समीक्षा : नेपाली लोकगीतमा प्रगतिवादी चेतना

~राजेन्द्र सुवेदी~

विषयप्रवेशः

परापूर्वकालदेखि लोक जीवनमा प्रचलित हुँदै आएको र जनसमाजले मौखिक रूपमा जीवन्तता प्रदान गर्दै आएको साहित्य विशेष लोकसाहित्य हो। लोकसाहित्य मानव सभ्यताको अथाह सामग्री भएर परम्पराको संवाहक बनेको हुन्छ। हरेक वर्तमानको पूर्व पीठिकाको रहेको हुन्छ। त्यसै पीठिकाको आधारमा र सत्प्रेरणामा मान्छे आफ्नो संस्कार,संस्कृति र परम्परा एवं निजी पहिचान प्राप्त गर्दछ। सुललित कल्पना र जीवनका यथार्थहरू लोकजीवनका अन्तरतहमा बस्न पुगेपछि रूपग्रहण गर्न पुगेको लोकसाहित्यभित्र पनि विधा र त्यसका प्रविधाहरू प्रशस्त रहेका हुन्छन्। तिनको निजी पहिचानको सैद्धान्तिक आधार, वर्गीकरण, विश्लेषण आदिका सिमामा अब त विश्व साहित्यमा तयार भइसकेको छ।

लोकसाहित्यका विविध विधाहरूमध्ये कविता प्रमुख विधा हो र यसका प्रविधाहरूमा लोककविता, लोककाव्य, लोककथा, लोकगीत आदि पर्न आउँछन्। त्यसमध्ये भावनाका प्रवाह र संव्ेगलाई लोकजनित लयात्मक अभिव्यक्तिमा प्रस्तुत गर्दै जाने कला नै लोकगीत हो। यसरी परिचय र व्याख्याहरू आफ्नै किसिमका देखिन आउँछन्। “आडम्बरहीन, प्राकृतिक प्रस्तुति, सामूहिक जीवनको प्रतिनिधित्व गर्ने आद्भूतिक किसिमको शैलीमा आविर्भूत हुने खुबी लोकगीतमा हुन्छ –भारतीय साहित्य कोस, पृष्ठ ११४०)। त्यसरी नै यसको परिचय दिने क्रममा “लोकगीतको प्रजनक जनता हो, एउटा खास प्रान्त, क्षेत्र वा सिंगै मुलुक र बहुमुलुकका मान्छेहरूका मौखिक कथनमा पुरातनयुगदेखि गाइँदै र संग्रहीत एवं जीवन्तता प्रस्तुत गर्दै गेय गुण प्रधान भएको लयबद्ध पंक्तिगुच्छ लोकगीत हो ”(शब्दकोश, बेवस्टर)

सामान्यतः लोकगीतको विषय लोकजीवनले आफ्नो अस्तित्व कायम गर्ने संघर्षशील क्रममा आत्मसात् गरेका जीवनका चापमा आफूले भोगेका संगतिका तत्वहरू, समाज संरचनाका आधारशीलाहरू, सभ्यताका जीवनचर्याहरू, शिकार, ऋतु–उत्सव, आवासत्याग, प्रणय र गृहस्थीका स्थापनाहरू, वर्गीय समाजको चापमा आफूले भोगेका विसंगतिका तत्वहरू लोकगीत भएर अभिव्यक्त भएका हुन्छन्। प्रत्येक युगका फाँटहरूमा प्राप्त हुने जनपदीय वाणी र त्यस वाणीले आर्जन गरेका शैलीमा वस्तुको प्रस्तुति , आफ्नै परिवृत्तमा प्रकट भएको हुन्छ। यो सिर्जनात्मक साहित्यको पूर्वपीठिका भएर निरन्तर चल्दै आएको हुन्छ। लोकोक्ति र ग्रामीण एव्ं जनपदीय अभिकथनहरू यसको प्रस्तुतिका निम्ति तरिका बनेका हुन्छन्। नागर जीवनका विपरीत ग्रामीण तत्वहरू, लोकलयका क्षेत्रीय र भौगोलिक विकटताले जन्माएका विविधताहरू, सदाचार र सत्पक्षको आदर एवं सत्पात्रका चर्याहरू, प्रणय र विवाहका प्रसंगहरूको समर्थन, रूढीको बहिष्कार, वीरत्वको सम्मान, सौर्यको प्रतिष्ठा, नारीको सम्मान, वर्गीय विषमताप्रतिको विद्वेष, वर्गमित्रको सहयोग र वर्गशत्रुको उच्चाटन, सौन्दर्यको कदरजस्ता तत्वहरू नै लोकोक्तिका विषय बनेका हुन्छन् (भारतीय साहित्यकोश)

संसारभरकै लोकसाहित्यको यस मौलिक पहिचानबाट नेपाली लोकसाहित्यको पहिचान अलग्याएर र नेपाली लोकगीत मात्रको स्वरूपलाई छुट्टाएर अध्ययन गर्नु यसको उद्देश्य रहेको छ। नेपालको भौगोलिक सीमा मेची–कालीभित्रका विविध भाषा–संस्कृतिका समाजमा चल्ने गीतहरू नेपाली लोकगीत हुन्। अनि नेपाली भाषा र संस्कृतिको मानचित्र पहिल्याउँदा नेपाली भू–स्माबाहिर दार्जिलिङ, सिक्किम, डुबर्स, भुटान, आसाम, मेघालय, मणिपुर, बर्मा र थाइलेन्डसम्म विस्तारित भएको नेपाली जातिमा प्रयुक्त गीतहरू नेपाली लोकगीत हुन्। तिनमा स्थानीय, क्षेत्रीय, प्रान्तीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्मको जीवनचर्या अभिव्यक्त भएको हुन्छ। त्यसप्रकारका जीवनचर्यामा रहेका समाजका संरचनजामा रहेका विकृतिको, सुकृतिको,संगति र असंगतिको, सामाजिक संरचनाका स्वरूप र तिनका सकारात्मक एवं नकारात्मक पक्षहरूका चित्र ती गीतहरूले बोकेका हुन्छन्। त्यसै आधारमा लोकगीतभित्रको चिन्तन प्रवृत्तिलाई ठम्याउन सकिन्छ।

समाजको इतिहास वैज्ञानिक ढंगले विकसित हुँदै आएको हुन्छ। समाजका आचरण र चर्याहरूले मूर्तत्व प्राप्त गर्दै आएर एउटा मोडमा पुगेपछि एउटा खास दिशामा मोडिन पुग्दछ। यसो भएपछि समाजको गति एउटा छुट्टै चिन्तनधारामा डोहोरिन पुग्दछ। ईश्वरीय अनुकम्पालपे अनायासै समाजको विकास हुँदै आएको हो भन्ने पुरातन संस्कारलाई मार्क्सको वैज्ञानिक समाजविकासको इतिहासको अध्ययनको परम्पराले नयाँ दिशा प्रदान गरिएको छ (राहुल सांकृत्यायन) यसरी वैज्ञानिक समाज विकासको वर्गीय क्रम वर्गीय समाजमा भएका द्वन्द्व र तनावहरूको उतारचढावमा, वर्गीय संघर्षका आधारमा विकसित भएको समाज, वैज्ञानिक आधारमा विकसित बन्दै जाँदा आफ्ना उत्पीडन र आफूप्रतिको शोषणको कारण पहिल्याउन सक्ने बन्दै गएको कुरा सिद्ध भएको छ। अनि समाज आफ्नो अस्मिताको पहिचान पहिल्याउन सक्न्े बन्दै गएको कुरा सिद्ध भएको छ। अनि समाज आफ्नो अस्मिताको पहिचान पहिल्याउन सक्ने बन्दै गयो। क्रमशः लोकलयात्मक अभिव्यक्तिमा आफ्नो स्थ्िित प्रीतपादनका चेतहरू र वर्गीय उत्थानका चेतहरू पनि प्रस्तुत हुन थालेका छन्। तिनै अभिव्यक्तिका प्रतिपादित पक्षहरूलाई प्रगतिवादी चेतका कणहरू पहिल्याएर अध्ययन गर्नु उपयुक्त हुन्छ।

वर्गीकरण :

सामाजिक जीवनका विविध फाँटहरूमा मान्छेले आर्जित गरेका सबै पक्षहरू लोकगीतका वस्तुस्रोत बनेका हुन्छन्। ती वस्तुस्रोतका आधारमा विविध पक्षहरूलाई समेटेर वर्गीकरण गर्न सकिन्छ। १. सामाजिक वस्तुस्रँेत र २. सांस्कृतिक वस्तुस्रोत। यी दुई फाँटहरूमा पनि विभाजन गर्दा निम्न अनुसारको अवस्था देखा पर्दछ।

लोकगीतको वस्तुस्रँेत :

सामाजिक वस्तुस्रोतमा वर्गीय विसंगतिले जन्माएका वियोग, समाज व्यवस्थाका कारणले जन्माएका प्रणय, मिलन, हर्ष, विस्मात, विद्वष, बसाइँ, युद्ध, पलायन, त्याग आदि। सांस्कृतिक विकृतिका कारणले जन्माएका धार्मिक र जातिगत समस्या, परम्पार र प्रचलनका समस्या लोकगीतका वस्तुस्रँेत भएर आएक्ा छन्। यिनै कथास्रँेतका आधारमा नेपाली लोकगीतहरूको निरूपण गर्न सकिन्छ।
समाज परम्परादेखि वर्गीय आधारमा विकसित हुँदै आएको छ।यसै आधारमा लोकगीतको पनि विकास हुँदै आएकोले समाजका वर्गीय स्वभाव, प्रवृत्ति र स्वरूपलाई लोकगीतले पनि आत्मसात् गरेको हुन्छ। वर्गीय आधारमा विकसित हुँदै आएको यस नेपाली समाजका लोकसाहित्यका सबै प्रविधाहरूमा नेपाली समाजका जीवनमा प्रचलित विविध तत्वलाई प्रयुक्त गरेको हुन्छ। यस दृष्टिले नेपाली लोकसाहित्यका गीतिफाँटमा प्राप्त हुने प्रगतिशील स्वरलाई पहिल्याउनु यस कार्यपत्रको उद्देश्य भएकाले त्यस क्षेत्रमै केन्द्रित हुनु अपेक्ष्ँित ठहर्दछ।

नेपाली लोकगीतमा प्रयुक्त विषयवस्तुः

नेपाल परापूर्व कालदेखि विशिष्ट सामाजिक, भौगोलिक र सांस्कृतिक संरचनामा श्रृंखलित बन्दै आएको समाजव्यवस्था भएको मुलुक हो। यस मुलुकको परिवेश, पर्यावरण र जीवनवृत्तको विशिष्ट पहिचान राख्ने खालको छ। भौगोलिक संरचनाको विविधता हिमालय, पहाड, खोंच, बेसी, चुरे, तराई, नदीनाला, झर्ना, वन, जंगल र ताल तलैया, वनस्पति, जनावर अनेक पक्षहरूको पटभूमिमा निर्मित यहाँको सामाजिक जीवनमाथि सम्पूर्ण भौगोलिक पक्षआदि अभिव्यञ्जित भएको छ। देशभित्र राज्यव्यवस्थाको त्रुटी, राजा, साहु,सामन्त, जमिनदार, व्यापारीहरूसँगको सरसापट, ठेकीबेठी, पारिश्रमिक, दान, बक्सिस आदिको मूल्यलाई वस्तु बनाएर प्रयोग गर्ने काम पनि यहाँका लोकगीतले गरेको हुन्। देशभित्रको श्रमको मूल्यहीनता र श्रमका असरको खोजीमा र देशबाहिर कुल्ली, दरवानी, ज्यालादारी, सेना आदि कार्यमा आफूलाई धितो राख्न प्रस्थापित गर्ने नेपालीहरूको विवशतालाई जीवन्तता प्रदान गर्ने र नेपालीहरूको पहिचानलाई प्रस्तुत गर्ने विषय नेपाली लोकगीतमा प्रस्तुत भएको हुन्छ। भौगोलिक विविधताका कारणले यस मुलुकका जनपद, गाउँ, जिल्ला, प्रान्त र क्षेत्रहरू, प्रकृतिका डाँडापाखा, खोलानाला, हिमशिखर, भीरपहरा, गोठकटेरा, देशप्रदेश आदि अनेकौं पक्षहरूको समुचित समायोजनका पक्षहरू नेपालभित्रदेखि नेपाल–बाहिरसम्मका जीवनको शैलीमा प्रस्तुत भएको देख्न पाइन्छ लोकगीतमा। यी सबै पक्षहरूलाई प्रतिपादन गर्ने काम पनि लोकगीतले गरेको हुन्छ। वर्गीय समाजका विविध स्वरूप संरचना आदिका पक्षहरूलाई प्रस्तुत गर्ने चिन्तनका आधारमा नै लोकगीतको प्रगतिमूलक र यथास्थितिमूलक स्वर पहिल्याउन सकिन्छ।

लोकगीतमा पाइने प्रगतिवादी चेतना :

लोकजीवनका खुशीदेखि बेखुशीसम्मका, सम्पन्नदेखि विपन्नसम्मका, घर व्यवहारदेखि देश प्रदेशसम्मका, साहुआसामीको लेनदेनदेखि प्रणय–वियोगको विनिमयसम्मका, आफन्तदेखि परायासम्मका, वर्गमित्रदेखि वर्गशत्रुसम्का पक्षहरूलाई गीतले आफ्नो केन्द्रीय तत्वका रूपमा स्वीकारेको हुन्छ। यस प्रकारका चेतनाहरूले वर्गीय पहिचान र वर्गीय द्वन्द्वका पक्षहरूलाई आतमसात् गरेर आफ्नो अभिव्यक्ति प्रकट गरेका अवस्थामा पाइने मूल्यका आधारमा गीतले प्रगतिवादी चिन्तन आत्मसात् गरे नगरेको कुरा ठम्याउन सकिन्छ। यी विविध स्वरूपलाई निरूपण गर्दा के कुरा स्पष्ट हुन्छ भने नेपाली समाज पुरातन कालदेखि सामन्ती जाँतोमा पिसिएको र अत्यन्त विसंगत वर्गीय कोलमा पेलिएको हुँदा यसमा द्वन्द्वका स्वरहरू प्रशस्त चर्केका पाइन्छन्। नेपाली लोकगीतले यस समाजका विविध विसंगतिका जाँतोमा पिसिएका परिस्थितिलाई उजागर गर्दै त्यस्ता सामन्ती प्रवृत्तिका पीडाले जीवनलाई विकरालतातिर पुर्‍याएको कुरा गीतमा प्राप्त टिप्पणीले पुष्टि गरेका छन्। नेपाली लोकगीतमा पाइने प्रगतिशील चेतनाको चर्चा गर्दा प्रमुख रूपमा आलोचानात्मक यथार्थवादी चेतनाको मात्र आविर्भाव भएको कुरा पुष्टि गर्न सकिन्छ। यस आलोचनाभित्र टिप्पणी भउका विषयहरू र तिनका विभिन्न पाटाहरू विभिन्न खन्डमा विभाजित हुन सक्छन्–त्यस प्रकारका विभिन्न खन्डहरूमध्ये अंकन गर्न सकिने पाटाहरूमा आर्थिक विसंगतिका पक्षहरूको टिप्पणी, चेतनाको अभ्यूत्थानप्रतिको आव्हान, विदेशी समरमा भाडाको सिपाही बनेर जानुपर्ने स्थितिको टिप्पणी, जातिगत विसंगतिप्रतिको टिप्प्णी, श्रमिकहरूको श्रमको उचित मूल्य पाउन नसकेको अवस्थामा जन्मेका स्थितिप्रतिको टिप्पणी आदि भएका लोकगीतहरूको आविर्भाव हुनुमा प्रगतिवादी स्वर मुखर भएको देख्न पाइन्छ। नेपाली आर्थिक विषमताका क्षणहरूका विद्वेषमा आउने गेयात्मक अभिव्यक्ति प्रस्तुत भएका गीतहरू नेपाली समाजमा प्रशस्त छन्। नेपाली भौग्ाोलिक संरचनागत जटिलताका कारणले उत्पन्न परिस्थितिका विसंगतिहरू, देशभित्र र बाहिर श्रम गरेर जीवननिर्वाह गर्नेहरूका विसंगत चरित्रहरू प्रस्तुत गर्ने गीतहरू प्रशस्त छन्–

–आमा रूँदै गाउँघर मेलैमा, छोरो रूट्टदै गोरखपुर रेलैमा।

–धुरूधुरू रोइराको होला डाँडाकाटी गएको नेपाली।

–पानी पर्‍यो बैरने असिना, शिरमा नाम्लो निधारमा पसिना।

देशबाहिर पुग्ने र पूंजीपति, जमिनदार एवं नोकरशाही सरकारको काममा अल्भि्कन पुगेका नेपालीहरूको स्थितिप्रति सहानुभूति प्रकट गर्ने र त्यस किसिमको विकृति निर्माण गर्नेहरूका विसंगत चरित्रको आलोचनात्मक टिप्पणी गर्ने यी पंक्तिहरूले सम्पूर्ण नेपालीहरूलाई पूंजीवादी र सामन्तवादी विकृतिका विरूद्ध उभिनुपर्ने स्थिति प्रदर्शन गरेका छन्।

आर्थिक विपन्नताका कारणले र ज्यालादारीसम्म पनि मुलुकभित्र नपाइनाका कारणले देश बाहिर लाहुरे र ज्यामी बनेर पुग्नुपर्ने र विदेशीको नोकर बन्नुपर्ने बाध्यता, केही कमाएर ल्याएको सम्पत्ति घरपरिवारका गरिबीले पारेका प्वाल टाल्दाटाल्दै त्यही पुरानो ड्यूटीमा फर्किनु पर्दा उही टाट पल्टेको अवस्थामा पुग्नुपर्ने स्थितिको कारण बनेको समाजव्यवस्थालाई आलोचना गर्ने गीतहरू पनि प्रशस्त छन्–

– आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी घसेर।

– मुखियाको क्या राम्रँे बाँसबारी, घरबारी राजीनामा पास गरी ,

– लाहुरे दाइको फाटेको झोला, फेरि भेट होला कि नहोला।

श्रमको इज्जतबिना सम्पत्ति आर्जन गर्ने र शोषणबाट आफू मात्र जोगिन चाहने यस समाजको पूंजीवादी प्रवृत्तिलाई प्रदर्शन गर्ने चरित्रको आलोचना गर्ने गीतहरू पनि छन्। यस समाजको यथार्थता पूंजी सञ्चयमा इज्जत देख्ने तथ्यलाई यस खालका गीतले प्रस्तुत गरेको छ। जस्तैः

सम्पत्तिमा सबैको हाइहाई, विपत्तिमा कोही छैनन् दाजुभाई। व्यक्तिवादी)

–वन जलेको सबैले देख्छ, मन जलेको कसले पो देख्छ र? (व्यक्तिवादी)

यी पंक्तिहरूमा आलोचनाका कटु क्षणहरू उद्घाटित भएका भए पनि त्यसको प्रतिकारको दिशा पहिल्याउने, आफ्नो वर्ग उत्थानको सही बाटो नदेखेका पक्षहरूलाई बाटो देखाउने र त्यस किसिमका विसंगतिका कारक पक्षहरूलाई चुनौती दिनेहरूको स्थितिलाई प्रतिपादन गर्ने दिशाको द्वार उद्घाटन गर्ने प्रयासहरूलाई प्रस्तुत गर्ने कुरा अडेका गीतहरू पनि प्रशस्त छन्। यस किसिमका लोकगीतहरूले नेपाली मानसिकतामा समाजवादी स्वरको उद्घाटन गरेका छन्। आलोचना चेतबाट उठ्दै गएका नेपाली लोकगीत–चेतले यस अवस्थामा पुग्दा वर्गसंघर्ष र आमूल परिवर्तनका चेतनाको आरम्भ भएको देख्न पाइन्छ। प्रस्तुत प्रयोजनका निम्ति लोकगीतले प्रस्तुत गरेका स्वरहरू निम्नानुसार केही उदाहरण अघि सार्न सकिन्छ–

–गरिब भनी नगर हेला, देउको सियो माझैमा आइदेला।

–चोखा जाति सुनसरी बिटुला फलामे, तलमाथि भेद हाल्ने ईश्वर बिकामे।

–झाली गाईको माली बाछो कैली गाईको नाति, हाँसीखेलौं सबै एकै को छ तलमाथि? –(अर्थ, जाति)

समाजका शोषण, उत्पीडनका पक्षहरू, जातिगत भेदभाव र पूंजीवादी धारणाका विरूद्ध समाजवादी चेतना प्रस्तुत गरिदिने कला पनि गीतहरमा प्रयुक्त भएको पाइन्छ। साहु र सामन्त, शोषक र पूंजीपति चरित्र र तत्सम्बन्धी प्रवृत्तिका विरूद्ध संगठित हुने वर्गहितका विरोधी तत्वलाई चुनौती दिने स्वरमा पनि उपयुक्त गीतका पंक्तिहरू प्रकट भएका छन्।

सिंगै समाजको शोषणका विरूद्ध पूंजीवादी प्रवृत्तिका विरूद्ध शोषित र पीडित मानिसहरूका मनस्थितिलाई दरिलो बनाउने र त्यसलाई संगठित बनाउने प्रयत्न गर्ने गीतहरू प्रगतिवादी चेतनालाई मलजल गर्न क्रियाशील छन्। नेपाली जीवनसँग जुट्न आएका संस्कार, चाडपर्व, सांस्कृतिक उत्सव, बाद्यवादन, राजनीतिक जागरण र सामाजिक उत्थानका लागि जुटेका कुरा यस समाजका तथ्यहरूलाई प्रस्तुत गर्ने लोकगीतहरू पनि आएका छन्।

–घिन्ताङ मादल बजेको यिदन? गाउँघर दुनियाँया व्यूँझाउन (सांस्कृतिक उपकरण)

– हाम्रो बस्तीमा जस्तै यो कहाँ बासुरी रोया। (बाँसुरी सारंगी)

–चलेछ बतास सुस्तरी बनै सरस, भरोसा छैन जीवनको खेलाँची नगर। (जीवन मूल्य)

–हिमालमाथि त्यो लाली गुराँस शिरमा लाउन पाऊँ, ती हाम्रा खसम झकाइ पाऊँ सँगै जान पाऊँ (दोस्रो विश्वयुद्ध)

यसरी नेपाली लोकगीतले आफ्नो यात्रामा आलोचनात्मक यथार्थवादी र समाजवादी यथार्थवादी चेतनाका समावेग र भावना उद्घाटन गर्ने काममा क्रियाशील रहेको कुरा पनि प्रतिपादित हुँदै आएका छन्। समाजका अनेकौं पाटाहरूको उत्पीडन र विस्फोटनका कुरा पनि लोकगीतमा अभिव्यक्त भएका हुन्छन्। मान्छेका जीवनको यथार्थलाई मूल्य दिन र समाजका विसंगत आचरणलाई प्रस्तुत गर्न लोकगीत सफल हुन्छ भन्ने कुरा नेपाली समाजमा प्रचलित गीतले सिद्ध गरेका छन्।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २४ – २०६८ बैशाख २० गते, बुधबार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.