कथा : काठमाडौं फ्लु

~प्रदीप नेपाल~Pradeep Nepal

काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्‍यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।

पचासै भए पनि काठमाडौंको अस्तव्यस्ततामा राज गर्न पाइन्छ भन्ने सोचेर बर्ड फ्लु आफूले चढेको ट्रकमै बसेर पूर्वतिर लागे । विष्णुमती नदीको पुलमा ट्रकको अघिल्लो पाङ्ग्रो परेको मात्रै के थियो सबै बर्डफ्लुहरू हप्याक्हप्याक् गर्दै मर्न थाले ।

मेक्सिकोमा आतङ्कराज मच्चाएपछि स्वाइनफ्लुले पनि काठमाडौंमाथि चौतर्फी हमला गर्ने निर्णय गर्‍यो । बर्डफ्लुको मृत्युकथा सुनेका स्वाइनफ्लुहरूले आक्रमणको क्षेत्र र सङ्ख्यालाई धेरै फराकिलो पार्नुपर्ने सल्लाह गरेर पाँच सय स्वाइनफ्लु काठमाडौंमा आक्रमण गर्ने गरी सडक र आकास दुबै क्षेत्रमा छरिए ।

हवाइजहाज चढेर आएको स्वाइनफ्लुलाई पुग्नु थियो ठमेल । पश्चिमी सभ्यतामा रमाउने मानिसहरू त्यतै बस्थे । त्यसैले हवाइजहाजबाट आएको स्वाइनफ्लुले दुइतिरबाट ठमेलबासीलाई च्यापेर सिध्याउने निर्णय गर्‍यो । एउटा हूल चक्रपथको बाटो बालाजु चोकतिर लाग्यो । नयाँबजार छिरेर ठमेल पस्ने योजना बनाएको त्यो फ्लुले पशुपति मुन्तिरको पुलमा हुलुक्क छाद्यो । ठमेल आक्रमणमा खटिएका दुई सय फ्लुहरू लल्याकलुलुक हुँदै बालाजु चोकसम्म आइपुगे । सास बढेर तिनीहरू इन्तुनचिन्तु भएका थिए । चोकबाट दक्षिण लागेर विष्णुमतीको पुलमा आउन पाउँदा नपाउँदै छाद्नु र छेर्नु भएर दुई सय स्वाइनफ्लु ठहरै भए ।

काठमाडौलाई दक्षिणबाट च्यापेर सिध्याउने दाउ बोकेर आएको स्वाइनफ्लु बिचरो त अरु साथीहरू जति पनि बाँच्न भ्याएन । तीनकुनेबाट हान्निएर बानेश्वर छिमल्ने दाउमा आएका सबै फ्लुहरूले बागमतीको पुल पनि कट्न पाएनन् ।

हवाइजहाज चढेर आएका फ्लुको त यस्तो हालत भयो भने बाटाबाट आएकाहरूको हालत के भयो होला ? कालीमाटीसम्म जसोतसो आइपुगेका फ्लुहरूले टेकूमा टेक्न पनि पाएनन् ।

सबै फ्लुहरू मरेपछि नर्क जाने भैहाले । काठमाडौंलाई मृत्युको सोत्तर बनाउन पठाएका फ्लुहरू आफैँ सोत्तर भएर नर्कमा आएपछि यमराजलाई पनि रिस उठ्नु स्वाभाविक भैहाल्यो ।

“किन रित्तो हात आइस् ए फ्लु ?” यमराज जङ्गयिो ।

“काठमाडौंमा हामीलाई पनि मार्ने गन्धे फ्लु रहेछ यमराज,” सबै फ्लुहरूले थर्थराएको स्वरमा बिन्ती गरे, “खोलामाथि पुग्नेबित्तिकै हामी त छाद्नु न छेर्नु भैहाल्यौँ । काठमाडौ फ्लुलाई जित्न हामी नसक्ने रहेछौँ यमराज”

मङ्सिर ०६६

(श्रोत :- अन्तर्जाल अर्थात ईन्टरनेट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.