छन्द कविता : नेपली मन

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शिखरिणी

म नेपाली माटो मन-वचनले धारण गरूँ
ध्वजामा नेपाली सुललित कला-कौशल भरूँ
यहाँकै भाषामा विनिमय गरूँ तर्क रसिला
यहीँ नाचूँ-गाऊँ कृति नव बनाऊँ गहकिला ।।

शिला खोपीखोपी हृदयभरि लेखूँ म कखरा
दिऊन् विद्या अग्ला हिमगिरि “हिराका धरहरा”
गुफा, बेसी, पाखा, हरित वन “विद्यालय” बनून्
बनून् पत्ता कापी, तरु र लहराका कलम हून् ।।

बिहानी झुल्कामै रवि “उदयको दीपक” बनोस्
निशा चिर्दैचिर्दै शशि अहमको नाशक बनोस्
बनोस् सानो मेरो प्रकृति-पथमै सुन्दर कुटी
पिऊँ घोटीघोटी मधुरस हिमाली जडिबुटी ।।

बनून् गङ्गा माता, पशुपति बनून् पालक पिता
नसा सिञ्चीसिञ्ची सललल बगून् पुण्य सरिता
म सेती-भेरीका जलसित दशा छेदन गरूँ
र “मेची-काली”मा युगयुग नयाँ सिर्जन भरूँ ।।

मिलोस् मेरो आफ्नै दृढ अजर सीमा, उपवन
मिलोस् खुल्ला चोखो क्षितिज नभ धर्ती, तनमन
हिजो “गोर्खाली”ले जतिजति रचे गौरवहरू
तिनै थामूँ-धानूँ ! युगसित नमागूँ सुख अरू ।।

उडून् डाँफे क्वैली मृदुल लयमा गायन गरी
थपून् बाजागाजा सकल चिडियाले वनभरि
कुदी उफ्रीउफ्री मृग-हरिण नाचून् मिलनमा
बजाई नर्सिङ्गा गज सुर मिसाऊन् पवनमा ।।

सधैँ यो छातीमा मुलुक पुजिने मन्दिर बनोस्
सधैँ यो जिब्राको लबज “जय नेपाल”मय होस्
दुवै यी आँखामा अनि हृदयमा राष्ट्र म भरूँ
म यो माटोमा नै रगत-पसिना सिञ्चन गरूँ ।।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.