छन्द कविता : मेरो बितोस् जीवन

~कनकधारा स्वामी स्वदेशानन्द~kanakdhara-swami-swadeshanand

छन्द : शार्दूलविक्रीडित

गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी।
टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।।
तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म।
तिम्रो यो जल हो सुधा जगतमा मान्ने सधैं गर्छु म।।
तिम्रो यो तटमा म पितृजनको गर्नेछु है तर्पण।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

तिम्रो यो जल काँध बोकिरहँदै जान्छू महाकालमा।
तिम्रो यो जलको पवित्र महिमा भन्छू महाकालमा।।
तिम्रो यो जलले म बोलबमको गर्नेछू पूजार्चन।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

तिम्रो यो जलमा अजस्र जलका धाराहरू देख्छु म।
तिम्रो यो जलमा समस्त जलको देखिन्छ सम्मेलन।।
तिम्रो यो जलमा गतात्म-जनको गर्नेछु है तर्पण।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

मेरो निम्ति तिमी पवित्र जल हौ गङ्गासरी छौ तिमी।
गोर्खा-मोक्ष-प्रदायिनी बन तिमी आकाश-गङ्गा तिमी।।
मेरो अस्तु महाप्रयाण-दिनमा ल्याई खसाल्नू यहाँ।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

गोर्खाको इतिहास देखिरहने साक्षीप्रिया हौ तिमी।
गोर्खाको ममता बढाइरहने गोर्खाप्रिया हौ तिमी।।
तिम्रो मन्दिर एक निर्मित गरी गर्नेछु पूजार्चन।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

गोर्खाको इतिहास बोकिरहने गोर्खादसी हौ तिमी।
गोर्खा-दुःख-निवारिणी बन तिमी गोर्खीय-गङ्गा तिमी।।
मारिन्छन् जति वीर ती समरमा गर्छू यहाँ तर्पण।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

गोर्खा-भागिरथी! हिमालतनया! टिस्टा! जगद्व्यापिनी!
गोर्खा-जीवन-दायिनी-प्रणयिनी नारायणी हौ तिमी।।
गोर्खेराज्य-प्रदायिनी बन तिमी गर्छू सधैं पूजन।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

टिस्टाखाङ्-दुहिता हिमालतिरकी आधारभूता तिमी।
तिम्रो आँचलमा समस्त जनको पाइन्छ सञ्जीवनी।।
गोर्खाल्याण्ड् अनि इन्द्रकीलबिचमा तिम्रो छ सद्भावना।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

-गोर्खा एकात्मता खण्डकाव्यबाट उद्धृत (2006 मा लोकार्पित।)

 

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.