पुस्तक समीक्षा : निबन्ध शिल्पीको नयाँ कृति

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

नेपाली गद्य साहित्यका महान् शिल्पी, निबन्ध, नियात्रा र संस्मरणका क्षेत्रमा सिद्धहस्त वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको नवीनतम कृतिका रूपमा २१ गद्य रचनाहरूको पुस्तक ‘चरी भरर’ पाठकसमक्ष आएको छ । नमस्तेदेखि आँसु छचल्किँदै जान्छसम्म दर्जनौं गद्य कृति पस्केर नेपाली साहित्यका गद्यका पाठकलाई लठ्याउन सफल डा. तारानाथ शर्माको प्रस्तुत कृतिलाई विषय र शैलीको पूर्ववत् उचाइमा राखेर भन्दा उहाँको जीवनका उतार- चडावका दस्तावेज, निजी जीवनका घनघोर पीडाहरू, पाताल अर्थात् अमेरिका पुनः भासिनुपर्ने वाध्यकारी अवस्था, असन्तुष्टि, आक्रोश, आवेग र अन्तरमनका ज्वारभाटाका रूपमा लिएर हेर्नुपर्ने हुन्छ । यहीरूपमा हेर्दा मात्र यो कृतिप्रति न्याय हुन्छ, अन्यथा पाठक निराश हुने अवस्था आउन सक्छ ।

पुस्तकको यौटा निबन्ध म किन फेरि पातालतिर लागें ? ले डा. तारानाथ शर्माको अपार असन्तुष्टि र आक्रोश अनि नेपाल छाडेर पाताल लाग्नु परेको वर्णन छ । नेपालका विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठानहरूमा उहाँ अटाउन नसकेको पीडाको प्रकटीकरण भएको छ भने उहाँले प्राचार्य भएर इमान्दारीपूर्वक काम गर्दागर्दै अपमानित ढङ्गले पदमुक्त गरिएका घटनाहरूको वर्णन पनि छ ।

प्राय ः जसो निबन्धहरू अमेरिका प्रवासमै लेखिएका, अमेरिकी पृष्ठभूमिका र नेपालको सम्झना, नियास्रो र झझल्कोले रसमय भएका छन् । अमेरिकामा मनाइने ‘ब्ल्याक फ्राइडे’ अर्थात् कालो शुक्रबार, शिकागोको स्वामीनारायणको मन्दिर, स्यान्फोर्ड तालको यात्राले अमेरिकाका विविध पक्ष र प्रसङ्गलाई प्रष्ट्याउने जमर्काे गरेको छ ।

यस सङ्ग्रहको छिनासिम छुने रहर यस्तो निबन्ध हो, जुन वि.सं २०२९ मा गरिएको यात्राको प्रसङ्गमा लेखिएको छ र लेखकले यो निबन्ध २०३० सालमा नेपालमै लेखिएको तथ्य लेखकीयमा प्रष्ट्याएका छन् ।

जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेको महेन्द्रमाला पुस्तक लेखनको पूरा पारिश्रमिक नपाएपछि सोका लागि गरेको सङ्घर्ष, नेताहरूबाट भएको उपेक्षा र अपमानलाई निकै आक्रोशित भएर डा. तारानाथ शर्माले बाँचेर पनि मरेका व्यक्ति उपमा दिई सोही शीर्षकमा वेदना र पीडा पस्किनु भएको छ भने मरेर पनि बाँचेका व्यक्ति निबन्धमा राल्फ टर्नर र ईश्वर बरालको विषयमा उच्च मूल्याङ्कन, सम्मान र आदर देखाइएको छ ।

वास्तवमा यो कृतिलाई गुण र दोषको हिसाबले पर्गेल्नुभन्दा जीवनको यो उमेरमा पनि उर्लदो वैँसको युवा जोसकासाथ लेखनमा निरन्तर कलम चलाउने कलम शिल्पीको रूपमा हेर्दा डा. तारानाथ शर्माको प्रस्तुत कृति ‘चरी भरर’ लाई बढी न्याय र सम्मान हुनेछ ।

कृति : चरी भरर (निबन्ध सङ्ग्रह)
निबन्धकार : डा. तारानाथ शर्मा
प्रकाशक : देवेन्द्रबहादुर भण्डारी
संस्करण : प्रथम, २०६५,
पृष्ठ : ६-१०६
मूल्य : रु. १८५।-

हाल मनासस, भर्जिनिया,अमेरिका

(स्रोत :  मधुपर्क २०६७ असोज)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.