संस्मरण : मधुपर्कसँगको साइनो

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ ।

मधुपर्कसँगको साइनो काठमाडौँमा जोडिएको हो, त्यतिवेला म विपन्न परिवारको विपन्न सहर हेटौंडाबाट सम्पन्न र सभ्य राजधानी सहरमा आज्ञाकारी सन्तान र अनुशासित छात्र हुने अभ्यासमा थिएँ ।

मानशम्सेरको मानभवनवाट मीन शम्सेरको मीनभवनमा सरेको थियो तत्कालीन पाटन क्याम्पस, नेपाल कमर्स क्याम्पसको नयाँ नामसहित । प्रवीणता प्रमाणपत्रस्तर अथवा पुरानो आईकम तहको विद्यार्थीे थिएँ र त्यतिबेला व्यवस्थापनको पढाइमा पनि नेपाली विषय पढ्नु पर्दथ्यो । हामीलाई नेपाली पढाउने गुरु हुनुहुन्थ्यो कोमलनाथ सुवेदी । मूल भवनको दक्षिण पश्चिम कोठामा कोमलनाथ गुरुले नेपाली पढाउनु हुन्थ्यो । र एक दिन उहाँले भन्नुभयो, तपाईंलाई साहित्यमा राम्रो रुचि भएको पाएँ, मधुपर्क भन्ने एउटा पत्रिका छ, त्यसमा व्याकरणसम्बन्धी एउटा लेख छापिएको छ, त्यो पढ्नु भयो भने तपाईंलाई पढाइमा मात्र होइन लेखक बन्न पनि मद्दत पुग्छ ।

त्रिपुरेश्वरको डेराबाट हिँड्दैहिँड्दै म रत्नपार्क पुगेँ र भोटाहिटी गल्लीमा छिरें । पुस्तक संसार, रत्न पुस्तक भण्डार अनि साइनबोर्ड विनाका पुस्तक पसलहरूमा मैले आँखा दौडाउँदै गएँ र एउटा पसलमा मधुपर्क लेखिएको पुस्तकजस्तो आकारमा देखें र मैले भनें, साहूजी मधुपर्क पाउँ न ।

त्यो पसलेले पुलुक्क मलाई हेर्‍यो र मधुपर्क मेरो हातमा राखिदियो । मैले पल्टाएर हेरें, गुरु कोमलनाथले भन्नुभएको व्याकरणबारे लेख छ कि छैन भनेर । मैले त्यो लेख देखीहालें र मेरो अनुहार उज्यालियो, अनि सोधें, कति पैसा भनेर ।

एक रुपियाँ पचास पैसा रहेछ मोल, मैले त्यो तिरेपछि सीधै डेरा पुगेर पढ्नुपर्छ भनेर यताउति कतै नलागी त्रिपुरेश्वरतिर लागें । त्यतिबेला गल्लीमा दुई रुपियाँ प्लेट मोमो पाइन्थ्यो, प्रायः म एक रुपियाँको हाफ प्लेट खान्थें तर त्यो दिन मधुपर्क पढ्ने हतारोले मोमो खाने विचारै आएन र डेरामा पुगेर मैले त्यसका पानापाना पल्टाएर शिरदेखि पुछारसम्म हेरें । कथा, कविता, व्याकरणको बारेमा लेख, अनि पानाको आखिरीमा भएको खाली ठाउँमा घतलाग्दा सानासाना केही हरफका रचना अंश, मलाई मधुपर्कले मोहनी लगायो । दुई चार दिन लगाएर त्यसका सबैथोक पढें । यो मधुपर्कको अङ्क यति मन पर्‍यो कि मैले खाने मोमोको वजेट त्यसलाई छुट्ट्याएँ । २०३२ सालको कुनै महिनामा सुरु भएको मधुपर्क पढ्ने सिलसिला आज ३५ वर्षपछि सात समुद्रपारि अमेरिकामा बस्दा पनि नित्य निरन्तर अटुट छ ।

मैले त्यो अङ्क पढ्दा मैलाई थाहा थिएन कुनै दिन म लेखक बनुँला, मधुपर्कको लेखक बनुँला र पत्रिकासँग मेरो पत्रिका र पाठकको नाताबाट पत्रिका र लेखकको नाता बन्ला भनेर तर भयो त्यही । मधुपर्क पढ्न थालेपछि साहित्य पढ्ने रुचि बढ्यो र रूपरेखा पनि मेरो पढ्ने पत्रिकामा दर्ता भयो ।

साँच्चै भन्ने हो भने त्यतिखेर नियमित, स्तरीय र नाम चलेका दुई वटा पत्रिका मात्रै थिए, मधुपर्क सरकारी निकायको, रूपरेखा निजी क्षेत्रको । म दुवैको पाठक थिएँ, नियमित पाठक ।

मभित्रको लेखक मभित्रबाट सल्बलाउन थालेको थियो र केही रचना केही पत्रपत्रिकामा प्रकाशन भैसकेको थियोे । त्यतिबेला मधुपर्क र रूपरेखामा छापिएपछि मात्र साँच्चैको लेखक कविको दर्जा प्राप्त भएको महसुस गरिने जमाना थियो । मधुपर्कमा छापिए इज्जत बढ्ने मात्र होइन पारिश्रमिक पनि पाइने हुनाले धेरै लेखकको ध्यान मधुपर्क तिरै हुन्थ्यो । त्यतिबेला मधुपर्क हेर्ने जिम्मा र गोरखापत्रको शनिवारीय पनि हेर्ने काम प्रख्यात हास्यव्यङ्ग्यकार केशवराज पिंडालीले गर्नुहुन्थ्यो तर सबै उहाँलाई नयाँ पुस्ताका लेखकलाई गोरखापत्रको प्रकाशनमा प्रवेश निषेध गर्ने सम्पादक मान्दथे ।

मैले एकदिन आँट गरेर एउटा कविता र कथा साथमा बोकेर मधुपर्कको कार्यालयमा पाइला पुर्‍याएँ । मैले ढोकाबाट यसो भित्र हेरें, एक जना पाको मानिस मेचका बसेर टेबलमाथि उपरखुट्टी लाएर च्याउच्याउ पान चपाएर बसेको छ । चश्मा लाएको ढाका टोपीमा सजिएको यिनै होलान् सम्पादक केशवराज पिंडाली भनेर मैले नमस्कार भनें । तिनले नमस्कारको जवाफमा भने, भन्नोस् किन आउनु भो ?

मैले भनें, म नयाँ लेखक हुँ, रचना लिएर आएको थिएँ ।

तिनले चिउँडोले टेबुलतिर इशारा गर्दै भने, त्यहाँ छाडेर जानुस् प्रकाशन योग्य भए छापिन्छ ।

एउटा लेखकको रचनालाई अछुतझैँ गरेको देख्दा मलाई रचना छापिएला भन्ने आशा नै मरिसकेको थियो, तैपनि मैले जाँदा जाँदै सोधें, छापिने भए कहिले थाहा पाइएला ?

तिनले पान चपाइरहेको मुखले टेडो ओठ बनाएर जवाफ दिए, मधुपर्क हेर्दै गर्नाेस्, छापिए थाहा भैहाल्छ ।

अब मसँग थप प्रश्न थिएन र निराश हुँदै गोरखापत्र संस्थानको कम्पाउन्डबाट बाहिर निस्किएँ र भूगोल पार्कमा टाँसिएको गोरखापत्रमा समाचार रोजीरोजी पढ्न थालें ।

केशवराज पिंडाली गोरखापत्रमा छउञ्जेल म लगायत अधिकांश नयाँ लेखकले गोरखापत्रका प्रकाशनमा प्रवेश पाएनौं ।

जब केशवराज पिंडालीले गोरखापत्रबाट अवकाश पाए र उनको ठाउँमा नारायणबहादुर सिंहले पद ग्रहण गरे, नयाँ लेखकहरूका लागि खुसीको समाचार बन्यो र केही पत्रपत्रिकाले यस विषयमा समाचार र स्तम्भमा लेखहरूसमेत लेखे । साँच्चै नै नारायणबहादुर सिंहले नयाँ लेखकहरूलाई प्रसस्त स्थान दिएर गोरखापत्रको शनिवारीयसहित मधुपर्कलाई लोकप्रिय बनाउनु भयो । २०३७ मा कविता विशेषाङ्कक र कथा योजना उपमा दिएर कथा विशेषाङ्कक प्रकाशन भयो जसमा नयाँ लेखकको राम्रै वाहुल्यता थियो । मेरो कथा पहिलोपल्ट कथा योजनामा प्रकाशित भएको थियो ।

एक जना तराईतिरका व्यक्तिले अनर्गल कुरा नारायणबहादुरलाई सुनाइ दिएपछि उनीसँग मेरो व्यक्तिगत सम्बन्ध चीसो हुन पुग्यो र लामो समयसम्म मधुपर्कमा मैले स्थान पाइन । पछि उनी अस्वस्थ भएको बेला वीर अस्पतालमा म भेट्न गएपछि सम्बन्ध अति आत्मीय हुन पुग्यो र मेरा मौलिक रचना मात्र होइन प्रसस्त अनुवाद कथा प्रकाशित भए । कृष्णभक्त श्रेष्ठको सम्पादकत्वमा मेरो एउटा अनुवाद कथा मात्र प्रकाशित भयो । पछि कपिल घिमिरे र श्रीओम श्रेष्ठको सम्पादनकालमा मैले लेख्न भ्याएका प्रसस्त रचनाले ठाउँ पाएका छन् । मधुपर्कमा मैले प्रशस्त पुस्तक समीक्षा पनि लेखें, विश्व साहित्यका प्रख्यात लेखकको जीवनीपरक लेखहरू पनि लेखें ।

सन् २००४ देखि म अमेरिकामा बस्न थालेपछि पनि मेरो र मधुपर्कबीच लेखकीय सम्बन्धमा निरन्तर नै छ, अलिकति पातलो भए पनि ।

हाल मनासस, भर्जिनिया,अमेरिका

(स्रोत : मधुपर्क २०६७ माघ)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.