कथा : मर्द

~दिनेश बस्नेत~

श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ । छोराछोरी स्कुल गएका छन् । बहिनी क्याम्पस । बाउ पिँढीमा बसेर एफ.एम. रेडियो सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ-‘बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस् ।’
‘के गर्ने हो ? पक्कै पनि गतिलो काम गर्न पैसा मागेको होइन होलास् तैपनि मसँग छैन ।’ बाउको कुराले ऊ खिन्न हुन्छ ।

उसका औंला धेरै दिनदेखि तास खेल्न नपाएर छटपटाइरहेका छन् । ओठ रक्सीको चुस्की लिन नपाएर तड्पिरहेका छन् । ऊ घरी आँगनमा उभिन्छ । घरी पिँढीमा बस्छ । घरी ओछ्यानमा पल्टन्छ । ऊ यसरी तलबलाएको छ, मानौं ऊभित्रको धैर्यले कावा खाइरहेको छ, मनमा अस्थिरताका कीरा सलबलाइरहेका छन् । ऊ लुगाको खल्ती-खल्ती छाम्छ, कतै पैसा छ कि भनेर तर कतै फेला पार्दैन । एउटा ठूलै आशा बोकेर सिरानीमुनि हेर्छ, श्रीमतीले राखेकी छ कि भनेर । त्यहाँ पनि भेटाउँदैन । ऊ अझ बढी निराश हुन चाहँदैन । ऊ ओछ्यानमा गुन्द्रीको तलेत्रो-तलेत्रो हेर्छ । अझ उत्तेजित भएर ओछ्यान उचालेर तलसम्म हेर्छ । देख्छ, चाबीको झुप्पो उसको मानसिकतामा लाखौं दीप प्रज्वलित हुन्छन् । खुसीले अनुहार सूर्यझैं बल्छ किनभने त्यहाँ दराजको भित्री खोपाको चाबी छ जहाँ श्रीमतीले पैसा लुकाएर राख्ने गरेकी छ । दराजमा श्रीमतीले पैसा राखेको निश्चित भएपछि ऊ खुसी हुन्छ । शंका निवारणका लागि सान्दर्भिक तर्क उब्जन्छ, ‘नत्र दराजको चाबी यतिविघ्न लुकाउनुको के अर्थ ?’

ऊ दराज खोल्छ । दराजको भित्रपट्टकिो खोपा खोल्छ । त्यहाँ उसले सानो रुमालले बेरेका दुई वटा हजारका नोट र त्यसमै बेरिएका अन्य नोट देख्छ । कति छन् भनेर गन्दैन जुन उसको चासोको विषय पनि होइन । बरु कति लिऊँ भन्ने द्विविधामा पर्छ । केही समयपछि १ हजारको नोट निकालेर दराज लगाउँछ । भित्री खोपा खुल्लै छोड्छ । श्रीमतीले चोरेको थाहा पाएपछि के सोच्ली ? के भन्ली ? अलिकति पनि वास्ता गर्दैन । न त कुन प्रयोजनका निम्ति पैसा राखेकी हो भन्ने ख्याल नै गर्छ । ऊ पैसा हात पारेकोमा प्रसन्न र सन्तुष्ट छ ।

श्रीमतीलाई लोग्नेको बानी थाहा छ । तास खेल्नु तथा रक्सी पिउनु उसका पि्रय आचरण हुन् । पैसा भयो भने बिहान निस्किएको मान्छे एकैचोटि बेलुका घर र्फकन्छ । पैसा भएन भने मलिन मुद्रामा घरमै बस्छ कामकाजबिनाको अर्थहीन प्राणीका रूपमा ।

अहिले साथमा पैसा छ । उसले आफूलाई एकप्रकारको धनी र खुसी मान्छे मानेको छ । ऊ निकै फुरुङ्ग छ । एकक्षण खेर नफाली ऊ हलुका र लामा पाइला चाल्छ । ढुलमुले चोकतिर लम्कन्छ । जहाँ बेकारका मान्छेकोे भीडभाड हुन्छ, तास खेल्दै रक्सी पिउन पाइन्छ अनि फाल्तु गफ गरेर हाँस्न पाइन्छ ।

ढुलमुले चोकमा उसको न्यानो स्वागत हुन्छ । तासको खालमा ऊ पैसा हार्दै जान्छ । हजारको नोट साटिन्छ । फेरि साटिन्छ, खुद्रामा परिणत हुन्छ । ठूलो भन्नु पचासको नोट बाँकी रहन्छ । पचासको नोट खुसुक्क खल्तीमा राख्छ, रक्सीलाई छुट्याएर । सोच्छ, आज दाउ रहेनछ । अब बसियो भने यो पचास पनि बाँकी रहँदैन । ‘मसँग पैसा सकियो । अब खेल्दिन है, मलाई तास नबाँड ।’ उठ्दै भन्छ । ‘किन उठेको खेलौं न खेलौं, यति छिट्टै घर जाने हो भने त घरका जहान रिसाउँछन् ।’ एउटाले व्यङ्ग्य गर्छ ।

‘हजार रुपैयाँ ल्याएको सकियो । खै भए सापट दिनुहोस् क्यारे, भोलि दिउँला । नत्र अलिकति चुस्की लगाएर घर जाँदा समय पनि ठिक्क हुन्छ ।’ ऊ निराशाजनक तवरले भन्छ । ‘कहाँ खेल्दाखेल्दै पैसा दिनु ? दाउ बिग्रन्छ ।’ बस्न आग्रह गर्ने जमरकट्टेलले भन्छ । ऊ केही क्षण हेरेरै बस्छ । जब साँझले धर्तीमा पाइला टेकेको आभास हुन्छ तब भट्टीतिर सोझिन्छ । एक बोत्तल लोकल रक्सी माग्छ, साथमा एक पिलेट मासु । थप्छ, अझ थप्दा उसले खाएजति तिर्न साथको पैसाले पुग्दैन । पैसा नपुग्दा भट्टीवालीसँग भनाभन हुन्छ ।

-‘जति पैसा छ, त्यतिको नखाएर किन बढी खानुपर्ने ?

-भएको पैसा त दिइहालें नि । अब बाँकी रहेको पछि दिउँला । अर्काको बेइज्जत गर्ने काम नगर न साहुनी ।’

-‘के को इज्जत ? एक वर्षदेखिको उधारो रकम अझैसम्म दिन सकेका छैनौ । त्यस्ताले इज्जतका कुरा गर्ने, बेइज्जतीसँग डराउने भए पहिलेको पैसा दिइहाल न त ।’

-‘लाख होइन, करोड होइन एकैपल्ट दिउँला नि, तिम्रो उधारो खाएर मर्दिन क्या । म मरे पनि छोराले तिर्छ ।’

ऊ घरतिर लाग्छ । घरबाट चोकतर्फ आउँदा रमाउँदै आएका उसका पाइला र्फकदा लर्खराउँछन् खेत जोतेर फर्किएको तरुनो गोरुझैंं । हजार रुपैयाँ लिएर गएको मान्छे तन्नमभगत भएर घर आएको छ । उससँग पर्याप्त आत्मग्लानि र हीनता बोध हुनुपथ्र्यो तर अनुहारमा त्यस्तो केही छैन । ऊ केही विराम नगरेको मुद्रामा छ ।

श्रीमती भाँडा माझिरहेकी छ । ऊ भाँडा माझ्न छाडेर लोग्नेलाई पढ्छे । एकक्षण हेर्छे । उसले लख काट्छे, पक्का आज रक्सी खाएर आएको हुनुपर्छ । ऊ श्रीमतीनेर टक्क अडिन्छ अनि बिरालो झैं लुसुक्क कोठामा छिर्छ ।

बहिनी टिभी हेरेर बसिरहेकी छे । बाबु आफ्नो कोठामा रेडियो सुनिरहेका छन् । छोराछोरी अर्को कोठामा पढ्दैछन् । श्रीमती कोठामा पस्छे र तिखा शब्दमा भन्छे-‘आज भात पनि ढुलमुले चोकतिर खाएर आएजस्तो छ नि Û कताबाट पाइयो पैसा ? हेर त ह्वास्स गन्हाएको, छि-छि वान्ता आउलाजस्तो ।’ ‘केको पैसा पाउनु ? सधैं पैसा नै चाहिन्छ र खान ? आज एउटा मनकारी साथीले खाऊँ कि खाऊँ भनेर कर गर्‍यो त्यसैले खाइयो ।’ ऊ सहजै भन्छ ।

‘मनकारी साथीले खान कर गर्‍यो अरे । के-के न ठूलो खाँचो टारिदिएछ, के-के न ठूलो काम गरेर आउनुभएछ । अझ लाज पनि नलाग्ने खाएर आइयो भन्दा । भात थालमा छोपेर राखिदिएकी छु, मन लागे झिकेर खाने नत्र कुकुरले खान्छ, वस्तुभाउले खान्छन् ।’ श्रीमतीले भएभरको तीतो ओकल्छे ।

ऊ चुप लाग्छ । भात नखाई सुत्छ । श्रीमतीको मनमा भने कता-कता चिसो पस्छ, ‘दिनभरि हराउनु, पिएर आउनु । कतै दराजको पैसा त उछिट्याएनन् । बानी अचानोमा राखेर काट्ने खालको छ ।’ ऊ मनमनै गुन्छे ।

फेरि ऊ के सोच्छ कुन्नी Û भात नखाई सुत्ने विचार छाड्छ । खाटबाट धङ्धङ्गाउँदै ओर्लन्छ । हुत्तिदै भान्सा कोठातिर लाग्छ । भात चिसो थियो । तैपनि ऊ भात खाई हातमुख धोएर ट्वाइलेटतिर जान्छ ।

त्यसैबेला श्रीमतीले दराज खोल्छे । आत्तिदै दराजको सानो खोपा हेेर्छे । उसलाई अचम्म र धिक्कार एकैचोटि लाग्छ । खोपा खुलै छ । मानौं गल्ती गर्नेले केही न केही आफ्नो कमजोरी चुहाएको हुन्छ । रुमालले गाँठो पारेर राखेको पैसा लथालिङ्ग छ जसमध्ये हजार रुपैयाँ गायब छ । श्रीमतीको कम्पारो तात्दै जान्छ तर तत्कालै प्रतिवाद नगरी धैर्य र संयम अपनाउँछे । ऊ चाहन्न कि पैसा हराएको अर्थात् लोग्नेले चोरेको अरू कसैले थाहा पाऊन् । आमाबाबुको झगडा छोराछोरीले सुन्ने र नकारात्मक प्रभाव पर्ने मौका मिलोस् ।

श्रीमती धरै नपाई केही बेरपछि शान्त हुन बाध्य हुन्थी । यतिखेर श्रीमती खुव सोच्छे, आज फेरि के भन्ने हो ? चोरेको छैन भन्ने हो कि, ङच्िच हाँसेर लज्जास्पद रूपमा आत्मसमर्पण गर्ने हो । जसो गरे पनि ऊबाहेक त्यो कर्तुत अरू कसैले गरेन । मरिगए सुख पाउँदैन, जे भने पनि । अरू कोही यो कोठामा आएर दराज खोल्ने कुरै आउँदैन । यहाँ घरका जहान कोही पस्दैनन् । यसो छोराछोरी हुन् पस्ने । तिनले बिठ्यँइँ गर्न जानेका छैनन् । पैसा चोर्नु त परै जाओस् । बाहिरका मान्छे आएर त्यसो गरे भनूँ भने सबै पैसा लिएर जान्थे । बाँकी किन राख्थे ? बाहिर एकदम अँध्यारो छ । श्रीमती लोग्नेले खाएको भाँडँ माझ्न जान्छे । ऊ बाहिरबाट ओछ्यानमा आई पल्टन्छ । श्रीमती कोठाभित्र पस्छे । लोग्ने लम्पसार भएर खाटमा आँखा चिम्लिरहेको देख्छे । सायद ऊ दिनभरि तासका पत्ती पढेर थाकेका आँखालाई पूर्णरूपमा विश्राम दिलाउन चाहन्छ वा रक्सीले बडेमानको बनाएको टाउकाको तौल घटाउन चाहन्छ । ऊ श्रीमती आएको बेवास्ता गर्दै कोल्टे फेर्छ । आँखा हेर्दैन तर श्रीमती कोठामा प्रवेश गरेको उसले थाहा पाएको छ । त्यसैबेला श्रीमतीले उसलाई झक्झक्याउँदै भन्छे-‘खोई, ल्याउनुहोस् मेरो पैसा । अर्काले कति जोरजाम गरेर राखेको पैसा झिकेर लान कसरी सकेको ?’ ऊ सुनेर पनि नसुनेझैं गर्छ । कोल्टे पनि र्फकदैन, आँखा पनि खोल्दैन । केवल निदाएको अभिनय गर्छ ।

उसको लाचारीपन श्रीमतीलाई खपिनसक्नुहुन्छ र बेस्कनी झकझक्याउँदै भन्छे-‘हेर न, अझ अर्काको पैसाले टिल्ल जाँड धोकेर सुतेको । कस्तो निर्छलो मान्छे । आफूले एक रुपैयाँ कहिल्यै कतैबाट ल्याएर दिने खुबी छैन, दिने होइन । यसरी कति दिन साध्य हुन्छ, म त दिक्दार भैसकें ।’ बिचरी श्रीमती रुन थाल्छे । मन उम्लेर पोखिएका आँसु जति र्झछन् उति

पुस्छे । ‘केको पैसा ? कहाँको पैसा ? मलाई थाहा छैन ।’ ऊ श्रीमतीतर्फ नहेरी भाले स्वरमा भन्छ । सरासर बनावटी कुरा गर्छ तर उसको एउटा मनमा भने सत्यता र पश्चातापले पालैपालो चिमोट्छ । आफूलाई धिक्कार्दै उसको अन्तस्करणले भन्छ, आज फेरि नगर्नुपर्ने काम गरियो । न त खल्तीमा पैसा रह्यो न त गतिलो ठाउँमा पैसा मासियो । व्यर्थमा श्रीमतीको गन्थन सुन्नुपर्‍यो । अझ कति सुन्नुपर्ने हो ? अब यो तास र रक्सी नछाडी भएन ।

‘दराजमा राखेको पैसा नि’ अझ साधु बनेर केको पैसा ? कहाँको पैसा ? मलाई थाहा छैन अरे ।’ श्रीमतीले अलि झर्केर भन्छे । ‘सत्य रामो राम मलाई थाहा छैन । तिम्ले पैसा कहाँ-कसरी राख्छ्यौ देखेको पनि छैन । झिक्नु त परको कुरा । बरु राम्रोसँग हेर न, त्यहीँ राखेको ठाउँमा कतै होला ।’ उसले शतप्रतिशत ढाँट्छ । श्रीमतीलाई अलिकति पनि चित्त बुझ्दैन । त्यसरी पैसा झिकेको बेला उसले देखाउने व्यहोरा अर्थात् अनृत आचरण सम्झन्छे । लोग्नेको पाइन्ट र कमेजको खल्ती-खल्ती छाम्छे । कतै भेटाउँदिन ।

त्यत्रो हजार रुपैयाँ एकै दिनमा सकिसकेको । कस्तो नराम्रो बानी भएको मान्छे होला । अर्काले कस्तरी साँचेको पैसा । आमाले मायाले दिएको पैसा । मासौं भने त मेरा पनि कति ठाउँ थिए कति ? हुन त लुकाएर राखेको होला नि । अर्को दिन पनि चाहिन्छ भनेर ।’ श्रीमतीले कुरा थप्दै भन्छे । ‘पैसा नै लिएको छैन भनेपछि लुकाएर राख्ने कुरा कताबाट आयो ।’ सिरानीबाट टाउको उठाउँदै भन्छ । ‘लिएको छ त के भन्नुहुन्थ्यो त नि । कहिले पो साबित भएको हो र ?’ श्रीमती अतीत सम्झदै भन्छे ।

ऊ चुप लाग्छ । श्रीमती बोल्दै जान्छे, ‘सन्तोक मान्ने ठाउँ कतै छैन । यसो जागिर खान खोज्नु पटक्क छैन । आफूसँगकी खर्दारकी छोरी कत्रो चुरिफुरी गरेर हिँड्छे । उसको लोग्ने १ लाख रुपैयाँ खान्छ अरे । जैमानेकी छोरी भुन्टी अस्ति माइत जाँदा भेटिएकी थिई । अहिले त मोटाएर चिनिनसक्नु भएकी । सुख पाएपछि त त्यति राम्रा हुँदा रहेछन् आइमाई । माइतमा हामीभन्दा झुत्रेझाम्रे भएर हिँड्थी, आफ्नो त अभागी कर्म । माइतीले दिएको पैसा पनि बाँकी रहँदैन । कहाँ पैसा राखेकी छ, कताबाट पैसा हात पर्छ, त्यत्ति सोच्दै ठिक्क छ । कसरी होस् प्रगति र परिवर्तन ? बुद्घ ित चोर छ, अनि क्यारेर उभो लाग्छ त नि पाइलो । पैसा चाहिने भएपछि कमाउनु पनि त जान्नुपर्छ । कमाइ भए पो रमाइ हुन्छ । होइन गाँठे, सोच्ने दिमाग पनि कता गएछ ? यत्रो बाउ भैसकेको मान्छे, छोराछोरी जान्ने-बुझ्ने भए, भोलि तिनै छोराछोरीले आमाको पैसा चोरेर बाले रक्सी खान्छन्, तास खेल्छन् भन्ने कुरा थाहा पाए भने के इज्जत रहला ? के भन्लान् तिनले ? धन्न छोराछोरीका सामु मैले ढाकछोप गरेकी छु र इज्जत बचेको छ ?’ ‘भाषण नसुनाऊ, तिम्रो पैसा मैले लिएको छैन । लिएको भए यतिन्जेल तिनै पैसा तिम्रो मुखमा बजार्ने थिएँ । तिम्रो करकर सुन्ने रहर थियो र मलाई ?’ ‘अहो, कस्तरी भन्न सकेको लिएको छैन भनेर । नत्र कसले दराज खोलेर लियो त ? खोई, दिनुस् मेरो पैसा । अहिले म सबैले थाहा पाउने गरेर हल्लाखल्ला मच्चाइदिउँला ।’ श्रीमती ताकेता गर्छे ।

ऊ नाजवाफ हुन्छ । घरि मनमनै खिलखिलाउँदै हाँस्छ । घरि मुखभरि क्रोध पालेर श्रीमतीतिर हेर्छ । मानौं कुनै इबी सँँध्न श्रीमतीले आरोप लगाएकी हो । सुत्ने समय हुन्छ । दुवै विपरीत दिशामा फर्केर सुत्छन् । श्रीमतीको मनमा चिन्ताको भुमरी चल्छ । आफू अभागी भएको अनुभूति अविछिन्न रूपमा हुन्छ । उसले अर्थात् लोग्नेले आत्मसन्तुष्टि र आत्मदोष एकैचोटि महसुस गर्छ । आत्मसन्तुष्टि यस अर्थमा कि श्रीमतीको कर्कशता थकाइमा परिणत भएको छ । श्रीमती सुत्ने तरखरमा छे । आत्मदोष यस अर्थमा कि पौरख गर्ने उमेरमा श्रीमतीको पैसा चोरेर तास र रक्सी जस्ता कुलतको गर्जो टार्नुपरेको थियो । साथमा एक पैसा बचेको थिएन त्यत्रो हजार रुपैयाँमा ।

केही समयपछि नयाँ प्रसङ्ग सुरु हुन्छ । जाडोको याम श्रीमती आफूतिर सिरक तान्छे, ऊ आफूतिर । दुवै जना कतै छोइन्छ कि भनेझैं एउटै खाटमा अलग्गिएर सुतेका छन् । त्यसैले सिरकको चक्लाइ साँघुरो भएको अनुभव हुन्छ । ऊ सिरक तान्न छोडेर श्रीमतीसँग टाँसिन पुग्छ । श्रीमती ऊबाट पर सर्छे, मानौं ऊ वितृष्णाका झुसिला काँडा शरीरभरि बेरेको दुम्सी हो । ऊ फेरि आफ्नो खुट्टा श्रीमतीको खुट्टामाथि राखेर श्रीमतीको अस्मिता भित्र घुस्न थाल्छ । स्पर्शस्वादबाट तृप्त हुन चाहन्छ । अरू अभिसारका प्रक्रिया गर्ने सामथ्र्य छैन । श्रीमती आफ्ना खुट्टाले उसका खुट्टा तर्काउँछे । उसको मन त्यसै शिथिल हुँदैन, फक्रदै जान्छ । श्रीमतीलाई हातले मसक्क बेर्छ । श्रीमतीले रुचाउँदिन । उसलाई धकेल्दै भन्छे-‘खोई मेरो पैसा ल्याउनुहोस्, अर्काको पैसा लुसुक्क झिकेर अहिले चुप लागेर कसरी सुत्न सकेको, नामर्द । स्वास्नीको पैसाले तास खेल्न र रक्सी धोक्न पल्केको ।’

उसलाई नामर्द शब्दले च्वास्स घोच्छ, हलोको फालीले जमिनमा घोचेझैं । त्यसैले ऊ सबै अमिल्दा कुरा बिर्सेर जुरुक्क उठ्छ र तातो रिस देखाउँदै श्रीमतीको मुखमा मुक्का बर्साउन थाल्छ । अलिकति पनि दया-मायाको अंश बाँकी राख्दैन । श्रीमती कङ्कला स्वरमा रुन थाल्छे, अरलिन्छे, क्रमबद्घ आँसुका शृङ्खला झार्दै । ऊ मुहारभरि कुटिल मुस्कान छर्छ । सायद ऊ श्रीमतीको कारुणिक रुवाइ र अरिष्टबाट आफू मर्द भएको गर्व गर्छ ।

– फाल्गुन २८, २०६९

(स्रोत : कान्तिपुर – नारी मासिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.