कथा : नीना

~महेशविक्रम शाह~Mahesh Bikram Shah

म नीना ! माला मेरी मुटु । मेरो जीवनकी एक महत्त्वपूर्ण मोड थिई माला ! ऊसँग मेरो पहिलो भेट सहरको एक हेल्थ क्लबमा भएको थियो । म सुरुमा आफ्नो लोग्नेसँग त्यहाँ गएकी थिएँ । ऊसले भनेको थियो, ‘बिहान यसो जुम्बा, साल्सा गर । नयाँ साथीहरू पनि बन्छन् । शरीर पनि फ्रेस, मन पनि फ्रेस ! तिमी फ्रेस भयौ भने म पनि फ्रेस !’ सुरुमा झ्याउ लागे पनि पछि लौ गइहेरौं न त कस्तो रहेछ भन्ने मनमा लाग्यो र म हब्बीसँग हेल्थ क्लब गएँ ।

त्यहाँको वातावरण गजबको थियो । मैले कहिल्यै नदेखेका मान्छेहरू त्यहाँ थिए । सुरुसुरुमा जुम्बा गरेँ । पछि हब्बीले भन्यो, ‘साल्सा गर । साल्सामा बढी आनन्द आउँछ । पार्टीहरूमा नाच्नुपर्‌यो भने काम लाग्छ ।’ मलाई जुम्बाभन्दा साल्सा मन पर्‌यो र साल्सा गर्न थालेँ । हब्बी जिम गथ्र्यो, म साल्सा । साल्सामा केटा र केटी सँगै उभिएर ट्रेनरको चाललाई अनुकरण गर्दै संगीतको तालमा शरीरका अंगप्रत्यंग हल्लाउँथ्यौं ।

पछि ट्रेनरले नै हात समातेर नचाउन थाल्यो । अलिकति जान्ने भएपछि ट्रेनरले जोडी बनाएर नचाउन थाल्यो । केटासँग हात समातेर नाच्नुपथ्र्यो । नाँच्ने बेला हामीहरूका आँखा जुध्थे, कुम जोडिन्थे, छातीमा छाती जोतिन्थ्यो, घुँडा र पैतालाहरू ठोकिन्थे । मेरो कम्मरमा केटाको हात हरदम सर्पसरी बेरिइरहन्थ्यो । म लाजले राती हुन्थेँ । शरीरमा एकप्रकारको मादक नशा लहराउँथ्यो र छिनभरमै हराउँथ्यो पनि ।

एक दिन साल्सा गर्दागर्दै एउटी केटीसँग ठोक्किएँ म । मलाई अझै राम्रोसँग तालमा चाल मिलाउन आउँदैन थियो । म आफँं जोतिन पुगेकी थिएँ उसको पिठ्यूँमा । ऊ माला थिई । ‘ओ सेट् !’ ऊ कराई । रिसाई भन्ने ठानेर मैले ‘सरी’ भन्दै झुकेर माफी मागेँ । मेरो व्यवहार देखेर ऊ रिसाउन छोडी मुसुक्क हाँसी । ‘इट्स ओके नो प्रोब्लम !’ उसले भनी । ब्रेकको समयमा कुर्सीमा बसेर सुस्ताइरहेको बेला ऊ मेरो नजिक आई र भनी ‘म माला !’

मैले पनि जवाफ दिएँ, ‘म नीना !’ रेस्टुरेन्टमा बसेर हामीले सँगै ब्ल्याक कफी पियौं । साल्साको सेसन समाप्तिपश्चात् मैले स्टिम बाथ लिएँ र फ्रेस भएँ ।

‘तिमीलाई म आफ्नो गाडीमा छोडिदिऊँ ? ‘ मालाले भनी ।
‘मेरो लोग्ने जिम गर्दैछ । उसलाई पर्खिन्छु’, मैले भनेँ ।

‘…हिम डियर ! यु डोन्ट निड टु वेट हिम । ऊ एक्लै आउन सक्दैन र !’ माला उन्मुक्त भएर हाँसी । कुनै स्वास्नीमान्छे यसरी हाँसेको पहिलोपटक देखेकी थिएँ मैले ।

‘तैपनि, म सोध्छु है !’ यति भन्दै मैले मोबाइलबाट उसलाई कल गरेँ । उसले दुई घन्टीमा नै फोन उठायो । मैले मालाले भनेको कुरा गरेँ । उसले भन्यो, ‘ल ल बधाई छ । कति छिटो मिल्ने साथी भेट्टाएकी नि ! हुन्छ हुन्छ जाऊ ।’ मैले सोचेकी थिएँ, उसले मलाई आफूलाई कुर्नू भनेर भन्नेछ । तर, मेरो अपेक्षाविपरीत जवाफ दिएको थियो उसले । मैले घोसे मुन्टो लगाएँ ।

‘जाऊ भन्यो हैन ? ‘ माला फेरि हाँसी । मैले पक्क परेर मालाको अनुहारमा हेरेँ । ऊ कर्के आँखाले मलाई नै हेरिरहेकी थिई ।

‘हज्बेन्ट उडन्ट इन्जोई द प्रिजेन्स अफ हिज वाइफ नीना, वी सुड गो नाउ ।’ केही बुझिनँ मैले । ट्वाल्ल परेर हेरिरहेँ ।
‘जाऊँ के !!’ कराई ऊ । म दौडेर मालाको कारभित्र छिरेँ ।

‘तिमीलाई देखेर मलाई आफ्नो विगत सम्झना आयो नीना । करिब १० वर्षअघि म पनि ठ्याक्कै तिमीजस्तै थिएँ । सोझी, लाटी, पतिव्रता, घरेलु र पतिकी मायालु अंगशायनी ।’ उसले मेरो अनुहारमा पुलुक्क हेरी र फेरि भन्न थाली, ‘एक दिन मेरो जीवनमा एउटा मान्छे प्रवेश गर्‌यो र मेरो सारा संसार बदलिइदियो । त्यो मान्छेले नै मलाई स्वतन्त्र भएर बाँच्न सिकायो । रमाउन सिकायो । जिन्दगीलाई भरपूर जिउन सिकायो । मलाई हेर, मलाई कुनै तनाव छैन ।

न घरको, न लोग्नेको, न त बच्चाको । पछि गएर त्यो मान्छेले मलाई आफ्नो बन्धनबाट मुक्त गर्यो । आफू पनि मेरो बन्धनबाट मुक्त भयो । उसले भन्यो, ‘तिमी नदी बन्नुपर्छ नदी । सललल बग्न सिक । यौटै मान्छेको संगत गर्‌यौ भने तलाउझैं जम्छौ र तिम्रो घेरा सीमित हुन्छ । तलाउमा असला माछाहरूको जस्तो स्वस्थ र ताजा जीवन जिउने आशा गर्न सक्दिनौ तिमी ।

केवल भ्यागुताहरू टर्रटर्र गर्नेछन् तिम्रो जीवनमा ! माछा बनिहाल्यौ भने पनि हिले माछाभन्दा अरू बन्न सक्नेछैनौ तिमी ।’ वाह ! कति प्रगतिशील सोच थियो उसको नीना । म अहिले नदीझैं गतिशील र आकाशको चराझैं उन्मुक्त छु ।’ ऊ फेरि खितखित गर्दै हाँसी । उसको हाँसो देखेर मलाई अनुभूति भयो— मानौ, सैयौं चरा एकैसाथ पंख फड्फडाउँदै जमिनबाट आकाशतिर उडेका छन् ।

-तीन चारजना केटाहरूले मलाई घेरे । म डान्स फ्लोरमा तिनीहरूसँग नाचिरहेकी थिए । तिनीहरू पालैपालो नचाइरहेका थिए मलाई । तिनीहरूको स्पर्श, गन्ध र गति फरक थियो । यही फरकपनाले म पुलकित बनिरहेकी थिएँ । हरेकको अँगालोले मलाई लोभ्याइरहेको थियो । अहा ! यो पो हो त असली जीवन !

‘यो जीवन निकै छोटो छ नीना । हामीसँग पूरा संसार घुम्ने समय र सामथ्र्य पनि छैन । संसार हामीभित्रै छ । घरको चौघेरोबाट निस्केर बाहिर आऊ नीना र आफूभित्रको संसारको घुम्टो उघारेर हेर । यो बहुरूपिया संसार कति अनौठो छ ।’
भोलिपल्ट बिहान मैले घरको छतबाट आफू वरिपरिको संसार हेरेँ । मान्छेहरू हिँडिरहेका थिए । चराहरू उडिरहेका थिए । मैले मालाले भनेका कुराहरू सम्झेँ र आकाशतिर हेर्दै सोचेँ, म पनि आकाशझैं फैलिनु छ ।

केही दिनपछि म मालासँग सपिङ मलमा गएँ । मालाले मेरो जीउमा टमक्क मिल्ने थरीथरीका लुगाहरू छानी । त्यस्तो रूप र रंगका लुगाहरू यसअघि मैले कहिल्यै लगाएकी थिइनँ । लुगा लगाएर जब म ट्रायल रुमको ऐनाअगाडि उभिएँ । मलाई विश्वास गर्न गाह्रो भयो कि ऐनामा देखिएकी त्यो आधुनिक स्त्री म नै हुँ ।

‘तिमीभित्रको संसार बाहिर निस्किने जमर्को गर्दैछ नीना ! वाह नीना हाउ ब्युटिफुल यु आर ? ‘ मालाको स्वरमा आश्चर्य थियो । खुसीले पुलकित भएँ म ।

मेरो ड्रेसअप फेरिएको थियो । धोती, सारी र कुर्ता सुरुवाललाई पोको पारेर थन्क्याएँ मैले । म पनि मालाको सिको गर्न थालेँ । कुरकुरे बैंसमा टेकेका युवकयुवतीले लगाउनेजस्ता जीउमा टिमिक्क टाँसिने, छोटा र पारदर्शी लुगाहरू लगाउन थालेँ म । खुट्टामा हिल र बुट अनिवार्य बने । म बदलिएँ, हेल्थ क्लब पनि बदलियो । मैले गाउने गीत बदलिए । मैले खाने खानेकुरा बदलियो । मेरो नजर बदलियो । यो संसारलाई सुन्दर देख्न थालेँ । कसैको नजरमा नपर्ने म पनि सबैका आँखाहरूले पछ्याउने पात्र बन्न पुगेँ ।

एक दिन मालाले मलाई जिस्क्याउँदै भनी, ‘ए नीना, मेरा ब्वाइफ्रेन्डरू पनि तँलाई आँखा लगाउन थाले है ।’
मनमा खुसी लागे पनि मैले खुसी व्यक्त गर्न सकिनँ । बरु मेरो अनुहार कालोनीलो भयो । मैले अकमकाउँदै भनेँ, ‘के भनेको माला ? ‘

खित्का छोड्दै हाँसी माला । ‘टेक इट इजी नीना । किन मुख बिगारेकी यार ! मेरा ब्वायफ्रेन्ड तँलाई हेर्छन् । म पनि अरू केटाको साथ खोज्दै हिँड्छु । फरक के पर्‌यो नीना ? इट इज नेचुरल । जिन्दगी सधैं यौटैै किलोमा बाँधिन कहाँ राजी हुन्छ डियर ? गो… एन्ड ग्य्राब देम ।’

‘उफ् के भन्छे यो माला ? ‘ मालाका कुराले पहिलोपटक तर्सें म । रातभर मेरो दिमाग रन्थनिरह्यो । के माला आफ्नो लोग्ने हुँदाहुँदै परपुरुषसँग हिँड्छे ? उसले भनेको स्वतन्त्रता के यही हो त ? म रातभर निदाउन सकिनँ ।

अर्को दिन मालाले मलाई साँझ रेस्टुरेन्टमा लिएर गई । यो मैले सोचेको जस्तो रेस्टुरेन्ट थिएन । यसको चकाचौंधले एकछिन त तिलमिलाएँ म । यहाँ मान्छेहरू खाइरहेका मात्र थिएनन्, हल्ला गरिरहेका थिए । नाचिरहेका थिए, गाइरहेका थिए, एकअर्काको अँगालोमा हराइरहेका थिए । मलाई त सास फेर्न पनि गाह्रो होलाजस्तो भो ।

‘टेक इट इजी नीना । बिस्तारै इन्जोय गर्नेछौ । हेर यहाँ मान्छेको जीवन कति रंगीन छ । मान्छेका अनुहार हेर । कोही दुखी र चिन्तित देखिँदैनन् । लट्स इन्जोय दिस इभनिङ नीना ।’

मालाले मेरो हातमा रेड वाइनको ग्लास थम्याई । आफूले लिएको ड्रिंक्स देखाउँदै भनी, ‘यो ह्विस्की हो । तिमी पनि केही दिनपछि यो ग्लासभित्र पस्नेछौ नीना । डन्ट वरी ।’

रेड वाइन पिएर डेड हुँदै गएँ म । डर, त्रास, लाज, संकोच र धक वाइनको चुस्कीसँगै उदरस्त भए । मालाले भनेझैं मेरो शरीरबाट मभित्रको संसार बाहिर निस्किन थालेको थियो । मैले गम्न भुलेकी थिएँ, रम्न थालेकी थिएँ । म अहिले बाँचिरहेको संसार विचित्रको थियो । यहाँ केटा र केटी एकअर्काको अँगालोमा हराइरहेका थिए । यहाँ एक्लो कोही थिएन । सबैजनाको एक हातमा ड्रिंक्सको ग्लास र अर्को हातमा कसैको हात थियो । मैले मालालाई हेरेँ । ऊ केटाहरूको समूहमा मस्तसँग ह्विस्की पिउँदै नाचिरहेकी थिई । केटाहरू पालैपालो उसलाई अँगालोमा बेर्दै नचाउँदै थिए । ऊ पनि निसंकोच हरेकको जीउमा टाँसिएर नाचिरहेकी थिई ।

‘नीना, यिनीहरू मेरा साथीहरू हुन् । सारै रमाइला छन् यिनीहरू । लेट्स इन्जोय विथ देम ।’ तीनचारजना केटाले मलाई घेरे । म डान्स फ्लोरमा तिनीहरूसँग नाचिरहेकी थिएँ । तिनीहरू पालैपालो नचाइरहेका थिए मलाई । तिनीहरूको स्पर्श, गन्ध र गति फरकफरक थियो । यही फरकपनाले म पुलकित बनिरहेकी थिएँ । हरेकको अँगालोले मलाई लोभ्याइरहेको थियो । अहा ! यो पो हो त असली जीवन ! अहिलेसम्म कहाँ हराइरहेकी थिएँ म ! तिनीहरूले ख्यालख्यालमा मेरो जीउको हरेक अंग छामेर हेरे । तर मसँग उपद्रो व्यवहार भने गरेनन् ।

मालाले मलाई आफ्नो घर लिएर गई । सम्पन्नताले भरिपूर्ण थियो उसको घर । उसको घर देखेर तीनछक्क परँे म । तर त्यहाँ एउटी काम गर्ने केटी, एउटा बडेमाको बुलडग र जर्मन सेफर्ड कुकुरबाहेक कोही पनि थिएनन् । बैठक कोठाको एक कुनामा बार थियो । उसले दराजबाट ब्लु लेबलको बोतल निकाली र टेबुलमा राखी ।
‘लेट्स ह्याभ सम ह्विस्की डार्लिङ ।’

काम गर्ने केटीले स्न्याक्स लिएर आई ।
उसले ग्लासमा ह्विस्की खन्याई र मलाई दिँदै भनी, ‘चियर्स !’
बुलडग उसको नजिकै आयो र जिब्रोले गाला चाट्न थाल्यो । उसले एकछिन आँखा चिम्म गरी । बुलडगले अब उसको नाक र ओठ पनि चाट्न थालेको थियो ।

‘कहिलेकाहीँ मलाई लाग्छ, माया गर्ने मामलामा यी मान्छेहरूभन्दा कुकुर नै बढी पोख्त हुन् कि ! हेर न कति धैर्य छ यसमा । मलाई झम्टिरहेको छैन । आफ्नो अपनत्व जताइरहेको छ मात्र । पुरुषहरूभन्दा सायद कुकुरहरू बढी सिपालु हुन्छन् क्यारे ! यो मेरो बुलडग नामुद कलाकार पो रहेछ नीना ।’ मज्जाले हाँसी माला । उसको कुरा सुनेर मैले पनि आफ्नो हाँसो थाम्न सकिनँ ।

‘तिम्रो मनमा मेरो हब्बी कहाँ छ ? बच्चाहरू के गर्दैछन् भन्ने कुरा खेलिरहेको होला ।’ ह्विस्कीको घुट्को निल्दै माला बोली । मालाले ठीक भनेकी थिई । म यिनै कुराहरू मनमा खेलाउँदै थिएँ ।

‘मेरा बच्चाहरू होस्टेलमा छन् । तिनीहरूको जीवन सपार्ने नाममा म आफ्नो मज्जाको जिन्दगी बर्बाद गर्न चाहन्नँ नीना । दे ह्याभ टु लिभ दियर लाइफ वाई देमसेल्भ्स । आई विस दे सुड नट बोदर मी एट अल ।’ उसले सिगार सल्काई र लामो सर्को तानी । ऊ आफैंमा हराइरहेकी थिई ।

‘मेरो हब्बी बिजनेसम्यान हो । ही इज अल्वेज विजी लाइक अ सन अफ विच ।’ यति भन्दै ऊ खिखिखि गर्दै हाँस्न थाली ।

‘ऊ कतै मिटिङमा व्यस्त छ रे ! बिजनेस मिटिङ हो वा मोडेल हन्ट सिटिङ, आई डोन्ट नो ! मलाई यत्ति थाहा छ, आज राति उसको बिजनेस पार्र्टनर मेरो घरमा आउँदैछ । सो…सो… आई ह्याभ टु प्रिपियर फर अल थिङ्स !’ गललल हाँसी ऊ । मैले किन हाँसिस् भन्न सकिनँ ।

‘तिमीलाई एउटा कुरा भन्छु है नीना ।’ उसका आँखाहरू रहस्यमय भए ।

‘मेरो हब्बीलाई सब थाहा छ । ही इज थोरोली जेन्टलम्यान नीना । म पनि उसको संसारलाई हस्तक्षेप गर्दिनँ नीना । हामीबीच ‘जेन्टल एग्रिमेन्ट छ । राजनीति गर्नेहरूको जस्तो ।’

ह्विस्कीको घुट्को मेरो गलामा नै अड्यो । मैले ट्वाँ परेर मालालाई हेरेँ । ऊ बेपरवाह सिगारको कस लिइरहेकी थिई ।
‘ऊ त्यो फ्रेममा सजाएको फोटो हेर त नीना ।’ मालाले भनी ।

मैले भित्तामा टाँगेको लम्बा चौडा फ्रेम भएको फोटोलाई हेरेँ । यो माला दम्पतीको तस्बिर थियो ।
‘हामीबीचको लोग्नेस्वास्नीको नातालाई हामीले यही फ्रेमभित्र सजाएर राखेका छौं नीना । फ्रेमबाहिर हामी दुवै स्वतन्त्र छौं । यही नै हो हामीबीचको ‘जन्टल एग्रिमेन्ट’ यानि भद्र सहमति । जुन लिखितमा हुँदैन नीना ।’ मालाले मुस्कुराउँदै मेरा आँखामा हेरी ।

‘नीना जिन्दगी जिउने कला सिक । सेक्सपियरले भनेका थिए रे, जीवन एक नाटक हो । ह्वाट ननसेन्स…! जीवन नाटक होइन कला हो । कलाकार नबनी नाटकमा अभिनय गर्न सकिँदैन नीना ।’ मालाका हरेक शब्दले मेरो हृदयलाई जरैबाट हल्लाइदिएको थियो ।

म दिनदिनै परिवर्तन हुँदै गइरहेकी थिएँ । हेल्थ क्लबमा धेरै समय बिताउन थालेकी थिएँ म । मेरो जीउ खिरिलो बन्दै गइरहेको थियो । मलाई शरीर छोप्ने लुगा मन पर्न छोडेको थियो । म जिनको कट्टु, छोटा र पारदर्शी टिसर्ट लगाउन थालेकी थिएँ । पूरै खुट्टा देखिने गरी मिनी स्कर्ट लगाउँदा झन् म उमंगित बन्थेँ ।

मालाले मेरो कपालको ढाँचा र मेकअपको तरिकालाई पनि आधुनिक बनाइदिएकी थिई । तर, मेरो लोग्नेलाई ममा आइरहेको परिवर्तनप्रति कुनै चासो थिएन । बस् मलाई हेरेर मुस्कुराउँथ्यो मात्र । मालाले भनेझैं सायद हामीहरूबीच पनि नबोलेर नै भद्र सहमति कायम भएको थियो ।

‘माला मेरो लोग्नेलाई ममा आएको ‘चेन्ज’प्रति कुनै चासो छैन त !’ एक दिन मालालाई दुखेसो गरेँ मैले ।
‘के भन्छ ऊ ।’ मालाले सामान्य भावमा जवाफ दिई ।
‘केही भन्दैन, केही बोल्दैन । मतिर हेरेर हाँस्छ, मुस्कुराउँछ मात्र ।’

‘यसभन्दा बढी के चाहियो र नीना । उसले तिमीमा आएको परिवर्तनलाई खुसीसाथ स्वीकार गरेको छ । मक्ख छ ऊ ।’ माला मुस्कुराई ।
मालाको कुरा सुनेर दंग परेँ म ।

‘उसलाई पनि जहाँ मन लाग्छ जान देऊ । ऊ मुस्कुराउनुको अर्थ यही हो नीना ।’ मालाको मुस्कान गहिरियो ।
मालासँग फुक्काफाल भएर घुमेँ म । सहरका गल्लीगल्ली हल्लिँदै घुम्यौं । हरेक रेस्टुरेण्ट, रिसोर्टमा लन्च र डिनर खान पुग्यौं । पव र बारमा वाइनका ग्लास छचल्किन थाले । डिस्को फ्लोरमा, संगीतको मीठो धुनमा हाम्रा गोडाहरू थर्किन थाले । वाइनको नशाले लट्ठ परेर डिस्कोथेकमा लड्खडाई नाचिरहेका मेरा गोडाहरू कुन बेला मालाको गुरुत्वाकर्षणले तानेर उसको बेडरुमसम्म पुगेछन्, मलाई थाहा नै भएन ।

मेरा लागि यो बिलकुल नयाँ अनुभव थियो । मालाले रातभर मेरो शरीर निचोरेकी थिई । यस पीडामा पनि अनौठो मिठास थियो । मालाले सही कुरा भनेकी थिई कि जीवन एक कला हो । ऊ स्त्री भए पनि उसमा पुरुष बन्नसक्ने कला थियो । उसको कलाले मेरो गला सुरिलो बनाइदिएको थियो ।

‘नीना ! यो केही होइन नीना । यो वर्षा ऋतुको प्रारम्भमात्र हो । बादल गडगडाएर झरी वर्षिन अझै बाँकी छ नीना ।’
छिट्टै आयो त्यो दिन ।
‘आज गड्गडाएर बादल वर्षिनेछ नीना ।’ मालाले मुस्कुराउँदै भनी ।
मलाई पनि मालाको अँगालोमा पग्लिने तीव्र इच्छा लागेको थियो ।

‘तर आजको मनसुनी बादल फरक दिशाबाट बगेको छ नीना । आज यहाँ रमाइलो गर्न मेरा घनिष्ठ पुरुष साथीहरू आउँदैछन् ।’ मालाले मलाई कर्के आँखाले हेरी ।

तिनीहरू पनि मालाझैं साँच्चिकै कलाकार थिए । तिनीहरूले पालैपालो मलाई नचाए । म पनि नाचेँ तिनीहरूको धुनमा । रातभर संगीतको धुन गुञ्जिरह्यो । हामी सँगसँगै अँगालोमा बेरिएर नाँच्यौ । तिनीहरू मलाई माया गर्दै कहिले मेरो आँखामा पट्टी लगाउँथे । कहिले मेरा गोडा बाँध्थे । र, मेरो शरीरमा ह्विस्कीका बोतलहरू खन्याउँथे । तिनीहरू मेरा अंगप्रत्यंगलाई स्पर्श गरिरहेका थिए । रक्सीको तीव्र गन्धले म अत्तालिएकी थिइनँ । मेरो तृष्णा झन्झन् बढिरहेको थियो ।

‘अब बादल गड्गडाउँछ नीना ।’
‘साँच्चै हो माला…? ‘
‘अब मेघ वर्षिन्छ नीना…!’
‘साँच्चै हो माला ? ‘

म सुक्खा धर्ती थिएँ । म मरुस्थल थिएँ । चारैतिरबाट जोडजोडले मेघ वष्र्याे । मेघले मलाई निथ्रुक्क भिजाइदियो । मेघले मलाई पगाल्यो र म बग्न थालेँ । ठोस वस्तु तरलमा रूपान्तरण हुनु प्रकृतिको एक अलौकिक कला थियो । ‘जीवन एक कला हो’, फेरि एकपटक बुझेँ मैले ।

‘माला मैले बुझेँ जीवन के हो ? कला के हो ? ‘, मैले मालालाई भनेँ ।
अबको बाटो मैले आफैंले कोरेको बाटो थियो । त्यहाँ ममात्र थिइनँ, माला थिई । मेरा नयाँनयाँ पुरुष साथीहरू थिए । म कसैलाई ब्वायफ्रेन्ड बनाउँदिन थिएँ । सुरुसुरुमा ब्वायफ्रेन्ड बनाए पनि पछि मलाई लाग्यो यो मेरा लागि ठीक होइन । ब्वायफ्रेन्डको उपमा पाउनेबित्तिकै त्यो जन्तुले हक जताउँदो रहेछ । उफ् ! लोग्नेको भन्दा पनि बढी हक खोज्ने ।

म स्वतन्त्र पन्छी थिएँ । म आफ्नो मर्जीले चल्न चाहन्थँे । कसैको अवरोध मलाई स्वीकार्य थिएन । पुरुषहरू मेरा लागि वाइनका बोतलसरी थिए जसलाई म बिस्तारै चुस्की लिँदै पिउँथे र रित्तिएपछि फालिदिन्थेँ । जुन दिन म पुरानो पुरुषलाई ड्र्याग आउट गर्थें र नयाँ पुरुषलाई हायर गर्र्थें, त्यो दिन मलाई अपार आनन्दको अनुभूति हुन्थ्यो ।

प्रत्येक पुरुषको शरीरबाट म आफ्नो स्वतन्त्रतालाई विस्तार गर्थें । मेरी लभगुरु मालाले भनेको कुरा सटिक थियो, ‘घरको चौघेरोबाट निस्केर बाहिर आऊ नीना र आफूभित्रको संसारको घुम्टो उघारेर हेर । यो बहुरुपिया संसार कति अनौठो छ ।’
पुरुषहरू हाम्रा लागि ‘ट्वाय ब्वाय’ थिए । मन लागे खेल्थ्यौं । कसैलाई स्टोर गरेर पनि राख्थ्यौं त कसैलाई कच्याककुचुक गरेर फाल्थ्यौं ।

माला र म आफ्ना ‘ट्वाय ब्वाय’हरू साटासाट गथ्र्यौं । डिजिटल दुनियाँको भाषामा भन्नुपर्दा माला र म एकअर्काका ट्वाय ब्वायहरू आआफ्नो शरीरको मोनिटरमा कपी र पेस्ट गथ्र्यौं ।

एक दिन मालाले मेरो ‘ट्वाय ब्वाय’ लिएर गई र आफ्नो ‘ट्वाय ब्वाय’ छाडेर गई । म त्यस बेला तीनछक्क परेँ जब मैले थाहा पाएँ कि मालाले छोडेर गएको ‘ट्वाय ब्वाय’ मेरो आफ्नै लोग्ने थियो । खित्का छोडेर हाँसे म । मालाले फोन गरेर मलाई भनी, ‘ए नीना मेरो लोग्नेलाई कति दिन आफ्नो ‘ट्वाय ब्वाय’ बनाएर राखिस् हँ ? नयाँ र ब्रान्डेड दिइस् भनेको त त्यही थोत्रो र खटारा आफ्नै लोग्ने पो परेछ ।’ मोबाइलमा नै खित्का छोडेर हाँसी माला । ‘के गर्नु माला यी ‘ट्वाय ब्वाय’हरूको वारेन्टी छैन यार । सरी !’

अनि हामी दुवैजना जोडजोडले हाँस्न थाल्यौं ।

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.