प्रायश्चित गर्नुपथ्र्यो, गरिरहेकी छु । विजेताहरुले पराजितहरुलाई दिने दण्डजस्तै । सायद धनाढ्य र प्रभावशाली मान्छे भएर होला बाआमाले पनि प्रतिवाद गर्न सकेनन् । मेरो तत्कालीन स्थिति घर न घाटको थियो । मैले शंकरलाई नभनेकी त कहाँ हुँ र Û तर शंकरले मेरो कुनै कुरा सुने पो ? त्यसैले समाजको डरले, फोस्रो इज्जतका कारण मैले शिशुलाई जंगलमा मिल्काउनु पर्‍यो । मेरो कन्त विजोग बनाउने शंकर अहिले पनि समाजमा भलादमी र इज्जतदार मान्छेको मुखुण्डोमा हिडि रहेको छ । मैले जस्तो शंकरबाट अरुले धोका नपाउला भन्ने के छ र ? तर शंकरको विरोध गर्न पनि त कसैले सकेका छैनन् । सुन्दैछु शंकर आजकाल पार्टीको ठूलो नेता हुन लागेको छ ।

सानीकान्छीलाई टार्न नसकेको त्यो दिन संझदा नियास्रो लागेर आउँछ । अदालतमा दिइने सफाई भन्दा आफनो मनले आफैलाई दिने सफाईमा उसले चित्त बुझाएकी छे र आजकल कारागारमा जीवन गुजार्दैछे । हुन पनि हो, आफनो सफाइ अरु कसलाई पेस गर्ने ? कसैले सुनुवाइ त गर्दैनन् । मनको कुरा सुन्ने त आफैले मात्रै हो । आफनो लागि सबैभन्दा उत्तम अरु हुन सक्छन् र ? हुँदैनन् ।

………

ऋतुदान गर्ने शंकरको उचाइ त्यो घटनाले कति घटायो थाह छैन । तर दानपात्र थाप्ने सानी कान्छी महादेवका ऋषि पत्नीहरुलाई डाहले पोलिएझैं पोलिएकी छे । उसलाई अवैध गर्भधारण गरी शिशु जन्माएर कर्तव्य गरी ज्यान मार्ने निष्ठूरी आमाको दाग लागेको छ । यो दाग मेट्ने पोस्तकको ठेलीहरुमा व्यवहारिक उपायहरु छैनन् ।

ऋतुदान नभै गर्भ बोकिन्न भन्ने जान्दाजान्दै विद्धान र विधायकहरुले गर्भलाई अवैध ठहरयाएका छन् । थाह छैन, वैध गर्भ कस्तो हुन्छ ? त्यसको सिङ् हुन्छ कि पूच्छर हुन्छ ? मुमुक्षुलाई लाग्छ- गर्भ कहिले अवैध हुँदैन । गर्भ जहिले पनि वैध हुन्छ । गर्भको मूलचुरो पक्डिन नसक्नेहरुले अवैध गर्भको सृजना गरी कोकोहोलो मच्याएका हुन् ।

मुमुक्षु यस्तै सोच्छ । शंकरको चुरीफुरी वढेको यो वेला सानी कान्छीहरु चुप लाग्न विवश छन् । सानी कान्छीहरुले स्वेच्छाले गर्भ वोक्ने दिन कहिले आउँला? सानी कान्छीहरुको गर्भको लेखाजोखा कहिले होला ? के शंकरहरुको नै डंका पिटिन्छ सधैँ भर ? यदि यस्तो होइन भने लाज शरम पचाएपछि शंकर मान्छे रहेका छैनन्, गाल अवगालको मतलव पनि छैन उनलाई । ठुला मान्छे हौं भन्नेहरुको गुण हो यो । असल मान्छेको भने होइन । लाजशरम पचेपछि ठुलाहरुले भन्ने गरेका छन्- विरोधीहरुको कामै त्यति हो । त्यो काम पनि गरेन भने के को विरोधी ऊ ?

हो सवै दोष विरोधीहरु कै हो । आफ्नो धर्म निभाउनेहरुले अरुको ईष्या गर्नु उचित हैन । आफ्नो खल्ती बगलीमारालाई सुम्पनेले वगलीमारालाई कन्डा पछाडी सराप्नुको कुनै तुक छैन । शंकरको ज्यादतिको विरोध गरेर ठेगानमा ल्याउन नसक्नेले उसको भण्डाफोर गर्न नसक्नेले शंकर मैमत्त भएर हिडेका छ भनी किन ईष्र्या गर्नु ?

शंकरको असली रुपको वारेमा सवैलाई आश्वस्त पार्न नसक्नु विरोधीहरुको हार हो र शंकरको जित । के शंकरलाई आफ्नो जित उत्साहपूर्वक मनाउने हक छैन र ? छ । त्यसैले सानीकान्छी पनि व्यर्थ कराई रहेछे । भोग गर्ने आयु रहुन्जेल सम्म मात्र हो यमराजले जुंगामा ताउ लगाउँदै मुख मिठ्याउने । भोग सकिएपछि शंकर पनि त ठेगाना लाग्दो हो ।

आजकाल आसाको खेती गरेर पनि वाँच्न सकिदो रहेछ । मुमुक्षु आसाको खेती गरीरहेछ- सानीकान्छी पनि त्यस्तै गर्दिहोली ।

(स्रोत  :-  कथासंग्रह ‘जीवनका रंगहरु’बाट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा, पुस्तक अंश | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *