कविता : बिहानको आकाशलाई

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो !
ए चोरीको ए रे अँध्यारो !
बिक्रीको,
हुँडारहरुको उल्लूकहरुको
षड्यन्त्रीको
दुःस्वपनीको, निशाचरको,
निर्भीकताको साम्राज्य !
ठुक्री, टुक्री, टुक्री जा
फुस्री, धुस्री, बिलाई जा
जा खण्डहरको बाटो !
जल् बल् अभिशापित हे !
ले, सल्की, मेरा
मूक वेदनाका आज्य !

ख.
म सुतेको मानिस हुँ,
जीविततातिर बेहोश !
म लुटेको मानिस हुँ
धनी र वञ्चित, निर्दोष !
हत्याराहरु भागिरहेछन्
छायाहरुका आड लिई
म हतमानव सक्तिनँ बोल्न
बोल्ला नियति काँढ लिई !

ग.
उम्ली ! छड्की !
बेहोशीको कालो कराही !
उम्ली !
मानव, सुत्दछ मर्दैन
रात सधैं पर पर्दैन
सारा रङ्गका दुःख मिलीकन
मिसिएको कालो रङ्ग,
कालको झैं रोगन बन्दछ,
अचेतताको निष्पट अङ्ग !
यो युगको हो सन्नाटा,
निशाऽभिध यो सूनसान
आत्महत्या गरेर उठ्ली
पोखरी आफ्नो मुटुको रुधिर यो,
अर्पी आखिर
अहार्य नीतिमा आफ्नो प्राण !

घ.
एउटा चरो छ नेपाली
आफ्नै खरानीबाट ऊ जाग्दछ, युगयुग पङ्ख उचाली,
एक टाकुरा कहीं छ हिमाली
जसमा मानवताको रथको पाङ्ग्रो गुड्दछ एकपाली ।

ङ.
हाहा ! सुतुवा हो सारा,
दुःख दर्दका अबोल चरुहरु
सकल साँपका पेटारा,
दैन्य, निराशा, लाचारी
अज्ञान, पराजय सारा–
यही कराही कालोमा
उन्ली उठ्दछ आफै यो एक बिहान उज्यालोमा ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.