कथा : मेरी भतिजी

~देबेन्द्र बस्याल~devendra-basyal

सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरीरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलिको सुमधुर आवाज, शिशिरयामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी… भनेर रुन्छे, आँखाबाट बरबर आँसु झार्छे, बुबु खान्टु भन्छे, जब उसका कुनै पनि माग पुराहुदैनन् अनि बोकेर डुलाउन भन्छे, कहिले रातको बाह्र बजेको हुन्छ त कहिले रातको बिहानीपख दुईतिन बजेको हुन्छ । यो अबोध बच्चा अँधेरी आधारातमा रोइरहँदा मैले पनि मन थाम्नै सक्दिन अनि हामी फुपुभतिजी संगसंगै रुन्छौं ।

मैले एकहातले आँसु पुछ्दै एकहातले भतिजी बोकेको पछ्याैरीकाे फुर्काे पछाडी समातेर म मेरी ३ वर्षकी भतिजिलाई बोकेर बरण्डाको वरीपरी डुलिरहेकी हुन्छु । हाहै नानु हाहै, नुनु बाबु नुनु, भोली पाडीको बुबु खाउली है नानु नुनु गर । म यस्तै यस्तै शब्दले भटाउदै भतिजीलाई भुलाउने र फकाउने कोशिस गर्छु । बिस्तारै घडीको सुई घुम्दै जान्छ पलपलमा रात छिपिदै छ । एक दुई घण्टासम्म पनि उ भूल्दीन । कति संझना आउँछ उसलाई ममीको उसले कुनै शब्दमा अभिब्यक्त गर्न सक्दीन तर उसको रुवाई, कराईले बताउछ कि उ रुँदा रुँदै थाक्छे, उस्को अवाज बदलिन्छ तर पनि उसले ममी पाउदीन न त पाउछे बुबु केवल मेरो साथ, मेरो बुई ।

आज एकदिन होईन दुईदिन होईन यस्ता कयौैं रात हामी फुपुभतिजीले रोईरोई बिताई सकेका छौं । हिजै हो भाउजुले जापानबाट फेसबुक मेसेन्जरमा भिडियोकल गर्नुभएको थियो । मेरी भतिजी आत्तिदै फोनमा उसको ममीलाई देखेर, ममी आउनु म बुबु खान्टु भनी, उताबाट ममीचाहीले पाडीको बुबुखाउ म भोली पर्सी आउछु भन्नु हुन्छ तर भतिजी भन्छे भो म हजुरकै बुबु खान्टु भन्छे । ममी भोली नआउनु आजै आउनु भन्छे , फोनको पछाडी हेर्छे छाम्छे तर उस्लाई यो सब झुट जस्तो लाग्छ होला अनि बोल्दा बोल्दै बोल्न छोडेर खेल्न हिड्छे । दिनहरु त विचरा उसले जसो तसो संगीसाथीसंग विताउछे जब रात पर्छ अनि उसलाई ममीको साथ चाहिदो रहेछ । विचरा कति रुन्छे, कराउछे, छटपटिन्छे अनि उठेर हिड्छे । उ अघि म पछिपछि हिड्छौं रुदै रुदै गोठसम्म पुग्छे, भित्र हेर्छे, भैंसी देखेर डराउछे, अनि छिमेकीका घरघर जान्छे भित्र हेर्छे ममी कतै देख्दीन अनि निरास हुन्छे दिदी हाप्पा भन्छे मैले काखमा हालेर आँसु र सिंगान पुछीदिन्छु ।

मेरो मनमा प्रश्नहरु छचल्किन्छन उ जान्ने बुझ्ने भएको भए त मेरो ममी कहाँ गएकी हो जोकसैलाई पनि सोध्थी होला बुझ्थी होला । यती सानो उमेरका नानीवाबु घरमा छोडेर प्रदेशीहुनुपर्ने हाम्रो बाध्यता । मैले त भाउजुलाई भनेकै हुँ भो भाउजु अरुको देखेर हुदैन बिदेश अहिलै नजानुस छोरी केही बुझ्ने भएपछि जानु होला । उता दाजुले पनि बारंबार भन्नुभएकै हो जुन समयमा बच्चाले आमाबाबुको माया पाउनु पर्ने हो त्यो समयमा हामी उनीहरुलाई छाडेर हिडियो भने बच्चाहरुको मानसपटलमा नकरात्मक असर पर्छ । उनीहरुले बाबुआमा बिर्षसन्छन । प्यारेन्टसको बेवास्ता गर्ने, एकोहोरोपन, अटेरी, निष्ठुरी, अराजक हुन्छन भनेर ।

यहाँ खोज्दैछ छोरी
ममीलाई रन र वन
फर्कि आउनु छिट्टै
प्रदेसी जन र मन

– देबेन्द्र बस्याल, जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.