कविता : नलेखिएको एउटा कविता

~तारा पराजुली~Tara Parajuli

बाँधेर
कठोर साङलोले
लिन आइपुग्छ अतित
प्रेमको आदिम चौतारीमा
जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी ।

उस्तै छैन आज म
भिजेको छ जीवनमा किताव
ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू
न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू
भदौमा भेल पसेको कुवाजस्तो
धमिल्लिरहन्छ स्मृति
कुनै मनपर्ने खेलौना हरएपछि
खेल्दाखेल्दै टोलाइरहेको बालकझैँ
बेसुर,
खोजि हिडदोरहेछु सडकमा खसाइगएका पाइलाहरु ।

टिपेर भूँइको धुलो
जहाँबाट हिँडेका थियौँ हामी
थापेर अञ्जुलीमा पानी
जुन पधेँरो पिएथ्यौँ हामीले
ओडेर बरपिपलको तप्केनी
जहाँ सँगै भिजेथ्यौँ हामी
सुनाएर माटोका गीतहरू
जो एउटै भाकामा गाएथ्यौँ हामीले
रोपेर प्रेमका फुलहरु
पत्रैपत्र मिलेर एउटै थुँगा फुलेथ्यौँ हामी
चढाएर ढुङ्गा
चढाएर पाती
बनाएथ्यौ आफ्नै मनमा देउराली हामीले ।

समयले अनेकौँ परीक्षा लियो हामीसँग
हातमा कलम बोकेर हिँडिरह्यौँ हामी –परीक्षार्थी भई
कहिले प्रश्नोत्तर
कहिले व्याकरण
व्याख्या, विवेचना
कहिले चित्र बनायौँ
कहिले चित्रमा आफैँ बनियौँ हामी ।

अन्तमा लेख्नु थियो फेरि एउटा सग्लो चित्र
भर्नु थियो उजाड पहाडको सिँउदो
छामेर पुर्नु थियो मधेसका भासहरू
रङ्गाउनु थियो समावेशी रङ्गहरूले
यो देशको अनुहार
र लेख्नु थियो त्यही पिँढिमा बसेर
नलेखिएको एउटा कविता ।

अचानक रोकिए आकाशमा उड्दैगरेका चराहरु
उल्कापिण्डसरि खसिगयो जुन
निभाएर आफ्नै आँखाको उज्यालो
न तिमीले लेख्न पायौ
न मैले लेख्न पाएँ
यो प्रेमले सुस्ताउने
मेरो देशको अखण्डित कविता ।

तारा पराजुली
लक्ष्मीमार्ग, विराटनगर, मोरङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.