बाल गीत : बालक तारा

~सुभाषचन्द्र भण्डारी~

बालक तारा टिलपिल गर्छौँ
मातृभूमिका सन्तति हौँ
उन्नति पथको सपना देख्यौँ
मङ्गल ग्रहमा वास बस्यौँ
फुल्नु छ कोमल हृदय बगैँचा
छर्नु छ शान्ति–सुवास
शक्ति उचाल्ने साहस देओस्
पुर्खाको इतिहास

जोख्नु छ आफ्नै मुटुको ढकले
जन्मभूमिको माटो यो
काट्नु छ पदले पौरख टेकी
देशप्रेमको बाटो यो

निर्मल–निश्छल बालक मनमा
करुणा सागर मूल फुटोस्
सच्चा मानव बन्ने आशा
सुन्दर जीवन फूल फुलोस् १

धर्म–दीपमा बाल्नु छ आस्था
थप्दै थोपा संस्कृति तेल
हाँसो–आँसु बुझ्नु छ के हुन्
रचिन्छ कसरी जीवन खेल १

बाट्नु छ ढुकढुकी मेचीकाली
राष्ट्रियताको बलियो डोर
सान नझुक्ने सास नटुट्ने
सारङ्गीमय पार्नु छ स्वर

जीवन जगमा स्वतन्त्र उड्ने
बालक शान्ति प्रतीक हो
भविष्य उज्ज्वल पार्नु छ देऊ
अधिकार हाम्रो आवाज यो

This entry was posted in बाल गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.