कविता : तिहार

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

के ? यो दिदिबाट भाईले आशीर्वाद लिने चाड हो ?
दिदिले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई
भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ ।
यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका खेल्नु पर्दछ ।
सानाले पनि त्यसै गरी ठूलालाई सधैं आदर गर्नुपर्छ ।

के ? यो काग,कुकुर,गाई,गोरु पूज्ने चाड हो ?
सबै जनावरहरुलाई उत्तिकै बाँच्ने अधिकार दिनुपर्छ ।
सबै प्राणीहरुमा एकसे एक गुण छन् त्यसलाई पो संझनुपर्छ ।
त्यसबाट पो सिक्नु पर्दछ ।
त्यसैले गाई-गोरु , काग कुकुर जस्तै अरु जीवलाई सम्झिने शिक्षा लिनुपर्यो ।

के ? यो भुइँचम्पा र पटाकाको चाड हो ?
पैसा भएको बेला श्रमको मूल्य जलाऊ , अनि पछि पछुताउ ।
यस्तो नगर्नको लागि देऊ सबैलाई जनाउ ।

के ? यो झीलिमिली रङ्गचिङ्गी बत्तीको चाड हो ?
विजुली र तेलको पैसाको हिसाब गर ।
बर्षौ भरी बत्तीको लाइन नकाटोस् बरु यसको जोहो गर ।

के ? यो फलफूल र मिठाइको चाड हो ?
यो वेला धेरै खाएर खानेकुरा सकाउ ।
अरुबेला ग्यास्ट्रीक पालेर बस ।
यस्तो नहोस् कुनै नेपालीको ।

के ? यो देउसी र भैलीको रमाइलो चाड हो ?
नाच गान रमाइलो देउसी भैली जस्तै सधैं गरौं न ।
माग्दा जस्ले दिन्छ उस्लाई मात्र आशिर्वाद ।
नदिनेलाई श्राप !
बरु माग्नै नपर्ने जागरण देऊ न ।

के ? यो धनकी देवी लक्ष्मी पुज्ने चाड हो ?
के ? यो सम्पूर्ण नेपालीको दोस्रो ठूलो महान् चाड हो ?

अन्न थुप्रो भएको बेला
एक वर्षम्म आफैलाई खानै नपुग्ने गरी
अझ गरिबलाई झन गरिब बनाउने चाड यो नबनोस् ।
सजग बन बर्षौ भरि बराबरी रुपमा जिऊ
यही नै सदाको सच्चा तिहार मनाएर जिऊ ।

म पनि नेपाली नै हुँ
तै पनि भन्दछु हे ! नेपाली हे ! नेपाली
घाँटी हेरी हाड निल्ने गरी
सधैं यसरी ३६५ नै दिन तिहार मनाउनुहोस् ।

बिजु सुबेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@hotmail.com

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.